साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
sp machapuchara cash back ads

साहित्य अमृत हो, केही थोपाले मात्र पनि ठूलो आत्मसन्तुष्टि प्रदान गर्छ – मञ्जुला तामाङ

स्रष्टाहरू निःस्वार्थ हुनुपर्छ । पुरस्कार, संवर्द्धनाका निम्ति कृतिहरू सृजना गर्नु हुँदैन । कर्मले चिन्नुपर्छ साहित्यकारलाई । योगदानको मूल्याङ्कन स्वतः हुने गर्दछ ।

१९६५ मा शिलाङ, मेघालयमा जन्मनुभएकी मञ्जुला तामाङ इजा उद्यान साहित्यिक पत्रिका र इजा स्मारिकाको सम्पादक हुनुहुन्छ । उहाँको इजा अर्घ्य कवितासङ्ग्रह प्रकाशित छ ।

प्रस्तुत छ, हाल दार्जीलिङमा बसोबास गरिरहनुभएकी विश्व नेपाली साहित्य महासङ्घ भारत शाखा, भारतीय गोर्खा परिसङ्घ, हाम्रो स्वाभिमान ट्रस्टलगायत संस्थाहरूमा आबद्ध मञ्जुलासँग साहित्यपोस्टका लागि दीपक सुवेदीले गरेको कुराकानीकाे सम्पादित अंश;

तपाईँको लेखनको दृष्टिले पहिलो विधा र रचना कुन हो ?

– मेरो लेखनको साहित्य विधा कविता नै हो र पहिलो विधा पनि कविता नै हो तर पहिलो रचना – ‘मालाको मोबाइल’ (बालकथा) हो ।

मञ्जुला तामाङ

प्रकाशनका दृष्टिले चाहिँ पहिलो कुन रचना हो र कुन पत्रिकामा कहिले प्रकाशित भएको थियो ?

– प्रकाशनको दृष्टिमा मेरो छोटो कविता (साल थाहा भएन) विद्यार्थी जीवनमै ‘बैँसालु’ पत्रिकामा प्रकाशित भएको थियो ।

जीवनका भोगाइ, प्राप्ति र पीडाका बिम्बमिश्रित बाल्यावस्थालाई हेर्दा कस्तो देख्नुहुन्छ ?

– बाल्यावस्थाको सम्झनामा सम्भव भए त फेरि त्यहीँ फर्की जाने थिएँ तर यो असम्भव छ । मेरा बाल्यावस्थाका सम्पूर्ण बिम्बमिश्रित अनुभवहरू मेरो कवितासङ्ग्रह ‘इजा अर्घ्य’-भित्रका एउटा कविता ‘जाऊँ बालापनतिर’ (पृष्ठ ११९) मा सम्पूर्ण व्याख्या गरेकी छु । मेरो बाल्यावस्था घुममै बित्यो ।

साहित्यमा प्रवेश गर्दाको सुरुका दिनलाई कसरी सम्झनुहुन्छ ?

– त्यसो त कुनै निर्दिष्ट समय थाहा छैन, साहित्यप्रति स्वयंको रुचि भएता पनि परिवार, शाखासम्बन्धीमा साहित्यप्रति कसैको पनि त्यस्तो खासै रुचि नभएका कारणले आफूले विद्यार्थी जीवनबाटै लेखिएका सानातिना कविताहरू, भावनाहरू समेट्न सकिएन । यो मेरा निम्ति सुरुका दिनहरू दुःखलाग्दो लाग्छ ।

प्रेरणा कहाँबाट मिल्यो ?

– मेरा लेखाइहरू, कविताहरू हेरी, पढी, सुनी विशेष प्रेरणा प्रदान गर्नुहुने मेरा श्रीमान् नवीन सुब्बाबाट प्राप्त भएको हो ।

दीपक सुवेदी

आफूलाई कुन विधाको स्रष्टा भनिन रुचाउनुहुन्छ ?

– म आफूलाई कविता विधाको स्रष्टा भन्न रुचाउँछु । कारण, कविताद्वारा मलाई आफ्ना भावहरू दर्साउन रहर लाग्छ । वाचन गर्न पाउँदा मलाई आनन्द लाग्छ । समाजलाई हेर्ने दृष्टिकोण मेरा कविताभरि दर्साएर पाठकसमक्ष पस्किन पाउँदा हर्ष लाग्छ, कहिले यथार्थमा, कहिले कल्पनामा कविता फुराउनु रुचिकर लाग्छ ।

कवितालाई कसरी परिभाषित गर्नुहुन्छ ?

– म एक सामाजिक व्यक्ति भएका नाताले म मेरो काव्य अभिव्यक्तिद्वारा समाज, व्यक्ति, व्यवस्था आदिमाथि सोझै दर्पण बनी केही सन्देशमूलक, केही व्यङ्ग्यवाण, कहीँ विद्रोह प्रकट गर्दै यथार्थहरूलाई निर्भीक बनी कविता रचना गर्ने गर्छु । यसैले पनि पारम्परिक ढङ्गबाट नै कवितालाई समाजको दर्पण भनी परिभाषित गर्न रुचाउँछु ।

कवितामा के हुँदा राम्रो हुन्छ ?

– कवितामा सरल भाव, मीठा शब्दालङ्कार, पाठकवर्गका मन छुने दृश्यमूलक, घटनामूलक सन्दर्भहरू समेटेर बिम्ब संयोजनद्वारा पस्किन सकेका भावात्मक शैलीहरू भए कविता राम्रो हुन्छ जस्तो लाग्छ ।

पत्रिका सम्पादन र प्रकाशन पनि गर्नुहुन्छ ? पत्रिका सम्पादन र प्रकाशनका चुनौती र सम्भावनाका बारेमा अनुभव बताइदिनू न ।

– पत्रिका सम्पादन भने गरेकी छुइनँ । प्रकाशनचाहिँ गरेका छौँ तर यी पत्रिकाहरू बालपत्रिका हुनाले त्यति चुनौतीहरूको सामना गर्नु परेन ।

दार्जीलिङमा साहित्यिक पत्रिकाको अवस्था कस्तो पाउनुभएको छ ?

– दार्जीलिङमा साहित्यिक पत्रिकाको अवस्था खडेरी परेको पाउँछु तर सत्तरीको दशकतिर साहित्यिक पत्रिकाको मूल नै फुटेका थिए । असीको दशकदेखि यता पत्रिका प्रकाशन मात्र नभएर साहित्य सृजनामा नै कमी आएको देखिन्छ। यता केही समयदेखि भने फाट्टफुट्ट पत्रपत्रिकाहरू प्रकाशनमा आइरहेका छन् । साहित्य सृजना भने राम्रै फस्टाएको देखिन्छ ।

प्रकाशन संस्था खोल्ने वा स्थापना गर्ने सोच कहाँबाट कसरी आयो ?

– प्रकाशन संस्था खोल्नेबारे साहित्यप्रति रुचि साथै साहित्य सेवाका निम्ति केही कर्महरू गरौँ जो निःस्वार्थ रहनेछ कारण हाम्री छोरी इजाको स्वर्गारोहणपश्चात् इजा हाङमा प्रेयर हलको निर्माण गऱ्यौँ । तत्पश्चात् २०१४ देखि यता निरन्तर साहित्यिक कार्यक्रमहरू, बालपत्रिकाहरू, अन्य लेखकहरूका पुस्तकहरू प्रकाशित गर्दै इजा प्रकाशन स्थापना गरी यही क्षेत्रबाट साहित्य सेवा साथै इजाका तमाम अधुरा इच्छाहरू पूर्ण गर्ने सोच पनि यहीँबाट प्राप्त भयो ।

छोरीका आनीबानी र उनका सपना केकस्ता थिए ?

– छोरीका आनीबानी अन्यझैँ सामान्य नै थिए । पढाइको सिलसिलामा बाल्यावस्थादेखि नै उनले छात्रावासमा नै रही अध्ययन गरेकी हुन् । उनी शाखासम्बन्धी सदैव सकारात्मक बन्नु, टाढानजिक, देशविदेशमा रहेका सबै दाजुभाइ, दिदीबहिनीहरूलाई सम्बन्धका डोरीले एकसूत्रमा बाँधेर राख्ने छोरी थिइन् । उनको सपना नै स्वाभिमानी बन्ने थियो । आफ्नो अध्ययन पूर्ण भएपश्चात् आफ्नै थलो दार्जीलिङमा आफ्नै जातिका निम्ति स्वावलम्बी बनेर केही गर्छु भन्ने अठोट गरेकी थिइन् । सो पूर्ण हुन सकेन ।

दार्जीलिङमा नारी स्रष्टाको अवस्था कस्तो छ ?

– दार्जीलिङमा नारी स्रष्टाहरूको अवस्था कुन सन्दर्भमा कस्तो छ भन्नुभएको प्रस्ट भएन । तर पनि मेरो व्यक्तिगत सोचाइमा दार्जीलिङे साहित्य जमातमा नारी स्रष्टाहरू आफ्नै बलबुतामा साहित्यसृजना, गहन अध्ययन, विद्यावारिधिले सुशोभित हुन सक्षम छन् तर अझ पनि पुरुषप्रधान समाजको मानसिकता कता-कता स्थिर रहेका कारण नारी स्रष्टाहरूलाई समानान्तर नमानेजस्तो लाग्छ ।

पत्रपत्रिका सम्पादन र साहित्यिक संस्था सञ्चालनमा नारी स्रष्टाहरू कहाँबाट को-को हुनुहुन्छ ?

– यस क्षेत्रमा नारी स्रष्टाहरूका प्रशस्त योगदान रहेका छन् । नाउँ र ठाउँ लेखेर सकिन्न । यथेष्ट मात्रामा नै नारी स्रष्टाहरूको योगदान रहेको पाइन्छ ।

पत्रपत्रिका-सम्पादन र संस्था-सञ्चालनमा युवावर्गको वर्तमान अवस्थालाई कसरी हेर्नुहुन्छ ?

– युवावर्ग समाजका मेरुदण्ड हुन् । पत्रपत्रिका-सम्पादनमा र संस्था-सञ्चालनमा वर्तमानमा युवावर्गको भूमिका अग्रिम पङ्क्तिमा होस् भन्ने चाहना हाम्रो छ । हुन पनि पर्ने हो, गर्नेले गर्दै पनि छन् । युवाहरूको अवस्था यहाँमात्र नभएर सायद त्यहाँ पनि त्यस्तै हुन सक्छ ।

दार्जीलिङको नेपाली साहित्यमा आफूलाई कुन स्थानमा वा कहाँ पाउनुहुन्छ र किन ?

– यस प्रश्नको उत्तर मैले दिनुभन्दा अन्यले नै दिएको उपयुक्त ठान्दछु ।

दार्जीलिङको नेपाली साहित्यका सम्भावना र चुनौतीहरू के-के छन् ? ती चुनौतीहरूलाई समाधान गर्न के गर्नुपर्छ जस्तो लाग्छ ?

– दार्जीलिङमा नेपाली साहित्यका सम्भावनाहरू उज्ज्वल नै देखिन्छ । स्रष्टाहरूको कमी छैन तर वरिष्ठ (अग्रज) साहित्यकार अनि अनुजहरूमाझ ठूलो खाल्डो छ जस्तो लाग्छ । निःस्वार्थ रूपमा साँघु बनेर हात समाई डोहोऱ्याउने मार्गदर्शकहरू भने बिरलै छन् जो खेदको कुरो हो । चुनौतीहरू धेरै छन् । पाठकको कमी, भावी पिँढीको नेपाली भाषाप्रति कमजोरी जटिल समस्याहरू हुन् । साहित्य सुन्ने, सुनाउने वातावरण सृष्टि गर्नपट्टि पहल प्रायः शून्य छन् । साहित्यप्रति आकर्षण गराउन विशेष जागरुकता ल्याउन सक्नुपर्छ।

स्रष्टाहरूको दायित्व के कस्तो हुनुपर्छ जस्तो लाग्छ ?

– स्रष्टाहरू निःस्वार्थ हुनुपर्छ । पुरस्कार, संवर्द्धनाका निम्ति कृतिहरू सृजना गर्नु हुँदैन । कर्मले चिन्नुपर्छ साहित्यकारलाई । योगदानको मूल्याङ्कन स्वतः हुने गर्दछ ।

स्रष्टाहरूको प्रोत्साहनका लागि राज्यले केकस्तो भूमिका खेल्नुपर्दछ ?

– हाम्रो पश्चिम बङ्गाल सरकार राज्यको भूमिका साहित्य, सूचना एवम् संस्कृति, समाचार, पत्रपत्रिकाप्रति विभागीय प्रोत्साहनहरूको व्यवस्था छ तर यसतर्फ खोजी गर्ने दायित्व हाम्रो पनि हो । यद्यपि किन हो कुन्नि, त्यतातिर कसैले त्यति चासो दिएजस्तो लाग्दैन ।

अहिलेसम्मका नबिर्सने क्षण कुन हुन् र किन ?

– अन्तिम सास रहिन्जेल नबिर्सने क्षण त्यो हो जति बेला मैले आफ्नी छोरीको शरीर ढुङ्गा भइसकेको पाएँ । कारण प्राणपखेरु उडिसकेको मृतदेह च्याप्पै समाउँदा एक आश्चर्यको अनुभव जहाँ मैले जीवन भ्रममात्र रहेछ भन्ने साँचो अनुभूति गरेँ । यही क्षण मेरो आजीवन बिर्सन नसक्ने घटना हो ।

जीवनलाई परिभाषित गर्नुपऱ्यो भने के भन्नुहुन्छ ?

– जीवनलाई परिभाषित गर्दा यो जीवनक्रम एउटा नाटक हो । हामीलाई कुनै शक्तिद्वारा सञ्चालन गरिन्छ । जीवनका प्रत्येक घटनाक्रमहरू अघिबाटै तय गरिएका हुन्छन् । सकारात्मक सोच राख्न सके जीवन केही सहज बन्दछ । परिस्थितिअनुसार स्वीकार र सामना गर्नु नै जीवन हो । नत्र आफैँमा सम्पूर्ण जटिलताले परिपूर्ण जीवन नै मानवजीवन हो ।

जीवनका भावी लेखकीय इच्छाहरू के छन् ?

– लेखकीय क्षेत्रमा गीतहरू लेख्न अनि राम्रा-राम्रा तथा समाजोपयोगी पुस्तकहरू सम्पादन गर्ने पनि इच्छा छ । आफ्नो कविता विधालाई कायम राख्दै कथा विधामा पनि रुचि भएकाले केही कथाहरू लेखेकी छु । भविष्यमा कथासङ्ग्रह प्रकाशित गर्ने योजना छ ।

अहिले साहित्यमा लागेर के पाएँ र के गुमाएँ जस्तो लाग्छ ?

– साहित्य त्यो अमृत हो जो केही थोपा मात्रमा पनि ठूलो आत्मसन्तुष्टि प्राप्त हुन्छ । गुमाउने भन्ने केही छैन साहित्यमा । मैले साहित्यलाई अमृतसँग तुलना गरिसकेकी छु जो लिने, दिने दुवै भाग्यशाली हुने गर्दछ ।

प्रतिक्रिया
Loading...