रुनीले हामीलाई दिउँसोको खानामा बोलाएकी थिइन् । रुनीको उल्लेख मैले यसभन्दाअघि पनि अलि-अलि गरिसकेको छु । उनी मेरी भाउजूकी जन्तरी बैनी । शीला दिदीले उनलाई यतै ल्याएर स्थापित गराइदिनुभएको पनि धेरै भयो । सेप्टेम्बर १६ को बिहान एघार बजेतिर दिदी र म घरबाट निस्कियौँ । घरछेउकै आउगाछे ट्राम स्टेसनबाट स्पिटेलाउ मेट्रोसम्म गएर त्यहाँबाट मेट्रो नम्बर U4 मा चढ्यौँ । पाँचओटा स्टेसनपछिको ल्यान्डट्रासे स्टेसनमा ओर्लिएर फेरि अर्को मेट्रो नम्बर U3 मा चढ्यौँ । हामी स्लाक्टहाउस ट्रासे नामक मेट्रो स्टेसनमा ओर्लिएर हिँड्दै गयौँ । साह्रै टाढा रहेनछ रुनीको घर । सरकारी घर भाडामा लिएको रहेछ । भारतका फ्लेटहरूजस्तै । कोठा गन्दा जम्मा चारओटा रहेछन् । दाहिनेतिर बैठक कोठो देब्रेतिर खाने र भान्सा कोठा अनि सिधै मुख्य कोठो । दुई बुढाबुढी मात्रैलाई कति चाहियो र ? हाम्रो यताको झैँ त्यता पाउना आउने चलन साह्रै देखिनँ । पाहुना भनेको हामी नै हौँ । सरकारी घर भएकाले भाडा ३०० युरो रहेछ यदि यही घर प्राइभेट भएको भए सातसय युरो जति पर्ने थियो भन्ने थाहा पाएँ । मेरा ती साढु दाइ फ्रिदरिख दृष्टिशक्ति साह्रै कमजोर भए तापनि साह्रै रमाइला अनि फुर्तिला मान्छे । त्यहाँको चलनअनुसार आफ्ना मन पर्ने मान्छे भेट हुँदा अँगालो हालेर गाला जोड्ने चलन रहेछ । रुनीले मलाई त्यसरी नै स्वागत गरिन् अनि दाजु फ्रिदरिखले पनि । शीला दिदी र रुनीले पनि त्यसै गरे । मेरो दाजु नमस्कार छ है भनेर नेपालीमा नै भनेपछि उनले पनि मलाई नमस्कार मुक्ति भने । थोरै एक दुई शब्द नेपाली बुझ्ने रहेछन् । रुनीले हाम्रो यताको जस्तो खाना बनाएकी थिइन् । मेरा लागि भनेर भेडाको मासु रहेछ । त्यसदिन त्यहाँ बियर नै चल्यो । त्यताको खुवाइको तरिका अर्कै । त्यहाँ वाइन, बियर जे खाए पनि भातसँगै । भात खाइसकेर अलि अलि वाइन वा बियर खाँदै गफ गर्ने त्यो फेरि अर्कै पर्व चल्दो रहेछ । रमाइलो वातावरणमा खाना खायौँ । मेरी श्रीमती दीप्तिले रुनी दिदीलाई भनेर पठाएको सारी दिएँ । रुनी खुसी भइन् साथमा फ्रिदरिखले पनि रोमाञ्चित हुँदै सारीलाई पहिले छामे अनि आँखाको नजिकै लगेर हेरे । पहिले रुनीलाई उनले जर्मनमा केही भने । अनि उनले राम्रो राम्रो भनेर नेपाली शब्द उच्चारण गरे । उनले जर्मनमा पनि राम्रो भन्ने कुरा नै भनेका थिए भनेर दिदीले भन्नुभयो । एउटा कुरा चाहिँ मलाई साह्रै खल्लो लाग्यो । कमसे कम फ्रिदरिखलाई सम्झेर एउटा सर्ट लगेको भए कति राम्रो हुनेरहेछ । जे जति उपहार मैले लगेको थिएँ ती सबै केवल दिदी, रुनी र काथीलाई मात्रै लगिएछ । मलाई त्यहाँ फ्रिदरिखको जोश र खुसी देखेर पछुतो भयो । यो पनि मनमा राख्नुपर्ने अति आवश्यक कुरा रहेछ ।

मुक्तिप्रसाद उपाध्याय (सिलगढी)

खानाको प्रकरण सकेर चारै जना घरबाट निस्कियौँ । विशेष गरी रुनी र फ्रिदरिखले मलाई भिएनाको एकांश घुमाउने विचार गरेका रहेछन् । तीनओटा काला थोपा भएको पहेँलो लुगाको एउटापट्टि घरबाट निस्किन लाग्दा फ्रिदरिखको पाखुरामा बाँधेको देखेँ । दृष्टिशक्ति नभएकाहरूले सो पट्टि लगाएर बाटामा हिँडेको छ भने उसले धेरै प्रकारका सहयोग र सुविधा पाउँछ भन्ने जानकारी पाएँ । हाम्रो यता त्यस खालको चलन देखिँदैन । अँ बसमा भने अपाङ्ग सिट भनेर लेखेको हुन्छ तर त्यसको पालन सहीरूपमा भएको छ छैन भन्ने कुरा शङ्कापूर्ण नै देखिन्छ । मेट्रोसम्म हिँडेर गयौँ । मैले मेट्रो देखेको र चढेको भनेको कलकत्ता र दिल्लीमा हो । त्यहाँ टिकट काट्ने ठाउँमा हुन्छ लामो लाइन अनि कार्ड लिन पनि लाम लाग्नुपर्छ । हुन त दिल्लीको मेट्रोका लागि कार्ड किनेर त्यसमा पैसा भरिराखेको छ भने लाइनमा उभिनु पर्दैन तर के गर्नु, स्टेसनभित्र पस्न सेक्युरिटी चेक गराउन लाइनमा उभिनैपर्छ । ब्याग छ भने पहिले नै स्केनमा छिराउनुपर्छ अनि मान्छेलाई तलदेखिमाथिसम्म मिसिन लगाएर अपराधीलाई जस्तै गरी छाम्छ । त्यसपछि मात्रै प्लेटफर्ममा पस्ने अनुमति पाइन्छ । प्लेटफर्ममा पस्नुअघि पनि गेट हुन्छ । त्यस गेटमा भएको मसिनमा कार्ड छ्वाएपछि मात्रै गेट खोलिन्छ र प्लेटफर्ममा पस्न पाइन्छ । अनि फेरि प्लेटफर्मको भिड त्यस्तै हुन्छ । बीच स्टेसनबाट चढेको छ भने त सिट पाइन्छ भन्ने नचिताए पनि हुन्छ । प्लेटफर्मबाट निस्किँदा पनि गेटमा भएको मसिनमा कार्ड छ्वाउनुपर्छ । अनि बल्ल गेट खोलिन्छ र साथसाथै कार्डबाट के कति पैसा काटियो सो थाहा पाइन्छ तर भिएनामा कतै पनि कुनै पुलिसले रोकेन अनि चेक पनि गरेन । सुरक्षा कर्मी पनि मैले देखिनँ । रुनी, फ्रिदरिख र दिदीको वर्षदिनको कार्ड छँदै थियो भने मसित एक महिनाको । प्लेटफर्ममा पस्न त्यो कार्ड कतै पनि छ्वाउनु वा देखाउनु परेन । फेरि मेट्रोमा मान्छे पनि त्यति धेर हुँदा रहेनछन् । सिट खाली हुँदा पनि मानिस रहरले उभिएका हुन्छन् । ओर्लिएर प्लेटफर्मबाट बाहिर आउँदा पनि केही गर्नु परेन । कति हाइढुक्क ?

स्टेसनमा विशेष ठाउँहरू जस्तै विद्युतीय भऱ्याङ आदिमा चढ्दा र ओर्लिँदा रुनीले फ्रिदरिखलाई हातमा समाएर डोहोऱ्याएको देखेँ । स्वतन्त्र रूपले फ्रिदरिख हिँड्दै गर्दा कतै अप्ठ्यारो पऱ्यो भने मात्रै रुनीको हात उनले समाइहाल्दा रहेछन् । साह्रै मायालाग्दो स्थिति भए तापनि फ्रिदरिखलाई सधैँ फुर्तिलो र आनन्द मुद्रामा नै मैले देखेँ । आनन्द र खुसीमा रहन सक्नु पनि एउटा ठूलो कला रहेछ भन्ने अनुभव गरेँ । जे होस्, हामी स्लाक्टहाउस ट्रासे बाट मेट्रोमा चढेर हेरेन गासे  मेट्रो स्टेसनमा ओर्लियौँ । जर्मन भाषामा गासे भनेको गल्ली अनि ट्रासे भनेको चाहिँ सड्क रहेछ । त्यहाँका गल्ली भनेको पनि हाम्रो यताको लागि त चौडादार मुख्य सड्कजस्ता । हिँड्दै जाँदा, हामी काथीले राति घुमाएको स्टिफेन क्याथेड्रल आइपुग्यौँ । त्यसको छेउछाउको फराकिलो इलाका भनेको पर्यटक आउने, घुम्ने र रमाइलो गर्ने अनि बाटै ढाकेर सजाइएका मुक्त रेस्टुरेन्टका छातामुनिका टेबुल कुर्सीमा बसेर खाँदै, रमिता हेर्दै, आनन्द मनाउने गजब ठाउँ रहेछ त्यो । रात र दिनमा कति फरक ? त्यहाँको त्यो ठाउँ देख्दा यहाँको तुलनामा अति सानै भए तापनि गान्तोकको एमजी रोड र दार्जिलिङको चौरस्ताको सम्झना आयो तर त्यहाँ मुक्त रेस्टुरेन्ट चाहिँ हुँदैनन् । भिएनामा ट्राम, बस, मेट्रो, लिफ्ट, सड्क, बगैँचा सबैतिर मानिसहरू खाँदै हिँडेको देखेँ ।  अनि फेरि ट्राम, बस, मेट्रो, लिफ्ट, सड्क, बगैँचा कतै पनि तरुण तरुणीहरूलाई अँगालो हालेर चाटाचाट गर्न पनि छुट दिएकै देखियो । कसैले उनीहरूतिर हेर्दा पनि हेर्दैनन् तर आफ्ना भने त्यस्तामा बानी नपरेका आँखा अचम्म मानेर चिहाउन खोजिहाल्छन् लगत्तै फेरि झसङ्ग भएर साधारण हुने कोसिस गर्छन्

त्यस्तै त्यस्तै प्रेम र रोमान्टिक परिवेशको सुगन्धको रसपान दृष्टिद्वारा गर्दै स्टिफेन क्याथेड्रलको प्लाट्ज अर्थात् क्षेत्र परिभ्रमण गर्दै हामी  कार्टनार ट्रासे हुँदै अस्ट्रियाका शासकहरूको ऐतिहासिक हफवर्ग महलतिर लाग्यौँ । त्यो महल भिएना स्मार्ट सिटीको मुटुमा रहेको छ । तेह्रौँ शताब्दीमा बनेको त्यस महललाई धेरैपल्ट सुधार संस्कार गरिएको रहेछ । हब्सवर्ग राजवंशको मुख्य शासकीय महल थियो त्यो । अहिले अस्ट्रियाका राष्ट्रपतिको औपचारिक सरकारी बास भवन र कार्यस्थल बनेको छ । यसलाई देखेर काठमाडौँको सिंह दरबारको सम्झना आयो । त्यस महलतर्फ जाँदा बाटामा हेरेनगासे सड्क पर्दो रहेछ । त्यस सड्कका दुवैतर्फ धनी र उच्च ओहदाको ठाँटबाँट देखाउने अभिजातहरूका लागि महँगा सामग्री किनमेल गर्ने पसलहरू रहेछन् । यस्ता ती पसलहरू हाम्रा लागि होइनन् भन्नुहुन्थ्यो दिदी । साथै त्यहाँ देखिएका पाँच-छ तले घरहरू पनि त्यस्तै ठूलाठालुका रहेछन् । भिएनाभरि नै पाँच-छ तलेभन्दा अग्ला घरहरू पनि देखिएनन् । प्राय सबै घरहरू एकनासका दोस्रो विश्वयुद्धमा यहाँका पुराना धेरै घरहरू क्षतिग्रस्त भएका थिए अरे । त्यस ठाउँमा बनेका नयाँ घर र पुराना घरहरूमा स्पष्ट भिन्नता देख्न पाइन्छ । झ्याल ढोका र अग्रभागको शृङ्गार धनको तुजुकले भिन्न पारेको देखियो । महलमा टाँसिएका प्रतिमूर्तिहरूले त्यहाँको कलाकारिताप्रतिको आकर्षण र संस्कृतिको झलक पाइन्छ ।

म भव्य हब्सवर्ग महलअघि गएँ । महलको नजिकै गएर त्यहाँको कलाकरिता हेर्न थालेँ । महलअघि दुइटा घोडाले तान्ने र चार जना बस्न सक्ने रातो र कालो तथा अन्य विभिन्न रङले रङ्गिएका बग्गीहरू लहरै राखिएका हुँदा रहेछन् । ती बग्गीहरूलाई त्यहाँ फियाका भनिँदो रहेछ । त्यति धेरै फियाकाका घोडाहरूका विष्ठा बाटामा कतै देखिएन । पिसाब मात्रै बगेको देखियो । त्यसले पनि दुर्गन्ध चाहिँ फैलाएकै थियो । प्रत्येक घोडाको पछाडि पुच्छरमुनि एउटा थैलो झुन्ड्याइएको हुँदो रहेछ । फ्रिदरिख र रुनीले के सल्लाह गरे कुन्नि उनीहरू फियाकामा चढेर मलाई र दिदीलाई पनि चढ्न भने । त्यस फियाकाले त्यहाँको राजमहलको सबै क्षेत्र र गल्लीहरू घुमाउँदो रहेछ । हुन त राजमहलको क्षेत्र पनि सानो त होइन । लगभग एक घण्टा हामी त्यस फियाकामा घुम्यौँ । रमाइलो नै भयो । त्यस रमाइलो गरेको दण्ड असी युरो तिर्नुपर्दो रहेछ । भारतीय पैसामा साढे छ हजारभन्दा केही धेर ।

हुन त हामी जस्तो निम्न मध्यम वर्गीय परिवारलाई पैसा खर्च गर्नुपर्दा निकै सोचेर गर्नुपर्ने बाध्यता हुन्छ । किनभने सीमित पैसामा जीवन धान्नुपर्छ साथै घुमफिर पनि गर्न मन लाग्छ । राम्रो योजना बनाउन सकिएन भने चर्को परिहाल्छ । जे होस, यसै सिलसिलामा पोहोर म र मेरी श्रीमती दीप्ति दक्षिण भारत घुम्न गएको सम्झना आयो । सम्झनामा आइसकेपछि यहाँ राख्न पनि मन लागि हाल्यो । हामी २०१६ मा मदुराईको मीनाक्षी माताको दर्शन गर्दै, रामेश्वरम र स्वामी विवेकानन्द शिला पनि पुग्यौँ । त्यहाँबाट हामी दक्षिण केराला पुग्यौँ । तिरूअनन्तपुरमबाट ३०-३५ किलोमीटर टाढा पर्ने ब्याक वाटर हेर्न गयौँ । ब्याक वाटर हेर्न मसिनले चल्ने नाउमा सागरमा नै जानुपर्दो रहेछ । त्यस नाउमा छ जना बस्न सक्ने प्रावधान रहेछ तर हामी पऱ्यौँ दुई जना । त्यस एउटा नाउको भाडा रहेछ तीन हजार । हामीले त्यस नाउवालालाई अरू मान्छे खोजेर नाउमा राख्ने कुरा गर्दा नाउवालाले भन्यो – यहाँ त्यस्तो चलन छैन । एउटा नाउमा एउटै परिवारका मानिस मात्रै जान सक्छन् । अन्य परिवारका मानिसले अन्य नाउँ लिनुपर्छ । तुरुन्त हामीले केही भनेनौँ । एकछिन पर्खिएर त्यहाँको वातावरण विचार गऱ्यौँ । जति जना भएपनि एउटा गाडीबाट ओर्लिएपछि एउटा परिवार मान्ने चलन रहेछ त्यहाँ । हामीले तीन दिनका लागि एउटा गाडी नै भाडामा लिएका थियौँ । त्यस गाडीको ड्राइभरलाई सोध्यौँ । त्यसले पनि यहाँ चलन यस्तै देखेको छु भन्यो । के गर्नु त्यति टाढा आएपछि फर्किनु पनि सुहाएन । दुई जना एउटा नाउमा चढ्यौँ र ब्याक वाटर हेर्न हिड्यौँ । ज्वार आउँदा सागरको पानी मोहनाबाट नदीतिर भित्रिनेलाई ब्याक वाटर भनिँदो रहेछ । केराला भारतको सुदुर दक्षिण पश्चिमको प्रकृतिले सजिएको राज्य हो । त्यस नाउले रुख-पातले भरिएको पानीको सानो सुरूङजस्तो बाटाबाट लिएर गयो । कतै त रुखका हाँगा र पात छेल्दैअघि बढ्नु पर्ने स्थिति हुँदो रहेछ । जल र वृक्षहरूको मिश्रण अनौठो लाग्यो । हामीलाई नाउवालाले त्यसरी निकैबेरमा खुल्ला ठाउँमा पुऱ्यायो । त्यस खुल्ला ठाउँमा पुग्नुअघि केही अग्ला विशाल रुखहरूमाथि मचान हालेर साना झुपडी पनि बनाइएका देखिए । रहर गर्ने पर्यटकहरू त्यस्ता झुपडीमा पनि एक दुई रात बिताउन आउँछन् भन्ने जानकारी हाम्रो त्यो स्टिमर चालकले गरायो । त्यस नदी र सागरको मोहनाको खुल्ला ठाउँमा पुगपछि दाहिनेतिर पानीमाथि बनाइएका रिसोर्टहरू अर्थात् भनौँ न सुन्दर नौका होटलहरू पनि देखिए । यसरी नौका होटलहरूको छेउबाट घुमाएर केही पर रहेको गोल्डेन स्याण्ड भन्ने टापुमा पुऱ्यायो । साँच्चै नै त्यस टापुको बालुवा सुनौलो रङ परेकै थियो । हामीलाई ओह्रालेको त्यस बालुवै बालुवामा अन्य धेरै पर्यटकहरू पनि थिए । त्यहाँ दाव अर्थात् पानी मात्रै भएका कलिला नरिवल धेरै पाइने, हामीले एक एक ओटा खायौँ पनि। नरिवलको पानी मीठो थियो। एकछिन घुम्यौँ, घुँडासम्म पानीमा गयौँ, अरूहरू नुहाउँदै रमाएको हेरेर हामी पनि रमायौँ । गोवा गएको बेला हामी दिनै भरि सागरमा नुहाएको सम्झिएँ । नाउलाई तीनहजार तिरेर त्यस ठाउँमा पुग्नु पनि नौलो अनुभव भयो ।

त्यसरी नै भिएनामा फियाकामा घुम्नु पनि एउटा अर्कै आनन्दको अनुभूति भयो । फियाका चालकले नै गाइडको काम पनि गर्दा रहेछन् । हाम्रो फियाका चालक चाहिँ महिला परिछन् । भन्न त भन्दै गइन् उनले तर म पछाडि बसेकाले राम्ररी सुन्न पाइनँ । फेरि जर्मन मातृभाषा हुनेले बोलेको अङ्ग्रेजी उच्चारण बुझ्नु भनेको मेरा लागि चर्कै पऱ्यो । जहाँबाट फियाकाले यात्रा सुरु गरेको थियो त्यहीँ ल्याएर हामीलाई छोडिदियो । फियाकाबाट ओर्लिएर हामी महलको देब्रेतिरको ठूलै बाटो लाग्यौँ । हिड्दै जाँदा हामी राजमहलको निकै पछाडि फराकिला बाटा भएका र बाटाका छेउमा महलजस्ता घर भएको ठाउँमा पुग्यौँ । एकदुईओटा महलजस्ता घरका मुख्य गेटमा सुरक्षा गार्डहरू पनि देखिए । त्यहाँका ती सुन्दर भवनहरू कुनैमा अस्ट्रियाका राष्ट्रपति, कुनैमा प्रधानमन्त्री र त्यहाँका अन्य भवनहरूमा मन्त्रीहरू बस्दा रहेछन् भन्ने कुरा रुनी र दिदीले भन्दै गएपछि मैले थाहा पाएँ । त्यो ठाउँ सुन्दर थियो, सफा अनि सिनिक्क परेका बाटाघाटा थिए । साह्रै भिडभाड पनि थिएन । भारतमा त्यस्ता ठूला व्यक्तित्वहरू बस्ने ठाउँमा सुरक्षा गार्डहरूकै भिडभाड कति हुन्छ कति अनि त्यसरी खुल्ला रूपले साधारण मानिस राष्ट्रपति र प्रधानमन्त्री बस्ने घरका गेटका छेउबाट कहाँ हिँड्न पाइन्छ र ?

आनन्द र स्वतन्त्र मनले स्वच्छ परिवेशबाट हिँड्दै अझ रमाइलो प्रकृतिकै काख जस्तो फर्क्स गार्डेन   पुग्यौँ । त्यस बगैँचामा भित्रिना साथ आनन्दले रमाइरहेको मन खुसीले झन् हलौँ भयो । बगैँचा निकै ठूलो रहेछ । मानिसहरू पनि धेरै । पर्यटकहरू मात्रै होइन । त्यस बगैँचामा बसेर कोही त एकाग्रताका साथ पुस्तक पढिरहेको देखेँ । त्यहाँ विशेष गरी आफ्ना नानीहरूलाई गुडाउने गाडी प्राममा राखेर घुमाउन पनि ल्याउँदा रहेछन् । कुद्न, खेल्न सक्ने नानीहरू कोही आमा-बासित अनि कोही हजुरबा र हजुरआमासित त्यहाँ आएर खेलिरहेको देखियो । ती खेल्ने केटाकेटीले कुनै फूल वा फूलका रुखलाई छोएको भने देखिएन । त्यहाँका नानीहरू पनि संस्कारित । यो बगैँचा हफवर्ग महल कै एउटा अंश रहेछ । शत्रुको आक्रमणबाट सुरक्षाका लागि बगैँचाको पूर्वमा ठूलो सुरक्षा पर्खाल पनि बनाइएको थियो तर सन १८०९ मा नेपोलियनले त्यस क्षेत्रलाई नै ध्वंश पारेको थियो अरे । पछि १८२३ मा यसलाई फेरि बनाइयो । बगैँचाको उत्तर प्रान्तमा अस्ट्रियाकी पटरानी एलिजाबेथको सुन्दर मूर्ति स्थापना गरिएको छ भने अस्ट्रियाका प्रसिद्ध नाटककार फ्रान्ज ग्रिलपार्जरको मूर्ति बगैँचाको दक्षिण प्रान्तमा अवस्थित छ । एउटै बगैँचामा अस्ट्रियाकी पटरानी र साहित्यकारको मूर्ति! कति राम्रो समन्वयको भावना! बगैँचाको सुन्दरता उपभोग गरिसकेर हामी त्यहाँबाट फेरि स्टिफेन क्याथड्रल क्षेत्रमा आइपुग्यौँ । चर्च र क्याथेड्रलमा भिन्नता मलाई थाहा थिएन । त्यसैले दिदीलाई सोधेँ । क्याथोलिक धर्ममा क्याथेड्रा भन्ने ईश्वरको एउटा दिव्य सिंहासन हुन्छ । त्यो सिंहासन सबै गीर्जाघरहरूमा राखिएको हुँदैन । त्यस्तो एउटा क्याथेड्रा यस गीर्जामा सुरक्षित राखिएको हुनाले यसलाई क्याथेड्रल भनिएको हो ।  क्याथेड्रल विशपले सञ्चालन गर्छन् भने चर्च पास्टरले – भनी दिदीले मलाई भन्नु भयो ।

त्यो स्टिफेन क्याथेड्रल क्षेत्र धेरै फराकिलो छ अनि त्यो इलाका हिँड्ने, घुम्ने, बस्ने, खाने, किनमेल गर्ने, रमाइलो गर्ने आदिका लागि प्रसिद्ध छ भन्ने कुरा पहिले पनि उल्लेख गरिसकेको छु । हिँड्दा हिँड्दै दिदी, रुनी र फ्रिदरिख तीन जना जर्मन भाषामा केही गफ गरे । त्यसपछि उनीहरू सी एण्ड ए भन्ने एउटा ठूलो मलमा पसे । ज्याकेटै ज्याकेट भएको विभागतिर जाँदै गर्दा दिदीले भन्नुभयो – मुक्ति ! एउटा ज्याकेट छान । तिमीलाई तिम्रो साडु दाइ फ्रिदरिखले एउटा ज्याकेट किनिदिने कुरा गऱ्यो । मलाई त्यस्तै त्यस्तै कुराको शङ्का त लागेकै थियो । म मुसुक्क हाँसेर भने – मलाई यहाँका सामानबारे त्यति थाहा छैन । तपाईँहरूले नै हेर्नुहोस् मलाई मन परिहाल्छ । रुनी र दिदीले धेरै ज्याकेटहरूबाट एउटा ज्याकेट छानेर निकाले अनि त्यसलाई पहिले फ्रिदरिखलाई दिए । उनले त्यस ज्याकेटलाई राम्ररी छाम्दै आँखा नजिकै लगेर हेरे । उनले सो ज्याकेट मन पराए । अनि मलाई मन पऱ्यो वा परेन भनेर सोधे । माया र प्रेम मुछिएको उपहार मलाई मन नपर्ने कुरै भएन । लाएर हेर्दा त्यो ज्याकेट मलाई ठिक्क भयो । त्यो ज्याकेट हातमा लिएर उनीहरू फेरि सुइटर भएको ठाउँतिर गए र एउटा गुलाबी रङको सुइटर छानेर मलाई लगाएर हेर्नु भने । नभन्दै त्यो पनि ठिक्क भयो । काउन्टरमा पैसा तिरिसकेर ज्याकेट र सुइटर भएको थैलो फ्रिदरिखले मलाई दिए । अति खुसी व्यक्त गर्दै मैले फ्रिदरिख अनि रुनीलाई धन्यवाद दिएँ । पहिलो भेटमा फ्रिदरिख फर्साइला, सरल मान्छे हुन् भन्ने कुराको अड्कल मैले गरिसकेको थिएँ । उनको मन पनि आत्मीयताले भरिएको ठूलै रहेछ भन्ने कुराको प्रमाण उपहारले गराइ हाल्यो । त्यसपछि एउटा मुक्त रेस्टुरेन्टअघि भएको खुल्ला ठाउँमा छातामुनि राखिएका कुर्सीमा बसेर हल्का खाजा र बियर खायौँ । त्यसदिनको भिएनाको एकांश हेराइर घुमाइ पनि मेरा लागि अविस्मरणीय बन्यो ।

सेप्टेम्बर २५ को साँझ अँध्यारो निकै छिप्पिएपछि म सल्जवर्गबाट फर्किएँ । रुनी र फ्रिदरिख दिदीको घरमा आइसकेका रहेछन् । दिदीले उनीहरूलाई रातिको खाना सँगै खान बोलाउनु भएको रहेछ । त्यस उमेरमा पनि दिदीलाई मान्नुपर्छ । मभन्दा जेठी मान्छे जाँगर कति हो कति !  त्यसदिन दिदीले सेलरोटी पकाउनु भएको रहेछ । हातमुख धोएर म पनि उनीहरूको साथमा बसेँ । सेलरोटी, आलुको अचार, फर्सीको सब्जी र वाइन खाँदै गफ गर्दा समय बितेको थाहै भएन । भोलिपल्ट दिदीको कतै कोर्टमा काम थियो । घरमा म एक्लै हुन्छु भनेर रुनीले मलाई बोलाइन्। जता गए नि मलाई घुम्न र खान पाए अरू के पो चाहिन्थ्यो र ! रुनी र फ्रिदरिख राति एघार बजेतिर घर फर्किए ।

 सेप्टेम्बर २६ शुक्रबारका दिन म सधैँ झैँ बिहानै उठेँ । दिदी कफि खाँदै कोर्ट्को आफ्नो काम गर्दै हुनुहुन्थ्यो । नित्य कर्म सकेर चिया पकाएर चिया-बिस्कुट खाएँ अनि साथमा औषधि त छँदै छ। सबैथोक तिमीले देखेकै छ । भोक लाग्यो भने मन लागेका कुरा निकालेर खानू – भन्नुभयो अनि आफू चाहिँ ब्रेड अण्डा र दूध खाएर नौ बजेतिर कोर्टको काममा निस्किनु भयो । रुनीले फोन गर्छु भनेकी थिइन् । कतिखेर गर्ने हुन् अनि मलाई हतार पो हुने हो कि भन्ने पनि सोचेँ । त्यसैले कुखुराको मासु ओभनमा तताएँ, ठूलो ब्रेडबाट अड्कलेर मलाई चाहिने जति काटेँ, रातिको आलुको अचार पनि लिएँ अनि एउटा ग्लासमा अलिकति वाइन ल्याएँ । आनन्दले एक्लै बसेर खानेकुरा अघाउँजी खाएँ । खाइसकेपछि वाइन सुरूप्प पार्दै घरमा फोन गरेँ । हिजो घुमेका ठाउँहरूको नाम अलि अलि टिपि राखेको थिएँ । तिनलाई अलिक मिलाएर लेखौँ भनेर लेख्न थालेँ । दिदीको ल्यान्ड फोन बज्यो । रुनीले फोन गरिन् भनेर सुनेँ तर त्यो फोन आशाको रहेछ – भेना नमस्कार, तपाईँ एक्लै हुनुहुन्छ भनेको थाहा पाएँ । शीला दिदीले फोन गर्नु भएको थियो । मेरो पनि आज काम छैन । कस्तो मिलेको रहेछ आजको दिन । म आउँछु साली भेना रमाइलो गरौँला ।

हुन्थ्यो नि हौ हुन्थ्यो, साली भेना रमाइलो गर्न हुन्थ्यो तर मेरै दुर्भाग्य रहेछ साली नानी । कस्तो संयोग पऱ्यो । मेरी जेठी सासू रुनीले बोलाएकी छन् आज । म त्यतै जान तयार हुँदै छु – मैले भनेँ । छ्या हौ छ्या, कस्तो मन दुख्यो । रुनी दिदीले जित्नु भएछ । ल त्यसोभए जेठी सासूलाई नै भेट्न जानु – आशाले भनिन् । हवस् साली नानी फोन गर्दै गर्नु है — मैले भनेँ । हुन्छ भनेर आशाले फोन राखिन् ।

यी हुन् आशा थापा । पोखराबाट सन २००१ मा भिएना आएकी । विदेश आउने कारण उही हो पैसा कमाउने र विदेशको काल्पनिक रमझममा रमाउने रहर । दलाल मार्फत देश छोडेर हिँडिन् । धेरै दुख पाइन् विचारा । पुलिसले समाए, जेल हाले अदालत भयो । अन्त्यमा अस्ट्रियामा शरणार्थी हुन पुगिन् । अहिले राम्रो छ । अस्ट्रियाको नागरिकता पाएर अस्ट्रियन भइन् । शीला दिदीसित केही वर्षअघि नेपाल जाने क्रममा सिलगढी हाम्रो घरमा पनि आएकी थिइन् । भिएनाको एउटा नामी होटलमा मुख्य भान्सेको काम गर्छिन् । बोलैया, फर्साइली, मजाकी छन् ।

नभन्दै रुनीको पनि फोन आयो । के कसरी कहाँसम्म म आउनु पर्ने हो सबै कुरा एउटा कागजमा टिप्न लगाइन् अनि उनले गर्मी लुगा लाएर आउनु भनिन् । हुन त धुम्मियो वा पानी पऱ्यो भने त्यहाँको परिवेश चिसो हुन्छ । घाम लाग्दा सर्ट मात्रै लाउँदा पनि हुन्छ । पातलो सुइटर वा कोट लगाएर हिँड़्दा पनि त्यस्तो अप्ठ्यारो केही हुँदैन । एउटा बाक्लो लुगा लाएर आउनु भनेको कुरा मैले त्यतिबेला बुझिनँ । मोटामोटी म तयार भइसकेको थिएँ । ज्याकेट भिरेँ, घर थुनेँ । अचेल दिदी कतै जाँदा घरको एउटा साँचो मसितै हुन्छ । त्यस एउटै साँचाले तलको मूल ढोका, लिफ्ट अनि घरको ढोका खोलिन्छ । दिदीसित पनि हुन्छ एउटा साँचो । म आउगाछीबाट मेट्रोमा चढेर स्पेटिलाउ मेट्रोसम्म गएँ । रुनीको निर्देश अनुसार त्यहाँबाट हुइटेलडर्फतिर जाने U4 मेट्रोमा चढेँ । मेट्रोबाट सतर्क भएर प्रत्येक स्टेसन हेर्दै जाँदै छु । मैले भनीहालेँ अक्षर त अङ्ग्रेजी हुन्छन् तर ती उच्चारण मेरो जिब्रामा आउनै मान्दैनन् तर पनि रुनीको निर्देश अनुसार फ्रिदेन्स ब्रुके, रोसावार लेन्डे, सट्टेनरिङ आदि स्टेसन कटेर स्वेडेनप्लाट्ज भन्ने स्टेसनमा ओर्लिएँ । रुनी र फ्रिदरिख प्लेटफर्ममा मलाई नै पर्खिरहेका रहेछन् । प्लेटफर्ममा यात्री थोरै भएकाले परैबाट देखिहालेँ अनि मैले हात हल्लाएँ । रुनीले पनि हात हल्लाइन् । म केही ढिलो भएको थिएँ । हामी भेट भएर त्यहाँबाट अर्को मेट्रोमा चढ्यौँ अनि डोनाउ क्यानलको कुनै स्टेसनमा ओर्लिएर क्यानलतिर गयौँ । त्यहाँ एउटा सानो तर दुईतले पानी जहाजमा हामी चढ्यौँ । टिकट काट्ने काम कुरो सबै रुनीले गरिन् । पहिले हामी तल्लो तलाको अगाडी टुप्पामा रहेको खुल्ला ठाउँमा राखेका बेञ्चमा बस्यौँ । त्यस खुल्ला ठाउँको पछाडिको अंशमा फराकिलो रेस्टुरेन्ट थियो । रेस्टुरेन्टमा बसेर पनि मजाले बाहिरको दृश्य देखिने । पचीस-तीस जना पर्यटकहरू जहाजमा चढिसकेकेपछि ठ्याक्क दुई बजे त्यो जहाज हिँडायो । डोनाउ क्यानल हुँदै जहाजअघि बढ़्यो । त्यस क्यानलको दुईतिरका सुन्दर दृश्यहरूले मेरो मन आकर्षित गरिरहेको थियो । सहरभित्रबाट बगेको नदी र जलसम्पदाको सही उपयोग पराईहरूले गर्न जानेका हुन् । भिएना सहरभित्र डेन्युब नदीमा १० ओटा अनि ३२ ओटा डेन्युब क्यानलमा पुल छन् भनेर रुनीले भन्दै गइन् । डोनाउ क्यानलको दुईतिरको सुन्दरता देखाउँदै जहाज आफ्नो गतिमाअघि बढिरहेको थियो । म त झन् मक्खै परेर हेरिरहेको थिएँ । यही क्यानललाई काथीले राति देखाएकी थिईन भने रुनीले जहाजमा चढाएर दिउँसोको सुन्दरता देखाउँदै छन् । समयको पनि ज्ञात भएन । निकै बेरपछि जहाज फलामले बनेको एउटा ठूलो गेटमा पुगेर अडियो । बिस्तारै गेट खोलियो अनि जहाज पनि बिस्तारै गेटबाटभित्र छिऱ्यो । पूर्णरूपले जहाजभित्र छिरेपछि पछाडिको गेट बन्द भयो सम्मुखमा फेरि अर्को बन्द गेट देखियो । दुई गेटको बीचमा जहाज रोकियो अनि त त्यहाँ पानीको स्तर बढ़्दै जान थाल्यो । जहाजमाथि उचालिँदै गयो । जहाज पूर्णरूपले उचालिएपछि सम्मुखमा भएको गेट बिस्तारै खोलियो । मेरो विचारमा हाम्रो त्यो जहाज १५ फिटभन्दा कम्ती त उचालिएन होला । त्यो गेट खोलिँदै जाँदा अगाडि झन् फैलाउ र ठूलो नदी देखा पऱ्यो । त्यो नै डेन्युब नदी अर्थात् डोनाउ भनेर रुनीले जानकारी गराइन् । सहरभित्रको शाखा नदी डेन्यब क्यानलबाट मूल नदी डेन्युबमा पस्ने तरिका सुरक्षाको दृष्टिकोणले मलाई निखुट लाग्यो । सायद त्यतिबेला डेन्युब नदीको जलस्तर बढेको थियो होला । गेट नभएको भए डेन्युबको पानी क्यानलमा पसेर सहरमा डुबाउ हुने थियो । त्यसैले दुईओटा गेटभित्र जहाजलाई छिराएर मूल नदी डेन्युबको जलस्तर बराबर पारेर नदीमा लिएर जानका लागि पानीले जहाज उचालिएको रहेछ । भिएनाको मस्तिष्कलाई मन मनै सलाम गरेँ मैले । डेन्युब नदीको विशालता नदीको बीचमा पुगेर अनुभव गरेँ । जसरी वर्षामा ब्रह्मपुत्रको विशालता र विस्तृतिको पनि कयौँ पल्ट नदीबाटै अनुभव गरेको थिएँ । यति नै फरक देखेँ डेन्युबलाई मानिसले स्वच्छ राखेका छन् साथै आफ्नो उपयोगी बनाउन सफल देखिन्छन् ।

युरोपको सबैभन्दा लामो नदी हो भोल्गा अनि त्यसपछि डेन्युब । डेन्युब नदी जर्मनको कालो वन पहाड्को छेउमा भएको डोनाउएसिङ्गन गाउँको छेउबाट निस्किन्छ अनि दशओटा देश हुँदै २८७२ किलोमीटर यात्रा गरेर कृष्ण सागर अर्थात् ब्लेकसी मा मिसिन्छ। जुन ब्लेकसीलाई मैले भिएना आउँदा हवाईजहाजबाट अँध्यारैमा भए नि अवलोकन गरेको थिएँ । ती दशओटा देसहरू हुन् – जर्मन, अस्ट्रिया, स्लोभेकिया, हङ्गेरी, क्रोएसिया, सर्बिया, बुलगेरिया, मोल्दोवा, युक्रेन र रोमानिया । युरोपको सबैभन्दा ठूलो नदी भोल्गापछि डेन्युबको नाम आउँछ । अस्ट्रियामा यसको लमाइ ३३० किलेमीटर छ । नदीको छेउछाउलाई स्वच्छ, सुन्दर पाराले सजाइको पाइन्छ यहाँ । कतै कतै नदीको छेउमा माछा मार्न बनाइएका काठका सुन्दर घर पनि देखिए । सरकारबाट विशेष अनुमति लिनेहरूले मात्रै यहाँ माछा मार्न पाउँछन् भन्ने कुरा थाहा पाएँ । जसरी मैले ब्रह्मपुत्र, गङ्गा यमुना आदि देखेँ त्यसरी नै यसलाई पनि देखेँ । हामी नद-नदीलाई पवित्र मानेर पूजा र श्रद्धा गर्छौँ तर स्वच्छ राख्दैनौँ । हामी नदीमा अर्धदग्ध मनुष्यका लाश लगायत असहनीय दुर्गन्धयुक्त फोहोर मैला फ्याँक्छौँ वा भनौँ सभ्य शब्दमा भन्ने हो भने नदीमा सेलाउँछौँ वा विसर्जन गर्छौँ तर त्यताका मानिसले नदीको पूजा गर्दैनन् अनि नदीमा केही विसर्जन गरेर श्रद्धा पनि गर्दैनन् । उनीहरू नदीलाई स्वच्छ र सफा राख्छन् अनि मानव उपयोगी बनाउँछन् । यही हो नदीप्रतिको उनीहरूको असीम श्रद्धा । काठमाडौँका बागमति र विष्णुमति अनि गुवाहाटीको भरलु नदीको दुर्गति देखेर मन रुन्छ । त्यसरी नै हरएक सहरमा पसेका गङ्गा र नर्मदालाई देख्दा मर्माहत हुनुपर्ने अवस्था हुन्छ । डेन्युबलाई मैले भिएनामा देखेँ, वाल्टोवा नदीलाई चेक रिपब्लिकको राजधानी प्रागमा देखेँ अनि सल्जवर्गमा साल्जक नदी देखेँ । नदीलाई आन्तरिक हृदयबाट प्रेम, श्रद्धा गरेर कति स्वच्छ र पवित्र राख्न जानेका हुन् त्यहाँका मानिसहरूले । त्यहाँका मानिसहरूको भावना र सम्मानमा शिर झुकेर मेरो मन भित्रैबाट छछल्किएर आयो । यस डेन्युब नदीलाई अलग अलग भाषामा आलग अलग नाम राखिएको पाइन्छ । जस्तै जर्मन भाषामा यसलाई डोनाउ, हङ्गेरियनमा डुना, स्लोभेकमा डुनाज, रोमानियनमा डुनारिया आदि भनिन्छ भने अङ्ग्रेजीमा डेन्युब भनिन्छ । यस नदीको दक्षिणमा छ भिएनाको मुख्य फैलाउ सहर । डेन्युब भिएनाभित्र पसेपछि यसबाट एउटा सानो शाखा नदी निस्किएर भिएनाको १७.३ किमी दक्षिण पूर्वमा गएर फेरि डेन्युबमा नै मिसिएको थियो। जल संसाधनको महत्व बुझेर यस शाखा नदीलाई सन १५९८ मा नै यसको कृत्रिम विकास गरेर नदीकै रूप प्रदान गरियो जसलाई डेन्युब क्यानल भनिन्छ । डोनाउ नदीको मेरो यात्रा त्यही क्यानलबाट सुरु भएको हो । त्यहाँ स्टीमर मात्रै होइन सानातिना जहाज पनि चल्छन् । भूमि र हवाइ मार्गभन्दा जलमार्गबाट सजिलो र सस्तामा सरसामान ढुवानी गर्न सकिन्छ । त्यसैले यस नदीलाई व्यापारिक नदी पनि भनिन्छ । त्यसबाहेक विद्युत् र जल आपुर्ती, सिँचाइर माछा उद्योगमा पनि नदीबाट धेरै सहयोग पुग्छ । भिएनाको त्यस डेन्युब क्यानल विकासले पर्यटनको पनि विकास भएको छ । डेन्युब नदीमा अगाडि बढ़्दै जाँदा निकै ठूला, काँचका झ्याल भएका सुन्दर जहाजहरू नदीको किनारमा राखेको देखेँ । ती जहाजहरूबारे मैले रुनीलाई सोधेँ । मनोरञ्जन प्रिय पर्यटकहरू डेन्युब नदीको जलमार्गको आनन्द लिँदै युरोपका विभिन्न देशको भ्रमण यसरी पनि गर्छन् अनि प्रत्येक सहर पुगेपछि घुम्नका लागि ती जहाजहरू एक-दुई दिनका लागि सहरका किनारमा राखिन्छन् भन्ने कुरा उनले भनिन् । नदीका दुई किनारमा मनोरञ्जन गर्नका लागि रमणीय स्थानहरूको पनि निर्माण गरिएका देखिए । स्थानीय मानिसहरू पनि केही क्षण आनन्द र फुर्ती गरेर तन मनलाई उर्जा प्रदान गर्न त्यस डेन्युब क्यानलको तटमा आउने गर्छन्। त्यहाँका लागि १७.३ किमीको तट मनोरञ्जनको सुन्दर साधन बनेको छ ।

 जहाजको दोस्रो तलामा चढेर हेर्दा सुरम्य नदीको रमणीयता अझ व्यापक देखियो । यसको उत्तर किनारमा युएनको भिएना अफिस रहेछ । त्यसको छेउछाउमा पनि अग्ला अग्ला घरहरू देखिए । त्यस्ता हाइराइज घरहरू भिएना सहरमा देखेको थिइनँ । डेढ दुईघण्टा जति भएपछि जहाजले यु टर्न लियो। फ्रिदरिखले मलाई रेस्टुरेन्टमा लिएर गए । थोरै खाने कुरा र बियर मगाए । बाहिरको रमणीय दृश्य हेर्दै बियरको स्वाद लिन थाल्यौँ । हामी मात्रै होइन अरू मानिसहरू पनि आएर केही न केही खान थाले । कोही वाइन वा बियरको ग्लास बोकेर बाहिर खुल्लामा नै गए । त्यस प्रकारले जहाजमा चढाएर डेन्युब नदीमा विचरण गराउँदै त्यसको सौन्दर्य उपभोग गर्ने मौका जुराइ दिएकामा रुनी र फ्रिदरिखलाई धन्यवाद टक्र्याएँ । जहाज डेन्युब क्यानलमा पस्दाअघिको प्रक्रिया ठ्याक्कै उल्टो पाराले दोहोरियो ।

दिदी र म रोमबाट एक अक्टुबर बिहान सात बजेतिर हामी भिएना दिदीघर आइ पुग्यौँ । आउना साथ दिदीले कफि बनाएर खानु भयो र प्रात कार्य समाप्त गर्नुभयो । म पनि नुहाउने काम आदिबाट निवृत्त भएर चिया खाँदै रोम भ्रमण सम्झना गर्दै लेख्ने काम गर्न थालेँ । दिदीलाई फोन आयो । त्यो फोन रुनीको थियो । घुम्ने इच्छा भए खाना खाएर मुक्तिलाई घर पठाइदिन भनिछन् । फोनमा रुनी र दिदीको सम्पर्क भइरहेकाले हामी बिहानै आइपुगेको जानकारी रुनीलाई भइसकेको थियो । घरमा त्यसै बसिरहनु भन्दा घुमेकै राम्रो भनेर उनले मलाई बोलाएकी रहिछन् । कति राम्रो कुरो । अब त म पनि दिदीका घरबाट रुनीका घरसम्म एक्लै जान सक्ने भइसकेको थिएँ । खाना खाएर निस्किएँ । खासमा साडुदाइ फ्रिदरिखलाई पनि घरमा बसिरहन मन लाग्दो रहेनछ । म एक जना नयाँ साथी भेटेकाले उनलाई पनि घुम्न मन लाग्नु स्वभाविकै हो । त्यसदिन म, रुनी र फ्रिदरिख बाहेक अर्की एक जना गाभी नाम गरेकी महिला पनि हामीसित घुम्न जाने भइन् । रुनीको तल्लो तलामा बस्ने उनी एउटी जेष्ठ नागरिक हुन अनि अचम्मको कुरा त के भने उनी पूर्णरूपले दृष्टिहीन रहिछन् । उनी पनि घुमाउने डुलाउने मानिस पाए खुसी हुने । रुनी र फ्रिदरिख घुम्न जाने थाहा पाएर उनलाई पनि जान मन लागेछ ।  हामी घरबाट निस्कियौँ । रुनीले बेला बेला फ्रिदरिखलाई समाउनु पर्ने हुनाले ती दृष्टिहीन महिलाको जिम्मेवारी उनले मलाई सुम्पिन् तर उनी राम्ररी हिँड्न नसक्ने हुनाले उनलाई चक्का भएको गुडाउने गाडीमा राखेर गुडाएर लानु पर्ने रहेछ । त्यो काम मलाई आइपऱ्यो । म खुसी थिएँ । जे होस्, एक जना असक्त प्रौढ महिलाको सेवा गर्ने मौका पाएँ । प्राम अथवा स्ट्रलर मेट्रो, ट्राम, बस आदिमा सजिलै भित्र्याउन सकिन्छ । दृष्टि हुनेहरू मसिनयुक्त त्यस्ता गुड्ने गाडीमा एक्लै पनि यातायात गर्छन् । मैले पहिले पनि यी कुराहरूको उल्लेख गरिसकेको छु । हामी मेट्रोमा चढेर गयौँ । हामी गएछौँ भिएनाको पूर्व दक्षिणमा अवस्थित ऐतिहासिक भेलभेडियर महलमा । महलको सीमा अर्थात् प्रवेश पथमा नै ऐश्वर्यपूर्ण शाही शिल्पकलाले सजिएको फलामे गेट थियो । त्यस भव्य गेटबाट प्रवेश गर्नु भनेको नैसर्गिक सुन्दरताले भरिएको अनि विशाल क्षेत्र ओगटेर बनाइएको महलको भव्य प्राङ्गणमा पुग्नु रहेछ । १७ र १८ सय शताब्दीमा रोमन साम्राज्य र हब्सवर्ग वंशका एक जना सफल सेनापति युगेनको त्यो ग्रीष्मकालीन बासस्थान रहेछ । युगेनले त्यस समयका धेरै युद्धहरूमा आफ्नो वीरत्व प्रदर्शन गरेका थिए । भिएनाको राजकीय अदालतको उनी सर्वोच्च पदमा पनि पुगेका थिए अरे । निकै वरपर त्यहाँ दुईओटा बारूक शैलीमा बनेका महलहरू थिए । अलिक अग्लो स्थानमा भएको माथ्लो महलबाट तल्लो महललाई हेर्दा बीचमा बाटो अनि त्यसका दुईतिर ठिक्क उचाइका वृक्षहरू लहरै अनि त्यसका दुईतिर तल्लो महलसम्मै सुन्दर बगैँचा । त्यहाँको बगैँचा देख्दा मलाई कता कता मैसुरको वृन्दावन गार्डेनको झझल्को आयो । बगैँचा दुवै महलका सम्मुखसम्मै फैलिएको थियो । विभिन्न रङ्का फूलहरूको सौन्दर्य सँगै आकर्षक शैलीका अनौठा फुहारा र छहराहरूले त्यस परिवेशलाई नै रोमाञ्चित तुल्याएको थियो । माथ्लो भवनको अगाडि अति मनोहर पोखरी थियो जसमा दुईतिर भएका कलात्मक प्रतिमूर्तिहरू थिए । दुईतिर भएका ती प्रतिमूर्तिहरूमा नग्न पुरूषले गोहीको मुख च्यातेको अनि त्यस गोहीका मुखबाट पानीका फुहारा छुटिरहेका थिए । बीचमा नग्न मत्स्यरूपी स्त्री प्रतिमूर्तिमा फुहाराको पानी गएर पर्थ्यो अनि ती मूर्तिबाट पनि फुहारा छुटिरहेका थिए । त्यसता प्रतिमूर्ति भएका पोखरी धेरै थिए । बगैँचामा इजिप्ट शैलीमा बनेका मूर्तिहरू पनि थिए। ती मूर्तिहरूमा शरीर सिंहको अनि शिर मानिसका थिए । मानिसको मस्तिष्क र सिंहको जस्तो साहस र बल भए संसार जित्न सकिन्छ भन्ने अर्थ लुकेको हो कि भन्ने मैले अनुमान लगाएँ । निकै समय लगाएर हेऱ्यौँ । फ्रिदरिखले पहिले दृष्टि हुँदा देखेका कुराहरू अहिले छन् छैनन् भन्दै रुनीलाई सोधिरहेका थिए अनि त्यहाँ देखेका कुरा गाभीलाई पनि उनले वर्णन गर्दै जाँदै थिइन् । त्यहाँको सुन्दरता घुमि घुमि हेरियो । मन अघाएकै थिएन अनि फेरि महल र म्युजियमभित्र जान बाँकी नै थियो त्यतिबेलै बादल कालो भएर मडारिएर आयो । हावा पनि चल्न थाल्यो । आँधी हुरी नै आउला जस्तो भयो । महलभित्र गयौँ र धेरै बेर थुनिनु पऱ्यो भने फ्रिदरिख र गाभीलाई अप्ठ्यारो पर्ला भन्ने कुरा रुनीले भनिन् । हो पनि पानी त भयङ्कर नै पर्ने सङ्केत प्रकृतिले दिँदै थियो । हामी त्यहाँबाट निस्कियौँ । धन्न चाँड़ै निस्किएछौँ । मेट्रोसम्म पुग्न अलिकति बाँकी छँदै पानीले भेटिहाल्यो । एउटा रेस्टुरेन्टभित्र पस्यौँ । पानी पनि मस्किँदै आफ्नो भयङ्कर रूपको प्रदर्शन गरिरहेको थियो । रमाइलो गर्न मन नपराउने व्यक्तित्व हुन् फ्रिदरिख । गाभी पनि त्यस्तै रहिछन् । गाभी र फ्रिदरिख आफनै भाषामा पहिले सल्लाह गरे अनि मलाई पनि सोधेर केही खाने कुरा र बियरको आदेश गरे । समय र परिस्थिति विचार गर्दा समय कटाउने त्यो भन्दा राम्रो उपाय थिएन। बाहिर पानी चम्की चम्की पर्दै छ । बियर खाँदै, गफ गर्दै त्यहाँ हामी एक घण्टा बस्यौँ । साँझ पर्न लाग्दा धन्न पानी थामियो । आकाश पनि उघ्रियो । बिस्तारै हिँड्दैअघि बढ्यौँ । विशेष गरी फ्रिदरिख र गाभीलाई त्यसरी घुम्न धेर मन पर्दो रहेछ । हामी वार्स प्रेटर पुग्यौँ । सजिलै बुझ्ने भाषामा वार्स प्रेटर भनेको डिजनी ल्यान्ड हो । त्यसो हुँदा त्यसको वर्णन गर्ने आवश्यकता अनुभव गरिनँ । फ्रिदरिख र गाभिलाई रोटे पिङमा घुम्न मन लाग्दो रहेछ । मलाई चाहिँ फेरि त्यस्तो उस्तोमा साह्रै मन लाग्दैन । त्यही पनि मौकामा रमाइलो गर्नपछि सर्नु पनि भएन । अति विशाल रहेछ त्यो वार्स प्रेटर । त्यहाँ पुग्दा छोरा छोरी र नाति सम्झेँ । उनीहरू त्यहाँ भएका भए कति आनन्द गर्ने थिए होला । खै कस्तो अचम्मको देश हो ? जता पनि  सिपालु । साहित्य, विज्ञान, कला, संस्कृति आदिको सम्वर्धन र विकास गर्दै प्रकृतिसित समन्वय राखेर, माटाको मायामा गुड़ुली खेल्दै, उचित शिक्षा र ज्ञान आयत्त गरेर रमाइलो र फुर्तीका साथ स्वतन्त्र जीवन बाँच्न कति जानेका त्यहाँका मानिसहरूले । त्यस्तो देख्दा हामी चाहिँ यता गाँस, बास र कपासको व्यक्तिगत सोचभन्दामाथि उक्लिएर समाज, देश र जातिको उत्थानमा कति समर्पित हुन सकेका छौँ भन्ने प्रश्न आफैंलाई गर्न मन लाग्यो । अनि त्यो वार्स प्रेटर बिहान दस बजेबाट राति एक बजेसम्म खुला रहन्छ । कतै केही डर नै छैन । कति हाइढुक्क ? के राम राज्य पनि त्यस्तै थियो होला ?

गाभिका लागि म पनि रुनीको घरसम्म पुग्नु पऱ्यो । फर्किने बेलामा फ्रिदरिखले रुनीलाई केही भने । भोलि दिउँसो म, दिदी, रुनी र फ्रिदरिख घरमा होइन बाहिर खाने भन्ने फ्रिदरिखको विचार रुनीले मलाई भनिन् । नेपाली भाषामा रुनीलाई मैले भनेँ – रुनी !  तिमीहरूको यो आत्मीयता, प्रेम, सत्कार म जीवनमा कहिल्यै बिर्सने छैन । मीठो पारेर मेरा कुरा जर्मन भाषामा दाइलाई भनिदेऊ । रुनीले फ्रिदरिखलाई भनिन् । फ्रिदरिखलाई हेर्दै मुसुक्क हाँसेर नमस्कार दाजु भनेर नेपाली भाषामा नै मैले भनेँ । उनले पनि मीठो पाराले नमस्कार मुक्ति भनेर अँगालो हाले । त्यसपछि गाभिलाई पनि नमस्कार गुड नाइट, बाइ गाभि  भनेँ । खुसी हुँदै उसले पनि मेरा हात समाएर थेङ्क यु मुक्ति !भनी । यसरी राति सात बजेतिर म दिदीघर पुगेँ ।

मेरो फर्किने दिन नजिकै आएकाले रुनीले र फ्रिदरिखले मलाई बिदाइ खाना कुनै रेस्टुरेन्टमा ख्वाउने विचार गरेर हिजै मलाई भनेका थिए। सेप्टेम्बर दुई तारिख आइतबारका दिन स्टिफेन क्याथेड्रलकै क्षेत्रमा भेट्ने भनेर रुनीले दिदीलाई बिहानै फोन गरेर भनेकी थिइन। सोही अनुसार एघार बज्न लाग्दा म र दिदी त्यस इलाकामा पुग्यौँ । रुनी र फ्रिदरिख सजिलै भेट भए । ठूलो र राम्रो एउटा रेस्टुरेन्टमा हामी भित्रै पस्यौँ । मुख्य उद्देश्य नै खाना खाने भनेपछि कसले के खाने भन्ने कुरा आयो । ननभेजमा म चाहिँ कुखुराको परिकार खान्छु त्यसबाहेक भेजमा अरू जे पनि चल्छ – मैले भनेँ । मलाई र फ्रिदरिखलाई बियर आदेश गरियो । दिदी र रुनीले वाइन खाने भए । फ्रिदरिखलाई वाइनभन्दा बियर मन पर्दो रहेछ तर बियर खाँदा तरल धेर खाइन्छ । अनि फेरि फ्रिदरिखले चाहिँ तरल धेर खानु हुँदैन भन्ने जानकारी मलाई रुनीले गराइन् । अपरेसन गरेपछि डाक्टरले सचेत गराएको कुरा रहेछ । दिनमा कति तरल खानु पर्छ त्यसको मात्रा पनि डाक्टरले तोकिदिएको रहेछ । त्यसर्थ रुनीले बियर खाने कुरामा फ्रिदरिखलाई निकै नियन्त्रण गर्ने गर्छिन् । अन्य तरल धेर खाएको छैन भने दिनमा एक लिटर बियर मात्रै फ्रिदरिखलाई खाने अनुमति रहेछ । उनीहरूले आफ्नै प्रकारले खाना मगाए । ठूलो थालमा रोस्टेड कुखुराका ठूला आठओटा चाना भातमाथि नै सलक्क् लहरै मिलाएर राखिएको थियो साथमा सलाद र सब्जी थियो । खाना राम्रो थियो, तृप्त भइयो । खाइसकेपछि बिल आयो । रुनीले बिल हेरेर र पैसा तिरिन् । बिल लिएर वेटर गएपछि रुनीले पैँतीस युरो मलाई दिँदै भनिन् – मुक्ति यो पैँतीस युरो तिम्रो पैसा हो

छक्क परेँर मैले सोधेँ – मेरो पैसा  ! कसरी  ?  

रुनीले भनिन् – तिमीलाई राम्ररी ख्वाउनू भेनर गाभिले दिएकी थिई । तिमीले पन्ध्र युरो मात्रै खाएछौ । त्यसैले यो रहेको पैँतीस तिम्रो हो लेऊ राख ।

पर्दैन मलाई तिमी नै राख – मैले रुनीलाई भनेँ ।

भिएनामा तिमीलाई मन पराउने मान्छे पनि रहेछन् त हौ ! राखेनौ भने मन दुख्ला नि । राखिदऊ न त – दिदीले फेरि जिस्काउन पाउँदा मौका किन गुमाउनुहुन्थ्यो र ? रुनीले त्यो पैसा मेराअघि टेबुलमा राखिदिइन् र जानलाई उभिइन् । लक्ष्मीको अवहेलना गर्नु कसरी ? फेरि बाहुनले भोजन गरेपछि पाएको दक्षिणा छोड्न पनि मिलेन । त्यो पैसा मैले लिएँ । त्यसदिनको खान पान सकेर त्यतै स्टिफेन क्याथेड्रलको सेरोफेरो घुम्यौँ ।