साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

नेपाली साहित्य सर्वोत्कृष्टमध्येमा गनिन्छ, तर अब्बल पुस्तकहरू बिरलै अनुवाद भएका छन्

विविध विधाका पुस्तक छाप्नु अगाडि लेखक स्वयम् त्यो विधाको ज्ञान हासिल गर्नुपर्दछ । अरूलाई सम्पादन गराएर वा रचना परिष्कृत गराएर पुस्तक छाप्नु हुन्न । त्यसैले पहिलो कुरा त लेखक स्वयम् जागृत हुनुपर्छ । त्यसपछि विविध सञ्चारमाध्यमले हरेक सर्जक र कृतिका बारेमा बेला-बेलामा बहस गर्ने र सही समाचार सम्प्रेषण गर्ने गर्नुपर्दछ । हरेक पुस्तकको मूल्य सबै नेपालीका लागि सहजै किन्न सक्ने खालको हुनुपर्दछ र अन्त्यमा हरेक पुस्तकको बजार व्यवस्थापनको पक्ष सबल हुनुपर्दछ जस्तो लाग्छ । 

नेपालमा भक्तपुर स्थायी बसोबास रहेका साहित्यकार स्पन्दन विनोदको हालको बसोबास पोर्चुगलको लिस्बन सहरमा रहेको छ । उहाँ नेपाली साहित्यको विकासमा अति सक्रियतापूर्वक लाग्नुभएको छ । निकै चर्चामा रहेको ‘नेपाली साहित्यकार विश्व सञ्जाल’ का उहाँ परिकल्पनाकार हो । उहाँले युनाइटेड किङ्गडमको लन्डनबाट ‘बायोमेडिकल साइन्स’ मा स्नातकोत्तर गर्नुभएको छ । स्वास्थ्य क्षेत्रको अब्बल जानकारी राख्नुहुने विनोदको नेपालमा आफ्नो यो ज्ञान प्रयोग र विस्तार गर्ने ठूलो सपना रहेको छ ।

गीत, गजल, कविता र मुक्तक लेखन स्पन्दन विनोदका रुचिका विधा हुन् । ‘गजल सिद्धान्त’ मा रहेर गजल लेख्न मन पराउने उनका अविरल स्पन्दन (गजलसङ्ग्रह) – २०७५, भिजाएर गयौ (गजलसङ्ग्रह )-२०७५ प्रकाशित कृति हुन् ।

स्पन्दन विनोद

प्रस्तुत छ, साहित्यपोस्टका लागि विश्वराज अधिकारीले स्पन्दन विनोदसँग गरेको कुराकानीकाे सम्पादित अंश:

. आफ्नो नामसँग स्पन्दन शब्द जोड्नुभएको छ । स्पन्दन शब्दको अर्थ के हो र यो शब्द जोड्नुको कारण के होला?

‘स्पन्दन’ भन्नाले हृदयको कम्पन वा धडकन अर्थात् ढुकढुकी भन्ने बुझिन्छ । कविता के हो भन्ने अर्थ नै नबुझी कविता लेख्न थालेको मलाई बाल्यावस्थामै एकदिन महाकवि लक्ष्मीप्रसाद देवकोटाको ‘के नेपाल सानो छ?’ निबन्धमा रहेको ‘स्पन्दन’ शब्दले चसक्क छोयो र आफ्नो नामका अगाडि स्पन्दन लेख्न थालेँ । हुन त त्योभन्दा अगाडि पनि मैले ‘अकेला’ शब्द प्रयोग गरेको पुराना पाण्डुलिपिहरूमा देख्छु । आफ्नै अन्तस्करणबाट चाहना भएर यो नाम राखिएको हो तर कुनै कारण विशेष यो नाम राखिएको हैन ।

. तपाईँको अध्ययनको क्षेत्र हेर्दा तपाईँको रुचि स्वास्थ्यसम्बन्धी विषयमा रहेको देखिन्छ । साहित्यले तपाईँलाई कसरी आकर्षित गऱ्यो?

साहित्यमा लाग्नका लागि मेरो घरमा हजुरआमाले लय हालेर पढेका रामायणका, भगवद्गीताका श्लोक र विद्यालयमा शिक्षिकाहरूले लय हालेर पढाएका कविताबाट म प्रेरित भएको हुँ । पढाइमा सधैँ प्रथम स्थान प्राप्त गरेका कारण विज्ञानमा मेरो झुकाव बढ्यो र म स्वास्थ्य क्षेत्रमै अनुबन्धित भएँ तर मेडिसिनका नामहरू पढ्दै गर्दा ती नोटबुकका पाना-पानामा मैले गजल र कविता लेखेको छु । साहित्यले मेरो शिक्षा र पेसामा मिठास थपेझैँ मलाई लाग्छ ।

अन्तर्वार्ताकार- विश्वराज अधिकारी

. आफ्न बारेमा केही भन्नुहोस् ।

मेरा बारेमा म आफैँले भन्दा त्यति उत्तम नहोला तर नेपाली-भाषा, साहित्य, कला र संस्कृतिलाई मायाँ गर्ने राष्ट्रप्रेमी नेपाली हुँ भन्न चाहन्छु । २०५२ सालमा दधिकोट अङ्ग्रेजी मा.वि.मा कक्षा २ मा पढ्दै गर्दा गोरखापत्रमा मेरो कविता छापिएपछि मैले औपचारिक लेखन यात्रा सुरु गरेँ; त्यति बेला मुना भन्ने बाल पत्रिकामा थुप्रै कविता छापिन्थ्यो र मलाई प्रेत्साहनस्वरूप कक्षा १० सम्म मुनाका हरेक अङ्क निःशुल्क पठाइन्थ्यो । कविता र चित्रकला मेरा उच्च अतिरिक्त क्रियाकलाप थिए । हालसम्म कुनै कक्षामा म दोस्रो भइन । विद्यार्थी जीवनमा रेडियो नेपालका दाहाल यज्ञनिधि, नवराज लम्साल, पाण्डव सुनुवार आदिका कार्यक्रमहरू, एफ.एम. जगत्‌का रूपा विमल क्षेत्री, अच्युत घिमिरे आदिका कार्यक्रमहरूमा म निरन्तर सहभागी हुन्थेँ र यसले मेरो साहित्यिक सक्रियता बढाएको थियो । यसरी नै अनाममण्डलीमा स्थापनाकालबाटै र गुरुकुलमा त्यसै समयदेखि निरन्तर आफ्ना गजल सुनाउन र सुन्न जाने गरेको थिएँ । आफ्ना बाबुबाजेहरूले देशकै सेवा गरेका कारण पनि हुन सक्छ देश प्रति अगाध श्रद्धा र माया गर्ने मैले विदेश नजाने प्रण गरेर देशमै स्नातक पढाइ सकेँ । पढाइ सकेपछि स्कुलदेखि स्नातकसम्म विज्ञान, गणित र व्यावसायिक गणित पढाएँ । आफन्तको आफ्नै अस्पताल, ल्याब र फार्मेसी भएका कारण मैले शिक्षण पेसा छोडेर स्वास्थसेवामा लागेँ । मैले एसिस्टन्ट रेडियोलोजिस्ट, फार्मासिस्ट र माइक्रोबायोलोजिस्टका रूपमा काम गरेँ । पछिल्लो समय नेसनल किड्नी सेन्टर, किड्नी अस्पताल वनस्थलीमा असिस्टेन्ट रेडियोलोजिस्ट भएर काम गर्दै गर्दा धेरै कलाकार, साहित्यकारले किड्नीको डायलाइसिस गर्न भनी आउँदा सहयोगको याचना गरेको देखेर मनभित्र अति करुणाको आँधी आयो । यो देशको भाषा-साहित्य, कला र संस्कृतिका लागि महत्त्वपूर्ण योगदान दिनेहरूलाई कुनै रोग लाग्दा सरकारले नहेर्ने रहेछ । नेताहरूलाई मात्र हेर्ने रहेछ । यस्तो अवस्थामा भोलि म बिरामी भएँ भने मेरो हालत पनि यही हुने भयो भनेर तत्काल आयल्ट्स गरेर म लन्डन, बेलायत पढ्न आएँ । बेलायतमा बसेर मैले सिस्टम डेभलप्मेन्ट, बिजनेस एन्ड फाइनेन्स र बायोमेडिकल साइन्समा गरेर तीन फरक क्षेत्रमा स्नातकोत्तर गरेँ । त्यसपछि २०१४ मा यतै बिहे गरेको मैले बेलायतकै अस्पतालमा काम गर्दै थिएँ । एकदिन स्वदेशमै केही गरौँ र यो सिप उतै प्रयोग गरौँ भनेर फर्कन लाग्दा युरोप घुम्दै जाऊँ भन्ने मन भयो र यसरी पोर्चुगलमा आइपुगेँ । पछि पोर्चुगलमा आएपछि मैले आफ्नो पहिलो छोरा गुमाएँ र हाल यतै बसेको छु । नेपाली भाषा-साहित्यलाई निरन्तर सेवा गर्ने क्रममा थुप्रै सङ्घसंस्थामार्फत काम पनि गरिरहेको छु । यसैगरी अनेसास पोर्चुगलको महासचिव हुँदै अहिले अध्यक्ष पनि रहेको छु । हाल मेरो परिवारमा बुबा नारायणप्रसाद धिमाल, आमा सरस्वती धिमाल, भाइ गणेश धिमाल, बुहारी शुष्मा धिमाल र छोराछोरीहरू, बहिनी संगीता धिमाल पोखरेल, ज्वाईँ र भानजीहरू, मेरी अर्द्धांगिनी अम्बिका घिमिरे र दुई छोराहरू छौँ ।

.नेपाली साहित्यकार विश्व सञ्जालको तपाईँ परिकल्पनाकार हो । नेपालीहरू माझ तपाईँ यो सञ्जालको परिकल्पनाकारको रूपमा प्रेम र सम्मानपूर्वक स्थापित हुनुहुन्छ । नेपाली साहित्यकार विश्व सञ्जाल कस्तो संस्था हो र यसको उद्देश्य के हो?

सन् २०१७ मा जब नेपाल गएर मैले प्रज्ञा-प्रतिष्ठानको भव्य समारोहबिच मेरा २ गजलसङ्ग्रह विमोचन गरेँ, त्यहाँ बोल्ने आदरणीय वक्ताहरूको विचार र नेपाली साहित्यमा विविध विधाको अन्योलग्रस्त अवस्था देखेर चिन्तित भएँ । जब पोर्चुगल फर्किएँ तत्काल अनेसास पोर्चुगलको महासचिवका नाताले अनेसास, पोर्चुगलको फेसबुक पेज र म्यासेन्जरमार्फत साप्ताहिक अभ्यास तालिका बनाएँ । त्यसरी नै फेसबुक लाइभ कार्यक्रम पनि सन् २०१७ अगाडि नै चलाउँदै आएको थिएँ । त्यसो त नेपाली टिभी युकेमा काम गरेको अनुभवले पनि मलाई दर्शकमाझ बोल्न सहज बनायो । यसरी सुरु गरेको अभ्यासमा सहभागिता ज्यादै न्यून भयो । सन् २०२० मा म अनेसास पोर्चुगलको अध्यक्ष भएँ र फेरि यसो गरौँ भनेर प्रस्ताव राखेँ तर यसमा मैले सोचेअनुरूपको सहयोग प्राप्त गर्न सकिनँ । नेपाली साहित्य जगत्मा कुनै समय म पनि अन्योलमा परेँ र स्वाध्ययनबाट सही बाटो रोजेँ । पछि गुरुहरूको मार्गदर्शनले मार्ग सहज भयो । यसरी नेपाली साहित्य जगत्को अन्योल कसरी हटाउने भनेर सधैँ चिन्तित हुने गरेको थिएँ । यसपछि फेसबुकमा यौटा समूह बनाएर विश्वभरका नेपाली भाषी सर्जकलाई फेसबुकमा जोड्ने र म्यासेन्जरमा पाठशाला बनाएर अग्रज प्रशिक्षकहरूद्वारा प्रशिक्षण दिने भन्ने सोच आयो र त्यसैअनुरूप नेपाली साहित्यकार विश्व सञ्जाल फेसबुक समूह र पाठशालाको जन्म भयो । अहिले हरेक दिन फरक विधाका फरक अग्रज साहित्यकारबाट दैनिक प्रशिक्षण हुने गरेको छ ।

हरेक सोमबार अग्रज गजलकार डा. घनश्याम परिश्रमीले गजल सिकाउनुहुन्छ भने अग्रज गजल चिन्तक देवी पन्थीले चारु (गजल जस्तै रचना) सिकाउनुहुन्छ । हरेक मङ्गलबार अग्रज कवि कलानिधि दाहालले गद्य कविता, बुधबार अग्रज मुक्तककार सुनिल अधिकारीले मुक्तक, बिहीबार अग्रज कवि हरिप्रसाद रिमाल र विदुर अधिकारीले छन्द कविता, शुक्रबार अग्रज गीतकार सुनिल सङ्गम र ज्ञानेन्द्र गदालले गीत, शनिबार अग्रज हाइजिन पुरु सुवेदीले हाइकु र अग्रज कथाकार राजन सिलवालले लघुकथा सिकाउनुहुन्छ । यसैगरी हरेक आइतबार अग्रज बाछिटाकार अमर त्यागीले बाछिटा र अग्रज कोपिलाकार गिरीराज डल्लाकोटीले कोपिला सिकाउनुहुन्छ । अभ्यासलाई कमला महतले समायोजन गरी सहयोग गरिरहनुभएको छ । हरेक हप्ता जुम प्रविधिमार्फत साहित्यिक कार्यक्रम हुने गरेको छ जसलाई प्रविधिमा कुमार शर्माले सहयोग गर्नुभएको छ । यसरी यस पाठशालाबाट २५० जना लाभान्वित भइरहनुभएको छ भने विश्व काव्य यात्राले हालसम्म लगभग १००० सर्जकलाई जोडेर उनीहरूका रचना सुनाइसकेको छ । हरेक विधा के हो र सही रचना के हो भन्ने सर्जकले विनाअन्योल सिक्न र जान्न पाएका छन् ।

यो समूह वा पाठशाला खोल्नुमा मेरो कुनै निजी स्वार्थ छैन । यसको एक मात्र उद्देश्य भनेको नेपाली-भाषा साहित्यका विविध विधा/उपविधाको सही शिक्षा दिनु, नेपाली भाषा-साहित्यको विकास, विश्वव्यापीकरण र पुस्तान्तरण गर्नु रहेको छ । हरेक सर्जक र सिर्जनाको सम्मान ज्युँदै र मरणोपरान्त गर्ने र गराउने अर्को उद्देश्य रहेको छ भने विश्वभर छरिएर रहेका नेपाली-भाषी सर्जकको आलेख राख्ने पनि रहेको छ । त्यस्तै अग्रजदेखि अनुजसम्मका साहित्यिक कृति प्रकाशित गरिदिने, विमोचन गरिदिने, बजार व्यवस्थापन गरिदिने र आर्थिक तथा सामाजिक सहयोग गर्ने उद्देश्य अनुरूप हामीले काम सुरु गरिसकेका छौँ । यस्तै नेपाली साहित्यलाई संसारका विभिन्न भाषामा अनुवाद गरेर त्यस देशका विश्वविद्यालयको पाठ्यक्रममा राख्न पहल गर्ने  र पुस्तकालयमा पनि राखिने उद्देश्य रहेको छ । निकट भविष्यमा कोष स्थापना गरेर विभिन्न रोगबाट ग्रस्त र आर्थिक अभावको चपेटामा परेका नेपाली साहित्यकारहरूलाई आर्थिक सहयोग गर्ने र विभिन्न पुरस्कार तथा सम्मान दिएर प्रोत्साहन थप्ने योजना रहेको छ ।

. नेपाली साहित्यलाई झनै लोकप्रिय एवं विश्वव्यापी गर्न तपाईँ आफूले केकस्ता योगदान पुऱ्याउनुभयो जस्तो लाग्छ?

म नेपाली साहित्यको यौटा अनुज हुँ, विद्यार्थी मात्र हुँ । विगत २५ वर्षदेखि निरन्तर साधनारत छु र नेपाली भाषा- साहित्यको विकास, विश्वव्यापीकरण र पुस्तान्तरणका लागि आफ्ना सिर्जना, लगनपरिश्रम र समय दिएर सकेको योगदान गरिरहेको छु । मैले लोकप्रियताका लागि भन्दा पनि कसरी नेपाली भाषा-साहित्यको बाटो मजबुत बनाउन सकिन्छ, कसरी बाटो बिराएकाहरूलाई सही बाटो देखाउन सकिन्छ र कसरी नयाँ पुस्ता/युवाहरूलाई नेपाली साहित्यमा आकर्षित गर्न सकिन्छ भनेर कार्यक्रमहरू गर्ने गरेको छु । म पोर्चुगलमै रहेका बेला संयोगवश, युरोपको अन्तिम बिन्दुमा पहिलोपटक मेरा दुई गजलसङ्ग्रह भव्य विमोचन भएर नेपाली इतिहासमा रेकर्ड कायम पनि गरेको छ । कोरोना कहरको अहिलेको आक्रान्त अवस्थामा कसरी सर्जकहरूमा सकारात्मक सन्देश प्रवाह गर्न सकिन्छ र विभिन्न प्रोत्साहन दिएर नेपाली भाषा-साहित्यमा सक्रिय गराउन सकिन्छ भनेर विभिन्न सङ्घसंस्था र नेपाली साहित्यकार विश्व सञ्जालमार्फत निरन्तर विभिन्न खाले साहित्यिक कार्यक्रमहरू गर्दै आएको छु । गजलको सिद्धान्तमा रहेर गजल कोर्नुपर्छ भनी प्रवासमा रहेर सम्भवतः पहिलो गजल अभियन्ताका रूपमा आफ्नो ज्ञान बाँडिरहेको छु र यसै गरी नेपाली छन्द साहित्य विकासका लागि छन्द अभियन्ताका रूपमा पनि कामहरू गरिरहेको छु । हाम्रो नेपाली समाजमा खलबलिँदै गएको भातृप्रेम, आत्मीयता र प्रेमको बन्धन कसिलो पार्नेतर्फ मेरो ध्यान रहेको छ । निकट भविष्यमा नै केही अग्रजका अनुवादित कृतिहरू निकाल्ने तयारी पनि गरिरहेको छु ।

. नेपाली साहित्यको विकासमा तपाईँ सक्रियतापूर्वक लाग्नुभएको छ । तपाईँको यो सक्रियता र योगदानको नेपाली समाजले सम्झना वा कदर गरिदिएजस्तो लाग्छ?

हार्दिक धन्यवाद यहाँको सदाशयताका लागि । म ‘कर्म गर फलको आशा नगर’ भन्ने कुरामा विश्वास गर्दछु । मेरो सक्रियता र सेवा विनास्वार्थ हाम्रो स्वाभिमानी नेपाली भाषा- साहित्य, कला र संस्कृतिप्रतिको अगाध प्रेम र सम्मान हो । म एक जनाको परिकल्पनामा गरिएका साहित्यिक कार्यक्रम वा पाठशाला वा अन्य गतिविधिमा यति धेरै सहभागिता, सहयोगी हातहरू र अग्रजदेखि अनुजसम्मको साथ देख्दा यो भन्दा ठूलो कदर के हुन सक्ला र भन्ने लागेको छ ।

.नेपाली राजनीतिमा घात, प्रतिधात, अन्तरघात, दाउपेच जति चल्छ नेपाली साहित्यमा पनि यी कुराहरू त्यत्तिकै चल्छयो भनाइ कोरा कल्पना हो वा यथार्थ हो?

यथार्थ हैन । म यो कुरामा सहमत छैन । राजनीति र साहित्य फरक पाटा हुन् ।

. नेपाली साहित्यको विकास (गहन एवं विविध विषयहरूको प्रस्तुति, नयाँनयाँ प्रयोग, सीमापारजीवनका यान आदि) मा के कस्ता कार्यहरू गर्नुपर्छ जस्तो लाग्छ?

सर्वप्रथम त नेपाली साहित्यको विश्वव्यापी विकासका लागि नेपाल सरकारले विश्वभर रहेका नेपाली सर्जकको आलेख राखेर बेला-बेला उहाँहरूलाई प्रोत्साहनमूलक कार्य गर्नुपर्दछ । यसपछि विभिन्न कारणले देशभित्रै र देशबाहिर छायामा रहेका प्रतिभालाई उजागर गर्नुपर्छ । विभिन्न देशका सर्जकहरूलाई नेपाल भ्रमणमा लाने र नेपालका सर्जकहरूलाई विदेश भ्रमणमा लाने, विभिन्न देशका भाषा-साहित्यका निकायहरूसँग समन्वय गर्ने, नेपाली पुस्तकहरू अनुवाद गरेर पाठ्यक्रममा समावेश गर्ने, विभिन्न देशका पुस्तकालयमा पुस्तक राख्ने, अग्रजहरूलाई बेला-बेलामा सम्मान र रथारोहण गर्ने, सर्जकहरूकै सिर्जनामार्फत अग्रजलाई विभूषित गर्ने, विभिन्न देशमा नेपाली साहित्यकारका सालिक निर्माण गरेर नेपाली साहित्यधामको विकाश गर्ने आदि कार्यहरू गर्नुपर्ने देखिन्छ ।

. साहित्यमा सर्वाधिक सम्मानित एवं ठूलो पुरस्कार मानिनेसाहित्यका लागि नोबेल पुरस्कारअहिलेसम्म पनि कुनै नेपाली साहित्यकारले पाएको इतिहास छैन । नेपाली साहित्यकारले यो पुरस्कार के कारणले नपाएको हो? भाषाको कारणले गर्दा वा गहन विषय प्रस्तुत नगरेको कारणले गर्दा?

एसियामै पहिलोपटक रवीन्द्रनाथ ठाकुरले सन् १९१३ मा साहित्य विधामा नोबेल पुरस्कार पाएका थिए भने जापान, चाइनाले समेत हालसम्म नोनेल पुरस्कार हात पारिसकेको यो अवस्थामा नेपाली साहित्यकारले यो पुरस्कार नपाउनुको मुख्य कारण भाषा नै हो जस्तो लाग्छ मलाई । किनकि नेपाली साहित्य विश्वकै सर्वोत्कृष्टमध्येमा गनिन्छ तर आजसम्म ती अब्बल पुस्तकहरू बिरलै अनुवाद भएका छन् ।

१०. नेपाली साहित्यकारहरूले पनि साहित्यका लागि नोबेल पुरस्कार पाउन वा अन्य अन्तरार्ष्ट्रिय पुरस्कार पाउन के गर्नुपर्छ होला?

नेपाली साहित्यिक कृतिहरू देशभित्रकै चार कुनामा बाँधिएका छन् । यसलाई अनुवाद गरेर विभिन्न देशका विश्वविद्यालयका पाठ्यक्रममा राखिनुपर्छ । केही अनुवाद भएका पुस्तकमा पनि भाषागत कमजोरी छन् । विभिन्न देशका भाषा-साहित्यसँग सम्बन्धित निकायसँग समन्वय गरेर नेपाली कृतिहरूबारे बेला-बेला कविगोष्ठी लगायतका कार्यक्रमहरू गरेर बहस गर्नु पनि आवश्यक ठान्दछु । त्यसैले हाम्रा साहित्यिक कृतिहरू विश्व बजारसँग भिड्न स्तरीय रूपमा आउनु पनि आवश्यक छ ।

११.नेपाली साहित्यकारहरूमा अध्ययनको कमी छ । स्वयं साहित्यकारहरू नै अन्य साहित्यकारहरूको कृति पढ्दैनन् । पढ्नमा खासै रुचि राख्दैननयो भनाइ सही हो जस्तो लाग्छ?

यो कुरा केही हदसम्म सही हो । मैले सङ्गत गरेका अधिकांश साहित्यकारहरू नपढी लेख्न सक्नु हुन्न । म आफैँ पनि दिनमा केही पानासम्म भए पनि नपढी बस्न सक्दिनँ । नेपाली साहित्यका विविध विधामा आएको विवादहरू पनि अध्ययनको कमीकै कारण हो । अध्ययनविनाको साधनाले साहित्यिक यात्रालाई अगाडि बढाउन सक्दैन जस्तो मलाई लाग्छ । किनारा छुँदै नदी भएर बहनु र यौटै पोखरीभित्र मात्र छलाङ मार्नुमा फरक त हुन्छ । यौटा सर्जकले अर्को सर्जकको पुस्तक पढेर मात्र सम्मानको संस्कार पुस्तान्तरण गर्न सकिन्छ ।

१२. नवोदित साहित्यकारहरूको कृति पढ्ने र तिनको चर्चा परिचर्चा गरिदिने कार्य स्थापित कहलिएका साहित्यकारहरूले गर्दैनन र गरे पनि आफूलाई फाइदा हुनेछ भने मात्र गर्ने गरेका छन् भनी नवोदितहरूले गरेको गुनासो तपाईँलाई सही लाग्छ?

अहँ! मलाई त्यस्तो लाग्दैन । अग्रजहरू यत्ति सक्रिय हुनुहुन्छ कि हरेक अनुजलाई प्रेरणाका पुष्पहरू चढाइरहेको मैले पाएको छु । बरु यसको बदलामा हामीले नै पो अग्रजहरूलाई सम्मान गर्न भुलेका छौँ कि !

१३.नेपालमा लेखक बढी पाठक कमयो भना तपाईँलाई उचित लाग्छ?

समयको परिवर्तनसँगै नेपाली भाषा-साहित्यको विकासले अति प्रगति गरेको कुरा सही हो । लेखक धेरै भएपछि लेखको स्तरीयताको कुरा आउँछ र स्तरीय लेखले बजार पाउने अवसर बढी हुन्छ । आजकल केही सिर्जनाहरू सङ्कलन भए कि पुस्तकको स्वरूप दिइहाल्ने प्रवृत्तिले पनि केही असर गरेको छ जस्तो मलाई लाग्छ । नेपालमा स्तरीय लेख खोजी खोजी पढ्ने पाठक अझै पनि छन् जस्तो लाग्छ ।

१४. नेपालमा पठ्न संस्कृतिको विकास भएको छैन । सुन चाँदीका गहना ज्यादै ठूलो परिमाणमा बिक्री हुन्छन तर पुस्तकहरू बिक्री हुँदैनन । यस्तो स्थितिमा परिवर्तन ल्याउन के गर्नुपर्छ होला?

बेलायतमा हेरक ट्रेन स्टेसनका अगाडि बसेर हरेक दिन निःशुल्क न्युजपेपर बाँडिन्छ । विभिन्न स्थानमा निःशुल्क किताब राखिएको हुन्छ । मनै नहुनेले पनि यौटा न यौटा घर लगेकै हुन्छ । यसरी पढ्नै मन नहुनेलाई पनि पठनपाठनमा आकर्षिक गर्न सकिन्छ । अर्को कुरा सुन चाँदीको दाँजामा नेपाली साहित्यका कृतिहरूका विज्ञापन कमै हुन्छन् । बजार व्यवस्थापनको पनि केही कमजोरी हो कि जस्तो मलाई लाग्छ ।

१५. नेपालमा पुस्तकको बिक्रीमा व्यापक वृद्धि ल्याउन ककसले योगदान पुऱ्याउनुपर्छ होला?

सर्वप्रथम त विविध विधाका पुस्तक छाप्नु अगाडि लेखक स्वयम् त्यो विधाको ज्ञान हासिल गर्नुपर्दछ । अरूलाई सम्पादन गराएर वा रचना परिष्कृत गराएर पुस्तक छाप्नु हुन्न । त्यसैले पहिलो कुरा त लेखक स्वयम् जागृत हुनुपर्छ । त्यसपछि विविध सञ्चारमाध्यमले हरेक सर्जक र कृतिका बारेमा बेला-बेलामा बहस गर्ने र सही समाचार सम्प्रेषण गर्ने गर्नुपर्दछ । हरेक पुस्तकको मूल्य सबै नेपालीका लागि सहजै किन्न सक्ने खालको हुनुपर्दछ र अन्त्यमा हरेक पुस्तकको बजार व्यवस्थापनको पक्ष सबल हुनुपर्दछ जस्तो लाग्छ ।

जाँदा जाँदै….

अधिक प्रशंसाले प्रतिभा मर्दै जान्छ जस्तो लाग्छ, त्यसैले म प्रायः आफूलाई प्रशंसा र मिडियाबाट पर राख्न मन पराउँछु तर नेपाली भाषा-साहित्य, कला र संस्कृतिको विकास, विस्तार र विश्वव्यापीकरणका लागि अत्यन्तै प्रतिभावान् साहित्यकारहरूद्वारा सञ्चालित यस साहित्यपोस्टले मलाई आफ्ना कुराहरू राख्ने यो सुनौलो अवसर जुटाइदिएकोमा साहित्यपोस्ट परिवारप्रति, अश्विनी कोइराला दाजुप्रति र विश्वराज अधिकारी दाजुप्रति कृतज्ञ छु । वास्तवमै नेपाली भाषा-साहित्यको विकास, विश्वव्यापीकरण र संस्कारको पुस्तान्तरणका लागि ध्रुवताराका रूपमा साहित्यपोस्ट उदाएको छ । मलाई यसका हरेक पृष्ठहरू आकर्षक र ज्ञानवर्द्धक लाग्ने गर्दछन् । नेपाली साहित्यका कतिपय ऐतिहासिक कार्यहरू कुनै समय मेरा मानसपटलमा हुन्थे भने आजकल साहित्यपोस्टमा देख्दा खुसी लाग्छ । नेपाली भाषा-साहित्यमा यस प्रकारको योगदान अनुकरणीय हो । यसले अझै धेरै सर्जकलाई प्रोत्साहन गर्ने काम गरोस् र समाजमा सकारात्मक ऊर्जा फैलाउन सफल होस्, हार्दिक शुभकामना छ । यो अवसरका लागि पुनः लागि हार्दिक धन्यवाद !

 

प्रतिक्रिया
Loading...