करोनाकालीन समयमा असममा नारी  प्रतिभाहरूले सृजनाको क्षेत्रमा गुणात्मक र सङ्ख्यात्मक दुवैतर्फबाट नेपाली साहित्यलाई संवृद्धशाली तुल्याउने कार्यले स्वयं आफूहरू पनि गरिमामय बनेका छन् । परिवर्तन र अन्य कविताबाट जनप्रिय कविका रूपमा परिचित हुन पुगेकी निलीमा आचार्यको दोस्रो कृतिका रूपमा सामाजिक उपन्यास रजत केही महिनाको अन्तरालमै विमोचन हुनु उनको साहित्यिक सामर्थ्यको एक खुड्किलोका रूपमा स्थापित हुनपुगेको छ । रजत सामाजिक हुँदाहुँदै यथार्थ र आदर्शतर्फ पनि लम्किएको देखिन्छ । कलेज पढने किशोर र युवा मानसिक चिन्तनको वर्णन मात्र नभएर उनीहरूबाट छर्लङ्गाएको आदर्श जीवनशैली तथा भविष्यप्रति सजग र सचेतन बन्नुपर्ने चेतनासँगै जातीय अस्मिताको पनि मार्गदर्शन गरिएको देखिन्छ यस उपन्यासमा । रजत यस उपन्यासको नायक र विद्या हो नायिका ।

उपन्यासको शिर्षक पनि नायककै नामबाट राखिएको देखिन्छ । रजतमा जीवनको एक सफलतम, कर्मोद्दोप्त, तेजवान् उमेरको मानसिक परिवेश दर्साउँदै आदर्श जीवन बाँच्ने तरिकालाई अघि बढाउने प्रयास उपन्याकारले गरेझैँ देखिन्छ । कलेज पढने उमेर भनेको किशोर वा किशोरीहरूको मानसिक विकासको खुडकिलो हो । यही समयमा तिनीहरूमध्ये कोही दिशहारा हुन्छन् भने कोही कर्तव्यमा अविचलित भई आफ्नो भविष्यप्रति सचेतन हुँदै जीवनको सफलतम मोडमा उपनित हुन्छन् । रजतले यही दर्साउन खोजेको देखिन्छ । यहाँ विक्की नामको एक  चरित्रबाट पथभ्रष्ट युवावर्गको प्रतिनिधि पात्र खडा गर्न खोजिएको छ विक्की यसरी उपन्यासमा अकस्मात् आइलाग्छ जस्तो कि तोकिएको काम गर्न;  उसको कार्य समाप्तिपछि पुनः अन्तर्ध्यान गराउनाले उपन्यासका चरित्रहरू स्वाभाविक रूपमा उपस्थापन नगरेझैँ लाग्छ । कथावस्तुलाई रोमाञ्चक बनाउने चरित्रको आयु छोटो दिएर उपन्यासको पठनमा आउने रोचकता खल्बल्याएझैँ भान हुन्छ । आदर्शकै बर्को ओढाउँदै विक्कीलाई पनि उपन्यासको उत्तरार्धमा रजतअनुपझैँ चरित्रवान् पात्रका रूपमा उभ्याउँदा कथावस्तु अझ ऊर्जावान् हुने थियो होला ।

उपन्यासको कथावस्तु प्रारम्भदेखि सामान्य रूपमा अघि बढेको छ । यसलाई आदर्शबाट टाढा यथार्थताको नजिक ल्याउने प्रयासकै फलस्वरूप नाटककार पूर्णकुमार शर्माको सामाजिक नाटक मञ्चस्थ गरी सफलता प्राप्त गरिएको छ । यसपछि नै कथावस्तु अघि बढ्छ कथानकलाई उचाइमा पुऱ्याउन अर्थात् चरमोत्कर्षमा लैजान । विक्कीको घटनापछि कथानक सामान्य हुन्छ र यसले चरमोत्कर्षको गति दिन नसकेकाले शान्त अवस्थामा भनौँ आदर्शको बाटो पहिल्याउँछ । यहीँदेखि रजत, विद्याअनुपको जीवन परिक्रमालाई समेट्तै कथावस्तु अघि बढ्छ । अब उपन्यास आदर्शको खुड्किलो टेक्तै यथार्थमा बुर्कुच्ची मार्दै अघि बढेको हुन्छ । रजतविद्या एकअर्कालाई औधी मन पराउँछन् तर एकअर्कासँग प्रेमभाव प्रकट नगरीकन । यही प्रेमपासका जोडले उनीहरूले आफ्नो शिक्षा हासिल गरी गरिमामय बन्छन् र दाम्पत्य जीवन बिताउँछन् । उता अनुप प्रेम गर्छ तर कुनै युवतीलाई नभएर एकमात्र कर्मलाई र ग्रामीण साशानवर्गलाई । हुन त अनुप पनि प्रेमपाशमा बाँधिन नखोजेको होइन तर उसले प्रेमभाव व्यक्त गर्ने अघि नै तिरस्कृत हुनुपरेकाले अन्य कुनै युवतीप्रति उसको आकर्षण हुन सकेन । अनुप शिक्षित छ, जागिरे छ तर उसमा अहङ्कारको र पश्चात्तापको गन्ध कहीँ पनि छैन ।

हेमकुमार गौतम (असम)

उपन्यासमा सहायक नारी पात्रका रूपमा मायालाई देखिन्छ तर माया विक्कीझैँ पुछ्रेतारो जसरी अकस्मात् आएको चरित्र होइन । अनुप र माया यी दुवै औपन्यासिक कार्यव्यापारमा सक्रिय छन् । विवाहपछि मायालाई पति र घरका अन्यले दाइजो नल्याएकोमा अपराधीकाझैँ व्यवहार गरेकाले माया लोग्नेको घर छोडेर आउँछे र एउटा विद्यालयमा शिक्षादानमा रत हुन्छे । माया प्रेमकी खानी थिई । आफ्नो समस्त प्रेम बालबालिकालाई पोख्तछे र आदर्शवान् गुरुमा बन्दछे तर उपन्यासको अन्त्यसम्ममा पनि अनुप र मायालाई बिटुङ्गै छोडिएको देखिन्छ ।

प्रेमरस प्रधान यो उपन्यासले प्रेमका नाममा छाडापन दर्साएको कहीँ पनि देखिँदैन बरु प्रेमलाई एक आदर्शका रूपमा अघि सारेर पाठकवर्गमा नयाँ उत्साह र कर्मक्षेत्रमा अघि बढ्ने  नयाँ कर्मोद्यमको सृजना गर्ने प्रयास गरिएको छ । प्रेमलाई “त्यागको दोस्रो नाम, प्रेम कर्म हो, पूजा हो प्रेम, भोग होइन साधन हो प्रेम ” भनी प्रेमलाई त्यागकै प्रतीकका रूपमा दर्साइएको देखिन्छ । सर्जकले कथावस्तुसँगै देशका नागरिकहरूको कर्तव्यबारेमा पनि केवल सरकार वा पुलिसले मात्र समस्याको समाधान गर्ने होइन देशका नागरिकहरूको पनि जिम्मेवारी हुनुपर्छ भनेर सजग गराएको देखिन्छ । उपन्यासमा प्रासङ्गिक रूपमा ल्याइएको दुना टपरा गाँस्ने परम्परा, माघे सङ्क्रान्तिमा तरुल सुठुनी, लड्डु खानेजस्ता कार्यको वर्णनले नेपाली समाज र संस्कृतिको झलक दर्साएको छ । अझ विवाहको वर्णनले त आफूलाई विवाहस्थलमै भएको अनुभव ल्याउँछ । उपन्यास मनोग्य छ । पथभ्रष्ट युवावर्गलाई यस उपन्यासले निश्चय नै सचेत गराई सत्कार्यको मार्गदर्शन गराउँछ भन्ने आशा गर्न सकिन्छ ।  बार-बार उत्ताउलो बैँसको भेलमा नबगेर विवेकको मार्ग चुन्नका लागि सचेत गरेको हुनाले यस उपन्यासले किशोर र युवा पाठक वर्गमा जागरुकता साथै परिवर्तन पनि ल्याउन सक्षम हुन्छ भन्ने आशा गर्न सकिन्छ ।

यसरी रजतमा आदर्श र यथार्थ अनि निर्दिष्ट दिशानिर्देश हुँदाहुँदै पनि कथावस्तु कतै अझै रहेजस्तो भान हुने, कतै अझै परिमार्जनलाई पर्खिरहेझैँ, कतै अझै दोहोऱ्याएर लेखे हुन्थ्यो झैँ लाग्ने देखिन्छ । उपन्यासका खण्डहरू पनि अति छोटा, कतै खण्ड राख्ने आवश्यकता नहुँदा नहुँदै पनि खण्डित गरिएकाले पढ्दापढ्दै रोकिनुपर्ने विवशता आइलाग्छ तापनि उपन्यासले निश्चय नै पाठकवर्गमा रुचि ल्याउनेछ भनी आशा गर्न सकिन्छ । आशा छ यसको पुनर्मुद्रणमा उपन्यासकारको दृष्टि पर्दछ र आफ्नो सृष्टिमा अघि बढ्ने थप प्रेरणा मिल्दछ ।