मैले कहिल्यै पनि बोक्सी, भूत, प्रेत धामीझाक्रीमा विश्वास गरिनँ । मलाई कहिल्यै चाख पनि आएन तर थाइल्यान्डको केही दिनको बसाइमा यसको प्रत्यक्ष सम्पर्कमा परेँ । म आफैँ साक्षी बनेँ ।

थाइल्यान्डको फुकेट सहरको माथिल्लो भागमा हिन्दू मन्दिर छ । मन्दिर वरिपरि थुप्रै घरहरू छन् । ती घरहरूमध्ये एउटा घरमा एक जना नेपाली परिवारको बसोबास छ । मासिक भाडा तिरेर उनी त्यो घरमा बस्छन् । त्यो मन्दिरमा पुगेको केही घण्टामा नै मेरो ती व्यक्तिसँग परिचय हुन्छ । नेपालको पूर्व पहाडबाट आफ्ना पुर्खा थाइल्यान्ड आएको बताउने ती व्यक्तिको धेरैजसो समय त्यो मन्दिरमा नै बित्छ । फुर्सद हुनासाथ उनी त्यो मन्दिरमा झुल्किहाल्छन् । खाइलाग्दो जिउ, सेतै फुलेको कपाल अनि बुढ्यौली छाला । “यही कार्तिकले असी लागेँ बाबु म !” उनी मैले नसोधीकन नै मलाई आफ्नोको उमेर बताउँछन् । उनले जन्म बर्मामा भएको हो तर उनको बुबाले उनलाई थाइल्यान्ड ल्याए दश वर्षको उमेरमा । उनको बाल्यकाल थाइल्यान्डमा नै बित्यो तर उनलाई नेपाली र नेपालप्रति प्रगाढ माया छ । उनको मीठो बोली, पुराना शब्दहरू अनि अपुरो वाक्यमा उनको बोली रमाइलो लाग्दो छ । उनीसँग भेट भएको केही बेरमा नै मेरो गहिरो बातचित हुन थाल्छ । म घुलमिल भइहाल्छु । उनको आफ्नो नाम बताएनन् । मैले पनि सोध्ने चेष्टा गरिनँ तर उनको पाको उमेरको आधारमा उनलाई बाजे भन्न थाल्छु । उनलाई मैले बाजे भनेकोमा कुनै गुनासो छैन । त्यति मात्र होइन अरू सबैले उनलाई बाजे नै भन्ने गर्दछन् ।

नगेन्द्र न्यौपाने

एकदिन बाजेले मलाई आफ्नो घरमा बोलाउँछन् । “ऊ त्यो सेतो घरमा म बस्छु । भोलि बिहान चिया खान आउनुहोस् है ।” उनले पूर्वतिर एउटा दुई तले घरलाई देखाउँदै मलाई निम्ता दिन्छन् । त्यो घर चिन्न मलाई गाह्रो हुँदैन । म जान्छु र उनको कोठाको घण्टी बजाउँछु । एक जना तरुनी महिलाले ढोका खोल्छिन् । रातो टीका, रातो चुरा, पहेँलो पहिरन अनि घाँटीमा रुद्राक्षको माला । ती महिलालाई देख्नासाथ म नेपालीमा नै नमस्कार गर्छु अनि केही वाक्यहरू बोल्छु तर उनी मलाई नसुनेजस्तो गरेर उभिइ मात्र रहन्छिन् । मेरो बोलीमा उनको चाख जाँदैन । बरु हातले इसारा गर्दै कुर्सीमा बस्ने सङ्केत गर्दछिन् । एकातिर ती महिला नेपालीजस्ती देखिनु भने अर्कातिर नेपाली भाषा नबुझ्नु । म अकमक्क पर्छु । म अकमक्क परेको देखेर नै ती महिलासँग उनले मेरो परिचय गराइहाल्छन् ।

“यी नारी, थाइल्यान्डकी हुन् । नेपाली बुझ्दिनन् ।” ती महिलाका बारेमा विभिन्न प्रकारका जिज्ञासा निस्किन्छन् । उनीसँग बोल्न खोज्छु तर नेपाली भाषा नै नबुझ्ने भएपछि मेरो चाख मरेर जान्छ । म ती महिलाका बारेमा जान्न चाहन्नँ तर एकातिर ती महिला नेपाली भाषा नबुझ्नु र अर्कातिर त्यो कोठाको हर्ताकर्ता नै उनै हुनु मलाई थप जिज्ञासा आउन थाल्छ । बैठक कोठादेखि भान्साको काम उनैको जस्तो देखिन्छ । केही बेरमा नै चिया बनाएर उनले राखिदिन्छिन् । अझै ती महिलाबारे मेरो जिज्ञासा बाहिर आउन सक्दैन । म बाजेसँग केही पनि सोध्दिनँ तर बाजे आफैँ थप जानकारी दिँदै बोल्छन्- “यिनी माता बन्ने अरे । केही महिनाअगाडि नेपालबाट एक जना माता आएकी थिइन् । ती मातासित केही मन्त्रहरू सिकिन् । अझ बाँकी म सिकाउँदै छु ।” मेरो मनमा जिज्ञासाको खातैखात लाग्छ । माता र तन्त्रमन्त्रको संसारप्रति मेरो खुलदुली बढ्दै जान्छ । म रहस्यमय बन्दै जान्छु तर म त्यो खुलदुली बाहिर निकाल्न सक्दिनँ ।

त्यही बेला बाजेको फोनको घण्टी बज्छ । उनी फोन उठाउँछन् अनि धेरै बेर नै फोनमा गफ गर्छन् । वार्ता लामै हुन्छ तर म बुझ्दिनँ । फोनको वार्ता थाइ भाषामा नै हुन्छ । फोनको कुरा सकिएपछि मैले नसोधे पनि बाजे मतिर हेरेर बोल्छन् ।

“बाबु ! बिरामीलाई च्याप्यो अरे ! बिरामीलाई यहाँ ल्याउँदै छन् ।”

अघिल्लो दिनमा नै उनले मलाई सामान्य जानकारी गराएका थिए- उनी झारफुकको काम पनि गर्दछन् । उनी वैद्य हुन् तर त्यसरी व्यापक रूपमा बिरामी नै ल्याएर औषधि गर्ने बारे थाहा थिएन । म केही जिज्ञासु बन्दै सोध्छु-

“यहीँ ल्याउने ?”

“गाडी हिँडिसक्यो अरे ।”

हामीहरू कुरा गर्दागर्दै एउटा सेतो रङ्गको गाडी उनको आँगनमा रोकिन्छ । लत्रक्क गलेको शरीर । आलस्य लाग्दो अनुहार । नकोरिएको कपाल । एउटी महिला बिरामी धरमराउँदै गाडीबाट निस्किइन् । उनका छोराले उनलाई समाउँदै भर्‍याङ उकाल्छन् अनि हामी भएको कोठामा हुल्छन् । उनको आकृति हेर्दा लाग्छ उनी धेरै दिनदेखि लखतरान छन् । बैठक कोठामा पसेपछि ती बिरामी महिला धरमराउँदै भित्तामा आड लागेर भुईँमा नै बस्छिन् । एकातिर ती बिरामी महिला घरभित्र बस्नु अर्कातिर माता हुन तयार भएकी महिला अक्षता बनाउन तयार हुनु एकैचोटि हुन्छ । उनी हत्तपत्त अक्षता र अबिरको थाली लिएर बाजेको अगाडि राखिदिन्छिन् । बाजे आफैँले कागज डढाएर खरानी बनाउँछन् अनि मन्त्र पढ्न थाल्छन् । ती कामहरू निकै तीव्रगतिमा चल्छन् । ती सबैलाई थाहा छ कस्तो बिरामीका लागि कस्तो-कस्तो सामग्री तयार गर्नुपर्छ ।

खरानीको सेतो टीका लगाएपछि उनको उपचार विधि सुरु हुन्छ । उनले नेपाली भाषामा नै पिचासलाई खुब लागी गर्छन् । नाना थरीका अपशब्द बोल्छन् । भन्नु नभन्नु भन्छन् । कडा शब्द बोलेर तर्साउँछन् । अनि चुनौती पनि दिन्छन् । “यदि तैले बिरामीलाई छोडिनस् भने म तेरो घरमा आएर नै तेरो खुट्टा भाँच्छु ।” उनको लवज शुद्ध नेपाली नै छ । त्यहाँ उपस्थित कसैले बुझेका छैनन् । उनीहरूलाई अत्तोपत्तो छैन तर म प्रस्टसँग बुझ्छु । मलाई सबै थाहा हुन्छ । मलाई अलिकति रमाइलो पनि लाग्छ । उनको उपचार विधि पूरा भएपछि म उनलाई अलिक ठट्टापारामा सोध्छु-

“थाइल्यान्डका पिचासले त नेपाली भाषा बुझ्दा रहेछन् हगि ?” तपाईँले पिचासलाई नेपालीमा तर्साउनुभयो !

मैले ठट्टाका रूपमा बोले पनि उनी निकै भावुक भएर उत्तर दिन्छन्-

“कहाँ मैले नेपाली भाषामा बोलेको हुँ र ! यो धामी भाषा हो । यो धामी भाषा थाइले बुझ्दैनन् । उनीहरूलाई बुझ्न जरुरी पनि छैन । म मेरो धामी भाषा उनीहरूलाई बुझाउन चाहन्न तर यहाँको पिचासले बुझ्छ ।”

हामीहरू आधुनिक हुन खोज्छौ । विज्ञानको पछि लागिरहेका छौँ । त्यति मात्र होइन । पुरानो संस्कार र रूढिवादी भनेर कर्के आँखा लगाउँछौ । जड परम्परा भनेर विश्वास गर्न खोज्दैनौँ तर मानसिक शान्ति त त्यहीँ पो रहेछ । औषधि त त्यहीँ पो रहेछ । ती महिलाको लत्रेको अनुहार उज्यालो हुँदै आउँछ । उनी टाउको ठाडो पारेर पल्याकपुलुक हेर्न थाल्छिन् । खै त्यो मन्त्रमा के शक्ति थियो । खै त्यो बोलीमा के ऊर्जा थियो । ती महिला विस्तारै जिउ तन्काउँछिन् अनि छोरातिर हेरेर बोल्छिन्-

‘पानी !’

छोराले एक गिलास पानी दिन्छन् । उनको अनुहार झन् उज्यालो हुन्छ ।

नेपालमा कहिल्यै विश्वास नगरेको विषयमा मलाई अहिले विश्वास गर्न कर लाग्छ । जड भनेर फ्याँकिएको विधिप्रति मेरो आस्था बढ्न थाल्छ । म ढुक्क छु- त्यो मन्त्रले काम गर्‍यो । म मात्र होइन उनका छोरा पनि ढुक्क छन् । उनी उज्यालो अनुहार बनाउँछन् तर बाजे आफैँलाई भने विश्वास छैन । उनी आफ्नो मन्त्रमा भरोसा गर्दैनन् ।

“तपाईँ अब आमालाई घर लैजानुहोस् । अहिले ठिक भयो तर केही गरी व्यथाले फेरि च्याप्दै लग्यो भने अस्पताल लैजानुहोला । यहाँ ल्याउने होइन । मलाई फोन नगर्नुहोला ।”

म तुरुन्त बाजेलाई सोधिहाल्छु-

“तपाईँ आफैँ मन्त्र पढेर उपचार गर्ने ! फेरि बिसेक भएन भने अस्पताल लैजान पो भन्नुभयो त ! तपाईँ सबै बिरामीलाई यस्तै भन्नुहुन्छ ?”

मेरो वाक्य पूरा हुन नपाउँदै उनी मतिर पुलुक्क हेर्छन् अनि मलाई नै प्रतिप्रश्न गर्छन्-

“मन्त्रले पनि रोग निको हुन्छ ?”

“यसको मतलव तपाईँलाई तपाईँको मन्त्रमा विश्वास छैन ?”

“मन्त्रले मात्र कहाँ बिसेक हुन्छ । बिसेक हुनका लागि औषधि खानुपर्छ । संयोगले सन्चो भएछ भने मेरो मन्त्रले छोयो भन्नुपर्छ तर व्यथाले चाप्दै ल्याएछ भने अस्पताल नगई कहाँ जानु त ! औषधि नखाई कसरी बिसेक हुन्छ ? मैले त मन्त्र सुनाएको हुँ । यो मन्त्र ! मन्त्र मात्र होइन । मानसिक औषधि पनि हो । शरीरका तन्तु नै बिग्रेको रहेछ भने मानसिक औषधिले कसरी भ्याउँछ र ? तन्तुका लागि डाक्टरको औषधि खानुपर्छ ।”

ती बाजे निकै ज्ञानी छन् । पुरानो संस्कार र झारफुक मात्र सार्थक उपाय होइन । यसले औषध्युउपचार गर्दैन भन्ने उनलाई थाहा छ तर झारफुकलाई सजिलैसँग छोड्न पनि सक्दैनन् । बाजे आफ्नो अभिव्यक्ति दिन पनि धक मान्दैनन् । अर्थात् बताउन उनलाई कन्जुस्याइँ लाग्दैन । वास्तविकतालाई छलछाम गरेर दक्षिणा सङ्कलन गर्नु पनि उनको उद्देश्य होइन ।

“तपाईँ आफैँलाई आफ्नो कामप्रति विश्वास रहेनछ ! यो काम छोड्नुभएको भए हुन्थ्यो । किन आफैँलाई विश्वास नलागी-नलागी पनि गर्दै हिँड्नुभएको ? मान्छेलाई किन दुःख दिनुभएको ?”

उनी मतिर पुलुक्क हेर्छन् र बोल्छन्- “म कहाँ आफैँ हिँडेको हुँ र ? उनीहरूले हिँडाएका ! फोन गरी-गरी बोलाउँछन् । गाडी नै लिएर आउँछन् भने म के गरूँ ? मेरो मन्त्रलाई मलाईभन्दा उनीहरूलाई विश्वास छ । भरोसा छ । धेरैजसो बिरामी चङ्गा भएर फर्केका छन् ।”

म उनको भनाइलाई निकै गहिरिएर सुनिरहेको हुन्छु । उनी बोल्दै जान्छन्- “कोही मसँग माग्न आउँछ, सहयोगको अपेक्षा गर्छ भने कसरी रित्तो हात फर्काऊँ त ? मसँग जे छ त्यही दिने त हो । मसँग यही झारफुक छ, मन्त्र छ । त्यही दिएर पठाएँ ।”

त्यति बेलासम्म छोराले आफ्नी आमालाई लिएर गइसकेका छन् । माता बन्ने धुनमा मन्त्र सिक्न आएकी युवती पनि भान्सातिर खानेकुरा बनाउने तरखरमा छन् । मेरो पनि त्यहाँबाट निस्कने समय आइसकेको छ । म बाजेसँग बिदा भएर मन्दिरतिर आउँछु तर मेरा मनमा धेरै कुराहरू अटेसमटेस गरेर दौडिन थाल्छन् ।

आखिर यो संसारको कुन ठाउँमा छैन अन्धविश्वास ? कुन देशलाई रूढिवादीले अलमल्याएको छैन ? हामीहरू यही अन्धविश्वाको उपज हौँ । हामीहरू अन्धविश्वासलाई विश्वास गरिरहेका छौँ । यसैमा आदत बसिसक्यो । फरक यति हो कि कुनै समाज पूरै रूपमा अन्धविश्वासमा निर्भर गर्न बाध्य छ । ऊ त्यसैमा भरोसा गरेर जीवन धानिरहेको छ । झारफुक र मन्त्रमा नै आफ्नो जिन्दगी समर्पण गरेको छु । कुनै समाज भने परिमार्जन बनिसके । अन्धविश्वासलाई मनोरञ्जनमा लिइसके । त्यसकारण जबसम्म कुनै पनि समाज आफू परिस्कृत बन्दैन तबसम्म ऊसँग झारफुक र मन्त्र वाहेक अर्को उपाय भेटिँदैन । ऊ त्यसैमा निर्भर रहन बाध्य हुन्छ ।