साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

नियात्रा – ह्वेलले फ्याँकेको फोहोरा

मनमनै विवेकाको यो उदार हृदयलाई धन्यवाद दिइरहेँ । नत्र त मान्छे धन भए पनि कञ्जुसमाको पनि मक्खिचुस भएको नदेखेको होइन तर उनको कर्म तथा साधनाले उनलाई परिश्रम गर्ने ठाउँ, जाँगर र सिप दिएको थियो । पैसा केमा कति खर्च गर्नु भन्ने अक्कल पनि दिएको थियो ।

Chovar Blues Mobile Size

जुन ६, २०२१ को दिन थियो । बोस्टन घुमघामको मुहूर्त त्यसै बेला जुरेको थियो । अमेरिकाको न्युयोर्क, बोस्टन वा न्युइङ्गल्यान्ड घुम्न जुन/जुलाई जस्तो गर्मी याम अत्युत्तम मानिन्छ । मेरो भदाहा सालो सुमेशको नेतृत्वमा थियौँ हामी । बोस्टन घुम्ने भनेपछि सुमेशको तीव्र इच्छा तथा पहिलो प्राथमिकता समुद्रमा गएर ह्वेल हेर्नु थियो । याने कि ह्वेल वाचिङमा जानु थियो ।

त्यो मेरा लागि कौतुहलको विषय भए पनि पहिलो प्राथमिकतामा थिएन किनभने खासमा म बोस्टन यात्राका दौरान मैले नाम र कामले चिनेका तर प्रत्यक्ष भेटघाट नभएका साहित्यकार साथीहरू अनेसासका केन्द्रीय उपाध्यक्ष गोवर्धन पूजा, कथाकार सुशील नेपाल, उपन्यासकार महेश्वर पन्तसँग भेट्न चाहन्थेँ र गफिन चाहन्थेँ । त्यसैले म न्युयोर्कदेखि नै उहाँहरूसँग सम्पर्कमा थिएँ । ६ जुनको दिन बिहान उहाँहरूसँग भेट्ने कार्यक्रम तय गरिएको थियो तर त्यो कार्यक्रममा हाम्रो त्यो ह्वेल हेर्न जाने कार्यक्रमले बाधा दिइरहेको थियो । साहित्यकार साथीहरू र मेरा बीचमा लगातार सम्पर्क भइरहेको थियो । ह्वेल वाचिङको कार्यक्रमको नाम सुन्नेबित्तिकै साहित्यकार तथा कलाकार महेश्वर पन्त सरले मलाई फोन गरेरै भन्नुभएको थियो — ह्वेल वाचिङमा नजानू सर किनभने त्यहाँबाट फर्केर आउँदा सद्दे मान्छे पनि बिरामी परेर आउँछन् । लखतरान परेर आउँछन् । अझ महिला तथा केटाकेटी छन् भने त बिजोगै हुन्छ । बौरिन नै गाह्रो हुन्छ । बरु बोस्टनमा धेरै घुम्ने रमाइला ठाउँहरू छन् । यतै घुमे पनि भइहाल्छ नि ।

खेमराज पोखरेल

तर हाम्रो टोलीको निर्धारित र अपरिवर्तनीय प्रमुख गन्तव्य नै ह्वेल वाचिङ थियो । विवेकाले बोस्टनमै पढेको भए पनि तथा सुमेश आफैँ न्युयोर्क बस्ने र पटक-पटक बोस्टन पुगेको भए पनि बोस्टनको ह्वेल वाचिङको हाई स्पिड क्रुज चढेका रहेनछन् । त्यसकारणले यो ह्वेल वाचिङ कार्यक्रम हामी सबैका लागि नौलो थियो । ह्वेल वाचिङ नजाने भन्ने सम्भावना नै थिएन । मेरो आफ्नै अन्तरात्मामा पनि एकपल्ट ह्वेल हेर्न पाए त हुन्थ्यो भन्ने अभिलाषा बेस्सरी पलाएको थियो । साहित्यको र ह्वेलको दुवैको तारतम्य मिले त हुन्थ्यो भन्नेमा थिएँ म । समुद्रमा पानी जहाजबाट गएर ह्वेल उफ्रेको दृश्यको कल्पना मेरा दिमागभरि आइरहेको थियो किनभने मैले चित्रमा बाहेक सजीव ह्वेल अहिलेसम्म देखेकै थिइनँ । ह्वेलले समुद्रमा बडेमानका जहाजलाई पल्टाइदिन्छ भनेको सुनेको थिएँ । त्यसैले ह्वेल हेर्न कुतूहल थिएँ ।

अन्ततः १० बजे बिहान ह्वेल वाचिङ जाने र २ बजे फर्कने कार्यक्रम बनाएका थियौँ हामीले । त्यसो गर्दा सोही दिन बेलुकाको ६ बजे नोरबुड बोस्टनमा साहित्यकार साथीहरूसँग भेट्ने कार्यक्रम तय भएको थियो किनभने उहाँहरूको त्यतै बसाइ रहेछ । यो एकदम अनुकूल समय र ठाउँ थियो ।

sagarmani mobile size

६ तारिकको बिहानै हामी खाजा खाएर ह्वेल वाचिङका लागि समुद्रको भँगालो बोस्टन हार्वरतिर लाग्यौँ । ९० डिग्री फोरनहाइट तापक्रम थियो । तापक्रमको परवाह नगरी त्यहाँ त बिहानैदेखि मान्छे खचाखच भरिएका थिए । हार्वरको किनारमा ह्वेलकै आकारको सानो घरमा थियो टिकट काउन्टर । विवेका टिकट काट्न लाइनमा उभिइन् । अनि पो भनिन् — भिनाजु ! दिउँसो ३:३० को मात्र छ टिकट । के गर्ने ?

नजाने सम्भावना थिएन । त्यसैले जाने नै सल्लाह भएअनुरूप विवेकाले कार्ड घोटेर लगभग प्रतिव्यक्ति ६५ डलर दरका टिकट काटिन् । ६ जनाको झन्डै ३६० डलर । म भने त्यो पैसालाई नेपाली पैसामा रूपान्तर गर्दै थिएँ । झन्डै चालिस हजार नेपाली रुपियाँ हुन्थ्यो । ‘पैसा फेको तमासा देखो’ भन्ने हिन्दी गीत याद आइरह्यो । पैसा तिरेको देखेर सायद मेरो अनुहारमा एक खालको विपर्यास फजुल खर्ची झल्को आयो होला अनि मेरो अनुहारतिर हेर्दै हाँस्तै विवेकाले भनिन् — भिनाजु, चिन्ता नगर्नू । मैले एक दिन ओभर टाइम गरेँ भने यो सबै खर्च उठ्छ ।

मनमनै विवेकाको यो उदार हृदयलाई धन्यवाद दिइरहेँ । नत्र त मान्छे धन भए पनि कञ्जुसमाको पनि मक्खिचुस भएको नदेखेको होइन तर उनको कर्म तथा साधनाले उनलाई परिश्रम गर्ने ठाउँ, जाँगर र सिप दिएको थियो । पैसा केमा कति खर्च गर्नु भन्ने अक्कल पनि दिएको थियो । हृदयदेखिकै प्राञ्जल चेत थियो उनको, उनीहरूको । नत्र त फुट्टीकौडी नझिकी बोस्टन घुम्न पाउने सौभाग्य मजस्तो घरबसुवा बेकारीले कहाँ पाउनु ? उनीहरूको सौहार्दता तथा हृदयस्पर्शी सौजन्यको तारिफ गरेर सकिने विषय नै होइन ।

खासमा जहाजमा चढेर समुद्रको परसम्म पुग्ने र बगालमै गएर ह्वेलको प्राकृतिक नृत्य हेर्ने यो कर्म अप्रिलदेखि अक्टुबरसम्म मात्र हुने रहेछ । संयोगले आफू जुन महिनामा पुगेको हुनाले सुनमाथि सुगन्ध भएको थियो । मजाको कुरा त के भने गर्मी याममा यात्रुको चाप असाध्य धेरै हुने भएकाले सिजनमा तथा विकेन्डमा ८ ट्रिपसम्म एउटा जहाजले गरेर धन आर्जन गर्दो रहेछ ।

बोस्टनको यताउति घुमेर हामी बेलैमा बोस्टन हार्बर पुगेका थियौँ जहाज चढ्न । जहाजहरू आइरहेथे र गइरहेथे । यत्तिकैमा एउटा भीमकाय जहाज आयो । जहाजबाट आलसतालस भएर मदौरुजस्ता देखिने मान्छेहरू ओर्ले । यति बेला दिनको ३ बजिसकेको थियो । त्यो भीमकाय जहाज हामी चढ्ने जहाज थियो । जहाजमा चढ्न मान्छे सामाजिक दूरी कायम गरिएको लाइन लागेका थिए । नाकमुखलाई मास्कले छोपेका थिए । यो कुरा व्यवस्थापकका तर्फबाट अनिवार्य गरिएको थियो । नत्र त त्यति बेला बोस्टनका सडकमा मास्क लगाएका मान्छे भेट्न नै मुस्किल थियो । ठाउँ-ठाउँमा स्यानिटाइजर राखिएको थियो । मास्कको पोको बोकेर पाले गेटमा नै उभिएको थियो ।

हाम्रो पालो ३:३० दिउँसो मात्र थियो । यसो सोचेँ ७ बजेसम्म फर्केर आइएला किनकि ३:३० घण्टा लाग्ने समय तालिका थियो । मैले साहित्यिक साथीहरूलाई ७:३० को समयको अवस्था बताएँ । हाम्रो बोस्टन ह्वेल वाचिङ क्रुजको जहाज हाइस्पिडको जहाज थियो । जहाज पनि विचित्रको सुविधासम्पन्न थियो । स्न्याक्स तथा कफी पाइने फास्टफुड रेस्टुरेन्ट पनि थियो । जहाज सहज र कम्फर्टेबल थियो । ४०० मान्छे अटाउने । तीनतिर खुल्ला डेक भएको । जहाजभित्र क्लाइमेट कन्ट्रोल गरिएको थियो ।

बिस्तारै जहाजले गति लिएको थियो । हार्वरबाट मूल समुद्रमा प्रवेश गर्दै थियो । बोस्टनका अग्ला-अग्ला भवनहरू होचिँदै थिए । सुमेश र म जहाजको सबैभन्दा माथिल्लो खुला डेकमा पुगेर समुद्र बाक्लिएको तथा भीमकाय गगनचुम्बी सहर होचिएको दृश्य हर्दे थियौँ । बोस्टन सहर त जङ्गलभित्र पो देखिन्थ्यो । समुद्रका बीचमा टापुहरू देखिए । ती टापुमा गुजमुज्ज सुन्दर बस्तीहरू देखिए । सारथि सुमेशले भने — भिनाजु, यो टापुमा घर किन्न त नेपालीले जति कमाए पनि त्यत्तिकै हो । संसारका मिलियनर बस्ने टापु हो यो ।

समुद्रको किनारमा बोस्टनको एयरपोर्ट थियो अनि फेरि सुमेशले नै मलाई जानकारी गराए — भिनाजु, बोस्टनमा अब ठाउँ बाँकी छैन । त्यसैले यो एयरपोर्ट समुद्र पुरेर बनाइएको हो ।

अहो! विज्ञानले समुद्र पुरेर एयरपोर्ट बनाएको थियो । अब करिबकरिब बोस्टनका अग्ला बिल्डिङहरू देखिन छाडेका थिए । जता हेरे पनि कि त आकाश देखिन्थ्यो । आकाशमा बादल र सूर्य देखिन्थ्यो । कि त समुद्र देखिन्थ्यो । पानी नै पानी । सूर्यको चमकमा त्यो समुद्र चम्किरहेको थियो । जहाजले आफ्नो गति बढाएको थियो । लगभग हाई स्पिडमा थियो जहाज । यस बेला जोडले चलेको बतास र पानीको तरङ्गले रिँगटा लाग्न थालिसकेको थियो । यसको लगत्तै सुमेश तल्लो तलामा बच्चा हेर्न झरिहाले । म एक्लै सबैभन्दा माथिल्लो खुला डेकमा बल गरेर उभिएर समुद्र हेर्न थालेँ । त्यति बेलाको त्यो अनौठो अनुभूति म कसरी वणर्न गरूँ ?

यसै बेला मलाई मेरी सुशाले तल्लो डेकबाट फोन गरेर बोलाइन् । म तल्लो डेकमा आउँदा हाम्रा टोलीका सबै त्यहीँ थिए । खुब रमाइरहेका थिए । डेकमा सबैभन्दा अगाडि गएर उभिएँ । मान्छे टनाटन थिए । एक हुल भारतीय पनि थिए । त्यहीँ एक हप्सी पुरुष र स्पानिस देखिने महिला सायद लोग्ने स्वास्नी वा ब्वायफ्रेन्ड गर्लफ्रेन्ड थिए । जिप्टिएर उभिएका थिए । केटीले एकदमै पारदर्शी पातलो र अल्प लुगा लगाएकी थिइन् । समुद्रको बतासले गर्दा उनी लगलग कामिरहेकी थिइन् । त्यो बतासले उनको भित्री सौन्दर्य बाहिर निकाल्न खोजिरहेको थियो र त्यो पुरुषले आफूले लगाइरहेको अलि मोटो सर्ट ती महिलालाई दियो । अँगालाभित्र च्याप्यो तर ऊ आफू भने एउटा पातलो गन्जीजस्तो लुगामा थियो । उसले ती महिलालाई गरेको मायाँ साँच्चै हेर्नलायक थियो । त्यस क्षणमा मायाँ, यौन, उत्साह, उमङ्ग, उन्मुक्तता तथा रोमाञ्चकता एकैपल्ट उदाएझैँ लाग्थ्यो । मजाको कुरा त के भने मजस्तो नेपाली भने ती जोडी देखेर आकाश खसेजस्तो गरिरहेको थिएँ भने अरू मान्छे त त्यो दृश्यलाई ‘कौन पुछे खेसडीका दाल’ झैँ ठानिरहेका थिए ।

तर जब जहाजले गति लिन थाल्यो मान्छेहरू डेकबाट कोठाभित्र प्रवेश गर्न थाले । हाम्रो टोलीबाट पनि लगालग सबै भित्र पसे । म भने अलि आफूलाई विशेष बलियो देखाउन डेकमा बसिरहेँ । आधा बाटो हिँडिसक्दा त डेकमा एक-दुई मान्छे मात्र थिए । डेकका मान्छे आलसतालस हुँदै थिए । रिँगटा लागेर लड्दै थिए । ह्वालह्वाली बान्ता गरेर कोही समुद्रमा फाल्दै थिए । कोही जिम्मट भने वास्ता नगरी बसेका थिए । जहाजभित्र गरिएका बान्तालाई कर्मचारी नरिसाई स्याहार्दै थिए । मैले नेपालमा बसको यात्रा गर्दा धेरै मान्छेले बान्ता गरेको र खलासीले तिनलाई खलासी गाली गरेको देखेको छु । कति खलासीले त त्यो बान्ता आलसतालस भएका यात्रुलाई नै सोहोर्न लगाएको पनि देखेको छु ।

अँ त जहाजको त्यो डेकमा हाम्रो टोलीको ममात्र टिकेको थिएँ किनभने डेकबाट मात्र राम्रोसँग ह्वेल देखिने अवस्था थियो । चारैतिर हेर्न र रमाइलो हेर्न पाइन्थ्यो । कोठामा पसेपछि त एकातिरको झ्यालबाट देखिने समुद्र र त्यही झ्यालका छेउमा ह्वेल उफ्रियो भने मात्र देखिने सम्भावना हुन्थ्यो । म भने समुद्रको छाललाई हेरिरहेको थिएँ । जहाजको वेगले पानीलाई काट्दा आएको पानीका छिटाले अभिषेक गरिरहेथ्यो । भिजाउन पनि खोज्थ्यो कोही बेला । वातावरण एक दम चिसो भइसकेको थियो । त्यसमाथि बतासे हावाले डेकको छेउमा उभिएका मान्छेलाई उडाएर समुद्रमा फालिदिउँला झैँ गर्दै थियो । बतास यहाँसम्म थियो कि नाकेडाँडीमा बसेको मेरो चस्मा पानीमा हुत्तिनै सोह्रैआना सम्भावना देखेर मैले आफ्नो झोलामा हालेको थिएँ । सबैले ‘बोक्नु पर्दैन स्विटर’ भनेको भए पनि झोलामा यसो लुकाएर बोकेको स्विटर लगाएँ । अलि राहत भयो ।

जहाजको अगाडिपट्टिको थुतुनाले पानीलाई काट्थ्यो र जहाज अघि बढ्थ्यो । यसो गर्दा पानीमा एउटा दह्रो छाल बन्थ्यो । त्यो निकै मनमोहक देखिन्थ्यो । लगभग डेढ घण्टा बितेपछि जहाज सायद ह्वेल क्षेत्रमा पुग्यो क्यार । जहाज घरी उभिने घरी सुस्तरी चाल मारेर हिँड्ने घरी स्पिडमा हिँड्ने गर्न थाल्यो । जहाजमा उभिन मलाई निकै सकस भइरहेको थियो । आफूलाई मर्द करार गर्न म सबै सकस खेपेर डेकमै उभिइरहेको थिएँ । फेरि ह्वेल हेर्ने लोभ पनि त थियो ।

जहाजमा समुद्र, सामुद्रिक जीव तथा ह्वेलका बारेमा ब्रिफिङ भइरहेको थियो । त्यस बेला गर्नुपर्ने सावधानी पनि बताइरहेका थिए । अन्ततः जहाज ह्वेलको घानी भएको ठाउँमा गएर एकछिन उभियो र फेरि हिँड्न थाल्यो । ह्वेल फटाफट उफ्रिन थाले । पहिले यति ठूलो थुतुनालाई पानीबाट बाहिर निकालेर नाकको श्वासबाट कैयौँ ग्यालोन पानी फाल्दो रहेछ । ह्वेलले फालेको पानी निकै ठूलो फोहोराजस्तो देखिन्थ्यो अनि थुतुनो पानीभित्र घुसाएर पुच्छरमाथि निकाल्दो रहेछ । माछाको यामानको पुच्छरजस्तो निकै समय अड्याएर पानीभित्र डुब्दो रहेछ । एउटा ठूलो घर पानीमाथि उफ्रिए र फेरि पानीभित्र बिलाएजस्तो देखिँदो रहेछ । ह्वेलका विविध प्रजाति देख्न पाइयो । जहाजबाट लगातार ब्रिफिङ भइरहेको थियो । ह्वेल देखिने बेला आएपछि सबै यात्रुलाई सूचना दिइँदै थियो । त्यसैबीचमा जहाजकै माइकमा भनेको सुनियो — हेर्नुहोस् । ह्वेलको मुख्य ठाउँमा हामी आइपुगेका छौँ ।

यति भन्दाभन्दै एउटा यामानको ह्वेलले फोहोरा फाल्यो र उफ्रिएर पानीमा डुब्यो । जहाजको माइक भन्दै थियो — हेर्नुभयो नि ह्वेल ! ८० फिट लामो थियो त्यो । सम्भवतः यो धेरै ठूलो ह्वेल हो ।

यस्तो क्रिया करिब १२/१५ पल्ट गरेको देखेपछि हाम्रो जहाजले अब फिर्ने सूचना दियो । जहाजले फेरि घरमुहाँ भएर आफ्नो स्पिड बढाउन थाल्यो । जब जहाजले स्पिड बढायो, म पनि डेकमा उभिन सकिनँ । थ्याच्च भुईँमा बसेँ तर यता र उता हल्लाएर भुईँमा पनि अडिन सकिनँ । मेरो शक्ति एकाएक सयबाट पाँचमा झरिसकेको थियो । शक्ति एकदम क्षीण भइसकेको थियो । अब म रिँगटा लागेर ढल्ने अवस्थामा पुगेँ । अरू केही क्षण म सो डेकमा बसेको भए त्यहीँ बान्ता गरेर इन्तुनचिन्तु हुन्थेँ होला । त्यसैले तुरुन्त डेकबाट केबिनतिर लागेँ । श्रीमती तथा सुमेश, विवेकालाई खोजी हेरेँ तलमाथि । कतै देखिनँ । केबिनभरि मान्छे अर्धचेतन तरिकाले पसारिएका थिए ।

जहाजले हल्लाएर म रक्सीले बेस्सरी मातेर वारिपारि गरेझैँ केबिनभित्र हिँडिरहेको थिएँ । अन्ततः मैले टोलीका कसैलाई पनि देखिनँ । उनीहरूलाई खोज्ने शक्ति अब मसँग थिएन । म ढल्ने अवस्थामा थिएँ । रोटे पिङमा हल्लाएझैँ हल्लिरहेको थिएँ । यत्तिकैमा परबाट कालो धब्बा आँखाको अगाडि आयो । पक्का थियो कि त्यो धब्बा केही निमेषमा मभित्र प्रवेश गर्नेछ र म बेहोस हुनेछु । केबिन पनि खचाखच थियो । संयोगले एउटा सिट खाली रहेछ । म झोलालाई च्यापेर त्यही सिटमा हतारहतार बसेको र अडेस लगाएर सुतेको सम्झना छ । त्यसपछि भने म निदाएछु । निदाएछु त के भन्नु ? इन्तुनचिन्तु भएछु । त्यसपछि के भयो मलाई केही थाहा भएन । मैले आँखा खोल्न सकेकै थिइनँ तर बेहोस नै त भएको थिइनँ होला कि !

लगभग फेरि डेढ घण्टा लगायो होला जहाजले फर्कन । त्यस समय त्यही सिटमा आँखा चिम्लिएर इन्तुनचिन्तु भएर बित्यो । आँखा खोल्न सक्ने हुँदा बोस्टनका हाइराज्ड बिल्डिङ देखिन थालेका थिए । जहाजबाट ओर्लेपछि बल्ल टोली सदस्य भेट भए । सबैको अनुहारले बताउँथ्यो कि ती निकै फत्रक्क देखिन्थे । गलित देखिन्थे ।

त्यसपछि भने मेरा टोलीका सदस्यहरू भन्दै थिए — भिनाजुको साथीले भनेको मान्नुपर्ने रहेछ । यो ह्वेल वाचिङ केटाकेटी लिएर हिँड्ने यात्रा होइन रहेछ ।

म भने हाम्रो टोली हुस्सु भएकोमा आश्चर्य र दिक्क मान्दै थिएँ । लाउने लुगा पातलो भएको थियो । ज्याकेट नबोकेको थक्क-थक्क लागिरहेको थियो । ज्याकेट हाल्न खोज्दा सुमेशले दिदीलाई ‘म ज्याकेट किनिदिउँला’ भनेको कुरा सम्झेर बेस्सरी हाँस्यौँ । समुद्रका बीचमा कता स्विटर किन्नु ? एउटा वाइनाकुलर पनि बोक्नुपर्ने रहेछ । मोसन सिकनेसका लागि ड्रामामाइन भन्ने औषधि एक घण्टा पहिले नै खानुपर्ने रहेछ, हामीलाई थाहै भएन । त्यसैले बाटामा वाइनाकुलरबाट समुद्र हेर्दै गरेका मान्छे देखेर लोभ त लागेको थियो नि !

बेलुका ७:३० मा जहाजबाट झरेका थियौँ । साहित्यकार साथीहरूको म्यासेज आएको आयै थियो । थप कुरा गर्नका लागि मेरो मोबाइलमा चार्ज सकिन थालेको थियो अनि मैले जहाजबाट झर्ने बेलामा ‘आई एम कमिङ । प्लिज वेट मी’ भनेर म्यासेज गर्न त भ्याएँ । मेसेज गयो कि गएन थाहा भएन । त्यसपछि मोबाइल अफ भयो ।

जहाजबाट झर्दा सुमेश, विवेका, केटाकेटी तथा सुशाको हालत विचरा भनेजस्तो थियो । म भने अलि तङ्ग्रिसकेको थिएँ । त्यसपछि उनीहरूका ह्वेल वाचिङका अनुभव छोटकरीमा सुनाइरहेका थिए । सुमेश र विवेकाले झ्यालबाट अलिअलि ह्वेल वाचिङ हेर्न भ्याएछन् । तर मेरी श्रीमती सुशा भने ह्वेल आउनुभन्दा पहिले नै केबिनमा छिरेर ह्वालह्वाली गरिछन् । त्यसपछि लम्पसार परेर इन्तुनचिन्तु भइछन् । जहाजका कर्मचारीले ‘ह्वेल देखिँदै छ, उठ्नुस्’ भन्दा पनि सुतेर उनले समुद्रको क्रुज यात्रा गरिन् । ह्वेल उनले हेर्न पाइनन् । यानि कि हेर्ने बेलामा सुतिन् ।

सुमेशले मलाई साहित्यकार साथीहरूकोमा पुऱ्याउने कुनै अवस्था थिएन र सम्भावना पनि थिएन । हामी सबैको मोबाइल अफ भइसकेको थियो । उबर बोलाउन पनि मोबाइल थिएन अनि विवेकाले कतै गएर ५ मिनेट जति मोबाइल चार्ज गरेर मेरा लागि उबर बोलाइदिइन् । त्यही उबर चढेर म पुग्दा ८:३० जस्तो भइसकेको थियो । नेपाली रेसटुरेन्टमा मलाई पर्खेर कथाकार सुशील नेपाल, साहित्यकार महेश्वर पन्त तथा अनेसासका केन्द्रीय उपाध्यक्ष गोवर्धन पूजा पखेर बस्नुभएको थियो । यो क्षण मेरा लागि अत्यन्त हर्षको थियो । म धन्य महसुस गरिरहेको थिएँ । ६ बजेको समयदेखि नै चिन्नु न जान्नु मान्छेलाई पर्खेर बस्नु उहाँहरूलाई कति उराठलाग्दो भयो होला किनभने त्योभन्दा पहिले मैले उहाँहरूलाई भेटेको थिएन । हाम्रो भलाकुसारी सुरु भएको थियो । ‘ह्वेल वाचिङमा गएर पनि आउनसक्नु भनेको तपाईँ धेरै बलियो मान्छे हो’ भन्नुभयो । म कति मक्ख परेँ होला अन्दाज गर्नुस् है ।

एकएक ग्लास मात्रको प्रारम्भिक सर्तअनुसार वाइन पिउन थालियो । रेस्टुरेन्टआगडिको पेटीमा राखेको टेबुल कुर्सीमा बसेर वाइन पिउँदाको मजाको के बयान गरूँ ? होटल मालिक नेपाली हुनुहुन्थ्यो । नेपाली रेस्टुरेन्ट थियो त्यो । होटल मालिक ज्यादै फरासिलो । उहाँले मेरा नजिकै आएर भन्नुभयो — आफैँले पारेको मही छ । अलिकति खाऊँ है सर ।

महीको कुरा सुनेर मेरो मन रमायो । हरहर भएर आँत सुकेको थियो । त्यसैले ‘हुन्छ’ भनेँ तर उहाँले त वाइनलाई नै अमेरिकाको मोही भन्नुभएको रहेछ । यस्तो कुरा कसरी पो बुझ्नु र ? वाइन पिइरह्यौँ । निकै बेरपछि खाना आयो । निकै मीठो स्वादिष्ट चिकेन । नेपाली मसला, नेपाली स्वाद । नेपाली आत्मीयता । नेपाली सत्कार । नेपालमा आफ्नै घर पुगेको अनुभूति भयो ।

हाम्रा गफहरूमा साहित्य थियो । नेपाली भाषा तथा साहित्यलाई कसरी थप संवर्धन गर्ने भन्ने कुरा थियो । लेखन, प्रकाशन तथा बजार व्यवस्थापनका कुरा थिए । हाम्रो कुरा सकिने छेकछन्द थिएन । धित मरेको थिएन तर समय न हो । मैले फिर्नुपर्ने नै थियो । मोबाइल चार्ज गराइसकेको थिएँ । उबर मगाउन खोजको थिएँ । सुशील नेपाल सरले भन्नुभयो — म पुऱ्याइदिन्छु ।

यसरी उहाँको गाडीमा बसेर आउँदा करिब २५ मिनेटको यात्रामा अन्तरङ्ग गफहरू भए ।

बटोमा भन्नुभयो — यसरी आएर हुन्छ त ? फेरि आउनुस् । मेरो घरमा बस्ने गरी आउनुस् । अनि साहित्यका साथीहरूसँग भेट गर्ने कार्यक्रम गरौँला ।

बाटामा म सोचिरहेँ कि गोवर्धन पूजाले त मेरा बारेमा धेरै जानकारी राख्नुभएको रहेछ । मैले लेखेको मनपराएर पढ्नुहुँदो रहेछ । उहाँसँगको भेटमा म यति प्रफुल्ल भएँ कि कुनै दिन उहाँ अनेसासको अध्यक्षमा उठ्नुभयो भने मेरो भोट पक्का । अरूले नमाग्नुहोला ।

उपन्यासकार महेश्वर पन्तलाई मैले टिभीमा नाच्दै गरेको देखेको थिए । उहाँ त कलाकार पनि बेजोड हुनुहुँदो रहेछ । उहाँको फुर्लुङ उपान्यासले निकै हलचल मचाएको थियो । कति सरल लाग्यो मलाई पन्त सर ।

साहित्यकार सुशील नेपाल सर धन पनि भएको मन पनि भएका स्रस्टा । आफ्नै खर्चमा राजमित्र स्मृति प्रज्ञा-प्रतिष्ठान खोलेर साहित्यको सेवा गर्ने र साहित्यिक कार्यक्रम गर्ने मनकारीसँगको भेटमा पुलकित भएको छु । उहाँका धेरै कथाहरू मैले फेसबुकको कथा पेजमा पढेको छु । प्रतिक्रिया दिएको छु । त्यसैले म अघोरै रमाएँ यो भेटमा ।

फेरि बोस्टन आउने र कथाकार सुशील नेपालको प्रस्तावलाई मैले ‘कुखुरा खान्छस् गोहोरा, भुत्लैसँग’ भन्ने सिद्धान्तअनुरूप ग्रहण गरेँ । मैले ‘हुन्छ’ त भनेँ तर समय उही गतिमा कहाँ हिँड्छ र ? मैले चाहेझैँ डोरिँदैन समय ।

अन्ततः म बसेको होटलअगाडि ल्याएर छोडिदिनुभयो । धन्यवाद भनेर फेरि भेटिने वाचासहित म होटलभित्र छिरेँ । लिफ्ट चढेर आठौँ तलामा रहेको आफ्नो कोठामा पुगेँ । सुशा मेरो पर्खाइमा थिइन् । मचाहिँ लम्पसार परेर सुतेँ । भोलिपल्ट सुमेश मलाई भन्दै थिए — माने मैले भिनाजुलाई । आफू कसरी होटल आइपुगियो थाहा भएन तर भिनाजु त ह्वेल वाचिङपछि पनि नचिनेका साहित्यकारसँग भेट्न त्यति टाढा पुगेर सकुशल आउन सक्ने । भिनाजुको साहित्यप्रतिको समर्पण देखेर छक्क परेँ ।

जे भए पनि मैले साहित्यिक मित्र पनि भेटेँ । ह्वेलको पनि दर्शन गरेँ किनभने आफैँ नमरी स्वर्ग त देखिन्न नि ! बोस्टनलाई धन्य भन्न लाग्यो मलाई । म जब्बर तरिकाले फुर्किएको छु है ।

प्रतिक्रिया
Loading...