न्युजिल्याण्डमा सिचाईँ विज्ञका रुपमा कार्यरत डा. वीरेन्द्र केसीको पहिलो पुस्तक ‘आमाको काखमा दुखेको देश’ कविता सङ्ग्रहबाट प्राप्त लेखस्व साहित्यपोस्टले प्राप्त गर्ने भएको छ ।
भाषा–साहित्यमा अतुलनीय प्रयास गरेको भन्दै डा. केसीले साहित्यपोस्टलाई गरिने सहयोगको यो पहिलो प्रयास भएको बताउनु भएको छ ।

साहित्यपोस्टको सहयोगमा प्रकाशन भएको डा. केसीको पुस्तक ‘आमाको काखमा दुखेको देश’ को विमोचन भोलि शनिबार हुँदैछ । भर्जुअल माध्यमबाट विमोचन हुने उक्त कार्यक्रमलाई साहित्यपोस्टको पेजबाट लाइभ पनि गरिनेछ ।

‘नेपाली साहित्यको संरक्षण र उन्नयनका लागि साहित्यपोस्टले गरिरहेको कार्यबाट साहित्यमा सयौँ नयाँ लेखक जन्मने सम्भावना देखेँ,’ डा. केसीले भन्नुभयो, ‘साहित्यपोस्टको सहयोग नभएको भए मेरो पुस्तक पनि यति चाँडै प्रकाशन हुने थिएन । यो रकम अवश्य पनि थोरै होला तर यसले अरुलाई पनि सहयोग गर्ने बाटो खुल्ला हुनेछ भन्ने विश्वास लिएको छु ।’

विद्यायलय अध्ययन गर्दाताकादेखि नै साहित्यमा रुचि राख्नुहुने केसीका दर्जनौँ रचनाहरू डायरीमा थन्किएका थिए । साहित्यपोस्टको प्रकाशनदेखि नै साहित्यपोस्टसँग जोडिनु भएका केसीलाई पाठकको हौसलापछि सङ्ग्रह प्रकाशन गर्ने हौसला बढेको बताउनु भएको छ ।

‘म आफूलाई कविका रुपमा कहिल्यै सोन्दिन थिएँ । म रहरे कवि हुँ भन्ने लाग्दथ्यो तर साहित्यपोस्टका हजारौँ पाठकहरूले मलाई पढ्नुभयो र केहीले उत्साह दिनुभयो,’ डा. केसी भन्नुहुन्छ, ‘म अझै पनि आफूलाई कवि भन्न डराउँछु तर डायरीमा लेखिएका रचना बाहिर आउनु पर्छ भन्ने सोच चाहिँ राख्छु ।’

निकट भविष्यमै डायरीमा थन्किएका गजललाई सङ्ग्रहका रुमपा ल्याउने सोच राख्नु भएका केसीले त्यसको तयारी सुरु भएको बताउनु भयो ।

‘अब गजल सङ्ग्रह बजारमा ल्याउँछु । कविता सङ्ग्रह निस्किएपछि डायरीमा थन्किएका गजल सङ्ग्रह पनि प्रकाशन हुनुपर्छ भन्ने लागेको छ ।’

डा. केसीको पहिलो पुस्तक ‘आमाको काखमा दुखेको देश’को विमोचन भोलि शनिबार विमोचन हुँदैछ । साहित्यपोस्टमार्फत प्रकाशन भएको उक्त पुस्तकलाई वरिष्ठ कवि निदेश अधिकारी र डा. केसीका मातापिताले विमोचन गर्दै हुनुहुन्छ ।