पत्रपत्रिकाको समकालीन बजार टिठलाग्दो छ

मेरी मितिनी दिदीको सुनका गहना बन्धकी राखेर बिन्दु उकासेँ

नेपाली साहित्यिक पत्रिकाको इतिहासमा ‘बिन्दु’ को स्थान गौरवमय छ । सन् १९६२ को मे महिनादेखि अहिलेसम्मको ६१ बर्से इतिहासमा एक सय ४२ अङ्क प्रकाशन भइसकेको छ । जसका सम्पादक हुन् के.बी. नेपाली । असमको मुलियाबारी डिगबोईमा बुबा स्व. कविराज पौडेल छेत्री र आमा स्व. चन्द्रकला छेत्रीका एकमात्र पुत्ररत्नका रूपमा १६ नोभेम्बर १९३९ मा के.बी. नेपालीको जन्म भएको थियो ।

नेपालीका नव अश्रु (१९६०) र प्लेटफर्म (१९८४) खण्डकाव्य, विरही (१९६४), भत्केको घर (१९६५) र अनियन्त्रित मन (२००१) कवितासङ्ग्रह, मेरो घर मेरो संसार (१९६५), तस्वीर एक रातको (१९७०), समर्पण (१९७३), म खुनी हुँ (लघ, १९९२) उपन्यास, कल्पना (१९७०) र भोक, मृत्यु र सङ्घर्ष (१९९१) कथासङ्ग्रह, सती गोमा (१९८४) नाटक,  अनुराग (१९९१) गीतसङ्ग्रह र मेघदूत (काव्य, नेपालीमा अनुवाद २०१०) लागयतका कृति प्रकाशित छन् । हाल सन् ८ अक्टुवर १९६२ देखि लामडिङ्गको रेलवे इन्स्टिर्युट कलोनीमा बसोबास गरिरहेका के.बी. नेपालीसँग दीपक सुवेदीले गरेको कुराकानी ।

के.बी. नेपाली

तपाईँ त हरिभक्तको नजिकको साथी पनि हो । कसरी सम्झनुहुन्छ हरिभक्तलाई ?

मेरो घर मुलियाबारीकै छेउमा हरिभक्तको डेरा भएकाले हाम्रो सधैँ भेट हुन्थ्यो । त्यसैले उनी नजिकका साथी थिए । अझ नेपालबाट कमलमणि दिक्षितज्यूले साहित्यिक पत्रिका ‘नेपाली’ र अरू केही नेपाली पुस्तक मलाई बारम्बार पठाउनुहुन्थ्यो । कारण म र कमलमणि दीक्षितमा राम्रो मैत्री सम्बन्ध रहेको हुनाले । जे होस् उहाँबाट पत्रपत्रिका आउँदा हरिज्यूले चाल पाएर भन्नुहुन्थ्यो- ‘खड्ग, तिमीले पढेपछि मलाई पनि देऊ है ।’ तर कहिले त मैले नपढीकन उहाँलाई नै दिन्थेँ । हामी दुईमा आत्मीयता थियो । तापनि म उहाँलाई साहित्य सर्जकका रूपमा सम्झन्छु ।

हरिभक्तसँग कहिलेदेखि सम्पर्क भएको थियो ?

सन् १९५८ मा डिगबोईको सेन्ट्रल एरियाको क्वार्टरमा उहाँ आएर बस्नुभएको थियो । त्यतिखेरबाट नै जान्दथेँ । हाम्रो भेट नजिकैको जुबली फिल्डको ग्यालेरीमा बेलुका ५/६ बजेतिर भइरहन्थ्यो । हाम्रो सम्बन्धचाहिँ गायिका पवित्रा राईको घरमा कुनै नाचगानको रिहर्सल हुँदा नै भएको हो । पछि त हामी दुवै नै श्रीश्री विष्णु मन्दिरको नाट्यमञ्चका ड्रामा सेक्रेटरी भएर त्यस मञ्चमा हामी दुवैले नाटक पनि प्रस्तुत गर्थ्यौँ ।

हरिभक्तका आनीबानी कस्ता थिए ?

हरिभक्तज्यूको आनीबानी खुबै राम्रो । सरल अनि सोझोपन भएका व्यक्ति थिए । काँधमा एउटा झोला भिरेर कुर्ता र पाइजामामा टक्कै कवि भएर हिँड्थे । सबैका मिलनसार व्यक्ति थिए । तर मन नपरेका कुरामा उनको झर्किने बानी थियो ।

अन्तर्वार्ताकार : दीपक सुवेदी

हरिभक्तसँगका नबिर्सने क्षणहरू केही छन् ?

हामी दुई ड्रामा सेक्रेटरी भएर एकै मञ्चमा नाटक पेस गरेको र डिगबोईको नेपाली एम.ई. स्कुलको कक्षामा साहित्यिक आलोचना चक्र पाक्षिकरूपमा गरिने विषयमा मसँग जुब्ली झिल्डको गेलरीमा बसेर बार्ता गरिएका क्रम साह्रै याद आउँछ ।

हरिभक्तको मृत्युमा मलामी कति थिए ?

सुवेदीज्यू, यहाँ कुरा खुलासा पारौँ । सो के भने सन् १९६२ को ८ अक्टुवरको दिन म लामडिङ्गतिर लागेँ । डिगबोईदेखि निकै टाढा । उहाँ पनि केही वर्षपछि आफ्नो पैत्रिक सम्पत्तिको निजीघर पेङ्ग्री छोडेर कहिले माघेरिटा, कहिले जागुनतिर सरुवा हुँदै पछि काठमाडौँ नेपालतिर लाग्नुभयो अनि निकै वर्षपछि रोगी भएर डिगबोई आउनुभएछ र डिब्रुगढ अस्पतालमा नै उहाँको मृत्यु भएछ । खबर ढिलै पाएँ । कारण डिगबोई र लामडिङ्गको दूरी धेरै भएकाले समयमै खबर पाइनँ, पछि थाह लाग्यो । अँ मलामीमा उहाँको छोरो दिगन्तसहित १२ जना थिए रे । सो सन्ध्या प्रधानको लेखबाट थाहा लागेको हो ।

नेपाली साहित्यमा हरिभक्तको स्थान केकस्तो छ ?

नेपाली साहित्यमा हरिभक्तको स्थान उच्च छ । तापनि उहाँको सही मूल्याङ्कन अझै भइदिन सकेको छैन कि ! यसको कारण, सायद कहिले नेपाल कहिले भारतको प्रवासी भइदिएर हो कि भन्ने लाग्छ । दुवैतिरबाट साहित्यका एक पारखी सर्जक अवहेलित भएका । जेहोस् उनी नेपाली साहित्यका सर्जक थिए र रहने छन् ।

हरिभक्तलाई नेपाली सामाज र साहित्यले न्याय गरेको छ ?    

सुवेदीज्यू, मैले भनिहालेँ नि हरिभक्तज्यूले आफूलाई एउटै देशको नागरिक भएर देखाउन नसकेर कहिले नेपाल, कहिले भारतको प्रवासी भइदिएकाले नै हो कि । त्यसैले नेपाल र भारतको समाज र साहित्यमा न्याय नभएको जस्तो लाग्छ । फेरि उहाँबाट कविता लेखाएर आफ्नो नाममा पारिश्रमिक खानेहरू पनि भए । पाठ्यपुस्तकमा आफ्नो नाम दर्ता गराए । बिचरा ! कवि हरिभक्तलाई कसरी कसरी ठगेका छन् आफ्नै जमातका ठगहरूले पनि ।

असमेली नेपाली साहित्यमा कुन विधामा धेरै कलम चलाएका छन् स्रष्टाहरूले ?

असमेली नेपाली साहित्यमा स्रष्टा बढी सक्रिय भएको विधा सायद कविता नै हो कि । अरू विधामा लेख्न प्रायः सबैले झ्याउ मानेर नै हो कि । अथवा मनस्थिर राख्न न मिलेर या अध्ययनको कमीले हो कि अनि कविका रूपमा परिचित हुन कविता लेख्न सजिलो मानेका ।

अनि असमेली नेपाली साहित्यमा थोरै लेखिएका विधा चाहिँ कुन-कुन छन् ?

थोरै लेखिएका विधा उपन्यास, कथा, प्रबन्ध, नियात्रा र समालोचना आदि हुन् । यिनका विषयवस्तु धेरै जटिल हुन्छ अनि अध्ययनको धेरै आवश्यकता र समय धेरै खर्चिने भएकाले नै थोरै लेखिएको हो कि ।

समग्रमा असमेली नेपाली साहित्यको अवस्था कस्तो छ ?

समग्रमा भन्नुपर्दा असमेली नेपाली साहित्यको अवस्था अहिलेसम्म राम्रै छ र त साहित्य परिषद्, असम नेपाली साहित्य सभाले आ-आफ्नो कालक्रममा नेपाली साहित्य मौलाउन दिनका लागि प्रोत्साहन र उत्साह दिइरहेका छन्, लेखक कविहरूलाई सम्मान दिएर ।

असमेली नेपाली साहित्यमा पत्रपत्रिकाको सम्भावना र चुनौती केकेस्ता छन् ?

असममा नेपाली साहित्यमा पत्रिकाहरू दिगो हुने सम्भावना कम छ । हाम्रा पाठकहरूको रुचि पत्रिपत्रिका पढी दिने नभएकाले पत्रपत्रिका अल्पायुमै बिलाउँछन् । फेरि अहिले मोबाइलको युग युवावर्ग मोबायलमै रमाइरहेका छन् । पत्रपत्रिका कसले खोजेर पढिदिओस् । हुन त, पाठकहरूमा जागरुकता ल्याउने चुनौती नै हाम्रो मुख्य काम हुन आउँछ । निचोडमा हाम्रो जमातले अझै पनि साहित्यको महत्त्व नबुझेझैँ गर्छन् ।

यी समस्यालाई समाधान गर्न कसले के गर्नुपार्ला ?

मेरो विचारमा आगत भविष्य सुधार्न सन्तानका अभिभावक नै मुख्य धारामा आएर सानैबाट ती सिखहरूलाई ज्ञान दिनुपर्छ कि ।

बिन्दु’ पत्रिका प्रकाशन गर्ने योजनाचाहिँ कसरी बनेको थियो ?

मेरो खण्डकाव्य ‘नवअश्रु’ सन् १९६० मा छाप्दा ‘बिन्दु प्रकाशन’ स्थापित गरेर म बनारस गएको थिएँ । त्यहाँ आर्यभूषण प्रेसमा धेरै नेपाली पत्रिकाहरू छापिएको देखेँ । कतिवटा पत्रिकाको प्रुफ पनि हेरिदिँदा त्यतैबाट मेरो मनमा पत्रिका छाप्ने र प्रेस राख्ने उत्सुकता जाग्यो अनि प्रकाशनकै नामको ‘बिन्दु’ लाई छाप्ने विचार लिएँ ।

बिन्दु’ यहाँसम्म आइपुग्दा के कस्ता समस्याहरू आइपरे ?

बिन्दुको प्रथम अङ्कमै छापिएर आउँदा अर्थ सङ्ग्रह नभएकाले मेरो मितिनी दिदीको सुनका गहना बन्धकी राखेर बिन्दु उकासेँ । जे होस् आजको परिस्थितिसम्म आइपुग्दा कस्ता-कस्ता समस्याहरू आइपरे ती व्याख्या गरेर सकिँदैन । तापनि एकपालि भाषाविज्ञ कमलमणिज्यूले मेरो व्यथा छामेर एउटा पत्रमा लेख्नुभएको थियो- ‘नेपालीज्यू तपाईँका जीवनमा कस्ता-कस्ता हावा, हुन्डरी, बाधा आएर पनि सङ्घर्ष गर्दै हुनुहुन्छ । जानेर दुःख लाग्छ, हजुरप्रति मायाँ बढेको छ ।’

अझै पनि बिन्दु’ निरन्तर प्रकाशन भइरहेको छ । बिन्दुका अबका योजना के छन् ?

‘बिन्दु’ नेपाली साहित्य जगत्‌मा अझै पनि प्रकाशनमा आउन सकेकोमा म त सम्झन्छु साहित्यनुरागीहरूकै सहयोग र स्नेहले नै हो । बिन्दुका धेरै विशेषाङ्कजस्तै भाषा विशेषाङ्क, नेपाल विशेषाङ्क, कथा विशेषाङ्क, एकाङ्की विशेषाङ्क, सिक्किम विशेषाङ्क, रजत जयन्ती र स्वर्ण जयन्ती आदि विशेषाङ्कहरू प्रकाशन भइसकेका छन् । अँ बिन्दुका अबका योजना आफैँआफमा मेरो होस्टेमा हैसेँ थपिदिने साहित्यानुरागीहरूबाट अनेकौँ विशेषाङ्क निस्कने छन् ।

भारतीय नेपाली पत्रपत्रिकालाई चाहिँ कसरी हेर्नुहुन्छ ?

भारतीय मात्र किन अन्ताराष्ट्रिय क्षेत्रका नेपाली पत्रपत्रिकालाई समेत समदर्शी भएर हेर्छु र सबैको मङ्गलमय र दीर्घायुको कामना गर्दछु ।

असममा नेपाली पत्रपत्रिकाको समकालीन बजारलाई कसरी हेर्नुहुन्छ ?

असममा मात्र किन भारतभरिको नेपाली पत्रपत्रिकाको समकालीन बजार टिठलाग्दो छ । सबै सहयोग र प्रोत्साहनमा केही बाँचेका छन्, धेरै मेरका छन् । यसैले हाम्रो समकालीन बजार टिठलाग्दो नै छ ।

पत्रपत्रिकाको दायित्व केकस्तो हुनुपर्छ जस्तो लाग्छ ?

पत्रपत्रिकाको दायित्व पाठकहरूलाई मनोरञ्जनका लागि मात्र रचना नदिएर उद्देश्यमूलक रचनाका साथै समाजको विकास र उन्नतिका लागि ज्ञानबद्धक सामल दिनुपर्छ किनकि साहित्य समाजको दर्पण हो ।

साहित्यिक पत्रिकाको प्रोत्साहनका लागि राज्यले केकस्तो भूमिका खेल्नुपर्छ ?

साहित्यिक पत्रिकाहरूका पाठक थोरै भएकाले यसको बजार पनि सानो छ । यसर्थ राज्यले सरकारका आफ्ना सरकारी विज्ञापन साहित्यिक पत्रिकालाई दिएर प्रोत्साहनका लागि सहयोग गरे उचित हुने थियो ।

यसमा असम राज्यले केकस्तो भूमिका खेल्दै छ ?

यही बोल्नेको पिठो बिक्छ नबोल्नेको चामल पनि बिक्दैन भनेझैँ छ । जातीयवादको सञ्जालभित्र ।

तपाईँको आफ्नोचाहिँ लेखनका दृष्टिले पहिलो रचना कुन हो ?

लेखनको दृष्टिले मेरो पहिलो रचना ‘?’ प्रश्नवाचक कविता हो । सन् १९५७ मा लेखिएको र सन् १९६२ मा ‘उदय’ प्रकाशित भएको थियो ।

प्रकाशनका दृष्टिले पहिलो रचनाचाहिँ नि ?

सन् १९६२ मा ‘उदय’ छापिएको ‘?’ प्रश्नवाचक कविता नै मेरो पहिलो प्रकाशित रचना हो । हुन त, १९६० मा मेरो खण्डकाव्य ‘नवअश्रु’ पुस्तकका रूपमा छापिएको थियो ।

जीवनको भोगाइका क्रममा बाल्यावस्थालाई कसरी सम्झनुहुन्छ ?

आमाविनाको टुहुरो, सौतेली आमाको अवहेलनामा बाल्यावस्था अवहेलित जीवन भएर बित्यो । अहिले त्यो अवहेलित जीवन र त्यसपछिको सङ्घर्षमय जीवन सम्झँदा आज पनि आँखा रसाएर आउँछ । बाल्यकालको जीवन डिगबोईमा बित्यो तापनि जीवनमा हरेस नखानु नै सफलताको कुन्जी रहेछ ।

तपाईँको विगत जीवनमा भए गरेका बिर्सन नसकेका क्षण केकस्ता छन् ?

मेरो सङ्घर्षमय जीवन हो । मैले बिर्सन नसकेको बाल्यकालमा नै सौतेनी आमाको ताडना र सम्पतिदेखि वञ्चित रहेको क्षण नै हो ।

जीवनलाई परिभाषित गर्नुपऱ्यो भने के भन्नुहुन्छ ?

हरेस नखाई जीवनसँग सङ्घर्ष गर्नु नै जीवन हो अनि यही नै प्रेरणाको स्रोत हो ।

तपाईंलाई उत्कृष्ट लागेका सर्जक र सिर्जनाका बारेमा बताइदिनू न ?

मलाई मन पर्ने सर्जक मेक्सिम गोर्की र उनको सिर्जना आमा हो । जसले विश्व इतिहासको रङ्गमञ्चमा नयाँ युगको अभिव्यक्तिमा विकासको द्वार खोल्ने शङ्खघोष गरेको छ ।

शासक र सर्जकको सम्बन्धलाई कसरी हेर्नुहुन्छ ?

शासक र सर्जकका बिचको सम्बन्धलाई हेर्दा सर्जक शासकभन्दा उपल्लो तहको ज्ञानी भएकाले सायद चाटुकदारी नगरेर अलग्गै बसेर दिशानिर्देश गर्ने कार्यमा लागेको नै बेस देख्छु । चाहे विगतको शासक होस् या वर्तमानको शासक, शासक शासक नै हो । सर्जकले शासकको चाटुदारी गरेको छैन भने उसको नियत सर्जकमाथि नराम्रो रहेको हुन्छ किनभने सही मानेमा सर्जकले लोहा लगाउने साहित्यको सृष्टि गर्छ जो कुनै पनि शासकलाई त्यो सह्य हुँदैन ।

नयाँ प्रकाशकहरूलाई के सल्लाह दिनुहुन्छ ?

कुनै पनि भुक्तभोगी प्रकाशकबाट सरसल्लाह लिएर पाइला चाल्नु र वरिष्ठ साहित्यकारका पुस्तकमात्र होइन नयाँ पालुवाहरूका साहित्यलाई पनि अगाडि बढाउनुहोला ।

जीवनका भावी लेखकीय योजना के छन् ?

जीवनको उत्तरार्द्धमा छु । वर्ष ८२ वय भइसक्यो । लेख्ने शक्तिमा आघात पर्न गएको छ । मेरी श्रीमती ब्रेन स्टक भएर ओछ्यान परेकोमा चिन्तित र दुःखी छु । एउटा उपन्यास ‘म खुनी हुँ’ र ‘आजको मान्छे’ कवितासङ्ग्रह तयार पार्दै छु ।

साहित्यमा लागेर के पाएँ र के गुमाएँ जस्तो लाग्छ ?

साहित्य अमूल्य धन पाएँ । मातृभाषाको समीपवर्ती भएर सेवा गर्न पाएँ जीवनमा । यही नै ठूलो धन सम्झेँ । मान्छे नाङ्गो आयो र नाङ्गो जान्छ । मरेर जाँदा केही लिएर जान्न तर भाषासेवाको गुण र विद्या आर्जेकाले साहित्यको महत्त्व बुझेको हुनाले त्यही नै हृदयमा अङ्कित गरेर त्यही नै लिएर जान्छु, पञ्चभूतमा विलीन भएर । के गुमाएँ अर्थ बुझाउन नपार्ला ।