नाइजेरिया अफ्रिकी महादेशमा पर्ने त्यस्तो राष्ट्र हो जहाँ अन्य अफ्रिकी राष्ट्रहरूभन्दा ठूलो सङ्ख्यामा मानिसहरूको बसोबास छ । २० करोडभन्दा बढी मानिसहरूको बसोबास रहेको नाइजेरिया जनसङ्ख्याको हिसाबले अफ्रिकाको सबैभन्दा ठूलो राष्ट्र हो ।

साहित्यकार एवं कवि हिक्मत थापाको हालको बसोबास नाइजेरियाको राजधानी लागोस सहरमा रहेको छ । आछाम जिल्लाको पाटेखेत उहाँको जन्मस्थल हो । सन् २००६ देखि लागोसमा बस्दै आउनुभएका थापाका ‘चिबोकका केटीहरू’ नामक कवितासङ्ग्रह (२०७५ साल) पनि प्रकाशित छ । ‘नेपाल-अफ्रिका साहित्य समाज’ का अध्यक्ष रहनुभएका थापा ‘भाषा, साहित्य, संस्कृति तथा सम्पदा समिति, एनआरएनए’ का संयोजक पनि हुनुहुन्छ ।

प्रस्तुत छ साहित्यपोस्टका लागि विश्वराज अधिकारीले हिकमत थापासँग गरेको कुराकानी ।

 

१. आफ्ना बारेमा केही भन्न चाहनुहुन्छ?

पिताजी गगनसिंह थापा लेखक भएकाले सानैदेखि घरमा उहाँका रचना र साहित्यिक पुस्तक, पत्रिका पढ्ने बानी बस्यो । जसले गर्दा म पनि साहित्यमा रुचि राख्न थाले ।

हिक्मत थापा

मेरा पिताजी आख्यानकार गगनसिंह थापा नै मेरो साहित्य अध्ययन र रुचिका लागि प्रेरणाका स्रोत हुनुहुन्छ ।

२. प्रायः नेपालीहरू रोजगारी वा अन्य प्रयोजनले मध्यपूर्व, युरोप, अस्ट्रेलिया, अमेरिका गएको सुनिएको छ । तपाईँलाई अफ्रिका जान के कुराले प्रेरित गऱ्यो?

म अफ्रिका आउनुअघि कामको सिलसिलामा केही समय भारतमा थिए । रोजगारीको राम्रो अवसर पाएर २००६ मा अफ्रिका आएको हुँ ।

३. अफ्रिका महादेश हाम्रा लागि खासै परिचित क्षेत्र होइन । अफ्रिकी महादेशमा पर्ने तपाईँ बसेको देश नाइजिरयमा बस्न तपाईँलाई सांस्कृति, परम्परा, रहनसहन, खानपिन आदि कति अनुकूल हुन्छ? मुख्य गरी नेपाली परम्परा र स्वादका खानेकुराहरू पाउन कत्तिको सजिलो छ?

अफ्रिकामा नेपालीहरू छिटफुट रूपमा सन १९८० को दशकदेखि नै आउन थालेका हुन् । त्यति धेरै नेपाली अहिले पनि छैनन् तर पनि ठुला सहरहरूमा भारतीय समुदाय पहिलेदेखि नै ठूलो सङ्ख्यामा रहेकाले संस्कृति र खानपिनका हिसाबले धेरै असहज भएन । भारतीय रेस्टुरेन्ट र पसलहरू भएकाले अनुकूल खाद्य सामग्री पाइनाले खासै अप्ठ्यारो भएन ।

४. तपाईँ बसेको सहर लागोस एवं नाइजेरियाका बारेमा केही भन्न चाहनुहुन्छ? मुख्य गरी जनसङ्ख्या, समाजिक अवस्था, परम्परा, चाडपर्व आदिका विषयमा ।

नाइजेरिया अफ्रिकाकै सबैभन्दा धेरै जनसङ्ख्या भएको देश हो । लेगोस पनि ठूलो औद्योगिक सहर हो । लेगोसको जनसङ्ख्या मात्र २ करोड छ । अफ्रिकन संस्कृति, खानपिन र चाडपर्व हाम्रा भन्दा भिन्न छन् । सोच र व्यवहार पनि फरक । यिनका आफ्ना परम्परागत चाडपर्व, नाचगान र उत्सवहरू छन् ।

अन्तर्वार्ताकार- विश्वराज अधिकारी

५. नेपालीहरू अहिले संसारका विभिन्न मुलुकहरूमा पुगेका छन् । सुनिन्छ नेपालीहरू दक्षिण अमेरिको मेक्सिको, ब्राजिल, अर्जेन्टिना, बोलिभिया आदि जस्ता देशमा रोजगारी वा अन्य परिस्थितिले पुगेका छन् । नेपालीहरू यसरी संसारभरि छरिनुलाई औसर वा प्रतिभा पलायन समस्याको रूपमा लिनुहुन्छ?

नेपालीहरू अहिले अफ्रिकाका लगभग सबै ५४ देशमा छन् । दक्षिण अफ्रिकामा त नेपालीको दोस्रो पुस्ता नै छ । त्यसै गरी दक्षिण अमेरिकाका ब्राजिल लगाएतका देशहरूमा पनि घरजम गरेर बसेका छन् । रोजगारमा मात्र नभएर अब व्यवसायमा पनि नेपालीहरू स्थापित हुँदै छन् । यसलाई मैले अवसर हो भन्छु । यहाँ रोजगारी पाएकाहरूले आयआर्जन मात्र नभएर सिप र अनुभव पनि आर्जन गरेका छन्, जुन कालान्तरमा नेपालकै लागि काम लाग्ने हो ।

६. नाइजेरिया तथा नेपाली जीवनबिच कुनै उल्लेख्य समानता वा भिन्नता के होला?

नाइजेरिया र नेपाली जनजीवनबिच समानता भन्नुपर्दा यिनको संस्कृति, खानपिन र संस्कार नेपालका आदिवासीहरूसँग धेरथोर मिल्छ । भोजभत्तेर, उत्सव, नाचगान यिनका प्रिय हुन् ।

७. अफ्रिकी साहित्यका बारेमा नेपालीहरूलाई कमै जानकारी छ तर अफ्रिकामा पनि विश्व प्रसिद्ध साहित्यकारहरूको जन्म भएको छ । नाइजिरियन साहित्यकार चिनुआ अचेबेलाई विश्व प्रसिद्ध साहित्यकार मान्ने गरिन्छ । अचेबेलाई ‘अफ्रिकी साहित्यको पिता’ पनि भन्ने गरिन्छ । नाइजेरियनहरूले उनलाई कुन किसिमबाट स्मरण गर्छन्? 

नाइजेरियन साहित्यकार चिनुवा अबेचे विश्व प्रसिद्ध छन् । संसारभरि उनका पुस्तकहरू पढिन्छन् । नाइजेरियामा पनि धेरै सम्मानित छन् । त्यसै गरी अफ्रिकाकै पहिलो नोबेल साहित्य पुरस्कार प्राप्त गर्ने वोले सोयन्का नाइजेरियाकै हुन् । उनी अहिलेका नाइजेरियाका सबैभन्दा प्रसिद्ध र प्रभावशाली व्यक्तित्व हुन् ।

नयाँ पुस्ताका धेरै नाइजेरियन स्रष्टाका पुस्तकहरू युरोप, अमेरिकाकै बेस्ट सेलर पुस्तक हुन्छन् । थुप्रै अन्ताराष्ट्रिय पुरस्कारहरू बर्सेनि पाइरहेका हुन्छन् ।

८. अब केही साहित्यिक कुरा गरौँ । नेपालीहरूले अफ्रिकी जीवनमाथि लेखेको साहित्य कमै छ । तपाईँले अफ्रिकी जीवनमाथि केही लेख्नुभएको छ?

अफ्रिकामा केही वर्ष बसेर गएका वा छोटो समयका लागि आएका नेपाली साहित्यकारका अफ्रिकाका बारेका केही कृतिहरू प्रकाशित भएका छन् । मैले अफ्रिकालाई छोएर केही कविताहरू लेखेको छु । मेरो कवितासङ्ग्रह “चिबोकका केटीहरू” मा पनि ती परेका छन् ।

९. अफ्रिकी जीवनमा कुनै त्यस्तो कुनै उल्लेख्य कुरा देख्नुहुन्छ जुन नेपाली साहित्यमा समावेश गर्नु नेपाली साहित्यको श्रीवृद्धिमा सहयोगी होस्?

धेरै छन् । यहाँको जीवन, भूगोल, प्रकृति र संस्कृति यति विविध र बहुआयामिक छन् कि नेपाली साहित्यमा यी समेटिँदा नेपाली साहित्यको आयाम अझै धेरै फराकिलो बन्छ ।

१०. तपाईँ एक साहित्यिक व्यक्ति हो । यसरी छुट्टिएर (नाइजेरियामा) बस्दा नेपाली साहित्य र साहित्यकारहरू छुटेको जस्तो लाग्दैन?

त्यस्तो लाग्दैन । अहिलेको सञ्चार र प्रविधिको उपलब्धिले गर्दा खासै टाढा भइएको छैन । पुस्तकहरू ल्याइराख्छौँ तर कार्यक्रममा प्रत्यक्ष सहभागिता, कवि लेखकहरूसँगको भेटघाट आदि छुटेजस्तो लाग्छ ।

११. साहित्यमा तपाईँको लेखनक्षेत्र के हो?

मेरो खास लेखनको क्षेत्र कविता हो ।

१२. नाइजेरियाली जीवनमा आधारित तपाईँको कविताकृति “चिबोकका केटीहरू” कस्तो कृति हो? र यसमा के उल्लेख गर्न खोज्नुभएको छ?

यो सङ्ग्रहमा मेरा पुराना र नयाँ कविताहरू छन् । केही नाइजेरियाकै परिवेशमा लेखेका कविताहरू पनि छन् । जस्तै शीर्ष कविता ‘चिबोकका केटीहरू’ सन् २०१४ मा बोको हराम आतङ्ककारीहरूले उत्तरी नाइजेरियाको चिबोकको स्कुलबाट लगभग ३०० जना स्कुले छात्राहरू अपहरण गरी लगेपछि उनीहरूको सम्झनामा लेखेको कविता हो ।

 

१३. साहित्यिक जीवनमा तपाईँले केही लेख्न खोजेको तर त्यो लेख्न खोजेको कुरा लेख्न नपाएको कुनै विधा वा विषय छ?

मैले लेख्न खोजेको अफ्रिकाका नेपालीहरू र अफ्रिकन समाजको चित्रण भएको आख्यान हो, जुन छिटै पूरा गर्छु ।

१४. आफ्नो लेखनमा तपाईँलाई के कुरा उठान गर्न मन लाग्छ?

समाजका विसङ्गति, पीडा र अप्ठ्याराहरू । मान्छेका रहर र भोगाइहरू ।

१५. नेपाली साहित्यलाई अफ्रिकातिर पनि पुऱ्याउन के गर्दा हुन्छ होला?

अनुवाद नै हो । अङ्ग्रेजी, फ्रेन्च र स्थानीय अफ्रिकन भाषामा पुस्तक अनुवाद गरी यहाँका विश्वविद्यालय, पुस्तकालय र पुस्तक पसलहरूमा पुऱ्याउन पाए हुन्थ्यो । त्यसैगरी नेपाली साहित्यकारहरूलाई यता ल्याएर अफ्रिकन साहित्यकारहरूसँग नियमित अन्तस्क्रिया, भेटघाट गराउन सके हुन्थ्यो ।

१६. साहित्य साहित्यकारको भावना हो वा समाजको ऐना हो?

साहित्य समाजको ऐना हो । भावनामात्र भएको साहित्य वास्तवमै साहित्य हो जस्तो मलाई लाग्दैन । भावनाभित्र पनि समाज समेटिनुपर्छ ।

१७. साहित्य र राष्ट्रिय समृद्धि (आर्थिक सम्पन्नता) बिच कुनै सम्बन्ध छ? अर्थात् कुनै राष्ट्रलाई समृद्ध पार्न त्यहाँको साहित्यले सहयोग गर्छ?

साहित्य भनेको समग्रमा ज्ञान हो । साहित्य समृद्ध नभएको समाज आर्थिक रूपमा पनि समृद्ध हुन सक्तैन । साहित्य ज्ञान हो र यसले ज्ञानको माध्यमबाट कुनै पनि देशलाई आर्थिक रूपमा समृद्ध पार्दछ ।