पृष्ठभूमि –
जातीय अस्मिताको रक्षाका लागि पहिलै शैक्षिक साथै आर्थिक विकास हुनुपर्छ । किनकि शैक्षिक विकासले मात्रै एउटा व्यक्तिलाई उसको अधिकार, जाति, समाज र देशप्रतिको जिम्मेदारी बोध गराउँछ । शिक्षाले आर्थिक सुदृढीकरणमा सकारात्मक प्रभाव विस्तार गर्दछ अनि आत्मनिर्भर बनाउँछ । आफ्नो जातिको अस्मिता कसैले बचाइदिँदैन आफैँले बचाउनुपर्ने हुन्छ । जातीय अस्मिता बचाउनुपर्ने मानसिकतामा नै थुप्रै सङ्घसंस्थाहरू जन्मिए । वैचारिक क्रान्तिले पनि सोचेजस्तो नसके तापनि केही हदसम्म सघाउ पुऱ्याएको छ । वैचारिक क्रान्तिमा अझ व्यापकता आउनुपर्छ । हामी एकताको डोरीमा बाँधिनुपर्छ । जताततै सिमलको भुवाझैँ उडेर हुँदैन ।
असममा पितापुर्खाका पालादेखि नै गोर्खाहरूको बसोबास छ । अरू जनगोष्ठीसरह असमियाको सुखदुःखमा सहभागी बन्ने गोर्खाहरूले असमेली समाज, साहित्य, संस्कृति, राजनीति, अर्थनीति आदिमा पनि प्रशस्तै योगदान दिइरहेका छन् । सीमा सुरक्षाको त झन् पुरानो इतिहास छ । तापनि हाम्रो योगदानको सही मूल्याङ्कन भइरहेको छैन । त्यसैले होला हामीलाई रैथानेको मर्यादा दिन गाह्रो परेको । कतै हामी हेपिएका छौँ, कतै थिचिएका छौँ, कतै भूमि अधिकारदेखि वञ्चित छौँ । अर्थात् हामी जातीय अस्मिता जोगाउन सङ्घर्षरत छौँ ।
भारतवर्षसँग नेपाली अथवा गोर्खाहरूको सम्बन्ध अहिलेको होइन । यो सम्पर्क प्राचीन कालदेखि नै रहेको कुरा धर्मग्रन्थहरूमा पनि उल्लेख छ । केवल मात्र धर्मग्रन्थमा होइन यो सम्बन्धको कुरा इतिहासको पाना पल्टाउँदै जाँदा अझै निकै कुराहरूको थाहा लाग्छ । प्राचीन कालदेखि नै दक्षिणपूर्व भूखण्डमा किराती मानिसहरूको बसोबास थियो । आर्यहरूको आगमनअघि नै यो भूखण्डमा किरात र खस जाति थिए । उल्लेखनीय कुरा के छ भनी असमका कोचे, मेचे, नागा र नेपालका राई, लिम्बु आदि किरातहरूकै सन्तति । कतिपय पुराणमा फेरि नेपालका दक्षिणपूर्व र ब्रह्मपुत्रका छेउछाउमा किरातहरूको बसोबास थियो भन्ने उल्लेख पाइन्छ । असमसित गोर्खाहरूको प्राचीन कालदेखि घनिष्ट सम्बन्ध रहेको कुरा ऐतिहासिक तथ्यबाट भन्न सकिन्छ ।
हाम्रा पुर्खाहरूको त्याग र बलिदानका गाथाहरू इतिहासका पानाहरूमा छन् । हामीलाई यिनै त्याग र बलिदानले गर्वबोध गर्न सिकाउँछ । राष्ट्रप्रति जनमानसको कर्तव्यबारे सचेत गराउँछ तर अधिकारप्राप्तिको क्षेत्रमा हामीलाई निकै समस्याहरूले घेर्दछ । थुप्रै प्रश्नहरूको सामना गर्नुपर्दछ । हाम्रो त्याग र बलिदान अथवा राष्ट्रभक्तिसमेतलाई सन्देहको दृष्टिले हेरिन्छ । छिमेकी राष्ट्र नेपालसितको सम्बन्ध अथवा प्रदर्शनकारीको ठाउँ दिइन्छ तर सन्देहको दृष्टिलाई गोर्खाहरूले आफ्नो त्याग र बलिदानले जबाफ दिएका छन् । इतिहासलाई विश्वास गरेका छन् । जातीय अस्मिताबोधले नै हो असमेली नेपाली कविहरूले आफ्ना सिर्जनामा यस विषयलाई भित्र्याए । थुप्रै रचनाहरू लेखिए । अझै लेखिरहेका छन् ।
जातीय अस्मिताका प्रसङ्गहरू –
“यो देशको माटाले भन्छ
यो देशको ढुङ्गाले भन्छ
हाम्रो पनि रातो रगत यहीँ बगेको छ
हाम्रो पनि तातो पसिना यहीँ खसेको छ ।” – हरिभक्त कटुवाल
हरिभक्त कटुवालको पालादेखि नै जातीय अस्मिताको स्वर चर्किएको हो । यस स्वरलाई पछिका कविहरूले पनि जीवित राख्दै कयौँ कविताहरू सिर्जना गरे, गरिरहेकै छन् ।
गोर्खाहरूले भोगिआएका पीडाहरूले जातीय अस्मितालाई घचघच्चाएको छ । त्यसैले कविहरूले विद्यामानतालाई कवितामा उतारेका छन् । हाम्रो त्याग, बलिदान अथवा समन्वयका गाथाहरूले कविता सजाएका छन् । प्रायः सबै कविका कवितामै जातीय अस्मिताले ठाउँ पाएको देखिन्छ तर यहाँ सबै कविताहरूको चर्चा गर्दा लेख निकै लामो हुने हुनाले उदाहरणका लागि समकालीन युग (सन् २००० देखि यता ) का उपलब्ध भएका कविताका संयुक्त सङ्कलन र कवितासङ्ग्रहमा जातीय अस्मिता भेटिएका कविताहरू मात्रै समावेश गरिनेछ । अब हेरौँ त कवितामा जातीय अस्मिताका प्रसङ्गहरू –
“सीमा रक्षातिर पनि सबै गोरखा अस्त्रधारी
नित्यै भिड्ने अरिदलसितै ज्यानको बाजि राखी ।
बस्छौँ नित्यै कठिनसितले राष्ट्रकै गीत गाई
चोखो मीठो मन-वचनका भारतीका पुजारी ।” (हाम्रो परिचय, पृष्ठ-६२)
छविलाल उपाध्यायको ‘काव्यसेतु’ कविता सङ्कलनको ‘हाम्रो परिचय’ शीर्षक कवितामा पनि जातीय अस्मिताको पुकार सुनिन्छ । कविले यस कवितामा सीमारक्षाका लागि आफ्नो ज्यान दाउमा राख्तै शत्रुसँग दिनहुँ भिड्दै राष्ट्रभक्तिको परिचय दिएको भाव व्यक्त गरेका छन् ।
“यो देशको सीमानामा हाम्रो रगत विदेशी हुँदैन
त्यसैले एकचोटि हामीले स्वदेशी
बोली बोलिदिनुपर्छ
कसैलाई सुमति ल्याउन
अब देशका लागि ज्यान गुमाएका हाम्रा पुर्खाले
सायद एकचोटि फेरि जागिदिनुपर्छ ।” (हामी, पृष्ठ-१९०)
नव सापकोटाको सम्पादनामा निस्किएको ‘असमेली नेपाली कवितायात्रा’ कवितासङ्कलनमा समावेश गरिएको खड्गबहादुर कौशिकको ‘हामी’ शीर्षक कवितामा गोर्खा सैनिकको बलिदानलाई उपेक्षित गरिएको अर्थात् केवल मेडेल र सान्त्वनाका हरफहरू मात्रै दिइएको तर उचित मर्यादा कहिले नपाएको पीडाले कविमन आक्रोशित भएको छ । सिमानामा बगेको रगत विदेशी हुँदैन तर रगत बगाउने मानिस स्वदेशी नभएको पीडाले कवि छटपटाएका छन् । देशको स्वाधीनता आन्दोलन, असमको भाषा आन्दोलन, तेल परिशोधनालय निर्माण आन्दोलन, विदेशी बहिष्कार आन्दोलन आदिमा पनि असमेली गोर्खाहरूको अंशग्रहण सर्वजनविदित नै छ । चीन र पाकिस्तान युद्धमा गोर्खा सैनिकहरूको अभूतपूर्व साहस र पराक्रमले वीर गोर्खा नामलाई सार्थक बनाइएको थियो । वर्तमान समयसम्म असमवासी गोर्खाहरूले सबैसँग हात मिलाएर सक्तो असम भूमिलाई सेवा गर्दै श्रम, त्याग र बलिदान दिएको कुरा सबैलाई थाहा छ । असमको प्रत्येक सङ्कटकालीन समयमा गोर्खाहरूले असमियासितै पाइलामा पाइला मिलाउँदै अघिबढेका अनकौँ उदाहरण छन् ।
“यसै धरतीको माटामा मैले
पसिना बगाएको छु, रगत रङ्गाएको छु
यसै स्वदेशको रक्षक बन्दै
बाटो रङ्गाएको छु, माटो रङ्गाएको छु
यसै ब्रह्मपुत्रको बगरमा मैले
शताब्दीदेखि इतिहास गाएको छु ।” (यसै ब्रह्मपुत्रको बगरमा, पृष्ठ-२२४)
नवसापकोटा सम्पादित ‘असमेली नेपाली कविता यात्रा’ सङ्कलनमा गाभिएको नारायण प्रधानको ‘यसै ब्रह्मपुत्रको बगरमा’ शीर्षक कवितामा पनि रगतपसिना बगाएको, स्वदेशको रक्षक बन्दै बाटोमाटो रङ्गाएको, सीमाको सन्देश बोकी ल्याउँदै शताब्दी बिताएको गाथा कवितामा आएको छ ।
“तिनै पुर्खा रक्षा गरनु छ भनी देश-जनको
लिई गोलीगट्ठा टहल गरदै शत्रुदलको
बितेका छन् भन्ने विदित सब छन् तैपनि अहो
यहीँ जन्मेका हौँ यति दृढ भई भन्दिनु छ यो । ।” (यहीँ जन्मेका हौँ…, पृष्ठ- ११)
डा. खेमराज नेपालले आफ्नो काव्यकृति ‘कवितालेख्य’ को ‘यहीँ जन्मेका हौँ…’ शीर्षक कवितामा जातीय अस्मिताको भाव व्यक्त गरेको पाइन्छ । देशलाई सुरक्षित राख्नुमा लागिपरेका सैनिकहरूको बलिदानबारे सबै ज्ञात छन् तर पनि यहीँका हौँ भन्ने विषयलाई सबैले हृदयसहित मान्न तयार देखिँदैनन् । सबैले दृढताका साथ हामी यहीँ जन्मेका हौँ भनिदिँदा ढुक्क लाग्ने थियो भनी कविले आफ्नो अभिव्यक्ति पोखेका छन् ।
“हर देशको हर राज्यको सीमाको चौकीदार गर्न पुगेँ
हर प्रान्तमा युद्धको तयारी गर्न पुगेँ
कति लडेर मरे, कति मरेर लडे
नलडी मर्नेले मौकाको फायदा उठाउँदै
कति तक्मा पाए,
तर म लडेर मर्नेले के पाएँ त?
फगत तातो गोली ।” (फगत तातो गोली, पृष्ठ- ९९)
कृष्णनील कार्कीको सम्पादनमा प्रकाशित ‘समकालीन असमेली नेपाली कविता’ सङ्कलनमा समावेश गरिएको रामप्रसाद दाहालको कविता ‘फगत तातो गोली’ कवितामा जातीय अस्मिताले बेस्सरी चिच्च्याएको छ । सीमामा चौकीदार गरी हर युद्धमा प्राणाहुति दिने गोर्खा सैनिकहरूको बलिदान केवल गाथा भैरह्यो भनी आक्रोश स्वर मुखरित भएको पाइन्छ यस कवितामा ।
“देशभक्त हुनू कस्तो दृष्टान्त यदि चाहिए
फाली दम्भ, अहङ्कार मलाई हेर्न सक्तछौ ।
कैयौँपल्ट सिमानामा तिरङ्गा शान देशको
फर्केको छु लपेटेर मलाई हेर्न सक्तछौ ।” (मेरो प्राप्य देशबाट, पृष्ठ-४७)
दुर्गा दाहाल सम्पादित ‘काव्य प्रवाह’ कवितासङ्कलनमा समावेश गरिएको लक्ष्मण अधिकारीको कविता ‘मेरो प्राप्य देशबाट’ मा पनि देशका लागि गोर्खाहरूको योगदानलाई हेर्न खोज्छौ भने दम्भ, अहङ्कार त्याग गरी शुद्ध अन्तरले हेर भनी कविले गुहार लगाएका छन् । माटोसहितै आएको इतिहास छ हाम्रो नपत्याए सन्धिपत्रहरू खोतलिहेर भनी कविले सन्देहकारीहरूलाई इतिहास पल्टाउने आग्रह गरेका छन् ।
किन पो कविमनमा आक्रोश नजन्मियोस् । हाम्रो बलिदान के कम्ती छ र? पक्कै पनि छैन । हाम्रो बलिदानले त इतिहासका पानाहरू भरिएका छन् । हेरौँ त गोर्खा सैनिकहरूको इतिहास छोटकरीमा । १८१५ सन्को नभेम्बर महिनामा स्वाक्षरित एङ्लो नेपाल सुगौली सन्धिको सर्तअनुसार नेपालको दखलमा भएको नालापानी, मलाउँ, देउथल, आलमोरा, कुमाउँ, गडवाल र यमुना नदीको पश्चिममा अवस्थित ठाउँहरू ब्रिटिस-भारतको अन्तर्गत हुन्छ । यो युद्धको परिणामले नेपालको समग्र राज्यको एक तिहाइ भूखण्ड सधैँका लागि गुमाउँछ । पछिको समयमा अङ्ग्रेजले गोर्खाहरूलाई प्रतिरक्षा विभागमा भर्ना गर्छ । गोर्खा सैनिकलाई लिएर उनीहरूले चारओटा फौज बनाउँछन् । मलाउँ बेटालिएन, शिरमुर बेटालिएन, नशिरी बेटालिएन र कुमाउँ बेटालिएन । सैनिकहरूलाई सपरिवार आउने र बस्ने सुविधा प्रदान गरिएको थियो । यसरी नै पुर्खादेखि नै गोर्खाहरू भारतको विभिन्न ठाउँहरूमा भारत माताको सन्तानका रूपमा बसोबास गरिआएका छन् । सैनिक छाउनीहरू पनि देशका विभिन्न ठाउँमा बिस्तारै बन्दै जाँदा विभिन्न अञ्चलमा गोर्खा मानिसहरूको बसोबास विस्तार हुँदै गयो । मेजर एलवान उइलसनले History of the 8th Gorkha Rifles (1st Battalion) नामको ग्रन्थमा ब्रिटिस र गोर्खा सैनिकको विषयमा यसरी उल्लेख गरेका छन् अङ्ग्रेजहरूले भारतको उत्तर-पूर्व अञ्चलमा राज्य विस्तार गर्न आउँदा गोर्खा सैनिकको सहाय लिएका थिए । १८२६ सन्मा अङ्ग्रेजले मानलाई परास्त गरी यान्डाबु सन्धिअनुसार असमलाई आफ्नो अधीनमा ल्याउँछन् । असमबाहेकै पनि भुटान, तिब्बत, लुसाई पहाड, ब्रह्मदेश, मणिपुर, नागा पहाड, गारो पहाड र उत्तरपूर्व सीमान्त अञ्चल शासन गर्नुपर्दा गोर्खा सैनिकलाई खटाएका थिए । यी सैनिकहरू अवकाशपछि परिवारसहित शिलचर, आइजल, शिलङ, गुवाहाटी, लोख्रा-चारदुवार, किमिन, सदिया आदि ठाउँहरूमा ब्रिटिसको प्रजा भएर रहन्छन् ।
ब्रिटिसले गोर्खा सैनिकहरूलाई केवल युद्ध अथवा विद्रोह दमन गर्न मात्रै खटाएको थिएन, उनीहरूलाई दुर्गमभन्दा पनि दुर्गम ठाउँहरूको बेहोरा लिन पनि पठाउने गर्थे । जङ्गल फाँड्नु, पहाड ढाल्नु, नदीनालामा पुल बनाउने, बाटा बनाउनु आदि जनकल्याणमूलक कामहरूमा नियोजित गरेका थिए । १८९७ सन्को १२ जुनमा शिलङ सहरमा भएको भयङ्कर भुईँचालोपछि गोर्खा सैनिकहरूको सामाजिक सेवा उल्लेखनीय थियो । आजाद हिन्द फौजमा पनि थुप्रै गोर्खा सैनिकहरू थिए । उनीहरूभित्र सहिद दलबहादुर थापा र दुर्गा मल्ल विशेष उल्लेखयोग्य हुन् । त्यसपछि पनि दिनौँ राष्ट्रका लागि गोर्खा सैनिकहरूले रगत बगाइआएका छन् ।
“लेदुको कोइला खानमा गएर हेर
कोइला खन्दाखन्दै तिम्रा पुर्खा आफैँ कोइला भएर गए
डिग्बोईको तेल कारखानामा गएर हेर
तेल झिक्दाझिक्दै तिम्रा बाजै आफैँ तेल भएर जले
ती फाँटिला धानका खेतमा गएर हेर
बर्खा हलो जोत्दा जोत्दै बाढीले छोपेर लडे
ती अगम्य जङ्गलबीचका गाई र भैँसी
गोठमा गएर हेर
घाँस काट्दा-काट्दै रूखबाट खसेर मरे ।” (सिर्ज एउटा कागजको इतिहास तिम्रा यी पुर्खाको, पृष्ठ-२२३)
नव सापकोटाको सम्पादित उल्लिखित सङ्कलनमा नव सापकोटाकै कवितामा पनि जातीय अस्मिताले ठाउँ पाएको छ । उनलाई अस्मिताका कवि पनि भन्ने गरिन्छ । उनको ‘सिर्ज एउटा कागजको इतिहास तिम्रा यी पुर्खाको’ शीर्षक कवितामा लेदुको कोइला खानमा, डिगबोईको तेल कारखानामा आदिमा गोर्खाकै रगतपसिना चुहेको छ भन्दै कविले हरित क्रान्ति र श्वेत विप्लवमा पनि गोर्खाको बलिदान नै काम आएको थियो भन्ने भाव व्यक्त गरेका छन् ।
“…यसै तेलनगरीका कति तेलखानाभित्र
बाँच्नका लागि सङ्घर्ष गर्दागर्दै
कति कति मजदुरहरू आफैँ नै
तेल बनिसके हुन् कठै!
कतिले कोइला खोज्दै जाँदा त्यहीँ नै
आफ्नो अस्तित्वलाई नै
कोइलामा परिवर्तन पारिसके होलान् ।” (डिगबोई-२००१’, पृष्ठ-७२)
‘आरोह-अवरोह’ कविता कृतिका स्रष्टा डिल्लीराम खनाले यसै कृतिभित्र रहेको ‘डिगबोई-२००१’ कवितामा जातीय अस्मितालाई व्यक्त गर्दै ब्रिटिसकै जमानामा डिगबोई तेलखानमा र कोइला खानीमा काम गर्ने गोर्खा मजदुरको पीडालाई अभिव्यक्त गरेका छन् । गोर्खाहरू तेल भए कोइला भए तर यहाँका भएनन् भन्ने गुनासो पोखेका छन् ।
असम प्राकृतिक सम्पदाले भरपुर एउटा राज्य हो । अङ्ग्रेज शासनकालमा प्राकृतिक सम्पदाहरूको अनुसन्धानमा खनिज तेलको प्रथम सन्धान सन् १८२५ मा डिगबोईमा पाएका थिए । त्यो समयमा डिगबोई र त्यसको छेउछाउमा रहेका जङ्गलभित्र पसी तेलको सन्धान गर्ने श्रमिकहरूभित्र धेरैजस्तो गोर्खाहरू नै थिए । गोर्खाहरू निडर भई जङ्गलभित्र पसी तेलको सन्धान गर्थे तर अरूलाई यस काममा निकै कठिनाइको सामना गर्नुपर्दथ्यो । डिगबोईको रस्तापट्टि, नालापट्टि, इटाभाटा, मुलियाबारी, टोपलाबस्ती, एग्रिमेन्ट लाइन, ढाका लाइन, गरुफाटक आदि ठाउँहरूमा गोर्खाहरूको बसोबास थियो । विश्वयुद्ध, चीनको आक्रमण आदि समयमा अरू मानिसहरू भयभीत भएर डिगबोईदेखि भाग्दा गोर्खाहरू अटल भई त्यही ठाउँमा बसिरहेको कुरा सर्वजनविदित छ ।
“अस्तित्वको गुहार सुन्दैनौ, सुनी-सुनी सुन्दैनौ
पर्खालले बाटो छेक्छ, भत्काउने आँट छैन
लखेटिएको मृगजस्तै, हाम्रा आँट लखेटिएका छन्
हामीलाई आफैँलाई सम्झी-सम्झी बिर्सेका छौँ
रुँदै रुँदै हाँस्न खोजेका छौँ ।” (आशङ्कित अस्तित्व,पृष्ठ-७)
हरि गजुरेलको ‘मान्छेको कथा खोज्दै’ कवितासङ्ग्रहमा पनि जातीय अस्मिताका कविताहरू पाइन्छन् । उनले ‘आशङ्कित अस्तित्व’ भन्ने कवितामा जातीय अस्तित्वप्रति आशङ्कित भएको भाव व्यक्त गरेका छन् । छेकिएका बाटाहरूलाई भत्काउने आँटको कमीले गर्दा सर्वदा हामी लखेटिएको मृगझैँ हुनुपरेको गुनासो कवितामा पोखेका छन् । हामीले आफू हुनुको पहिचान नै बिर्सिइसकेका छौँ त्यसैले होला केवल रोएका छौँ अनि रोएकै बेला हाँस्ने प्रयास गरेका छौँ । हाम्रो अस्तित्वलाई हामीले केवल सम्झना मात्रै ल्याएका छौँ अनि ढुक्कले निदाइरहेका छौँ अनन्त निद्रामा भनी कविमन छटपटाएको छ ।
“यो माटाले तिमीलाई रुचाएको छैन
यहाँको हावाले तिमीलाई पचाएको छैन
व्यर्थ प्रयास नगर
सन्तान जन्माउने रहर नगर यसघरी ।” (यसघरी अर्को म नजन्माऊ तिमी, पृष्ठ-२१)
रुद्र बरालको काव्य कृति ‘तेस्रो आँखा’को ‘यसघरी अर्को म नजन्माऊ तिमी’ शीर्षक कवितामा जातीय अस्मिताको स्वर मुखरित भएको छ । जति नै त्याग र बलिदान, देशप्रेमले ओतप्रोत भएर भिजे पनि गोर्खालाई यहाँको माटाले रुचाएको छैन, यहाँको हावाले पचाएको छैन त्यसैले यहाँ ती गाथाहरूको बढिबढाउ नगर भन्दै कविमनले विद्रोह गरेको छ ।
“परजीवी भई आफ्नो छुट्टै पहिचान बनाउन खोज्ने
यी आशाहरूलाई अझैसम्म किन थाहा नभएको होला
यहाँ सरलतको भन्दा कुटिलताको भाउ धेरै छ
हुन सक्छ तिम्रो आभूषण सरलता हो
तिम्रो गहना इमानदारी र सच्चाइ हो
मोल छैन त्यस्तो पुरानो गहनाको आजभोलि यहाँ ।” (सीमारेखा, पृष्ठ-१३)
नीलिमा आचार्यले पनि आफ्नो काव्यकृति ‘परिवर्तन र अन्य कविता’को ‘सीमारेखा’ शीर्षक कवितामा जातीय अस्मितालाई भित्र्याएकी छन् । उनको यस कवितामा गोर्खाहरूको सरलता, इमानदारिता र सच्चाइको मोल नभएको गुनासो छ ।
“आजकाल
हाम्रो सत्ता
सङ्कटमा छ
कतै बिलाउँदै छ
कतै सुस्ताउँदै छ ।
……
युवाको प्रभाव
राजनीतिको चक्रव्यूहमा
डगमगाउँदै छ ।
…..
सरकारको छलबल
र हाम्रै मौनतासँगै
उनीहरूको सत्ता
मास्सिँदै छ मास्सिँदै छ ।” (सङ्कटमा अस्तित्व, पृष्ठ-२९)
कृष्णनील कार्कीको काव्यकृति ‘समयको भाग्यरेखा’ मा पनि जातीय अस्मितालाई लिएर आशङ्कित भएको भाव व्यक्त गरिएको छ । उनको ‘सङ्कटमा अस्तित्व’ कवितामा जातीय अस्मिता सङ्कटमा भएको, राजनीतिको प्रभावमा डगमगाएको, सरकारको छलबल र हाम्रो मौनताले गर्दा हाम्रो अस्तित्व बिस्तारै मासिँदै गएको आशङ्का जताएका छन् ।
के हाम्रो राजनीतिक योगदान छैन त । कुनै पनि पक्षका कुरा गर्दा त्यहाँ गोर्खाहरूको योगदान छ नै । यस्तो योगदानले पनि किन गोर्खा रैथानेको सूचीमा नगाभिएको भन्ने प्रश्न आजको होइन । यस प्रश्नले असमेली प्रत्येक गोर्खा मनलाई घचघच्चाएको छ । अलिकति राजनीतिक योगदानलाई यहाँ समेटिहेरौँ त ।
राजनीतिक समस्याहरूका समाधानका लागि जन्मिएको ‘असम एसोसियसन’ नामको राजनीतिक सङ्गठनसित पनि गोर्खाहरू जडित थिए । सन् १९२१ को १८ एप्रिलमा जोरहाट सहरमा बसेको ‘असम एसोसियसन्’ को अन्तिम सभाले ‘असम एसोसियन’ लाई ‘असम प्रादेशिक काङ्ग्रेस’ का रूपमा परिवर्तन गर्ने प्रयास गरेको थियो । उक्त सभाका सभापति थिए बिहालीका छविलाल उपाध्याय । असममा बसोबास गरेका गोर्खाहरू छविलाल उपाध्यायको नेतृत्वमै असहयोग र ऐन अमान्य आन्दोलनमा जडित भएका थिए । सन् १९२१ को २३ र २४ डिसेम्बरमा आहमदावादमा अनुष्ठित काङ्ग्रेस महासभाको अधिवेशनमा छविलाल उपाध्याय प्रतिनिधि निर्वाचित भएका थिए ।
सन् १९४२ को गण आन्दोलनमा गोर्खाहरूले देशभक्तिको परिचय दिन सफल भएका थिए । दलबीरसिंह लोहार, भक्तबहादुर प्रधान, नरपति तिमसिना, पद्मप्रसाद ढुङ्गेल, जयनारायण नेपाल, नरबहादुर क्षत्री, विष्णुलाल उपाध्याय, रामलाल उपाध्याय, हरिप्रसाद उपाध्याय, कुमुद शर्मा, जगसिं छेत्री, आत्मासिं छेत्री, नारायण ढुङ्गेल, प्रजापति ढुङ्गेल, विलास धमला, ऋतुपर्ण सुवेदी, भीमलाल दाहाल, रङाई दर्जी, वृद्धिलाल भण्डारी, बृहस्पति शर्मा, कमलापति दाहाल, गोविन्दराम उपाध्याय, प्रजापति रिजाल, वलभद्र छेत्री, नित्यानन्द तिमसिना, चन्द्रबहादुर दाहाल, मनबहादुर दर्जी, शारदा शर्मा आदिले कारावासको सजाय भोग्नुपरेको थियो । सन् १९४२ को २० सेप्टेम्बरमा गहपुर, सोठिया, बिहाली र ढेकियाजुली प्रहरी चौकीहरूमा जातीय पताका फहऱ्याउने सिद्धान्तमा मानिसहरू अटल थिए । भारतको स्वाधीनता आन्दोलनमा असमका गोर्खाहरूको योगदान विषयमा Political History of Assam (Vol.111) र History and culture of Nepali ग्रन्थमा उल्लेख छ । सन् १९२९ मा १४ वर्ष उमेरमै सिंहपुरुष दलबीर सिं लोहारले जातीय स्वयंसेवक वाहिनीमा योगदान गरेका थिए । सन् १९३० मा कराचीमा अनुष्ठित भएको अखिल भारतीय काङ्ग्रेस कमिटीको सभामा असमको भएर प्रतिनिधित्व गरेका थिए । सन् १९३० मा कानिंहाम सार्कुलारको तीव्र प्रतिवाद गर्दा तिन महिनाको कारावास भएको थियो । स्वाधीनता आन्दोलनमा छात्रहरूलाई जडित गराउने अपराधमा सन् १९४२ मा ६ महिना जेल जानुपर्ने भएको थियो । दलबीर सिं लोहारले सक्रिय राजनीतिमा योगदान गर्दै असमको पहिलो गोर्खा विधायक भएका हुन् । उनले सन् १९४६ मा मजदुर र अन्यान्य पछौटे जातिको प्रतिनिधित्व गर्दै तिनसुकिया अञ्चलबाट विधायक चुनिएका थिए । सन् १९५२ मा उनले फेरि डिगबोई सदिया अञ्चलबाट असम विधान सभाको सदस्यका रूपमा निर्वाचित भएका थिए । सन् १९४६ मा उनी फेरि असम विधान सभाका लागि निर्वाचित भएका थिए । सन् १९३४ देखि भक्तबहादुर प्रधान काङ्ग्रेस कर्मीका रूपमा देशको स्वाधीनता आन्दोलनमा अंशग्रहण गरेका थिए । उनी दिनरात काङ्ग्रेस सदस्य भर्ना अभियानमा लागिपरेका थिए साथै तेल कोम्पानीका मजदुरहरूका स्वार्थका लागि आवाज उठाउँथे । यही उपराधमै उनले ११ महिनाको जेल जानुपर्ने भएको थियो । असमका मुख्यमन्त्री शरद् सिंहदेवले उनलाई स्वाधीनता युद्धमा रहेको योगदानका लागि ताम्रपत्र प्रदान गरेका थिए ।
सन् १९४२ को भारत त्याग आन्दोलनमा विष्णुलाल उपाध्यायको सक्रिय भूमिका थियो । सन् १९४२ को २० सेप्टेम्बरका दिन बिहाली प्रहरी चौकीमा जातीय पताका फहऱ्याउन जाने नेताहरूभित्र विष्णुलाल उपाध्याय पनि थिए । जसका लागि अरू कर्मी साथै उनलाई पनि ब्रिटिसले ग्रेप्तार गरी तेजपुर जेलमा बन्दी गरिराखेका थिए । छात्र भनेर थाहा पाएर विचारपतिले उपाध्यायलाई सोधेका थिए- “मैले अन्जानमै यो आन्दोलनमा अंशग्रहण गरेँ, भविष्यमा यस्तो काम गर्दिनँ भनेर दलिलमा सही गर, तिमीलाई छोड्दिन्छौँ ।” उपाध्यायले जबाफमा भनेका थिए-“मैले स्वज्ञानमै यो आन्दोलनमा योगदान गरेको हुँ, भारत स्वाधीन नभएसम्म हाम्रो आन्दोलन चलिरहन्छ ।” यस्तो जबाफमा उपाध्यालाई ६ महिनाको कारावास भयो । उनले सक्रिय राजनीतिमा योगदान गर्दै थुप्रैचोटि असम विधान सभाको सदस्यको रूपमा चुनिएका थिए । १९६२, १९६७ र १९७८ सन्मा गहपुर र बिहाली विधान सभा समष्टिबाट विधायक चुनिएका थिए । यहाँ छोटकरीमा विषयहरूलाई ल्याइएको छ । नत्र, लेख निकै लामो हुनेछ ।
“आमा, मेरा बाउ-बराज्युले यहाँका जङ्गल फाँडेका रे
बौद्ध भिक्षु भई भारतमा पसेका रे
मेरा कुप्राबा त जन्ती भई प्रागज्योतिषपुर आएका रे
नफर्किएकाले उनका बाबु, पुत्रशोकमा वैकुण्ठवासी भएका रे
जसले कामरूप सजायो, नरसिंह मादल, पञ्चेबाजा बजायो
खुकुरीको प्रहारले शत्रुलाई त्रस्त बनायो
कहिले भनिन्छ चौकीदार, कहिले गिज्याइन्छ कान्छा-दाज्यू भनी
जसका रगतले यहाँको इतिहास लेखिन्छ
आज विदेशी भनी किन हामीलाई प्रहार गरिन्छ ।” (किन हामीलाई मानसिक प्रहार, पृष्ठ-४४)
हृषीकेश भरद्वाज (चेवन शर्मा) ले साथी,’ यहाँ यस्तै छ जिन्दगी’ कविताकृतिको ‘किन हामीलाई मानसिक प्रहार’ गरिन्छ भन्ने कवितामा त्याग र बलिदानलाई चौकीदार, कान्छा, दाज्यू आदिको विशेषणले हेला गर्दै विदेशीको मार्कामा मुछ्ने कुटिल चाललाई काव्य वाणले कडा प्रहार गरेका छन् ।
भारत र नेपालको सम्बन्ध प्राचीन कालदेखिकै भनिएको छ । प्राचीन कालेदेखि नै भारतवर्षमा विभिन्न राज्य भएझैँ हिमालय अञ्चल (वर्तमान नेपाल) मा पनि अनेक सानाठुला राज्यहरू थिए । वर्तमानको झैँ राजनीतिक सीमारेखाले पृथक् भारत र नेपाल राष्ट्र प्राचीन कालमा कुनै निर्दिष्ट राजनीतिक सीमामा आबद्ध थिएन । त्यसैले दुवै देशका नागरिकहरू दुबिधाहीन भावले आवतजावत, बसोबास गर्ने प्रक्रिया अथवा मैत्रीभाव रहनु स्वाभाविकै थियो । जसरी गोर्खाहरू भारतमा स्थायी रूपले बसोबास गरिरहेका छन्, त्यसरी नै नेपालको तराई क्षेत्रमा भारतका विभिन्न प्रान्तका साथै असमका पनि थुप्रै मानिसहरू स्थायी रूपले बसोबास गरिरहेका छन् । असमका कोचे, मेचे र राजवंशीहरू यसको प्रमाण हो ।
“बहादुर उपमा पाएर म गजक्क परेछु
मैले त, आफ्नो अस्तित्व गुमेको पनि थाहै पाएनछु,
तर पनि बुरुक्क गर्दै गदगद हुने म त फुर्के नै पो रहेछु,
भाडाको वीर बनेर म त बुरुक्क हुँदै मरेछु,
साँच्चै नै मरेको पनि चाल नपाउने म त मुडो नै पो रहेछु,
बिचार्ने मेरो अन्तरात्मालाई पनि रक्सी पिएरै भुलेछु
मेरो जीवन त मैले व्यर्थमै गुमाएछु,
शाखा सन्तानलाई घडेरीको व्यवस्था गर्न अक्षम
म त पटमूर्ख नै रहेछु ।” (गोर्खे, मत अनौठो प्राणी पो रहेछु, पृष्ठ-३०)
‘आमा, पूरा भयो तिम्रो चाहना’ कविता कृतिको ‘गोर्खे, म त अनौठो प्राणी पो रहेछु’ भन्ने शीर्षक कवितामा बोगीराम गोर्खा भण्डारीले बहादुर भएर केवल गजक्क पर्दा अस्तित्व पनि गुमाइसकेको अनि भविष्य पिँढीका लागि घडेरीको व्यवस्था गर्न नसक्ने पटमूर्ख भनी व्यङ्ग्यात्मक प्रहार गरेका छन् ।
“सेता पेरवा धेरै उडायौ
नङ्ग्रामा चील र
गिद्ध आँखामा बसाऊ
अवाञ्छित वीर्यपात आफ्नो भूमिमा
असह्य आफ्नै शुक्र फिँजाइहेर ।” (अस्मिता,पृष्ठ-२४)
अर्जुन निरौलाको ‘हजुरबाको अनुहार र पेन्सन’ कविताकृतिको ‘अस्मिता’ कवितामा कविले जातीय अस्मिताप्रति चिन्ता व्यक्त गरेका छन् । शान्तिको पक्षधर रहँदै बलिदानको वेदीमा चढ्दा नपाउनुको गुनासो मात्रै रहेकामा कविमन आक्रोशित भएको छ त्यसैले कवि अधिकार छिन्नु र जातीय अस्मिताका लागि आफ्नो पौरख देखाउन आह्वान गर्दछन् ।
“उफ
जहिलै पनि आइ डी बोकेर हिँड्नु रे
मेरा प्रत्येक पाइलालाई लिएर उब्जेका
तेरा शङ्काहरूको मलम रहेछ यो आइ डी कार्ड ।” (मेरो आइ डी कार्डले, पृष्ठ-९४)
डा. इन्दुप्रभा देवीको ‘तबेलामा घोडाहरू’ काव्यकृतिमा पनि जातीय अस्मिताका उद्गारहरू पाइन्छन् । उनको ‘मेरो आइ डी कार्डले’ शीर्षक कवितामा सन्देहको घेराभित्र रहेको गोर्खा जातिले विदेशीको शङ्काबाट बाँच्नुका लागि प्रमाणपत्रको सहारा लिनुपर्ने यातनादायक स्थितिलाई कवितामा व्यक्त गरेकी छन् ।
गोर्खाहरूले आफ्नो दुखेसो बिर्सिएर पनि असमिया जातको हितमा सहयोग गरेको इतिहास छ । सन् १९७९ देखि १९८५ सम्म असमिया जातिको सङ्कटमय काल थियो । जातीय अस्तित्व रक्षाका निम्ति असमबाट विदेशी खेद्ने आन्दोलनमा असमका खिलन्जिया (रैथाने) जनगोष्ठीहरूले सुदीर्घ छ वर्षसम्म सङ्ग्राम गरेका थिए । असमिया जातिको सङ्कटकालीन समयमा गोर्खाहरूले पनि सक्रियतासहित विदेशी खेद्ने आन्दोलन योगदान गरेका थिए । पहिले त आन्दोलनकारीहरूले गोर्खाहरूलाई पनि विदेशीको सूचीमा राखी गोर्खाहरूको अन्तर्मन दुखाएका थिए तर असमका गोर्खाहरूले यी कुराहरूलाई नजरअन्दाज गर्दै विदेशी खेद्ने आन्दोलनको सहभागी बन्छन् । असम मातृलाई विदेशीमुक्त गर्ने यो आन्दोलनमा छ जना गोर्खा सन्तान सहिद भएका थिए । ती सहिदहरू हुन्- धनबहादुर छेत्री (बको), कुलबहादुर छेत्री, पद्मबहादुर छेत्री (लखिमपुर), खिरोदबहादुर तामाङ (गोवालपारा), वैजयन्ती देवी (तेजपुर) र भीमबहादुर तामाङ (गहपुर) । यसरी नै असमको प्रत्येक सङ्कटजनक स्थितिमा असमका गोर्खाहरूले असमिया जातिको स्वार्थमा पाइलामा पाइला मिलाएर अघि बढेका अनेकौँ उदाहरणहरू छन् ।
“कुनै भँगालोबाट उम्किएर
कतै उम्रिनु परिहालेमा
तिम्रो परिचय सोधिन सक्छ
त्यस बेला-
तिम्रो पुर्खाले बनाएको
चौतारीको कुरा गर्न नबिर्स ।” (हाम्रो धुकधुकी – जराहरू,पृष्ठ-२३०)
नव सापकोटा सम्पादित ‘असमेली नेपाली कविता यात्रा’ कवितासङ्कलनमा समावेश गरिएको पुष्पधर शर्माको ‘हाम्रो धुकधुकी – जराहरू’ शीर्षक कवितामा जातीय अस्मिताको भाव व्यक्त भएको छ । एउटा समस्याबाट छुटकरा पाए भनी अर्को समस्याले फेरि सताउँछ अनि परिचयको कुरा ठाउँ-ठाउँमा सोधिन्छ त्यसैले तिमीले पुर्खाको इतिहास भुल्नु हुँदैन बरु इतिहासलाई दर्बिलो बनाउने काम गर्नुपर्छ भन्ने भाव व्यक्त गरेका छन् कविले ।
“ हुरीले धेरैपल्ट उडाउन झम्टेको छ मेरो घर
भुईँचालाले धेरैपल्ट भत्काउन
तर बेघर पार्न सकेको छैन मलाई ।” (मेरो घर, पृष्ठ- ५४ )
धर्मेन्द्र उपाध्यायको काव्य पुस्तक ‘तिमी घामकी आमा’मा सन्निविष्ट भएको ‘मेरो घर’ कवितामा कविले अस्तित्वमाथि थुप्रैचोटि प्रश्न खडा भएको तर ती प्रश्नहरूले अस्मिताको धरातललाई हल्लाउन नसकेको तर मनमुटुलाई चोटिल पारेको प्रसङ्ग ल्याएका छन् ।
“सुन्थेँ, हाम्रा पुर्खाहरू
खुकुरीको धारमा निदाउने गर्दथे
अचेल हामी रातभरिको अचेत प्रहरमा
सुरामत्त भई कुनै ‘बारमा’ लडिरहेका छौँ
चारैतिर उन्मत्त घोडाका टाप्को शब्द
अब हाम्रा नानीहरू कुन संसारमा उभिने हुन् ?” (स्वतन्त्र कविता-७, पृष्ठ-३२)
मोहन सुवेदीको ‘केही शब्द र धुवाँ’ कविता कृतिको ‘स्वतन्त्र कविता-७’ मा वीरत्वको गाथाले इतिहास लेखेको तर अहिले त्यो इतिहासले भविष्य पिँढीलाई एउटा भरपर्दो ओत दिन सक्ने नसक्ने विषयमा कविमन छटपटिएको छ ।
“..मध्यरात्रि यो घर ऊसँग बोल्ने गर्छ
कुप्रिबाउ-बुडिबाउका दिनको जङ्गल फाँडेको कथा सुनाउँछ
गोठको डुडमा नुन चाट्न आउने गैँडो देखाउँदै
जङ्गली चितुवाझैँ नै ब्रिटिससँग गरेको सङ्ग्राम भन्छ.. ।” (मकाएको घर,पृष्ठ-१५)
डा. जयन्त कृष्ण शर्माको ‘संसद्मा आँसु बोल्छ’ कविताकृतिभित्र रहेको ‘मकाएको घर’ कवितामा ब्रिटिसकालीन समयदेखि पुर्खाहरूले यो देशका निम्ति रगत बगाएको गाथा कवितामा अभिव्यक्त गरेका छन् कविले । शर्माका काव्य पुस्तकमा थुप्रै जातीय अस्मिताका कविताहरू पाइन्छन् ।
“आफ्नो प्रकाश आफ्नै हातले छेकी
अर्कालाई अस्मिता बन्दकमा राखी
हेपिएर, चेपिएर, निसासिएर
जीवन धान्न पल्केका हामी
आफ्नो मौलिक अधिकार लिन नसक्ने हामी
खोइ, आफूले आफैँलाई चिन्नै सकेनौँ ।” (आफूलाई चिन्ने गरौँ’,पृष्ठ-१५)
‘अनुभवका तीन पाइला’ कविताकृतिको ‘आफूलाई चिन्ने गरौँ’ कवितामा वसुन्धरा शर्माले जातीय अस्मितालाई घचघच्चाएकी छन् । गोर्खाले आफ्नो पौरखलाई चिन्नुपर्छ, आफ्नो पहिचानलाई बिर्सी सर्वदा हेपिएर, चेपिएर, निसासिएर बस्ने प्रवृत्तिलाई त्याग्दै अधिकार लिनुसक्नुपर्दछ भनी आह्वान गरेकी छन् कवयित्रीले ।
“फिरङ्गीहरूलाई तिमीले मात्र लखेटेनौ
बिर्सियौ तिमीले
स्वतन्त्रताको इतिहास
मुक्ति आन्दोलनका वीरतापूर्ण पलहरू?
तिम्रा र मेरा हजुरबाले
ज्यानलाई बाजी थापेर
देशको स्वाभिमानको रक्षाका लागि रचेका वीरगाथाहरू
तिमीले घोक्यौ कि घोकेनै
तिमीले देख्यौ कि देखेनौ?” (ब्रह्मपुत्र, पृष्ठ- १८)
अनुपमा कट्टेलको कवितासङ्ग्रह ‘शब्दहरू मेरा घाम हुन्’ मा समावेश गरिएको ‘ब्रह्मपुत्र’ कवितामा ब्रिटिसहरूलाई खेदाउनेमा गोर्खाहरूको योगदान, देशको स्वाभिमानका रक्षाका लागि लड्नेहरूमा गोर्खाहरू कहिल्यै पछि हटेका थिएनन् तर आज गोर्खाहरूलाई सौतनी आमासरह व्यवहार गरिन्छ भन्दै कवयित्रीले आक्रोश पोखेकी छन् ।
“हामीमाथि-
इमिग्य्रान्टस्को हावा
बहिरागतको भूमरी
विदेशीको तुफान
उडेर गयो ।
हामीलाई छोडेरै गयो ।
हामीलाई
पिआरसीले नङ्ग्याएथ्यो कुनै दिन
एनआरसीले चिथोरेको छ
यस घडी ।
अझ पनि
कुम्भकर्ण । नीद सुतिरह्यो भने
अझै पनि-
नर्सिसस् । सम्मोहनमा पऱ्यो भने भोलि?
हाम्रा सुकुमार नयाँ पिँढीहरू
विदेशीको सूचीमा दरिन के बेर?” (अस्मिता, पृष्ठ-१३०)
कृष्णनील कार्कीको सम्पादित ‘समकालीन असमेली नेपाली कविता’ सङ्कलनमा समावेश गरिएको कृष्ण क्षत्रीको ‘अस्मिता’ शीर्षक कविता जातीय अस्मिताले ठाउँ पाएको छ । हामीले भोगिआएका पिआरसी, एनआरसी आदि समस्याले हामीलाई रैथानेको सूचीदेखि टाढा राखेको छ । अनि हामी कुम्भकर्णझैँ सुतिरहेका छौँ । जातीय अस्मितालाई मज्जाले समात्न सकेनौँ भने विदेशीको सूचीमा नाम आउन समय लाग्दैन भन्दै सर्तक वाणी सुनाएका छन् कविले । असमका गोर्खाहरूको बसोबास भएका गाउँहरूमा कैयौँ सामाजिक, सांस्कृतिक, साहित्यिक अवदानहरू छरपस्ट भएका छन् । ती जम्मै समेटेर योगदानबारे आजको मितिसम्म लेख्ता एउटा बृहत् कलेवरको शोधमूलक पुस्तक नै हुन जान्छ । आजको मितिमा जातीय योगदान बारेको प्रयोजनीयता आइपरेको छ । भाषाले स्वीकृति पाएपछि पनि कुनै एउटा जाति त्यस देशमा विदेशी हुन सक्छ त? असममा स्थायी रूपले बसोबास गरी असमिया कलाकृष्टिलाई अँगाल्दै असमिया जातिको जीवन-मरणको प्रश्नमा हम्मेसी असमिया भनी परिचय दिने गोर्खाहरू कसरी अना असमिया भए, खिलन्जिया (रैथाने) भएनन् । कसरी दोस्रो दर्जाका नागरिक भए र कसरी विदेशीको सूचीमा हाम्रा मान्छेहरू परे । कसरी विदेशी मार्कामा मुछिए । कसरी विदेशीको दाग लिएर अनिदो रात व्यतीत गर्दै छन्? आजको मितिमा यी प्रश्नहरूले प्रत्येक गोर्खा मानिसलाई घचघच्चाएको छ । समाधानको बाटामा साधारण जनताहरू जातीय सङ्घसंस्थाको मुख हेर्दै छन् । सङ्घसंस्थाहरू पनि समाधानको मेलो खोज्न जुटेका छन् । आन्दोलन, सरकारी तौरमा बातचित आदि चलिरहेकै छ । तापनि यहाँका गोर्खाहरूले आजसम्म रैथानेको मर्यादा पाएका छैनन् ।
“पुर्खौँ बिते मकाए हाडछाला
तैँले धरतीमा कोरेको इतिहास
हेर्ने आँखा खै कता छन्
कहाँ को अब पढ्ने हो?
लेख्तोछस् केवल लेख्तोछस्
समयले आफैँ मेट्तो छ
झरीबाढी, तापहावाले
नाङ्गो जिउ तेरो फोर्दो छ ।” (कोल्टिएको इतिहास, पृष्ठ-१८३)
कृष्णनील कार्कीको सम्पादना निस्किएको ‘समकालीन असमेली नेपाली कविता’ सङ्कलनमा गाभिएको हरि लुइँटेलको ‘कोल्टिएको इतिहास’ कवितामा पुखौँ बितेको इतिहासमा पनि सन्देहको बादल मडारिएको, अझै पनि इतिहासमा त्याग र बलिदानले भरिएको तर प्राप्तिको नाममा केवल शून्यको पोको हात लागेको दुखेसो कविले पोखेका छन् । यहीँको हावापानीमा आफ्नो पौरखले गोर्खाहरू बाँचेका छन् । आफ्नो भाषासहितै यहीँको भाषालाई पनि उत्तिकै माया गरी अँगालेका छन् । पुस्तौँ पुस्तौँदेखिको बसोबास, सेवा र प्रगतिलाई कसले रोक्छ भनी कवितामा निर्धक्क आफ्नो अभिव्यक्ति खुलस्त पारेका छन् । गोर्खाहरूको जीवन साहित्य, सङ्गीत र कलाबाट प्रभावित भएको कुरा असमवासी गोर्खाहरूको वर्तमान स्थितिबाट स्पष्ट भएको छ । असममा भएका असमिया माध्यमका विद्यालयहरूमा अध्ययन गरी आफ्नो कलाकृष्टिसहितै असमिया कलाकृष्टिलाई पनि गोर्खाहरूले अपनाएका छन् । अति प्राचीन कालदेखि यही भूखण्डमा बसी असमकै अन्नजलमा जीवन निर्वाह गर्दै असमिया भाषासंस्कृतिलाई अपनाएर असमिया गोर्खाहरूले असमलाई नै आफ्नो मातृभूमि ठानेका छन् । असमिया भाषाको माध्यममा शिक्षा ग्रहण गरी यहीको चालचलन, वेषभूषा, नियम-नीतिमा मुछिँदा असमका गोर्खा साहित्यकारहरूको वौद्धिक विकासमा असमिया जातीय जीवनले प्रभाव पारेको छ र परिणामस्वरूप गोर्खा साहित्यकारहरूले पनि असमिया साहित्यमा विशेष आफ्नो छाप छोड्न समर्थ भएका छन् ।
उपसंहार –
समकालीन असमेली नेपाली कविहरूले जातीय अस्मितामाथि कोरेका अभिव्यक्तिलाई विषयवस्तु बनाएर नै यो लेख लेखिएको हो । जातीय अस्मिताको युद्ध चलिरहेकै छ । जातीय अस्मिताका कविताहरू लेखि नै रहेका छन् । समकालीन युगदेखि अघिका कविहरूले पनि जातीय अस्मिताका कविताहरू लेखेकै हुन् । हरिभक्त कटुवाल, पुष्पलाल उपाध्याय, तुलबहादुर मालेमा, युद्धबीर राणा, अविनाश श्रेष्ठ, भविलाल लामिछाने आदि प्रवीण कविहरूका कवितामा पनि जातीय अस्मिताका अभिव्यक्तिहरू प्रशस्तै पाइन्छन् ।
गोर्खाहरूको सन्दर्भमा असमिया लेखक डा. नगेन सइकियाले (असमर थलुवा नेपाली समाज, असमको रैथाने नेपाली समाज, डा. रुद्रमान थापा-२००४) उल्लिखित ग्रन्थको भूमिकामा लेखेका छन् – “म व्यक्तिगतरूपमा नेपालीमूलका असमिया मानिसहरू, अन्यान्य मूलबाट इतिहासले छुन सक्ने अथवा नसक्ने कालदेखि नै असमिया भएकाहरूदेखि सामान्यव रूपले पनि अलग्गै हुन भनेर सोच्तिनँ ।” यसरी नै असममा बसोबास गरिरहेका गोर्खाहरू असमिया हुन् भनेर प्रमाण गर्न अर्का एक जना लेखक अध्यापक प्रसन्नराम दासले (असम केशरी अम्बिकागिरि राय चौधरी, १९८९, पृष्ठ-१२५) लेखेका एउटा कुराले प्रमाण गर्दछ । उनले लेखेका छन् – “असमको भलो चाहने असमिया हुन् भनेर असम केशरी (अम्बिकागिरी राय चौधरी) ले ज्ञान गरेका थिए त्यसको एउटा उदाहरण तलको घटनाले स्पष्ट पार्दछ । राय चौधरीले भूमिहीनका असमियाले किन भूमि पाउँदैनन् भनेर प्राप्य अधिकार साबित गर्न त्यतिखेरका मुख्यमन्त्री विष्णुराम मेधीलाई घचघच्चाइराख्थे । एकचोटि प्रादेशिक काङ्ग्रेस वार्किङ कमिटीमा राय चौधरीले नेपालीलाई भूमि दिनुपर्छ भनेर युक्तिसहित यसरी भनेका थिए-नेपालीले असमिया भाषा ग्रहण गरेर असमियासितै मिलिसकेका छन् । बृहत् नेपाली जाति गठनको सपना देख्तैनन्, उनीहरूले असम रक्षाका लागि सैनिकमा भर्ना भएर प्राण दिन पनि तत्पर रहन्छन्, भगौटे भएर अन्य देशमा आश्रय लिँदैनन् ।” Planters Raj to Swaraj पुस्तकमा डा. अमलेन्दु गुहले अनेक तथ्य प्रमाणका सहित गोर्खाहरूको प्राचीन बसोबास, असमको अर्थनीति र राजकोषमा अभूतपूर्व योगदानबारे उल्लेख गरेका छन् ।
अर्थात् असमिया लेखकहरूले पनि गोर्खाहरूको योगदानबारे अथवा गोर्खाहरू यहीँकै रैथाने हुन् भनेर लेखेका छन् । यहाँ केवल उदाहरणका लागि दुई जना असमिया लेखकहरूको अभिव्यक्ति राखिएको छ तर जातीय अस्मिताको प्रश्नमा यी दुई-चार जना असमियाभाषी लेखकहरूको अभिव्यक्तिले गोर्खा मनलाई ढुक्कको सास फेर्न सक्ने वातावरण दिन सकेको छैन । इतिहास साक्षीका रूपमा ठिङ्ग उभिँदा पनि यहाँका गोर्खाहरूले आजसम्म रैथानेको मर्यादा पाएका छैनन् । वर्तमानले इतिहासका रहल पाना भरिरहँदा पनि आजैसम्म विदेशीको शङ्काबाट मुक्त भएका छैनन् यहाँका गोर्खा । त्यसैले पीडाहरू छरिदिएका छन् काव्यभूमिमा । जातीय अस्मिताको यस द्वन्द्वले दिनहुँ जन्माएको छ नवीन शिल्प र ढाँचाका जातीय अस्मिताका प्रसङ्गहरू ।
सन्दर्भसूची –
१. असमेली नेपाली कविता यात्रा- सम्पा. नव सापकोटा
२. असमिया-नेपाली मान्छेको इतिवृत्त (असमिया – नेपाली मानुहर इतिवृत्त)- विष्णुलाल शर्मा
३. समकालीन असमेली नेपाली कविता- सम्पा. कृष्णनील कार्की
४. असममा नेपालीहरूको ऐतिहासिक पृष्ठभूमि – श्यामराज जैसी, असमिया अनुवाद – अग्निबहादुर क्षत्री
५. समकालीन भारतेली नेपाली साहित्य – गति र प्रवृत्ति- सम्पा. रुद्र बराल
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।