कवि छविलाल उपाध्याय र उनका कवितामा विचरण गर्नुपर्दा र लेखमा बारबार कविको नाम लिइरहनुपर्ने हुँदा उहाँका निम्ति एउटा अति सुन्दर र चिरिच्याट्ट परेको नाम जुर्छ कविछवि । यो नाम जुराएका हुन् नेपाली साहित्यका अति परिचित गोकुल सिन्हाज्यूले । कविले आफैँ पनि ‘छवि कवितासङ्ग्रह’ नामले कवितासङ्ग्रह प्रकाश गरेको हुँदा कविलाई पनि यो नाम मन परेको ठहर लाग्छ । मलाई पनि यो प्रबन्धमा कवि छविलाल उपाध्यायको नाउँ छोटकरीमा ‘कविछवि’ भनेरै काढ्न मन पऱ्यो । अब उता यही चलाएँ ।

असम प्रान्तमा छन्द कवितामा अहिलेको अति नै व्यापक नाम हो छविलाल उपाध्याय (कविछवि) । कविछविले काव्यिक जीवन मुक्त छन्दबाट सुरु गरेको भए पनि पुष्पलाल उपाध्यायको प्रेरणाले उनी छन्दतिर लागे अनि छन्दछाडा कविता नै लेखेनन् । जति पनि कविता लेखे छन्दमै लेखे । यस प्रकार कवि पुष्पलाल उपाध्यायपछि छन्द साहित्यको प्राणप्रतिष्ठामा उनी अझै तत्पर छन् । अब त कविछवि भन्छन्, छन्द बेगर कवितै बन्दैन । उनी आफूले छन्दमा लेखिरहेको हुनाले शङ्कित पनि छन् कताकति । लेखेकै छन् — ‘छ्या! छन्द काव्य भनी निन्दित चाहिँ नहोस् ।’ छन्द एउटा बन्धन हो, छन्द निरन्तरता हो अनि छन्द शृङ्खला हो र छन्द निन्दित भए विशृङ्खलता निश्चय विराज गर्नेछ ।

छविलाल उपाध्याय

असमको छन्द साहित्य थोरै कविहरूबाट लेखिएको छ । औँलामा गन्न सकिने । कवि पुष्पलाल उपाध्यायको ‘उषा मञ्जरी’ भारतीय साहित्य अकादमी, नयाँ दिल्ली’बाट पुरस्कृत भएर यस भेकको छन्द साहित्यले उच्च स्थान प्राप्त गरिसकेको छ । कविछविको छन्द साहित्यको शुभारम्भ पनि त्यही हो । मुक्त छन्दमा कविता लेख्ने छविलाल उपाध्याय छन्दमा कविता लेख्ने ‘उषा मञ्जरी’ पुरस्कृत भएपश्चात् पुष्पलाल उपाध्यायलाई भेट गर्न गई छन्द कवि बन्ने दृढ सङ्कल्प लिएर घर फर्के । घर आएर छन्दमा घोत्लिन थाले । उनी लेख्छन् –

बगे धारा खल्खल् तनभरि पसीना शिव हरे!

            जसो आयो त्यस्तै कलमसँग लेख्तै अघि सरेँ ।

            कतै छन्दोभङ्गै सबतिर अशुद्धै हुन गए

            उनै कश्यप्जीले अलिकति सुधारी पनि दिए ।।’ (कवि र कविता, कवि बन्ने रहर) ।

कविछविले छन्द कवि जगन्नाथ गुरागाञीको पनि सान्निध्य लाभ गरेका हुन् । एकपल्ट महाकवि तुलसीराम कश्यपलाई छन्द कविता प्रकाशनार्थ पठाउँदा त्यो कवितामा धेरै अशुद्धिहरू रहेकाले उनले शुद्ध गरी पठाएको उक्त पङ्क्तिमा कविले स्वीकार गरेका हुन् । ‘योग्यको आड पाएर बिग्रला को कहाँ कब?’ (लेखनाथ पौड्याल, ऋतु विचार)’ भनेजस्तै त्यस्ता मूर्धन्य छन्द विद्वान्‌हरूको साथ पाएका कविछविले आज छन्द साहित्यमा नाम कमाए, असममा छन्द साहित्यलाई जीवित राखे अनि अमर हुने क्रमका एक जना भए । अद्यावधि उनका जम्मा महाकाव्य ३ वटा, खण्डकाव्य ३ वटा र कवितासङ्ग्रह ३ वटा प्रकाशित छन् । हुन त छविकवि कविता मात्र नभएर साहित्यका सबैजसो विधामा बराबर लेखिरहेका लेखक हुन् । समीक्षा, अनुवाद, प्रबन्ध, नियात्रा र आत्मकथा आदि उनका कलमबाट लेखिएका छन् । यो अर्थमा उनी बहुमुखी प्रतिभाका धनी हुन् अनि कविछविले ब्रह्मपुत्र नदीलाई लिएर थुप्रै कविता रचे । नदीप्रेमको उत्कृष्ट उदहारण मान्नुपर्छ, यो कुरा ।

लक्ष्मण अधिकारी

यो लेखमा कविछविका कवितामा ‘छन्द र अलङ्कार’ माथि मात्र लेख्ने चेष्टा गरिएको छ । काम सजिलो छैन । निरन्तर कविताको साधनामा रहेको एउटा तपस्वीका कलमबाट निस्किएका कविताहरूमा कहाँ, कुन प्रकारको अलङ्कार परेको छ भन्न पनि इष्ट भाकेर हिम्मत गरेरै भन्नुपर्ने हुन्छ । आजको यो मुक्त छन्दवादी भावको कुइरामा शास्त्रीय छन्दका दानामा रहेको रस चाख्न कठिन पर्ने निश्चय भने निश्चित छ । तैपनि छन्दशास्त्रका प्रणेता ‘पिङ्गल’को स्मरण गर्दै दुस्साहस गर्नैपरेको छ, छन्द र अलङ्कारका हितमा ।

कविछविका कवितामा छन्द

छन्दबारे :-

छन्द शास्त्रका प्रणेता हुन् आचार्य पिङ्गल । उनले लौकिक र वैदिक दुई प्रकारका छन्द बनाए । वेद छन्दमय छ, वेदलाई ‘छन्दस्’ पनि भनिन्छ । वेदमा प्रयोग गरिएको छन्दलाई वैदिक छन्द भनिन्छ । लौकिक छन्दको प्रयोग सर्वप्रथम ‘रामायण’मा आदिकवि वाल्मीकिले गरेका हुन् ।

‘मा निषाद प्रतिष्ठां त्वमगम: शाश्वती: समा: ।

यत्क्रौञ्च मिथुनादेकमवधी काममोहितम् ।’

यो अनुष्टुप् छन्दको पङ्क्ति नै आदिकवि वाल्मीकिका मुखबाट अनायास निसृत भएको थियो । यसर्थ लौकिक छन्दभित्रमा पनि अनुष्टुप् छन्द नै पृथिवीमा पहिले आयो भन्न सकियो ।

छन्द शब्दको उत्पत्ति ‘छद्’ धातुबाट भएको हो, जसको अर्थ हुन्छ ‘खुसी वा आह्लादित पार्नु ।’ छन्दबारे अर्को युक्ति यस्तो पनि छ – ‘जब मात्रा अथवा वर्णहरूको सङ्ख्या, विराम, गति, लय तथा तुक आदिहरूको नियमसँग युक्त कुनै रचना हुन्छ, यस्तोलाई छन्द अथवा पद्य भनिन्छ । यसैलाई वृत्त पनि भनिन्छ ।’ संस्कृत साहित्यबाट आफ्नो यात्रा सुरु गरेर आजसम्म पनि यी छन्दहरू थाकेका छैनन्; गतिमान् छन् । नेपाली साहित्यमा त छन्दलेखन परम्परा नै बनेर रह्यो । हिन्दी साहित्यमा पनि छन्दको व्यवहार प्रशस्त पाइन्छ । छन्दमा लेखेका कविताहरू श्रुतिमधुर, गेय र अति उच्च भावसम्पन्न हुन्छन् । भावमा उच्चता प्रकट भने लेखकमाथि निर्भर गर्दछ । छन्दका कविताले पाठक र श्रोता दुवैलाई आनन्द दिन्छ । रसानुभूति र पदलालित्यप्रति पाठकहरू आकृष्ट हुने गर्दछन् तर छन्दलेखन सजिलो पनि छैन । तैपनि पूर्वाचार्यहरूले सायद छन्दको प्रयोगमा न्यूनता नआओस् भनेर नै होला व्याकरणगत कतिपय छुट दिएका छन् । यसैका आडमा होला आदिकवि भानुभक्त आचार्यका प्रयोगमा ह्रस्व-दीर्घादि विभिन्नता र हलन्तको प्रयोग पाइन्छ तर कविशिरोमणि लेखनाथ पौड्याल, महाकवि देवकोटाआदिले भने आफ्ना रचानामा पूरै शुद्धता ल्याएका हुन् । हलन्त बहिष्कार आन्दोलन पनि चल्यो ।

जेसुकै होस्, आचार्य पिङ्गलले वैदिक र लौकिक दुई प्रकारका छन्द बनाए । नेपाली कविहरूले पिङ्गलकै लौकिक संस्कृत छन्दहरू उसै नियमानुसार चलाएर आएका छन् । जम्मा लौकिक र वैदिक छन्दहरू कति छन् यो एउटा कठिन प्रश्न हो, तैपनि प्रयोगका आधारमा यहाँ केही लौकिक छन्दहरूको नाम यसरी लिन सकिन्छ —

अनुष्टुप, विद्युन्माला, इन्द्रवज्रा, उपेन्द्रवज्रा, उपजाति, वंशस्थ, स्रग्विणी, स्वागता, भुजङ्गप्रयात, तोटक, द्रुतविलम्बित, वसन्ततिलका, मालिनी, पञ्चचामर, मन्दाक्रान्ता, चित्रवती, हरिणी, चित्रलेखा, शिखरिणी, शार्दूलविक्रीडित, स्रग्धरा, आर्या, शालिनी, ललिता, पृथ्वी, मञ्जुभाषिणी आदि

कविछविले देवकोटाले प्रयोग गरेका धेरै छन्दहरूको नाम यो श्लोकमा दिएका छन् । यसबाट धेरै छन्दहरूको नाम जानिन्छ —

‘ मन्दाक्रान्ता मदनललिता पञ्चचामप्रतिष्ठा

भाराक्रान्ता जघनचपलार्या महामालिकाका

विद्युल्लेखा ललितललिता वाणिनी फुल्लदास

रूमामाली विपिनतिलकं छन्द लेख्थे विशाल ।’ (देवकोटा महाकाव्य, आठौँ सर्ग, १२) ।

अर्को पनि –

‘छन्दैमा अति मिष्ट झङ्कृति दिने शार्दूलविक्रीडित

वासन्ती मुजुरा वसन्ततिलका सुन्दै हुने मोहित ।

उच्चोभाव जगाउने शिखरिणी हर्ने मनै मालिनी

त्यो सङ्गीत सुरम्य त्यो कविकला झुल्ने कतै शालिनी । ।’ (देवकोटा महाकाव्य, प्रथम सर्ग – २४) ।

यी छन्दहरू ‘यगण, मगण, तगण, रगण, जगण, भगण, नगण र सगण’ जम्मा आठवटा गणका माध्यमबाट प्रयोगमा आउँछन् । लौकिक छन्दका पनि मात्रा र वर्णका आधारमा ‘वार्णिक र मात्रिक’ गरी दुई भाग छन् ।

कविछविले आफ्ना कवितामा वार्णिक छन्दहरूको प्रयोग अधिक गरेका छन् तापनि उनले मात्रिक छन्द र नेपाली जातीय छन्द झ्याउरेमा समेत हात हालेको पाइन्छ । छन्दमा कविता रच्न अति कुशल कविछवि लगभग सोह्र-सत्रवटा छन्द खेलाउने कवि देखिएका छन् । नेपालीमा जातीय छन्दकै मर्यादा पाइसकेको छन्द ‘शार्दूलविक्रीडित’ कविको प्यारो छन्द र यसका तल अनुष्टुप् अनि अझ यसका तल र निकट रहेको छन्द मन्दाक्रान्ता हो भन्ने झैँ लाग्छ । यो विषयमा कविको आत्मस्वीकार पनि छ—

मीठो लाग्छ मलाइ छन्द कविता सुन्दै हुने मोहित

            लाग्ने चाख उता अचम्मसितले शार्दूलविक्रीडित ।’ (छन्द महिमा, कवि र कविता) ।

कविका काव्यमा ठेट नेपाली शब्दको प्रयोग त पाइन्छ नै यसउपरान्त वर्णनात्मक शैलीका कविताहरू बुझ्न पनि साह्रै सजिला छन् । कविले प्रत्येक कविताको शीर्षक सँगसँगै छन्दको नाउ पनि उल्लेख गरिदिएर पाठकलाई छन्दको नाउँ जान्न सजिलो पनि पारिदिएका छन् । कविले ‘लौहित्य’ नामक प्रबन्धकाव्य (महाकाव्य) मा जम्मा सोह्रवटा छन्दको प्रयोग गरेको पाइन्छ । जस्तै- शार्दूलविक्रीडित, अनुष्टुप्, वसन्ततिलका, प्रमाणिका, उपजाति, मन्दाक्रान्ता, द्रुतविलम्बित, शिखरिणी, पञ्चचामर, भुजङ्गप्रयात, इन्दिरा, स्रग्विणी, मालिनी, इन्द्रवज्रा, उपेन्द्रवज्रा, तोटक आदि ।

यसरी यिनै र योभन्दा अधिक छन्दहरू प्रयोग भएका छन् कविको अर्को महाकाव्य ‘उषा-अनिरुद्ध’मा पनि । उसैगरी ‘काव्यसेतु’ कविता सङ्कलन र ‘देवकोटा’ महाकाव्यमा पनि उति नै सङ्ख्यामा छन्दहरू कविकलमबाट प्रयोग भएका छन् ।

छन्दमा कविता लेख्नु भनेको गणनाकारीको भूमिका पालन गर्नु हो । प्रत्येक छन्दका अलगअलग नियममा ह्रस्व र दीर्घ मिलाउनु अनि त्यसलाई भावपूर्ण र श्रुतिमधुर पनि बनाउनु सानो खेल होइन अनि त्यसमा निर्दिष्ट विषयमाथि महाकाव्यजस्तो दीर्घकाय ग्रन्थ रचना गर्नु । हजार दुई हजार भावपूर्ण श्लोकहरू रचना गर्नु । तिनमा उस्तै मिठास भर्नु । सम्झिँदा डरमर्दो कुरा हो । सरस्वतीकै आशीर्वादले मात्र सम्भव हुन्छ । त्यस्तो कविछविले अति सजिलै गरेर देखाएका छन् । त्यसैले उनी आफैँआफमा कम कवि होइनन् ।

यहाँ कविछविका छन्दोबद्ध केही पङ्क्तिहरू राख्न चाहेँ—

शार्दूलविक्रीडित छन्द –

-‘ठूलै योग लिएर जन्मन गयो औँसी परे तापनि ।

आफ्नो नाउँ चलाउनेछ जगमा भन्थे कुनै ज्योतिषी

तेस्रो बालक तीर्थमाधव अहो! जुर्दो छ राम्रो गरी

लक्ष्मीको वरदान क्यै छ यसमा नास्ला दरिद्री पनि ।।’ (देवकोटा महाकाव्य, दोस्रो सर्ग – १६) । ।

अनुष्टुप छन्द –

-‘ब्रह्माकै पुत्र हुन् भन्ने भनिएको छ शास्त्रमा ।

‘‘ब्रह्मपुत्र’’ त्यसैले नै भन्ने नाउँ चल्यो यहाँ ।।’ (लोहित्य महाकाव्य, दोस्रो सर्ग – १३) । ।

वसन्ततिलका छन्द –

-‘श्रीमन्त शङ्कर सुसन्त महामहन्त

शिक्षा र शास्त्र सबका अति नै प्रचण्ड

साहित्य-संस्कृति कलाहरुका पुजारी

हिँड्थे समाज सबलाइ खुबै सुधारी । । (लौहित्य महाकाव्य, तेस्रो सर्ग – २७) । ।

स्रग्विणी छन्द –

-‘बाँसुरी तानले मारुनी नाचले

खैँजडी बज्दछन् चोटिलो चालले । ।’ (उषा-अनिरुद्ध महाकाव्य, सप्तम सर्ग – ५) । ।

प्रमाणिका छन्द –

-‘छ पद्म पोखरी उता

विकास पुष्प झल्मल ।

सुगन्ध मन्द वायुले

बनाउँदो छ मग्मग । । ’(उषा-अनिरुद्ध महाकाव्य, पञ्चम सर्ग-५) । ।

छन्दको उदाहरण यतिमै सीमित राखेँ । मैले यहाँ छन्दको प्रयोगबारे सूत्रसहितको व्याख्या गरिनँ । उक्त कविताहरूमा जस्तै अन्य कवितामा कतै पनि छन्दोभङ्ग भएको पाइएन । उक्त पङ्क्तिका कुन छन्दको नियम के हो? त्यो लेखेर पन्ना भर्ने काम नगरेको कारण हो, इच्छुकले छन्दका नियम पल्टाएर कविका कविता जाँचे हुन्छ । सबै सटीक छन् ।

हुन त (१) देवकोटा महाकाव्य, (२) लौहित्य प्रबन्धकाव्य (महाकाव्य) र (३) उषा-अनिरुद्ध महाकाव्य तीनवटा साथै (१) पवनदूत (खण्डकाव्य), (२) अस्तित्वबोध (खण्डकाव्य), (३) कामरूपा (ऐतिहासिक काव्य), (४) छवि कवितासङ्ग्रह (कविता सङ्कलन), (५) कवि र कविता (कविता सङ्कलन), (६) कल्पनामाधुरी (कविता सङ्कलन) गरी जम्मा नौवटा काव्य ग्रन्थमा कविले भरसक सबै छन्दको सफल प्रयोग गरेको पाइन्छ । छन्द कविहरूले कतै न कतै व्याकरण मिचेकै हुन्छन् । कारण, छन्द मिलाउन कविलाई छन्दशास्त्रले व्याकरण मिच्ने छुट दिएकाले हो । भनाइ छ— ‘अपि माषं मषं कुर्यात् छन्दो भङ्गं न कारयेत् ।’ (अर्थात्, बरु मासलाई मस लेख्नु, तर छन्द भङ्ग नगर ।) आफ्ना काव्यमा यो मौका छोपेका छन् कविछविले पनि । अब यो प्रथालाई शास्त्रले नै दोष नमानेपछि हामी के गर्ने? तैपनि कविछविले आफ्ना काव्यमा तत्सम शब्दलाई भने बिगार्ने निहुँमा हात हालेका छैनन् । तत्सम शब्दहरू यथावत् छन् प्रयोगमा । उनी आफैँ लेख्छन् –

‘झर्को मान्नु हुँदैन काव्य-कविता रच्ता सदा ध्यानले ।

आफ्नै शब्द जुटाइ काव्य रसिलो पार्ने गरौँ ध्येयले ।

यस्तो गर्न सके अवश्य कुन दिन् बन्नेछ है श्रेष्ठको

होला दीर्घ सदैव तिष्टि रहने आदर्शको दर्बिलो । ।’ (काव्यसेतु, नयाँ कविलाई आसिक) ।

सायद यो कविशिरोमणि लेखनाथ पौड्यालहरूको हलन्त बहिष्कार आन्दोलनको प्रभाव हो । हलन्त बहिष्कार आन्दोलन, सग्ला शब्दलाई हलन्त गर्ने प्रचलन हटाउने आन्दोलन थियो । आदिकवि भानुभक्त आचार्यले शब्द हलन्त पारेर भए पनि छन्दोभङ्ग गरेका थिएनन् तर कवि मोतीराम भट्टका कवितामा पनि अचाहिँदो हलन्त प्रयोग नभएको पाइन्छ । पछि लेखनाथ, देवकोटा र समले त व्याकरणका दृष्टिबाट पनि र छन्दका दृष्टिबाट पनि लगभग शतप्रतिशत शुद्धै शब्दको प्रयोग गरे । कविछविले पनि दुवै दृष्टिकोणबाट शुद्ध लेख्ने चेष्टा नगरेको होइन आफ्ना कवितामा । उक्त कवितामा ‘जुटाइ’को इ ह्रस्व हुनु र ‘दिन्’ शब्दको ‘न’ हलन्त हुनु, छन्दमा ह्रस्व-दीर्घ मिलाउनुपर्ने बाध्यताको नमुना हो तर कविछविले ठेट नेपाली शब्दलाई मात्र बङ्ग्याएका छन् । त्यो पनि अति आवश्यक परेको खण्डमा मात्र अनि शतप्रतिशत नेपाली शब्द व्यवहार पनि त गरेका छन् ।

-‘छन्दोबद्ध अलङ्कृत वाणीले जत्तिको चाँडो मानिसका हृदयमा सजिलै प्रभाव पार्छ, त्यति चाँडो अरू साधारण भनाइले पार्न सक्तैन’ (छन्द र अलङ्कार, डिल्लीराम तिमसिना र माधव भण्डारी) तर छन्दअनुसारको लय विशेष पनि पाठकले जानेको हुँदा मात्र छन्द वाचन र पठनको आनन्द प्राप्त हुन्छ । नत्र जस्तै भावपूर्ण पद्य भए पनि आनुषङ्गिक लय जानिएन भने त्यसबाट सम्पूर्ण रस प्राप्त हुन सक्तैन । यो कुरालाई कविछविले पनि उषा-अनिरुद्ध महाकाव्यमा स्वीकार गरेका छन् । उनी लेख्छन्-

मीठो लाग्छ मलाइ छन्द लयका प्राचीनका ढङ्गको

            श्रोता मुग्ध हुने सुनेर कविता घोक्ता हुने कण्ठ यो ।

            यस्तालाइ भनिन्छ पद्य कविता आफ्नोपना झल्किने

            भन्ने गर्दछु नित्य नै विनयले कस्ले कुरा सुन्दिने ।।’ (उषा-अनिरुद्ध महाकाव्य, प्रथम सर्ग – १०) ।

हो, लयात्मक वाचनको अति आवश्यक हुन्छ छन्द कवितामा तर हिजोआज धेरैले मुक्त लयमा कविताहरू लेख्ने गछर्न् । यसो हुँदा छन्द कविता खस्कँदै गएको अनुभव हुन थालेको छ । छन्द साहित्य हराउने भय कविका कवितामा पनि झल्किएको छ ।

-‘साह्रै कष्ट छ काव्य सिर्जन यहाँ चासो हराई सक्यो

            नेपाली पनको मिठास कविता सम्पूर्ण नै अल्पियो ।।’ (उषा अनिरुद्ध महाकाव्य, प्रथम सर्ग – १०)

 

कविछविले विभिन्न विषयमा कविता रचेका छन् । फुटकर कविता, खण्डकाव्य महाकाव्यसम्ममा धेरै विषयहरू समावेश भएको छ । जुनसुकै विषयमा उनी कविता रच्न सिपालु हुन् भन्ने प्रमाण उनका रचनाहरूले दिएको छ । धेरजसो कविता नै वर्णनात्मक शैलीमा छन् । उपदेशमूलक, नीतिशिक्षामूलक, जाति अस्तित्वबोध, परम्परावाद, प्रकृति वर्णन, प्रकृतिप्रेम जस्ता विषयमा कविताहरू रचिएका छन् । जीवन के हो? भन्ने ‘जीवन दर्शन’समेतका कविता पनि कविले लेखेका छन् ।

उनले चिठी-पत्रसमेत कवितामा लेखेको पाइन्छ । हिन्दीमा पनि शास्त्रीय छन्दमा कविताहरू रचना गरेका छन् । साथै असमिया छन्दमा कविता रचेर आफ्नो दक्षता प्रकट गर्न पनि पछि परेका छैनन् कवि । छविलाल उपाध्याय शास्त्रीलाई शार्दूलविक्रीडित छन्दमा चिठी लेखेर कविले कविता रचाइको आशुत्वसमेत प्रकट गरेका छन् ।

-‘स्वस्तिश्री छविलाल विज्ञ गुरुमा श्रद्धा समर्पण् गरी

लेखेँ पत्र प्रशस्ति ह्वैन तर यो बुझ्नोस है राम्ररी ।’ (काव्यसेतु) ।

कविछविको कविताशक्ति र भाषाज्ञान

कवि धेरैवटा भाषाका व्युत्पत्तिसहितका जानकार हुन् भन्ने प्रमाण उनका विभिन्न रचनाले दिएका छन् । ‘काव्यसेतु’मा त उहाँका शास्त्रीय छन्दका हिन्दी कवितासहित असमिया र बङ्ला कविता पनि सामेल छन् । उहाँले ‘शार्दूलविक्रीडित, तोटक, पञ्चचामर र मन्दाक्रान्ता’ छन्दमा हिन्दी कविताहरू लेख्नुभएको छ । ती कविताबाट एउटा उदाहरण शार्दूलविक्रीडित छन्द (असमी मातृ के प्रसङ्ग में) —

हिन्दी कविता –

‘आर्यावर्त प्रसिद्ध देश बढिया है भारती प्राङ्गण

झाड़ी जङ्गल से सुशोभित सदा जैसा कि वृन्दावन ।

कामाक्षा जननी सदा शिवप्रिये संसार की पालिका

पृथ्वी की उपजाउ से अधिक हैं सर्वत्र सुश्यामला । ।

असमिया कविता

‘अति मरमी मोर असमी आइ

थाकों मइ जीयाइ तोमालै चाइ ।

चिर सुन्दरी मोर असमी आइ

आछो यत निजके भोलाइ ।

बाङ्ला कविता –

आबार फिरे एसो एइ जन्म भूमिते

उपदेश दिए मानवतार शिक्षा दाओ,

तोमार प्रयाणेर परे आगमन हएछे क्रान्ति

आज विश्वे अशान्ति, आर अशान्ति । ।

कविछविका कवितामा अलङ्कार

जसरी पूर्वाचार्यहरूले छन्दलाई मात्रिक छन्द र वार्णिक छन्द गरी दुई भागमा विभक्त गरेका छन् त्यसै गरी अलङ्कारका पनि दुइटा भाग छन् – शब्दालङ्कार र अर्थालङ्कार । अलङ्कार भनेको काव्यको गहना हो । यो ‘अलम्’ शब्दमा ‘कृ’ धातुको योगले बनेको शब्द हो । ‘अलम्’ शब्दको अर्थ हुन्छ ‘गहना’ । अलङ्कारका प्रथम प्रवर्तक ‘भामह’ मानिन्छन् ।

कुन कवितामा कुन खालको गहना वा अलङ्कार पऱ्यो त्यो विशेष नियमका आधारमा छुट्याउन सकिन्छ । अब कविछविका कवितामा अलङ्कार कहाँ केकस्ता परेका छन् ती छुट्याउने प्रयासमा लागेँ ।

अलङ्कार छुट्याउने काम लरतरो होइन । एउटै कवितामा पनि दुई-तीनवटा अलङ्कारको योग बनिरहेको हुन सक्छ । तैपनि अलङ्कारको अधिकारको अधिक क्षेत्रलाई ध्यानमा राखेर अघि बढेँ । जम्मै अलङ्कारहरूको वर्णन गरी साध्य छैन । केही नजरमा परेका अलङ्कारहरू यस प्रकारका छन् ।

कविछविका कवितामा शब्दालङ्कार

शब्दको चमत्कारपूर्ण प्रयोगलाई नै शब्दालङ्कार भनिन्छ । यो अलङ्कारभित्र पर्ने अलङ्कार हुन्— वक्रोक्ति, अनुप्रास (छेकानुप्रास, वृत्यनुप्रास, लाटानुप्रास, मध्यानुप्रास, आद्यन्तानुप्रास, अन्त्यानुप्रासआदि), यमक र श्लेष ।

वृत्यनुप्रास अलङ्कार :

धेरै शब्दहरूको अन्त्यमा एउटै व्यञ्जन वर्ण दोहोरियो भने वृत्यनुप्रास अलङ्कार हुन्छ । कविछविको काव्य सेतुबाट –

-‘साँच्चै उत्तमको कला कुशलको आनन्दको जीवन

आफ्नै संस्कृतिको विकासतिरकै चासो लिने सज्जन ।’ ‘काव्य सेतु)

यहाँ शब्दहरूको अन्त्यमा ‘क’ वर्ण धेरैपल्ट दोहोरिएकाले वृत्यनुप्रास अलङ्कार भएको छ ।

अन्त्यानुप्रास अलङ्कार :

-‘नारी दुर्बल देहकी सुरमणी सौन्दर्य संसारकी

लक्ष्मी हुन् घरकी अपार सुखकी सच्चा इमान्दारकी

नारीको महिमा विशाल छ अहो! विश्वै उज्यालो गरी

दिन्छिन् दिव्य प्रकाश झल्मल सधैँ बोली मिठो माधुरी । ।’ (कवि र कविता, नारी) ।

यहाँ ‘संसारकी, इमान्दरकी, गरी र माधुरी’ अन्त्यमा एउटै वर्ण दोहोरिएर तुक मिलेको हुँदा अन्त्यानुप्रास अलङ्कार भएको छ ।

छेकानुप्रास अलङ्कार :

-‘‘कसोरी जाऊँ लौ अलि दिन म काशीतिर बसी

मिलाई चाँजो क्यै अनि पछि म जाँला घर फिरी ।’’

यहाँ पहिलो पङ्क्तिमा ‘स’ र दोस्रो पङ्क्तिमा ‘म’ र ‘र’ एकएक पल्ट दोहोरिएकाले छेकानुप्रास अलङ्कार भएको छ ।

अर्थालङ्कार :

अर्थालङ्कार धेरै छन् । पच्चीसवटाभन्दा पनि धेर । यहाँ केही मुख्य अलङ्कार मात्र कविछविका कवितामा घटाएर हेर्ने प्रयास गरिएको छ ।

उपमा अलङ्कार :

-‘कमल पत्रझैँ ओठ पातला

चमक चम्किने दन्त पङ्क्ति ता ।

सरल बालिका देख्न अप्सरा

मधुर बन्नगो छन्द इन्दिरा । ।’ (लौहित्य – आठौँ सर्ग, ४)

जहाँ दुईवटाको एउटै धर्म भएकाले समानता देखाई ‘फलानू जस्तो फलानू’ भनिन्छ त्यहाँ उपमा अलङ्कार हुन्छ । उक्त श्लोकमा ओठलाई र कमल पत्र अनि बालिका र अप्सरामा समानता देखाइएको छ । त्यसैले यो उपमा अलङ्कार अन्तर्गत पर्दछ ।

स्वभावोक्ति अलङ्कार :

-‘गर्जन्थे छविलाल बाबु कसरी अङ्ग्रेजका राजमा

त्याग्छौँ प्राण बरु स्वदेश हितमा भन्दै हिँडे मार्गमा ।

हाम्रो जन्मथलो यही असम हो छाडेर जान्नौँ कतै

नेपाली जन हौँ प्रवीर पनि छौँ भन्थे नि निर्भीक भै । ।’ (काव्यसेतु-देशभक्त छविलाल बाबुप्रति) ।

कुनै मानिस वा पशुपक्षीको ठिक्क व्यवहार वा रूपको वर्णन गरेमा स्वभावोक्ति अलङ्कार हुन्छ । उक्त कवितामा छविलाल बाबुको गुणको वर्णन भएको छ र यो पङ्क्ति स्वभावोक्ति अलङ्कारभित्र लिन सकिन्छ ।

सन्देह अलङ्कार :

-‘घाँसीको उपदेशले कवि भयौ भन्ने कुरा सुन्दछु

हो वा ह्वैन प्रभो! म जान्नु कसरी साह्रै अबुझ्को म छु ।

भन्द्यौ हे कवि भानुभक्त! थुनुवा बन्यौ उता के गरी

बाबुको ऋणमा परेर कि अहो! आफ्ना भुलैले गरी? । ।’ (काव्यसेतु, कवि भानुभक्तलाई खुला पत्र) ।

कविछविको उक्त कविता सन्देह अलङ्कारभित्रको हो । यो पङ्क्तिमा सन्देह प्रकट गरिएको छ ।

रसका आधारमा छुट्याइएका कविछविका केही कविताहरू

-‘काव्यानन्द नै रस हो’ (छन्द र अलङ्कार – डिल्लीराम तिमसिना र माधव भण्डारी) । रस सिद्धान्तका प्रवर्तक भरत मुनि मानिन्छन् । उनले मुख्यरूपमा नौ प्रकारका रस मानेका छन् । पछि भक्ति, बात्सल्यलाई पनि रसमा सामेल गरेर जम्मा एघारवटा भए पनि नवरस नै प्रधान रस हुन् । मैले कविछविका कवितामा रस खोजेर पाठकसमक्ष प्रस्तुत गर्ने कठिन चेष्टा गरेको छु । त्रुटि हुन सक्छ । तैपनि छन्द र अलङ्कारको विषय हातमा लिएपछि रसलाई पनि सामेल गर्नु उचित हुनेछ भन्ने आफ्नो ध्येयले यसो गरेँ ।

वीर रस :-

-‘लाग्यो जुद्ध घमन्डको सुइतिरै सोची नसक्नै भयो

सामुन्ने भइ वाण हानि कतिका घाँटी छिनेका अहो!

काला धम्मरधूस छन् अरिमुठे जूँगा भएका उता

ताँती लाभि भिडे अघिल्तिर सबै देखाउँदै वीरता । ।’ (उषा-अनिरुद्ध महाकाव्य, षष्ठ सर्ग – ३०)

वीभत्स रस :-

-‘चौपट्टै भइ छिन्न मस्तक अहो! हेर्नै नसक्नू छ नि

खुट्टा हात कतै र देह छ कतै आन्द्रा-भुँडी नै पनि ।

सम्पूर्णै नरमाइलो अधिक नै फोहोर मात्रै जब

यस्ताको म बखान के गरि गरौँ वीभत्स मात्रै अब । ।’ (उषा-अनिरुद्ध महाकाव्य, षष्ठ सर्ग – ३३)

भयानक रस :-

-‘गड्याङ्, ड्याङ्, ड्याङ्, गर्दै चटटट चट्याङै पनि गऱ्यो

गयो सात्तोपुत्लो अझ कति त प्राणै पनि हऱ्यो ।

मुसल्धारे वर्षा दरररर दर्के झरि अहो!

अचाक्लै नै भैगो मुलुकभरि कोलाहल भयो । ।’ (लौहित्य प्रबन्धकाव्य, छैटौँ सर्ग – १०)

अद्भुत रस :-

-‘घाँसीको उपदेशले कवि भयौ भन्ने कुरा सुन्दछु

हो वा ह्वैन प्रभो! म जान्नु कसरी साह्रै अबुझ्को म छु ।

भन्द्यौ हे कवि भानुभक्त! थुनुवा बन्यौ उता के गरी

बाबुको ऋणमा परेर कि अहो! आफ्ना भुलैले गरी? । ।’ (काव्यसेतु, कवि भानुभक्तलाई खुला पत्र) ।

रौद्र रस :-

-‘दया धर्म केही कतै क्यै नराखी

हिँडेका अजस्त्रै अहो! उग्रवादी ।

लडेका उता देखिने यत्रतत्रै

छ लाग्दो कहाली अशान्ति अचाक्लै । ।’ (लौहित्य प्रबन्धकाव्य, सातौँ सर्ग – ७)

शान्त रस :-

-‘कन्या दुवै सँगसँगै अब खेल्न लागे

बोली विनम्र दुइकै सब बुझ्न थाले ।

तोते छ तापनि न बुझ्नु कुरै थिएन

पुग्ने भए अब सबैतिर दौडिएर । ।’ (उषा-अनिरुद्ध महाकाव्य, तृतीय सर्ग – ३८)

शृङ्गार रस :-

-‘गोरो वर्ण सुहाउँदो सुगठिलो देख्तै बडो सुन्दर

द्यौता हो कि मनुष्य नै कि त भनौँ अर्थोक के हो तर ।

लामो केश चटक्क घुङ्रिङ अहो! श्रीपेचले भूषित

रक्तिम् ओठ र कर्णकुण्डल उता पैह्रन् छ पीताम्बर । ।’ (उषा-अनिरुद्ध महाकाव्य, चतुर्थ सर्ग-३१)

करुण रस :-

-‘अँगालिँदै सँगालिँदै सघाउ भेटि निस्किए

अखण्ड कष्ट झेलदै निरोग केन्द्रमा पुगे

अनेक औषधी चले बिमार बढ्न नै गयो

निराश भावले भरे स्वदेश फर्कनू पऱ्यो । ।’ (देवकोटा महाकाव्य, एघार – २१) ।

भक्ति रस :-

-‘बाली आत्म प्रकाश दीप दिलमा माला जपी ध्यानले

हे अम्बासुत! स्वस्ति हे गणपते! माग्दो छु क्यै आसले

सक्तो भक्ति म गर्छु सूक्ष्म विधिले वाणी जपी पूजन

भाषासागर पार तर्न म सकूँ कष्टै नपाईकन । । (देवकोटा महाकाव्य, प्रथम सर्ग – ४) ।

सर्वान्त्यमा यो लेख कविछविका ‘लौहित्य’ (प्रबन्धकाव्य), ‘उषा-अनिरुद्ध’ (महाकाव्य), ‘देवकोटा’ (महाकाव्य), ‘कवि र कविता’ (सङ्कलन) र ‘काव्यसेतु’ (कविता सङ्कलन) जम्मा पाँचवटा ग्रन्थको अध्ययन गरी लेखिएको हो । हुन त भिन्न-भिन्न किताबमा भिन्नभिन्नै अलङ्कार हुन्छ भन्ने कुरा होइन । एउटा कविता वा कविता सङ्कलन अथवा महाकाव्यमा जम्मै अलङ्कारहरू परेको हुन सक्छ तर मैले यो लेखमा उति सूक्ष्म अध्ययन गर्न नभ्याएको कुरा स्वीकार गर्दछु ।

साथै मैले कविछविका छन्द र अलङ्कार विषयको मात्र उठान गरेको हुँदा महाकाव्य अथवा कविताको विषयतिर गइनँ । हिज्जेतिर पनि नजाने निधो गरेरै लेखेँ यो लेख । तैपनि छन्द मिलाउने सुरमा सग्ला वर्णलाई हलन्त बनाए प्रयोग गरेको पाइयो र धेरैजसो कविता नै वर्णनात्मक शैलीमा लेखिएको पाइयो । तैपनि छन्दविधालाई जीवित राख्ने कविको कवित्व शक्ति भने बेजोडको छ र प्रायजसो सबै छन्द खेलाएर कवि कुशल छन्दज्ञ हुन् भन्ने प्रमाणमा सही-छाप गर्न सकिन्छ । उनको कविताशक्तिलाई नमन ।

सन्दर्भ ग्रन्थ :-

१.    ‘साहित्य विमर्श’ – विद्यापति दाहाल

२.    ‘छन्द र अलङ्कार’ – डिल्लीराम तिमसिना र माधव भण्डारी

३.    ‘छन्द र अलङ्कार’ – छविलाल उपाध्याय