अब आमाको आँखाबाट
आँसुका धारा छुट्न लागे
यी छोराछोरीको जीवन देखेर ।

हर्कबहादुर लामगादे रोहित (मणिपुर)

जन्म दिने आमाको कोखबाट
धिक्कारको शब्द निस्किन थाले
हाम्रो स्वार्थी व्यवहार देखेर ।

पालनपोषण गर्ने आमाको हातबाट
क्रोधका पसिना छुट्न लागे
छोराछोरीको भ्रष्टचार देखेर ।

स्नेह र ममता लुक्ने आँखाबाट
पीरका आँसु बग्न थाले
आफन्त दाजुभाइको कलह देखेर।

न्यानो आमाको काखबाट
बोक्ने मन ओइलिन लाग्यो
हामीले मायाँ नगरेर।

दूध पिलाउने आमाको छाती
आज सुक्न लागेको छ
हाम्रो स्वार्थी व्यवहारले।

आमाको शिरसहित खुट्टासम्म
गलेर आउन थालेको छ
हाम्रो व्यभिचारको भारले।

भारत आमाका आज हृदयबाट
आँसुका खोला बग्न थाले
हामीले हाम्रो मौलिक कर्तव्य नबुझेर।

(‘मन बलझिन्छ’ कवितासङ्ग्रहबाट)