जीवन भन्नु नै यात्रा रहेछ । नौलो परिवेश, नौलो स्थिति परिस्थिति र नयाँ नौलो व्यक्तिसँग हातेमालो गर्दै अघि बढ्नु नै जीवन रहेछ । आधा दशकभन्दा धेरै वर्ष बिताएको सहर बोस्टन । म र मेरो परिवारले दुःख, सुख र सङ्घर्षका अनगिन्ती प्रवासी जीवनका रोमाञ्चक कथा रचिएको त्यो बोस्टन सहरलाई मनमा बाँधेर वासिङ्गटन डिसी जाने तयारीमा थियौँ । मनमा अनेकौ परिकल्पना गरेको थिएँ । जीवनमा अनेकन् सुखद दिनका सपना देखेको थिएँ । परिवारलाई आड, भरोसा र विश्वास बाँडेको थिएँ । मेरो परिवार मप्रति विश्वस्त थिए र सुखद भविष्यनिमित्त ढुक्क थिए ।
मुमा र बहिनी एलना हामीलाई बिदाइ गर्न तयारीका साथ बिहानै आइपुग्नु भएको थियो । भाइ शिशिरसँग क्याम्ब्रिज सहरमा मुमा बस्दै आउनुभएको थियो । बोस्टनको आर्लिङ्गटनस्थित मेरो एपार्टमेन्ट अगाडी भर्जिनियाका लागि ट्रक तयार थियो । सहयोगका लागि आत्मीय मित्र तथा भाइ समानको राम नगरकोटी न्युयोर्कबाट बिहानै आइपुगेका थिए । विद्या, बबिन र ब्रायन दिउँसो बायुयानबाट भर्जिनिया जाने तयारीमा थिए । बिदाइका लागि मित्रहरू रवीन्द्र र सलिना शाह, डा. महेश मास्के र भाउजू वसन्ती मास्के पनि आइसक्नुभएको थियो ।
हुन त एक हप्ता अघि नै कान्छो छोरा ब्रायनको अन्नप्राशनको समारोहमा मैले बोस्टनवासी सम्पूर्ण मित्र, आफन्त र शुभेच्छुकहरूलाई निम्त्याएर बिदाइको हात हल्लाइसकेको नै थिएँ । उपस्थित हुन नसक्नुभएका कतिपय समाजसेवी मित्रहरूले फोनबाट नै बिदाइ भनिसकेका थिए । आफ्नो छ वर्षको बोस्टन बसाइमा नेपाली समाजमा मेरो सक्रियताको उर्वर समयका लागि धेरै मित्रहरूले अश्रुमिश्रित बिदाइ गरिसकेका थिए । न्युहाम्प्सायर विश्व विद्यालयमा मास्टर्स पढ्दाका सहपाठी मित्र उमेश कोइराला न्युहाम्प्सायरतिर सर्न जोड गर्नुहुन्थ्यो । प्रह्लाद केसी दाइ बस्टनमै राख्न मलाई अन्तिम समयसम्म पनि जोड गर्दै हुनुहुन्थ्यो । जिबिएनसी का अध्यक्ष आशुतोष तिवारीले सामाजिक सञ्जालमा इमेलमार्फत सबैलाई मेरो भर्जिनिया बसाइँसराइलाई लिएर बस्टनलाई घाटा र वासिङ्गटन डिसीलाई फायदा भो भनेर दुःख प्रकट गर्दै थिए । आमा शङ्का गर्दै पटक-पटक सोध्नुहुन्थ्यो “दुई दुई बच्चा छन्, काम र बस्ने व्यवस्था राम्रोसँग भइसकेकै हो त ? कुनै कार्यालयको नियुक्तिपत्र त मसँग थिएन तर सबै व्यवस्थाका लागि आत्मीय मित्रहरूले वचन दिएका थिए । म त्यो वचनप्रति आश्वस्त नै थिएँ । त्यसैले सबैलाई विश्वास दिलाउनका लागि सबै व्यवस्था राम्रो भइसकेको छ भनेर भन्थेँ । आमालाई पनि त्यही दोहोऱ्याएँ । लाग्थ्यो आमा निश्चिन्त हुनुभएको थियो ।
बोस्टन जहाँ मैले अध्ययन गरेँ, प्रवासमा जीवनको कर्मको सुरुवात गरेँ, बोस्टनवासी नेपालीजनहरूसँग आफ्नो भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण, संवर्धन र विकासका लागि विभिन्न कार्यक्रमहरूमार्फत सुखदुःख गर्दै कुममा कुम जोडेर जीवनको मूल्यवान् छ वर्ष बिताएको सहर । अमेरिकाको न्युइङ्ग्ल्यान्डको बोस्टन सहर छोड्न साँच्चै नै साह्रै नमिठो लागेको थियो । जेठा छोरा बबिन दश वर्ष भइसकेको थियो । उसको स्कुल र स्कुले मित्र छोड्नुपर्दाको नैराश्यताले मलाई पटक-पटक सोध्ने गर्थ्यो “ड्याडी हामीले किन बोस्टन छोड्नुपर्ने ? यहीँ बस्दा हुँदैन । अनुनय विनय गरेझैँ अध्याँरो मुख लाउँदै पटक-पटक सोध्ने गर्थ्यो । सानो छोरा छ महिनाको मात्र भएकाले उसले सोध्ने कुरै थिएन । विद्या निश्चिन्त थिइन् । कहिले पनि मप्रति शङ्कालु भइनन् । जे निर्णय गरेँ ठिक मान्थिन् । मेरो निर्णयलाई प्रतिप्रश्न गरिनन् । जहिले पनि मलाई विश्वास, साथ र सहयोग दिँदै आइन् । त्यसैले उनी विश्वस्त र निश्चिन्त देखिन्थिन् ।
वासिङ्गटन डिसी मेट्रोपोलिटन क्षेत्रमा आफ्ना आत्मीय मित्रहरूले साथ सहयोग र वचन दिएका थिए । डिसीमै आफ्नो भविष्य उज्ज्वल हुने मभित्र ठुलो विश्वास र भरोसा जन्मिएको थियो । त्यसैले नै मैले त्यसतर्फ जाने निश्चित गरिसकेको थिएँ । धेरै अवसर भएको अमेरिकाको राजधानी सहर वासिङ्गटन डिसी र मित्रहरूको वचन थियो । त्यसैले यो सुनौलो अवसर गुमाउन चाहिँन र धेरै सम्भावना भएको सहरमा आफ्नो कर्मलाई डोऱ्याउने निश्चय गरेको थिएँ ।
त्यसैले म आफ्नो परिवारलाई भन्ने गर्थेँ “आफ्नो जीवन र परिवारको सुनौलो अवसर र भविष्यका लागि आफ्नो घर र देश त छोडियो भने यो सहर त के हो र ?”
साँझ निकै गहिरिएपछि भर्जिनिया राज्यको वर्क सहरमा मित्र राम खरेलको घरअगाडि हाम्रो ट्रक रोकियो । विद्या र छोराहरू दिउँसो नै पुगिसकेका थिए । त्यही घरमा भेटिए नारायण खरेल, गणेश तिमिल्सिना र बाल सिंह । हामी सबै एउटा छतमुनि एकै परिवारका सदस्य भएर रहने भयौँ ।
अमेरिकाको एउटा राज्यबाट अर्को राज्यमा परिवारसँगै सरेको यो मेरो पहिलो अनुभव थियो । सोचेथेँ देशभित्र नै भएको कारणले छोराको स्कुलको भर्ना, स्वास्थ्यबिमा, सवारी चालक अनुमति पत्र, सबै व्यवस्था सजिलै भइहाल्छ तर सोचेजस्तो नहुँदो रहेछ । सङ्घीय राज्यमा आआफ्नो नियम कानुन हुँदो रहेछ । बबिनको स्कुलमा भर्नाका लागि नेपालबाट भर्खर आए जसरी पूरै भर्ना प्रक्रिया थाल्नुपर्ने भो । स्वास्थ्य परीक्षणका विभिन्न खोपहरू फेरि लाए । अङ्ग्रेजीको परीक्षा फेरि दिएपछि मात्र बर्कको मिडिल स्कुलमा भर्ना भयो । स्वास्थ्यबिमा, चालक अनुमतिपत्र र सरकारी परिचय पत्र बनाउन निकै समय लाग्यो । आआफ्नै राज्यको विभिन्न नियमकानुनअनुसार नेपालबाट भर्खर आएजसरी नै सम्पूर्ण कागजात फेरि मिलाउन निकै समय लाग्यो ।
“सगरमाथा टेलिभिजन” अमेरिकामा स्थापित पहिलो नेपाली भाषाको टेलिभिजन । मित्र राम खरेलले स्थापना र सञ्चालन गर्ने गर्थे । प्रत्येक हप्ताको आइतवार नौ बजे स्थानीय टिभी च्यानेलबाट प्रसारित हुने गर्दथ्यो । विभिन्न कार्यक्रमका समाचार, विविध सँगालो, वार्तालाप र स्थानीय खबरहरू प्रसारण हुने सो टेलिभिजन त्यस समय एकदम लोकप्रिय थियो । आफ्नो मातृभूमिको मायाँ अनि आफ्नो भाषा र संस्कृतिले अभिभूत बनेर प्रवासमा आफ्नो गाँस काटेर “सगरमाथा टेलिभिजन” को स्थापना गरेको विचार पटक-पटक प्रकट गर्थे राम खरेल । जो सत्य थियो । रामले घरकै भुईँ तल्लामा स्थापना गरेका थिए सगरमाथा टेलिभिजनको स्टुडियो । टेलिभिजन प्रसारण गर्न आवश्यक पर्ने सम्पूर्ण सामग्रीसमेत भएको त्यो स्टुडियो निकै व्यवस्थितझैँ नै लाग्दथ्यो ।
भाषा र साहित्यको विकासका लागि मैले अन्ताराष्ट्रिय नेपाली साहित्य समाजमा आबद्ध रहेर गर्दै गरेको एउटा साहित्यप्रेमी व्यक्तिका लागि त सगरमाथा टेलिभिजन घरमै भएको थाहा पाउँदा म निकै हर्षविभोर बनेको थिएँ । त्यसैले सुरुको हप्तादेखि नै मैले सो सगरमाथा टेलिभिजनमा “विविध सँगालो” कार्यक्रमको सञ्चालक बनेर कार्यक्रम सञ्चालन गर्न सुरु गर्न थालें । प्रत्येक हप्ताको बुधवार कार्यक्रम छायाङ्कन गरेर एडिटिङ सकेर कार्यक्रमलाई टेलिभिजन कार्यालय फेयरफ्याक्समा शुक्रवारसम्म बुझाइसक्नुपर्थ्यो । प्रत्येक साता आफ्नो नियमित काम भ्याएर समाचारका लागि विभिन्न ठाउँमा भएको कार्यक्रममा उपस्थित हुनु, समाचार सङ्कलन गर्नु, कार्यक्रम बनाउनु, छायाङ्कन गर्नु अनि एडिटिङ सकेर टेलिभिजन कार्यालयमा बुझाउन जानु रहरमात्र नभएर एउटा ठुलो सङ्कल्प थियो । त्यसैले त राम खरेल भन्ने गर्थे, “आफ्नो देश नेपाललाई कुनै भारतीयले भारतको प्रान्त भनेपछि मनभित्रको राष्ट्रियता जागेर टेलिभिजनमार्फत नेपाल एउटा स्वतन्त्र र सार्वभौमसत्तासम्पन्न देश हो भनेर संसारलाई चिनाउन यो सगरमाथाको सुरुवात गरेको हुँ ।“
सन् २००० सालको जुलाई चारमा जर्जिया राज्यको एटलान्टा सहरमा “एसोसिएसन अफ द नेपलिज इन द अमेरिका” (एएनए) र “नेपलिज एसोसियसन इन द साउथ इस्ट अमेरिका(नासिया)सँग संयुक्त बृहत सम्मेलन हुँदै थियो । यस ऐतिहासिक अधिवेशनको नाम थियो “युनिटी २०००” । तिन दिन सम्म भव्य अधिवेशनमा अन्ताराष्ट्रिय नेपाली साहित्य समाज, वासिङ्गटन डिसी को तत्त्वावधानमा “अन्ताराष्ट्रिय नेपाली कविता महोत्सव”को आयोजना हुँदै थियो । अन्ताराष्ट्रिय नेपाली साहित्य समाजको वासिङ्गटन डिसीबाहिर यो प्रथमपटक कार्यक्रम सम्पन्न हुँदै थियो । त्यस संस्थाको अध्यक्षका नाताले सम्पूर्ण जिम्मेवारी ममा थियो भने सो कविता महोत्सवको संयोजकमा डा. शिव गौतम थिए । प्रतियोगितात्मक कविता गोष्ठीमा प्रथमलाई पाँच सय, दोस्रालाई तीन सय र तेस्रालाई दुई सय डलरको पुरस्कारका लागि करिब करिब सात सय कविताहरू देशविदेशबाट प्राप्त भएका थिए । सो अधिवेशनमा भाग लिन नेपाल बाट डा. ताना शर्मा, डा. अरुण सायमी, आधुनिक आशुकवि रमेश खकुरेल, साहित्यकार गोविन्द गिरि प्रेरणा र कवि विश्व विमोहन श्रेष्ठ नेपालबाट आएका थिए । डा. ताना शर्मा र डा. अरुण सायमीको परिवार वासिङ्गटन डिसी मै आउनुभएको हुँदा डा. ताना शर्मा आफ्नै छोरा अनल शर्माकोमा बस्नुभो भने डा. सायमीलाई चाहिँ राजेन्द्र ओलीसँग चिरपरिचित नभए तापनि अरूको माध्यमबाट उनको घरमा बस्ने व्यवस्था मिलाइयो ।
करिब सात सय दर्शकको उपस्थितिमा सम्पन्न सो भव्य साहित्यिक कार्यक्रममा नेपालबाट भाग लिनुभएका कवि मञ्जुल प्रथम, नम्रता गुरागाईँ दोस्रो र क्षेत्रप्रताप अधिकारी तेस्रो हुनुभएको थियो । सो कार्यक्रम सफलताका साथ सम्पन्न गर्नमा विशेष नियात्राकार जय छाङ्छा राई र बाल सिंहको विशेष भूमिका सराहनीय थियो ।
भर्जिनिया आएको समय दिन बितेर महिना पनि तीन बितिसकेको थियो तर सोचे र खोजेजस्तो काम पटक्कै पाइएन ।
आफ्नो अध्ययनअनुसारको काम पाउन निकै कठिन भएपछि वैकल्पिक कामको खोजी सुरु गर्न थालेँ ।
राम खरेलको घर अलिक साँगुरो भएका कारणले आर्लिङ्गटन सहरको डेनियल स्ट्रिटमा एपार्टमेन्ट लिएर बस्न थालेँ । त्यस अपार्टमेन्ट कम्प्लेक्समा एघार नेपाली परिवारहरू बस्ने गरेका रहेछन् । करिब करिब सय जना नेपाली परिवार रहेको तथ्याङ्क थियो तर सो कम्प्लेक्समा सबै जना सबैसँग चिनजान नै थिएन । सबै व्यस्त र चिनजान नभएकाले आवतजावत र बोलचाल धेरै कमको मात्र थियो । नेपालमा युएनडिपी संस्थामा कार्यरत थुप्रै नेपाली परिवारको बसोबास गर्ने कम्प्लेक्स रहेछ । त्यत्रो ठुलो नेपालीको परिवार बसेको ठाउँमा कोही कसैसँग पनि चिनजान र सम्पर्क नहुनु मलाई साह्रै खट्किन थाल्यो । प्रवासमा आफ्नो देश आफ्नो परिवार नभए पनि आफ्नो देशवासी त आफ्नो परिवारजस्तै त हुन् नि । आफूलाई साथ सहयोग र सुझाव दिने र बुझ्ने त आफ्नै देशवासी त हुन् नि भन्ने मैले ठानेँ । सबै आआफ्नै काममा व्यस्त भए तापनि कतै कहीँ भेट भइहाले पनि अनदेखा गर्दै हिँड्ने अवस्थासम्म थियो त्यति वेला ।
मेरो एपार्टमेन्टका छिमेकी मित्र प्रेम सङ्ग्रौला र मञ्जु भाउजूसँग सल्लाह भयो । सबै नेपाली स्थानीयसँग भेट गर्ने एउटा अवसरका रूपमा पटलक (मिलिजुली खाना ल्याएर गरिने पिकनिक) कार्यक्रम तय गरियो । त्यस पटक पार्टीले सबैसँग चिनजान गर्न सकियो । यस्तो भेटघाट गर्न एउटा निश्चित केही कार्यक्रम बनाउने सबैको अनुरोध र चाहना भयो । त्यसैले सुवास जोशीको एपार्टमेन्टमा सबैको भेलाले “छिमेकी गाउँ” नामकरण गरी दसैँ, तिहार र नयाँ वर्षको कार्यक्रम गर्ने योजना बन्यो । सबै प्रफुल्ल र सहयोगी देखिए । करिब आठ वर्षसम्म यस छिमेकी गाउँले नेपाली भाषा, साहित्य, कला र संस्कृतिको संरक्षणका खातिर नेपाली चाडपर्व र अन्य विशेष कार्यक्रम सफलताका साथ सम्पन्न गऱ्यो । त्यस एपार्टमेन्टका नेपाली बासिन्दाहरू आफ्नो घरव्यवसाय गर्न विभिन्न स्थानमा सर्न थालेपछि “छिमेकी गाउँ” निष्क्रिय भएर गयो ।
०००
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।