जापानको राजधानी टोक्योको पूर्वोत्तर भागमा रहेको सहरको बीचबाट जापानी सभ्यताको महत्त्वपूर्ण अङ्ग मानिने सुमिदा नदी बग्दछ । यो नदीको डिलैडिल हिँड्दा अद्भुत आनन्दको वर्षा हुन्छ । सहरको मध्यभागमा रहेर २७ किमी लामो दूरीमा टोक्योको केन्द्रबिन्दु छिचोलेको यसको सौन्दर्य अविचलित रूपमा शताब्दीऔँ पुरानोझैँ प्रतीत हुन्छ । यो त्यही नदी हो, जसले जापानी सभ्यताको बीज रोप्यो । यो त्यही नदी हो, जहाँ हाइकु हुर्कियो र यो त्यही नदी हो, जसले बर्सेनी लाखौँ पर्यटकको भार थेग्दै मुलुकको पर्यटनलाई जीवन्त बनाइराखेको छ । त्यतिमात्रै होइन राष्ट्रिय तथा अन्ताराष्ट्रिय व्यापारलाई चलायमान गराउने काम गरेको छ यस नदीले । एकनिमेषमै थुप्रै ठूला-ठूला पानीजहाज र कन्टेनरहरू ओहोरदोहोर गरेको देख्न सक्छौँ । टोक्यो र आसपासका बन्दरगाहहरूबाट भित्री टोक्योसम्म सामान ओसारपसार गर्दै मुलुकको अर्थतन्त्रलाई थाप्लोमा बोकेको छ यो खोलाले ।
हरेक वर्ष अगस्ट महिनामा मनाइने तीन महोत्सवमध्ये एउटा महोत्सव यही नदीको किनारामा बनाउने गरिन्छ । यो महोत्सव यति भव्य र विशाल हुन्छ कि पहिलोपल्ट यो महोत्सवको भव्यता हेर्नेहरूले आँखा झिम्क्याउनसमेत बिर्सन्छन् । हानाबी महोत्सव मानिने यो पर्व ठीक त्यही समयको छेको पारेर मनाइन्छ । सुमिदा नदी र सुमिदा पार्कको सौन्दर्य हेर्ने जो कोहीले पनि हाइकुको जन्म कसरी भयो होला भन्ने अनुमान गर्न सक्छन् । खासमा जो कवि छैन, त्यो व्यक्ति पनि एकपटक त्यहाँ पुगेपछि कवि बन्दछ । अझ साकुरा फुलेका बेला यहाँ पुग्ने व्यक्तिहरूले अनुभव गर्ने आनन्दको त कुरा नै बेग्लै । एदोकाल (१६०३-१८६८) देखि जमजमाएको सुमिदा खोला अहिले पनि टोक्योको आइकन बनेर कञ्चन रूपमा बगेको छ ।
ठीक यही सुमिदा नदीको किनारको भित्रपट्टिको गल्लीमा हाइकु सम्राट् माचुओ बासोको सानो घर संरक्षण गरेर राखिएको छ । कुनै जोगीको कुटीजस्तो अनुभव हुने यो घरका वरपरका गल्लीहरू जापानी उच्च समृद्धिमा पनि उस्तै साँघुरो र पुरानो अनुभव हुन्छ । यही गल्लीमा भेटिन्छन्, हाइकुप्रेमीहरू । संसारभरबाट जापान आएका हाइजिनहरूका लागि यो सम्पूर्ण क्षेत्र तीर्थस्थलजस्तै प्रतीत हुन्छ ।
गत वर्ष कोरोना सङ्क्रमण उच्च रहेकै बेला हाइकु दिवस (अगस्ट १९) का दिन म आफ्नो बसाइ योकोहामाबाट ड्राइभ गर्दै टोक्योको यो उत्तरपूर्वी कुनामा पुगेको थिएँ । सोचेको थिएँ, ममात्र यस्तो पागल हुँला जो कोरोनाको उच्च त्रासमा पनि हाइकुको जन्मदिनमा बासोको सानो घर र हाइकुको उर्वर भूमि सुमिदा नदी पुग्यो।
तर मेरो सोचाइ गलत रहेछ । त्यहाँ त मास्क लगाएका बुढा, तन्नेरी र बालबालिकाहरूको स-सानो झुण्डहरू बासोको घरतिर, सुमिदा नदीको किनारमा रहेको सालिकतिर र हाइकुको सङ्ग्रहालयतिर प्रशस्त रहेछन् । जापानमा स्वास्थ्य सङ्कटकाल लागे पनि स्वास्थ्यको ख्याल नराखीकन बासोलाई सम्मान गर्न र हाइकुलाई नवीन ऊर्जा दिन जापानका स्कुल, कलेज र जापानका अनेक हाइकुसँग सम्बन्धित संस्थाहरूका सदस्य यताउता गरिरहेका रहेछन् ।
कोरोनाको उपद्रो चलिरहेका बेला पनि जापानमा आर्थिक गतिविधि ठप्प हुन नदिन यस्ता प्रेमीहरूले साथ दिइरहेका छन् भन्ने ज्ञान मलाई त्यही बेला भयो । आफू जुन क्षेत्रमा लागेको छ, त्यसका हरेक गतिविधिमा पूणर्रूपमा समर्पित हुने जापानी शैलीको परिणाम थियो, महामारीका बेला पनि हाइकुका जन्मदाताको सम्मान गर्नेहरूको यो भिड । यत्ति हो, उनीहरूले स्वास्थ्य मापदण्डको राम्रो पालना गरेका थिए र सामाजिक दूरी राख्ने प्रयास गरिरहेका थिए । फराकिलो लाइन लागेर विभिन्न ठाउँमा टुक्रुक्क बसेका हाइकुप्रेमीहरूको त्यो सम्मान देखेपछि मैले केही व्यक्तिसँग कुरा गरेँ । खोला किनारमा ढुङ्गामा कुँदिएको बासोको हाइकु छेवैमा तस्बिर लिइरहेका एक जनाको हाउभाउले मेरो ध्यान खिच्यो ।
आफूलाई ओसाका हाइकु क्लबको सदस्य बताउने एक जना व्यक्तिले भने, “म हरेक वर्ष हाइकु दिवस मनाउन यहाँ आउँछु । कोभिडको डरले यहाँ नआउनु भनेको हाइकुप्रतिको मेरो व्रत भङ्ग गर्नु हो । म यसरी नियम तोड्न सक्छु र ?’ उनी हाइकुलेखन र कवितापठनलाई व्रतकै रूपमा पालन गरिरहेका छन् । साहित्यप्रतिको यो स्तरको श्रद्धा देखेर मलाई अचम्म
लाग्यो । मैले बासोको सम्मानमा पुगेका धेरैलाई ध्यान दिएर उनीहरूको भाव बुझ्ने प्रयास गरेँ । खासमा कोही पनि रहरले त्यहाँ पुगेजस्तो लागेन । महामारीका बीच उनीहरू साँच्चै नै हाइकुप्रतिको सम्मान र कविताप्रतिको लगावले त्यहाँ पुगेका थिए ।
अहिले हाइकु दिवसको अवसर पारेर बासोलाई सम्झँदै गर्दा मैले ओसाकाका ती कविलाई सम्झिएँ । उनी यसपटक पनि बासो खोज्दै त्यहाँ पुगे होलान् । उनीजस्ता हजारौँ व्यक्तिहरूले त्यसैगरी स्वास्थ्य मापदण्डको पालना गर्दै लाइनमा बसेर हाइकु गम्दै होलान् तर कोरोनाको त्रास र कार्यव्यस्तताले म त्यहाँ पुग्न सकिनँ । साधना गर्नु सानो कुरा होइन । यसका लागि गहिरो लगाव र समर्पण चाहिन्छ ।
दुई वर्षअगाडि नेपाल हाइकु केन्द्र र अनेसास जापान च्याप्टरले आयोजन गरेको नेपाली हाइकु महोत्सवपछि बासोको सालिकअघिल्तिर बसेर रामकुमार पाँडे, कृष्ण बजगाईँ, अश्विनी कोइराला, शिरोमणि दवाडी, विजयराज आचार्य, किरण पौडेल सहितको नेपाली हाइकु टोलीले यहीँ बसेर हाइकु सिर्जना गरेको थियो । त्यसै भ्रमणलाई केन्द्रित गरेर कृष्ण बजगाईँले ‘दाइबुचु’ पुस्तक नै लेखे ।
साहित्यलाई अत्यन्तै सम्मान गर्ने मुलुक हो जापान । जुन देशमा साहित्य र संस्कृतिको सम्मान हुन्छ, त्यो देश धनी हुन्छ भन्ने उदाहरण जापानलाई हेर्दा महसुस हुन्छ । यहाँ साहित्यकारहरू सेलिब्रेटीकै दाँजोमा मानिन्छन् । कतिपय साहित्यकारहरू एउटै किताबले सेलिब्रेटी बन्न पुग्छन् । यस्तै सेलिब्रेटी साहित्यकार तावारा माचीसँग भेट्न मैले गरेको दशक लामो प्रयास दुई वर्षअघि मात्र पूरा भएको थियो । हाइकुको जरा मानिने तान्का लेखनमा केन्द्रित यिनको एउटै किताब ३० लाखप्रति बिक्री भएको रेकर्ड सुनेपछि मैले भेट्ने इच्छा गरेको थिएँ । जसलाई ठूलो सङ्घर्षपछि भेटेको कथा यसअघि अन्नपूर्णपोस्टको फुर्सदमा लेखिसकेको छु ।
हाइकु जापानीहरूको मूल साहित्य हो । हाइकुलाई उनीहरूले आफ्नो जीवन र संस्कारसँग जोडेका छन् । यही कारण कम शब्दमा धेरै कुरा भन्नु जापानीहरूको संस्कार बनेको हुनुपर्छ । जसरी हाइकुमा थोरै शब्दमा गम्भीर कुरा हुन्छन्, ठीक त्यसैगरी जापानीहरूको बोलीमा कम र कामबाट धेरै कुराहरू बुझ्न सकिन्छ । जब यो बानीको विकास हुन्छ, त्यसले समाज नै फरक देखिँदो रहेछ । म व्यक्तिगत रूपमै यस्ता कुराहरू अनुभव गरिरहन्छु, बेलाबेलामा ।
सन् १९९१ देखि जापानमा हाइकु दिवस मनाउन थालिएको हो ! हुन त यसअघि पनि हाइकुसम्बन्धी विशेष कार्यक्रम हुन्थे । बासोको घर यस्तै तीर्थस्थल नै थियो तर यसलाई एउटा विशेष दिन र विशेष दिवस बनाउने परम्परा सुरु भएको ३ दशक मात्रै भएको देखिन्छ । यो दिन जापानभरि वर्ड हाइकु एसोसिएसन, हाइकु साहित्य सङ्घ, हाइकु क्लब, हाइकु लेखक समिति, हाइकु विद्यालय, विभिन्न समुहहरू एकसाथ हाइकु दिवस मनाउन तल्लिन हुन्छन् । त्यतिमात्र होइन, संसारभरि छरिएका हाइजिनहरूले यो दिनलाई विशेष बनाउन थालेका छन् । त्यसो त अङ्ग्र्रेजी साहित्यकारहरूले अप्रिल १७ तारिखको दिनलाई अङ्ग्रेजी हाइकु दिवसको रूपमा मनाउने पनि गर्दछन् । जापानमा विगतमा पनि विभिन्न दिनलाई हाइकु दिवसको रूपमा मनाउन छलफल र प्रस्ताव गरिएको तथ्यहरू फेला पार्न सक्छौँ । यो बेग्लै खोज र अनुसन्धानको विषय बन्न सक्छ ।
वर्ड हाइकु एसोसिएसनमा भएको आबद्धताको नाताले मैले पनि यो दिनलाई विशेषरूपमा मनाउनुपर्ने थियो । गएको वर्षजस्तै बासोको घर पुग्नुपर्ने थियो । विभिन्न हाइकु प्रतियोगिता गर्नुपर्ने थियो तर यसपटक औपचारिक रूपमै यी सबै कार्यक्रम प्रविधिमार्फत गर्नुपर्ने बाध्यता आइलागेको छ । टोक्यो ओलम्पिक समितिले विदेशबाट आउने खेलाडी, दर्शक र पत्रकारहरूमा जतिसुकै कडिकडाउ गरे पनि कोभिडको प्रकोपलाई सोचेजस्तो नियन्त्रण गर्न सकेन । जसको प्रभाव जापानमा विशेषगरी टोक्योभरि देखिँदै छ । यहीकारण जापानको गौरव मानिने हाइकु दिवसलाई पनि प्रविधिमार्फत नै गर्नुपर्ने बाध्यता आइलागेको छ ।
नेपालमा पनि हाइकु केन्द्रले विभिन्न गतिविधि गर्ने योजनालाई कोरोना प्रकोपले अप्ठ्यारो पारेको अनुभव गरिँदैछ । यद्यपि जिल्ला-जिल्लामा प्रविधिमार्फत भए पनि केही काम गर्ने योजना बनेको सुन्दा खुसी लागेको छ । विश्वभरि हाइकुको प्रभाव परेकोमा नेपालमा पनि त्यसको बाछिटा राम्रैसँग परेको छ । शङ्कर लामिछानेबाट सुरु भएको यो अभियानलाई डा. अभि सुवेदी, क्षेत्रप्रताप अधिकारी, डा. रामदयाल राकेश, रामकुमार पाँडे, पुष्कर लोहनी, माधवलाल कर्मचार्यको मलजलले राम्रै काम गर्यो । नेपाल हाइकु केन्द्रमार्फत रामकुमार पाँडे सरले नेतृत्व प्रदान गरिरहनुभएको छ । नेपाली हाइकुलेखन निरन्तर अघि बढेको छ । अझ नयाँ पुस्ताका लेखकहरूको सक्रियताले हाइकु अभियान अझ स्तरीय र तीव्र गतिमा फैलिरहेको अनुभव गर्न सकिन्छ ।
हाइकुकै लोभमा जापानतिर तानिएको म अहिले वर्ड हाइकु एसोसिएसनसँग नजिक भएर काम गरिरहेको छु । अनेसास र नेपाल हाइकु केन्द्रसँगको पुरानो नाता सम्बन्ध त छँदै छ । त्यसबाहेक हरेक वर्ष कम्तीमा एक जना आधुनिक हाइकु लेखकको जन्मस्थल जाने योजना बनाएको छु । तीमध्ये पनि आधुनिक हाइकु कवि मासाओका सिकी, योसा बुसोन, कोवायासी इशा यस्ता हाइजिन हुन् जसले जापानी संस्कारमा गहिरो प्रभाव पारेका छन् । जापानलाई जापानी शिल्प दिने यी साहित्यकारहरूका बारेमा जति पढ्यो, उनीहरूप्रति थप श्रद्धा जाग्दै गएको छ । यही कारण जतिसुकै व्यस्त भए पनि वर्षमा एक जना कविको जन्मस्थल घुम्ने योजना छ । अघिल्लो वर्ष मात्र होइन, अघिल्ला धेरै वर्ष सुमिदा नदी, बासोको घर र त्यस क्षेत्रलाई मैले आफ्नो हाइकु पर्यटकका रूपमा घुमाएको थिएँ ! वास्तवमा बासोको जन्म हालको मिए केनमा भएको हो । सुमिदा खोलाको किनार त बसाइँ सरेर आएका हुन् । टोक्योबाट ४०० किमी टाढाको बासो जन्मघर मिए केन पनि मेरो प्रमुख गन्तव्यकै सूचीमा छ । त्यसपछि यो क्रमलाई सिकी, बुसोन र इसातिर केन्द्रित गर्ने लक्ष्य छ ।
हाइकु सूक्ष्म कविता हो तर यसभित्र बृहत् कथा लुकेको हुन्छ । त्यसमा कविले प्रकृतिमा घटिरहने साधारण घटनाहरूमा पनि असाधारण घटना र दृश्य देखिरहेको हुन्छ । जसलाई उतार्न कवि विवश हुन्छ । प्रस्तुति र भावगत हिसाबमा जहाँ हाइकुको बीज रोपिन्छ त्यहाँ गतिलै छाप छोडेको पाइन्छ । समग्र दक्षिण एसिया मात्रै होइन, मध्यपूर्व, युरोप, अस्ट्रेलिया, अमेरिका र अफ्रिकासम्म यसले उपस्थिति बलियो बनाएको छ । हाइकुमा कलम चलाउने, चासो देखाउने र अध्ययन गर्ने स्रष्टाहरू बढ्दो क्रममा भेटिन्छन् । यस्ता कवितामा रुचि हुने सम्पूर्ण कवि र हाइजिनहरूमा हाइकु दिवसको मङ्गलमय शुभकामना !
लेखक अनेसास केन्द्रीय कार्य समितिका अध्यक्ष हुन् ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।