भिएनामा पनि दुई जना सालीहरूको भिनाजु हुन पाइयो । कुरा त सानो होइन, गजबकै हो अनि रमाइलो पनि । किनभने यी रमाइला र सुन्दरी दुई सालीहरूले मलाई नियास्रो हुन दिएनन् । एउटी हुन आशा अनि मेरो भिएना यात्रामा सालीका रूपमा भेट भएकी एउटी नयाँ पात्रा हुन् कमला । उनको खास नाम बिर्सेर मैले राखेको नाम हो कमला । सहज, सरल, राम्री र फरासिली । उनको आफ्नो घर काँकरभिट्टा रहेछ । माइत घरको पनि उल्लेख त गरेकी हुन् तर मैले नै सम्झिन सकिनँ । उनका श्रीमान् विद्यार्थी भिसामा पढ्न भनी भिएना आएका रहेछन् । दुई वर्ष उमेर पुगेको उनको एउटा मायाँलाग्दो छोरो पनि रहेछ । छोरो चार-पाँच महिनाको हुँदा नै श्रीमान् बिदेसिएका । भिसा पाउनलाई विद्यार्थीको निहुँ गरेको हो कि वा साँच्चै नै पढ्ने इच्छा भएर हो सो कुरा बुझ्नतिर म लागिनँ । किनभने त्यस तरिकाले धेरै युवा विदेश छिर्ने गर्छन् । सानो बालख छोडेर खै के मन लाग्यो कमलालाई पनि भिएना जाने? पैसा नै कमाउन हो कि श्रीमान्‌ भेट्न हो बुझ्न सकिएन । श्रीमान्‌सित छुट्टिएको पनि त एक वर्ष नाघेछ । अनि उनका श्रीमान्‌लाई पनि श्रीमती आइदिए हुन्थ्यो भन्ने इच्छा थियो होला । श्रीमान्‌को प्रसङ्गले भिसा पनि भइहालेछ तर केही सीमित समयका लागि । त्यसपछि कमला फर्किनुपर्ने तर आफ्नो सानो बालक छोरासित बिछोडिएर पनि उनलाई उतै बस्ने प्रबल इच्छा रहेछ भन्ने कुरा जान्न पाएँ ।

मुक्तिप्रसाद उपाध्याय (सिलगढी)सेप्टेम्बर १४ का दिन बुधबार बिहानै नौ बजेतिर आशा र उनकी साथी कमला दिदीलाई भेट्न आए । सायद दिदीलाई उनीहरूले फोन गरेका थिए होलान् । कमलाको भिसाको म्याद बढाउने कुरा निकै जटिल छ । विद्यार्थी भिसामा आएका श्रीमान्‌सित श्रीमती पनि बसेको प्रशासन्ले थाहा पायो भने श्रीमान्‌को विद्यार्थी भिसा नै रद्द हुन सक्ने जानकारी दिदीले गराउनुभयो । दिदीसित कमला लगायत आशाले निकै अनुनय विनय गर्दै थिए । दिदीले चाहनुभयो भने नहुने कुरै छैन भनेर आशा भन्दै थिइन् । पछिको कुरो के हुन्छ हेरौँला तर कमलाले यहाँको जर्मन भाषाचाहिँ तुरुन्त सिकिहाल्नु भनेर दिदीले सल्लाह दिनुभयो । दिदीले आशालाई सोध्नुभयो – “कमलाका लागि के गर्न सकिन्छ विचार गरौँला । आशा ! आज र भोलि तिम्रो के काम छ ?”

आशाले भनिन् – “आज र भोलि त मेरो छुट्टी नै छुट्टी छ ।”

“कस्तो राम्रो भएछ । भोलि मेरो कोर्टको काम परेको छ । आज पनि मेरो केस स्टडी गर्न जानु छ । मुक्ति एक्लै हुने परे भनेर सोधेको” ,दिदीले भन्नुभयो ।

“कति राम्रो भयो । आज र भोलि भेना मेरो जिम्मा । तपाईँ सुर्तै नगर्नू दिदी ! हिँड्नुहोस् भेना घुम्न जाऔँ । जाने होइन ?” ,आशाले भनिन् ।

“जाने नि, किन नजाने ? एक जना पनि होइन दुई जना सालीहरूसित घुम्न जान पाउँदा पनि जान्न के त ? यस्तो मौका छोड्नु त मूर्खता हो । ल जाऔँ” ,मैले पनि हाँस्दै भनेँ ।

“मुक्ति ! भान्सामा पसेर केही खाएर जाऊ” ,दिदीले भन्नुभयो ।

“पर्दैन । साली हुँदाहुँदै म भेनालाई भोको राख्छु के त ? जाऔँ । बाहिरै खानुपर्छ” ,आशाले भनिन् । म, आशा र कमला निस्कियौँ । उनीहरूले मलाई सिधै स्टिफेन क्याथेड्रलको इलाकातिर लिएर गए । त्यतै कतै आशाले काम गर्ने निकै ठूलो रेस्टुरेन्ट रहेछ । त्यहाँबाट अघि लागेर एउटा मुक्त रेस्टुरेन्टको छातामुनि हामी बस्यौँ । आशा पनि बियर खान त झन्डै भास्करजस्तै । पहिले बियरको अर्डर भयो अनि त्यसपछि खानेकुरा । त्यहाँको खानेकुराको परिकारका नामहरूमा बर्गर र पिज्जा चाहिँ मेरो मनमा रह्यो अरू केही नाम थाहा छैन । उनीहरूले पनि खाजा नखाई हिँडेका रहेछन् । आशाले गतिलै खानेकुरा मगाएकी थिइन् । जे होस् आनन्द र तृप्तिपूर्वक खाएर हाम्रो हिँडाइ मच्चियो । ग्राबन स्ट्रिट, कोहोल मार्केट आदि हुँदै डेन्युब क्यानलको किनारैकिनार हिँड्यौँ । पहिले म त्यहाँ काथीसित राति आएको थिएँ । पहिले आएको ठाउँ भए तापनि मन नअघाउने । निकै पर पुगेर एउटा सुन्दर सफा फूलबारीमा पुगेर बस्यौँ ।

मुक्तिप्रसाद उपाध्याय (सिलगढी)

कमलाको मोबाइल बज्यो । कमलाले सुन्न थालिन् । फोन जति सुन्दै जान्छिन् उनका आँखा पनि त्यति नै रसाउँदै जान्छन् । उनको त्यो फोन काकरभिट्टाबाट आएको रहेछ । घरमा सासुसित छोडेर आएकी उनको छोरो खान नमानेर आमाको खोजी गर्न थालेछ । त्यसैले सासुले उनलाई फोन गरेकी रहिछन् । “आमा-आमा” भन्दै छोराले पनि आमाको खोजी गर्दै फोनमा बोल्यो । “मेरो प्यारो छोरा तिमी अहिले खानेकुरा खाऊ अनि सुत । भोलिपर्सि म तिम्रा लागि धेरै खेलौना लिएर आउँछु । हजुरआमाले भनेको मान्छ पो त मेरो राम्रो छोरो” ,भनेर फोन बन्द गरेर कमला आफ्ना घुँडामा टाउको राखेर रुन थालीन् । आशाले मीठो तरिकाले उनलाई सुमसुम्याउँदै सान्त्वना दिन थाल्दा कमलाको मन झन् भक्कानिएर आयो । उनलाई सामान्य हुन निकै बेर लाग्यो ।

म फेरि आफ्नै सोचमा रुमलिन थालेँ । लोग्ने बिदेसिए तापनि सासूससुरा भएको घरमा कमलालाई खान लाउन पक्कै पनि दुःख थिएन होला । त्यति सानो काखको छोरो छोडेर ती कमलालाई किन बिदेसिन मन लागेको होला ? कर त पक्कै पनि थिएन । रहर र देखासिखी होला । गाउँ घरमा एउटा शान र अभिमान सृजना गर्न पनि होला । हुन त यो उनको व्यक्तिगत कुरा हो । छोराको मायाँमा पिरोलिरहेकी कमलालाई मैले मेरो तर्फबाट केही सोधिनँ तर मैले उनलाई सान्त्वना चाहिँ दिएँ । कमलाको मन अलिक फुर्तिलो भएपछि हामी बिस्तारै त्यहाँबाट निस्कियौँ ।

उनीहरूले मलाई हिँडाएर भिएना सहर घुमाउने विचार गरेछन् । बाटाघाटा सबै नै सुन्दर र स्वच्छ छन् । त्यहाँ गाईगोरु र कुकुरहरू हाम्रो यताको जस्तो स्वतन्त्र छैनन् । त्यो देश नामको मात्रै स्वतन्त्र रहेछ । हाम्रो देशमा गाईगोरु र कुकुरहरूको स्वतन्त्रताको कुरै नगरे हुन्छ । मूल सडकका बीचमा ढुक्कले विश्राम गर्छन् मस्त साढेहरू । अनि गाईहरू पनि यत्रतत्र विचरण गरिरहेका हुन्छन् । गाई पाल्नेलाई पनि कति ढुक्क ? साँझ र बिहान दूध दुह्यो अनि सहरमा चर्नलाई छोड्यो । बिचारा गाडी, मोटर र साइकलयात्रीहरूलाई गाई र साडेबाट जोगिएर हिँड्नुपर्ने हुन्छ । कसैलाई मलका लागि गोबर चाहिएमा एउटा थैलो बोकेर मूल सडकमा गए भइहाल्छ । बाटैभरि गोबर । कुकुरहरूको त झन् कुरै नगरौँ । टोकाटोक, भुकाभुक गर्दै लाजै नमानी उनीहरूको आफ्नो जनसङ्ख्यावृद्धिको सुकार्य आनन्दले खुल्लमखुल्ला गरिरहेका हुन्छन् । भिएना सहरमा त्यस्ता आनन्दका दृश्य केही देख्न पाइनँ । मन नियास्रो लागेर आयो । छेउछाउका रूख आदिबाट झरेका पात पनि देखिँदैनन् बाटामा । धुलो भन्ने कुरो पनि हुन्छ कतै संसारमा भनेजस्तो लाग्यो । त्यहाँ हिँड्दा बरु शरीरलाई थकान लाग्ला तर मन अघाउँदैन । “भेना ! म तपाईँलाई आज तपाईँसित सम्बन्धित विभागतिर लान्छु” भनेर आशाले मलाई भिएना विश्वविद्यालयअघि पुऱ्याइन् । आशालाई धेरै धन्यवाद दिँदै भनेँ – आशा तिमी यति बुद्धिमान् छौ भन्ने कुरा मलाई थाहा थिएन । गजक्क पर्दै आशाले भनिन्- साली कसकी हुँ ?

भिएनाको त्यो विश्वविद्यालय सन् १३६५ मा ड्युक रुडोल्फ चौथोले बनाएका रहेछन् । लामो र समृद्ध इतिहास बोकेको त्यो विश्वविद्यालय जर्मन भाषी संसारका लागि सबैभन्दा पुरानो विश्वविद्यालय रहेछ । त्यस विश्वविद्यालयसित सम्बन्धित विद्वान्‌हरू बीस जनाले नोबेल पुरस्कार पाइसकेका छन् । बाटाबाट सोझै देखिने यसको मुख्य भवनको बनावट नै भव्य छ । केन्द्रीय युरोपमा सबैभन्दा पुरानामा पहिलो रहेछ प्रागको चार्ल्स विश्वविद्यालय, दोस्रो क्रेकौको जागिएलोमियान विश्वविद्यालय अनि तेस्रोमा पर्दो रहेछ भिएनाको विश्वविद्यालय । बाहिरबाट हेर्दै हामी हिँड्दै नै अघि बढ्यौँ । निकै फराकिलो मूल सडकबाट केही पर एउटा भव्य राजमहलजस्तो भवनलाई देखाएर आशाले मलाई सोधिन्, “भेना ! भन्न सक्नुहुन्छ यो भवन के हो ?”

“मलाई त कुनै राजभवनजस्तो लाग्छ” ,मैले भनेँ ।

“राजमहल होइन भेना ! यो त भिएना सहरको म्युनिसिपालिटी अफिस हो !” आशाले भनेपछि म साँच्चै नै छक्क परेँ । म्युनिसिपालिटी अफिसको घर पनि राजभवनकै ढाँचाको हुन सक्छ भन्ने मेरो कल्पनामा थिएन । यसलाई सिटी हल भन्दा रहेछन् । सन् १८८३ मा बनिएको यो भव्य भवन गोथिक शैलीअनुसार नै बनाइएको छ भने बीचको अग्लो मिनार गोथिक क्याथेड्रलको अनुकरण गरिएको रहेछ ।

“अब नि भेना ! म तपाईँलाई तपाईँको अर्को मन पर्ने ठाउँमा लान्छु” भनेर बाटाकै छेउमा टाँसिएर बनेको एउटा त्यस्तै ऐतिहासिक भवनअघि पुऱ्याइन् र त्यसलाई देखाउँदै भनिन्, “तपाईँ त नाटक, सिनेमा गर्ने मान्छे भनेर मैले यहाँ ल्याएकी हुँ । यो हो भिएना स्टेट ओपेरा हाउस ।”

“मैले नचिताएको त्यस अनौठो भवनमा आशाले पुऱ्याएकै भन्नुपर्छ । मलाई त त्यस भवनभित्र पसेर हेर्न मन लाग्यो” ,मैले भनेँ । भवनको मूल ढोकाबाट भित्र पस्दापस्दै एउटा अर्कै आनन्द लाग्यो । त्यहाँका भित्ताहरू, सिँढी लगायत बत्ती आदिको सजावटको सुन्दरता मनमोहक थियो । आशाले त्यहाँको एक जना मानिसलाई जर्मनमा सोधिन् । सात बजे क्लासिकल ब्याले डान्स छ भन्ने जानाकरी पाइन् । नाटक भएको भए हेर्ने थिएँ होला तर डान्स हेर्न मन लागेन । हुन त ब्याले डान्स पश्चिमको एउटा अति प्रसिद्ध नृत्य हो । इटलीको जनजागरणको समयमा पन्ध्र सय शताब्दीतिर शास्त्रीय ब्यालेको सुरुवात भएको मानिन्छ । यसको प्रविधि र शैली निकै कठिन मानिन्छ । यो फ्रान्स र रुस हुँदै व्यापक बनेको हो । फेरि यसको कार्यक्रम पनि साह्रै ढिलो राखिएको रहेछ । रङ्गमञ्च मात्रै हेर्ने अनुमति लिएर भित्र पस्यौँ । मैले जीवनमा त्यस्तो भयानक रङ्गमञ्च देखेको थिइनँ । मैले देखेका अलिक राम्रा र पाँच सयदेखि हजार जनासम्म दर्शक क्षमता भएका रङ्गमञ्चहरूमा गुवाहाटीको रवीन्द्र भवन र जिल्ला पुस्तकालय भवन, सिलगढीको दीनबन्धु मञ्च, गान्तोकको मनन केन्द्र, काठमाडौँका राष्ट्रिय सभागृह, सर्क भवन, रसियन कल्चर भवन आदि अनि सन् २०१५ मा मलाई साहित्य अकादमी बाल साहित्य पुरस्कार प्रदान गर्न बोलाइएको मुम्बाइको रवीन्द्र भवन नै हुन् । मैले देखेका ती प्रायःजसो रङ्गमञ्चहरूमा भुईँतला र एउटा बालकनी छन् । भुईँतलाको दर्शक कक्षबाहेक मञ्च छोडेर तीनतिर चारतले बालकनीमा बसेर जम्मा १७०९ जना दर्शकले कार्यक्रम हेर्न सक्ने प्रबन्ध त्यस ओपेरा हाउसको रहेछ । त्यो भिएना स्टेट ओपेरा हाउस सन् १८६९ मा बनेको हो । मोहनी नै लागेझैँ गरी एकछिनसम्म त्यस थिएटर भवनलाई क्वारक्वारती हेरिरहेँ । मन अघाएपछि त्यहाँबाट निस्किएर फेरि सडकै सडक पागलझैँ हामी हिँड़्न थाल्यौँ । त्यसरी हिँड्दा पनि मलाई नराम्रो वा विरक्त लागेको भने पटक्कै थिएन किनभने भिएना सहर जति हेरे पनि जति घुमे पनि वाक्क र दिक्क लाग्ने छैन । हरियाली सर्वत्र, बाटाका छेउछाउमा ऐतिहासिक र कलात्मक भवनहरू, सिनिक्क बाटाहरू, थोरै पथचारी अनि त्यसमाथि चञ्चले र फुर्तिला दुई सालीहरूसित स्वतन्त्र घुम्न पाउँदा पनि आफूलाई त तन्नेरी नै छु जस्तो अनुभवले मक्ख पारेर निकै ऊर्जा पनि दिइरहेको थियो । कुन्नि के सोचेर हो, आशाले दिदीलाई फोन गरिन् । पाँच बजे हाउप्टबनहफ अर्थात् भिएनाको मुख्य रेल स्टेसनमा दिदी ओर्लिनुहुन्छ भन्ने जानकारी पाइन् । दिदीलाई रिसिभ गर्न हामी तीनै जना त्यतै जाने भयौँ । गयौँ हिँड्दै रेल स्टेसनतिर । रेल स्टेसनका अगाडि धेरै फराकिलो आँगन, एकातिर पार्किङका लागि प्रशस्त खुल्ला ठाउँ थियो । हामी अलिक छिटो भएछौँ । रेल आइपुग्न अझै चालीस मिनट बाँकी थियो । भेनालाई भोक लाग्यो होला भनेर मलाई केही भन्ने समय नदिईकन आशा एकातिर हिँडिन् । म र कमला त्यतै फूलबगैँचाका छेउमा भएको लामो बेन्चमा बस्यौँ । भिसाको समय बढाउन सकिएन भने फर्किनुपर्छ भन्ने गुनासो पोखिन् कमलाले तर पनि आज उनको अनुहार निकै उज्यालो थियो ।

कमला ! तिम्रो पनि दोधारको स्थिति देखेँ मैले । एकातिर छोरो अनि अर्कातिर श्रीमान्‌ । पैसाले मात्रै सबै थोक हुँदैन भन्न चाहेँ मैले । “श्रीमान्‌लाई पढ्नका लागि ढुक्क छोडेर तिमीले अब छोराको भविष्य हेर्नुपर्छ कि जस्तो पनि लाग्छ मलाई । विदेशमा बसेर पैसा कमाएर छोराको भविष्यचाहिँ लथालिङ्ग भयो भनेपछि मनमा झन् ठूलो पछुतो हुन्छ । यो मेरो व्यक्तिगत सोच हो । दुई दिन साथ दियौँ, घुम्यौँ, रमाइलो गऱ्यौँ । तिमीसित पनि एउटा आत्मीय भाव जन्मिएर भनेको मैले । अन्यथा नलिनू है बैनी ! ….”

त्यति बेलै हातमा कागजको पोको र तीन ओटा कोकका क्यान लिएर आशा आइपुगिन् । कगजको पोकामा साना बर्गर तीन ओटा थिए । कोक र बर्गर खाइसकेर पाँच बज्न लाग्दा हामी दिदीको रेल आइपुग्ने प्लेटफर्ममा गएर उभियौँ । नभन्दै ठिक्क समयमा रेल आइपुग्यो । परैबाट हामीले दिदीलाई रेलबाट ओर्लिँदै गरेकी देख्यौँ । आफ्नो सधैँ बोक्ने ब्यागबाहेक पनि एउटा ठुलै निलो सुटकेस गुडाउँदै दिदी हामीतिर आउनुभयो र भन्नुभयो, “मुक्ति ! यो बाकस तिम्रालागि ल्याइदिएकी ।” दिदीले भन्न नपाउँदै आशाले भनिन्, “फुपू सासू पनि पाएकै हो हाम्रो मुक्ति भेनाले त ! कति मायाँ हौ ज्वाइँको !”

“मुक्तिले आफ्नो बाकसको चक्का एयरपोर्टमा ओर्लिँदै भाँचेछन् । दिदी सम्झिएर कहाँदेखि आएँ । मेरी छोरीको बिहे भनेर भारत र नेपालबाट आउनेहरूमा मुक्ति एक्लै हुन् । ल्याइदिनै पऱ्यो, मायाँ गर्नैपऱ्यो । मुक्ति ! मन पऱ्यो होइन ?” ,दिदीले भन्नुभयो ।

“मायाँले दिएको मन नपराउने कुरै छैन । रङ्ग पनि मलाई मन पर्ने ल्याउनुभएछ । यो रङ्ग देखेर मलाई मेरी आमाको सम्झना आयो । मेरा लागि आमाले किनिदिएका लुगाहरूमा धेरै निला रङ्गका नै हुन्थे । दिदीको मनले मेरी आमाको मन छुन पुगेछ । आमाकै मनको स्पर्श छ यस बाकसमा । धेरै-धेरै धन्यवाद दिदी तपाईँलाई” ,मैले भनेँ ।

कमलाले बाकस गुडाइन् अनि हामी बाहिर जान वैद्युतिक सिँढीमा चढ्यौँ । रेल स्टेसनबाट हामी बाहिरको खुल्ला ठाउँमा आयौँ । त्यतैको रमणीय परिवेशमा सबैलाई बस्न मन लागेछ । एउटा बेन्चमा हामी चारै जना बस्यौँ । आशाले हाँस्दै दिदीलाई भनिन्, “दिदी ! अब तपाईँले भिनाजुलाई लिएर गइहाल्नुहुन्छ । भिनाजुलाई एक क्यान बियर पनि नखुवाई बिदा गर्नु त भएन । दिदी ! तपाईँ पनि लिने ?”

“म खान्नँ, तिमीहरू खाओ” ,दिदीले भन्नुभयो ।

आशालाई गफ गर्न र हाँस्न कसैले भेट्ने होइन । बियर खाँदै, गफ गर्दै अनि हाँस्दै त्यहाँ निकै बेर हामी बस्यौँ ।

सेप्टेम्बर १५ बिहीबारका दिन पनि दिदी आफ्नो काममा निस्किनुभएको एकछिनपछि आशाको फोन आयो । आशाले मलाई स्टेसनको नामसहित त्यहाँ पुग्ने विवरण भनिन् । सोहीअनुरूप कमला र आशासित मेट्रो स्टेसनमा भेट भयो । त्यहाँबाट पनि हामी मेट्रो नै चढेर गयौँ । त्यो ठाउँ दश किलोमीटर जति टाढा रहेछ । सन्ब्रुन मेट्रो स्टेसनबाट दश मिनेटजति हिँड्दा हामी सन्ब्रुन महल पुग्यौँ ।

पर्यटकहरूको मुख्य आकर्षणको केन्द्र बनेको यो अस्ट्रियाको प्रसिद्ध ऐतिहासिक, कलात्मक र सांस्कृतिक भवनको महत्त्व उच्च रहेछ । सन् १६४२ मा बनिएको यस सन्ब्रुन महललाई १९९६ मा युनेस्कोले विश्व धरोहरका रूपमा घोषणा गरेको रहेछ । १४४१ ओटा कोठा भएको यो महल हफवर्ग शासकहरूले ग्रीष्मकालीन शिविरका रूपमा निर्माण गरेका थिए । बारुक र रोकोको शैलीका वास्तुकला लगायत विभिन्न सांस्कृतिक कलात्मक कृतिहरू यहाँ असङ्ख्य देख्न पाइन्छ । सुन्दर झर्नाको अर्थ बोकेको सन्ब्रुन महलको सेरो फेरोमा अनेक झर्ना, फुहारा, पोखरीहरू छन् झन्डै दुई सय हेक्टर जमिनमा यसको सम्पूर्ण निर्माण फैलिएको रहेछ । यहाँ एउटा भवन मात्रै छैन । इङ्ग्लिस गार्डेन, फ्रेन्च गार्डेन आदि सुन्दर बगैँचाहरू छन् साथै प्रकृतिमा रमाएका पाम हाउस, वास्टेन हाउस, वागेन वर्ग आदि सुन्दर घरहरू छन् । नानीहरूका लागि खेल्ने ठाउँ, म्युजियम लगायत भुलभुलैया पनि गजबको बनाइएको रहेछ । प्राकृतिक परिवेशले परिपूर्ण चिडियाखाना र वनस्पति-विज्ञानसम्बन्धी ठूलो बगैँचा पनि थियो । यस बोटानिकल गार्डेनमा विभिन्न दुर्लभ वनस्पतिहरूको सङ्कलन, संरक्षण, संस्कार गर्दै खेती गरिन्छ र ती वनस्पति प्रदर्शनमा पनि राखिन्छ । यहाँको चिडियाखानामा केही दुर्लभ पशुप्राणीहरूको पनि संरक्षण गरिएको रहेछ । सन्ब्रुन महलको सम्मुखमा धेरै फराकिलो र विशाल आँगनमा आकर्षक बगैँचा रहेको छ । महलबाट सोझै पर टाकुराको फेदमा भएको नेप्चुन फुहारासम्म घुमफिर र हिँडडुल गर्ने फराकिलो बाटो छ । टाकुराको फेदमा आध्यात्मिक र धार्मिक आस्थाका प्रतीकका रूपमा सुरम्य र सुशोभित फुहाराका बीचमा नेप्चुनको चक्षुष्य प्रतिमूर्ति स्थापित छ । रोमन संस्कृतिमा नेप्चुनलाई स्वच्छ पानी र सागरका देवता मानिन्छ । ग्रीक परम्परामा जुपिटर र प्लुटोका भाइ हुन् नेप्चुन अनि यिनीहरूले स्वर्गराज्य सञ्चालन गर्छन् भन्ने मान्यता रहेको छ । त्यस नेप्चुन फुहारामा सागरी घोडा र ट्रिलनका सुन्दर मूतिहरू पनि छन् । त्यस क्षेत्रमा जम्मा ५५ ओटा मूर्ति छन् जसमा ३२ ओटा सन्ब्रुन भवनअघि अनि रहल बगैँचाहरूतिर । नेप्चुन फुहारामाथि भएको टाकुरामा ग्लोरिएट अर्थात् सबैतिर खुल्ला भएको एउटा राम्रो भवन छ । त्यहाँबाट हेर्दा तल भएका फुहारा, बगैँचा आदि लगायत पर आफ्नो शानमा उभिएको सन्ब्रुन महलको दृश्य मनमोहक देखिन्छ । महलभित्रको अपूर्व कलाकरिता फेरि आफ्नै प्रकारका स्वच्छ, परिष्कृत, चमकदार, मनोहारी अनि ऐतिहासिक महत्त्वका छन् । अचेल यस सन्ब्रुन महलमा सङ्गीत आदिका विभिन्न कार्यक्रम हुने गर्छन् अरे । विशेष गरी अन्ताराष्ट्रिय स्तरका चलचित्रहरूको पनि छायाङ्कन यहाँ हुँदो रहेछ । चलचित्रका छायाङ्कनका सिलसिलामा संसार प्रसिद्ध सोफिया लरेन, ज्याकी च्याङ, सिन कनरी, रोजर मोरे आदि कलाकारहरू यहाँ आइसकेका रहेछन् । टिभीका विभिन्न कार्यक्रमका लागि पनि यस क्षेत्रको उपयोग गरेको पाइन्छ ।

प्रवेश पथमा नै टिकट काटेर पस्नुपर्ने रहेछ । काउन्टरअघि पुग्दा मैले टिकटका लागि मेरो वालेट लिकाल्न खोज्दा – “भेना ! यहाँ सालीको पैसा मात्रै चल्छ । भेनाको पैसा चल्दैन बुझ्नुभयो । आफ्नो वालेट थपक्क खल्तीमा राख्नुहोस्” भनेर आशा कड्केर बोलेपछि मेरो केही लागेन । टिकट काट्ने काम सबै आशाले नै गरिन् । आशाले मलाई पहिले इङ्गलिस, फ्रेन्च र बोटानिकल गार्डेनहरूको प्राकृतिक रमणीयतामा निकै बेर लटपटाउँदै, भिजाउँदै, बेहोस नै पार्दै सन्ब्रुन महलको चम्किलो लालित्यको दर्शन गराउन पुऱ्याइन् । म अवाक् नै बनेँ । त्यहाँको नैसर्गिक शोभाले म एकछिन रनभुल्लमा परेँ । के यो साँच्चै मृत्युलोक नै हो भन्ने शङ्का उत्पन्न गराउने परिवेश कति स्वच्छ, कति निर्मल थियो । एउटा सानो सिन्को, कागजका टुक्रा वा चकलेट आदिका खोल कतै देखिएनन् तर अर्कातिर पर्यटकहरू केही न केही खाँदै, रमाउँदै, हाँस्दै हिँडिरहेका देखिन्छन् । खानेकुराका रहल अवशेषहरूका लागि त्यहाँ ठाउँ-ठाउँमा बिर्को बन्द ठूला डस्बिनहरू राखिएका छन् । अनुशासन, दायित्वज्ञानको अनुशीलनले मन र मस्तिष्कमा परिपूर्णता पाएपछि प्रबन्ध पनि स्वतः सञ्चालित हुँदो रहेछ क्यार ? कसैले कसैलाई केही भनिरहने आवश्यकता नै पर्दैन ।

सबैतिर घुमेर हेर्ने हो भने एकदिनको समय पनि थोर हुन्छ त्यहाँ । निकै बेर घुमेर थकाइलाग्ला जस्तो भएपछि हामी टाकुरामा भएको ग्लोरिएटको वरिपरि भएको हरियो कार्पेटी घाँसमा बस्यौँ । आशाले आफ्नो झोलाबाट एउटा कोक, दुई ओटा बियरका क्यान र कमलाले आफ्नो ब्यागबाट तीन ओटा कागजका पोका निकालिन् । राम्रो र ठोस योजना बनाएर हिँड्ने कुरामा मान्नुपर्छ स्त्री जातिलाई । म त त्यसै पनि अकडो मान्छे त्यस्ता उस्ता कुराको सोच दिमागमा भित्रिनै मान्दैन । ठाउँमा पुगेपछि मात्रै चेतना आउँछ र अहा! फलानो कुरा ल्याएको भए हुन्थ्यो भन्ने पछुतोचाहिँ हुन्छ है मलाई । जे होस्, आशा र कमलालाई हृदयबाट धन्यवादका पुष्प वर्षा गर्दै भोजन र तरल ग्रहण गर्ने कार्यतिर लागियो । हामीजस्तै त्यहाँको मुलायम घाँसमा बसेर खाने र पिउने कुराको स्वाद लिँदै रमेका पर्यटकहरू निकै थिए । अलिक परतिर रुखमुनि एकजोडी चखेवाचखेवी पनि बन्धनमा बाँधिएर ओठबाट यौवनको रसपान गर्दै थिए । आशा र कमलाका नजर परे तापनि उनीहरूको अनुहारमा त्यस्तो कुनै असर परेजस्तो देखिनँ । उनीहरूका लागि सो दृश्य साधारण भएकाले पचिसकेको थियो । निकै समय लगाएर गफ गर्दै, हाँस्दै, रमाउँदै खाने कुरा खायौँ । त्यसपछि आआफ्ना रित्ता क्यान र रहल कागजहरू छेवैको डस्टबिनमा सुरक्षित राखिदियौँ । फेरि एकपल्ट छाहारी र बगैँचातिर घुम्यौँ अनि फोटाहरू खिच्यौँ । त्यहाँको सुन्दर परिवेशमा समय बितेको थाहा नहुने । साँझ पर्नुभन्दा अघि हामी त्यस अविष्मरणीय परिवेशबाट निस्किएर मेट्रो स्टेसन गयौँ । मलाई स्पिटेलाउ स्टेसन जाने मेट्रोमा चढाएर उनीहरू आफ्नो गन्तव्यतिर लागे ।

मेरो फर्किने दिन पनि कति चाँडै आइहाल्यो । तीन तारिख रुनी र फ्रिदरिख अफिसियल कामले व्यस्त हुनुपर्ने भएकाले २ तारिख आइतबार नै मलाई बिदाइ खाना रेस्टुरेन्टमा उनीहरूले ख्वाइसकेका थिए । अर्कातिर ३ तारिख दिदीको पनि कोर्टको काम पऱ्यो र खाजा खाएर बिहानै निस्किनुभयो । एक दिन मैले घरमा नै पूर्णरूपले विश्राम गर्नुपर्ने भयो अथवा घुम्न मन लागे एक्लै जाँगर चलाउनुपऱ्यो । भिएनामा हराउँछु होला भन्ने डर पनि मलाई थिएन । दिदीको घर छेउको ट्राम, मेट्रो स्टेसन लगायत बाटाको नाम आदि मलाई थाहा भइसकेका थिए । मैले एक्लै हिँड्ने सोच बनाइसकेको थिएँ तर फेरि होस् कतै जान्नँ भनेर एक मनले सोचेँ  किनभने चार अक्टोबर मङ्गलबार राति १०:४५ को मेरो फर्किने प्लाइट थियो । मैले मेरो आफ्नो प्याकिङ त मोटामोटी गरिसकेको थिएँ । दिदीले पठाउने कोसेलीहरू हाल्न बाँकी थिए ।

सोमबार अर्थात् ३ अक्टोबर २०१६ बिहानदेखि अकाशमा बादल जुरमुरिरहेका थिए । दिदी पानी पर्नुभन्दा धेरै अघि नौ बजेतिरै निस्किनुभएको थियो । खाजा खाएर म हिजो घुमेका ठाउँहरूको कुराहरू लेख्दै थिएँ । आशाको फोन आयो, “आहा भेना ! आज पनि साइत जुरेछ त साली भेनाको । साइत नै भन्नुपऱ्यो नि किनभने आज मेरो पनि अफ डे हो, काम छैन । तपाईँ एक्लै हुनुहुन्छ भनेर भर्खर दिदीले फोन गर्नुभएको थियो । हामी पहिले भेट भएकै मेट्रो स्टेसनमा आउनुहोस् । म र कमला पर्खिरहन्छौँ ।

म तयार भएर एघार बजेतिर घरबाट निस्किन लाग्दा एक झर राम्रै पानी पऱ्यो । बाह्र बजे आशालाई फोन गरेर पानी परेको जानकारी गराएँ । अचम्मको कुरा त के भने आशाहरू भएकातिर पानी परेको थिएन तर बादल चाहिँ गुडुली मार्न थालेका थिए भनिन् । बाह्र दशमा पानी केही रह्यो । त्यही मौका पारेर म घरमा ताला लाएर हतार-हतार निस्किएँ । मेट्रो स्टेसनमा आशा र कमला मलाई पर्खिरहेका थिए । “सरी मैले ढिलो गरेँ “,मैले माफ मागेँ ।

“भेना तपाईँले त माफ माग्नुभयो नि तर यो पानीले माफ माग्नै आँटेन । माथि गएर पर्खिनुबाहेक केही उपाय छैन” ,आशाले भनिन् । जमिनमुनिको प्लेटफर्मबाट माथि निस्किएर स्टेसनको प्रवेशद्वारमा पुगेर हेर्छौँ त बाहिर भयङ्कर पानी परिरहेको छ । उपाय छैन । पर्खिनैपऱ्यो अनि समय बिताउनैपऱ्यो । हामी स्टेसनको रेस्टुरेन्टमा पसेर चिया खाएर समय कटाउन थाल्यौँ । पानी रोकिए निस्किहाल्ने हाम्रो दाउ । पानी निकै बेर पऱ्यो ।

आशाले खुइय गर्दै भनिन्, “आज भेनालाई भिएनाको एउटा रोमान्टिक गार्डेनमा लिएर जाऔँ भनेको त जुरेन । अब त त्यहाँ जान ढिलो पनि हुन्छ साथमा यो पानी । दुःख पाइन्छ होला नजाऔँ ल भेना ?”

“हवस्, सालीका कुरा नमानी धर छ र ? फेरि प्रकृतिले पनि बाधा पुऱ्यायो । म नै अभागी हुँ । के म यहीँबाट फर्कौँ त ?” ,मैले भनेँ ।

“होइन होइन, अहिले नै किन फर्किने ? एकछिन् पर्खौँ न पानी अलिक कम भएपछि यसो बजार घुमौँला हुन्न ?” ,आशाले भनिन् ।

“हुन्छ किन नहुनु तर म आज साँझ नपरी घर पुग्नुपर्छ । प्याकिङमा केही छुटे कि सम्झिनु पऱ्यो नि” ,मैले भनेँ ।

“तर यो सालीलाई मायाँ नमारी फेरि भिएना आउनुपर्छ, ल भेना ? त्यति बेला मज्जाले घुम्नुपर्छ तर दिदी पनि है साथमा । पहिले पनि भनेकी छु – आशाले भनिन् । ल ल पक्कै” ,मैले भनेँ ।

नभन्दै पानी रह्यो । हामी स्टेसनबाट निस्किएर सडकैसडक हिँड्यौँ । बाटाकै छेउमा भएको एउटा ठूलो मलमा पस्यौँ । मल पनि भव्य रहेछ । कमला र आशा स्त्रीकक्षमा पसेर आफ्ना लागि लुगा हेर्न थाले । उनीहरूले एक एक जोर लुगा छानेर बोके । त्यसपछि पुरूष कक्षतिर लागे । सुइटर भएको ठाउँमा गए अनि सुइटर हेर्न थाले ।

“भेना ! म तपाईँलाई एउटा सुइटर किनिदिन्छु मायाँको चिनो । के कस्तो मन पर्छ, तपाईँ आफैँ छान्नुहोस्” ,आशाले भनिन् ।

“ए त्यसो पो हो ? सालीको मन राख्नैपऱ्यो । मलाई पहेँलो र नीलो रङमा एउटा किनिदिनू” ,मैले भनेँ । आशा र कमलाले एउटा पहेँलो रङ्गको सुइटर मन पराएर मलाई लाइहेर्न दिए । नभन्दै ठिक्क पनि भयो । त्यसलाई पनि लिएर काउन्टरमा पैसा तिरेर दुई ओटा अलग-अलग थैलामा लुगा बोकेर बाहिर आयौँ । पानी रोकिएर बादल पनि उघ्रिन लागेको थियो ।

“तपाईँ भोलि त गइहाल्नुहुन्छ । भेनासित यसपालिलाई आजै होला अन्तिम भेट । सेलिब्रेट गर्नुपर्छ । होइन भेना ?” ,आशाले भनिन् ।

“भिएनामा मेरो वालेटको पैसा नचलेपछि मेरो भन्नु केही छैन । जसो-जसो साली उसै-उसै भेना । मलाई त हाइढुक्क छ” ,मैले भनेँ ।

“सिलगढीमा खाली गराउँछु नि भेनाको वालेट । आउँदै छु नि म पोखरा जान” ,हाँस्दै आशाले एउटा निकै गतिलो रेस्टुरेन्टमा छिराइन् ।

“ल भेना ! भन्नुहोस् के खाने ? आज भेनाको चोइस” ,आशाले भनिन् ।

“खान हुने मिठोमसिनो प्रायः सबै खाद्य नै म खान्छु” ,मैले भनेँ ।

“तपाईँसित नि भेना ! वाइनभन्दा बियर नै खान मन पर्छ मलाई त । साथमा ब्रेड र चिकन रोस्ट खाऔँ आज” भनेर हुकुम गरिन् ।

परदेशमा त्यत्तिको आदर, सत्कार र आत्मीयता पाउनु पनि मेरा लागि ठूलो कुरा हो । विशेष गरी आशालाई दिदीको ठूलो आड छ । त्यसैको प्रतिक्रिया पनि हुन सक्छ वा स्वभावैले स्वतः उनको मनमा आन्तरिकता उत्पन्न भएको पनि हुन सक्छ । त्यसदिनको खुवाइ पनि राम्रो भयो । बिदा हुने बेलामा त्यहाँको चलनअनुसार आशाले मलाई आँगालो हालेर गाला जोडेर मुखबाट म्वाइ खाएजस्तो ध्वनि निकालिन् । आफ्नो अमूल्य समय खर्चेर मलाई त्यसरी तन, मन र धनले समेत साथ दिएकामा धन्यवाद टक्र्याएँ । कमला नानीलाई उनको भविष्य राम्रो होस् भनी आशीर्वादसहित धन्यवाद दिएँ । उनीहरूसित बिदा भएर घर पुग्दा साँझ परिहालेको थिएन ।