मदन पुरस्कार गुठीले वर्ष २०७७ को ‘मदन पुरस्कार’ का लागि श्रेष्ठ ९ वटा पुस्तकहरू सार्वजनिक गरेपछि यति बेला नेपाली साहित्य जगत्‌मा ती पुस्तकका लेखकहरूको चर्चा सुरु भएको छ । छनोटमा परेका ९ जनामध्ये केही लेखकहरू त पहिलेदेखि नै चर्चाको शिखरमा पनि छन् तर केही नवसर्जकहरू गुठीको श्रेष्ठ सूचीमा पर्न सफल भएपछि भने उहाँहरूको नयाँ ढङ्गले चर्चा चुलिएको छ । सामाजिक सञ्जालमा उहाँहरूलाई खोज्ने क्रमसँगै साथी बनाउने क्रम पनि बढेर गएको छ ।

तिनै ९ जनामध्येका एक हुन् भारत, कालेबुङमा बसेर पत्रकारितासँगै साहित्यमा कलम चलाउँदै आउनुभएका युवा साहित्यकार लेखनाथ क्षेत्री । जसको केही महिनाअघि सार्वजनिक भएको पहिलो उपन्यास ‘फुलाङ्गे’ मदन पुरस्कार २०७७ का लागि गुठीले सार्वजनिक गरेको उत्कृष्ट ९ पुस्तकहरूको सूचीमा पर्न सफल भएको छ । योसँगै युवा साहित्यकार क्षेत्रीलाई सामाजिक सञ्जालमा खोजी गर्नेहरूको सङ्ख्या बढ्न थालेको छ । ‘मेरो च्यानल सब्स्क्राइब गरिदिनुहोला’ भन्ने म्यासेजबाहेक म्यासेन्जरमा खासै म्यासेज नआउने साहित्यकार क्षेत्रीलाई गत साउन १५ गते शुक्रवार अचानक म्यासेन्जरमा घण्टी बजाउँदै धमाधम बधाई र शुभकामनाका म्यासेज आउन थाले जति बेला उहाँ गायक उदय सोताङको गीत सुन्दै ओछ्यानमा पल्टिरहनुभएको थियो । सोही दिन मदन पुरस्कार गुठीले सार्वजनिक गरेको वर्ष २०७७ को लागि श्रेष्ठ ९ पुस्तकहरूको सूचीमा उहाँको उपन्यास “फुलाङ्गे” पनि परेपछि यसरी बधाई र शुभकामनाको ओइरो लाग्न थालेको हो ।

श्रेष्ठ सूचीमा परेका लेखकहरूसँग पाठकहरू जोडिन आतुर हुने आफूले महसुस गरेको उल्लेख गर्दै साहित्यकार क्षेत्रीले गुठीको सूची सार्वजनिक भएदेखि यता मात्रै १ हजार ५ सयभन्दा धेरै साथीहरू फेसबुकमा जोडिएको खुसी सुनाउनुभयो । १० वर्षको आफ्नो कविता यात्राले नजोडेका पाठकहरूसमक्ष “फुलाङ्गे” उपन्यासले जोड्ने काम गरेको भन्दै उहाँले यो नै ठूलो उपलब्धि भएको र यसले भावी लेखनका लागि ऊर्जा दिएको बताउनुभयो । लेखिसकेपछि राम्रो लेखूँ भन्ने हरेक लेखकको चाहना त हुन्छ नै तर यति ठूलो उपलब्धि उपन्यासले हासिल गर्ला भन्ने चाहिँ उहाँले सोच्नुभएको रहनेछ । साङ्ग्रिला बुक्सले प्रकाशन गरेको क्षेत्रीको उपन्यास ‘फुलाङ्गे’ गत २३ जनवरी २०२१ मा बजारमा आएको थियो । शिलापत्र नेपालले समेत २०७७ का उत्कृष्ट ५ आख्यानमा साहित्यकार क्षेत्रीको उपन्यास ‘फुलाङ्गे’ लाई पनि समावेश गरेको छ ।

मदन पुरस्कार गुठीको श्रेष्ठ सूचीमा पर्नुको कारण यही नै हो  भनेर आधारको जिकिर गर्नु उपयुक्त नभए पनि गोर्खाहरूको पहिचान स्थापित गर्नका लागि छुट्टै राज्यको माग राखेर सन् १९८६ मा दुई वर्षसम्म चलेको गोर्खाल्यान्ड आन्दोलनको विषयलाई केन्द्रमा राखेर आफ्नो जन्म स्थान दार्जीलिङको रेलिङमा भएका घटनाक्रमलाई आधार मानेर ग्रामीण भाषाको प्रयोग गरेर लेखिएका कारण ‘फुलाङ्गे’ श्रेष्ठ सूचीमा परेको हुन सक्ने उहाँको अनुमान छ ।

भारतीय नेपाली साहित्यका समकालीन तथा अग्रज स्रष्टाहरूले पनि आफ्नो उपन्यास मदन पुरस्कारको श्रेष्ठ सूचीमा पर्नुलाई ऐतिहासिक उपलब्धि मानेको र यसलाई निक्कै महत्त्व र गर्वका साथ लिएको कुरा उल्लेख गर्दै साहित्यकार क्षेत्रीले यसले आफूलाई लेखनका लागि थप हौसला मिलेको बताउनुभयो ।

उपन्यासका पात्रहरूका लागि प्रयोग गरिएका नामहरूको विषयलाई लिएर उपन्यासको केन्द्रबिन्दु रेलिङका स्थानीय केही मानिसहरूबाट विवाद खडा गर्ने कोसिस गरिए पनि अहिले सो विषय साम्य हुँदै गएको उहाँले जानकारी गराउनुभयो । ग्रामीण भेगलाई आधार बनाएर उपन्यास लेखिएका कारण उपन्यासका पात्रलाई मिल्ने नाम दिनु एकदमै चुनौतीपूर्ण भए पनि अर्गानिक नाम होस् भन्ने हिसाबले आफूले आफ्नै गाउँको मिठासपूर्ण नाम उपन्यासमा प्रयोग गर्न खोज्दा त्यो नाम मिल्ने व्यक्ति  र परिवारले थोरै आपत्ति जनाएको उहाँको भनाइ रहेको छ । यो उपन्यास हो र उपन्यासमा प्रयोग गरिएको नाम मेल खाए पनि त्यससँग सम्बन्धित घटनाक्रम वास्तविक नभएको भन्ने कुरा नबुझेर पनि उहाँहरूले आपत्ति जनाएको आफूले महसुस गरेको उहाँले उल्लेख गर्नुभयो । उपन्यासका पात्रसँग नाम मिल्न  गएका स्थानीयले उपन्यासमा आफूलाई गलत ढङ्गले प्रस्तुत गरिएको आरोप लगाएका थिए । उहाँहरूलाई बुझाउने क्रम चलिरहेको र अहिले धेरै हदसम्म यो विषय सम्य भइसकेको र भोलिका दिनमा पूर्ण रूपमा साम्य हुने उहाँको विश्वास छ ।

भारतीय नेपाली साहित्यमा कलम चलाउने सम्पूर्ण लेखकहरूको तर्फबाट यो पटक एकमात्र प्रतिनिधिको रूपमा साहित्यकार क्षेत्रीले नेपालका नवलेखक र स्थापित लेखकहरूसँग मदन पुरस्कारका लागि प्रतिस्पर्धा गरिरहनुभएको छ । यसअघि वि.सं. २०७५ को मदन पुरस्कारका लागि छनोटमा परेका  उत्कृष्ट  ७ वटा पुस्तकहरूको सूचीमा भारतीय नेपाली साहित्यका तर्फबाट प्रतिनिधित्व गर्दै छुदेन काविमोको उपन्यास ‘फातसुङ’ परेको थियो । भारतीय नेपाली साहित्य जगत्‌मा पारसमणि प्रधानबाहेक अहिलेसम्म कसैले पनि मदन पुरस्कार पाउन सफल भएका छैनन् । प्रधानलाई ‘टिपन टापन’ कृतिका लागि वि.सं. २०२५ सालमा मदन पुरस्कार प्रदान गरिएको थियो । प्रधानले रचेको यो इतिहासलाई ब्रेक गर्नका लागि यति बेला दार्जीलिङका युवा साहित्यकार लेखनाथ क्षेत्रीको उपन्यास ‘फुलाङ्गे’ लागि परेको छ ।

डिजी शर्मा

सन् १९९० जुन १ तारिखका दिन दार्जीलिङको रेलिङमा जन्मनुभएका साहित्यकार क्षेत्रीले सन् २००३ अर्थात् १३ वर्षकै उमेरदेखि साहित्यमा कलम चलाउन थाल्नुभएको थियो । स्कुलको भित्तेपत्रिका ‘सम्झना’ मा कविता छपाएर आफ्नो साहित्यिक यात्रा सरु गर्नुभएका साहित्यकार क्षेत्रीको ‘फुलाङ्गे’ सहित ५ वटा पुस्तक प्रकाशित भइसकेका छन् ।

६ कक्षामा छँदै केही थान कथा र कविता समेटेर ‘उपहार’ नामक पुस्तक निकाल्नुभएका युवा साहित्यकार क्षेत्रीले सन् २०११ मा पहिलो कवितासङ्ग्रह ‘बाउको पसिना’ र सन् २०१५ मा दोस्रो कवितासङ्ग्रह ‘अक्षर अनप्लग्ड’ प्रकाशन गर्नुभयो । कविता, कथा, निबन्ध र उपन्यासमा कलम चलाउँदै आउनुभएका  साहित्यकार क्षेत्रीले भारतीय पत्रकार रवीश कुमारको ‘द फ्रि भ्वाइस’ लाई नेपालीमा अनुवाद गरेर सन् २०१९ मा बजारमा ल्याउनुभएको थियो ।

हाल भारतको कालेबुङमा बसेर खबर म्यागजिनमार्फत पत्रकारिता गर्दै आउनुभएका साहित्यकार क्षेत्रीले विज्ञान विषयमा स्नातकोत्तरसम्मको औपचारिक अध्ययन पूरा गर्नुभएको छ ।

मदन पुरस्कार गुठीले गतसाउन १५ गते शुक्रवार सार्वजनिक गरेको उत्कृष्ट ९  वटा पुस्तकहरूको सूचीमा साहित्यकार क्षेत्रीको उपन्यास ‘फुलाङ्गे’ सहित गिरि श्रीस मगरको कवितासङ्ग्रह ‘एकलव्यको देब्रे हात’, कृष्ण अविरलको उपन्यास ‘करिया’, कुमार नगरकोटीको कथासङ्ग्रह ‘कल्प ग्रन्थ’, भैरवबहादुर थापाको “नृत्याक्षर विज्ञान”, प्रभा बरालको उपन्यास ‘फिलिङ्गो’, केशव दहालको उपन्यास ‘मोक्षभूमि’, जेसन कुँवरको उपन्यास ‘रमिते’ र भगिराज इङ्नामले लेख्नुभएको ‘लिम्बूवानको ऐतिहासिक दस्तावेजसङ्ग्रह संवत् १७१९-२०२०’ नामक पुस्तक पनि परेका छन् ।

यिनै ८ वटा पुस्तकहरूसँग युवा साहित्यकार क्षेत्रीको उपन्यास ‘फुलाङ्गे’ ले ‘मदन पुरस्कार २०७७’ का लागि प्रतिस्पर्धा गरिरहेको छ । मदन पुरस्कार गुठीलाई प्राप्त २ सय २२ पुस्तकहरूबाट छनोटमा परेका यिनै उत्कृष्ट ९ वटा पुस्तकहरूमध्ये एउटालाई सर्वश्रेष्ठ पुस्तकको रूपमा वर्ष २०७७ को मदन पुरस्कार प्रदान गरिने गुठीले सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख छ ।  वि. सं. २०१२ साल असोज १० गते मदन शमशेर राणाको नाममा जगदम्बा कुमारीदेवी राणाले  स्थापना गर्नुभएको मदन पुरस्कारको राशि अहिले ४ लाख रुपैयाँ रहेको छ ।

(‘सगरमाथा साहित्य प्रतिष्ठान’ को फेसबुक पेज र युटुब च्यानल ‘ए एस इन्टरटेन्मेन्ट’  मार्फत हरेक बिहीवार नेपाली समय साँझ ८ बजे प्रसारण हुँदै आएको कार्यक्रम ‘स्रष्टा र सिर्जना’ मा गरिएको कुराकानीमा आधारित ।)