सन् १९६० को २५ अगस्टका दिन तत्कालीन दरङ जिल्ला बलमगुरी गाउँमा शर्माको जन्म भएको थियो । शर्माका प्रकाशित कृतिहरूमा बाली दिउँला दियो हृदयमा तिम्रो (एकाङ्की, २००१), परिक्रमा (एकाङ्की, २००८), अमर शहीद (लघुनाटक, २०१२), प्रभात यामिनी (असमिया भाषामा एकाङ्की, २०१४), पाटेबाघ (पूर्णाङ्क नाटक, २०१६) र साहित्य समीक्षा गुच्छ (समीक्षात्मक रचना, २०२१) लगायतका अन्य अनुदित कृति पनि प्रकाशित छन् ।
प्रस्तुत छ, समारदलनी, जिल्ला- विश्वनाथ, असममा स्थायी बसोबास गरिरहनुभएका पूर्णकुमार शर्मासँग साहित्यपोस्टका लागि दीपक सुवेदीले गरेको कुराकानीकाे समम्पादित अंश;
तपाईँको लेखनको दृष्टिले पहिलो विधा र रचना कुन हो ॽ
लेखनको अभ्यास पहिले असमिया भाषामा कविताबाट सुरु भएको हो । एघारौँ कक्षाको छात्र अवस्थामा मौसुमी नामक विद्यालय वार्षिक पत्रिकामा “मुक्त बन्दीर आर्त चीत्कार” (मुक्तबन्दीको चीत्कार) कविता प्रथम प्रकाशित रचना हो । त्यसपछि आठ-दश वर्ष मेरो बसाइ र पढाइ साथी सङ्गी प्रावल्य असमिया भाषामा थियो र समलय, रङ्घर, प्रतिश्रुति, सूत्रधार आदि समसामयिक असमिया पत्रिकामा रचना छापिएको थियो । मेरो पहिलो नेपाली रचना एकाङ्की “कुतकुती” (१९८९) हो ।
जीवनको भोगाइ, प्राप्ति र पीडाका प्रतिबिम्ब मिश्रित बाल्यावस्थालाई हेर्दा कस्तो देख्नुहुन्छ ॽ
मेरो बाल्यकाल अत्यन्त सुन्दर र आकर्षक थियो पन्ध्र वर्षको उमेरसम्म । धेरै सम्पन्न परिवार थियो तर विभिन्न कुराले अर्थनैतिक विपन्नताका कारण सोह्र वर्षको उमेरपछि सङ्घर्षको जीवन धान्ने बाध्यता थियो । मैले खेती किसानी गर्ने, गाईभैँसीको सबै काम गरेर आफ्नो पढाइ र घर परिवार चलाउनुपर्ने अवस्था सोह्र सत्र वर्षको उमेरमा घर काँधमा लिनुपर्ने भएको हो ।
सन् १९७८ मा म्याट्रिक पास गरेपछि नै ब्रह्मपुत्रको बाढी र अन्य प्राकृतिक दुऱ्योगमा हाम्रो सम्पन्न परिवार ध्वस्त भएको थियो । बिरामी आमाको चिकित्सा गर्नु घरका चार-पाँच सदस्यको गुजारा चलाउनुपर्ने थियो । म्याट्रिक पछि आफ्नो भैँसी गोठमा तीन वर्ष खटेर सन् १९८१ मा एकादश कक्षामा भर्ना हुने मौका पऱ्यो । प्राइभेट पढेर १९८२ बाह्र पास गरेको हुँ । मैले टाउन सहरमा मारवाडी गोला र अर्काको फार्मेसी सेवा माध्यमबाट घर सम्हालेर आफ्नो पढाइ जारी राख्न निकै गाह्रो थियो । १९८० देखि १९८५ को असम आन्दोलन हाम्रो आँखाअघि सुरु र समाप्त भएको थियो । सन् १९८७ मा आमाको चोला उठेपछि मैले काम गरेको मालिकसमेत जन्मथलो छाडेर हामी सम्पत्तिको नाउँमा आआफ्नो ज्यान लिएर पहिले गुवाहाटी सहर र एकसालपछि सन् १९८८ वर्तमानको यस समारदलनीमा घरभेटी किनेर बस्न थालेको हो यो धेरै सङ्घात र सङ्घर्षमा (१९८०-२०००) बिस वर्षको उमेर बितेर गएको हो । आज सम्झिँदा साँच्चै जीवन कति कहालीलाग्दो थियो डर पनि लाग्दछ । १९७८ मा म्याट्रिक पास गरेर २२ वर्षपछि सन् २००० बिए पास गर्ने मेरो बाध्यता देख्ने धेरै जसो आज पनि जीवित छन् । यति नै बुझ्न पर्याप्त होला । जीवनका भोगाइ, प्राप्ति र पीडाका बिम्बमिश्रित कालखण्ड त्यस्तै रहेको थियो ।
साहित्यमा प्रवेशको सुरुका दिनलाई कसरी सम्झनुहुन्छ प्रेरणा कहाँबाट मिल्यो ॽ
साहित्यिक जीवनमा कसरी-कसरी बाल्यावस्थामा गाँसिएको थिएँ भन्दा, मेरो जन्मथलो घर छेउमा एउटा पुस्तकालय थियो । त्यहाँ फुर्सद पर्दा हामी भेला हुने, नाटक खेल्ने, त्यँहीबाट किताप ल्याँउने पढेर फर्काइदिने क्रम एकदम दश-बाह्र वर्ष उमेरमा निकै समय लगातार चल्यो । मलाई लाग्छ ती सकेसम्म असमिया भाषाका किताब मैले धेरजसो पढिसकेको थिएँ । गाँउमा दसैँमा खेलिने नाटकमा शिशु कलाकार मैले एक वर्ष खेलेको हुँ । असमिया नाटकमा पनि उत्तिकै नाटक खेल्ने उद्देश्यले मलाई साथीहरूले बोलाउने गर्थे, उत्साहित अनुभव गर्थे, पछि त्यो एक प्रकारले नियमित बन्यो । यो प्रायः दशवर्षे उमेरदेखि बिस वर्षको उमेरभित्रको कुरा हो । यसरी म नाटक भनेर लहसिएको हो । त्यसभित्र यसो कोरकार गर्ने स्कुलमा कवितावाचन गर्ने मौका पर्दथ्यो । असम आन्दोलन चर्किरहेका बेला (१९८१) वैशाखी उत्सवमा जिल्ला स्तरीय एकाङ्की प्रतियोगितामा मेरो नेतृत्वमा सबै नेपाली केटा भेला भएर (नारी वर्जित/ केवल पुरुष चरित्र रहेको) नाटक लिएर भाग लिने प्रयास गरेको थियो । (ढेरेकनि अर्थात् चट्याङ) नामको त्यस नाटक प्रतियोगितामा म श्रेष्ठ अभिनेताको पुरस्कारले पुरस्कृत भएको कुरा धेरै प्रेरणादायी र मेरो नाट्यक्षेत्रमा कलम चल्नुको आन्तरिक शक्ति स्रोत थियो भन्ने लाग्दछ यस बेला पछि फर्केर हेर्दा । असमिया नाटक राम्रो तरिकाले खेल्नु र पुरस्कृत हुनु सुन्न राम्रो लागेजस्तो सजिलो कुरा होइन, त्यस बेला मात्रै होइन आज पनि त्यति सहज छैन । भारतीय नाट्य क्षेत्रमा आज पनि असमिया र मणिपुरी नाट्यकारिता एक नम्बर स्थानमा उभ्याएर चर्चा गरिन्छ । त्यसैले २० वर्ष उमेरमा श्रेष्ठ अभिनेता चुनिनु मजस्तो साधारण मान्छेका निम्ति ठूलो उपलब्धि र प्रेरणादायी कुरा थियो । यसरी आफूले थाहा नपाईकन साहित्य क्षेत्रमा मेरो मन गाडिएको थियो भन्ने लाग्दछ । फलानाले मलाई प्रेरित गऱ्यो भन्ने कुनै निर्दिष्ट बिन्दु थिएन, आज पनि थाहा छैन ।
तपाईँ आफूलाई कुन विधाको स्रष्टा मान्नुहुन्छ र किन ॽ
यो प्रश्न, प्रश्नकर्ताले तेर्छाउन सजिलो प्रश्न देखिए पनि उत्तर दिन मेरो क्षेत्रमा गाह्रो पर्ने कुरा हो, किनकि साहित्यको प्रायः विधामा धेरथोर रचना भएका छन् । जति भए त्यति आजको समयअनुसार पर्याप्त र सन्तोषजनक लाग्दैन आफैँलाई । मेरा रचनाहरूमध्ये नाटक धेरै छन्, त्यो भनेर मान्छेहरूले नाट्यकार भनेर चिन्न चाहेको म बुझ्दछु तर नाटक यति ठूलो विशाल क्षेत्र हो कि मजस्तो साधारण एउटा लेखकले आफूलाई अरूको भनाइ र सोचाइमा नाट्यकार हुँ भनेर स्वीकार्यता छैन । अझै धेरै बाटो हिँड्नु र नाटकलाई अझ बुझ्नु छ ।
आफूलाई कुनै विधाको स्रष्टा मान्दिनँ, मेरो दृष्टिमा आफू नाट्य क्षेत्रमा कुदिहिँड्ने साधारण सिपाही मात्र हुँ । धेरै समय नाटकमा अल्झिएको कुराहरूले गर्दा आम मान्छे एवं मित्रहरूले यस अकिञ्चनलाई साहित्यकार, नाट्यकार, नाट्यकर्मी भनेर सम्बोधन गर्न रुचाएको पाँउछु तर मलाई केही विषयको ‘कार’ भएको कुरा स्वीकार्य छैन । यो धेरै विशाल क्षेत्र र गहिरो विषय हो । दुई-चार नाटक लेख्नु खेल्नु र यताउता गर्नु र एउटा छात्रले आफ्नो विषय सिक्नु प्रायः त्यसमा लागिपर्नु एउटै कुरा हो भन्ने लाग्छ । अझै धेरै सिक्नुपर्ने र गर्नुपर्ने छ मेरो क्षेत्रमा ।
नाटक भनेको के हो ॽ
नाटक भनेको जीवनको भित्री पाटो हो ।
कसरी परिभाषित गर्नुहुन्छ ॽ
नाटक जीवनको अत्यन्त साँचो पक्ष हो । जीवनको अधिकांश समय, व्यक्तिको भित्री पाटो, जसलाई हामी छोप्न पनि खोज्छौँ तर छोपेर छोपिन्न, आफैँ उदाङ्गो पारेर हेर्छौँ र छक्क पर्छौँ । त्यसैले मेरो थोरै बुझाइमा जीवननै नाटक हो । वास्तवमा नाटक जीवनको हर समयमा सक्रिय र स्वयंक्रिय कला हो । दैनिक जीवनमा हामी नाटक गरिरहेका हुन्छौँ, साँझबिहान । यसको अनुकरण मञ्चमा खडा गर्नुपर्दा धेरै सामग्री एकै समय,एकै ठाउँ, एकैचोटि, एक-एक मुहूर्त बराबर जीवन्त पार्नुपर्ने संयोजन मिलाउन सक्नु नाटकको असल नाटकीयता हो भन्ने लाग्छ ।
किन नाटकको क्षेत्रमा नै लाग्नुभयो ॽ
सानो उमेरदेखि म केही नाटकमा लहसिएको हुँ । पछि जब नेपाली नाट्य क्षेत्रमा मलाई केही काम गर्ने मौका पर्दथ्यो, नेपाली नाटक मञ्चन गर्ने क्रममा, परिवर्तित समय जीवन परिक्रमा र हाम्रा नाटक थोरै मात्रामा पाएको अनुभव गरेको हुँ । आफ्नो पहुँच नपुगेका पनि हो । हास्यव्यङ्ग्य तरिकाले समाजको विसङ्गति उजागर गर्ने विचार हुँदा त्यस प्रकारका केही एकाङ्की रचना गरिए, ती नाटक अत्यन्त जनप्रिय भएकाले सायद हौसिएर पनि उत्तिकै नाटक खेल्ने र लेख्ने प्रयास गरियो । असम राज्यबाहिर सर्वभारतीय स्तरमा नेपाली नाटकको मञ्चन गर्ने क्रममा देश र जनताको हितमा काम गर्न सकिन्छ कि भनेर पनि एक-एक रचना भए ।
नाटकमा त्यस्तो के छ जसले तपाईँलाई नाटक लेख्न हुटहुटी चलायो ॽ
त्यति साह्रो गहिरोसँग दूधको दूध पानीको पानी त कारण छुट्याउन गाह्रो छ तर पनि नाटकले समाजको जनचेतना जगाउने काम गरेको अनुभव गरेको छु मैले । एउटा नाटक लेखेर खेलेर मञ्चमाथि र मञ्चबाट ओर्लेर आएपछिको कुरा अत्यन्त रोमाञ्चक हुने गर्दछ । नाटक लेख्नेदेखि मञ्चको दर्शक बसेको चौकी मिलाउनेसम्म सर्वत्र छरिएका काम गर्ने मौका र अभिज्ञता रहेको हुँदा यसको सम्पूर्ण कुराको एउटा आफ्नो पाराको अनुभूतिले नाटकभित्र धेरै अलमलिएँ होला भन्ने लाग्दछ । सानै उमेरदेखि नाटकीय गतिविधि मन पराएको र त्यस पक्षको कार्यक्रम बढी रुचिपूर्ण भएकाले होला पछि धेरैजसो समय नाटकमै बितेको हो । यसको नानान पक्ष केलाएर हेर्ने बुझ्ने दृष्टिकोण नै मेरो नाटकप्रतिको रूझान मजबुत भएको मान्दछु ।
कुन रसका नाटक चाहिँ राम्रा हुदाँ रहेछन् ॽ
करुण रस र हास्यव्यङ्ग्य तथा रहस्यमय कहानी त्यसपछि युवा शक्तिलाई वैकल्पिक रस भएका नाटकले समाजमा आकर्षित गरेको कुरा अनुभव हुन्छ ।
किन ॽ
सङ्गठित रूपमा आधुनिक नाट्य चिन्तनको घडेरी निर्माण होस्, चाहनाअनुसार सही ढङ्गले लेखक कलाकार आपूर्ति गर्न, लेखक कलाकार जन्माउन एउटा झिनो प्रयास निश्चय गर्न सकिन्छ भन्ने आशा लिएर सन् २००२ मा नेपाली नाट्य परिषद् असम र पछि त्यही संस्था असम नेपाली नाट्य सम्मेलन नामले कार्यरत छ । कोरोना कालमा थला परेको अवस्था भए पनि जिउँदै छ । यो खाले गैरसरकारी पञ्जीकृत राज्यव्यापी नाट्य संस्था नेपाली बहुल भारतको अन्य राज्यमा नरहेको बुझिएको छ यस बेला सम्म । मञ्चमा बसेर नाटक हेर्नुजस्तो नाटक लेख्नु र मञ्चरूप दिनु एउटै हुँदैन । नमुनास्वरूप भनौँ- कोरोना कालमा कविता गाइए, उपन्यास कथा लेखिए, विभिन्न पुस्तक लोकार्पण देखियो, धेरैले नाटक पनि लेखे प्रकाशन पनि भए तर दुई वर्षभित्रमा नाटक मञ्चन भएको समाचार कहीँ कतै पनि सुनिएजस्तो लाग्दैन । समग्र धरतीमै नाटक मञ्चनै भएनन । यसकारणले पनि साहित्यको अरू विधासँग नाटकको फरक हामीले उपलब्धि गर्न सक्नुपर्दछ ।
अर्कातिर असमको राजनीतिक सामाजिक धरातलमा उभिएर हेर्दा र हामीले मातृभाषामा कखरासम्म सिक्न नपाउनुको दुःख, कष्ट अन्तर्वेदना बाहिरको मानिसले बुझ्दैन तर दक्षिण एसियाइ भूखण्डको नेपाली साहित्य हेर्ने हो भने त्यस पृष्ठभुमिमा असमेली नेपाली साहित्य हाराहारीमा छ । यस भेकमा नेपाली साहित्यका निम्ति धरैजसोले स्वाध्ययनको ठुलो कसरत गरेको कुरा छुट्टै भन्नु पर्दैन ।
असमेली नेपाली नाटकको इतिहास र वर्तमान अवस्था कस्तो छ ॽ
असमेली नेपाली नाटकको शतवार्षिकी (सन् १९१९-२०१९ सयवर्ष) गतवर्ष सन् २०२० मनाउने योजना थियो सो कोरोनाले हुन दिएन । सन् १९१९ पण्डित हरिनारायण विद्याभूषणद्वारा अनुवादित र निर्देशित “प्रवोध चन्द्रोदय” नाटक विहाली बटियामारीको मञ्चमा प्रदर्शन भएको तथ्यबाट असमको नेपाली नाट्य यात्रा सुरु हुन्छ र निरन्तर रूपमा चलेको छ । पहिले हिन्दी र संस्कृत तथा बङ्गाली मूल नाटकको अनुवादद्वारा नाट्य प्रदर्शन गर्ने व्यवस्था थियो । यसबिचमा दुई-चार नाटक लेखिए र मञ्चन भए, त्यत्तिकै रह्यो, पुस्तक आकारमा ती प्रकाशित भएनन् । असमको नेपाली नाटक रचना मञ्चन र प्रकाशन भएको मौलिक नाटक पद्मश्री लीलबहादुर क्षेत्रीको” दोबाटो” हो भन्ने यस बेलासम्मको ठहर छ । असमको नेपाली जनजीवन धेरै कुराले समय समयमा अस्तव्यस्त बनेको हो र त्यस अन्योलमा रचनात्मक काम बाधित भएको कुरा मननयोग्य छ । पहिले स्थायित्व र गाँसवासले सतायो । ब्रह्मपुत्रको बाढी, समय-समयमा उग्रवादीको समस्या, असी सन्को असमव्यापी आन्दोलन, यस्तो अनेक प्रकारको समस्या नेपालीहरूले खपेर पनि आफ्नो भाषा, साहित्य, कला, कृष्टि र संस्कृतिको मूल जरो कहिल्यै छाडेनन्, डटेर सामना गरे । हामीजस्ता सर्वसाधारणका लागि नेपाली भाषा पढ्न पाउनु आकाशको तारो थियो हिजोअस्तिसम्म । (मेघालय, मणिपुर, सिक्किम, दार्जीलिङहरू भाग्यमानी थिए) साहित्यिक क्षेत्रमा यी कुराको ठुलो भूमिका रहेको कुरा दोहोऱ्याए भन्न नपर्ला ।
यस्तो समयको बिच-बिचमा नाटक रचना र मञ्चन बन्द भएनन् । एकदमै छोटकरीमा भन्नुपर्दा, हामीले तीन चरणमा असमको नेपाली नाटकलाई विभाजन गरेर चर्चा गरेका छौँ । असम नेपाली साहित्य सभा १५ औँ विश्वनाथको गोलीया अधिवेशनमा प्रकाशित “उमाटुमनि” मा प्रकाशित यस पङ्क्तिकारको “असममा नेपाली नाटकको सय वर्ष- एक सिंहावलोकन” शीर्षक लेख पढेर हेर्ने नाट्य प्रेमी महानुभावहरूलाई सल्लाह दिन चाहन्छु किनकि यो यति थोरै समय र ठाँउमा भनेर स्पष्ट हुन सक्ने छोटो विषय होइन । छोटकरीमा १९१९ देखि १९५० प्रथम चरण १९५१ देखि १९८० दोस्रो चरण र १९८१ पछि वर्तमान समयसम्मलाई तेस्रो चरणमा भाग गरेर केही नाटक र नाट्यकारबारे चर्चा गर्नु सान्दर्भिक होला ।
पहिलो चरणमा-
पहिलो चरणमा हरिनारायण विद्याभूषणको हाराहारीमा सन् १९२८ शोणितपुर जिल्लाको जामुगुडीहाट निकट, गमिरिपाल गाउँमा “सरस्वती थिएटर पार्टी, मोतिलाल चम्लागाईँको अगुवाइमा “परशुराम मातृहत्या” नाटक मञ्चन भएको र लगत्तै सन् १९३० विहाली माज गाँउमा “माज गाउँ थिएटर पार्टीले सम्पूर्ण नाटक गृह, साजबाज, बाजागाजा लाईट साउन्ड परिपूर्ण सामग्री समेत नाट्यमञ्चन गरेको गौरवमय इतिहास बोकेको छ । त्यस बेला सबै अनुवाद नाटक र पौराणिक विषयमा आधारित नाटक रहेको कुनै सही तथ्य फेला नपरेको हुँदा नाटक नाट्यकारबारे यतिमै धेरै बुझिदिने आग्रह गर्दछु ।
दोस्रो चरण-
दोस्रो चरणमा मौलिक नाटकलेखन सुरु हुन्छ । स्वर्गीय हरिभक्त कटुवाल, भविलाल लामिछाने, केबी नेपाली (हाल विन्दु सम्पादक) पछि विष्णु सुनार दक्षिण पारको पूर्वी भेकमा, ब्रह्मपुत्रको पार पूर्वतिर, नाट्यकार रूपमा देखिन्छन् भने पश्चिममा पद्मश्री लीलबहादुर क्षेत्री सर, प्रेमसिंह सुवेदी , तुलबहादुर मालेमा, अविनाश श्रेष्ठ (हाल काठमाडौँ) मुक्ति उपाध्याय बराल (हाल सिलिगुडी) यति गुवाहाटी सहरभित्र, लीला कालिकोटे (कार्बिआङलङ) पृथिवी विलास भट्टराई, डम्बरु भट्टराई, मोहन रिजाल (निकासी, बाक्सा) यता मध्य असममा, गुरुप्रसाद उपाध्याय, महीपति निरोला, शेरमान थापा, इन्द्रकान्त कार्की, हरि अधिकारी, छबिलाल उपाध्याय खतिवडा आदि चर्चित नाट्यकार हुन्, अरू पनि रहे भने यही भित्र समाविष्ट छन् भन्ठान्नु उचित हुन्छ ।
तेस्रो चरण-
मध्य असममा पछिल्लो समयमा धेरै जना नवीन नाट्यकार देखा परेका छन्, कलाश्री विनोद खनाल, धर्मेन्द्र उपाध्याय, नित्यानन्द उपाध्याय, विष्णु शास्त्री, कृष्णनील कार्की, ढुण्डीराज उपाध्याय गरेर आफ्नो सिप र जाँगर चलाएर नाटक रचनामा लागि परेको देखिन्छ । यो तालिका निकै तन्किने छ र यो यति नै । सन् १९९६ र १९९८ मा संस्कृति विकास समिति असमद्वारा पहिले राज्यव्यापी एकाङ्की नाटक प्रतियोगिता सम्पन्न गराएकाले नेपाली नाट्य लेखन र मञ्चन दुवैतिर एउटा नयाँ जोस जाँगर पलाएको कुरा हामीले मान्नुपर्छ ।
सन् २००२ मा गठित र सन् २००४ मा सम्मेलनका रूपमा प्रतिष्ठापित असम नेपाली नाट्यले सन् २००८ मा अनुष्ठित यस्को प्रथम पूर्णाङ्ग महाअधिवेशनमा, राज्यव्यापी दोस्रो एकाङ्की नाटक प्रतियोगिता समेत पचास जनाजस्तो नेपाली नाट्यकार रङ्गकर्मीलाई सम्मानित गरेको हो । यसपछि २०१३ पण्डित हरिनारायण विद्याभूषण क्षेत्र बटियामारीमा अनुष्ठित दोस्रो पूर्णाङ्ग महाअधिवेशनमा राज्यव्यापी एकाङ्की नाटक प्रतियोगिता र पचहत्तर जनाभन्दा बढी नाट्यकार रङ्गकर्मीलाई सम्मानित गरिएको थियो । पछि २०१८ मा निकासी बाक्सा महाअधिवेशनमा पनि एक दर्जन जति सम्मान पुरस्कार प्रदान गरेर असमेली नेपाली नाट्यकारितालाई मलजल गर्ने काम असम नेपाली नाट्य सम्मेलनका तर्फबाट भएको छ ।
यसरी हामीले पाएको उपलब्धि के छ त भने, हाम्रो समाजमा प्रतिभाको कमी छैन तर प्रतिभा विकास क्षेत्रअन्तर्गत अनेकानेक समस्या बाधक भएर उभिएका छन् । यो पनि समयले साथ दिएमा उन्नतिप्रगतिको मार्गमा जाने आशा गर्न सकिन्छ ।
असमको नेपाली नाट्य क्षेत्रले धेरै समयमा असमिया नाट्यकर्मी र नाट्यप्रमीहरूको सहयोगिता पाएको कुरा स्वीकार गर्नुपर्छ । हाम्रो समयमा राज्यिक जनगोष्ठीय नाट्य समारोहमा नेपाली नाटक मञ्चन, अन्ताराष्ट्रिय स्तरमा जनगोष्ठीय रासलीला समारोहमा नेपाली रासलीला प्रदर्शन गर्ने व्यवस्था मिलाइएको हो । यसउपरान्त सन् २००० मा असमेली नेपाली नाटकले राष्ट्रिय प्रतियोगितामा पाइला चाल्यो (पहिलो नाटक, तीनपोयाको डोरी) यो क्रममा २०१९ सम्म प्रायः पन्ध्र ओटा नाट्य टोलीले सर्वभारतीय स्तरमा नेपाली नाटकको प्रतियोगिता र प्रदर्शनी सम्पन्न गरेको छ । यसको आडमा असम नेपाली नाट्य सम्मेलनले काम गरेको कुरा मान्य छ । यसरी असमले नेपाली नाट्य क्षेत्रमा केही गर्ने प्रयास नगरेको होइन तर कता कता यो पर्याप्त हो भन्न नमिल्ने अनुभव भएको पनि साँचो हो ।
असममा नेपाली नाटकको धेरै सम्भावनापूर्ण नाट्यकारहरू छन् निक्लँदै पनि छन् । हामीले दसैँ तिहार हुँदो स्थानीय आञ्चलिकदेखि राष्ट्रिय प्रतियोगितामा नाटक मञ्चन भएको अनुमान गरेको कुरा हौँ । यहाँ दशर्कबाट लेखकलाई हैन अभिनय पक्षका मानिसले धेरै उत्साह पाएको बुझिन्छ ।
नेपाली नाटकको बजार चाँहि कस्तो छ ॽ
नेपाली भाषा पठनपाठनको अवस्थाले गर्दा आम मान्छे नेपाली साहित्य पठनपाठनबाट वञ्चित रहेको अवस्था धेरै लामो समयसम्म रहेको थियो । साहित्यिक रुचि राख्ने मुष्टिमेय पाठकको आधारमा बिक्रीवितरणको आशा अथवा साहित्य गरेर पैसा कमाउने मनोभावना हाम्रो यता थोरै थियो, आजको पन्ध्र-बिस वर्षदेखि केही बिक्रीवितरण बढेको छ तर जति हुनुपर्ने त्यसको चार आना पनि छैन । अर्कातिर नाटक छापिनु धेरै अप्ठ्यारो हुन्छ, प्रकाशक पाउनु र पहाडमा कछुवाको डिम्मा खोज्नु एउटै कुरा हो । नाटक नाम प्रकाशन गोष्ठीको हुन्छ खर्च नाट्यकारले तिर्नुपर्ने हुन्छ अनि अरू साहित्यको तुलनामा नाटकको प्रकाशन न्यूनतम छ । आजको सात सय वर्षपहिले असमले जगद्गुरु श्रीमन्त शङ्करदेवलाई पाउनु असमको असमिया भाषी मात्रै नभएर नेपाली भाषी गोर्खासमेत सबै जनोजातका निम्ति अहोभाग्य हो भन्ने ठहर छ मेरो ।
असमको राज्य स्तरको गैरसरकारी नाट्य संस्थाले सरकारी पक्षमा धेरै प्रकारका सहयोग पाएका छन्, उनीहरूको सामाजिक अभिभावक र समालोचक पक्षले लेखकले नाटकलाई उच्चस्थानमा राखेर चर्चा गर्दछन् । त्यो कुरा हाम्रो साहित्य क्षेत्रमा खाँचो छ ।
हामीलाई सरकारले दिने कुरा टाडै देखिने जिनिस हो, तैपनि हाम्रो प्रयास रहेको छ । जनताको पक्षमा भनौ भने आफ्नो मान्छेमा उति चासो छैन । विशेष गरी शिक्षित वर्गमा, यो तितो सत्य हो । हामीले संस्था गर्नुपर्छ जनतामाथि निर्भर गरेर समयमा खल्ती रित्याएको अभिज्ञता पनि छ । नाटक हेरुन्जेल हातताली जे जति पऱ्यो त्यही हो सम्पत्ति, त्यसपछि त्यसलाई सारै राम्रो खोजी गर्नुपर्छ भन्ने मान्यता थोरै मान्छेमा मात्रै देखिन्छ । यी यस्ता आर्थिक र सामाजिक चुनौती नै ठुलो कुरा हुन्, प्रतिभाको कमीले असमेली नेपाली नाटक पछि पर्ने कुरा पत्यार नलाग्ने कुरा हो मेरो मान्यतामा । कस्तो-कस्तो उच्च मापदण्डले नाम कमाएको भ्राम्यमान नाटकको मञ्च शोभायमान पार्ने कति नेपाली भाषी नाट्यकार, निर्देशक, कलाकार,त्यसै अलमल्ल परेको अवस्था छ आज पनि । आर्थिक निरापत् नहुनुका कारणले गर्दा उनीहरू बेपत्ताजस्तो जीवन बिताउन बाध्य देखिन्छन् । विसङ्गति यस्तो छ तर खुसीको कुरा के छ भने- ढिलो ढिलै भए पनि, असम सरकारको सांस्कृतिक मन्त्रालयअन्तर्गत साहित्यिक पेन्सन साथ साथै शिल्पी पेन्सन दिने क्रम जारी गरेको र दुई-चार नाटक र सङ्गीत विधामा पेन्सन दिने कुराले ठूलो उत्साह बढाएको कुरा स्वीकार गर्नुपर्छ । यो नेपाली साहित्य र नाट्य क्षेत्रमा ठूलो सकरात्मक पक्ष हो । यस कुरालाई सरकारमा गाँस्न प्रयास गर्नेहरू हाम्रै मान्छे हुन् र यस कुरामाथि भाषासाहित्यनिम्ति काम गर्ने र असम सरकारको जति गुण गाए पनि पुग्दैन । हालै २०२१ मा असम सरकारको सांस्कृतिक मन्त्रालयअन्तर्गत ५० वर्षभित्रमा युवा साहित्यकार छनोट गरेर “भाषा गौरव” सम्मानसमेत प्रत्येकमा नगद पचास हजार प्रोत्साहन राशि प्रदान गर्ने निर्णय भएको र पचास साहित्यिक मनलाई पुरस्कृत गरिएको छ । असमको सक्रिय र जनप्रिय साहित्यिक संस्था असम नेपाली साहित्य सभाको अथक प्रयास र नेतृत्वमा यो कुरा फलिफाप भएको ठुलो उपलब्धि हो । हामी नाट्यकर्मी पनि संस्थागतरूपमा सरकारसँग सम्पर्कमा रहेर कागज कलमको वार्तामा तत्परतासहित अरू कामका निम्ति लागिरहेकै छौँ संस्थागत रूपमा ।
असमेली नेपाली साहित्यमा नाटक लेखन र मञ्चनमा सक्रिय पछिल्लो चरणका नाटककारप्रति कतिको आशा गर्नुहुन्छ ॽ
लगभग तीस वर्षअघिदेखि लिएर यस बेलासम्म असममा सम्भावना बोकेका अनेक नाट्यकारको जन्म भएको देखिन्छ । समयअनुसार नयाँ परिपाटि टिपेर नाटक लेखिएका छन् । भ्राम्यमान नाटकको इतिहासमा पनि धेरै नयाँ नाटकको जन्म भएको छ । प्रकाशित नभए पनि अनेक उत्तम रचना भए । यसलाई हेर्दा असमेली नेपाली नाटकको उज्ज्वल भविष्य देखेको छु । नवचिन्तनको घडेरी निर्माणमा तल्लीन नयाँ जन्मप्रति धेरै आशावादी छु । असमेली नेपाली नाटक साहित्यले विश्वदरवारमा आफ्नो चिह्नारी बनाउने सम्भावना रहेको छ ।
कहाँबाट को-को छन् यस चरणमा नाटककार ॽ
हामी सबैको प्रयासमा पछिल्लो समयमा नेपाली नाटकलेखन र मञ्चनमा प्रतियोगितामूलक उत्साह बढेको देखिएको छ । व्यक्तिगत नाम लिन अप्ठ्यारो पर्ने हुन्छ । हालैमा असम नेपाली नाट्य सम्मेलनको प्रकाशनले पचास एकमुष्ट नेपाली एकाङ्की छपाउने कार्य प्रेसमा चलेको छ । यस पङ्क्तिकारको प्रयासमा पन्ध्र पूर्णाङ्ग नाटक साहित्य अकादमी नयाँ दिल्लीद्वारा प्रकाशित गराउने क्रममा कामहरू हुँदै छन्, अलिक दिनअघिपछि हात पर्ला र यो आँकडाले भन्ला ।
असमेली नेपाली नाटकको सम्भावना र चुनौतीहरू के-के हुन् ॽ
सम्भावना र चुनौती एउटै मुद्राको दुई पाटाजत्तिकै अङ्गाङ्गी हुन् । जुन सुकै काममा चुनौती हुन्छ । चुनौतीलाई सम्भावनाको सफलताप्राप्तिको कठिन मार्ग हो भन्ने ठहर गरेर आफ्नो लक्ष्यतिर अग्रसर हुनुपर्छ । नाटक लेखे प्रकाशन व्यवस्था छैन । लेखक आयस्रोत साधन नभएको मानिस नै हुन्छ धेरजसो, उसले साहित्य गर्ने कि पेट भर्ने स्थिति हुन्छ । तैपनि ती चुनौती अतिक्रम गरेर धेरै सम्भावनामय नवीन नाट्यकार जन्मिएका छन् । समाजले आड र भरोसा दिन सके धेरै सम्भावना छ ।
चुनौतीलाई समाधान गर्न कसले के गर्नुपर्छ जस्तो लाग्छ ॽ
नेपाली नाट्य क्षेत्रमा धेरै चुनौतीहरू छन् । लेखन, मञ्चन, निर्देशन र अभिनयउपरान्त दर्शक सबैको युग्म र सामाजिक तथा सरकारी निकायसँगको समन्वयमा विभिन्न पाटा विचार विश्लेषण गरेर देखा परेको अड्चन अथवा चुनौतीको सामना गर्नुपर्छ ।
स्वयंसेवक वर्ग, अर्को भाषा, साहित्य, कला, कृष्टि र संस्कृतिको विकास गरेर आफ्नो साहित्यिक घर बनाउन समय सामर्थ्य राख्न सक्ने हुनुपर्दछ । अन्य विधाको साहित्य रचना र नाटक रचना गर्ने कुरामा, यसअघि प्रसङ्गमा कुरा स्पष्ट पारिएको छ । नाटक अरू साहित्यजस्तो एकबाजि लेख्दै सकिने विधा होइन, यसलाई एकबाजि कागजमा लेखेर पुनर जीवित रूपमा मञ्चमा लेख्नुपर्ने हुन्छ । अर्थात् नाटक नखेलुन्जेल त्यो सफल हुन सकेको नहुँदा नाटक खेल्नुलाई दोस्रो लेखन कार्य भन्न मिल्दछ ।
आफैँलाई उत्कृष्ट लागेको आफ्नै सृजना वा कृति कुनलाई मान्नुहुन्छ ॽ
अब उसो सिर्जना सन्तानसरि हुन्छ, सबै सन्तानप्रति उत्तिकै माया र उत्तरदायित्व हुन्छ जन्मदाताको । कुतकुती, प्रभात यामिनी, अमर शहीद, मुटुको खिया यी नाटक कुनै-कुनै वर्षको दसैँको एउटै वर्ष विभिन्न सय मञ्चमाथि खेलिए विशेष गरी कुतकुती धेरै प्रिय मानस सन्तान ठहरिएको छ । यसको हास्यव्यङ्ग्य संवाद र ठेट नेपाली चरित्र मानिसको मनमा गाडिएको भएर होला जस्तो लाग्छ ।
समीक्षक समालोचकहरूको आँखामा नाटक त्यति पर्दैनन् नि, यहाँलाई कस्तो लाग्छ ?
नाटक एउटा अक्षरको थुप्रो मात्र होइन । त्यहाँ विभिन्न पाटामा विभिन्न कलाको समायोजन गरिएको हुन्छ । सार्थक नाटक समालोचना गर्न सार्थक नाट्यकला पारखी नजर हुनुपर्दछ । साहित्यिक पक्षमात्र यस्तो उस्तो भनेर टार्ने खालको समालोचनाले नाटक पर्गेल्न धेरै गाह्रो हुन्छ जस्तो लाग्छ ।
नेपाली नाटकले समालोचना समीक्षा एकदम थोरै मात्रामा पाएको छ । साँचो अर्थमा नाटक समालोचना समीक्षा गर्न त्यति सजिलो पनि छैन । नाटकसँग सम्बन्धित सबै कुराको धेरथोर कुरा नजानीकन समीक्षा समालोचना गर्नु कुनै समयमा विपत्तिजनक कुरा हुन आँउछ । अब त्यो सबै गर्न कसलाई फुर्सद पर्ला । त्यसकारणले पनि सायद यो काम धेरै पछि परेको छ ।
अन्य विधा र नाटक लेखनमा कस्तो अन्तर छ ॽ
यस विषयमा धेरै अन्तर छ । साहित्यको अन्य विधा चर्चा गर्न चिन्तनमनन गरे पुग्छ । (सजिलो छ भन्न मिल्दैन, जुनसुकै सफल कर्ममा धेरै परिश्रम लुकेको हुन्छ) नाटक कापी कलममा लेखेर पुग्दैन । कापीमा अक्षर भएर जन्मिएका भोलिपल्ट ऊ अभिनयको भोकले भोकाउँछ । मन परेको जिउँदो मान्छे नाटकको भावना र अक्षरहरूसँग सँगसँगै पुनर्जीवित हुन चाहन्छ, धेरै सरसामान र लामो-लामो परिश्रमपछि नाटक एक पेट अघाउँछ । एउटा उपन्यास धेरै परिश्रमपछि पाठक भेटे सन्तुष्ट हुन्छ, ऊ सँगसँगै लठारिएर मञ्चमाथि नचढे पनि पुग्छ…. यतिखेर यति मात्र भन्न चाहेको छु ।
समकालीन नाटक लेखनलाई कसरी हेर्नुभएको छ ॽ
समकालीन नाटक लेखन विश्वको द्रुततर प्रौद्योगिकीकरण, अर्थनैतिक विकास र यसको अर्को पाटो ।
पर्यावरण, सन्त्रासवाद जनित विश्वको सबैभन्दा ठूलो रोग, मानिसको डायस्पोरिक भावनाको प्रतिनिधित्व गर्ने खालको समस्याबाट विश्व जनसमुदाय कसरी उक्सिने हो, त्यस विषयमा छलफल गर्न नाटकबाट प्रयास गर्नुपर्छ । यो र यस खाले चिन्तनको नाट्यकर्म हुनुपर्दछ ।
भारतीय नेपाली साहित्यमा नेपाली नाटकको अवस्था के छ ॽ
भारतीय नेपाली नाटकभन्दा उत्तरपूर्वी भारतको कुरा आँउछ । यी जम्मै नाटकका कुरा स्थानान्तरमा हामीले भनिसकेका छौँ, थप कुरा के भने भारतीय नेपाली नाटक आजको स्थितिमा उच्च मध्यम वर्गमा र उच्च वर्गको दौडमा गतिमान् छ ।
नेपाली नाट्यका उत्कृष्ट वा मानक नाटक भनेर नाम लिनुपऱ्यो भने कुन कुनलाई लिन सकिन्छ ॽ
मैले असम उत्तरपूर्वाञ्चल क्षेत्रमा बढी मात्रामा ध्यान दिनुपर्ने हुँदा यही क्षेत्रमा केन्द्रित रहनेछु । सय वर्षमा धेरै नाटक लेखिए प्रकाशित थोरै भए । त्यसभित्र सामान्य केही नाटक यस प्रकार छन्- पद्मश्री लीलबहादुर क्षेत्रीको- ‘दोबाटो’, प्रेमसिंह सुवेदीको- ‘गोलीको निशान’, शेरमान थापाको- ‘रूखको माकुरो’, अविनाश श्रेष्ठको (हाल काठमाडौँ) ‘अश्वत्थामा हतोहतः’, मुक्ति उपाध्याय बरालको (हाल सिलिगुडी) ‘शरत्पूर्णिमाको रम्य रमिता’, धर्मेन्द्र उपाध्यायको ‘कठपुतली’, गुरुप्रसाद उपाध्यायको ‘घर’, महीपति निरोलाको युगको आह्वान, यसरी यो सूची धेरै लामो नपार्ने विचारमा छु ।
विश्व साहित्यमा धेरै कुरा उठ्ने गरेका छन् नि ॽ
जहाँसम्म विश्व साहित्यको वाद भन्ने कुरा छ आधुनिकता, विनिर्माण, भयवाद, संरक्षण, संरचना, उत्तरआधुनिकता आदि आदि, यी नाटकका विभिन्न क्षेत्रमा आफैँ देखा पर्छन्, दर्शक र समालोचकहरूले औँल्याएर खुट्याएर निकाल्नुपर्ने हुन्छ । किनभने जस्तो समयमा समाज, संस्कृति, विज्ञान र प्रविधि दौडिरहेको छ नाट्यकार साहित्यिक त्यसै दौडमा हुन्छ, साहित्य समाजको दर्पण हो भन्ने कुरा नाटकमा अरू बढी खट्ने कुरा हो । त्यहीभित्रको चित्र उतार्ने काम मञ्चमाथि गरिन्छ । त्यसभित्र चिर सत्य विषय (खानुपर्छ,मर्ने कुरा, विज्ञानप्रविधिको अनिवार्यता) गाभिएकै हुन्छ । यत्तिको दिनसम्म के समस्या नबुझेर दुख्छ पाएको थियो, अब के गर्दा सबैका निमित्त उन्नतिको मार्ग प्रशस्त हुन सक्छन् त्यस बारे लेखक जागरुक छ र सही कलाको प्रयोग गर्न सकेको खण्डमा त्यसभित्र सबैसबै वाद पसेको हुन्छ । विश्व पनि आज घरघरमा डुलिहिँडेको कुरा बिर्सनु भएन । विश्व नाट्य साहित्यको धरातलमा नेपाली नाटक, अरू साहित्यको तुलनामा एकदमै पछि परेको छ भन्न मिल्दैन तर गर्नुपर्ने काम अरू धरै छन् । विज्ञानसम्मत परिपाटि टिपेर कर्मशाला गर्नुपर्ने स्थिति छ, प्रतिभा तिखारिनुपर्ने धेरै आवश्यकता छ, जो आजसम्म हुन सकेको छैन । अभिनय र निर्देशन मात्रै होइन नाटक लेखन कर्मशालाको पनि उत्तिकै खाँचो रहेको छ ।
नेपाली नाट्य साहित्य विश्व साहित्यमा कहाँ छ ॽ
माथि पनि यी कुरा गरिएको छ । नेपाली नाट्य साहित्य, साहित्यको अरू विधासँग समसामयिक नभए पनि एकदमै निम्सरो छैन । अन्यान्य साधारण नाट्यकर्म चलेको छ समयानुसार । यसमा भ्राम्यमान नाटकलाई नियालेर हेर्ने हो भने असमको नेपाली नाट्य साहित्य विश्वको अनान्य नाटकसँग दाँजिने तर्खरमा पुगेको छ ।
अँ क्षेत्र प्रवेशपछि विश्व साहित्यको अध्ययन गर्न एकदमै जरुरी हुन्छ, त्यसको आभास पक्कै रचनामा झल्किनु आवश्यक छ । यस कुरामा नाट्यकारहरूको बढी र ठूलो भूमिका अनिवार्य रूपमा रहेको हुन्छ भन्ने लाग्दछ ।
नाटककारहरूको दायित्व केकस्तो हुनुपर्दछ जस्तो लाग्दछ ॽ
साहित्य अथवा जुनकुनै कार्यमा निःस्वार्थ र पवित्र भावनाले ओतप्रोत भएर काम गर्नुपर्छ भन्ने मान्यता सही लाग्छ । नाट्य क्षेत्रमा लागिपरेका धेरै मानिस छन् यिनमा पनि लगन, सिप, जाँगर, इमानदारी र लोककल्याणकारी भावनाले ओतप्रोत मानसिकता मनमा घुमिरहेको हुन जरुरी हुन्छ जस्तो लाग्छ ।
जतिसुकै बुद्धिमान् अथवा उच्च शिक्षित दर्शकको जमात नाटक घरभित्र नहोस् किन, ती प्रायः सबै दर्शकमा कहानीको उत्सुकता, हास्यव्यङ्ग्य र रुनैपर्ने दृश्य संयोजन, अभिनय, शब्द, लाइटको प्रयोग र जीवन्त अभिनय (केवल अभिनय होइन) गर्ने मौका रहेको रचना र निर्देशनमा, दर्शक आकर्षित भएर नाटक हेर्न बाध्य हुन्छन् भन्ने लाग्छ ।
नाटककारहरूको प्रोत्साहनका लागि राज्यले केकस्तो भुमिका खेल्नुपर्दछ ॽ
हामी बृहत् गणतान्त्रिक देशमा नाना भाषाभाषी, धर्म, संस्कार, संस्कृति छासमिस मिलेर बसेका छौँ । याहाँ दुई-तीन सय किलोमिटर अन्तरालमा एक ठाउँको वातावरण अर्को ठाउँमा नमिल्ने धेरै तत्त्वहरू सक्रिय छन् । जसका निम्ति सरकारको सांस्कृतिक मन्त्रालयअन्तर्गत दृष्टि पुग्नु पुऱ्याउनु सुविधा लिनु दिनु जस्ता कुरा छर्लङ्ग थाहा हुँदैन । नेपाली भाषी भारतीय गोर्खा समुदायका निम्ति ढिलो भए पनि आजको दिनमा सरकारी सहुलियत धेरै फराकिलो भएको छ । तर लिनेले त्यसको सद्योपयोग गर्न सक्ने क्षमता राख्न पऱ्यो।
नाटकको उत्थानमा जनता र सरकारको पक्षबाट पाएको एउटा झलक कुरा प्रसङ्गमा पहिले नै भनिएको छ । यति भन्न सकिन्छ, आजसम्म जेजस्तो सुविधा दिएको छ त्यो पर्याप्त होइन, आर्थिक निरापत् त दिनु नै पर्छ, आज हामीलाई नाट्य शिक्षणको विकास हुने कार्यका लागि बौद्धिक सहुलियतको अझ बढी खाँचो अनुभव भएको छ ।
नाटकप्रति दर्शकलाई आकर्षण गराउन वा राम्रो बनाउन के गर्नुपर्छ ॽ
नाटक रामरी मञ्चन गर्दा दर्शकको अभाव देखिएको छैन । समयोचित विषय जनताको पक्षमा जीवनको भोगाइ र सोचाइअनुरूप लिखित र प्राणमय अभिनय हुँदा नाटकमा दर्शक तानिएर आउँछन् । अझ भ्राम्यमान नाटकको बढ्दो चाहनालाई ध्यानमा राखेर काम गर्न सके यहाँ नाटकको धेरै सम्भावनापूर्ण क्षेत्र छ भन्ने लाग्छ ।
नाटक एक कला हो । यसको परिपूर्ति गर्न सबैको साझा सद्भावना र आफ्नो कला प्रस्तुत गर्नमा लगनशील मेहनती हुन पर्दछ । नाट्यकार, अभिनेता, निर्देशक र अरू कलाकारको तालमेल मिल्नुपर्छ र एकैसाथ परिचालित हुनुपर्दछ । कसैमा कुनै कुराको असन्तुष्टि रहनु हुँदैन । तब चिताएको कुरा पुग्छ ।
अहिलेसम्मका नबिर्सने क्षण कुन हुन् र किन ॽ
प्रायः चालिस वर्षसम्मको नाटक यात्रामा, नाटक गर्ने मञ्चको खाँबो गाड्ने खाल्टो खन्नुदेखि नाटक लेख्ने निर्देशन, अभिनय आदि सकेर दर्शक कुर्सी मिलाउनेसम्म काम गरिएको हो । त्यसमध्ये राष्ट्रिय नाटक प्रतियोगितामा भाग लिन बाहिर जाँदा भएको एउटा अभिज्ञता यस्तो छ । २००३ सन्मा बिहारयात्राको एक दिनअघि नाटकको मुख्य चरित्र टोलिमा नजाने भएर घरबाट भागेर हिँडेको अनि रेलमा शुभकामना दिन आएका दुई जनालाई उतैउतै रेलमा चढाएर रिहासल रेलमै गरेर नाट्य मञ्चन गरीवरी पुरस्कृत भएर आएको अनुभव पनि अविस्मरणीय छ ।
(त्यस बेला असम बिहारबिचमा रेल यात्रुभित्र कुटाकुटको परिवेश परिस्थिति हुँदा, त्यसमा परिन्छ भन्ने डरले, अभिनेता भागेको कुरापछि थाहा भयो) अमर शहीद नाटकको मेजर दुर्गा मल्ललाई फाँसीमा झुन्ड्याएर तल झार्नुपर्ने थियो, (२००५, कटक उडिषा, अन्ताराष्ट्रिय नाट्य महोत्सव) तल टुल पनि थियो, जल्लादलाई यत्तिको अवस्थामा डोरी छोडेस् भनेको थियो, जजको चौकीमाथि स्पटलाइटद्वारा उपस्थिति र नेपथ्य शब्दद्वारा हुकुम भइसक्दा डोरी तानियो तर लाइटमा बसेको मान्छे उडियाभाषी भएकाले मान्छे तल झर्दाझर्दै लाइट अफ गरेर आँत्तिएर फेरि अन गऱ्यो । निर्देशनअनुसार यति बेरसम्ममा दुर्गा मल्ल उठीवरीभित्र पुगेको हुँदा, नाटकमा चारचाँद लाग्यो, सबै दर्शक आसनबाट उठेर शहीदलाई सलाम गरेको मुद्रामा उभिएर सम्मान प्रदर्शन गरेको कुरा एउटा बिर्सन नसकिने मुहूर्त हो । रेलमा कलाकारहरूलाई सिटमा सुताएर आफूलाई सिट नपुग्दा प्रायः रेलको भुईँमा सुतेर बसेर सफर गर्ने समय पनि एक तृप्तिदायक सुखदुःखमिश्रित अनुभव हो । यस्ता मञ्चमाथि भएका अनुभव धेरै खाले छन् ।
जीवनलाई परिभाषित गर्नुपऱ्यो भने के भन्नुहुन्छ ॽ
जीवन एउटा शीतल कर्मयज्ञ हो । हुन त चरीले ज्यान दिएर पनि लोक अघाउन सक्दैन । मेरो जीवन मलाई मात्र काम लाग्नु भन्दा मेरो जीवनमार्फत धेरथोर मेरो जाति, मेरो भाषा, कृष्टि र संस्कृतिप्रति पनि केही कर्तव्य निस्पादन गर्न सकोस्, ‘बुहुजन हिताय बहुजन सुखाय; चिन्तन जीवनभरि रहेको कामना गर्दछु, अरू धेरै ठूलो आशा र केही नयाँ परिभाषा पनि छैन ।
नयाँ लेख्ने अथवा नवोदित स्रष्टाहरूलाई के सल्लाह र सुझाव दिनुहुन्छ ॽ
नवोदित स्रष्टाहरूले पहिले अरूका नाटक पढ्नुपर्छ, नाटकबारे चर्चा गरिएको पाठ पढ्नुपर्छ, विशेष गरी नेपाली नाटकदेखि असमिया, बङ्गाली, हिन्दी र सक्नेहरूले अङ्ग्रेजी नाटक र संस्कृत नाटकको अध्ययन गर्न सके र त्यसपछि वर्तमान अवस्थाको मध्यनजर नाटक रचना र मञ्चनको चाँजोपाँजो मिलाउने काम गर्न सके राम्रो होला भन्ने लाग्छ ।
जीवनका भावी लेखकीय योजनाहरू के छन् ?
वर्तमान अनेसास महासचिव, रुद्र बराल सरले एउटा साक्षात्कारमा “बाटाको लाइन होटलमा ड्राइभर ओर्लेर कस्तो खानाको अर्डर दिन्छ, भनेर पर्खेको होटलको कारिगरजस्तै जति बेला जस्तो आइलाग्छ त्यसको समाधानतिर लागिन्छ, कुनै विशेष योजना भन्ने छैन । एउटा कुराको ठुलो अभाव देखिएको छ नेपाली नाट्य क्षेत्रमा, त्यो हो चलमान मञ्चको भित्रीपाटो, जस्तै साज सज्जा, शृङ्गारिक तत्त्व (रूप सज्जा), लाइट र साउन्डको प्रयोग र यसबाट नाटकमा ल्याउन सक्ने निखार, परापूर्व कालदेखि आजसम्मकै रङ्गमञ्चीय ढाँचाको विज्ञानसम्मत परिवर्तनबाट सिक्नुपर्ने कुरा, यस्ता विषय समेटेर एउटा पुस्तक प्रकाशन गर्ने विचार छ, त्यसमाथि धेरथोर काम पनि नभएको हैन तर लगत्तै अलिकति भित्रैमा यो सम्पन्न हुन्छ भन्न सक्ने अवस्थामा पुगेको छैन । नयाँ सोचमा दुई-एक नाटक लेख्ने प्रयास पनि जारी छ । समयले भन्ला त्यो ।
असममा नेपाली नाटकको धेरै सम्भावनापूर्ण नाट्यकारहरू छन् तिनीहरूमा भएको प्रतिभा निकाल्ने उद्देश्यले बनेका संस्थामार्फत, केन्द्रीय नाट्यशाला, केन्द्रीय सांस्कृतिक प्रकल्प निर्माण, त्यसद्वारा उपयुक्त प्रतिभालाई देशभित्रदेखि देशबाहिरसम्म पुग्न सक्ने मार्ग प्रशस्त गराउनु, शिल्पीकलाकारको प्रक्रित मर्यादा दिलाउने कुरामा सरकारी बेसरकारी दुईतर्फी प्रयास जारी राख्नु मेरो प्रमुख इच्छा रहेको छ । मेरो कुनै व्यक्तिगत रहेको छैन ।
मलाई मार्गदर्शन गर्ने, जति बेला जस्तो आइलाग्छ त्यसको समाधान गर्न परामर्श लिन सक्ने व्यक्ति विशेषको सधैँ सम्मान गरेको छु, ज्ञानबहादुर क्षेत्री, डा. खगेन शर्मा, मोतीलाल शर्मा, चन्द्रमणि उपाध्याय, (वर्तमान सभापति, अनेसास) विष्णु शास्त्री, पृथ्वी विलास भट्टराईहरूले हैसेमा होस्टे थपेका छन् । त्यसमध्येमा पनि छायाँजस्तोमा रहेर हर घामपानीमा जोगाउने ओताउने ज्ञानबहादुर क्षेत्री सरको योगदान मेरो किञ्चित् नाट्यकारितामा सधैँ स्मरणीय र जीवित रहनेछ ।
अहिले साहित्यमा के पाएँ र के गुमाएँ जस्तो लाग्छ ?
साहित्यमा लागेर साथ पाएको छु, विद्वान् बुद्धिजीवीहरूको कुरा सुन्ने ठुलो अवसर पाएको छु । मैले कलाकार साथीहरूको मायाँ र प्रेम पाएको छु । त्यहाँभन्दा बढी समय-समयमा नाटक गरेको साहित्य गरेको भनेर विभिन्न सम्मान र पुरस्कार दिएका छन्, मेरो योग्यता छ छैन त्यो अलग कुरा हो तर योग्य होस् भन्ने विचार व्यक्त गरेर विश्वासलाई दृढ बनाउने काम गरेको कुरा ठुलो कुरा मान्दछु । व्यक्तिगत रूपमा केही पाउन, अग्लो चौकीमा बसौँला, ठुलो पगरी बाँधुला भन्ने उद्देश्य काखी च्यापेर मैले कुनै काम गर्न रुचाएको थिइनँ, छैन तर कामको बिचमै मानिसले कहिले चियाएर हेरेको हुँदो रहेछ, सत्कर्मको फल राम्रै हुँदो रहेछ जस्तो लाग्छ । मसँग आफ्नो भनेको यही एउटा ज्यान छ । अहिले सम्म ठिकै छु, अरू कुरा मेरो हैन जब, गुमाउने कुरा भन्न मिलेन नि हजुर । केही पाउनु नपाउनुको असन्तुष्टि छैन ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।