
कहिलेकाहीँ भ्रमण गर्दा केही यस्ता विषयहरू घटित हुन्छन् जसले मनभित्र अमिट छाप छाडेर जाने गर्दछन् । ती घटनाहरू धेरै समयकालसम्म स्मृतिको फ्रेमभित्र सजिएर बसिरहन्छन् अनि समय-समयमा सम्झनामा आई मनलाई उद्वेलित पारिरहन्छन् ।
प्रसङ्गमा आउँदा, सन् २०१५ को दिसम्बर महिनामा श्रीमतीलाई लिएर मध्यप्रदेशको पन्ना सहरमा एक धार्मिक यात्रामा गएको थिएँ । पन्नामा श्रीकृष्ण प्रणामी सम्प्रदायका तीन प्रमुख धामहरूमध्ये एक ‘श्रीपद्मावतीपुरी धाम’ अवस्थित छ । यस धामलाई ‘श्री प्राणनाथ मन्दिर’-को नामले पनि चिनिन्छ । प्रणामी सम्प्रदायका प्रवर्तक श्री देवचन्द्रजी महाराजका शिष्य श्रीप्राणनाथजी स्वयम् सम्प्रदायका दोस्रो आचार्य धर्मगुरु (गादीपती) हुनुहुन्थ्यो । लगभग पौने चारसय वर्षअघि श्रीप्राणनाथजीले धर्मप्रचारको मार्गमा पन्ना पुगी प्रणामी सम्प्रदायलाई ‘सर्वधर्म समन्वय’-को एक आधार बनाएर विश्वव्यापी भातृत्वको जुन सन्देश दिएका थिए त्यो विश्वमा आज पनि उति नै सान्दर्भिक रहेका छन् । त्यस समयकालमा श्रीप्राणनाथजीले दिएका ती महान् वाणीहरू प्रणामी समाजमा ‘स्वरूप साहेब’ ग्रन्थको रूपमा सदा पूजनीय रहेको छ ।

बिलोक शर्मा (डुवर्स)
त्यसताक मुगल साम्राज्यको विस्तारवादले देशभरिनै आतङ्क फैलिएको थियो । प्रबलप्रतापी हिन्दू राजा छत्रशालले मुगलराजको आनुगत्य स्वीकार गरेका थिएनन् अनि पन्नामा श्रीप्राणनाथजीको आगमनको खबर पाएपछि उनले श्रीप्राणनाथजीसँग भेट गरी, आफ्नो गुरु बनाई भविष्यको मार्गमा दिशानिर्देश पाइरहने आशीर्वाद प्राप्त गरे । श्रीप्राणनाथजीले उनलाई एउटा तलवार प्रदान गरेका थिए अनि भनिन्छ, त्यस तलवारले महाराज छत्रशालले पछि गएर अनेकौँ युद्धहरू जित्न सफल भएँ । महाराज छत्रशालका घोडा जहाँ-जहाँ दौडिन्छ, त्यहाँ-त्यहाँ हिराको खदान भेटिनेछ भनी श्रीप्राणनाथजीले महा-आशीर्वाद दिएका थिए । यी स्वर्णिम ऐतिहासिक तथ्यहरू पन्नास्थित श्रीपद्मावतीपुरी धामको मन्दिर परिसरमा स्थायीरूपले अङ्कित गरिएको पाइन्छ । त्यसैले ‘श्रीपद्मावतीपुरी धाम’ प्रणामी सम्प्रदायका निम्तिमात्र नभई सम्पूर्ण हिन्दू समाजकै निम्ति चार शताब्दीदेखि पूजनीय रहिआएको छ ।
पन्ना (प्रणामीहरू श्रद्धापूर्वक ‘पन्नाजी’ भन्दछन्)-मा श्रीपद्मावतीपुरी धामअन्तर्गत नजिक-नजिक चारवटा ठूल्ठूला मन्दिरहरू रहेका छन्- दुईवटा श्रीप्राणनाथजीका, एउटा श्रीदेवचन्द्रजीका अनि एउटा श्रीप्राणनाथजीकी अर्धाङ्गिनी बाईज्यू महारानीज्यूका । दिसम्बरको अन्तिम साता भएकाले भारतको त्यस प्रान्तमा पनि जाडाले खुट्टा निकै पसारिसकेको थियो । धाममा खाने-बस्ने उत्तम प्रबन्ध थियो । हामी दुवैले रुटिनअनुसार मन्दिरहरूका दर्शन गऱ्यौँ अनि मन्दिरहरूमा गरिनुपर्ने केही पूर्वनिर्धारित विधिहरू पनि समयानुसार सम्पन्न गऱ्यौँ । मन्दिरको सन्ध्याकालीन आरतीको विहङ्गम दृश्य यति भक्तिपूर्ण थियो कि आजसम्म पनि मन-मस्तिष्कमा सजीव भएर बसेको छ ।
जम्मा चार-दिन पन्नामा बिताएर हामी पाँचौ दिन त्यँहाबाट ४०-४५ किमी टाढा खजुराहो घुम्न जाने निर्णय गऱ्यौँ । इतिहासमा रुचि भएकाले आफूलाई ऐतिहासिक खजुराहोबारे बाल्यकालदेखि नै धेरथोर जानकारी थियो नै । खजुराहोमा पुगी चार-पाँच घण्टासम्म त्यहाँको विश्व-विख्यात शिल्पकलाको निरीक्षण गऱ्यौँ । त्यस स्थलमा एक अपरूप सौन्दर्यको साक्षी बन्न गएको अनि यसको उच्चस्तरीय संरक्षनलाई अवलोकन गर्दा साँचो अर्थमा भारतीय हुनुमा गर्वबोध भएर आयो । खजुराहोको विश्वभरि रहेको प्रसिद्धिका कारणहरू त्यहाँका सूक्ष्म कलाकारिताले बारम्बार झल्काइरहेको थियो ।
पाँच दिनको पद्मावतीपुरी धामको यात्रा सिद्ध्याएपछि ३० दिसम्बरको दिन हामी फर्कने तरखरमा लाग्यौँ । सतना सहरदेखि ‘रिवा एक्सप्रेस’-मा दिल्लीसम्मको यात्राका निम्ति हामी समयमै स्टेसन पुग्यौँ । ए.सी.थ्री टियरको तल्लो अनि माझको दुई सिटहरू हाम्रा निम्ति संरक्षित थिए । ट्रेन छुट्ने प्रतीक्षा गरिरहेको बेला हाम्रो अघिल्तिरको तल्लो सिटमा लगभग चालीस वर्षीय एक जना सज्जन देखिने व्यक्ति सानो सुटकेससहित आएर बसे । छेउछाउका अन्य सिटहरू पनि सूचीअनुसार भरिन थाले । केही क्षणमा ट्रेनले पनि प्ल्याटफर्म छोड्यो ।
आफ्नो सिटमा हामी दुई केही बातचित गर्दै थियौँ अनि म भने बेला-बेला प्ल्याटफर्ममा किनेको ‘द टाइम्स अफ् इन्डिया’-का पन्नाहरू पल्टाउँदै थिएँ । ट्रेन छुटेको एक-डेढ घण्टा बितेपछि ती अघिल्तिर बस्ने सज्जन देखिने व्यक्तिले ‘एक्स क्युज् मी….मै कुछ पूछ सकता हूँ?’ भनी अचानक सोधी पठाए । मैले शिर हल्लाउँदै ‘स्युर…’ भनिदिँदा ‘तपाईँहरू कुन भाषामा कुरा गरिरहनुभएको होला…, अघिदेखि सुनिरहेको छु, तर बुझिरहेको छुइनँ’– उनले हिन्दीमा सोधे । ‘ज्यू, नेपालीमा हो…’ मैले हिन्दीमै उत्तर फर्काएपछि ‘अच्छा! नेपालबाट यता घुम्न आउन भएको थियो कि…?’’- उनले प्रश्न तेर्स्याए । उनको प्रश्नले मलाई केही क्षण निरुत्तर बनायो । म निर्निमेष उनलाई हेर्न थालेछु, मलाई थाहा नै भएन । उनले ‘हाँ…जी’ भनेर झकझकाउँदा म झस्किएँ । उनलाई हेरिरहदाँको क्षण मेरो मनभित्र अघिबाट यस्ता धेरै कुराहरूसित आफू अतीतमा पनि ठोक्किन परेको, साथै यस प्रकारको धेरै पढेको, सुनेको कुराहरू मनभित्र तलमाथि गरिरह्यो । ‘छिमेकी देशबाट किन, आफ्नै देशको एउटा सहरबाट आएको नि….’ –मैले उनको अनुहारमा गम्भीर मुद्रामा हेर्दै भनेँ ।
केही अचम्भित भावमा उनले फेरि सोधे- ‘कहाँबाट हुनुहुन्छ तपाईँहरू?’
-‘दार्जीलिङको नाम सुन्नुभएको छ नि….? त्यसकै नजीक डुवर्स भन्ने एउटा क्षेत्रबाट ।’– मैले भने ।
‘हैन, मूल बसोबास त नेपालै होला नि त, हैन…?’-उनको यो सोधाइमा यसपटक म केही जङ्गिएँ ।
-‘नेपाली बोल्दैमा भारतीय हुइँदैन…?’– मैले तिखो स्वरले दह्रो गरी प्रश्न राखेँ ।
-‘हैन नि, मैले जेनेरली……’– उनले बोल्दाबोल्दै मैले कुरा काट्दै ‘तपाईँलाई मैले पाकिस्तान, इराकको नागरिक भन्दा खुसी लाग्छ र?’- मेरो ठाढो प्रश्नले यसपटक उनलाई केही असहज बनायो ।
-‘हैन, त्यसो हैन । दार्जीलिङतिर नेपाली बोल्नेहरू छन् भनेर सुनेको चाहिँ छुँ ।’- केही अकमकिँदै उनले जबाफ फर्काए ।
-‘नेपाली बोल्नेहरू…’ भन्दा के बुझाउन खोज्नुभएको हो? खुलस्त पार्नोस् त…’– म अलिक उत्तेजित नै बनेँ ।
उनका स्पष्टीकरणहरू आइरहे । मैले प्रश्नहरू तेर्स्याइरहेँ । मलाई पहिला प्रश्न सोध्ने व्यक्ति अहिले आफैँ कठघडामा थिए ।
******************
मेरो आफ्नो भ्रमणकालमा भनौँ अथवा उत्तर भारतको दुई सहरहरूमा बसेको अनुभवले भनौँ, नेपालीभाषीहरूलाई ‘भारतीय’ सोच्ने प्रवृत्ति आज पनि छैन । शिक्षितभन्दा शिक्षित व्यक्ति, ठुलोभन्दा ठुलो ओहोदामा काम गर्नेहरू पनि यही वृत्तभित्र पर्दछन् । ‘शर्माजी, नेपाल कहिले फर्कने हो…’, ‘तपाईँहरूको तिर चौकीदारहरू धेरै पाइन्छन् है?’- यस्ता वाक्यहरू सुन्नु नौलो कुरा हैनन् मेरा निम्ति । गतवर्ष त झन् लिपुलेक-कालापानीको प्रसङ्गमा ‘ओलीजीको जरा सम्झाइएना…’ भन्ने वाक्यहरूसमेत सुनिए । माथि उद्धृत गरिएका कुराहरू भारतीय नेपालीभाषीहरूका निम्ति नयाँ कुरा भने अवश्य हैनन् । दार्जीलिङ-डुवर्सदेखि बाहिर बस्ने अथवा देशका विभिन्न प्रान्तहरूमा भ्रमण गरिरहने धेरैसित यस्ता तिता-नमिठा अनुभवहरू छन् ।
एकपल्ट आफू कार्यरत कम्पनीको सि.इ.ओ.ले म शुद्ध शाकाहारी भएको सुनेर ‘शाकाहारी बङ्गाली मान्छे पहिलोपल्ट देखेँ– भनी मन्तव्य गरेका थिए । बङ्गालका बासिन्दा भन्दा उनले मलाई सोझै बङ्गाली भनी ठानेका रहेछन् । ‘म नेपालीभाषी हुँ, गोर्खा….’ -मैले उत्तर फर्काउँदाको लगत्तैपछिको उनको अनुहारको भाव हेर्ने लायकको थियो । त्यसरी नै एकपल्ट भाडाको घरको खोजीको सिलसिलामा एक जना सरदारजीको घरमा पुग्दा मैले त्यस ‘सोसायटी’को सुरक्षा प्रबन्ध कस्तो छ भनी प्रश्न राख्दा उनले ‘चिन्तै गर्नु पर्दैन, दुई जना गोर्खाले रातभरि पूरै सोसायटीको हेरचाह गर्छन्’– भने (चौकीदारले हेर्छन् भनेनन्) । आफूसित घटित भएका यस्ता लछेप्रै उदाहरणहरू रहेका छन् विगत आठ वर्षहरूमा । यसलाई देशको एउटा वैचारिक रोग सम्झेर आफ्नो चित्त शान्त पार्ने गरेको छु ।
ट्रेनमा ती व्यक्तिसित कुरा भइरहँदा मलाई श्री सी. के. श्रेष्ठज्यूको ‘गोरखोंको गुस्सा क्युं आता है’ भन्ने निबन्धको बारम्बार सम्झना आइरहेथ्यो । साथै, एकपल्ट हाम्रा एक प्रतिष्ठित कवयित्रीलाई राष्ट्रियस्तरको सङ्गोष्ठीको मञ्चमै देशका एक अन्यभाषी साहित्यकारले ‘आर यू इण्डियन’ भनी सोद्धा ‘बेटर देन यू’ भनी कवयित्रीले फर्काएका जबाफहरूले मनभित्र कता-कता आफ्नो यो परिस्थितिलाई पनि त्यही घटनाक्रमहरूकै लहरमा उभिएको आभास पनि भइरहेथ्यो । प्राणतुल्य मातृभाषा नै आफ्नो राष्ट्रिय पहिचानको बाटामा पटक-पटक पर्खाल बनेर उभिदिएकोमा छातीभित्रको पीढाबोधलाई आफूभित्रै समेटेर राख्नुबाहेक वर्तमानमा अन्य विकल्प नरहेको भनी आफूलाई आश्वस्त पार्दै आएको छु ।
******************
ट्रेन आफ्नै गतिमा अघि बढिरहेको थियो । यति बेरसम्म कुराकानी गरिसक्दा ती व्यक्तिका प्रश्नहरूले उनको विद्वत्ता पनि झल्काउँदै थियो । त्यति बेरसम्म उनले भारत, नेपाल, दार्जीलिङ, डुवर्स, भारत-नेपाल खुल्ला सीमा, दार्जीलिङ-गोर्खा पार्वत्य परिषद्, अलग गोर्खा राज्यको मुद्दा, दार्जीलिङलगायत उत्तरपूर्वको राजनीतिबारे पनि चर्चा गरिसकेका थिए । तैपनि नेपाली भाषा देशको प्रमुख भाषाहरूमध्ये एक हो भन्दा गुगलमा गई तथ्य देखाउँदामात्रै उनले विश्वास गरे । ट्रेनको गतिको साथ विविध विषयहरूका चर्चाहरू पनि अघि बढिरहेको थियो । गोर्खाहरूको चिनारीको विषयमा अलग राज्यको औचित्यबारेमा नै लगभग एक घण्टा चर्चा (भनौँ, बहस) भइरह्यो ।
झन्डै चार घण्टाको रमाइलो अनि रोचक कुराकानीपछि सामान्य मुद्रामा उनले भने– ‘आफ्नो भाषा, जातिप्रति यति बलियो अनि सकारात्मक सोच राखेर तपाईँले गरेको चर्चाले मलाई पनि धेरै कुराहरूबारे अवगत गराएको छ, साथै आफ्नो भाषा-जातिप्रति तपाईँको मायाँ देखेर साह्रै राम्रो अनुभव गरिरहेछु…. ।’
मैले मुस्कुराउँदै ‘कुनै पनि ठाउँमा गोर्खाहरूबारे कुनै किसिमको नकारात्मक कुराको उठान भए त्यसलाई तपाईँले सच्याइदिने काम गर्नुहुनेछ त…?’ भनी आफ्नो जबाफमै प्रश्न राखेँ ।
अवश्य नै…’ -उनको प्रतिक्रिया थियो ।
निकै बेर कुराकानी गरे पनि त्यति बेरसम्म हामीले पेसागत रूपमा आफ्नो परिचय साटासाट गरेका रहेनछौँ । हाँस्दै दुवै जनाले आफ्नो पर्सबाट भिजिटिङ कार्ड निकालेर एकअर्कालाई दियौँ ।
उनको भिजिटिङ कार्डमा लेखिएको रहेछ-
‘…………………’,
अधिवक्ता
सुप्रिम कोर्ट, तिलक मार्ग,
नई दिल्ली ।
-(डुवर्स, हाल-लुधियाना)
(बिलोक शर्मा मूलतः कवि अनि अनुवादक हुन् । एउटा कविताकृति ‘समयाभास‘ प्रकाशित छ । धेरै फुटकर लेख/निबन्धहरू दैनिक तथा साहित्यिक पत्र-पत्रिकाहरूमा प्रकाशित छन् । निर्वाचित नेपाली कविताहरू बङ्गलामा अनुवाद गरी नियमित देशविदेशका बङ्गला पत्रिकाहरूमा प्रकाशन गरिरहेछन् । उनले केही साहित्यिक पत्रिकाहरूका सम्पादन पनि गरेका छन् ।)
………………………………………………………………………………………..



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

