साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

महिलाहरूले पुरुषले जस्तो मौका पाउँदैनन्

शकुन्तला ज्ञवाली साहित्यिक क्षेत्रमा शकुन ज्ञवालीको नामले परिचित र चर्चित हुनुहुन्छ । हाल अमेरिकाको न्युयोर्कमा बस्नुहुने ज्ञवालीकाे स्थायी बसोबास भने पोखरामा रहेको छ  । समाजशास्त्रमा स्नातकोत्तर गर्नुभएकी मृदुभाषी ज्ञवाली पेसाले जनस्वास्थ्य क्षेत्रमा आबद्ध हुनुहुन्छ । उहाँ विभिन्न साहित्यिक एवं सामाजिक सङ्घसंस्थाहरूमा पनि आबद्ध हुनुहुन्छ ।

प्रस्तुत छ, साहित्यपोस्टका लागि विश्वराज अधिकारीले शकुन ज्ञवालीसँग गरेको कुराकानीकाे सम्पादित अंशः

शकुन्तला ज्ञवाली

‘अमेरिकाभरि र खासगरी न्युयोर्कमा शकुन ज्ञवालीलाई नेपाली साहित्यिक क्षेत्रका व्यक्तिले चिनेकै हुनुपर्छ’, धेरै जनाले यस्तो भनेको सुन्दा तपाईँलाई कस्तो लाग्छ?

धन्यवाद प्रश्नका लागि । खुसी नै लाग्छ । पक्कै पनि धेरै मानिसहरूले आफूलाई चिनेको छु भन्दा प्रशंसा गरेको सुन्दा, खुसी नलाग्ने कुरै भएन । ताली, प्रशंसा कसलाई मन पर्दैन र गाली आलोचना त कसलाई पो प्रिय लाग्छ र?

साहित्यका लागि अन्ताराष्ट्रिय स्तरमा प्रदान गरिने नोबेल पुरस्कार होस् वा राष्ट्रिय (नेपाल) स्तरमा प्रदान गरिने मदन पुरस्कार होस्, यस किसमको पुरस्कार महिलाहरूले कमै पाएको देखिन्छ? महिलाहरूले स्तरीय साहित्य लेख्न नसकेको हो वा महिलाहरूमाथि ठूलो पक्षपात गरिएको हो? तपाईँलाई कस्तो लाग्छ?

महिलाले स्तरीय साहित्य लेख्न सक्दैनन् भन्ने मलाई लाग्दै लाग्दैन । महिलाहरूले त्यस्ता पुरस्कारहरू पाएका छन् तर धेरै कम मात्रै पाएका छन् । महिलाहरूले पुरुषले जस्तो मौका चाहिँ पाउँदैनन् । यो कुरा सत्य हो । मैले अन्तर्वार्ता पढेकी थिएँ, ह्यारी पोर्टर कि लेखिका जे के रोलिङको, उहाँलाई सोधिएको थियो – “तपाईँको नाम पुरुषको जस्तो छ नि ?” उहाँले भन्नुभएको थियो- “मलाई निर्माताले तिम्रो नाम यसरी लेख्दा तिमी धेरै हिट हुन सक्छौ भने । नभन्दै मेरो ह्यारी पोर्टरले निक्कै सफलता पायो ।” हुन त उहाँको नाम त्यसरी नलेखेको भए पनि सफल हुनुहुने थियो तर पनि विकसित देशहरूमा समेत भेदभाव गरिन्छ भने हाम्रो जस्तो देशमा भेदभाव नहुने कुरै भएन ।

अन्तर्वार्ताकार- विश्वराज अधिकारी

३. तपाईँलाई धेरै व्यक्यिहरूले एक अति नै सरल एवं भद्र साहित्यकारको रूपमा चिन्छन् । चर्चित साहित्यकार हुनका लागि के भद्रताले पनि सहयोग पुऱ्याउँछ जस्तो लाग्छ?

मलाई आफू त्यस्तो चर्चित छु जस्तो लाग्दै लाग्दैन दाजु । अरूले मलाई कसरी हेर्नुहुन्छ त्यो उहाँहरूको हेराइ हो । म आफू जे छु वास्तवमै यस्तै छु । मैले समाजमा मलाई राम्रो भनून् वा समाजमा म भद्र देख्यौ भनेर मैले आनीबानी परिवर्तन गरेकी होइन आफ्नो आनीबानी व्यवहार जस्तो छ मानिस त्यस्तै देखिन्छ होला । मलाई देख्नेहरूले सरल र भद्र देख्नुहुन्छ भने त मेरा लागि खुसी कै कुरा हो । रह्यो कुरा सरल र भद्र हुनाले चर्चित हुनमा मदत पुग्छ भन्ने प्रसङ्ग, मलाई त्यस्तो होला जस्तो लाग्दैन ।

४. तपाईँका चारभन्दा बढी कवितासङ्ग्रह प्रकाशित भइसकेका छन् । गीत, गजलहरू पनि धेरै लेख्नुभएको छ । तपाईँको मन परेको विधा कुन हो?

मलाई आफूले लेख्ने सबै विधाहरू मन पर्छ । मैले कविता, गजल, मुक्तक, गीत र कथा लेख्छु । पछिल्ला दिनहरूमा मुक्तक धेरै लेख्ने गरेकी छु तर यो नै बढी मन पर्छ र यो कम मन पर्छ भन्ने छैन । यत्ति हो लेख्न अति मन पर्छ ।

५. कविता र गजल, लेखनको उद्देश्यले यी दुईबिच के-के अन्तरहरू छन् जस्तो लाग्छ?

कविता र गजल दुवै साहित्यका पाटा हुन् कविता लेख्दा गद्य र पद्यमा लेखिन्छ । त्यस्तै गजल लेख्दा पनि गजलको नियमभित्र रहेर लेखिन्छ । गजल प्रायः छोटा नै हुने गर्छन् भने कविताहरू धेरै छोटा पनि हुने गर्छन् र धेरै लामा पनि हुने गर्छन् । कविता वाचन मात्रै गर्न सकिन्छ गजल गेयात्मक हुनुपर्छ भन्ने मान्यता रहेको छ । दुवै साहित्यका सुन्दर पाटा हुन् ।

६. केही मुलुकहरूमा महिलाहरू अहिले पनि आदिम युगको स्थितिमा छन् । ती मुलुकहरूमा घरबाहिर निस्कन माहिलेहरूले एक पुरुष साथी अनिवार्य रूपमा लिनुपर्छ । त्यो स्थितिलाई हेर्दा के नेपालमा महिला स्वतन्त्रता ज्यादै मथिल्लो स्तरमा रहेजस्तो लाग्दैन?

हो, एक्काइसौँ शताब्दीमा पनि कुनै-कुनै देशमा महिलालाई स्वत्रन्तता छैन । तिनको तुलनामा हेर्दा केही स्वत्रन्तजस्तो देखिएको भए पनि नेपालका महिलाहरू पनि स्वत्रन्त्र भैसकेका छैनन् । सहरका केही महिलालाई हेरेर पूरै देशभरिका महिलाहरूलाई एकैनास छन् भनेर अनुमान गर्न मिल्दैन ।

७. तपाईँ अमेरिकाको ज्यादै व्यस्त सहरमा बस्नुहुन्छ । अमेरिकामा लामो बसाइको अनुभव पनि तपाईँसँग छ । नेपाली र अमेरिकी महिलाहरूबिच तुलना गर्दा महिला स्वतन्त्रताको स्थितिमा नेपाली महिलाहरूलाई कहाँ पाउनुहुन्छ?

त्यो त आकाश जमिनकै फरक छ नि । अमेरिकी महिलाहरू हरेक कुरामा अमेरिकी पुरुषसरह स्वतन्त्र छन् । कसैले पनि उनीहरूलाई तिमी महिला भएको कारणले यो गर्न हुँदैन, त्यो गर्न हुँदैन भन्दैन तर नेपाली महिलाहरूलाई धेरै कुरामा बन्देज लगाइन्छ । कानुनमा समान भनेर लेखिए तापनि सामाजिक रूपमा होस् या पारिवारिक रूपमा होस्, घुमाउरो तरिकाले भए पनि बन्देज लगाइन्छ त्यसैले दुई देशका महिलाबिच ठुलो अन्तर छ ।

८. नेपाल वा दक्षिण एसियाको पितृसत्ता समाजले महिलाको अति नै शारिरीक, मानसिक, बौद्धिक शोषण गरेको छ भन्नेहरू धेरै छन् । के तपाईँलाई यो भनाइ सही हो जस्तो लाग्छ?

ती देशहरूमा पहिले त ज्यादै नै शोषित थिए महिलाहरू तर केही वर्षयता निम्न मात्रामा भए पनि शोषणको मात्रा मात्रै घटेको छ तर अझै पनि महिलाहरू शोषित छन् । म सहमत छु त्यो भनाइसँग ।

९. महिलाहरूका लागि शोषण गर्ने आधारभूमि महिलाहरूले नै तयार पार्छन् र त्यसै आधारभूमिमा टेकेर पुरुषहरू महिलाको शोषण गर्न सबल र सक्षम हुन्छन् । यस्तो भन्नेहरूलाई तपाईँ के भन्न चाहनुहुन्छ?

त्यस्तो म मान्दिनँ । केही हदसम्म केही महिलाले त्यसो गर्लान् तर सबै महिलाले गर्दैनन् । त्यो त महिलालाई दोष लगाएर पुरुष पानीमाथि ओभानो बन्न खोजेको मात्रै हो जस्तो मलाई लाग्छ । यसको मतलब मैले सबै पुरुष दोषी नै हुन्छन् भन्न खोजेकी होइन ।

१०. नेपालमा महिलाहरूलाई बलत्कार गरेपछि उनीहरूको हत्या गरिएको पाइन्छ । यो स्थिति समाप्त पार्न के गर्नुपर्छ होला?

त्यसका लागि त सबैभन्दा पहिले कानुन नै कडा बनाउनुपऱ्यो र बनेको कानुन सबै नेपालीलाई समान किसमले लागु हुनुपऱ्यो । आफ्नो पहुँच छ भने बलात्कार, हत्या जे गरे पनि छुट्न सक्छु भन्ने मानसिकता जबसम्म अपराधीमा रहन्छ तबसम्म त्यस्ता जघन्य अपराधका घटनाहरू घटिरहन्छन् । कानुनका साथै सानै उमेरदेखि नै यौन शिक्षा पाठ्यक्रममा समावेश गराएर किशोरावास्थादेखि नै पठनपाठन गराइनुपर्छ । यसका साथै नराम्रा र अश्लील चलचित्रहरू प्रदर्शन गर्न पनि बन्देज गराइनुपर्छ जस्तो मलाई लाग्छ ।

११. तपाईँलाई ज्ञान, विज्ञान, दर्शन, राजनीति, व्यापार, स्वास्थ्य आदि मध्ये कुन विषयमा लेखिएका पुस्तकहरू पढ्न मन लाग्छ?

मलाई अरू सबै किताबहरू पढ्न मन पर्छ तर राजनीतिसम्बन्धी किताबहरू त्यति मन पर्दैन ।

१२. तपाईँ बढी आध्यात्मिक हुनुहुन्छ । त्यस्तो किन हुनुभएको होला?

मलाई सानैदेखि नै यो क्षेत्र मन पर्थ्यो । धेरै आध्यात्मिक पुस्तकहरू पनि पढेकी छु । बरु कतिपय पुस्तकको त नाम पनि अहिले बिर्सिसकेँ । सायद पारिवारिक माहोल पनि त्यस्तै भएर पो हो कि मलाई सानैदेखि त्यतापट्टि झुकाव भयो भन्ने लाग्छ । अहिले पनि समय मिलेसम्म आध्यात्मिक पुस्तकहरू पढ्ने गर्छु ।

१३. तपाईँले पछिल्लोपटक पढेको पुस्तक कुन हो?

मिसेल ओबामाको पुस्तक ‘बिकमिङ’ (BECOMING) हो ।

१४. श्रीमद्भगवद्गीता साहित्य हो वा धर्म ग्रन्थ हो?

श्रीमद्भागवद्गीता धर्म ग्रन्थ हो । यो ग्रन्थभित्र तत्कालीन दर्शन र नीति छ । यिनको साहित्यसँग अन्योन्याश्रित सम्बन्ध रहेको छ ।

१५. तपाईँ स्वास्थ्य क्षेत्रको हो, साहित्यमा कसरी आउनुभयो?

म साहित्यमा सानैदेखि रमाउने मान्छे हो । स्वास्थ्य क्षेत्रमा बरु पछि आएँ । नेपालमा हुँदा मैले समाजशास्त्रमा एमए पास गरेकी थिए । स्वास्थ क्षेत्रमा आउँछु भन्ने त कल्पनासम्म पनि गरेकी थिएन तर जब अमेरिका आएँ । त्यसपछि यहाँ नपढी त भएन भन्ने लाग्यो र पढ्न के पढ्ने त भन्दा प्राविधिक लाइन पढियो भने काम पाउन सजिलो र छिटो हुने र बिरामीको सेवा पनि गर्न पाइने भन्ने लागेर मेडिकल असिस्टेन्ट पढेँ र अहिले म स्वास्थ क्षेत्रमा काम गर्दै छु ।

१६. साहित्य क्षेत्रमा आउन तपाईँलाई कसले प्रेरित गऱ्यो?

म बाहुनको परिवारमा जन्मे । मेरा बुवाआमा दुवै शिक्षित हुनुहुन्थ्यो । म सानी छँदा मेरो आमाले राष्ट्रकवि माधवप्रसाद घिमिरेको गौरी खण्डकाव्य लय हालेर बाचन गर्नु हुन्थ्यो । त्यो मेरो बाल मस्तिस्कमा साहित्य भन्ने त यस्तो मिठो हुदोँ रहेछ भन्ने छाप पऱ्यो । म र मेरा दुई ओटा भाइहरू छन् । हामीले होम्वर्क गर्दा हामीले अल्छी गऱ्यौँ भने बुवाले हामीलाई कथा सुनाउनुहुन्थ्यो । ती कथाहरू सुनेर कतिपटक रुन्थे म । पछि कलेज पढ्ने बेलामा थाहा भयो बुवाले हामीलाई सानो छँदा सुनाएका कथाहरू गुरुप्रसाद मैनालीका, विपी कोइरालाका आदि आदिका कथाहरू पो रहेछन् । बुवाले सुनाउने ती कथाहरूले पनि साहित्यतिर मलाई तान्यो । त्यसैगरी बाहुनको परिवार, घरको हजुरआमाले, मामाघरको हजुरआमाले, दुवैले, रामायणका श्लोकहरू भन्ने, सवाई गाउने, भजन गाउने गर्नुहुन्थ्यो । यी सबै कुराले प्रभावले मलाई साहित्यमा साहित्यमा रुचि जगाइदिएको हो ।

१७. साहित्य र अर्थशास्त्रमध्ये मानव सभ्यताका लगि कुन सर्वाधिक उपयोगी अध्ययनको विषय हो?

साहित्यविना पनि हामी सभ्य समाजको कल्पना गर्न सक्दैनौँ । त्यस्तै गरी अर्थशास्त्रको अध्ययनविना पनि हामी सभ्य समाजको कल्पना गर्न सक्दैनौँ । त्यसैले दुवै अपरिहार्य छन् ।

१८. नेपाली साहित्यकारहरू स्वयं नै धेरै अध्ययन गर्दैनन्, लेखनमा अनुभव, भोगाइ, अवलोकन भन्दा कल्पनालाई बढी आधार मानेर लेख्छन् । यो भनाइ सही हो?

साहित्य लेख्नका लागि त अध्ययन त एकदम जरुरी छ । कतिपयले कल्पनाको आधारमा लेख्नुहोला तर मेरा विचारमा लेख्ने मानिस अध्ययनशील हुनैपर्छ जस्तो लाग्छ । हिजो आज त झन् प्रविधिले कति सजिलो बनाइदिएको छ, कतिपय कुरा श्रव्य दृश्यको माध्यमबाट पनि अध्ययन गर्न सकिन्छ । जुनसुकै माध्यमद्वारा अध्ययन गरे पनि अध्ययन नगरी हुँदैन भन्ने लाग्छ मलाई ।

१९. साहित्य साधना हो वा सोखको विषय हो?

साहित्य साधना हो । साहित्य पूजा हो । साहित्य साधना हो, सोखका लागि त एक दुईपटक मात्र लेखिन्छ । लेख्न छोडिन्छ पनि होला तर निरन्तर कलम चलाउनु त साधना नै हो ।

प्रतिक्रिया
Loading...