केही दिनदेखि म यो घरमा छु । यो घरमा मैले झोला बिसाएको केही बेरमा नै उनीसँग मेरो चिनजान हुन्छ– “तिम्रो नाम के हो ?” म सोध्छु । उनले आफ्नो नाम बताउँछिन् तर म बुझ्दिनँ र ट्वाल्ल परेर हेरिरहन्छु । म धेरै बेर नै ट्वाल्ल परेर हेरेपछि उनै म नजिक आउँछिन् र ढिलो गरेर आफ्नो नाम बताउँछिन्– “कञ्चना ! यो संस्कृत शब्द हो । तपाईँले बुझ्नुपर्ने ! तपाईँ संस्कृत भाषा बुझ्नुहुन्छ होइन ?”

यसको मतलब मलाई थाहा हुन्छ कि कञ्चनाले मेरा बारेमा सबै कुरा थाहा पाइसकेकी छ । म कहाँबाट र किन थाइल्यान्ड आएँ भन्ने कुरो उसलाई पहिल्यै जानकारी भइसकेको छ । म खिस्स हाँस्छु अनि अज्ञानको कृत्रिम मुस्कान मिसाउँदै उसलाई सोध्छु– “तिमीलाई थाहा छ ? कञ्चचनाको अर्थ ?”

नगेन्द्र न्यौपाने

“किन थाहा नहुने ! सफा ! निर्मल !”

यति बेला मेरो मनमा अनेकौँ तर्कना उब्जिन्छन् । म आफैँले आफैँलाई प्रश्न गर्छु , यति टाढा पनि संस्कृत भाषा आयो । अनि किन हरायो । मलाई गौरव पनि लाग्छ– संस्कृत भाषा यहाँसम्म पनि आउन सक्यो हगि ! तर त्यति बेला मेरो ध्यान भाषातिर केन्द्रित हुँदैन । म फेरि कञ्चनालाई सोध्छु–

“तिम्रो घर यतै वरिपरि नै हो ? कुन हो ?”

उनी आफ्नो हात तेर्स्याउँछिन् र एउटा अग्लो घरलाई देखाउँछिन्– ऊ ! त्यो परको घर हो मेरो । वाट (मन्दिर)भन्दा पछाडि ! टाढा छैन !

एकातिर कञ्चनाको स्कुटर बिग्रेर मर्मतका लागि यो घरमा आउनु, अर्कातिर म पनि यही घरमा केही दिनका लागि पाहुना हुन पुग्नु । संयोगले मलाई कञ्चनासँग भेट गराएको छ । कञ्चना भर्खर हाइस्कुल सकेर कलेजको तयारीमा छिन् । त्यो घरमा धेरैलाई अङ्ग्रेजी आउँदैन । कञ्चनाले दोभाषेको भूमिका निर्वाह गर्नुपरेको छ । हुन त उनलाई पनि अङ्ग्रेजी कहाँ खुलेर आउँछ र ! तर उनको अङ्ग्रेजी मेरा लागि मनग्य छ । म केही कुरा आनन्द (घर मालिक) लाई सोधेको हुन्छु तर आनन्द कञ्चनातिर हेरिहाल्छन् । आनन्दको हेराइसँगै कञ्चना पनि दौडेर हामीतिर आइहाल्छिन् र हाम्रो संवादलाई मिलाएर बताउँछिन् । मानौँ उनीविना हाम्रो दिनचर्या नै सम्भव छैन । हामी बोल्न नै सक्दैनौँ । सुरुमा मलाई भन्दा आनन्दलाई नै आवश्यकता थियो कञ्चनाको तर पछि–पछि म पनि कञ्चनाविना पाइला नै चलाउन नसक्ने भएको छु ।

कञ्चना हँसिली, रसिली अनि बोलक्कड छे । अन्य युवतीभन्दा कञ्चनाको बानीबेहोरा जति पृथक् छ त्यति नै उसको अनुहार पनि ! अन्य युवतीहरू मजस्तै रोगनका छन्, नेपालीजस्तै देखिन्छन् तर ऊ निक्खर मङ्गोलियन पाराकी देखिन्छे । गोरी, मसिना आँखा अनि पोटिला निधार र गाला । यही पृथक्तालाई लिएर म उसको बुबालाई सङ्कोच मानी–मानी प्रश्न गर्छु ।

“तपाईँकी छोरीको अनुहार तपाईँको भन्दा अलिक परक छ हगि !”

मैले सङ्कोच मानी–मानी सोधे पनि उनी निसङ्कोच रूपमा प्रस्ट उत्तर दिन्छन् । उनलाई आफ्नी छोरीको रूप र प्रकृति बताउन कुनै दकस छैन ।

“यसको अनुहार यसको हजुरआमातिर गयो । चाइनिजजस्ती !”

यो घर “प्रोमकिरी बजार” भन्दा अलिक भित्र पर्छ । “प्रोमकिरी बजार” आफैँमा एकलासको ठाउँ हो । त्यसमा पनि अलिक भित्र भने पछि यो थाइल्यान्डको दुर्गम स्थान हो । थाइल्यान्डको दक्षिणी राज्य नाखाम से थामारातमा पर्ने यो ठाउँमा विकासको हात त्यति राम्रो पर्न सकेको छैन । प्रोमकिरी बजारको मुख्य भागमा सधैँ शुक्रबारे हाट लाग्ने गर्छ । यो जानकारी मलाई म त्यहाँ पुगेको दिनमा नै थाहा भयो । म आज बिहानको सामान्य खानपानपछि त्यहाँ जाँदै छु तर आनन्द (घर मालिक, जुन घरमा म बसेको छु) को परिवारले मलाई एक्लै जान दिँदैनन् । “तपाईँलाई थाई भाषा आउँदैन । तपाईँ एक्लै जान सक्नु हुँदैन । हराउनुहुन्छ । तपाईँ कञ्चनालाई लिएर जानुहोस् ।”

तर उनीहरूको कुरामा म सहमत छैन । भाषाले मलाई कुनै अप्ठयारो पार्दैन । भाषाबेगर पनि धेरै ठाउँमा पुगेको छु । म उनीहरूको सहमतिविना नै हाटका लागि घरबाट निस्किन्छु तर एकाएक कञ्चना आँगनमा देखा पर्छिन् । उनीहरूले कञ्चनालाई बोलाइसकेका हुन्छन् । म कञ्चनाको पछि–पछि लागेर हाट जान कर लाग्छ ।

सानो खोल्सी, खोल्सीमाथि बनेको पक्की पुल अनि पुलमा जोडिएको चिल्लो सडक । त्यो सडकको धेरै परसम्म हाट लागेको छ । सडककिनारमा थरी–थरीका दोकानहरू छन् । माछामासु, सागपात, लत्ताकपडा, खाद्यान्नका दोकानहरू प्रशस्त छन् । हामीहरू एक–एक गर्दै अगाडि बढ्छौँ । त्यो हाटबजार देखेपछि मेरो मानसिकतामा गहिरो प्रश्न चिह्न लाग्छ । म धेरै बेर नै अधैर्य बन्छु । के हाटबजार यस्तो सुग्घर पनि हुन्छ । त्यो विकट ठाउँ तर सभ्य समाज । सरकारको आँखा हत्तपत्त त्यहाँ पुग्दैन । सरकारले नियन्त्रणा गर्न सक्दैन र त्यहाँका जनता त्यति लेखपढमा पनि छैनन् तर तिनीहरू आफैँ नियन्त्रित छन्, अनुशासित छन्, सडक सफा राख्नुपर्छ भन्ने ज्ञान छ, आफ्नो फोहोर आफैँले उठाउने नियम छ । हाटमा न खैलाबैला छ न खिचातानी ! न मोलमोलाइको चिच्याहट ।

नजिकै एउटा सानो खोला बगेको छ । सफा पानी । कलकल आवाज । तिनीहरूलाई थाहा छ प्रकृतिलाई कष्ट दिनु हुँदैन । खलबल्याउनु हुँदैन । उनीहरू खोलामा फोहर फ्याक्दैनन् ।

“तपाईँलाई माछा मन पर्छ कि मासु ?” मासुको पसलमा आइपुगेका बेला कञ्चना मतिर हेरेर सोध्छे ।

“मलाई केही पनि मन पर्दैन ।”

“मतलब तपाईँ साकाहारी ?”

“हो ।” म उत्तर दिन्छु ।

“त्यसो भए आज तपाईँलाई पानीपोखरी घुमाउन लैजान्छु ।” म ऊतिर पुलुक्क हेर्छु ।

“हो ? हामीले तपाईँलाई यहाँको एउटा तालमा घुमाउन लैजाने विचार गरेका छौँ ।”

वास्तवमा मैले माछामासु नखानु र उनीहरूले मलाई तालमा घुमाउन लैजाने योजना बनाउनुमा कुनै सामञ्जस्य छैन । त्यसमा कुनै सरोकार छैन । यो केवल अनौठो प्रकारले जुधेको घटना मात्र हो । यो उनीहरूको पूर्वतयारी थियो ।

शुक्रबारे हाटपछि हामीहरू घर फर्किन्छौ अनि पोखरीको भ्रमणमा जाँदैछौँ । हाम्रो यात्रामा दुइटा मोटरसाइकल र चार जना यात्री । कञ्चना, कञ्चनाका दाइभाउजू अनि म । हाम्रो यात्रा प्रोमकिरीबाट सिधै दक्षिण हानिन्छ र एउटा जङ्गलभित्र पस्छ । त्यो घनघोर जङ्गल, होचा–होचा थुम्काहरू अनि ठाउँ–ठाउँमा ससाना कटेजजस्ता देखिने झुपडीहरू । हामीहरू मोटरसाइकल पार्क गर्छौँ र पैदलै अगाडि बढ्छौँ । केही पर मान्छेहरू बोलेको, केटाकेटीहरूले हल्ला गरेको अनि हाँसेको हल्ला आइरहेको छ तर मेरो ध्यान त्यतातिर जाँदैन । मेरो आँखाले पौडी खेल्ने पोखरी नै खोजिरहेको छ । म पानी देख्न चाहन्छु । कस्तो होला थाइल्यान्डको पोखरी । कति ठूलो होला पानी । अझ घरबाट निस्किनुभन्दा अगाडि कञ्चनाले मलाई सोधेकी थिइन्– “तपाईँलाई पौडी खेल्न आउँछ ?”

मेरो पौडी खेल्ने ढङ्ग थिएन । मेरो सिप थिएन तर उनलाई जबाफ दिएको थिएँ – “किन नआउनु! आउँछ ।” अहिले डराउन थाल्छु । मलाई पछुतो लाग्न थाल्छ । किन मैले झुटो बोलेँ ? किन तर्साएँ ? किनकि मलाई पौडी खेल्न आउँदैन थियो ।

तर कठैबरा ! केको पोखरी देख्न पाउनु । केको पौडी खेल्नु । मुस्किलले बगेको पानी वरिपरि ससाना बीस–पच्चीसओटा डुङ्गाहरू छन् । अनि चार–पाँचओटा ठूला डुङ्गाको ककेरोमा दुइटा साना पोखरी देखिन्छन् । अझ आश्चर्य त यो छ कि ? त्यति सानो पोखरीमा पनि थुप्रै तन्नेरी–तरुनीहरू हानाथाप गरेर डुबुल्की मारिरहेका छन्, पानी छ्यापाछ्याप गरिरहेका छन् । रमाइलो मानिरहेका छन् । मेरो पोखरीसम्म पुग्ने सोख आउँदैन । म किनारबाट नै हेरिरहन्छ र नजिकै उभिएकी कञ्चनालाई सोध्छु–

“तिमीहरूको पौडी खेल्न आउने ठाउँ यही हो ? तिमीहरू समुद्र जाँदैनौँ ।”

ऊ मुख फ्यास्स पार्दै बोल्छे– “समुद्रको नुनिलो पानीमा को जाओस् हामीलाई यस्तै खोलाको ताजा पानी मन पर्छ ।”

हुन त थाइल्यान्डको आर्थिक स्रोतमध्ये पर्यटन एउटा हो । यो देशको ठूलो भाग समुद्री किनाराले घेरिएको छ । समुद्री किनारमा ठूला–ठूला सहर, बजार र होटेल छन् तर देशको भित्री भागमा पनि स्थानीय जनताको मनोरञ्जनका लागि स्थानीय जनताले कुनै कसर बाँकी राखेको छैनन् । पोखरी सानो छ तर व्यवस्थित छ, सोखिन छ । व्यवस्थित भएपछि चमकता आइहाल्छ । नेपालमा त्यस्ता ठूला–ठूला छाँगा, झरना र ताल छन् । प्राकृतिक सौन्दर्य छ तर त्यो प्राकृतिक मोहमा चमकता ल्याउन सकिएको छैन ।

“तपाईँ पौडी नखेल्ने ?” भन्दै कञ्चना मेरो नजिक आउँछिन् ।

“नखेल्ने ! यस्तो कम्मर पनि नडुबने पोखरीमा के पौडी खेल्नु । ”

उनीहरू पनि पौडी चाख आउँदैन । हामीहरू किनारैबाट पोखरीको अवलोकन गर्छौँ र केही बेर पछि फर्किन्छौँ ।”

पोखरीको भ्रमणपछि पनि हामीहरूसँग प्रशस्त समय बाँकी छ । हामीहरूमध्ये कसैलाई पनि घर जान हतार छैन । उनीहरू थाइ भाषामा खासखुस कुरा गर्दछन् । टाउको हल्लाउँछन् । अनि कञ्चना मेरो नजिक आएर बोल्छिन्–

“अब हामीहरू पहाड चढ्न जाने हो । तपाईँ पहाड चढ्न सक्नुहुन्छ ?”

“पहाड ?” मेरो दिमागमा धेरै कुराहरू खेल्न थाल्छन् । म आफैँले आफूलाई प्रश्न गर्छु– “कस्तो होला थाइल्यान्डको पहाड ? के म पहाड चढ्न सक्छु ?” तर हिम्मत हार्दिन र बोलिहाल्छु–

“किन नसक्नु ! सक्छु ।”

तर ऊ पत्याउँदिन र मुख फ्याँस्स पार्दै बोल्छे–

“हेरौँला ! म त अहिलेसम्म टुप्पामा पुग्न सकेको छैन ।”

हामीहरू पहाड भएको ठाउँतिर जान्छौँ । पौडी खेल्ने पोखरीबाट पहाड त्यति टाढा छैन । हरियो रुखहरूले ढपक्क ढाँकेको बाक्लो वन । वनको किनारै–किनार बगेको सडक, अनि गाडीको पातलो आवत–जावत । वातावरण रमाइलो र मनमोहक छ तर मेरो मनमा भने कौतुहल सलबलाइरहेको हुन्छ । कहिले डर लाग्छ । “कस्तो होला हगि थाइल्यान्डको पहाड । म चढ्न सक्दिनँ कि !”

हामीहरू केही बेरमा नै एउटा चउरमा पुग्छौँ । हरिया चउर ! चउरको वरिपरि अग्ला–अग्ला रुख अनि चउरसँग जोडिएका डोको आकारको हरियो थुम्को । सुरुमा त्यो डोको आकारको थुम्को मेरो कुनै ध्यान जाँदैन तर “ऊ यही हो पहाड ! तपाईँ चढ्न सक्नुहुन्छ ?” भन्ने बोली कञ्चनाको मुखबाट निस्केपछि म छक्क पर्छु । ट्वाल्ल उनका अनुहारतिर हेर्छु । अनि बिस्तारै बोल्छु– “यही हो थाइल्यान्डको पहाड ।”

त्यो चउरको एउटा कुनामा सानो गुम्बा पनि छ । हामीहरू त्यो गुम्बालाई चारैतिरबाट परिक्रमा गर्छौँ र पहाड उक्लने तयारीमा छौँ । पहाडको फेददेखि टुप्पोसम्म सिमेन्टको सिँढी बनाइएको छ र प्रत्येक सिँढीलाई नम्बर दिइएको छ । त्यो नम्बरबाट थाहा पाउन सकिन्छ कि त्यो व्यक्ति कति ताकतको छ ! त्यही सिँढीको नम्बरबाट उसको मूल्याङ्कन हुन्छ । हामीहरूभन्दा अगाडि चार–पाँचओटा केटाकेटीहरू सिँढीको नम्बर गन्दै आफ्नो मूल्याङ्कन गरिरहेका छन् ।

“यही हो पहाड तपाईँ चढ्न सक्नुहुनछ ।” कञ्चना मतिर हेरेर फेरि सोध्छे–

“किन नसक्नु ।” म उत्तर दिन्छु ।

उनीहरू मभन्दा कम उमेरका छन् । हृष्टपुष्ट, खाइलाग्दा अनि बलिया बाङ्गा । देख्दैमा हात्ती पछार्लान् जस्ता । तरुनो जिउडाल तर उनीहरू कहिले पहाडको टुप्पोतिर हेर्छन्, कहिले टोलाउँछन् र कहिले निधारमा हात राख्छन् । उनीहरूको पहाडतिर उक्लने आँट आउँदैन तर म भने पहाडको मध्य भागमा पुगिसकेको छु । अनि उनीहरू सिँढी उक्लने सुरु गर्दागर्दै म टुप्पामा नै पुग्छु । मेरा लागि त्यो पहाड सानो खुड्किलो पनि होइन ।

पहाडको टुप्पामा एउटा सानो गुफा छ । गुफाका बीच भागमा भगवान् बुद्धको मूर्ति राखिएको छ भने बस्नका लागि कुर्सीहरू पनि छन् । म एउटा कुर्सीमा बस्छु र उनीहरूलाई पर्खिन्छु तर उनीहरूको पाइलो सरेको छैन । उनीहरू सिँढीमा नै थकाइ मारिरहेका छन् । मलाई थाहा छ उनीहरू त्यो उकालो पार लगाउन सक्दैनन् । त्यो हिँडाइ उनीहरूको क्षमताभन्दा निकै टाढाको कुरा हो । म केही बेर पहाडको टुप्पामा थकाइ मारेपछि तल ओर्लन्छु उनीहरू पनि बीचबाटै नै फर्कन्छन् ।

संयोग त्यस्तै पर्न गएको छ । एक जना राजनीतिक नेता त्यो पहाडको निरीक्षण भ्रमणमा त्यहाँ आएका छन् । उनलाई गुम्बा र सिँढीको अवलोकन गर्नु छ । उनका साथमा केही अङ्गरक्षक र कार्यकर्ता पनि छन् । हाम्रो समूह पनि थपिएपछि त्यहाँ सानो हुलमुल नै बन्न आउँछ तर त्यो हुलमुलमा म खासै पृथक् छैन । थाइको अनुहार र मेरो अनुहारमा भिन्नता छैन । त्यही भएर ती नेताको आँखाले मलाई थाइ नागरिक नै देख्छ । उनी मेरो नजिक आएर थाइ भाषामा केही कुरा गर्छन् । त्यहाँको वस्तुस्थितिबारे जिज्ञासा राख्छन् तर उनको बोलीले म अक्कमक्क पर्छु । जबाफ फर्काउन सक्दिनँ । कञ्चनाले मेरो समस्या बुझिसकेकी छ । ऊ मेरो नजिक आउँछ र ती नेतासँग परिचय गराउँछे । अनि नेता आश्चर्य मान्दै बोल्छन्–

“हे ! तपाईँ नेपालबाट पो आउनुभएको ? हामी बुद्ध खोज्न नेपाल जान्छौ तपाईँ चाहिँ थाइल्यान्ड आउनुभयो । बुद्ध पाउनुभयो त !” उनी हौसिएर बोल्छन् । उनलाई रमाइलो लाग्छ तर म केही नम्र भएर बोल्छु– “म बुद्ध खोज्न थाइल्यान्ड आएको होइन । थाइको विकास हेर्न आएको ।”

“हेर्नुभयो त विकास ?”

मैले उत्तर दिन भ्याएको हुन्न, उनै बोल्दै जान्छन्– “तपाईँले नेपाललाई विकास गर्न पर्दैन । संरक्षण गर्ने हो । विकास त प्रकृतिले नै गरिदिएको छ । हेर्नुहोस् !  यो पहाड हामीले बनाएका हौँ तर तपाईँको देशमा तपाईँले पहाड बनाउनु पर्दैन । भगवान्‌ले पहिल्यै बनाइदिएका छन् । त्यसलाई सदुपयोग गर्ने हो । प्रकृतिले माया गरेको देशमा मान्छेले हात हाल्न पर्दैन । प्रकृतिलाई खुसी मात्र पार्ने हो ।”

उनी बोल्दै जान्छन् । हामीहरू सुनिरहन्छौँ । केही वर्षअगाडि मात्र नेपाल घुमेर आएका ती नेताले नेपालबारे पढेका मात्र छैनन्, नेपाल भोगेर र अनुभव गरेर आएका छन् तर उनलाई नेपालका भ्रमणको रहर अझै पुगेको छैन ।

“मलाई फेरि लुम्बिनी जाने मन छ । लुम्बिनीसम्म सोझै बैङ्ककबाट हजाइजहाज चलाउन सकियो भने त सजिलो हुन्थ्यो होला । के लुम्बिनीको हवाइ मैदान तयार भयो ?”

उनका आँखाहरू एकाएक तिखा हुन्छन् अनि उनी मतिर फर्केर हेर्छन् तर म भने मलिनो हुन्छु किनकि लुम्बिनीको हवाइ मैदान तयार भएको छैन । जे होस् उनलाई मीठो उत्तर दिन्छु ।

“हुँदै छ । अब केही महिनामा पूरा हुन्छ होला ।”

उनीसँग मेरो लामै वार्ता हुन्छ । म उनलाई नेपाल आउने निम्तो दिन्छु । त्यति मात्र होइन नेपाल आएका बेला मलाई भेट्न वाचासमेत गराउँछु । मेरो निम्तो सहर्ष स्वीकार गर्दै उत्तर दिन्छन्–

“म नेपाल आएँ भने तपाईँसँग पक्कै भेट गर्नेछु ।”

तर मलाई थाहा छैन । उनी नेपाल आउँछन् कि आउँदैनन् । आए भने पनि मलाई खबर गर्लान् वा नगर्लान् तर मेरो शुभकामना ।

मसँग उनको गफ गर्ने चाहना हुँदाहुँदै पनि परिस्थितिले साथ दिँदैन । त्यही बेला उनको फोनको घण्टी बज्छ । उनी फोन उठाएर कुरा गर्छन् । उनी कुरा मात्र गर्दैनन् । त्यहाँबाट विदावारी हुने तरखर गर्छन् ! उनलाई मिटिङमा पुग्न ढिला भइसक्यो ।

उनी गएपछि हामीहरू पनि त्यहाँबाट फर्किन्छौ । आजको हाम्रो यात्रा यत्तिकैमा रोकिन्छ तर मेरो मानसिकता भने रोकिँदैन । नेपालीको असमर्थता र लाचारीपनप्रति विह्वल हुन्छु । एउटा विदेशीले नेपाललाई हेर्ने आँखाप्रति क्षोभ प्रकट गर्छु अनि आफैँले आफैँलाई प्रश्न गर्छु– यी सबै कुराहरू जान्दाजान्दै र बुझ्दाबुझ्दै पनि हामीले प्रकृतिबाट निःशुल्क पाएका निधिलाई किन सदुपयोग गर्न सकेनौँ । यो प्रश्न अनवरत चलिरहन्छ । आज पनि चल्छ । भोलि पनि… । हरेक नेपालीलाई सोधिरहन्छु ।