एनआरएन अभियानलाई विश्वव्यापी रूपमा संस्थागत शक्तिमा रूपान्तरण गर्ने मुद्दाले यसपटक वैधानिकता पायो । पूर्व अध्यक्ष शेष घलेको बिजन २०२० को रणनीतिक अवधारणामा टेक्दै २०१९-२१ कै कार्यकालबाट रूपान्तरणको बहसले भुईँ तहसम्म प्रवेश पाएको हो । विगत दुई वर्षदेखि अत्यधिक बैठक र सभाहरूमा बहालवाला अध्यक्षको नेतृत्वमा एनआरएनएभित्र विगतमा भएका सम्पूर्ण कमजोरीहरू सार्वजनिक रूपमा स्विकार्दै त्यसमाथि प्रतिक्रिया मागेका थिए । आफ्ना र अग्रजहरूको नेतृत्वमा भए गरेका अवैधानिक गतिविधिहरूको खुलेर सार्वजनिक मञ्चबाट प्रतिक्रिया दिँदै रूपान्तरणको औचित्य पुष्टि गर्ने प्रयत्न नै कुमारजीको कार्यकालको नयाँ सकारात्मक आयाम हो । एनआरएनएभित्र भएका बहसहरूको क्रिम निकाल्ने क्रममा यो कार्यसमिति कोरोना कहरको महासङ्कट झेल्दै एक कदम अगाडि पुगेको छ । जुन समयावधिको हिसाबले सङ्घका रणनीतिलाई दिशाबोध गर्दा सैद्धान्तिक सुन्दरताको भविष्यलाई ढिलै भए पनि दिशानिर्देश गरेको छ । यसरी हेर्दा बहालवाला १९१९ -२१ को कार्यकाललाई अत्यन्त आशावादी मान्नुपर्छ ।

डिल्ली अम्माई

तर हरेक कुरा सिद्धान्तको लेपनले मात्र व्यावहारिक गतिशीलतामा इन्धनको काम गर्दैन । त्यसका लागि नेतृत्वको इच्छा शक्ति, इमानदारी, समुदायको हितलाई केन्द्रमा राख्ने दूरदृष्टि र संस्थागत पद्धतिको पालना आदि पर्दछन् । यी सबै कुराहरूलाई लिएर बहसहरू नभएका पनि होइनन् । सङ्घको प्रतिबद्धतप्रति केन्द्रीय टिमको इन्ट्रेस्ट बाझियो भने त्यसले अभियानमा तय गरिएको गन्तव्यलाई समात्न सक्दैन ।

सङ्घको इमानदारीमा कतै कतै व्यक्तिगत फाइदा, लाभहानि वा निर्वाचनका अङ्क गणितले प्रभाव पार्दै आएको सत्यलाई सबैले स्विकारेका छन् । त्यसलाई स्वयं केन्द्रीय अध्यक्षले समेत स्विकारिसकेको कुरा डायस्पोराका सबै नेपालीहरूलाई अवगत नै छ ।

अहिलेको कार्यकालमा पनि केन्द्रले तय गरेको रूपान्तरित एनआरएनएको लक्ष र आर्थिक अनुशासनका केही मुद्दाहरूमा केही आरोपहरू लागेका छन् । त्यसबारे अध्यक्षले समेत मुख खोल्नुपर्ने प्रतिक्रिया पनि भारी मात्रामा प्रवासी नेपालीहरूले उठाए । उदाहरणका लागि एनआरएनएमाथि लागेको आइएलओ भ्रष्टाचार काण्डमा अध्यक्षको खासै प्रतिक्रिया आएन भनिएको छ । एक खालले एनआरएनए केन्द्रको निर्देशनमा बनाएको छानबिन समितिको रिपोर्ट अनौपचारिक रूपमा सार्वजनिक भइसक्दा पनि केन्द्रीय अध्यक्षको प्रतिक्रियाको सर्वसाधारणले अपेक्षा गर्नु अस्वाभाविक थिएन ।

अहिलेसम्म सङ्घभित्रका गलत प्रवृत्तिप्रति निर्मम बनेर प्रतिक्रिया दिने र संस्थागत रूपान्तरणलाई तलसम्म लैजान हिम्मत राख्ने हैसियत बनाएका अध्यक्ष कुमार पन्तबाट अन्तिमसम्म पनि उनको कार्यकालमा भए गरेका कतिपय कमीकमजोरी र आर्थिक अपारदर्शिताका बारेमा प्रतिक्रिया नआउनु दुःखद मान्नुपर्छ । राष्ट्रिय परिषद्‌को चुनाबी प्रक्रियामा धाँधली भएका प्रमाणसहित केही देशका केही उजुरीहरू छन् । त्यसमा केन्द्रलाई र विशेष गरी अध्यक्षलाई थाह छैन भनेर सर्वसाधारणले पत्याउँदैन । अहिले केन्द्रमा उमेदवारी समेत दिएका एक केन्द्रीय पदाधिकारीको प्रतिक्रियामा ‘कुमारजी सबै बेथितिमा निर्मम बन्नुहुन्छ’ भन्दै केन्द्रमा प्रस्तावको रूपमा ल्याइएका हरेक प्रश्नको उचित समयमा क्रियात्मक उत्तर आउनेमा शङ्का नगर्न अनुरोध गरेका छन् ।

‘नीतिनिर्माण र अनुशासनको तहमा धेरै कामहरू भएका छन् तर पनि कुमारजी विभिन्न चरणमा फरक-फरक इन्ट्रेस्टका एनआरएन सहकर्मीहरूबाटै घेरामा पर्नुभएको छ । त्यस्ता घेराहरू पटक-पटक तोड्नुभएको पनि छ । दबाबका बिच मध्य पूर्वमा आर्थिक अपारदर्शिताको आवाज सुनेर छानबिन आयोग बन्यो । माल्टाको कारवाहीबारे सबैलाई थाहा नै छ । अनुशासन,पारदर्शिता लगायत कतिपय एक्सनहरूमा उहाँले धेरै घेरा तोड्नुपरेको कुरा कसैबाट लुकेको छैन । त्यस्तै अन्य अनुगमको कुरामा होस्, अनुशासन पालनाको कुरा होस् वा आर्थिक अपारदर्शिताको कुरा होस् अध्यक्षले एक्सन लिनुभएको छ । कति बाहिर आए कति साङ्गठनिक अनुशासनको दायराभित्र रही भित्री रूपमा आत्मालोचना गराएर सल्टाइए । उहाँको लडाइँ भोग्ने र देख्नेलाई मात्र थाह छ ।’ एक केन्द्रीय सदस्यले अडियो प्रतिक्रिया दिएका थिए ।

केही प्रतिक्रियाहरूलाई हेरेर, खराब नियतहरूलाई देखाएर संस्थाको समग्र नेतृत्व र इतिहासको अपमान गर्नु न्यायसङ्गत हुँदैन । एउटा नेतृत्व त्यो पनि नियति र बदनियतहरूको चट्टानमुनि दबिएर महामारीको बन्द क्याम्पभित्र धेरै कार्यहरू भएका छन् । तसर्थ पङ्क्तिकारले बेथितिका बारेमा निर्मम बन्ने बहानामा संस्थाको मृत्युको कामना कदापि गर्न सक्दैन ।

आफ्ना एजेन्डाहरूको सुनिश्चितता र संस्था हाँक्ने नेतृत्वकुशलता परीक्षणका लागि उनले आगामी दिनमा कस्तो निर्णय लेलान् त्यो त भविष्यको गर्भमा छ तर उनको कार्यकाल एक शून्यबाट सुरु भएर रूपान्तरणका एजेन्डामा व्यापक बहस चलाएर सकिँदै छ । उनको पहिलो कार्यकाल सकिँदै छ र दोस्रो कार्यकालमा उनी उठ्ने नउठ्ने केही कुरा बाहिर आएको छैन । अहिलेको कोरोनाकालको विषम परिस्थितिमा अध्यक्षले जे जति र जसरी काम गरेर देखाउने गरे त्यसलाई असक्षम भनेर आरोप लागाउनु अन्याय नै हुन्छ ।

ढोकाभित्र थुनिएर रहेको एनआरएन लगायत संसारलाई एनआरएनए छ भनेर सन्देश मात्रै दिएको छैन । महामारीमा नेपालीलाई सघाएको पनि छ, लाप्राक बस्ती समुदायलाई हस्तान्तरण गरिसकेको छ र आफ्ना संस्थागत गतिविधि चलायमान गराएको पनि छ । यो अध्यक्षको नेतृत्व क्षमताको एक प्रमाण मात्र हैन, संस्थाको बेथितिबिरुद्ध रूपान्तरणको सशक्त आवाज पनि हो ।

जे जति कुराहरू भए ती सकारात्मकउन्मुख हुँदाहुँदै पनि प्रयाप्त नभएको कुरा निर्वाचनसम्मका गतिविधिहरूलाई आकलन गर्दा देखिन्छ ।

एनआरएनए मिडियामा सहकार्य गर्दाको अनुभव :

यसपटक पङ्क्तिकारलाई आइसिसी मिडिया समितिमा राखियो । आवश्यक बेलामा अध्यक्ष लगायतले सल्लाह पनि लिए । पङ्क्तिकारलाई थाह छैन मलाई अध्यक्ष स्वयंले प्रस्ताव गरेका हुन् कि अरू कसैले प्रस्ताव गरेका हुन्? टाक्स फोर्सको विनियममा टेकेर मैले सिङ्गो केन्द्रीय समितिको अभियानमा प्रतिक्रियात्मक सुझाव दिएको पनि हुँ । संस्थागत परिवर्तनको पक्षमा कुमारजीको मुख र कर्मसँगै मेरो कलम पनि निकै चल्यो । मैले उहाँको एजेन्डामा सघाएँ कि सघाइन त्यो त कुमारजीहरूले मूल्याङ्कन गर्ने कुरा हो तर मैले एउटा कुरा भन्नैपर्ने हुन्छ कि धेरै पदाधिकारीहरूले मिडिया समितिमा भएका सबै पत्रकारहरूलाई गुलामझैँ सोच्दा रहेछन्; आफ्ना विज्ञापनहरूमा खुबै दलाउने । उनीहरूका गलत अभ्यासबारे लेख्यो कि सुट गरिहाल्ने, राम्रा सुझाउ दियो भने सह्य नहुने । मैले यो आफैँले भोगेँ ।

दुई वर्षमा एकपटक आफ्ना प्रस्ताव लगेर बैठक राख्ने काम मिडिया समितिले सोच्दा पनि सोचेन । महासचिवले मिडिया समितिलाई आफ्नो सौतेलो बन्धु जत्तिको महत्त्व पनि दिएनन् । नत्र महासचिवको अधीनस्थ र प्रवक्ताको नेतृत्वमा वैधानिक हैसियत पाएको यो टाक्स फोर्स किन चलायमान हुन सकेन ? गत जेष्ठपछि अध्यक्षको निर्देशन हुँदा पनि मिडिया समितिको बैठक नबसी कार्यकाल सकिँदै छ । यो भन्नुपर्दा पङ्क्तिकारलाई लाज लागेर आउँछ तर सत्य कुरा यही हो ।

केही व्यावसायिक इन्ट्रेस्ट भएका मित्रहरू छन् यो संस्थामा । यिनीहरूको बृहत्तर सञ्जाल छ विश्वभर । खासमा उनीहरूकै परोक्ष नियन्त्रण छ एनआरएनएभित्र । यो सञ्जालमा राम्रा मान्छे अल्पमतमा छन् । ती राम्रा मान्छे जहिले पनि पारदर्शिताको सवालमा इमान्दार बन्नुपर्ने, संस्थागत अनुशासनको पालना हुनुपर्ने, आइएलओ लगायतका छानबिन प्रतिवेदनहरू बेलैमा सार्वजनिक गर्नुपर्ने, संस्थाको अपारदर्शी चलखेल बेलैमा बन्द गर्नुपर्ने पक्षमा थिए र छन् । सदैव यो अभियानमा संस्थागत रूपान्तरणको अभियानमा होमिनुपर्ने पक्षमा थिए र छन् तर व्यापारी एनआरएनहरूको अघोसित सञ्जालबाट यो संस्था मुक्त हुन सकिरहेको छैन ।

निजी स्वार्थवेष्ठित व्यापारिक चक्रव्यूहबाट उम्कनका लागि नेतृत्वको हिम्मत र कला चाहिन्छ । त्यो हिम्मत कुमारजीमा होला नहोला ठोकुवा गर्न अलिक असजिलो नै छ । कारण के हो भने उहाँको कार्यकाल पूर्णता महामारीको कारण बन्द कोठाभित्र सीमित हुन पुग्यो । त्यो दैविक कारणको जिम्मेवारी बोकाउनु व्यक्ति वा नेतृत्व विशेषलाई बोकाउनु न्यायिक हुँदैन । यति मात्र भन्न सकिन्छ कि पछिसम्मको उहाँका कदमहरूको सिंहावलोकनले नै त्यसको निर्क्योल गर्ला ।

यो अभियानभित्रै पसेर यो संस्थाको रूपान्तरित भविष्यको कामना गरे पनि तुरुन्तै त्यो सम्भावना भने देखिन्न । त्यहाँ खुफिया दाउपेच तीव्र होउन्जेल, एलिट व्यापारीहरूको व्यक्तिगत स्वार्थ र मजदुरबिचको सामाजिक स्वार्थको टकराव रहुन्जेल संस्था स्वतन्त्र रहन्न । हरेक प्रकारका घेराबन्दी र दाउपेचले संस्थाको भविष्यलाई थिलोथिलो बनाएको छ ।

महाधिवेशन प्रतिनिधि चयन र सकुनी दाउपेच :

बेल्जियमलाई नै हेरौँ । संसारका प्रतिनिधि चयनको तिकडमका लागि एक ज्वलन्त प्रतिनिधि उदाहरण बनेको छ यहाँको पूर्व राष्ट्रिय समन्वय परिषद् । यहाँ पङ्क्तिकारलाई पनि एनआरएनए केन्द्रीय प्रतिनिधिका रूपमा फर्म भर्न अनुरोध गरियो । मेरो कदाचित् चाहना भएर हैन तर केन्द्रीय अध्यक्षले समेत ‘तपाईँले बेल्जियमबाट प्रतिनिधि फर्म भर्नुस् । तपाईँ आइसिसी मिडियाको मान्छे र पुरानो एनआरएन हो’ भन्नुभएको थियो ।

जताततै जालीहरूको चलखेल देखियो । यी कथित अभियन्ताहरूले अनेक तिकडम गर्न सिकेका छन् । केन्द्रका मान्छे आफूअनुकूल प्रतिनिधि चयन गर्न आफैँ राष्ट्रिय समन्वय परिषद्‌मा चुनावआयुक्त बन्दछन्, चुनावमा बाक्सा फाल्न लगाउँछन्, छानबिन समिति बनाउँछन्, रिपोर्ट आउँदैन र चुनावमा जितेकालाई हराइन्छ भने हारेकालाई जिताइन्छ । यो खेल खेल्न पनि तलकालाई नेतृत्वका मालिकहरूले सिकाएका हुन् । यी पनि माथि हुने मालिकका असल कारिन्दा नै हुन् । यिनको हैसियत दलालको भन्दा कुनै तहमा पनि बढी छैन । माथिको आशीर्वाद भएन भने चुनाव हार्छन् । त्यसैले मालिकको सेवा गर्ने असल नोकरहरू त्यहाँ एक स्वाभिमानी पत्रकार पर्ने कुरै भएन । पङ्क्तिकार प्रतिनिधिमा फालियो, लेखनमा एक नियतको पर्दाफास भयो ।

‘यदि उनीहरूले हटाए भने भन्नुहोला डिल्लीजी !’ कुमारजीले भेटमा भनेका थिए तर म अरूको भऱ्याङ बन्न अझै पनि चाहेको छैन । हामीजस्ता आम मान्छे जुन दिन यो संस्था खोजेर यसको प्रतिनिधि बन्दा गौरवको अनुभूति हुनेछ त्यो दिन मलाई यो संस्थाको प्रतिनिधि बन्न कसैले रोक्ने छैन । अहिले पनि चुनावमा विगतको किनबेच दोहरिने सम्भावना बढेकाले प्रतिनिधि नबनाएकै उत्तम लाग्यो ।

अझै यो संस्था दलाल, मानव तस्कर र अँध्यारा युगका आततायीहरूको चङ्गुलबाट मुक्त भैसकेको छैन । त्यस्ता गिरोहहरू अहिले पनि केन्द्र वरपरको व्यापारी एलिट ग्रुपको दलालीमा आफ्नो झुन्ड बनाएर लागेका छन् । यिनीहरूको झुन्डले यो समाजका लागि प्रोपागान्डा बढी र काम आफ्नो व्यावसायिक स्वार्थमा गर्ने गरेको छ । यी मान्छेहरू सबै फरक-फरक लेबलका झुन्डमा छन् । त्यसैले यो वा त्यो भनेर मलाई कसैको साखिल्लो बन्नु पनि छैन ।

दलाल र दास चरित्रका मान्छेहरू आलोचनात्मक चेतसहितको सुझाव वा प्रतिक्रियाबाट तर्सिन्छन् । झन् एनआरएनएका कथित अभियन्ता बनेर प्रोपागान्डा चलाउनेहरू स्वाभिमानी पत्रकारहरूसँग बढी नै तर्सिन्छन् । उनीहरूले सदैव फेवर खोज्छन् र उनको गुलामी गर्नेबाहेक अरूलाई नजिकमा पर्न दिँदैनन् तर मेरो विचारमा संस्थागत हितका लागि त्यो राम्रो प्रवृत्ति हैन र स्वयं उनीहरूका लागि पनि त्यो चरित्र आत्मघाती हो ।

तर यो विषयमा कुमारजी अपवाद हुन् । उनले मलाई कहिल्यै आलोचना नगर्नुस् भनेनन्, अभियानका सकारात्मक कार्यहरूका बारेमा पनि लेख्नुस् सम्म भने । मेरो वा नेतृत्वको भक्ति गान लेख्नुस् भनेको सुन्नु परेन । त्यसैले अध्यक्षको प्रयास र अभ्यासबारे मेरो भिन्न प्रतिक्रिया छैन ।

मिडिया समितिमा कसरी पुगियो ? :

केन्द्रीय अध्यक्ष लगायत नेतृत्वमा भएका केही अग्रजहरूद्वारा ‘आलोचना गर्न नडराउने पत्रकार चाहियो तपाईं आउनुस्’ भनेर समितिमा ल्याइयो । अन्ताराष्ट्रिय मिडियामा रही आलोचनात्मक सुझाव दिने काम पनि गरियो । यसपटक मात्र एनआरएनएका बारेमा धेरै लेखियो ।

यो हैन कि कुमारजीको टिमले रूपान्तरण अभियानको तरङ्गसँग नजोडेको भए बसिरहन्थेँ । सायद म अभियानमा आउँदिन थिएँ अथवा आए पनि अभियानबाट निस्किसकेको हुन्थेँ । जुन स्थानमा मानिसको स्वाभिमानलाई वस्तुलाई झैँ मूल्य तोकेर खरिद बिक्री गरिन्छ, त्यो स्वाभिमानलाई बली दिने कसाईघरमा म कदापि जान्नँ ।’ पहिला पनि मैले साथीहरूलाई केन्द्रीय प्रतिनिधि बन्न अस्वीकार गरेको थिएँ । त्यसैले म कसैको स्वाभिमानको बली दिइने स्थानमा जाँदिनँ । त्यसैकारण अहिलेसम्म म केन्द्रमा प्रतिनिधि बनेर गएको छैन । २००६ मा मित्र युवराज गुरुङले मलाई समितिमा प्रस्ताव गर्दा पनि म आफ्नै विश्लेषणका कारण त्यो व्यापारिक सञ्जालमा गइनँ ।

यसपटक मिडिया समितिमा जानुको कारण एक साथीहरूको आग्रह हो भने अर्को पत्रकारको फ्लेबर आउने भएर पनि हो । अझै केही साथीहरूले तपाईँ एनआरएन मिडिया समितिमा नजानुपर्ने, एनआरएन अभियानमा नजोडिनुपर्ने पनि भन्दै छन् । अझै पनि त्यहाँ गएर गल्ती भयो भन्ने लागेको छैन । कमसे कम अनुभव त भयो ।

कुनै पद पाए भुईँको टिप्नसमेत पछि नपरेका धेरै उदाहरण त्यहाँबाट धेरै थाह भयो । भित्रीबाहिरी रणनीति र कनेक्सन साथै भित्रीबाहिरी चेहरा र कर्तुत सबै बुझियो । बेल्जियम लगायत युरोपमा कथित पवित्र र इमानदार क्रान्तिकारी मित्रहरूले समेत भोट हाल्दा पद र पैसाको सर्त राखेर भोट हालेका छन् । आफ्नो ग्रुपमा यति मत छन् भनेर उमेदवारसँग पैसा लिएका छन् । उठेको पद पैसामा बिक्री गरेका छन् । केन्द्रको एउटा पद १७ देखि ४० लाखसम्ममा बिक्री भएको छ । साथीहरूले दाममा स्वाभिमान बेचेका छन् । जसबारे अध्यक्ष पन्तले समेत सार्वजनिक मञ्चबाट भनिसकेका छन् ।

निष्कर्षमा भन्नुपर्दा समेत मेरो राय सदैव एजेन्डाप्रधान नै हुनेछ । नेतृत्वमा कुलजी, बद्रीजी वा कुमारजी नै दोहोरिएर आए पनि एजेन्डा र अभ्यास हेरेर समर्थन, सहयोग वा विरोध हुनेछ । व्यक्तिप्रति पूर्वाग्रही हुने प्रवृत्तिले संस्था वा अभियानलाई नोक्सान पुर्‍याउँछ ।

कुमारजीलाई फोन गरेर सोध्न सक्नुहुन्छ, एकपटक मैले उहाँले ल्याएका रूपान्तरणका एजेन्डाबारे छलफल गर्दा ‘तपाईँ सफल हुनुभयो’ भनेर भनेको थिएँ । अझै भन्दै छु- ‘रूपान्तरणको एजेन्डागत प्रवेशलाई हेर्दा उनको कार्यकाल आंशिक सफल भइसकेजस्तो लाग्छ ।’ केही आस्थाकर्मीहरूले अनुहार र आस्थाको रङ्ग हेरेर समर्थन र विरोध गर्ने स्वभाव देखाउँदै छन् । त्यसबारे मेरो भन्नु केही छैन । विशेषतः यो कार्यकाललाई मात्र हेर्दा कसैले पनि अध्यक्षको आसुरीकरण वा दैवीकरण गर्न जरुरी छैन किनभने कुमारजीको कार्यकालमा ल्याइएको रूपान्तरणका मूलभूत मुद्दाभित्र शेष घलेको कार्यकालमा ल्याइएको संस्थागत सुधारको योजनासमेत छिरेको छ । त्यसले रूपान्तरणको स्वामित्वलाई एक दूरीसम्म तन्काइदिएको मेरो विश्लेषण हो ।

एउटा कुरो के ठोकेर भन्न सकिन्छ भने अब चाहेर पनि कसैले रूपान्तरणको एजेन्डाबाट पछाडि फर्कने आँट गर्न सक्दैन । यो कुमार पन्तको कार्यकालको महत्त्वपूर्ण सम्पत्ति हो । पूर्व अध्यक्ष शेष घलेको ‘भिजन २०२० एन्ड बियोन्ड’को सुधार एजेन्डामा टेकेर अहिलेको भिन्न रणनीति बनेको हो । ‘भिजन २०२०’ एजेन्डा केवल संरचनाप्रधान थियो भने अहिलेको एजेन्डा समग्र सङ्गठनात्मक गतिको रूपान्तरणमा आधारित छ । नेतृत्वमा रहेकाहरू निरन्तर यही अभियानमा हिँड्ने यात्री भएकाले उहाँहरूका नियतले अभियानलाई ओझेलमा पार्दा आफ्नो करियर दाउमा राख्नुपर्ने हुन्छ ।

आगामी केन्द्रीय चुनावको तिकडमपूर्ण जोडघटाउले अभियानका सकारात्मक अभ्यासलाई अझै चुनौती दिने खतरा पैदा गरेको छ । यसबाट कुमारजीको नेतृत्व सतर्कतापूर्वक जोगिएला कि नितान्त व्यापारिक इन्ट्रेस्ट वालाहरूको नियतसँगै नालीमा मिसिएला निकट भविष्यमै देखिनेछ । आफ्ना व्यापारिक स्वार्थलाई डायस्पोराको नेपाली समुदायको स्वार्थले नेतृत्व नगरुन्जेल यो समाजममा पनि अन्तस्सङ्घर्ष चर्किरहनेछ । अन्तमा आशा गरौँ समुदायको निर्णायक आँटले सबै विगतका गल्तीहरूलाई निषेध गर्नेछ । अथवा यही संरचनाको रूपान्तरण अभियानको आधारमा टेकेर अर्को सार्थक विद्रोहले जन्म लिनेछ र अभियानको पुनर्गठन हुनेछ । अहिलेको ध्रुवीकरणले त्यतै सङ्केत गरेको छ । चेतना भया ।

(पङ्क्तिकार एनआरएनए अन्ताराष्ट्रिय मिडिया समितिका सदस्य हुन् ।)

– बेल्जियम