धेरै वर्ष भयो प्रवासमा तीज मनाएको । आमा, बाबा, जन्मघर र केटाकेटी बेला र ती बाल सखीहरूसँगका रमाइला पलहरू मनभरि लिएर प्रवासमा नै बनेका धेरै थरीका साथी-सङ्गीहरूसित रमाउने गरे पनि दर खाने दिन जब दिन ढल्दै जान्छ, आमाको सम्झनाले छाती भक्कानो नपरेको कुनै तीज छैन होला । प्रवासको तीज अति रमाइलो हुन्छ । शून्य मान्नु पर्ने पनि कतै केही छैन, मिठो खान राम्रो लगाउन र मन लागेको सबै थोक छ तर पनि किन किन मन भने माइतीमै रुमल्लिरहेको हुन्छ । पोहर साल मात्र कोरोनाको कहरले हामी सबैको खुशी छिनेकाले रित्तो अनुभव भए पनि बाँकी वर्षहरू नेपालका मेचीदेखि महाकालीसम्मका साथीहरूसँग ठाउँठाउँमा पटक पटक अझै घर-घरैजस्तो रमाउने त गरेकै छौँ । यही अनुभव सबै हामी प्रवासी नारीको यथार्थ समेटेर लेखिएको प्रवासमा चेली तीज गीतले मेरो मन असाद्धै छोयो र केही नलेखी बस्नै सकिनँ ।

शकुन्तला ज्ञवाली

गीतमा भनेझैँ हामी देशभरिका साथी, दिदी, बैनी र आफन्त बनेर रमाउँछौँ । अति सभ्य शब्दहरूले बनेको यो गीतमा पूर्वेली गीत, धराने गीत, मैथिली गीत, हेटौंडे गीत, काठमाडौँ वरपरका काँठे गीत, पोखराको पोखरेली गीत र पूरै पश्चिमको प्रतिनिधिस्वरुप बटौली गीतलाई सबै साथी वा समूहमा सै-साथीसित मर्काउँदै कम्मर नाच्यौँ बरिलै ! पक्कै हो हामी परदेशमा साथीसंगी भेट भयो कि कम्मर मर्काउँदै नाचेर खुशी मान्छौँ । यो गीतको बोलले बोलेका केही कुराले अझै मेरो मन छोयो । माइती घरको झझल्को बाबा दाजुको माया त छँदैछ, म पनि बिरानो ठाउँमा कसरी भित्री रूपमा खुशी हुन सक्छु र आमा तिमीबिना भन्ने भनाइ तर पनि आमाले आँशु ढिक्का झारेर नरुनू, परदेशमा हामी भावनाको नाताबाट दु:ख सुख बाँडेर मन मुटु जोडेर आफ्नु बनेका छौँ । बाबाआमाजस्तो अस्ताउँदो घाम र दिव्य धामको दर्शन पाउँछु कि पाउँदिन होला भन्ने चिन्ता र आफूलाई सुरक्षित राख्नु होला । हामी पनि बाँचे छिट्टै फर्कने छौँ । परदेशी चेलीहरू घर फर्किएर आमा र देश सिंगार्ने नै छौँ र अन्त्यमा प्रवासमा चेली साथीसँग रमाएकै छन् है भन्ने जस्ता भावना बोलेको यो गीतको शब्दहरू हरेक प्रवासी चेलीको मनका कुराजस्तो अनुभव मैले गरेकी छु । यस गीतको अर्को सबल पक्ष नेपालको छायांकन साथसाथै ती प्रवासका दिदीबैनी जो काम सकेर भ्याई नभ्याई गर्दै भवनाको नातामा दु:ख सुख बाँड्न कुनै पार्कमा होस् वा कसैको घर वा अपार्टमेन्टमै किन नहोस्, जम्मा भएर रमाउन चाहन्छन् । यसरी रमाउँदै वाशिंगटन महानगर क्षेत्रमा गरिएको छायांकनमा गरेको रमाइला पलहरु जस्ताको तस्तै रहेको दृश्यले पनि प्रवासी चेलीले अझै यथार्थता बोलेकोजस्तो अनुभव मैले गरेकी छु । त्यस्तै यस गीतको अर्को मलाई मन परेको पाटो भनेको यो छमछमी नाच्न मिल्ने गीत छ । यसरी छमछमी नाच्न मिल्ने भएकाले पनि यस गीतले दिदीबहिनीहरुलाई मर्काउँदै कम्मर छमछमी नचाउने नै छ भन्ने र अझ दाजुभाइ वा माइतीलाई पनि खुशी पार्छ भन्ने मैले विश्वास लिएकी छु ।

एकजना स्रष्टाले गरेको सिर्जना सुन्दा, हेर्दा, पढ्दा हरेक स्रोता पाठक एवं दर्शकले आफ्नो निम्ति नै रचिएको गाइएको, सुनाइएको, देखाइएको जस्तो महशुस भयो भने मात्र उक्त सिर्जना धेरैले रुचाइएको हुन्छ र स्रष्टा सफल भएको हुन्छ । यही दिशातर्फ यो गीत सिर्जना भएको भान हुन्छ किनभने यसले प्रवासका नेपाली चेलीहरुको वर्तमानको यथार्थलाई चित्रण गरेको छ । गण्डकी अञ्चल कास्की जिल्लामा जन्मेर पोखरालाई कर्मभूमी बनाएकी स्रष्टा अम्बिका भण्डारीको लय तथा स्वर अनि अमेरिकको भर्जिनियमा रहेर नेपाली गीत सङ्गीत र साहित्यको क्षेत्रमा महत्वपुर्ण योगदान प्रदान गरिरहनु भएकी विमला ढुङ्गाना निरौलाको शब्द सङ्कलन, साहिल गायकको सङ्गीत संयोजन शिवराज भुर्तेलको निर्देशन तथा सम्पादन, सुरेश भुर्तेलको छायाङ्कन, करुणा भण्डारी, भावना पन्त सुवेदी, इन्दिरा शर्माको नृत्य, सुनिता अधिकारीको सृङ्गार र निर्माता मोहन निरौला रहनु भएको यस तिज गीतले हाम्रो मौलिक संस्कृतिकोे संरक्षण र सम्बद्र्धनमा महत्वपुर्ण भुमिका खेल्नेछ । यस गीत सुन्दा महिलाहरुको मात्र नभएर विभिन्न कारणले विदेशिन बाध्य सबै नेपाली दाजुभाइहरुको भावनालाई समेत प्रतिबिम्बित गरेको भान हुन्छ ।

उक्त गीत “प्रवासमा चेली” अगष्ठ १ का दिन जूम मार्फत विश्वभरिबाट एकै साथ लोकार्पण भएको छ । उक्त तीज गीतको विमोचन कार्यक्रम रेवा अर्गनाइजेसनबाट भएको थियो । कार्यक्रमको अध्यक्षता रेवा अर्गनाइजेसनका सल्लाहकार डा. हरि भट्टराईले गर्नुभएको थियो ।

अन्तराष्ट्रिय नेपाली साहित्य समाज बिओटीको सभापति वरिष्ठ साहित्यकार, गीतकार गीता खत्रीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा विशेष अतिथि लोकगायिका र तीज गीतकी मुहान मानिने हरिदेवी कोइराला हुनुहुन्थ्यो। पोखरा प्रतिष्ठानका कुलपति तथा लोक गायनका ज्ञाता पद्मराज ढकालले गीतका शब्द,सन्दर्भ,संगीत,स्वर,छायांकन र प्रविधि लगायत सबै पक्षहरूको समीक्षा गर्नु भएको थियो भने नेपाली संस्कृतिका विद्वान डा.रघु अर्यालले तीजको महत्त्वको बारेमा जानकारी गराउनु भएको थियो।सो अवसरमा अन्तराष्ट्रिय नेपाली साहित्य समाज बीओटिका उप सभापति पद्म बिश्वकर्मा,पुरु सुबेदी,अनेसास केन्द्रीय कमिटिका बरिष्ठ उपाध्यक्ष गोवर्द्वंन पूजा र उपाध्यक्ष राजेन्द्र श्रेष्ठले गीतकार बिमला निरौलाको साहित्य प्रतिको लगाव,मेहनत र आगामी दिनहरुमा अझै उत्कृष्ट योगदानको अपेक्षा र शुभकामना दिनु भएको थियो।

यसरी प्रवासको भावना समेटेको प्रवासी चेली तीज गीत प्रवासमा रहनु हुने चेलीले त पक्कै मन पराएर सुन्नु र छम छमी नाच्नु हुनेछ भन्ने छ भने दाजू भाइलाई पनि यो गीत मन पर्छ जस्तो लागेको छ । यस्ता लाखौं प्रवासी भावना समेटीएको गीतहरु धेरै आयोस् र यी गीतकार र गायकद्वारा यस्ता गीत धेरै निस्किऊन् भन्ने उपेच्छा राख्दै उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना पनि दिन चाहन्छु र म आफैं पनि यस पालिको तीज म यो तीज घन्काई नाच्ने छु ।