नेपाली साहित्य समाज क्यानडाले यही अगस्ट २१ शनिबारका दिन बिहान साहित्य ११ र समाजसेवी ११ टिमका बीच मैत्रीपूर्ण फुटबल खेल तथा गाईजात्रा कविता वाचन कार्यक्रमको आयोजना गर्यो।
कार्यक्रममा ग्रेटर टोरन्टो एरिया, अन्टेरियो निवासी नेपाली समुदायको सहभागिता थियो। फुटबल खेलको संयोजनमा रमेश प्रसाईंले सक्रिय भूमिका निर्वाह गर्नुभयो भने समुदायबाट खेल तथा कार्यक्रमको उत्साह बढाउन उल्लेख्य सहभागिता थियो। साथै टोरन्टो एनएससी (Toronto NSC) ले पनि यस कार्यक्रमलाई सहयोग पुर्याएको थियो। एनआरएन क्यानडाका वर्तमान र निवर्तमान दुवै अध्यक्षहरू समेतले हौसला बढाउन उपस्थिति जनाउनुभएको थियो ।
रोमान्चक फुटबल खेलमा समाजसेवी ११ ले विजय हासिल गरेको थियो। सम्पन्न फुटबल खेललाई विनोद पौडेल र भानु शिवाकोटी एवं राजेन्द्र पोख्रेलले आर्थिक सहयोग प्रदान गर्नुभएको थियो भने याम खत्रीले विजेता टिमलाई लन्चको कुपन प्रदान गर्नुभएको थियो ।
खेल सकिएपछि साहित्य समाजका अध्यक्ष खेम गुरागाईंले सहभागी र सहयोगी, स्वयंसेवीहरू सबैलाई धन्यवाद दिँदै व्यङ्ग्य कविता वाचनको कार्यक्रम अघि बढाउन महासचिव मोहन खरेललाई अनुरोध गरेपछि एक दर्जन जति कविता वाचन गरिए। यो सालको गाईजात्रा पर्वको सन्दर्भ जोड्दै हाँस्य व्यङ्ग्य कविता, गजल, तथा चुड्किला प्रस्तुत गरिएको थियो।
सहभागिता जनाउनेहरूमा गोविन्द सिंह रावत, रवीन्द्र लम्साल, अनुप न्यौपाने, पुन्यसागर मरहट्टा, चन्द्र पन्थी, शिशिर पाण्डे, तिलक पौडेल, रविन थपलिया, खेम गुरागाईं, मोहन खरेल र भ्यानकुभर, बि. सि. देखि आएका नेपाली साहित्य समाज क्यानडाका सदस्य राजेन्द्र कार्की रहनुभएको थियो ।
सधैं भानु जयन्तीको अवसर पारेर यसरी नै फुटबल खेल खेल्ने अनि खेल सकिएपछि कविता वाचन गर्ने परम्परा रही आएकोमा अघिल्लो साल कोभिड महामारीका कारण भौतिक उपस्थितिमा यसरी कार्यक्रम संचालन गर्न सकिएको थिएन। कोभिड संक्रमणमा केही कमी आएसँगै लकडाउन खुकुलो भएको मौकामा समुदायबासी यसरी आम्ने साम्ने उपस्थित हुन पाउँदाको खुशी प्रष्ट देख्न सकिन्थ्यो।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।