- आमुख
शब्दको मायामा बन्दी भएर शब्दहरूसँग खेल्न मनपराउने असमका प्रख्यात कथाकार आदरणीय डिल्लीराम खनाल आफ्नो पहिलो कविताकृति ‘आरोह-अवरोह’ लिएर असममा एउटा चम्किला तारासरि उदाएका छन् ।
साहित्यका हरेक विधामा कलम चलाउने बहुमुखी प्रतिभाशाली व्यक्ति हुन् खनाल । उनको साहित्यिक यात्रा लगभग पाँच दशक पुग्न लागेको छ । यस समयावधिमा उनले धेरै कविता, कथा निबन्ध समेत लेखेर धेरै सम्मान र प्रशंसा प्राप्त गरेका छन् भने पुस्तकको सम्पादनामा पनि उनी चुकेका छैनन् । ‘अभिशप्त युगको आत्माकथा’ शीर्षक कथासङ्ग्रह प्रकाशित गरेर नेपाली साहित्यमा आफ्नो दह्रो उपस्थिति देखाउन सक्षम भएका छन् खनाल । उनका सिर्जनाहरू असममा मात्रै सीमित नभएर यहाँको भौगोलिक सीमा नाघेर अरू छिमेकी राज्यहरूमा पनि पुगिसकेर राष्ट्रिय स्वीकृतिसम्म पाइसकेका छन् ।
२. कवि चिह्नारी:-
सन १९५८ को १० अक्टोबरमा शोणितपुर जिल्लाको शिङरीमा जन्मेका डिल्लीराम खनाल माता स्व.पुण्यमाया देवी र पिता स्व. नारायण खनालका काइँला छोरा हुन् । धेरै संस्था सङ्घहरूसित संलग्न भएर भाषा, समाज, जाति तथा संहस्कृतिका लागि दिनरात अथक सेवामा जुट्ने खनाल पेसामा पशुचिकित्सा विभागमा कार्यरत थिए । हालै उनले आफ्नो कर्मजीवनबाट अवकाश लिएका हुन् ।
विषयप्रवेश :- यसघरी मेरो हातमा असम नेपाली साहित्य सभा, शोणितपुर जिल्ला समितिका सभापति श्रीमान् डिल्लीराम खनाल सरको ‘आरोह-अवरोह’ कवितासङ्ग्रह छ । सन् २०१७ मा पूर्वायण प्रकाशन एवम् अधिकारी प्रकाशनको संयुक्त पहलमा प्रकाशित भएको यो खनालको पहिलो कविताकृति हो, असम नेपाली साहित्य सभाका महासचिव एवम् असमका वरिष्ठ साहित्यकार आदरणीय रुद्र बरालले आफ्नो करकलमबाट भूमिका लेखेर यो पुस्तकको गरिमा बढाउनुभएको छ भने खनालले सुखदुःखमा साथ दिने आफ्नी सहधर्मिणी स्व. गीतादेवी खनालको नाममा समर्पण गरेर यस कृतिको मान अझ बढाएका छन् । डा. सञ्जीव बरालले अङ्कन गरेको आवरण पृष्ठले धेरै कुरा बयान गरेको यस कृतिको मूल्य २०० रुपियाँ तोकिएको छ भने यसको आइ.एस.बि.एन नम्बर ९७८-८१-९२९५५-५९-९ राखिएको छ।
जम्मा १२२ पना रहेको यो कृतिभित्र लामाछोटा गरेर ८० वटा कविता तथा गीत समावेश भएका छन् ।
‘आरोह-अवरोह’ शब्द सङ्गीतसँग सम्बन्धित भएको शब्द हो, सङ्गीतमा स्वरको उतारचढावलाई ‘आरोह-अवरोह’ भनिन्छ । मानवजीवन पनि सुखदुःखकै समष्टि हो । जीवनमा कहिले खुसीको वर्षा हुन्छ भने कहिलेकाहीँ दुखको पहिरो पनि आइपर्छ भन्ने कुरा कृतिको आवरण पृष्ठाले वर्णन गरेको छ ।
यस कृतिको पहिलो कविता हो ‘भानु वन्दना’
नेपाली साहित्य इतिहासमा आदिकविको रूपमा परिचित कविवर भानुभक्त आचार्यको श्रीचरणमा श्रद्धा सुमन अर्पण गर्दै खनालले आफ्ना कविताहरूको श्रीगणेश गरेका छन् ।
उनी कतै गीत गाउँदै रमाएका छन् भने कतै साह्रै भावुक भएको देखिन्छन् । कोमल हृदयका कवि खनालका कविताहरूको भाषा पनि सरल र सरस छ । उनी कुनै कवितामा उदास देखिन्छन् त कतै चन्चले किशोरजस्ता देखिन्छन् ।
‘तिम्राजस्तै रहरहरू’ शीर्षक कवितामा उनी यसरी भन्छन् _______
‘ तिम्रा जस्तै रहरहरू मैले नि साँचेको छु
भोलि आउने दिनलाई पर्खी हाँसी-हाँसी बाँचेको छु’
आशावादी कविले यहाँ आशाको गीत गाएका छन् । आज रोपेका सपनाहरू भोलि फुल्ने र फल्ने छन् भन्दै कल्पना गरेका छन् ।
‘ठोकेर धेरै खाएर____’ शीर्षक कवितामा कवि निराश हुँदै आफ्नो दुःख यसरी पोख्छन्
‘ ठोकर धेरै खाएर पनि म अझै बाँचेको छु
आँसुका घुड्की पिएर पनि म यहाँ हाँसेको छु’
यो कवितामा कवि सारै भावुक बनेर आफ्नो दुःख पोखेका छन् । उनी यहाँ जीवनप्रति निराश देखिन्छन् । शिशुको ‘मुड सुइङ्ग’ गरेझैँ कविको पनि मन कहिले आशाको गीत गाउँदै झुमेको छ भने कहिले विरहका वेदना पोख्दै रोएको छ ।
‘आरोह-अवरोह’ मा कवि खनालले आदिकवि भानुभक्तलाई मात्रै होइन अरू धेरै अग्रज कविगणलाई श्रद्धाञ्जलि अर्पण गरेका छन्
‘कवि हरिभक्त कटुवालप्रति’ शीर्षक कवितामा उनले कविवर कटुवाललाई सम्झेका छन् भने ‘प्रिय कविको सम्झनमा’ शीर्षक कवितामा पनि हरिभक्त कटुवाललाई सम्झिँदै जीवनको परिभाषा खोज्दै हिँडेका छन् ।
‘श्रद्धाञ्जलि महाकविलाई’ शीर्षक कवितामा सरस्वतीका वरदपुत्र महाकवि देवकोटालाई श्रद्धासुमन अर्पण गरेका छन् भने ‘श्रद्धा सुमन ‘ कवितामा कविवर पुष्पलाल उपाध्यायलाई सम्झिँदै अहिले समाजमा व्याप्त हाहाकार, हिंसा, द्वेष आदि देखेर आफ्नो मन खिन्न भएको र कसरी हजुरका श्रीचरणमा श्रद्धा सुमन अर्पण गरूँ भन्दै गुनासो पोखेका छन् ।
‘कविप्रति’ कवितामा कवि खनाल १९९४ सन्को १२ नोबेम्बरको दिन बेपत्ता भएका कवि श्री अवनी चक्रवर्तीको अनुपस्थितमा मर्माहत भई उनलाई सम्बोधन गर्दै भन्छन्
‘ यत्रो धरतीमा अब कहाँ-कहाँ खोजूँ तिमीलाई अवनी !
कवि अवनी यसरी अचानक गायव भएको खबरले खनालको मन विचलित भएको देखिन्छ, रिक्त भएको देखिन्छ ।
खनालले ‘आरोह-अवरोह’ मा अग्रज कविहरूको गुणगान मात्रै नगरेर भाषा, देश, जातीय अस्मिता एवम् संस्कृतिलाई पनि उत्तिकै महत्त्व दिएको देखिन्छ । उनका कविताहरू देशप्रेमका भावनाले ओतप्रोत भएका छन् ‘बीस अगस्त’, ‘स्वतन्त्रता दिवस’, ‘जयतु भाषा जननी’, ‘गाउँ फर्केको परदेशी साथीलाई’ तथा ‘रोइरहिछिन् भाषा जननी’ आदि कविताहरूले यो स्पष्ट गराउँछ कि खनाल एक जना देशप्रेमी, भाषासेवी, जाति तथा देशका लागि आफ्नो सर्वस्व अर्पण गर्ने देशप्रेमी कवि हुन् ।
‘आरोह-आवरोह’ मा डिल्लीराम खनाल एक जना प्रकृतिप्रेमी कविका रूपमा पनि देखा परेका छन् । हाम्रो देश कृषिप्रधान देश हो, कृषिमा विशेष महिनाहरूले विशेष भूमिका खेलेका हुन्छन्, यसै कुरालाई ध्यानमा राखेर उनी ‘असार’ र ‘साउन’ को दर्के झरीमा धान रोप्दै रमाएका छन् भने ‘मङ्सिरे कविता’मा सपनाहरूलाई भित्र्याउन लागेका छन् ।
मूलत: ‘आरोह-अवरोह’ ८० वटा कविता र गीतको सङ्ग्रह हो । यस कृतिमा गाभिएका सबै कविता, गीत अत्यन्तै मीठा छन्, भाषा पनि सरल, सुबोध छ। खनालले धेरैजसो कवितामा अतीतको गीत गाएर रमाएका छन् भने कुनै-कुनै कवितामा उदास तथा अत्यन्त भावुक भएको देखिन्छन् । पत्नीको वियोगमा उनले कसरी एक्लो जीवन व्यतीत गरेका छन् उनको यो पीडा ‘एक्लो जीवन’ शीर्षक कवितामा झल्किएको छ ।
उनी नारीलाई देवीसरि ज्ञान गर्छन् त्यसैले ‘नारी’ कवितामा उनले नारीलाई
अतुलनीय छौ तिमी, सृष्टिकी श्रोत तिमी भन्दै नारीको उपासना गरेका छन् । नारीलाई त्यागकी प्रतिमूर्ति भन्दै सीता, सावित्री, अहिल्या, द्रौपदी राधिका, धात्रीपन्ना, जयमती आदि अनेकौँ विरङ्गना नारीहरूसँग तुलना गरेका छन् ।
समग्रमा भन्नुपर्दा खनालका कविताहरूले केही न केही सन्देश बोकेका छन् । मिठासपूर्ण छन् कवितहरू तर उनले गीत र कवितालाई एकैसाथ समावेश गरेकाले पाठक गीत र कविता छुट्ट्याउन अन्योलमा पर्छन् ।
भिन्न-भिन्न खण्डमा हुन्थ्यो भने पाठक अन्योलमा पर्ने थिएनन् । साथै कविताहरूमा तत्सम शब्दहरूको व्यवहार पनि अधिक मात्रामा भएको देखिन्छन् । मेरो सुझाव ‘आरोह-अवरोह’ को दोस्रो संस्करण निकाल्दा कविता र गीतहरूलाई खण्ड खण्डमा विभाजन गरेर प्रकाशित गरे भने उत्तम हुने थियो जस्तो मलाई लाग्छ ।
पुनः उनको साहित्यिक यात्राको उत्तरोत्तर प्रगति तथा सुस्वास्थको कामना गर्दै मेरो छोटो समीक्षा समाप्त गर्न चाहेँ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।