
नेपाली साहित्यमा एक विशिष्ठ स्थान बनाउन सफल रन्जुश्री पराजुलीको नाम आफैँमा नेपाली साहित्यमा एक परिचय हुन पुगेको छ । स्थायी बसोबास काठमाडौँ भएकी पराजुली हाल अमरिकाको टेक्सास राज्यको अस्टिन सहरमा बस्नुहुन्छ ।विभिन्न सङ्घ संस्थामा आबद्ध पराजुलीले प्रौढ र बाल साहित्यमा गरी करिब दुई दर्जन पुस्तक लेखिसक्नुभएको छ । दर्जनौँ पुरस्कार पाउनुका साथै विभिन्न संस्थाहरूबाट अनेक सम्मानहरू पनि पाउनुभएको छ ।
प्रस्तुत छ, साहित्यमा निरन्तर क्रियाशील रहनु हुने चर्चित एवं सुपरिचित साहित्यकार रन्जुश्री पराजुलीसँग साहित्यपोस्टका लागि विश्वराज अधिकारीले गरेको कुराकानीकाे सम्पादित अंश;

रन्जुश्री पराजुली
१. लामो समयसम्म त्रिभुवन विश्व-विद्यालयमा प्राध्यापन गर्नुभयो । त्रिविवि सेवाबाट सन्तुष्ट हुनुहुन्छ?
त्रिविविमा प्राध्यापन गरेकाले नै पठनपाठनको सिलसिलामा बहु अध्ययन गर्ने अवसर पाएकाले म साहित्य सृजनातर्फ उन्मुख भएकी हुँ । आज म साहित्यको क्षेत्रमा जुन तहमा पुगेकी छु त्यो त्रिविविमा करिब चार दशक अध्यापन गरेकैबाट सम्भव भएको हो । आज विश्वको जुनसुकै ठाउँमा पुगे पनि आफूले प्राध्यापन गराएका छात्राहरू भेटिन्छन् । उनीहरूलाई भेट्न पाउँदा गर्व लाग्छ । आफूले केही पौरख आर्जन गरेजस्तो लाग्छ ।
२. तपाईँको परिचय नेपालमा पहिलो नियात्रासङ्ग्रह लेख्ने महिलाका रूपमा रहेको छ । त्यो नियात्रासङ्ग्रह कहिले प्रकाशित भएको थियो र त्यसमा के कस्ता विषयहरू समेट्नुभएको थियो?
नेपाल रिसर्च एसोसिएटसबाट २०४१ सालमा प्रकासित मेरो “विदेशमा बिताएका केही वर्ष” नियात्रासङ्ग्रह नेपाली वाङ्मयमा नै महिलाद्वारा रचिएको पहिलो नियात्राका रूपमा इतिहास स्थापित गर्न सफल भएको छ । यो मेरा लागि गौरवको कुरा बनेको छ । निबन्धहरू रचना गर्दा मैले यस्तो केही सोचेकी थिइनँ । आफू पुगेको देशका रहनसहन, चाडपर्व, साथीभाइसँग बिताएका घटनाहरूलाई सरल भषा, शैलीमा मैले यो तयार पारेकी हुँ । यसको परिमार्जित दोस्रो संस्करण उत्कृष्ट प्रकाशनबाट २०७६ सालमा प्रकाशित भएको छ ।

अन्तर्वार्ताकार- विश्वराज अधिकारी
३. बाल साहित्यमा पनि तपाईँको योगदान नेपाली साहित्यले सदा स्मरण गर्ने किसिमको रहेको छ । बाल साहित्यमा मुख्य गरी केकस्ता सन्देशहरू दिन खोज्नुहुन्छ?
बालसाहित्य मेरो प्रिय विधा हो । विदेशमा ( बेलायत) आफूहरू बसेको सानो छोरालाई त्यहाँको प्रचलनअनुसार राति सुत्ने बेलामा बाल पुस्तकहरूबाट कथा, कविता चित्रकथा आदि सुनाउँदै जाँदा र बालसाहित्यलाई त्यहाँ बालमानसिक खुराकका रूपमा लिने परम्परा धेरै अगिदेखि चलिआएकाले मलाई नेपाली भाषामा बालसाहित्य लेखे प्रेरणा मिलेको हो ।
४. बाल साहित्यमा धेरै कल्पनाको प्रयोग भयो भने बालबालिकहरू यथार्थवादी कम भएर जान्छन् । यो भनाइ तपाईँलाई सही लाग्छ?
कल्पनाविना साहित्य सृजना हुँदैन । बालसाहित्यमा बाल मानसिकताले पचाउन सक्ने कल्पनाको प्रयोग हुनुपर्छ । बाल मनोरञ्जनका लागि सतर्कताको सूचनासहित विभिन्न काल्पनिक बालसाहित्यको पनि रचना विकसित मुलुकहरूमा भैरहेको छ ।
५. तपाईँका लघुकथा, कथा बढी आदर्शवादी हुन्छन् भन्नेहरू पनि छन् । तपाईँलाई त्यस्तो हो जस्तो लाग्छ?
म विभिन्न किसिमका लघुकथाहरू सिर्जना गर्दछु नकि आदर्शवादी मात्र । सामाजिक,आर्थिक, राजनीतिक,मनोवैज्ञानिक ,डायस्फोरिक आदि विषय समेटिएका मेरा लघुकथाहरू प्रकाशित छन् ।
६. साहित्यमा महत्त्वपूर्ण योगदान पुऱ्याउनुभए बापत तपाईँले धेरै पुरस्कार पाउनुभएको छ । के कस्ता पुरस्कारहरू पाउनुभएको छ? धेरै पुरस्कार पाउनुले तपाईँको लेखन-जिम्मेवारी अझै बढेजस्तो लाग्छ?
मैले बालसाहित्य तथा प्रौढ साहित्यमा विभिन्न पुरस्कारहरू पाएकी छु । विभिन्नि संस्थाहरूबाट सम्मानित एवं अभिनन्दित पनि भएकी छु । पुरस्कारहरू पाउनु अवश्य पनि गौरवान्वित हुने कुरा हो । यसले साहित्य सृजना गर्न थप ऊर्जा मिलेको छ ।
७. नेपालमा साहित्यमा नारीहरूको उपस्थिति पहिलेभन्दा निकै बढेर गएको छ तर पनि पुरस्कार बढी पुरुषहरूले पाएको देखिन्छ । पुरस्कार दिने सन्दर्भमा नारीहरूउपर ठूलो भेदभाव गरिएको हो?
अवश्य पनि नारीहरूको उपस्थिति बढेको छ । नारी शिक्षाको विकास भएको छ । गाउँठाउँमा छोरीहरूका लागि विद्यालयहरू खुलेका छन् । शिक्षाको विकासले चेतना खुलेको छ । आज नारी र पुरुषबिच कुनै भेदभाव नै छैन । नारीहरू समान रूपले अघि बढिरहेका छन् । नारी र पुरुषबिच भिन्नताको प्रश्न नै उठ्दैन ।
८. “जिउँदो सती प्रथा’, तपाईँले लेखेको यो कथाले निकै चर्चा पायो । यो कथामा त्यस्तो के लेख्नुभएको छ?
यो एउटी आँटिली क्रान्तिकारी महिलाको जीवनमा घटेको सत्य घटनामा आधारित कथा हो । लोग्ने मर्दैमा जीवनभर सेतो पहिरनमा शोक मनाएर बस्नु ज्युँदो सती प्रथासरह नै हो । त्यही घटनालाई आधार बनाएर मैले यो रचना गरेको हुँ ।
९. तपाईँले लेख्नुभएको एक लघुकथा ‘घाइते मनिप्लान्ट’ लाई सो लघुकथा समाविष्ट सङ्ग्रहको नाम नै ‘घाइते मनिप्लान्ट’ राख्नुभएको छ । घाइते मनिप्लान्टको आशय के हो?
मनिप्लान्ट नाम गरेको बिरुवा घरभित्र राख्यो भने घरमा पैसाको वृद्धि हुन्छ रे भन्ने भनाइ छ । नेपाली समाजमा कतै छोराको बिहेमा दुलही पक्षसँग दाइजो मोलतोल गरेर लिइन्छ यद्यपि त्यसो गर्नु गैरकानुनी मानिछ तर लुकीछिपी पनि पढेको छोराको दाइजु मोलतोल नै गरेर लिइन्छ । त्यसैले कतै बिहेमा दुलही पक्षसँग दाइजुको रूपमा ठूलो रकम लिनको लागि आफ्ना छोरालाई नक्कली प्रमाणपत्र किन्ने गरेको पनि फेला परेकाले मनिप्लान्ट रूपी छोरा नक्कली प्रमाणपत्र धारी भएको खुलासा भएको हुनाले उक्त छोरालाई घाइते मनिप्लान्टको थन्कोमा राखिएको सन्दर्भमा यो कथा लेखिएको र शीर्षक पनि त्यहीँ राखिएको हो ।
१०. हाल नियात्रा लेख्न कम गर्नुभएको हो?
म हाल पनि नियात्रालेखनमा सक्रिय छु । २०७४ सालमा प्रकाशित मेरो “स्वप्न स्पर्श” निबन्धसङ्ग्रह नियात्रा र संस्मरण सङ्ग्रह हो ।
११. महिलाहरूको शारीरिक रचना र पुरुषहरूको शारीरिक रचना पृथक् पृथक् किसिमको हुन्छ र त्यस किसिमको पृथक्ताको प्रभावको कारण महिला र पुरुष मनोविज्ञानमा केही अन्तर हुन्छ । यस्तो भन्नेहरूको उक्त भनाइ सही हो?
यो प्रश्नको उत्तर पनि प्रश्नभित्र नै समावेश छ ।
१२. त्रिविविबाट सेवानिवृत्त हुनुभएको छ । उमेरको उकालो पनि चढ्दै हुनुहुन्छ । हालसम्म पनि साहित्यलेखन मात्र होइन, साहित्यिक कार्यक्रमहरूमा पनि सक्रिय भएर सहभागिता जनाउनुहुन्छ । यस्तो ऊर्जाका कसरी पाउनुभएको छ?
कुनै पनि काम गर्न उमेरले छेका हाल्दैन भन्ने उदाहरण अहिलेका ७६ वार्षिय अमेरिकी राष्ट्रपति जो बाइडेनद्वारा लिन सकिन्छ । नयाँ काम सिक्न,गर्न केहीले पनि छेक्दैन । इच्छा भए उपाय आफैँ अगाडि आइपुग्छ ।
१३. तपाईँका समकालीन महिलाहरू कम मात्रै साहित्य क्षेत्रमा लागेको पाइन्छ । तपाईँलाई साहित्य क्षेत्रमा लाग्न के कुराले प्रेरित गऱ्यो?
चाहनाले मान्छेलाई आफूले खोजेको बाटामा हिँड्न सिकाउँछ । मलाई साहित्यिक यात्रा मन पऱ्यो । यसलाई छाने । यसमा निरन्तर लागिरहेकी छु । अरूले पनि त्यस्तै विभिन्न बाटो समातेर चलेका छन् होला ।
१४. साहित्य आफ्नो सन्तुष्टिका लागि लेखकले लेख्ने हो वा समाजको रुचिअनुसार लेख्ने हो?
अरू के गर्छन् कुन्नि म भन्न सक्दिनँ । म चाहिँ साहित्य आत्मसन्तुष्टिका लागि सृजना गर्छु तर लेख्दै जाँदा पाठकहरूको स्वाद थहा पाएपछि उनीहरूको रुचिअनुसार पनि लेख्न थालेँ ।
१५. पछिल्लो समयमा लेखिएका पुस्तकहरूमध्ये तपाईँलाई मन परेको पुस्तक कुन हो?
मेरो आफ्नो पुस्तकबारे सोध्नुभएको हो भने ती सबै मेरा प्रिय सन्तान हुन् । त्यसैले ती सबै मेरा लागि उत्तिकै प्यारा छन् । अरूले लेखेका बारे सोध्नुभएको हो भने पनि ती कुनै न कुनै उद्देश्य लिएर लेखिएका छन् । यो राम्रो, यो नराम्रो भनेर औँल्याउने पक्षमा म छैन । ती सबै नै पढ्न योग्य छन् जस्तो मलाई लाग्छ ।
१६. महिनाबारी (Menstruation) महिलाहरूको एक शारीरिक प्रकिया हो । पुरातनपन्थीहरूले छुवाछुत, छाउ प्रथाका रूपमा यो प्रक्रियालाई अहिले पनि मानिरहनु ठिक हो?
यस विषयमा विभिन्न तहबाट आवाजहरू उठिरहेको छ । महिला सशक्तीकरण समूहहरू पनि क्रियाशील भैरहेका छन् । यो अन्धविश्वासजन्य संस्कार हो । शिक्षा र चेतनाको अभावले जरो गाड्ने भएकाले शिक्षा, प्रौढ शिक्षा आदिको विकास हुनु अत्यावश्यक देखिन्छ अनि बिस्तारै समाजबाट यस्तो कुप्रथा पलायन हुन्छ ।
१७. नेपालमा प्रौढ पुरुषहरूले विवाह गरेको उदाहरणहरू धेरै छन् तर प्रौढ महिलाहरूले विवाह गरेको उदाहरणहरू ज्यादै कम छन् । यस्तो किन भएको होला?
महिला र पुरुषको मानसिकता भिन्न हुन्छ । प्रायः पुरुषहरू पराश्रित हुन्छन् । उनीहरू घरायसी काममा त्यति दक्ष पनि हुँदैनन् । बालबालिकाको हेरचह आदिमा पनि त्यति सक्रिय हुन सक्ने मानसिकताको अभाव उनीहरूमा हुन्छन् भने महिला वर्ग संवेदनशील मातृ-हृदय भएका हुन्छन् । पत्नीको मृत्युपछि केही दिनमा नै पतिले अर्को बिहे गर्छ तर आमा जिन्दगीभर आफ्ना सन्तानको लालनपालन र सुखसंवृद्धिमा समर्पित हुन्छे तर आधुनिक अवस्थामा बिधवा महिलाले पनि दोस्रो बिहे गर्ने पुरुषसँग सम्झौता गरेर दुवैतिरका सन्तानको हेरचाह गर्ने सर्तमा बिहे गर्न थालेको पाइन्छ ।
१८. बिधुवाहरूले पनि सहज किसिमले विवाह गर्न पाउनुपर्छ । यस्ता भन्नेहरूलाई के भन्न चाहनुहुन्छ?
पाउनुपर्छ भन्नेहरूले मेरो जिब्राको बोली दोहऱ्याउनुभएकाले, यहाँहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।
१९. लेखन क्षेत्रमा तपाईँलाई अति मन परेको विधा कुन हो? त्यो विधा किन तपाईँलाई औधी मन परेको हो?
मलाई साहित्यका प्राय सबै विधा मन पर्छन् । मैले प्रायः सबैजसो विधामा कलम पनि चलाएकी छु तर पनि मलाई खास मन पर्ने साहित्यिक विधा बालसाहित्य र प्रौढतर्फ निजात्मक निबन्ध हो ।
२०. प्रवासको जीवन कस्तो लागिरहेको छ?
प्रवासको जीवन राम्रो चलिरहेछ । आफ्ना स्वजनहरू प्रशस्त भएकाले नेपाली चाडपर्व स्वदेशमा भन्दा रमाइलो चहलपहलका साथ मनाइँदै आएको देखिएको छ । अमेरिका बहुरङ्ग, बहुधर्म, बहुभाषा, बहुसंस्कृतिको देश भएकाले यहाँ बेलामौकामा आउने त्यस्ता चाडपर्वहरू रमाइलो तवरले सबैले मनाउँदै आएको पाएको छु । यहाँ पारिवारिक जीवन नै अन्ताराष्ट्रिय किसिमको भएको छ । त्यसैले ज्वाइँको संस्कृतिले मनाउने, बुहारीको संस्कृतिले मनाउने, सबै चाडहरू समान रूपले मनाइन्छन् ।
२१. प्रवासको जीवनले नेपालमा आफ्न्तहरू छुटाइदिएजस्तो लाग्छ?
आफ्नो मातृभूमि अवश्य पनि सम्झनामा आउँछ तर बेलामौकामा गइन्छ नि । यहाँ बस्दैमा जन्मभूमिलाई कसले भुल्न सक्छ र?



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


र यो पनि पढ्नुहोस्...
