सिँचाइविज्ञ डा. वीरेन्द्र केसी अब कविका रुपमा उदाउनु भएको छ । गएको शनिबार उनको पुस्तक ‘आमाको काखमा दुखेको देश’ कविता सङ्ग्रह प्रकाशन भएपछि डा. केसीलाई कवि तथा गीतकार दिनेश अधिकारीले कविका रुपमा नेपाली साहित्य आकाशमा स्वागत गर्नुभयो । केसीको पुस्तक विमोचन गर्दै कवि अधिकारीले डा. केसीलाई कविका रुपमा जन्मिएको घोषणा गर्नुभएको हो ।

आफ्नो पहिलो कृति ‘आमाको काखमा दुःखेको देश’लाई डा. केसीले बुवाको जन्मदिनको अवसर पारेर सार्वजनिक गरेका हुन् । कवि अधिकारीका साथमा केसीका बुबा घनश्याम केसी र आमा लीलावती केसीले भर्चुअल रुपमा पुस्तकलाई सार्वजनिक गर्नुभएको हो । कार्यक्रममा कविलाई सासूआमा कमला केसीबाट विशेष आशीर्वचन प्राप्त भएको थियो ।

‘इन्जिनियर आफैँमा सिर्जनशील पेसा हो । त्यही सीप डा. वीरेन्द्र केसीले आफ्ना कवितामा कुँदेका छन्,’ विमोचनपछि कवि एवं गीतकार दिनेश अधिकारीले भन्नुभयो, ‘कविता संग्रहलाई इन्जिनियर केसी र कवि केसीबीच धेरै फरक छुट्याउन मिल्दैन । एक अर्काको पूरक जस्तै भएर आएको छ ।’

कवि अधिकारीले बुवाको जन्मको अवसरमा डा. केसीले आफ्नो कवि व्यक्तित्वको जन्मको घोषणा गर्नु अनौठो संयोग भएको बताउनुभयो । भविष्यमा डा. केसीलाई कवि केसीले जित्न सकोस् भन्ने शुभकामना पनि कवि अधिकारीले व्यक्त गर्नुभएको थियो ।

पुस्तकमाथि विश्लेषक प्रा. डा. सुदन पौडेल र समालोचक डा. रेणुका सोलुले समीक्षात्मक टिप्पणी गर्नुभएको थियो ।

‘पुस्तकले आमा–बुवा प्रतिको प्रेम, देश प्रेम, जीवन प्रतिको दृष्टिकोण विशेषरुपमा आएको छ,’ डा. पौडेलले कार्यक्रममा भन्नुभयो, ‘कविले पुस्तकभरि सत्य बोलेका छन् । सत्य बोल्ने आँट गरेका छन् । सत्य भएकै कारण यो कृति सुन्दर बनेको हो ।’

डा. पौडेलले सङ्ग्रहमार्फत कविले देश प्रेम मात्र पोखेका छैनन्, देश प्रतिको आफ्नो कर्तव्य पनि गरिरहेको बताउनुभयो ।

विमोचन भएको कार्यक्रमको शैलीले पनि यसको पुष्टि गरेको उनको कथन थियो ।

अर्का समीक्षक डा. रेणुका सोलुले पनि डा. पौडेलेको उक्त भनाइलाई पुष्टि गर्नुभयो । ‘पुस्तकमा छापिएका तस्बिर, पुस्तकमा श्रीमतीको गर्भ अवस्थामा पाएको पीडाको अनुभूति, पारिवारिक भाव र देश प्रेम अनौठो गरि आएको छ,’ डा. सोलुको कथन थियो, ‘कवितालाई कविता जस्तै प्रस्तुत गर्नु डा.केसीका कविताहरुको शक्ति हो ।’

कार्यक्रममा साहित्यपोस्टका तर्फबाट प्रधानसम्पादक अश्विनी कोइरालाले डा. वीरेन्द्र केसीको कविताको शक्ति र उनको उदार मनको प्रशंसा गर्नुभएको थियो ।

‘डा. केसीले आफ्नो पुस्तकबाट प्राप्त रोयल्टी साहित्यपोस्टलाई प्रदान गर्ने निर्णय गर्नुभएको छ । यो नै साहित्यकारका रुपमा कवि केसीको विशेष परिचय हो,’ कोइरालाले भन्नुभयो, ‘साहित्यपोस्टले यस्ता कविका कृति प्रकाशन गर्न पाउनु भाग्यको कुरा हो ।’

सो अवसरमा नमिता दवाडी, विन्दा पराजुली, लिली अधिकारी तथा शोभा दाहालले विमोचित पुस्तकका कविताहरू वाचन गर्नुभएको थियो ।

शुभकामनाका क्रममा नीलबाराही माध्यमिक विद्यालय, कालिमाटीका प्रधानअध्यापक डा. जानुका नेपाल तथा पुल्चोक इन्जिनियरिङ कलेजका भिजिटिङ प्राध्यापक राजेन्द्रप्रसाद अधिकारीले कवि केसी तथा विमोचित पुस्तकको सफलताको कामना व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा कवि केसीका गुरूहरू विष्णुप्रसाद शर्मा र डा. कृष्णप्रसाद साह, गैरआवासीय नेपाली संघ न्युजिल्यान्डका उद्धव अधिकारी, नेपाली साहित्य समाज न्युजिल्याण्डका पदाधिकारी श्रीधर बस्न्यात र शैलेश कर्माचार्य, साहित्यपोस्टका लागि न्युजिल्यान्डका प्रतिनिधि सञ्जय शान्ति सुवेदी लगायत अन्यको उपस्थिति थियो ।

हिन्दु विद्यापीठ नेपालका प्रधानअध्यापक विष्णुभक्त डाँगीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । कार्यक्रमको अन्त्यमा सङ्ग्रह प्रकाशन गर्न प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैलाई कवि डा. केसीले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।