साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
sp machapuchara cash back ads

नाटकको विशिष्ठ महत्त्व भए पनि चलचित्रमा आकर्षण बढी छ- ध्रुव लोहागण

मैले थोरै गुमाएर धेरै पाएको छु । यो जीवनले जति दियो त्यसमा जीवनसित अनुगृहित छु । जीवनसित मेरो केही गुनासो छैन । साहित्यप्रति कृतज्ञ छु । यही साहित्य, कला हो मलाई ध्रुव लोहागण भनेर पाठक, दर्शक एवं जनतामाझ चिनाउने । मायाँ छ, प्रेम छ, श्रद्धा र सम्मान छ साहित्यप्रति । नमन गर्दछु साहित्य तिमीलाई ।

१०, जून १९५९ मा नयाँ बजार, पश्चिम सिक्किममा जन्मिएका ध्रुव लोहागण कलाकार सङ्घ सिक्किमका अध्यक्ष हुन्  ।उहाँका आँधी आएपछि (पूर्णाङ्की नाटक, १९९७), कटुसत्य (नाटकसङ्ग्रह, १९९९), रजनीगन्धा (कथासङ्ग्रह, २००१), मृगतृष्णा (पूर्णाङ्की नाटक, २००४), त्यो पारी गाउँमा (पूर्णाङ्की नाटक, २००६), मन (एकाङ्कीसङ्ग्रह, २०१०), सम्मोहन (पूर्णाङ्की नाटक, २०१८), फेसुबकको पन्नादेखि पुस्तकका पन्नाहरूमा आइतबारे कोसेली (कवितासङ्ग्रह, २०१९), तितो सत्य (कवितासङ्ग्रह, २०१९) र समय चक्र (कथासङ्ग्रह, २०१९) लगायतका प्रकाशित कृतिहरू छन् ।

प्रस्तुत छ, हाल शीतकालमा जोरथाङ दक्षिण सिक्किम, गृष्मकालमा पाकिम पूर्व सिक्किम बसोबास गरिरहनुभएका ध्रुव लोहागणसँग दीपक सुवेदीले साहित्यपोस्टका लागि गरेको कुराकानीकाे सम्पादित अंश:

ध्रुव लोहागण

तपाईँको लेखको दृष्टिले पहिलो कुन रचना हो कुन पत्रिकामा कहिले प्रकाशित भएको थियो ?

मेरो प्रथम प्रकाशित रचना एकाङ्की नाटक हो । नाटकको नाम हो पोथी बासेपछि यो १९८४ सालमा झ्याल्टुङ पत्रिकामा प्रकाशित भएको थियो ।

जीवनक भोगाइ, प्राप्ति पीडाका बिम्बमिश्रित बाल्यावस्थालाई हेर्दा कस्तो देख्नुहुन्छ ?

जीवनभोगाइको क्रमना जीवनलाई फर्केर हेर्दा धेरै सुख र धेरै दुःखमा पनि नबितेको बाल्यकाल । पाठशाला, कलेज, नोकरी, वैवाहिक बन्धन । त्यसपछि एउटा पिता हुनुको, एउटा उत्तरदायित्वपूर्ण अभिभावक हुनुको बोध, कर्त्तव्यपालन । छोराछोरीहरूलाई सुसंस्कार दिएर शिक्षित र सभ्य नागरिक बनाउने मेरो कर्त्तव्य पूरा गरेको थिएँ । जीवनगाडी अघि बढ़्दै जाने क्रममा मानिस मात्रले जीवनमा भोग्नुपर्ने आरोह अवरोहहरूको सामना मैले पनि गर्नुपरेको थियो । म पनि कतिपय परिस्थितिसित जुझ्दै, सङ्घर्ष गर्दै आज यो उमेर र यो अवस्थामा आइपुग्दा थोरै गुमाएर धेरै प्राप्त गरेको अनुभव भएको छ ।

कहाँ कसरी बित्यो बाल्यकाल ?

पाठशाला जानु आउनु, खोला खेल्नु, घरमा काम सघाउनु, टोल खेल्नु, सोह्र माइल र माझी गाउँको मैदानमा गएर बयेर टिपी खाँदै, देउसीमा नाच्दै, गाउदै, प्राथमिक पाठशालाको विद्यार्थी छँदादेखि नै नाटकहरूमा अभिनय गर्दै नयाँ बजार, जोरथाङ, सिक्किममा बित्यो मेरो बाल्यकाल ।

अन्तर्वार्ताकार : दीपक सुवेदी

साहित्यमा प्रवेश गर्दाका दिनलाई कसरी सम्झनुहुन्छ ? प्रेरणा कहाँबाट मिल्यो ?

साहित्यमा प्रवेश गर्छु होला भन्ने मलाई लागेको थिएन तर दश-एघार वर्षको उमेरमा नै राङभाङ खोलाको बगरको ढुङ्गामा बसेर एक जना साथीसित बिडी चुस्दै कविता लेख्ने कोसिस गर्थेँ तर कहिल्यै लेख्न सकिनँ । कति ओटा बिडीहरू त्यसै खेर गए । तर नवौँ श्रेणीको विद्यार्थी छँदा एउटा कविता लेखेको थिएँ । अझै मसित छ । त्यो मेरो प्रथम रचना हो तर कसैलाई देखाएको छैन । पछि कलेज अध्ययनको समयमा मोनो एक्ट लेख्ने भएँ । लेखेर विभिन्न मञ्चहरूमा अभिनय पनि गरेँ । मैले लेखेको पहिलो मोनो एक्ट थियो ‘बौलाहा’ । सुरुका दिनहरूमा लेख्ने रहर थियो, जागर थियो । लेखिरहेँ, निरन्तरता दिइरहेँ अनि आज यहाँसम्म आइपुग्न सक्षम भएको छु । यसरी नै साहित्यमा मेरो प्रवेश भयो । मेरा रहरहरू, चाहनाहरू साहित्य लेख्ने उत्कृष्ट इच्छाहरू नै मेरो प्रेरणा स्रोत हो ।

तपाईँ आफूलाई कुन विधाको स्रष्टा मान्नुहुन्छ किन ?

लेखन यात्राको सुरुआती सुरुआत मैले नाटक लेखनबाट नै सुरु गरेको हुँ । नाटक लेखेको करिब दश वर्षपछि मात्र कविता लेख्न थालेको हुँ अनि तीस वर्षपछि कथा लेख्न थालेको हुँ । मेरा प्रकाशित कृतिहरूमा नाटकको पुस्तककै सङ्ख्या अरू विधाको पुस्तकको भन्दा बेसी छ साथै नाटक लेखेर, अभिनय र निर्देशन समेत गरेको हुनाले म आफूलाई मूलतः नाटक विधाको स्रष्टा मान्दछु ।

नाटक भनेको के हो ? कसरी परिभषित गर्नुहुन्छ ?

नाटक समसामयिक विषय वस्तुहरूलाई समेटी समाजमा सुधारात्मक आह्वान गर्दै तत्कालै विशेष संवाद र अभिनयद्वारा मञ्चमा प्रस्तुत गरिने एक सशक्त माध्यम हो । नाटक संवादहरूको माध्यमद्वारा कथा बुनिएको एउटा साहित्यको रमाइलो विधा हो । अझै नाटकलाई पुष्टि गर्दा यसो पनि भन्न सकिन्छ- विभिन्न चरित्रहरूद्वारा मञ्चमा अभिनय गरेर दर्शकलाई प्रस्तुत गरिन पर्ने नाटक एउटा छुट्टै विशेषता बहन गरेको रङ्गमञ्चीय साहित्य हो । नाटक अनुकरण, नक्कल, अभिनय र हावभावको प्रदर्शन हो । नाटक साहित्यको एक सशक्त विधा हो ।

किन नाटकको क्षेत्रमा नै लाग्नुभयो ?

म नयाँ बजार, पश्चिम सिक्किमको प्राथमिक पाठशालाको छात्र छँदा मेरा शिक्षक स्व. बी.बी. मुखियाले नाटक सिकाएर मञ्चमा उतारेका थिए । त्यसपछि क्रमशः दुई-चार वर्ष उनका अरू थुप्रै नाटकहरूमा पनि मलाई खेलाएका थिए । म उनको प्रिय छात्र अनि प्रिय कलाकार पनि थिएँ । यसरी अभिनय गर्ने क्रममा अघि माथि भनेको छु- मोनो एक्ट (एकल अभिनय) लेखेर मञ्चहरूमा प्रस्तुत गर्न थालेँ । यसरी नै मेरो नाटकप्रति अभिरुचि बढ्दै गयो । त्यसपछि एकाङ्की नाटकहरू लेखेँ । पूर्णाङ्‌की नाटकहरू लेखेर अभिनय र निर्देशन गरी विभिन्न स्थानमा मञ्चन गराएँ । यसरी नै म नाटकको क्षेत्रमा लागिपरेको हुँ ।

नाटकमा त्यस्तो के जसले तपाईलाई नाटक लेख्न हुहुटी चलायो ?

अघि माथि पनि भनिसकेको छु कि अभिनयदेखि म नाटकलेखनमा पनि लागेको हुँ । नाटक लेखनमा मोटामोटी अभ्यस्त भइसकेपछि एउटा कलाकार पनि आफूभित्र पाएँ । नाटक लेखिनु, खेलिनु, निर्देशन पनि गरिनुपर्ने अरू साहित्यका विधाहरू भन्दा छुट्टै विधा भएकाले नाटकमा एउटा चुम्बकीय शक्ति पाएँ, आकर्षण पाएँ, आकर्षित भए अनि सफल नाटकमञ्चनपछिको सफलतामा आफूलाई प्राप्त हुने खुसी र सन्तुष्टीले गर्दा पनि होला मलाई नाटक लेख्नुमा हुटहुटी चल्यो ।

कुन रसका नाटक चाहिँ राम्रा हुँदो रहेछ, किन ?

नाटकमा रसको कुरा गर्नुपर्दा रस नौ प्रकारका हुन्छन्‌ (१) शृङ्गार रस (२) वीर रस (३) करुण रस (४) हास्य रस (५) रौद्र रस (६) भयानक रस (७) अद्‌भूत रस (८) वीभत्स रस र (९) शान्त रस ।

एउटा नाटकमा सबै रस प्रयुक्त भएका हुन सक्छन्‌ अनि केही रस छोडेर नाटक लेखिएका पनि हुन्छन्‌ । हास्य नाटकमा हास्य रसकै आधिपत्य रहेको हुन्छ भने करुण रस भएका नाटकहरूमा हास्य रसको अनुपस्थिति रहेको पनि हुन सक्छ । हास्य रसले ओतप्रोत नाटकमा करुण रसको उपस्थिति न्यून तथा नरहेको पनि हुन सक्छ पूर्णाङ्‌की नाटकले सबै रसलाई अङ्गीकार गरेको हुनु आवश्यक मानिन्छ । एकाङ्की नाटकमा सबै रस समावेश गर्न नसकिए पनि पूर्णाङ्‌की नाटकमा सबै रसले रसिएको हुनुपर्ने एउटा पूर्णाङ्‌की नाटकको धर्म पनि हो भन्ने मलाई लाग्छ । कुन रस राम्रा हुँदो रहेछ भन्ने प्रश्नको उत्तरमा एउटा रसलाई मात्र राम्रो भन्न त्यत्ति सजिलो नहोला अनि अन्य रसयुक्त नाटक राम्रा हुँदैनन्‌ भन्नु अझ कठिन कार्य हो । वर्तमान परिप्रेक्ष्यमा हास्य नाटकहरू अथवा हास्य रसले परिपूर्ण नाटकहरू दर्शकहरूले बढी मन पराएका र आकृष्ट भएका देख्दछौँ ।

समीक्षक समालोचकहरूको आँखामा नाटक त्यति पर्दैनन नि यहाँलाई कस्तो लाग्छ ?

नेपाली साहित्यमा अरू विधाभन्दा नाटक विधा कम्ती नै लेखिने गरेको छ । नेपाली नाटक मात्र होइन हाम्रो भारतेली नेपाली साहित्यको सन्दर्भमा भन्नुपर्दा नाटकबाहेक अन्य विधाका पुस्तकहरूको पनि अपेक्षाकृत समीक्षा र समालोचना भएको पाइँदैन । यद्यपि नाटकमा भन्दा अरू साहित्यका विधामा समीक्षक र समालोचकहरूको कमै भए तापनि आँखा परिरहेको छ ।

भारतीय नेपाली साहित्यमा नाटक लेखन मञ्चनमा सक्रिय पछिल्लो चरणका नाटककारप्रति कतिको आशा गर्नुहुन्छ ?

नाटकलेखन र मञ्चनमा पछिल्लो चरणका नाटककारहरूप्रति आशावादी बन्न सकिन्छ । वर्तमान परिप्रेक्ष्यमा दृष्टिगोचर गर्नुपर्दा निराशा नै हात लागिरहेको भए पनि भविष्यका कुनै पिँढीले नाटकलेखन र मञ्चनको परम्परालाई निरन्तरता दिनेछन्‌ भन्ने कुरामा म आशावादी छु ।

आफैलाई उत्कृष्ट लागेको आफ्नै सृजना वा कृति कुनलाई मान्नुहुन्छ ?

मैले लेखेर मञ्चन गरेका नाटकहरू दर्शकहरूले मन पराएका छन्‌ । कथाविधामा पनि मेरो ‘रजनीगन्धा’ नामक कथासङ्‌ग्रह पुरस्कृत पुस्तक हो । मेरा नाटकहरू सी.बी.एस.इ.बोर्ड, एस.पी.एस.सी., एम.ए., को पाठ्यक्रमहरूमा समावेश भएका छन्‌ । ती कृतिहरू राम्रै भएकाले नै त्यसरी मान्यता पाएको हुनुपर्छ । मलाई पनि मेरा सबै कृतिहरू मन पर्छ । मन पर्नु मात्र होइन मेरा कृतिहरूलाई म मायाँ पनि गर्छु । अब कुरा नघुमाई प्रश्नलाई सम्मान गर्दै उत्तर दिनु हो भने मेरो प्रथम प्रकाशित कृति आँधी आएपछि (पूर्णाङ्‌की नाटक) जो आठपटक मञ्चित पनि भयो यसैलाई म मेरो कृतिहरूमध्ये पहिलो लहरमा राख्छु ।

विश्व साहित्यमा धेरै कुरा उठ्ने गरेका छन् नेपाली नाट्य साहित्य विश्व साहित्यमा कहाँ ?

विश्व नाट्य साहित्यमा विलियम सेक्सपियर, जर्ज बर्नाडस, हेनरिक इबसन, क्रिस्टोफर मार्लोवे आदि सयकडौँ वर्षअघि नै विश्व नाट्य साहित्यमा दरिलो, भरिलो र सशक्त स्थान ओगटेको छन्‌ । विश्व साहित्यमा नाटकको स्थान विशिष्ट स्थानमा विराजमान भएका छन्‌ । हाम्रो नेपाली नाट्य साहित्यलाई विश्व नाट्य साहित्यसित तुलना गर्ने धृष्टता नगरे तापनि हाम्रो नेपाली नाट्य साहित्य पनि त्यति लरतरो छैन भनेर किटान गर्न सकिन्छ ।

समकालीन नाटकलेखनलाई कसरी हेर्नुभएको ?

समय परिवर्तशीनल छ । समयसँगै मानिसको चाहना, इच्छा, स्वाद आदिमा पनि परिवर्तन आएको हुन्छ । तकनिकी विकाशका साथसाथै मानिसको मानसिक स्तरमा पनि विकास आउनु असम्भव हुँदैन । यस दृष्टिकोणमा समयसापेक्ष, युगसापेक्ष, वैज्ञानिक आधारमा आधारसित कृतिहरू जन्मिनुपर्ने हो भन्ने मलाई लाग्छ । समकालीन नाटक लेखनमा युग परिवर्तनसितै युगानुकूल परिमार्जन आउनुपर्छ भन्ने कुरालाई अघि सार्न सकिन्छ ।

भारतीय नेपाली साहित्यमा नाटकको अवस्था कस्तो ?

विगतका वर्षहरूमा जस्तो नाटकको भूमि उर्वर नदेखिए तापनि भारतीय नेपाली साहित्यमा नाटकको अवस्था सन्तोकजनक नै मान्नुपर्छ ।

नेपालभित्रको नाट्य साहित्य भारतीय नेपाली नाट्य साहित्यलाई कसरी हेर्नुहुन्छ ?

नेपाल नेपाली भाषीहरूको एउटा सार्वभौम राष्ट्र हो । सय प्रतिशत नागरिकहरूले नेपाली भाषामा बोल्ने, लेख्ने भाषा हो । सरकारी निकाय राष्ट्रप्रमुखको कार्यालयदेखि ससाना कार्यलयहरूमा समेत प्रयोग गरिने भाषा हो नेपाली भाषा । यस हिसाबले पनि नेपाली भाषाको व्यापक प्रयोग रहेको छ नेपाल राष्ट्रमा । नेपाली भाषाको व्यापक प्रयोग हुनु नै साहित्यका निम्ति पनि एउटा सकारात्मक पक्ष हो । जनसङ्ख्याले पनि साहित्य पठनपाठनमा महत्त्वपूर्ण भूमिका राखेको हुन्छ । यसैले यहाँको प्रश्नलाई यसरी भूमिका बाँधीवरी निष्कर्षमा यही भन्दछु कि नेपालभित्रको नाट्य साहित्य भारतीय नेपाली नाट्य साहित्यभन्दा धेरै अघि छ, उन्नत छ, विकशित छ ।

नेपाली साहित्यमा उत्कृष्ट वा मानक नाटक भनेर लिनुपरेमा कुन कुनलाई लिन सकिन्छ किन ?

बाल्यकालदेखि कलिलो मस्तिष्कमा लक्ष्मीप्रसाद देवकोटाको मुनामदनले जुन अमेट छाप बसाएको छ त्यस छापलाई आजसम्म कुनै नाट्य कृतिले धुमिल बनाउन सकेको छैन । यसैले पनि गीति नाट्य कृति मुनामदन मेरो प्रिय कति हो ।

भारतीय नेपाली नाटकमा सम्भावना के के छन्‌ ?

प्रथमतः सम्भावनाको कुरा गर्नुपर्दा असम्भावना प्रायः कुनै पनि क्षेत्रमा रहेको हुँदैन । नाटकमा इमानदारीपूर्वक नाट्यकर्मीहरू लागिपरेर युगसापेक्ष, युवा पिँढीका चाहना र वैज्ञानिक पक्षलाई पनि आधार बनाएर नाटक लेखिए, मञ्चन गरिए नाटकको श्रीवृद्धि भएर जानेछ भन्ने कुरामा म विश्वस्त छु । साथै नाट्यकर्मी, नाटककार, कलाकारहरूले आवश्यक तकनिकी प्रशिक्षणहरू लिएर अनि अध्ययन गर्नु पनि उत्तिकै जरुरी छ । आजको प्रतिस्पर्धात्मक युगमा चाहे नाटककार हुन्, चाहे कलाकार हुन् वा ततकनिसियनहरू हुन सबै शिक्षित र विज्ञ हुनु पनि उत्तिकै जरुरत छ भन्ने मेरो बुझाइ रहेको छ ।

अनि चुनौतीहरू नि ?

चुनौतीहरूको कुरा गर्नुपर्दा चुनौतीहरूको सामना गरेर सफलता हासिल गर्नुमा नै त्यो सफलताको बढी महत्त्व हुन्छ । चुनौतीहरूको श्रेणीमा पहिलो क्रममा आउने भनेको इन्टरनेट र सोसियल मिडियामा फेसबुक, युट्युब आदि आउँछन्‌ । चुनौतीहरू जति आउँछन्‌ समाधानको सम्भावनाहरू पनि देखा पर्ने नै छन्‌ ।

ती चुनौतीहरूलाई समाधान गर्न कसले केके गर्नुपर्छ जस्तो लाग्छ ?

अघि पनि मैले भनेँ यो युग प्रतियोगिताको युगा हो । कुनै पनि वस्तु मानव समूहमा प्रस्तुत गर्दा त्यो चाहे नाटक होस्, चाहे उपन्यास होस् वा कुनै विधाका प्रस्तुति । ती सब हजारौको भीडमा प्रतिस्पर्धा गरेर अघि निस्कन सक्षम हुने खालका बनाउने हाम्रो ध्येय हुनुपर्छ, जस्तो मलाई लाग्छ ।

नाटककारको दायित्व के कस्तो हुनुपर्छ जस्तो लाग्छ ?

नाटकारको पहिलो दायित्व भनेको उनले लेखेका नाटक बहुसङ्ख्यक पाठकसम्म पुग्दा उनीहरूका मन जित्न सक्ने हुनुपर्दछ । नाटकको उपदेयिता वा भनौँ उद्देश्य त्यहाँ निहित हुन्छ जब उनले लेखेका नाटक मञ्चमा कलाकारहरूको समयोजनामा प्रस्तुत गर्न सकिन्छ । नाटकमञ्चन सुविधा, भूमिकाअनुरूप भाषा, चिटिक्क परेका आकर्षक संवाद, मनमोहक दृश्य विधानहरूको पूर्व परिकल्पना गरेर लेखिनुपर्ने हुन्छ । दर्शक, श्रोतालाई उनले लेखेका कथावस्तु, संवाद, दृश्य सजावट, तकनिकी आदिले कतिको प्रभाव पार्न सक्नेछ भन्ने नाटककारको पूर्व परिकल्पना अङ्कित भएको हुनुपर्छ । यी भए क्षणिक वर्णन नाटकारको उत्तरदायित्वको लेख्दै गए धेरै पन्ना ओगट्‌नेछ ।

नाटककारहरूको प्रोत्साहनक निम्ति राज्यले केकस्तो भूमिका खेल्नुपर्छ ?

यो सर्वविदितै छ कुनै पनि कार्य सम्पादन गर्नका निम्ति अर्थले ठूलो अर्थ राख्दछ । एउटा पूर्णाङ्‌की नाटकलाई मञ्चसम्म पुऱ्याउन कम्तीमा बीस दिन त पूर्वाभ्यास नै गर्नुपर्ने हुन्छ । बीस दिनको कलाकारहरूका निम्ति चिया चमेनाको खर्च, पूर्वाभ्यास स्थलसम्म पुग्ने ट्याक्सी भाडा । शृङ्‌गार सामग्री, वेशभूषाको खर्च, मञ्च सज्जा खर्च, रङ्शालाको महँगो भाडा, प्रचारप्रसारमा खर्च आदि जोड्दा आजको न्यून दर्शकबाट उठाइएको प्रवेश शुल्कले तीस प्रतिशत पनि खर्चको पूर्ति नभएको मलाई अनुभव छ ।

यसर्थ, नाटक विधालाई बचाएर राख्नु हो भने नाटकको इतिहास ज्युँदो राख्नु हो भने सरकारले वार्षिक बजेटमा नाटकका निम्ति केही रकम राखेर वर्षमा कम से कम दुई-तीन ओटा नाटक प्रदर्शन गर्नुमा आर्थिक मद्दत पुऱ्याउन अत्यन्तै आवश्यक छ । नाटकका निम्ति लागिपरेका नाट्यकर्मीहरूलाई पुरस्कार आदि प्रदान गरेर प्रोत्साहन दिनु पनि पर्ने हो । व्यक्तिगत कुरा गरेको जस्तो प्रसङ्गवश भन्नुपऱ्यो- मैले सिक्किमेली मञ्चमा नाटक अभिनय, लेखन र निर्देशन गरेको पचास वर्ष नाघिसकेको छ । तर दुर्भाग्यश आजसम्म सरकारी विभाग वा सरकारको नजरमा म पर्न सकेको छैन ।

तपाईँले नेपाली चलचित्रमा पनि धेरै काम गर्नुभएको कुनबाट कसरी चलचित्रको क्षेत्रमा आउनुभयो ?

सन्‌ १९८७ को कुरा हो । म त्यस बखत राभाङ्ला, दक्षिण सिक्किममा एक वन अधिकारीको रूपमा कार्यरत थिएँ । मेरो रेखदेखमा भएको डाक बङ्ग्लामा ‘साइनो’ फिल्मका युनिट आएर बसेका थिए । मेरो सम्पर्क फिल्मका निर्देशक उगेन छोपेल अनि मुख्य कलाकार डेनी डेन्जोङ्‌पासित भयो । त्यो फिल्ममा श्री उगेन छोपेलले मलाई इन्स्पेक्टरको भूमिकामा अनुबन्ध गरे अनि मैले प्रख्यात सिने कलाकार श्री डेनी डेन्जोङ्‌पासित अभिनय गर्ने मौका पाएँ ।

त्यसपछि-

चलचित्रलेखन, अभिनय र निर्देशन-

१) असली-नकली (टेलिफिल्म) अभिनय

२) रानी खोला (फिचर फिल्म) लेखन अनि अभिनय

३) देवता (टेलि शृङ्खला) अभिनय

४) हाम्रो गाउँको कथा (टेलिफिल्म) निर्देशन

५) जीवन-गोरेटो (टेलिफिल्म) दूरदर्शन गुवाहाटीद्वारा निर्मित अनि प्रसारित लेखन, अभिनय, अनि निर्देशन

६) हरियाली और प्यार (हिन्दी टेलिफिल्म) गान्तोक दूरदर्शनद्वारा निर्मित र प्रसारित अभिनय, लेखन तथा निर्देशन ।

चलचित्रको क्षेत्रमा अहिले के र्दै हुनुहुन् ?

कोरानाले योजनाहरू सबै ठप्प बनाइदिएकाले अहिले केही गरेको छैनँ ।

चलचित्र नाटक अभिनयमा केकस्तो अन्तरको अनुभव पाउनुभयो ?

नाटकको आफ्नै विशिष्ट महत्त्व र स्थान भए पनि चलचित्रको आकर्षण शक्ति बढी नै छ । चलचित्रमा कलाकारलाई धेरै तकनिकी सहयोगहरू मिल्छ । क्यामेराले उसको क्षमताले कलाकारलाई उसले सोचेको भन्दा बढी नै प्रभावकारी बनाएर प्रस्तुत गरिदिन्छ । चलिचित्रमा क्यामेर, साउन्ड, एक्सन हुन्छ अनि अभिनय होस् या अन्य कुनै तकनिकी पक्ष बिग्रिएको अथवा सन्तोकजनक नभएको खण्डमा चलचित्रमा ‘कट्‌’ छ । सिनेमामा रिटेक हुन्छ तर नाटकमा त्यस्तो हुँदैन । सिनेमामा पुनः सच्याएर छायाङ्कन गर्न सकिन्छ तर नाटकमा त्यस्तो हुँदैन । नाटक र चलचित्रको अभिनयमा अन्तरको कुरा गर्नुपर्दा नाटक अभिनयमा धेरै आत्मासन्तुष्टि पाएको छु ।

चलचित्रले नै नाटक ओझेलमा पारेको हो, कस्त लाग्छ ?

यस कुरालाई पनि नकार्न सकिन्न ।

नाटकप्रति दर्शकलाई आकर्षण गर्न के गर्नुपर्छ ?

नाटकमा काम गर्न आउने नाट्यकर्मीहरू पूर्णरूपले समर्पित भएर नाट्य क्षेत्रमा लागि पर्नुपर्ने आवश्यकता छ । एक-दुई ओटा असफलतामा नै हरेस खानु हुँदैन । नाटकको अकादमी स्थापना हुनुपर्दछ । सरकारी सहयोगमा सोही अकादमीद्वारा समय-सयममा नाटक मञ्चन गरिनुपर्छ । राम्रो, मनमोहक, छुट्टै विशेषता भएको मनोरञ्जक र स्वादपूर्ण वस्तुको उपभोग गरिन्छ नै । अनि मार्केटिङले पनि प्रमुख भूमिका राख्दछ । दर्शकका चाहनाअनुरूपका नौलो आधुनिक अनि समसामयिक परिवेश, वातावरण र विषयवस्तु अँगालेर नाटक लेखी आकर्षणीय तरिकाले नाटकहरू प्रस्तुत गरिए दर्शक आकर्षित हुँदैनन् भन्न सकिन्न ।

जीवनलाई परिभाषित गर्नुपरेको भने के भन्नु हुन्छ ?

जीवनलाई भावनामा नडुबी सतही रूपले हेर्नु हो भने जीवन सुन्दर छ । सप्तरङ्गी इन्द्रेणीको झैँ सुन्दर रङ्गहरूले सजिएको छ जीवनमा । सुख छ, आनन्द छ, मनोरञ्जन छ । मायाँ गर्ने मातापिता छन्‌ । प्रेम गर्ने स्वास्नी, प्रेमिका छन्‌ । परिवार छन्, इष्टमित्र छन्‌ । मायाँ छ मोह छ, प्रेम छ यो संसारमा चुम्बकीय शक्ति छ जसले जीवनलाई अल्झाइराखेको छ । सुखसितै दुःख पनि छ । हाँसोसितै रोदन पनि छ । जीवन अचम्मको छ । यो सांसारिक मोहजाल, क्षणिक आकर्षणले जीवनलाई अलमलाइराखेको छ तर घोत्लिएर जीवनलाई हेर्नु हो भने एकै पलमा आँखा खोलेर आँखा चिम्म गरेजस्तो छ जीवन । शून्यको सुरुआत शून्यको अन्त शून्यता हो जिन्दगी । मेरो हेराइमा बुझाइमा यस्तै छ जीवन ।

नयाँ लेख्ने अथवा नवोदित स्रष्टाहरूलाई के सल्लाह सुझाउ दिनुहुन्छ ?

आजको युग भनेको तकनिकीले उच्चता प्राप्त गरेको युगा हो । हाम्रो जमानामा जस्तो कठिनाइ छैन अहिलेका समयमा । हामी अध्ययन, अध्यापन अथवा कुनै नौलो कुरा जान्न र बुझ्न परेको खण्डमा त्यस्तो केही साधन उपलब्ध थिएन । लाइब्रेरी पनि राज्यको राजधानीमा मात्र हुने गर्थ्यो तर आज नयाँ तकनीकिले हातमा नै विश्वभरिका साहित्यिक कृति, साहित्यका सूचना, विवेचना, समालोचना, विश्व साहित्यसम्बन्धी ज्ञानका भण्डार उपलब्ध छ । हाम्रो जमानामा भन्दा आजका युवा पिँढी धेरै शिक्षित पनि छन्‌ । यसर्थ वर्तमान तकनिकी सहुलियत, उपलब्धता र शैक्षिक योग्यताको लाभ उठाउँदै नवोदित स्रष्टाहरूले प्रशस्त साहित्य लेख्नुपर्छ । सफल र योग्य साहित्यकार बन्नलाई धेरै पढेर कम्ती लेख्नुपर्ने भन्ने सत्यलाई आत्मसात् गर्दै अध्ययनमा आफूलाई समर्पित गर्नु अनिवार्य ठहर्दछ ।

यसरी नवोदित स्रष्टाहरूले अध्ययन गरून्, पाठक र समाजले रुचाउने किसिमका अक्षुण्ण विषय वस्तुहरूमाथि कलम चलाउन साथै साहित्यलाई एउटा रहर मेटाउने साधानका रूपमा होइन तर साहित्यकै निम्ति जन्मिएका हुन् भन्ने उदाहरण पनि प्रस्तुत गरून्‌ ।

जीवनका भावी लेखकीय योजना इच्छाहरू के छन्‌ ?

एउटा दुइटा नाटक मञ्चन गर्ने इच्छा रहिरहेको छ । सङ्घसंस्था र मित्रहरूसित सरसल्लाह पनि भइरहेको छ । कोरोना साम्य भएपछि यो इच्छालाई कार्यरूप दिने मेरो कोशिश रहेको छ । एउटा-दुइटा पुस्तक छपाउने पनि इच्छा छ ।

अहिले साहित्यमा लागेर के पाए के गुमाएजस्तो लाग्छ ?

साहित्यमा लागेर सबभन्दा ठूलो कुरो आत्मसन्तुष्टि पाउन सकेँ । हजारौँ पाठक/दर्शकहरूका मायाँ पाउन सकेँ । केही गुमाइन मैले साहित्यमा लागेर । समय आफैँ बितिरहने हो, यो बितिरहने समयसित हातेमाले गर्दै मैले समयलाई गर्दै मैले समयलाई सदुपयोग नै गरेको छु भन्ने मलाई लाग्छ । समयले पनि मलाई साथ दिएकै हो । समय स्वयं बितिरहेको हुन्छ । हामीलाई पो समयले गुमाइरहेको हुन्छ । समयलाई सदुपयोग गर्न सकिए गुमाएको अनुभव नहुँदो रहेछ । यसर्थ निष्कर्षमा यही भन्छु कि जीवनमा

लेखक परिचय
दस
दीपक सुवेदी
प्रतिक्रिया
Loading...