साहित्यको मूल विषय नै मानिस  अनि यसको सर्वोपरि विकास । यसमा आउने कुरा नै हो मानिस अनि प्रकृति । मानिसले मानिस र प्रकृतिमा जे देख्छ त्यही लेख्छ । दृष्टिकोण उसको आफ्नो हो । कसैलाई मन पर्ने नपर्नेसँग सरोकार हुँदैन । जीवन जिउने प्रक्रियामा आएका यावत् कुरा नै साहित्यले समेटेको हुन्छ । एउटै  धारा वा एउटै गतिमा साहित्य चल्नुपर्छ भन्ने सोच्नु धृष्टता हुन्छ । समाजमा सोचको परिवर्तन आउनासाथ साहित्यमा पनि परिवर्तन आउनु निश्चित हो । यसमा मानिसमा भएको सोचले कार्य गरेको हुन्छ । कसको सोच कति छ त्यति नै उसको उपलब्धि हुन्छ ।

देवीचरण सेढाईँ

यस लेखाइमा कुरा राख्न खोजिएको हो रम्बास कविताको । रम्बास कवितालाई रम्बास भनून् वा रम्बास त्यो गहन वा सोच्ने विषय हैन । सोच्ने विषय हो रम्बास कवितालाई  ठोस कविता भन्नु वा कवितै हैन भन्नु । कविता हो कि हैन  त्यसको उत्तर त पाठकले दिन्छन् तर ठोस कविताको उत्तर दिने कसले ? ठोस कविताको धारणा कहिले, कसरी, कहाँबाट सुरु भयो त्यसको जानकारी नभै त भन्न सकिँदैन । ठोस (Concrete ) कवितालाई नै चित्र कविता, आकार कविता वा शक्ति कविता भनेको कुरा साहित्यबाट थाह लाग्छ । त्यस किसिमको कवितामा कुनै नीतिगत कुरालाई ल्याइएको पाइँदैन । एउटा चित्र बनाएर त्यस चित्रको विषयमा लेख्नु नै चित्र कविता हो । त्यसको प्रचलन खृ.पू.तेस्रो र दोस्रोमा ग्रीकमा थालिएको देखिन्छ । ती कविताहरू कुनै चित्रभित्र हुन्थे र कवितामा त्यही चित्रको विषयमा लेखिएको हुन्थ्यो । त्यो प्रक्रिया धेरै दिनसम्म रहेन तर सम्पूर्ण रूपमा विलोप पनि भएन ।

कुनै नयाँ कुरालाई प्रतिष्ठा गर्न एउटा लामो समयावधिको  प्रयोजन हुन्छ । त्यही लामो समयमा पनि उसले आफूलाई प्रतिष्ठा गर्न सकेन भनेँ विलुप्त प्रायः हुन्छ । सहित्यमा अध्ययन गर्ने विधा धेरै छन् । त्यसमध्येको एउटा प्रमुख विधा हो कविता । कविताले मानिसको अन्तर्मनको भावनालाई व्यक्त गरेर  एउटा साहित्य सृजना गर्छ । त्यो कविता एउटै   धारा वा गतिमा हिँड्नुपर्छ भन्ने वाद्यवादकता रहँदैन ।  यदि त्यस किसिमको धारणा हुन्थ्यो भने साहित्यमा हरेक वादको आवश्यकता नै हुने थिएन ।

साहित्यको कविता विधालाई नयाँ प्रयोग गरेर उपविधाका रूपमा आएको पक्ष हो रम्बास कविता । यसको अवधारणा भारतको असम राज्यका एक जना साहित्यानुरागी मिलन बोहोराज्यूको हो । यसलाई एउटा नीतिमा बाँध्नुपर्छ भन्ने अर्का जना व्यक्ति हुन प्रा. देवीचरण सेडाईँ । एउटा कविता लेखेर त्यसलाई रम्बासको आकृतिमा मिलाउन सक्नु यसको धारणा हो । एक सय अक्षरभित्र आफ्नो मनको भावना व्यक्त गर्न सक्षम हुने र रम्बासको आकृतिभित्र राख्न सक्षम हुने व्यक्ति नै रम्बास कवि मानिन्छ । विशेष गरी शुद्ध र सबल विषयलाई अँगालेर लेख्नु नै रम्बास कविहरूको लक्ष्य हो । यो रम्बास कविता पारम्परिक कविता विधाको रुखमा पलाएको ऐँजेरु हैन । यो त्यही पारम्परिक कविताको रुखको एउटा डालो हो जहाँ थोरै पात र ससाना फूल फुल्ने गर्छन् । यसलाई  ऐँजेरु भन्नेहरूलाई थाह हुनुपर्थ्यो कि यसले पारम्परिक कवितालाई विनष्ट गर्ने कुनै किसिमको रोग लिएर आएको छैन । कुनै पनि उपविधाले एउटा सबल विधालाई विनष्ट गर्छ भन्नु त्यस विधामाथि ऊ अनभिज्ञ हुनु मानिन्छ । हुन त पूर्वमा  आकृति कविताको धारणा चौथो शताब्दीमा चीन देशमा आरम्भ भएको थियो । सु हुइ जुआन्जि (Su Hui Xuanji) ले चीनमा आकृति कविताको आरम्भ गरेका भए तापनि उनको समयपछि यो विधा सकिएन, रह्यो नै ।

विश्वका पूर्व पश्चिम दुवैतर्फका मुलुकहरूमा यस विधाले जन्म त लियो तर धेरै दिन नरहेता पनि आफ्नो छाप भने राखेकै छ ।

चित्र काव्यको धारणा संस्कृतमा भएको उल्लेख छ । त्यस अतिरिक्त हिन्दी, मराठी र तामिल साहित्यमा पनि उल्लेख नभएको हैन । चित्रकाव्यको धारणा र आजको यो रम्बास कविताको धारणामा भने धेरै अन्तर छ । चित्र काव्यले चाहिँ त्यही चित्रको वर्णन गर्दछ जस्तो चित्र हुन्छ तर रम्बास कविताले रम्बासभित्र रहेर पनि रम्बासको या ज्यामितीय आकृतिको वर्णन गर्दैन । कविले आफ्नो मनको भाव सूक्ष्म रूपमा व्यक्त गरेर रम्बासको आकृतिभित्र राख्ने धारणा नै रम्बास कविता हो । यसमा भाव, शिल्प, अनुभूति र विषयवस्तुलाई यथाशक्य छर्लङ्ग्याउने गरिएको हुन्छ । छोटो समयमा छोटो लेखाइले पाठकलाई मनोविनोद दिने त्यसको सूक्ष्मज्ञान दिन सक्नु उत्तर आधुनिक कालको साहित्यिक धारणा हो । यसले सोहीअनुरूप कार्य गर्न सके कविता सफल भएको मानिनेछ । साहित्यको कविता विधालाई यसले अफाल्न भने खोजेको कदापि नै हैन, तर केही साहित्य लेख्नेहरूले (जसले रुचाएन) भने यसलाई बकवास व कविताको विध्वंसी शत्रु पनि मानेको देखिन्छ, जुन चाहिँ सम्पूर्ण अशुद्ध धारणा हो ।

जहाँसम्म रम्बास कविता लगायत अरू कविताका उपविधाहरू असमका कविहरूले लेख्ने कि नलेख्ने प्रश्न छ यस विषयमा यति नै भन्नु छ कि कसले के लेख्न मन पराउँछ त्यो उसको व्यक्तिगत चयन हो । कसैले श्रुतलिपि दिएर या निर्देश दिएर काव्य सिर्जना हुँदैन । असमजस्तो ठाउँमा जहाँ नेपाली भाषाको पठनपाठन गर्ने बुनियादी सुविधा नै छैन त्यहाँ छन्दकविता या गद्यकविता लेख्ने परामर्श दिनुचाहिँ सरासर अपरिपक्व सुझाव हो । गजल, मुक्तक, हाइकु, रम्बासजस्ता कविता लेखेर जसैतसै एउटा भाषाचर्चा गर्ने माहोल बनिसकेका बेलामा यस्तो आह्वानले हत‍ोत्साह गर्नुबाहेक अर्थोक केही गर्दैन ।