
कुनै पनि देशको आदिम चिन्तनधारा मूल रूपमा लोक मानससित सम्बन्धित रहेको पाइन्छ । यसको अवधानमा आदिम मानस नै रहेको छ । लोकवार्ता लोक साहित्यको स्रोत पनि त्यही हो । आधुनिक शिष्ट सभ्यताको कल्पनासम्म पनि नभएको आदिम मस्तिष्कमा आआफ्ना अनुभूति र प्राकृतिक परिवेशयुक्त लोक साहित्य संस्कृतिको निर्माण क्रममा मानवतावादी चिन्तनले स्थान पाएको हुनुपर्छ । आफ्नो अनुभव, ज्ञान र चेतनाको विकास मानवमा हुँदै जाँदा मानवतावादी चिन्ताधारा मौलाउँदै गएको हो भन्न सकिन्छ । वैदिक साहित्यमा पनि यस प्रकारको भावना पाइए तापनि महात्मा बुद्धले करुणामूलक मानवतावादी चिन्तनको असल स्वरूप खडा गरेका थिए भनी हिन्दी साहित्यका विद्वान् चिन्तक डा. रामप्रसाद सिंहको भनाइ रहेको पाउँछौँ । बौद्ध चिन्तनको विशालताबाट धेरै सिद्ध पुरुषहरूको आविर्भाव भएको पाइन्छ । क्रमशः भारतका विद्वान् साहित्यिक इतिहासकारहरूको प्रयासमा मानवधर्मी चिन्तन परम्पराको व्यापक स्वरूप अघि आएको भनिन्छ । मानवतावादी चिन्तनको व्यावहारिक रूप मध्यकालीन सन्त परम्परामा पनि देखिन्छ । सन्त कबीरले विशुद्ध मानवतावादलाई जन्म दिए अनि वर्तमानसम्म पनि त्यो चेतना गुडिरहेको पाइन्छ । यसरी आधुनिक भारतका मानवतावादी महान् चिन्तकहरू रामकृष्ण परमहंस, स्वामी विवेकानन्द, दयानन्द सरस्वती, राजा राममोहन राय आदि लगायत महात्मा गान्धी, डा. लोहिया आदिको प्रभाव बिर्सन सकिँदैन । आधुनिक साहित्यको विस्तार र चिन्तन विभिन्न क्षेत्रमा जे जति भए तापनि मानवतावादी स्वर नै सर्वाधिक सशक्त रहेको पाइन्छ ।
जनहित, समाजहित र देशहितका सबैभन्दा ठूला शत्रुहरू स्वार्थ, घृणा र अहङ्कारलाई मानिन्छ । मनुष्य शरीर नाशवान् हो, क्षणभङ्गुर हो । शरीरमाथि स्वयंको पनि कुनै अधिकार चल्दैन । जसले यो मानव शरीर दिएको हुन्छ उसैले सुटुक्क लिएर जान्छ । त्यसो हुँदा स्वार्थ र अहङ्कार केका लागि ? भौतिकवादी भावनामा मुछिएको स्वार्थी र अहङ्कारी मन मस्तिष्कलाई यस प्रश्नको उत्तर खोज्न निकै नै चर्को पर्न जान्छ । मानव मन मस्तिष्कमा आध्यात्मिक ज्ञानको प्रवेशले देश, समाज र मानवको नैतिक मूल्यप्रति सचेत गराउनमा ठूलो भूमिका पालन गर्छ साथै आडम्बर रहित जीवन शैली अपनाउनमा मदत गर्छ । त्यसैले महापुरुषहरू, महान् चिन्तकहरू, महान् कविहरू, साहित्यकार आदि विभूतिहरूले मानवजीवनको उत्कर्षका लागि आफ्नो सम्पूर्ण जीवन नै अर्पण गरेर आध्यात्मिक ज्ञानको मार्गमा दृढ सङ्कल्पित भएको पाइन्छ ।
अकबरको दरवारमा भएका नवरत्नहरूमा रहीम पनि एक जना थिए । मानवतावादी विचारधाराका स्वतन्त्र चिन्तक कवि रहीमले मानिसको सङ्कीर्ण सोचाइलाई निर्मूल पार्ने उद्देश्यले आफूलाई समर्पित गरेको पाइन्छ ।
“दुनियाँ कैसी बावरी रे पत्थर पूजन जाय
घरकी चक्की कोइ न पूजे जिसका पिसा खाय ।”
“जे गरिब पर हित करे, ते रहीम बड़ लोग
कहाँ सुदामा बापड़ो, कृष्ण मिताइ जोग ।”

मुक्तिप्रसाद उपाध्याय (सिलगढी)
धनी-गरिब, जात-पात, धर्म, भाषा आदिका आधारमा होइन तर मानिसले मानिससित मानिसकै आचरण गर्नुपर्छ भन्ने भावना रहीमका रचनामा पाइन्छ । सोहीअनुरूप कवीर लगायत जोसमनी परम्पराका कविहरूले पनि मानवहित र आध्यात्मिक चिन्तन भएका रचनाहरू नै अघि सारेको पाइन्छ । जोसमनी परम्पराबाट एउटा उदाहरण –
कोहि पैरे झलमल मोती कोहि त रुद्रके दाना जी ।
कोहि पैरे साल दोसल्ला कोहि त नाङ्गै फिराना जी ।।
कोहि पावै मुष्टी चाना कोहि त लकडिके दाना जी ।
कोहि पावै मेवामिष्टाङ्ग कोहि त भोकै फिर्ना जी ।।
भनिन्छ, महापुरुषहरूको जन्म हुँदैन आविर्भाव हुन्छ । यही ध्रुवसत्य हो, गीतावाणी हो तर पनि प्रकृतिको नियमानुसार पितृप्रसादस्वरूप कुनै मातृका काखमा विभूतिहरू जन्मिन आउँछन् । भानुभक्त आचार्यको जन्म त्यस समयको अनिवार्यता थियो । भौगोलिक र राजनीतिक एकीकरण सँगसँगै त्यति बेला भावनात्मक एकीकरणको पनि आवश्यकता थियो । सहज, सरल, साधारण जनताका भाषामा लेखिएको भानुको रामायणले सो काम गऱ्यो । युद्ध र हिंसाले ग्रस्त पारेको त्यति बेलाको समाजलाई भानुभक्त आचार्यले अध्यात्मवादको पाठ सिकाएर प्रेम, भ्रातृत्व र शान्तिमा बाँच्ने आह्वान आफ्ना रचनाहरूमा गरेको पाइन्छ ।
रवीन्द्रनाथ ठाकुरजस्ता प्रतिभाशाली व्यक्तित्वको जन्म पनि त्यस बेलाको परिस्थितिको अनिवार्यता थियो । अङ्ग्रेज साम्राज्यवादको शोषित पराधीन भारत रूढि-बूढी कुसंस्कार, अन्धविश्वास, अशिक्षा र कुशिक्षामा अलमलिएको थियो । सबैतिरबाट शोषित, लाञ्चित र उपेक्षित जनता जनार्दनलाई प्रेम, शान्ति, भ्रातृत्व र अध्यात्मवादको पाठ सिकाएर अन्तरात्माबाट बलियो बनाउनु थियो । स्वाधीनता र आत्मगौरवको पाठ सिकाएर पुरानो जर्जर समाजको सङ्कीर्ण पर्खाल भत्काएर नवजागरणको उज्यालो प्रकाश छर्नु थियो । भारतवर्षमा भइरहेको अङ्ग्रेजको कालो शासनको चरम स्थितिमा सन् १८६१ को ७ मइका दिन कोलकाताको जोडासाँकोको ठाकुरबाडीमा देवेन्द्रनाथ ठाकुर र सारदादेवीको पुत्रका रूपमा उनको जन्म भयो । प्रकृतिको नजिक बसेर आफ्नै स्वाध्ययनबाट पाएको ज्ञान, एउटा सम्पन्न सुसंस्कृत परिवारबाट पाएको संस्कार, मातापिताबाट पाएको आध्यात्मिक दृष्टिकोण, उपनिषद्को ज्ञान, गायत्री अध्ययन, वैष्णवी कविहरूको अध्ययन, ब्रह्ममुहूर्तको चिन्तन, सूर्यदर्शन साथै समय-समयको भ्रमण आदि उनका प्रेरणाका मूल स्रोत बन्न पुगे । यसरी उनी आध्यात्मिक दृष्टिकोण र जीवनदर्शनको गहनतातिर ढल्किँदै अखण्ड मानवताका साधक बन्न पुगे । मानिसलाई उनले देश, काल, जाति, धर्म र वर्णको सङ्कीर्ण विचारले होइन मानिसलाई उनले मुक्त स्वरूपमा परम मानवका रूपमा हेर्थे । संसारलाई उनले प्रेम र शान्तिको पवित्र स्थानका रूपमा हेर्न चाहन्थे । रवीन्द्रनाथ ठाकुरका कृतिहरू फराकिलो युगभित्र बाँचेका छन् अनि उनी युगस्रष्टा बन्न पुगेका छन् ।
मान्छे भएर मान्छेसितै मिलेर बाँच्नुपर्छ, मानवकै सेवा गर्नुपर्छ । अन्यथा रसातलमा जाकिनुपर्ने स्थिति हुन्छ भनी रवीन्द्रनाथ यसो भन्छन् —
धूलि शय्या छाडि उठो उठो सबे
मानवेर साथे जोग दिते हबे
जदि नापारो चेयो देखो तबे
ओइ आछे रसातल भाइ
आगे चलो आगे चलो भाइ ।
अनुवाद –
मृत्तिकास्वरूप ओछ्यान छोडेर उठ उठ सबै
मानिससित मिसिनु छ
सक्दैनौ भने चियाएर हेर
छँदै छ त्यो रसातल हे भाइ
अघि बढ अघि बढ भाइ ।
मानवता र भ्रातृत्वप्रेमको पवित्रताद्वारा नै मानव मन जित्न सकिन्छ । रवीन्द्रनाथले सोचेजस्तो नहुँदा बेला-बेला उनको चित्त अधीर बन्छ अनि हृदयको आश्रय खोज्दै भगवान्का शरणमा गएर प्रेम र शान्तिका लागि अघि बढ्ने प्रेरणा र साहस यसरी बटुल्न चाहन्छन् –
एखनो आँधार रोएछे हे नाथ
ए प्राण दीन मलिन चित अधीर, सब शून्यमय
चारिदिके चाहि, पथ नाहि नाहि
शान्ति कोथा, कोथा आलय ?
कोथा तापहारी पिपासार बारि
हृदएर चिर आश्रय ।
अनुवाद –
अहिले पनि अँध्यारै छ हे नाथ
यो हृदय दीन मलिन चित्त अधीर, सबै शून्यमय
चारैतिर हेर्छु, बाटो छैन कतै
खै शान्ति, खै आलय
कहाँ छ पीडानाशक तृष्णाको कलश
हृदयको चिर आश्रय ।
ज्ञान र सभ्यताको पहिलो किरणले सिञ्चित भएको आफ्नो जन्मभूमि भारतवर्षलाई रवीन्द्रनाथले अति मायाँ गर्थे । विदेशी आक्रमण र कुशासनले विथोलेर यस देशको प्रेम र मानवताको शान्तिमय वातावरण प्रदूषित भएको देख्दा उनको कवि हृदय छिया-छिया हुन्थ्यो । साधारण गरिब मानिस शोषित, लाञ्चित र प्राप्य अधिकारबाट वञ्चित भएको देख्दा उनको कलमले यसरी प्रतिवाद गरेको पाइन्छ –
हे मोर दुर्भागा देश, जादेर कोरेछो अपमान
अपमाने होते हबे, ताहादेर सबार समान
जादेर तुमि नीचे फेलो, से तुमारे टानिछे जे नीचे
पश्चाते राखेछो जारे, से तुमारे टेनेछे पश्चाते
मानुषेर अधिकारे वञ्चित कोरेछो जारे
सम्मुखे दाडाए राखे, तबु कोले दाउ नेई स्थान
ताहादेर कोरेछो अपमान,
अपमाने होते हबे ताहादेर सबार समान ।
अनुवाद – हे अभागी देश, जसलाई गऱ्यौ अपमान
अपमानमा हुनुपर्छ, उनीहरू सबैको समान
जसलाई तिमी तल झार्छौ, उसैले तिमीलाई पनि त तल तानिरहेको हुन्छ
पछाडि राखेका छौ जसलाई, उसले तिमीलाई पनि पछाडि तानिरहेको हुन्छ
मानिसको अधिकारबाट जसलाई वञ्चित गऱ्यौ
अघि उभ्याएर राख्यौ तर काखमा ठाउँ दिएनौ
उनीहरूलाई गऱ्यौ अपमान
अपमानमा हुनुपर्छ, उनीहरू सबैको समान ।
भगवान्को वरदान लिएर आएका महान् प्रतिभाहरू सबै कालमा महान् नै रहेका देखिन्छन् । उनीहरू पृथिवीमा अवतरित हुने समय अलग-अलग, शरीर अलग-अलग अनि भाषा अलग-अलग रहे तापनि उनीहरूको भावना, चिन्तन, प्रेम आदि एउटै रहेको पाइन्छ किनभने ती सबै महान् प्रतिभाहरूको आत्मा परम पिता परब्रह्मकै अंशका रूपमा यस धरामा आएका हुन्छन् । मानव सेवा नै ईश्वरप्राप्ति हो । मानिसहरूलाई उसको दुःख र पीरमा सुमसुम्याएर सुख प्रदान गर्न सके स्वतः नै ईश्वर खुसी हुन्छन् । ईश्वर परिश्रम गरेर खटी खाने गरिब र निःसहायहरूको साथ रहेका हुन्छन् । यस्तै भावना र चिन्तन रवीन्द्रनाथ ठाकुरका यी पङ्क्तिहरूमा पाउँछौँ –
देवता नाई घरे, तिनी गेछे जेथाए
माटि भेङ्गे कोरेछे चाषा चाष
पाथर भेङ्गे काट्छे सेथाए पथ
खाटछे बारोमास ।
अनुवाद –
भगवान् कोठामा छैनन्, उनी बाहिर गएका छन्
जमिन जोतेर गर्छन् खेतीपाती
ढुङ्गा फोरेर त्यहाँ बाटो बनाउँछन्
बाह्रै महिना खटी रहन्छन् ।
सोहीअनुरूप नेपाली साहित्यका महान् विभूति महाकवि लक्ष्मीप्रसाद देवकोटाको रचनाले पनि त्यस्तै नै भावना र चिन्तन अघि सारेको पाइन्छ –
चुम्दछ ईश्वर काम सुनौला गरिरहेका हात
छुन्छ तिलस्मी करले उसले सेवकहरूको माथ
सडक किनारा गाउँछ ईश्वर चराहरूको तानामा
बोल्दछ ईश्वर मानिसहरूको पीडा, दुःखको गानामा ।
अब हाम्रा अर्का प्रतिभा अगमसिंह गिरीका काव्यकृतिबाट केही पङ्क्ति हेरौँ –
स्यार नपाई कुसुम कुनामा
ढकमक्क नफुली धुजा बन्दछ
ती छरिएका फूल टिपेर
कसले पो भन पूजा गर्दछ
– – – – – – – – –
मनुजकै हो रक्त टुक्रा
घीन गर्छ मनुज त्यो
खोज्छ भगवान् साथ छोडी
भूमितल यो मनुजको ।
असमीया भाषाका कवि चन्द्रकुमार अग्रवालाले पनि आफ्नो कविता बीन बरागी मा मानवताको स्वर यसरी गुञ्जायमान पारेको पाइन्छ –
मानुहर तेज खुहि खुहि खाय
मानुह राक्खखे सोवाँ
सोका सोका माते बिन्धे प्राणलैके
नुबुजे आनर हिया
धर्मर नामत अधर्मर बेहा
देखिले बिराग हय
धनर लोभत् पाप खत्र पाती
कपटि गुरुर जय ।
अनुवाद – मानिसको रगत खान्छ चुसी चुसी
मानिस राक्षसले हेर
तीखा तीखा बोलीले मुटुनै घोच्दछ
बुझ्दैनन् अर्काको मर्म
धर्मको नाममा अधर्मको व्यापार
देख्दै वैराग लाग्दो
धनको लोभमा पाप उत्सव गरी
कपटी गुरुको जय ।
रवीन्द्रनाथ ठाकुरको विचारमा कुनै पनि मानिसले देश, धर्म र जातिगत विशिष्टता त्याग्नु पर्दैन । सबैले सबै कुरालाई लिएर, ग्रहण गरेर, अरूको भावनालाई सम्मान गरेर, बुझेर अप्ठ्यारा स्थितिहरूलाई पन्साउँदै मानिस विश्व भ्रातृत्वको दिशामा अघि बढ़्न सक्नु नै पृथिवीमा शान्ति र प्रेमको राज्य स्थापित हुनु हो भन्ने कवि गुरुको एउटै मात्र सपना रहेको पाइन्छ । अनि उनको त्यो सपना पूरा होस् भनी उनले आफ्ना कवितामार्फत ईश्वरलाई प्रार्थना गरे । उनले मानवसित मानवको चिनारी गराउने प्रयास गरे । मानिस विच्छिन्न एकाइ होइन, सबैसितको आपसी समन्वयले मात्रै मानिस परिपूर्ण र महिमान्वित बन्छ ।
ब्रह्मा र सरस्वतीका वरद पुत्र अदम्य प्रतिभाका धनी रवीन्द्रनाथ ठाकुर मूलतः कवि भए तापनि उनी सफल नाटककार, कथाकार, गीतकार, सङ्गीतकार, उपन्यासकार, निबन्धकार अनि चित्रकार पनि थिए । भारतका यी सपुत ऋषितुल्य व्यक्तित्व भएका प्रतिभा रवीन्द्रनाथ ठाकुरबारे उनको भावना, विचार, कवित्व आदिबारे चर्चा गर्नुभनेको अति नै महासामुद्रिक कार्य हो । उनको मानवतावादी चिन्तनको अन्तरिक्षबाट एउटा सानो फिलिङ्गो मात्रै राख्ने यो एउटा सूक्ष्मातिसूक्ष्म जमर्को हो ।
अस्तु ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


र यो पनि पढ्नुहोस्...

मानवतावादी चिन्तन र रवीन्द्रनाथ : सूक्ष्म अवलोकन
