हिन्दीभाषाबाट अनुदित चन्द्रगुप्त (नाटक) का निम्ति साहित्य एकेडेमी पुरस्कार (१९९८) प्राप्त गरेका लेखक हुन् छविलाल उपाध्याय । उपाध्यायका अस्तित्वबोध (१९९०, खण्डकाव्य), चन्द्रगुप्त (१९९२, अनुवाद नाटक), कामरूपा (१९९५, ऐतिहासिक काव्य), छवि कवितासङ्ग्रह (२०००), शाकुन्तल महाकाव्य एक दृष्टि (समालोचना), कल्पना माधुरी (२०११, कविता), छन्द र अलङ्कार (२०११), समीक्षात्मक निबन्धहरू (२०१२, समालोचना), सम्झनाका लहरहरू (२०१४, आत्मकथा), भूमिकै भूमिका (२०१५, भूमिका) लगायतका २९ ओटा पुस्तकहरू प्रकाशित छन् ।

प्रस्तुत छ, हाल शोणितपुर जिल्लाअन्तर्गत सहिद नगरी ढेकियाजुली बजारस्थित कवि निकेतन निवासी छविलाल उपाध्यायसँग साहित्यपोस्टका लागि दीपक सुवेदीले गरेको कुराकानीकाे सम्पादित अंश;

छविलाल उपाध्याय

तपाईँको लेखन कसरी सुरु भएको थियो ?         

मेरो लेखनकार्य गद्यमा पहिलो लेखन अनुवाद हो । हिन्दी भाषाका प्रख्यात लेखक विनोद शङ्कर व्यासद्वारा विरचित ‘अपराध’ नामक कथालाई नेपालीमा अनुवाद गरेर सोही नाउँले शोणितपुरको शिङरी बालिजानबाट सन् १९८० मा प्रकाशित ‘नयाँ दिगन्त’ नामक अर्धवार्षिक पत्रिकाको वर्ष १, अङ्क १ मा प्रकाशित, अनि त्यसै सन्‌मा असमको नलबाडी निकासीबाट प्रकाशित हुने ‘खुकुरी’ नामक पत्रिकाको वर्ष १ अङ्क, ३ मा ‘खुकुरी’ नामक एकाङ्की प्रकाशनमा आएको थियो ।

अनि कविता र कृति प्रकाशनका दृष्टिमा ?

अनि कविता विधामा चाहिँ असम गोर्खा सम्मेलन पत्रिका वर्ष १७, पूर्णाङ्क ५३, जनवरी १९८३ मा ‘के म विदेशी’ मुक्त छन्दमा प्रकाशमा आएको हो । सिङ्गो कृतिका रूपमा भने ‘लीलबाहदुर छेत्री तथा उनको ब्रह्मपुत्रका छेउछाउ’ समालोचना र त्यसै वर्षको पाँच महिनापछि ‘पवनदूत नामक’ खण्डकाव्य (सन् १९९०) पहिलो प्रकाशनमा आएका हुन् ।

बाल्यकाल कस्तो रह्यो तपाईँको ?

जीवनको भोगाइको कुरा गर्दा अहिले पनि आँखा रसाउँछन् । भनौँ शैशव एवम् बाल्यकालमा आर्थिक अवस्था अति नै सोचनीय भएकाले भोकभोकै दिन काट्तथेँ र राति पनि प्रायजसो खाली भुँडी नै ओछ्यानमा पल्टिनुपर्दथ्यो । पाएका दिन तरुल, भ्याकुर, फर्सी आदि उसिनेर खायो नपाएका दिन खाली भुँडी नै । साँच्चै भन्नुपर्दा कहालीलाग्दो अवस्था थियो त्यस बेला । त्यस अर्थले पनि शैशवकालदेखि नै गो सेवाको दायित्व मेरा थाप्लामा आइलागेको थियो र १७/१८ वर्षको उमेरसम्म मेराहातमा लौरो रहेको थियो । गोठालाहरूको सङ्गतमा अर्काका कोठेबारीमा पसेर फलफूल चोर्नु बल्छीका टाँगा बाकेर माछा मार्नु, चराका बचरा पोलेर खानु उपध्रो गर्नुमा नै मेरो शैशव र बाल्यकाल बितेको थियो । मेरो पहिलो शैशवकाल त्यस बेलाको दरङ जिल्लाको विश्वनाथअन्तर्गत कुमलिया छपडीमा र सन् १९४२ देखि धिराइमाजुलीमा बितेको हो । अहिले त्यो सम्झँदा आङ जिरिङ्ग भएर आउँछ । धनहीन भएकाले आङमा कहिल्यै घाम लागेनन् ।

अन्तर्वार्ताकार : दीपक सुवेदी

असममा नेपाली भाषा साहित्यको अवस्थालाई कसरी हेर्नुहुन्छ ?

असममा पठनपाठनको सुविधा सिक्किम र दार्जीलिङ हेरी यहाँ दयनीय अवस्था छ । उतापट्टि आफ्नै भाषाका माध्यममा पढ्ने व्यवस्था भएकाले, भाषासाहित्यको निर्माणमा अगाडि बढेको देखिन्छ । असममा त्यो अवस्था छैन । यहाँ स्थानीय (राज्यिक भाषा) असमिया माध्यममा पढाइ भएकाले प्रायजसो नेपालीलाई आफ्नो मातृभाषा नेपालीको ज्ञान छैनभन्दा अचाहिँदो नहोला । त्यस कारणले पनि अहिले असमेली नेपाली भाषासाहित्य त्यति मौलाउन नसकेको अनुभव हुन्छ । आफ्ना घरमा बोलेको भाषाका सहायताले यहाँका नेपाली स्रष्टाहरूले जसैतसै भाषासाहित्यको सेवा गरिरहेका छन् ।

त्यसो भए असमेली नेपाल साहित्यमा अहिले पनि केही विधाको खाँचो छ ?

यद्यपि भारतीय नेपाली साहित्यको उठान अविभक्त असमको मणिपुरबाट इस्वी १८९३ तिर तुलाचन आलेको फौजी कलमले मणिपुरको लडाइँको सवाई नामक पुस्तक लोकलय छन्दमा लेखिएको हो तापनि असमेली नेपाली साहित्यको विकासमा पछि नै परेकाले अहिले असम कान्छो नै छ भन्न नसकिने होइन । हाम्रो यहाँ स्तरीयताका दृष्टिले नभए तापनि सङ्ख्यात्मक दृष्टिले भने कविताको खेती मौलाएको देखिन्छ । साँच्चो भन्नुपर्दा हाम्रो असमेली नेपाली साहित्यमा गीतिकाव्य, लोकगीत, लोकसाहित्यको अभाव छँदै छ । अर्कातिर धार्मिकग्रन्थ, पूर्णाङ्की नाटक, नीरक्षीर समालोचनाको पनि खाँचो टरेकै छैन । यस्ता धेरै विधाहरू असमेली नेपाली भाषा साहित्यमा अझ पनि पछि नै परिरहेको देखिन्छ । यहाँसम्म कि विवाह, व्रतबन्ध आदिका निमन्त्रणापत्रहरू पनि धेरैजसो असमिया भाषामै लेखिन्छन्, यस्तै छ ।

छन्द प्रयोगको अवस्था चाहिँ कस्तो छ ?

असममा छन्दको अवस्थाबारे भन्नुपर्दा, स्वाधीनोत्तरकालदेखि यता असमेली नेपाली भाषामा छन्दोबद्ध काव्यको निर्माण भएको देखिँदैन । टीकाप्रसाद शर्मा, कवि पुष्पलाल उपाध्याय आदिले केही निर्माण गरे  तर त्यसपछिदेखि भने प्रायः छैन भन्न नसकिने होइन । आङ्ग्लभाषाको प्रभाव र विदेशीको अनुकरणले हो क्यार युवा समाजलाई छन्दले आकर्षण गर्न सकेन । उनीहरूलाई छन्द भनेको के हो थाहा छैन अनि छैन वाचन गर्ने कला भन्दा अनौठो नहोला ।

अर्को कुरो, छन्दोबद्ध कविता रचना गर्नु सजिलोकाम पनि होइन । यसमा गति, यति, लय, अलङ्कार आदिको प्रावधान भएकाले आजका नयाँ युवाहरूमा धैर्य नै पो कहाँ छ र यत्रो परिश्रम गर्ने । सजिलोसितले गद्यकविता लेख्नमा नै बानी बसेको छ ।

छन्द प्रयोगमा युवालाई आकर्षण गर्ने केही उपाय होला ?

यसमा युवालाई आकर्षण गर्ने उपाय क्यै छ होला र ! चढ्दो उमेरका युवालाई मनपर्ने वा आकर्षण गर्ने उपायतिर लाग्न जाँदा साहित्यको रूपरेखा नै अनौठो होला । समाजमा अर्कै प्रतिक्रिया उद्भव होला भन्ने आशङ्का नउब्जिने होइन । त्यसकारणले उनीहरूलाई आकर्षण पार्ने विधि मेरा दृष्टिमा परेन । आफैँले चासो लिनुपर्छ ।

छन्दमा कविता सिर्जना गर्न के-के कुराको आवश्यकता पर्छ ?

छन्दका कविता लेख्ने कुराको आवश्यकताबारे भन्नुपर्दा पहिले त छन्द भनेको के हो भन्नेकुरा जान्नुपऱ्यो । दोस्रो कुरा आफूसित शब्दभण्डार गतिलो हुनुपऱ्यो । तेस्रो कुरा रुचि, लगत, धैर्य, भाषाको ज्ञान र निरन्तर प्रयासको अति नै आवश्यकता हुन्छ । त्यसैगरी शब्दचयनमा ध्यान दिनुपर्ने कुरा पनि आउँछ । उसैगरी कुन छन्दमा कुन खाले भाका वा स्वर हुनपर्छ र वाचन गर्ने कला पनि आफूमा हुनुपऱ्यो । ह्रस्वदीर्घ के हो त्यो पनि ध्यान दिनुपर्ने हुन्छ । त्यसैगरी सिङ्गो वर्ण वा अक्षरलाई हलन्त नपारी (खुट्टा नकाटी) जस्ताको त्यस्तै प्रयोग गर्दा उत्तम हुनेछ । यत्ति कुरामा ध्यान दिनुपर्ने हुन्छ, जति सक्यो मोठा शब्द चयन गर्न सक्नुपऱ्यो मैले जानेको यत्ति नै हो ।

नेपालभित्रको नेपाली साहित्य र भारतीय नेपाली साहित्यमा भएको भाषा प्रयोगलाई कसरी हेर्नुहुन्छ ?

नेपालको साहित्यसित भारतीय नेपाली साहित्यलाई दाँजेर हेर्दा लिपि एउटै भए तापनि लेखाइ र बोलाइमा केही मात्रामा पार्थक्य रहेकै हुन्छ भन्न नसकिने होइन । आआफ्ना राष्ट्र वा देशको रहनसहन, सामाजिक परिवेश तथा वातावरणअनुसार नै साहित्यको निर्माण हुन्छ र नै ‘साहित्य समाजको दर्पण’ भनिएको होला । लेखाइको शैली, बोलाइको ढाँचा आआफ्नै विशेषताका हुन्छन् । केही उदाहरण यसरी दिन सकिन्छ, जस्तै हामी यताकाले व्यक्तिगत विद्यालय, महाविद्यालय, महाविद्यालयका प्रधानाचार्यलाई अध्यक्ष वा प्रधानाध्यापक भन्ने गर्दछौँ । तिनैलाई उतापट्टिका बोलीमा बोर्डिङ, क्याम्पस, क्याम्पसचिफ आदि प्रयोग गर्दछन् । यद्यपि उहाँ नेपालीकै प्राधान्य छ तापनि आङ्ग्ल भाषाकै बोली सर्वसाधारण जनतामा चलेको छ । अपर्झट पुग्ने यताका मान्छेलाई बुझ्न निकै गाह्रो पर्दछ । अर्कातिर हामी यान वाहन चलाउनेलाई गाडीचालक भन्दछौँ तर उताट्टि गुरुजी भनेकाले यताका हामी अलमल्ल पर्दछौँ किनभने हामीले बुझेको गुरुजी चाहिँ विद्यालयमा पढाउने अध्यापक हुन्छन् । त्यसरी नै हामी गाडीमा चढ्नु र ओर्लनु भन्दछौँ । उताको बोलीमा उक्लनु र झर्नु भन्दा हामीलाई अलिक अप्ठ्यारो लाग्नु स्वाभाविकै हो । लेखाइमा पनि ‘राष्ट्रीय’ र ‘राष्ट्रिय’ दुई प्रकारका देखिन्छन् । उनीहरूकै पछि लागेर यताका हामीहरू पनि ‘राष्ट्रिय’ लेख्न थालेका छौँ, यद्यपि भारतीय सबै भाषामा ‘राष्ट्रीय’ नै प्रचलन छ । मीठो–तीतो, ठूला जीउ आदि शब्दहरूमा यताका उताका दुवैतिरका लेखकहरूले ह्रस्व पनि दीर्घ पनि मनपरी लेख्ने गरेका छौँ । कुनचाहिँ शुद्ध हो कुनचाहिँ अशुद्ध हो भन्न सकिएन, भनौँ हाम्रो लेखाइमा एकरूपता पाइँदैन । भरसक एकरूपमा देख्नपाए उत्तम हुने थियो झैँ लाग्छ ।

त्यस्तै हाम्रो यहाँको बोलाइको र भाषा लेखाइको ढाँचा देख्तै उतापट्टिकालाई थाहा लागिहाल्छ यो अमुक ठाउँको भन्ने । यहाँ हामीहरू कता न कताबाट थाहै नपाई यहाँको बोली, बोलाइमा र लेखाइमा प्रयोग गरिहाल्छौँ । ‘ड’ र ‘ढ’ का तल्तिर थोप्लो लगाइहाल्ने बानी पनि छँदै छ । बोलाइको उच्चारणमा पनि भिन्नता पाइन्छ । भाषामा बहिरागत (हिन्दी, उर्दू, अरबी, फारसी, तुर्की आदि) का शब्दावलीको प्रयोग दुवैतिरका भाषामा बराबरी नै नपाइने होइन । यस्तै नै छ नेपाल र भारतका बीचको भाषासम्बन्धी लेखाइ बोलाइमा मैले जानेअनुसार । तत्सम शब्दलाई बिगारेर लेख्ने बानी दुवैतिर छ ।

यहाँको विचारमा साहित्यकारको दायित्व केकस्तो हुनुपर्छ ?

साहित्यकारको दायित्वबारेमा भन्नुपर्दा कवि साहित्यकार समाजको प्रतिनिधि हो र उसको दायित्व ठूलो छ । आफ्ना विलक्षण प्रतिभाद्वारा समाजलाई डोऱ्याएको हुन्छ उसले । समाजमा भएका विसङ्गतिहरूलाई प्रकाशमा ल्याएर समाजका आँखा उघारिदिने प्रतिभा उसमा रहेको हुन्छ । वास्तवमा कवि साहित्यकार भनेको साहित्यका ग्रन्थहरू रचयिता हो ।

जीवन र जगत्‌सँग सम्बद्ध विविध विषयमा सौन्दर्य, रूप, गुण भावुकता आदिका दृष्टिले अभिव्यक्त हुने वा रचिने हृदयस्पर्शी लेख र ग्रन्थ आदिको प्रणेता हो भनिएको छ । तसर्थ समाजमा उसको सम्मान गरिमामय बनेको हुन्छ । अर्कातिर कवि साहित्यकार, स्रष्टा र द्रष्टा दुवै हो । अझ भन्नुपर्दा कवि साहित्यकार भनेको सृष्टिकर्ता ब्रह्माको जीवित प्रतिनिधिका रूपमा रहेको हुन्छ र उसको उत्तरदायित्व साँच्चै नै अपार एवम् महान् छ । त्यसैकारणले अग्नि पुराणमा भनिएको छ–

‘अपारे काव्य संसारे कविरेकः प्रजापतिः ।

यथास्मै रोचते विश्वं तथेदं परिवर्तते ।।’

अर्थात् अपार काव्य संसारमा कवि साहित्यकार प्रजापति (ब्रह्मा) हो र उसलाई जस्तो इच्छा हुन्छ त्यस्तै प्रकारको विश्व (आफ्नो कृति) निर्माण गर्दछ । तसर्थ आधुनिक कवि साहित्यकारमा पनि त्यस्तै गुण गरिमा हुनुपर्दछ । अनि मात्र उत्कृष्ट काव्य साहित्यको निर्माण हुन सक्छ र उसले प्रणयन गरेका कृतिहरू सार्वदेशिक र सार्वकालिक हुन पुग्दछन् भन्ने मेरो आफ्नो विचार हो । त्यस्तो गुणसम्पन्न भएको कवि साहित्यकारलाई नै भनिएको होला ‘कवयः क्रान्तदर्शिन’ भनेर । अर्थात् कवि साहित्यकार विलक्षण बुद्धिको हुनुका साथै सर्वज्ञ पनि हो रे ।

स्रष्टाहरूको प्रोत्साहनका लागि राज्यले केकस्तो भूमिका खेल्नुपर्छ ?

स्रष्टाहरूद्वारा विरचिततत स्तरीय कृतिका निम्ति वा दीर्घकालीन भाषा साहित्यको सेवा गरेको सट्टामा समय समयमा सम्मान र आर्थिक पारितोषिक दिने व्यवस्था गर्नुपर्छ । साथै जीवनवृत्तिको व्यवस्था गरिनुपर्दछ र स्रष्टालाई उत्साहित पार्नुपर्छ । यही नै हो राज्यले गर्नुपर्ने कर्तव्यजस्तो लाग्छ । सौभाग्यको कुरा हाम्रो यहाँ यो व्यवस्था गरिएकै छ भन्नुपर्छ । सबै भाषाका स्रष्टाहरूलाई एकै दृष्टिले हेरिएको छ भन्न नसकिने होइन ।

साहित्यको समकालीन बजारलाई कसरी हेर्नुभएको छ ?

कृतिहरूको बेचबिखन भन्ने कुरा हो भने असमेली समाजमा त्यो परिवेश आएको छैन भन्दा अर्घेल्याइँ नहोला । यहाँ मूल्य दिएर पुस्तक किन्ने मान्छे एकाध भए तापनि सर्वजनसाधारणमा त्यो चेतना आएको पाइँदैन । त्यसैले रहर गरेर लेख्ने व्यक्तिले आफ्नै ढुकुटी रित्याएर प्रकाशन गर्नुपर्ने स्थिति छ र त्यस विषयमा स्रष्टाहरू निराश छन् । सित्तै बाँड्दै हिँड्नुपर्दछ । अतः हाम्रो यहाँ कृतिको बजार यस्तै भएकाले बेचबिखनको कुरा नगर्दै उत्तम होला । पुस्तक बिक्री गर्न बोकेर हिँड्नु पनि एकप्रकारको थेत्तरोजस्तो हुन पुगिन्छ यहाँको कुनै ठाउँमा त ।

जीवनका नबिर्सने क्षण केही सुनाइदिनू न ।

जीवनमा धेरैजसो नै दुःख नै भोगिए त्यो पनि कहिल्यै बिर्सने कुरा आएन । अर्कातिर आफूले गरेका कर्मफल धेरैतिरबाट सम्मान र पुरस्कारहरू प्राप्त भएका कुरा पनि सदा नै मनमा परेकै छन् । अनि सबैभन्दा नबिर्सने भनूँ अविस्मरणीय घटना चाहिँ सन् १९५८ मा म त्यतिखेर नेपालको महेन्द्रनगर चक्रघट्टी भन्ने ठाउँमा बस्तथेँ । यताबाट कान्छाबा अनन्तराम खतिवडा मलाई खोज्दै पुगेछन् र भने– ‘जाऊँ हौ केटा, हाम्रा पुर्खाहरूको थालो मादी हेरेर आऊँ ।’ मादी भनेको पूर्व ६ नं. सङ्खुवासभा जिल्लाअन्तर्गत पर्ने चैनपुरको ठाउँ हो । उताबाट फर्किएर आउँदा तेह्रथुम जिल्लान्तर्गत आठराई ठाउँको औसिया बजारमा पुगेपछि अँध्यारो भो, हामी अन्योलमा पऱ्यौँ । त्यसदिन औँसीको चतुर्दशी पनि परेको थियो । चारैपट्टि अन्धकारले ढाकेको थियो । कसैगर्दा बाटो ठम्याउन सकिएन । कोयाखोला र तम्मर खोलाको दोभानमा, सल्लेरी वनको माझमा उभिएका छौँ । मङ्सिरको सिरसिरे चिसो हावामा मास्तिर डरलाग्दो गरी सल्लाका रूख सुसाउने र तलतिर खोला छङछङ गर्दा कहालीलाग्दो परिवेश थियो । उपाय नपाएर एउटा ठूलो सल्लाको रूखको आडलिएर बस्यौँ, पहाडी भिरालोमा । पल्टिएर तल पुगिन्छ कि भन्नेछ ।

अर्कोतिर वन्यजन्तुको डर छँदै छ । त्यसैगरी पेटमा चारो नभएर आन्द्रा छुत्ती खेल्न लागेका छन् । अब के गर्ने ? अवशेषमा मादीकी हाम्रो हजुरआमाले पोकामा हालिदिएका नयाँ धानका चामल मुकुऱ्याउन थाल्यौँ । एकछिनका लागि त पेटको ज्वाला शान्त हुन्छ, त्यसपछि भने भित्रका आन्द्राले पानी खोज्यो । तिर्खाले उखरमाउलो नै भयो । अब केगर्ने ? तत्तिर खोलो छङछङ गरेको ध्वनि कानमा ठोकिन्छ तर त्यहाँ पुग्ने उपाय नै छैन । जसैतसै उज्यालो भएको सूचना कुखुराको भालेले दियो ।

छामछाम छुमछुम गर्दै खोलो सुसाएतिर घस्रन लाग्छौँ, नभन्दै खोलामा पुगेर पानीमा हात चोभ्छौँ तर हिउँ बराबरका पानीले हातै छिनाएर लगेजस्तै भए तापनि एक दुई अँजुली पानीले आन्द्रा भिजाएर ज्यान जोगाउन सफल हुन्छौँ । तसर्थ यो पनि जीवनमा आइलागेको अविस्मरणीय घटना भन्नुपर्दछ । यहाँ जति सजिलै वर्णन गरियो त्यहाँ त्यसघरी त्यति सजिलो थिएन अति भनायक थियो । यस्ता अरू पनि छन् ती सबै समयमा भनिनेछन्, अहिलेलाई यत्तिमै बिट मारौँ ।

जीवनलाई परिभाषित गर्नुपऱ्यो भने के भन्नुहुन्छ ?

भन्नाले यसको अर्थ हुन्छ, सबैतिरबाट टम्म मिलेको जीवन । यस दृष्टिले हेर्नु हो भने मानव शरीर भित्रीबाहिरी सदैव परिष्कार राख्नु, मनमा उच्च विचार राख्नु, सरल जीवन अँगाल्नु, समदर्शी हुनु, अझ भन्नुपर्दा आत्मवत् सर्व भूतेषुको भावना राख्नु । यसैगरी मीठो, विद्वत्तापूर्ण बोल्नु कुशल हुनुपऱ्यो साथै परोपकारायको निमित्त आफूले सक्तो कर्म गर्नु, यस्ता गुण हुनुपर्छ मानव जीवनलाई परिभाषित पार्न कला कौशल भन्ने मेरो लाटो सोचाइ हो । यसअतिरित्त अरू-अरू पनि केही होलान् ।

पहिले र अहिलेको भाषाको प्रयोगमा केकस्ता भिन्नता पाइन्छ ?

समाज र परिवेशअनुसारकै साहित्यको निर्माण हुन्छ किनभने साहित्यकार समाजभित्रको एउटा अङ्ग हो । तसर्थ उहिले समाजव्यवस्था र परिवेश आजको जस्तो थिएन र त्यस्तै समाजमा भएका रीतिस्थिति वा चालचलनलाई अँगालेर नै स्रष्टाले साहित्यको निर्माण गर्ने प्रचलन छ । अथवा भनौँ जस्तो समाज छ त्यस्तै साहित्यको सृष्टि हुन्छ ।

पहिलेको लेखकको लेखाइ र अहिलेको लेखाइमा पनि केही भिन्नता देखिन्छ । जस्तै उहिलेका लेखहरूमा दिये, खाये, अनी, पनी, सोध्याको, भन्याको, खोज्याको लेख्ने नियम थियो भने अहिलेका लेखकहरूको लेखाइमा दिए, खाए, अनि, पनि, सोधेको, भनेको, खोजेको आदि लेख्ने चलन छ । अर्कातिर उहिलेका लेखकहरू शासकका अधीनमा रहेर शासकको गुणगानमा व्यस्त हुन्थे भने अहिलेका लेखकहरू स्वतन्त्र रहेर स्वच्छन्दतालाई गालेर लेख्ने गर्छन् । उसरी नै उहिले आफ्नी जीवनसाथीलाई जीवनसङ्गी नठानेर भिन्नै प्रकारले हेरेर हेयार्थमा ‘तँ’ अनि जेठो सन्तानको नाउँ लिएर ‘ऐ आमुककी आमा ?’, ‘फलाना की छोरी’ आदि भनेर बोलाउने र बुहारीहरूले पनि आफ्ना सासूससुरालाई बज्यैबाजे, जेठाज्यू, आमाज्यू, र देवर नन्दहरूलाई नानी र नातिनातिनाले बाबुका बाबुलाई बाजेबज्यै भन्ने गर्दथ। तर अहिलेका बुहारीहरू बाआमा, दाजुदिदी भनेर बोलाउँछन् । आफ्नी अर्धाङ्गिनीलाई नाउँ काडेर सम्मानार्थमा ‘तिमी’ भनेर बोलाउने नियम छ अनि नातिनातिनाले बाबुका बाबुआमालाई हजुरबा–हजुरआमा भनेर सम्बोधन गर्ने गर्दछन् । साहित्य लेखाइमा र बोलाइमा पनि यस्तै भिन्नता पाइन्छ मेरो अनुभवमा ।

तपाईँको दृष्टिमा नेपाली साहित्यका विश्वस्तरीय सर्जक कोही छन् ?

मलाई उत्कृष्ट लागेका विश्वस्तरीय सर्जक र सिर्जनामा भन्नुपर्दा मेरो जानकारीमा विश्वस्तरीय सर्जक हुन् महाकवि लक्ष्मीप्रसाद देवकोटा । उनलाई संस्कृतका महाकवि कालिदाससँग तुलना गर्न सकिन्छ । उनका कृतिको सङ्ख्या कति हो अझै पनि टुङ्गो लगाउन सकेको पाइँदैन । सङ्क्षिप्तमा भन्नुपर्दा शाकुन्तल, सुलोचना, वनकुसुम, दुष्यन्त शकुन्तला भेट, राजकुमार प्रभाकर, लुनी, म्हेन्दू, मुनामदन, लक्ष्मी गीतिसङ्ग्रह, लक्ष्मी कवितासङ्ग्रह, सावित्री सत्यवान, चम्पा, लक्ष्मी निबन्धसङ्ग्रह, दाडिमको रूखनेर, स्रष्टा देवकोटा द्रष्टा परिवेशमा, प्रसिद्ध ९ निबन्धसङ्ग्रह, लक्ष्मी कथासङ्ग्रह आदि अनेकौँ छन् । एक्काइस ओटा खण्डकाव्य, छ ओटा महाकाव्य आदिका अतिरिक्त कविताको सङ्ख्या गनिनसक्ना छन् । त्यसैगरी नाटक, उपन्यास, कथा विविध विधाका हुनुका साथै फुटकर कविता कति हुन् तिनको पत्तो लागाउन सकेका छैनन् विद्वान्‌ समालोचकहरूले । यहाँ ती सबैको उल्लेख गर्न सम्भव छैन । महाकवि लक्ष्मीप्रसाद देवकोटाले संस्कृत भाषामा ‘सिकन्दर’ अङ्ग्रेजीमा ‘संयोजिता’ र ‘शकुन्तला’ नाउँ दिएर रचना गर्न थालेको कुरा उल्लेख पाइन्छ । समग्रमा देवकोटा नेपाली साहित्यका युगद्रष्टा र विराट् काव्यपुरुष हुन् । उनी बहुभाषी थिए, अङ्ग्रेजी, नेपाली, हिन्दी, संस्कृत, नेवारी, बङ्गला, उर्दू, फ्रेन्च, जर्मनी, तामाङ, तिब्बती, रुसी, चिनियाँ र इटाली आदिगरी जम्माजम्मी चौध ओटा भाषाका ज्ञाता थिए भन्ने कुरा विद्वान्, समालोचकहरूको भनाइ पाइन्छ । त्यस अतिरिक्त कुशल कलाकार, सङ्गीतज्ञ, सुवक्ता र न्याय विधामा पनि कुशल थिए उनी । महाकवि देवकोटाको विद्वत्तालाई देखेर छत्तीस भाषाका ज्ञाता एवम् एक सय पचास ग्रन्थका निर्माता आधुनिक द्वैपायन (व्यास) मानिने महापण्डित राहुल सांस्कृत्यायनले ‘आजकल’ नामक हिन्दी पत्रिकाको ‘विश्वदर्शन’ मा (सन् १९५३ को मई महिनाको अङ्कमा) देवकोकोटाको प्रशंसा गर्दै यसो भनेका थिए– ‘हिन्दी भाषाका तीन महाकवि प्रसाद, पन्त र निरालाको एउटै सिङ्गो रूप हुन् नेपालका महाकवि देवकोटा ।’ त्यसैगरी पाश्चात्य विद्वान् विलियम जोन्स देवकोटालाई ‘भारतीय सेक्सपियर’ मान्दछन् अनि जर्मन कवि गेटेले पनि यिनको धेरै प्रशंसा गरेको पाइन्छ ।

निथारमा भन्नुपर्दा महाकवि देवकोटाले पाश्चात्य देशमा पनि नेपाली भाषाको महिमा गाएर प्रचार गरेका थिए भन्ने प्रमाण पाइन्छ । अतैव उनले आफ्नो ज्ञानको राँको बालेर विश्वलाई समेत प्रकाशमान बनाएका छन् भन्न नसकिने होइन । पचास वर्ष पनि पूरा नहुँदै यत्रो औधी गर्नु साधारण मानिसको काम होइन, साँच्चै नै महाकवि देवकोटा सरस्वतीका वरदपुत्र हुन् । यस्ता विद्वान्‌को प्रशंसा जति गरे पनि थोरै हुन्छ । देवकोटाले गरेका साहित्यिक कर्मका प्रेरणाले यस अबोधले पनि जानी नजानी उनले रचेको ‘शाकुन्तल’ महाकाव्यको समालोचना गरेर सिङ्गो पुस्तक २००१ मा र उनको जीवनलाई लिएर ‘देवकोटा’ महाकाव्य २००२ र उनकै ‘मुनामदन’ को समालोचना सिङ्गो पुस्तकका रूपमा २००५ मा प्रकाशन गरेर साहित्यिक गुरुको सम्मान गर्ने प्रयास गरेको छु । मलाई धेरै मन परेका र विश्वस्तरीय स्रष्टा पनि यिनै हुन् मैले जानेका ।

नेपाली साहित्यको अझ स्तरीकरणका लागि कसले के गर्नुपर्ला ?   

पहिलो त नेपाली साहित्यको लेखन विधामा परिमार्जित हुनुपऱ्यो । भनौँ मेरो निजी विचारमा विशुद्ध आर्य भाषामा लेखिनुपऱ्यो । त्यहाँ बहिरागत हिन्दी, उर्दू, अरबी, फारसी, तुर्की आदिका शब्दावलीको समिश्रण गरेर नेपाली भाषाको राम्रो अनुहार नबिगारियोस् अनि विश्वभरिका नेपालीहरू एउटै हुन् र भाषा पनि एउटै हो । तसर्थ भाषाको उन्नति र विकासका निम्ति एकरूपता झल्कियोस् । यसो गर्नका निम्ति नेपाल राष्ट्र र भारत मिलेर अन्ताराष्ट्रिय सम्मेलन राखियोस् र सङ्गोष्ठीहरूमा एकरूपताबारे छलफल होस् । कार्यपत्र प्रस्तुत गरिऊन् र कसो गर्दा नेपाली भाषाको सुधार गर्न सकिन्छ त्यसै गरेर विश्वलाई चिनाइयोस्, यो विशुद्ध नेपाली भाषा भनेर ।

आज हाम्रो नेपाली भाषालाई विदेशी भाषाका शब्दावलीले थिचेर चिनी नसक्नु पारेकाले विश्वमा स्थान पाउन सकेको छैन भन्दा अनौठो नहोला भन्छु म । यस्तै नै चलिराख्यो भने कालान्तरमा लोप भएर अस्तित्वहीन हुन बेर छैन । अर्कातिर जातिमा र भाषामा समेत राजनीतिक कारणले छुट्याइन थालिकाएको छ । कतै गार्खा भाषा, कतै नेपाल भाषाका जुधाइले हाम्रो परम्परादेखि चलिआएको मान्यता र स्वीकृति (विशेष गरी असममा थलुवा नेपाली अर्थात् रैथाने नेपालीले हाम्री परिचित छौँ) लाई नहराइयोस् । जातिलाई छुर्क्याएर हामी दुर्बल नबनौँ र विश्वभरिको नेपाल एक हौँ । अब हामी बन्दुके र खुकुरीको वीर नबनेर कलमको वीर भएर विश्वलाई चिनाऊँ । यसैमा हाम्रो गौरव बढ्नेछ । यो दायित्व अबका युवाहरूमाथि आइलागेको छ । नत्र हामी यता न उताका हुनेछौँ र अस्तित्वविहीन हुनेछौँ, यो कुरा गहिरो गरी सोचौँ ।

नवोदित स्रष्टालाई के सल्लाह दिनुहुन्छ ?

हामी जुन देश वा राष्ट्रमा जन्मियौँ त्यही नै आफ्नो जन्मभूमि हो र जन्मभूमिलाई सदैव मातृभूमि सम्झिएर गुणगान गर्नुपर्छ । मातृभूमिको गौरवगाथा गाउँदा वा रचना गर्दा आफ्नो मातृभाषालाई बिर्सनु हुँदैन । मातृभाषा नै हरायो भने हाम्रो अस्तित्व नै रहँदैन । आज हामी अरू-अरू जाति हेरी पछि पर्न गइरहेका छौँ भन्दा अर्घेल्याइँ नहोला । साहित्य, संस्कृति कला आदिमा हामी धेरैपछि परिरहेकै छौँ । त्यो चेतना, लगन र उत्साहमा हामी पछि नै परिरहेका छौँ । तसर्थ अबका नयाँ स्रष्टाहरूले समाज तथा जातिको अगुवा भएर प्रगतिपथमा अगाडि बढ्न सक्ने प्रेरणा आफ्नो विशुद्ध लेखनीद्वारा चेतना जगाऊन् र विश्वमा परिचित हुन सकून् ।

जीवनका भावी लेखकीय योजनाहरू के छन् ?

जीवनमा अझै कति के-के गरुँला भन्ने योजनाहरू थुप्रै नै थिए । असमी मातृभूमिको नाउँमा एउटा महाकाव्य निर्माण गर्ने सङ्कल्प गरेको थिएँ । त्यसैगरी डा. वीरेन्द्रकुमार भट्टाचार्यको अर्को कृति ‘ईयारुङ्गम’ उपन्यासलाई नेपालीको रूप दिन भनेर श्रीगणेश गरेको पनि थिएँ अनि अर्को कवितासङ्ग्रह र समालोचना निकाल्ने मनकामना थियो । उसरी नै आफूले लेखिदिएका रहल भूमिकाहरू र स्वदेश अनि विदेशका सर्जकहरूका अभिनन्दन ग्रन्थमा छापिएका आफ्ना आलेखहरू एकत्र पारेर पुस्तकाकारमा प्रकाश गरुँला भन्ने कल्पना थिए तर विधिको विधान अर्कै भयो ।

२०१९ को वैशाख सङ्क्रान्तिदेखि अचानक भयानक रोगको चपेटामा परेर ती सबै कल्पनाहरू भताभुङ्ग भए । मलाई अन्धकारले घेऱ्यो । तीन महिनासम्म गुवाहाटीको डा. भुवनेश्वर बरुवा केन्सर चिकित्सालयमा बसेर सेकलिनुपरेको थियो । अहिले पनि त्यो रोगसँग लडाइँ गरिरहेको छु । अब रोगमुक्त हुन सकूँ भन्ने उनै दयालु भगवानको प्रार्थना गरिरहेकै छु ।

साहित्यमा लागेर के पाएँ र के गुमाएँ जस्तो लाग्छ ?

साहित्यसिर्जनामा लागेर मैले धेरै थोक पाएको छु; अनमोल सम्पदा पाएको छु किनभने साहित्य सिर्जनातिर नलागेको भए मजस्तो धनहीन र निमुखालाई कसले चिन्दथ्यो होला ? आज विश्वकै नेपाली साहित्य समाजमा परिचिरत हुन पुगेको छु भन्दा बढाएर भनेको नहोला । केवल नेपाली समाज मात्र होइन अनेपाली समाजबाट पनि सम्मान प्राप्त गर्ने सौभाग्य पाएको छु । राष्ट्रिय अन्ताराष्ट्रिय सम्मान र पुरस्कारले सम्मानित र अलङ्कृति हुने सौभाग्य पाएको छु । यो गौरवकै विषय हो भन्ने ठान्दछु । यसका साथै मद्वारा निर्मित कृतिहरू भारतका अनेक विश्वविद्यालयहरूमा नेपाली पाठ्यपुस्तकका रूपमा निर्वाचित भएका छन् । दशौँ कक्षादेखि लिएर एघारौँ, बाह्रौँ, स्नतक र स्नातकोत्तरसम्मका पाठ्यपुस्तकमा समाविष्ट गरिएका छन् । यहाँभन्दा गौरवको कुरा अरू के हुन सक्ला र ?

थप अझ के छ भने मैले आफ्ना प्रकाशित कृतिहरू देश विदेशका विद्वान् एवम् साहित्यकारहरूका साथै संस्थानहरूमा निःशुल्क उपहारस्वरूप पठाएर सेवा गर्ने सौभाग्य पाएको छु र म अत्यन्तै खुसी छु र मनमा अपार आनन्द पनि लागेको छ । हराएको छैन बरु पाएकै छु । यहाँभन्दा अरू के पो चाहिएको छ र ।