तिमी यही बाटो भएर सधैँ हिँडिरहनू
म यो झ्यालमा बसी
तिम्रो प्रतीक्षामा आँखा ओछ्याइरहनेछु ।
कुनै दिन हिँडेनौ भने
प्रेमिल बतासहरू पठाउनू
तिम्रो आगमनको मीठो अनुभूति गरिरहनेछु ।
प्रिय, यही त हो मेरो सुन्दर जिन्दगी
तिम्रो प्रतीक्षाका हरघडीमा
आशाका फूल टिपिरहनु
विश्वासका माला बुनिरहनु ।
उल्लिखित र यस्तै कविताहरूको माध्यमबाट अनेक ‘जङ्गलको यात्रामा’ निस्केकी अमेरिकावासी नेपाली कवयित्री हुन्, कमला न्यौपाने । अहिले अन्ताराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को ‘क्यानसस च्याप्टर’ की संस्थापक अध्यक्ष रहेकी उनले सानै उमेरदेखि कविता लेख्न थालेकी हुन् (अमेरिकी राज्य क्यानससमा जून २०२० मा अनेसासको राज्य समिति गठन भएको हो । अनेसास च्याप्टरको अध्यक्ष हुनुअघि उनी अर्को संस्था ‘क्यानसास सिटी नेप्लिज सोसाइटी’ की उपाध्यक्ष एवम् सल्लाहकार पनि थिइन् र करिब दश वर्ष त्यस संस्थामार्फत अमेरिकामा नेपाली भाषा र संस्कृति प्रवर्द्धन कार्यक्रममा सहयोग पुर्याउँदै आएकी थिइन्)।
उनी पहिले स्कुले जीवनमा र पछि युनिभर्सिटी जिन्दगीमा पनि बेला-बेलामा कविता लेख्थिन् र प्रतियोगिताहरूमा पुरस्कृत पनि हुन्थिन् । आमा राधादेवी पौडेलको ‘पढ्नु-लेख्नुपर्छ र केही असल काम गर्नुपर्छ’ भन्ने सधैँको हुटहुटीले उनमा साहित्यतिरको रुचि विकसित हुँदै गयो । समय मिलेसम्म उनी पढ्ने र लेख्ने पनि गर्न थालिन् । कविता विधातिर सायद अलि बढी झुकाव हुँदै गयो । समयक्रममा, दश वर्षको उमेरमा तिनताका प्राथमिक तहको पढाइ हुने बालमन्दिरमा आयोजित कविता प्रतियोगितामा उनी प्रथम भएकी थिइन् । पछिपछि उनले उहिले लेखेका सबै कविता छरपस्ट भए, सङ्ग्रहमा रहेनन् तथापि पढ्ने-लेख्ने क्रम भने यथावत् रह्यो ।
स्वयम् कवयित्री न्यौपानेका शब्दमा, ‘मेरो जीवनमा पनि आए उतारचढाव । तिनीहरूले मेरो लेखनलाई नछुने भन्ने कुरै रहेन । लेखनमा पनि आएँ तर कसो कसो साहित्यबाट टाढा हुन सकिनँ । लेख्न सकेका बेला लेखेँ । पढ्न सकेका बेला पढेँ । पढ्न र लेख्न सकेका बेला दुवै गरेँ । दुवै नसकेका बेला पनि साहित्यप्रति सम्मान जनाइरहेँ । त्यसकै उपलब्धि हो, ‘जङ्गलको यात्रा’ ।’
यसै क्रममा प्रस्तुत सङ्ग्रहमा ‘छोरा र म’ शीर्षकको कविता बोल्छ-
म एक आमा हुँ
हरेक आमाहरूलाई सन्तान अगाडि भएको हेर्न मन पर्छ
सन्तानभन्दा आमाहरू पछाडि हुन मन पर्छ
म चाहन्छु
ऊ सधैँ मेरो अगाडि कुदिरहोस्
कुदिरहोस् ऊ सबलाई जितेर
कुदिरहोस् ऊ संसारलाई जितेर
र म परिरहूँ उसको पछाडिपछाडि
कुद्दाकुद्दै
जब नाघ्नेछ उसले विजयी हुने अन्तिम रेखा
र फर्कनेछ जितको ट्रफी बोकेर
त्यो समय गर्वको लामो सास फेरेर
ताली पड्काउँदै भन्नेछु म
त्यो त मेरो छोरा हो
पछिल्ला कतिपय वर्षहरूदेखि लेख्दै र राख्दै गरेका विभिन्न कविता सङ्कलन गरेर अहिले उनको पहिलो कवितासङ्ग्रह प्रकाशित भएको छ- जङ्गलको यात्रा, मधुवन साहित्यिक प्रतिष्ठान, नेपालको ब्यानरमा । यति कविता मात्र नभएर चार ओटा फुटकर गीत रेकर्ड भइसकेर युट्युबमा छन् र तीबाहेक छ ओटा गीत समेटिएको ‘तरङ्ग’ नामक एउटा बेग्लै गीतिएल्बम पनि यहीबीचमा निकाल्न भ्याइन् उनले । यसरी गीत र कविता लेखनयात्रा जारी राखिरहेकी कवयित्री कमला न्यौपाने पछिल्ला करिब तीस वर्षदेखि अमेरिकावासी नेपालीको पहिचानसहित सामाजिक एवम् साहित्यिक क्षेत्रमा सक्रिय छिन्, भलै उनको जन्म पूर्वी नेपालको चर्चित सहर विराटनगरमा भएको हो र आफ्ना उपल्लो तहका सरकारी जागिरदार पिता गणेशप्रसाद पौडेलको परिवारमा रहँदाबस्दा उनले पिताको जागिरे जीवनमा सरुवासँगै एकपछि अर्को गरी अनेक जिल्लाहरूमा बालापन र किशोर वय बिताउनुपरेको थियो । यस दौरान उनले देशका धेरै जिल्लामा पुग्ने र त्यहाँ विविध मानिससित भेट्ने अनि त्यहाँको रहनसहनबारे नजिकबाट बुझ्ने, अझ जिउने अवसर नै पनि पाएकी थिइन् । यस किसिमको बसाइँले पहिले स्कुले अध्ययनमा बाधा पुगेको भए पनि यसले कालान्तरमा समाजलाई व्यापक रूपमा बुझ्ने सन्दर्भमा भने उनलाई निश्चय पनि सहयोग पुर्यायो ।
अचेल त उनी परदेसिएकी छन् तथापि मुटुभरि स्वदेशको मायाँ र सम्झना छ, धुकधुकीभरि उही आफू जन्मेको गाउँठाउँ र आफ्नाहरूको निकटताको तृष्णा छ, मनभरि दौँतरी-दमालीहरूसित कहिल्यै नसिद्धिने कुराकानी गरेको र फेरि पनि गरिरहने उत्कण्ठाको मूल फुट्ने गरेको छ ।
त्यसैले त ‘परदेशीको दसैँ र बाडुली’ शीर्षक कवितामा उनी लेख्छिन्-
दिन र रात घुम्दै-घुम्दै
पात्रोका अक्षरहरूमा दसैँ आएको रहेछ
अब मलाई
दसैँभरि बाडुली लाग्छ
बाडुली नलागोस् भनेर
अनेकन् कोसिस गर्दा पनि म असफल हुन्छु
र घर छाडेदेखि
हरेक वर्ष मलाई यो रोगले सताइरहन्छ
…………………………….
आखिर चाड भन्नु पनि
आफन्तको भूगोलभन्दा पर हुँदैन रहेछ
…………………………………….
घरदेशमा जस्तो
परदेशमा त दसैँ पनि एकै दिन आउन्न
जो ड्युटीअनुरूप कसैको अगाडि नै आउँछ
र कसैको अलि पछि मात्रै आउँछ
साँच्चै भन्ने हो भने
दसैँ त घरदेशमा पो आउँछ
परदेशमा त नाम मात्रको दसैँ आउँछ
र मलाई घरदेशको सझनाले
निरन्तर बाडुली मात्र लागिरहन्छ
र यति बेला परदेशमा छु म ।
आकारका हिसाबले त प्रस्तुत कृति निकै सानो प्रतीत हुन्छ, केवल ११२ पृष्ठमा मात्र विस्तारित तर यसभित्र समाविष्ट जम्माजम्मी ३९ ओटा कविता भने महत्त्वपूर्ण र अर्थपूर्ण छन् । शीर्षक कविता ‘जङ्गलको यात्रा’ बाहेक अन्य कविता विभिन्न चार उपशीर्षकअन्तर्गत दिइएका छन् । हरेक उपशीर्षकपछि कविता सुरु गर्नुभन्दा अगाडि ‘उपशीर्षक आवरण’ का रूपमा चार ओटा रङ्गीन चित्र राखेर किताबलाई आकर्षक बनाउन खोजिएको छ । पहिलो उपशीर्षक ‘यथार्थको धरातल’ अन्तर्गत १४ कविता छन् भने दोस्रो उपशीर्षक ‘पसिनाको निलो’ अन्तर्गत छ ओटा, तेस्रो उपशीर्षक ‘प्रेमको फूल’ अन्तर्गत १३ ओटा र चौथो उपशीर्षक ‘सिमानापारि’ अन्तर्गत ‘पाँच ओटा कविता छन् ।
कवयित्री (र गीतकार) कमलाको यस कवितासङ्ग्रहमा आफैँभित्रका छिटफुट अन्तर्विकसित प्रवृत्तिहरू छन्, सूक्ष्म अनुभूतिका अन्तर तरङ्गहरू छन्, विस्तारित विहङ्गावलोकनका सरल अभिव्यक्तिहरू छन्, आन्तरिक एवम् बाह्य जगत्बीच तादात्म्य खोज्दै गरेका भावप्रवाहहरू छन्, देश-काल-परिस्थितिलाई आत्मसात् गर्दै अभिभूत भएका अव्यक्त वाणीहरू मुखरित भएका छन्, र मूलतः स्वच्छन्दतावादी भावधाराका साना-लामा फुटकर गद्य कविता रचिएका छन् । लगभग जम्मैजसो कवितामा यी प्रवृत्तिहरू छन् भन्न सकिन्छ । उनमा रहेको प्रकृति, प्रेम, प्रणय, स्वदेशको मायाँ, परिवारको प्रेमिल सम्बन्ध, सन्तानको मायाँ, दरिद्रहरूप्रति स्नेह, स्वतन्त्रता आदि सबैप्रति सम्मान व्यक्त गर्ने मौलिक अभिव्यक्तिका साक्ष्य यी कविता बनेका छन् । यी र यस्ता तमाम भौतिक एवम् अधिभौतिक प्रवृत्तिहरूप्रति उनी अनासक्त देखिँदैनन्, छैनन् ।
एक उदाहरण हेरौँ, (‘म र उनी’ शीर्षक कविता) –
उनलाई कल्पिन्छु
उनी एक छालझैँ तरङ्गित छिन्
फूल बनेर
एक उमङ्ग दिएर जान्छिन्
हावा बनेर
हरकोहीको फरक भावनासित छोएर बग्छिन्
भावना
कुनै संसार बदलेर जान्छ
कुनै भावनाले प्रेमको बुनियाद थपेर जान्छ
यस्तै दुःख र सुखका कथा बनेर जान्छ
उनको आगमन कुरेर बसेको यो कवि
जब झ्याप्प निदायो आज ओछ्यानमा
तब उनी टुप्लुक्क आइपुगिन् आँखैअगाडि
आहा ! यी कोमल अक्षरहरू
आहा ! यी सुन्दर हरफहरू
प्रिय कविता
तिम्रो स्वागतार्थ म के गरूँ
आऊ, म तिमीलाई यी सेता कागजका पानामा
नीला अक्षरहरूले सजाउनेछु ।
समष्टिमा, कवयित्री तथा गीतकार कमला न्यौपानेको पहिलो कवितासङ्ग्रह स्वागतयोग्य छ, पठनीय छ, छपाइ सुन्दर छ, साजसज्जा पनि अनाकर्षक छैन तथापि ठाउँ-ठाउँमा शाब्दिक एवम् भाषिक अशुद्धताले साहित्यिक आस्वादन कुँढिन्छ । ‘परदेशमा भोग्नुपर्ने अनेकन् दुःख र कष्ट, कामैकामको मेसिनजस्तो जिन्दगी, चाडपर्वले सम्झाउने पुराना दिन, ज्यान परदेशमा तर मन देशमै, देशमा हुने परिवर्तनले कहिले खुसी र कहिले पीडा हुने’ जस्ता भावना भरिएका कविताहरू पढ्दा आम पाठक भावुक नभई रहन सक्दैन । यसो भए तापनि प्रशस्त ठाउँहरू छन् जसमा कवयित्रीले आफूलाई थप परिस्कार गर्नुपर्ने, अझ तिखार्नुपर्ने र भावनाको गहिराइमा डुबाउन सक्ने हो भने उनका कवितामा जीवन अझ जीवन्त भएर उद्घाटित हुनेछ । कवितामा शब्दहरूले बयली खेलिरहेका होऊन्, भावहरू लहलहाइरहेका होऊन्, हृदयको स्पन्दन आलोडित भइरहेको होस्, मनका तरेलीहरू पिङजस्तै मच्चिइरहेका होऊन् ! र, पाठकले आफूलाई त्यसमै भिजेको, त्यसमै हराएको र त्यसमै बगेको अनुभूत गर्न पाओस् !
नयाँ सिर्जना र नौलो कृतिका लागि रचनाकार कमला न्यौपाने लागिरहनुपर्छ, उनको कलमको टुँडो बिसाउनु हुँदैन । शुभकामना ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।