बोल्न मात्र मिल्ने भए अदृश्य नै किन नहोस् बुबाले धुवाँभित्रबाटै पक्कै मलाई सायोनारा भनेर जानुहुनथ्यो । त्यो पनि जीवनकै अन्तिम सायोनारा, अर्थात् गुडबाई ।

“सायोनारा….बाबु !सायोनारा …. ! राम्रोसँग बस है । अब म जान्छु ।”

दरो मुटु पारेर बुबा यसो भन्दै बिदा लिनुहुन्थ्यो होला मसँग ।

एक झोक्का हावासँग बहेर आएको धुवाँ मेरो गालामा न्यानो स्पर्श गरेर अकासिएको थियो । मप्रति साँच्चै कति धेरै मायाँ बुबाको । आफू चितामा जल्दै धुवाँ बनिरहँदा पनि मलाई मायाँ गर्न छोड्नुभएको छैन भन्ने कुराको आभास दिलाएर जानुभयो ।

क्रान्ति श्रेष्ठ

त्यो धुवाँ यथार्थमा कहाँ धुवाँ थियो र । त्यो त प्यारको अन्तिम स्पर्श थियो । हो..बुबा मायाँको अन्तिम स्पर्शका लागि धुवाँ बनेर मेरो गाला मुसार्न आउनुभएको प्रतीत भइरहयो ।

चितातर्फ आँखा दौडाएँ । बुबाको नश्वर शरीर खरानी भइसकेको थियो । अदृश्य तर धुवाँको प्रतिरूप भएर गालामा चुमेर मात्र जानुभयो ।

‘सायोनारा’ शब्दसँग बुबा चिरपरिचित हुनुहुनथ्यो । यसकारण कि वहाँ ६ महिना मसँग जापान बसिसक्नुभाथ्यो । त्यति मात्र हैन बुबा कहिलेकाहीँ आफ्नो बैँसको बेलाको “सायोनारा! ..सायोनारा! …बाधा निभाउँगी सायोनारा” भन्ने हिन्दी फिलिमको गाना पनि गुनगुनाउनुहुनथ्यो ।

अघि मात्र भने पनि बोल्न मात्र मिल्ने भए धुवाँको प्रतिरूप भएर आउनुभएको बुबाले गीतमा हिरोलाई हिरोइनले बाधा गरेझैँ मलाई अर्को जन्ममा पनि भेट्ने बाधाका साथ सायोनारा ! भनेर बिदा लिनुहुनथ्यो ।

सुस्तरी अकासिँदै गएको धुँवासँग बुबालाई सम्झेर म पनि धेरै माथि-माथिसम्म कल्पनामा उडिरहेँ । त्यही धुँवा जसभित्र मैले बुबाको आकृति देखिरहेको थिए । हेर्दाहेर्दै आकाशगङ्गामा बिलाउँदै गयो र तल धर्तीबाट अब देखिन छोडयो । अनि त बुबा भन्ने चिज मेरो आँखाबाट सदासदाका लागि ओझेल हुन पुग्यो ।

त्यही दिन राति ओसाका जापानको फ्ल्याइट थियो मेरो तर मिरमिरे बिहानीले बुबा सिकिस्त हुनुभएको दुःखद खबर बोकेर आयो । कुरा खुलस्त गरिएको थिएन । म हतार-हतार आन्तरिक उडानबाट विराटनगर हान्निएँ ।

घरको आँगनमा हरिया बाँसहरू देखेपछि मैले लख काटेँ -बुबाले हामीलाई नराम्ररी झुक्याएर अनन्त यात्राको बाटो तय गरिसक्नुभएछ ।

हामी सानो छँदा सुतेको मौका पारेर थाहा नपाउने गरी झुक्याएर धरान धनकुटा लाग्नुहुन्थ्यो अनि केही समयको अन्तरालमा झोला भरी कोसेली बोकेर फर्कनुहुन्थ्यो तर यसपटक भने अपत्यारिलो तबरमा बुबाले यो संसारिक यात्रालाई सदाका लागि बिट मारिदिनुभयो ।

सुरुमा त म आमाको सामुन्ने देखा पर्नै सकिनँ । जब देखेँ आमालाई मैले थाम्न सकिनँ आफूलाई अनि त आँसुको भेलमा आँसु मिसायर आमा छोरा अँगालो हालेर रोयौँ ।

पसलमा बसिरहेका बेला बुबाको काँधमाथि चढेर बचपनमा धेरैपटक उफ्रिएको छु । फूलपाती बढाइँ हेर्न गएको छु ।
अन्तिम दर्शनपछि शवयात्राका बेला आमाले मलाई भन्नुभएको थियो “बाबु! अगाडि गयर बुबालाई काँध थाप ।”

त्यही काँधमा बोकेर मलाई डुलाउने बुबालाई म भने आफ्नो काँध हालेर त्यस दिन विडम्बनाका साथ सागरतर्फ लम्किरहेको थिएँ ।

शवयात्राअघि घरको आँगनमा चिरनिद्रामा लीन प्रिय बुबाको अनुहारमा मायाँलु स्पर्श गर्दै ती कोमल दारीहरू आफ्ना गालामा दलिरहेँ । जुन दारी सानो छँदा बुबाले हामीलाई दलिदिनुहुन्थ्यो ।

शवयात्रा हेर्न आउने मानिसहरूको भिडबाट कसैको आवाज आयो “बुबाको खुट्टामा पनि ढोक्नू अब । “

ढोक्नलाई जब मैले शिर निहुऱ्याएँ तर सदाझैँ बुबाका खुट्टाहरू ढोगाउनका लागि जुरुक्क माथि उठेनन् ।

जसरी हामीले खुट्टा ढोक्नुपर्ने बेलामा होस् या प्रत्येक दिन आमा देवीथान गएर फूलपाती दिएर ढोग्न खोजेको बेला होस् । सजिलाका लागि बुबा आफ्नो खुट्टा हाम्रो निधारछेउ उचालिदिनुहुनथ्यो ।

त्यही खुट्टा जसबाट मैले सानोमा दुईपटक जोर लात्ती पनि खाएको छु । एकपटक खाना खाँदा आमालाई गनगन गरयो भनेर अनि अर्कोपटक चाहिँ नुहाउँदा आमालाई दुःख दियो भनेर । गन्तीले जम्मा त्यति दुईपटक मात्र हो जीवनमा मैले बुबाको पिटाइ पाएको ।

सुरुमा आइस बक्स (Ice Box) भित्र बुबाको शरीर देखेपछि पृथ्वी पूरै हल्लिएझैँ लागेको थियो । स्वभावले एकदमै कोमल र नरम मेरो बुबा बरफमा चिसिएर कडा हुनुभएको थियो । आफूलाई मायाँ गर्ने मान्छे फ्रिजमा चिसिएको देख्दा कसको चाहिँ मन नभक्कानिएला र? मन र शरीर भारी चट्टानले थिचिएको महसुस भइरह्को थियो ।

अस्पतालमा लगाइएका पुराना लुगाहरू फालिए । कक्रिएको शरीरमा सबै मिलेर बुबालाई मन पर्ने कमिज सुरुवाल र टोपी फेरिदियौँ । अनायास म नोस्टाल्जिक भएँ । बुबा सानो छँदा हामीलाई त्यसरी नै लुगा फेरिदिनुहुन्थ्यो ।

मृत्युपर्यन्त पनि शरीरलाई कहाँ सुख रहेछ र ? घरी चिसो आइस बन्नुपर्ने घरी तातो चितामा जल्नुपर्ने ।

दागबत्तीको लप्काले बुबालाई छोइसकेको थियो । अब हामी क्षणभरमै आफ्नो जन्मदातालाई भौतिक रूपमा सदाका लागि गुमाउँदै थियौ । मन एकतमासले यसरी अत्तालियो कि अब यी आँखाहरू बुबालाई सशरीर हेर्न विमुख हुनेछन् ।

अन्तिम दर्शनका लागि चिताको सामुन्ने गएँ । दाउराले छोपिएर अनुहार राम्ररी देखिएन । खुट्टा र पैतालाहरू बाहिर निस्किरहेका थिए । मैले त्यसैलाई समाएर निकै बेरसम्म ढोग गरिरहेँ अनि मायालु स्पर्शले चुमिरहेँ । मलाई थाहा थियो यो नै अन्तिम सशरीर स्पर्श थियो किनकि बुबा नामको कुनै मान्छेलाई अब म चाहेर पनि छुन सक्दिन थिएँ । तिनै खुट्टा र पैतालाहरू जसलाई यस धरतीमा टेकेर बुबाले हामीलाई हुर्काउनुभएको थियो ।

चितातिर त मैले पटक्कै हेर्न सकिरहेको थिइनँ । छड्के आँखा मात्र दौडाइरहेको थिएँ यसकारण कि आफ्नो आस्थाको धरोहर जलिरहेको कसले पो हेर्न सक्छ र ?

मान्छेको मन न हो । मृत नै किन नहोस् भौतिक शरीर सद्गत नगरिन्जेल बुबा हामीसँगै अझै हुनुहुन्छ भनेर यो मनले चित्त बुझाइरहेको थियो । चितामा जलिरहँदा धुवाँकै रूपमा भए पनि हाम्रै वरिपरि बुबा घुमिरहनुभएझैँ लागिरहेको थियो । जब शरीर खरानी भएर अन्तिम धुवाँ बादलमा विलीन भयो । त्यसपछि सदा-सदाका लागि बुबा अलबिदा हुनुभएको महसुस भयो अनि चाहिँ मन अझ भारी भएर आयो । हामी निःशब्द छटपटाइरह्यौँ । अब घर पो कसरी फर्कने होला? अघि बुबाको साथ आएका हामी बुबाबेगर रित्तो भएर घर फर्किरहेका थियौँ ।

“बुबालाई कहाँ छोडेर आइस् बाबु ? कसरी एक्लै छोडेर आउन सकिस् ?”

घर पुग्नेसाथ आँसुले पूर्ण भएर आफ्नो सहाराको पहाड गर्लम्म ढलेको आमाले पक्कै सोध्नुहुनेछ अनि जबाफ मैले कसरी फर्काउने होला ? फेरि आमाको सामुन्ने कसरी मुख देखाउने होला ? कति कठिन घडी । कति कठिन क्षण ।

लाखौँ भोल्ट बराबरको यस्तो कठिन प्रश्नको जबाफ त सायद भगवान्‌ले पनि दिन सक्दैनन् जस्तो लाग्यो तर हामीसँग प्रश्नको एउटै सजिलो जबाफ थियो-आँखाबाट धरधरी झरिरहेको आँसु, सिर्फ आँसु ।

भाग्यवश भगवान्‌ले पुकारा सुनिदिनुभएझैँ लाग्यो । यस कठिन प्रश्नको जबाफ हामीले दिन परेन यसकारण कि आमाको स्वास्थ्यका कारण क्रियाकर्मका लागि कोठा अलग्गै गरिएको रहेछ ।

आमाको अनुहार नहेरी सिधै हामी अलग्गै कोठामामा पस्यौँ । बरु तीन-चार दिनपछि छातीभरि पीडा बोकेर पनि हाम्रा लागि थोरै मुस्कुराएर आमाले आफैँ कोठा सामने दर्शन दिएर जानुभयो । साँच्चै आमाले गीताको भाव बुझिसक्नुभएको रहेछ । बुबा हामीलाई शून्य पारेर जानुभो तर यसरी सुटुक्क नजानुभए हुनथ्यो ।

परदेश लाग्दा होस् या अन्त कतै जाँदा बुबा कति मजाले चटक्क सामानहरू थोरै ठाउँमा धेरै अट्ने गरी सुटकेसमा मिलाइदिनुहुनथ्यो । अब त्यसरी कसले पो मिलाइदेला ?

बुबा यति चाँडो नजानुपर्थ्यो तर अलि हतार गर्नुभयो ।

हामीहरू घर गएका बेला सुत्ने समयमा बुबाले अघि नै गएर ओछ्यानमा झुल टाँगिदिसक्नुहुनथ्यो । अब त्यसरी सप्रेम कसको पो टाँगिदेला ?

साच्चै बुबा जानुभो तर मनभरि कहिल्यै नरोकिने सम्झनाका तरङ्गहरू फैलाएर जानुभयो ।

भोजभतेरका बेला बुबाले हामीलाई आफैँ अघि सरेर थपी-थपी खुवाउन रहर गर्नुहुन्थ्यो । अब त्यसरी को अघि सरिदेला र ?
हो, बुबा जानुभयो । सँगसँगै सम्झनाका प्रशस्त भकारीहरू छाडेर जानुभयो ।