अन्तरार्ष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ले हरेक वर्ष राष्ट्रकवि माधवप्रसाद घिमिरेको जन्म जयन्तीको अवसर पारेर ‘अनेसास कविता महोत्सव’ आयोजना गर्ने भएको छ । संस्थाका केन्द्रीय अध्यक्ष प्रकाश पौडेल ‘माइला’ को अध्यक्षतामा हालै सम्पन्न बैठकले वार्षिक रूपमा कविता महोत्सव गर्ने निर्णय गरेको हो ।

अध्यक्ष माइलाले स्रष्टाहरूलाई निरन्तर लेखनमा आबद्ध गर्दै थप ऊर्जा प्रदान गर्ने अभिप्रायले यस किसिमको महोत्सव आयोजना गर्न लागिएको बताउँदै “विगतमा पनि प्रतियोगिताहरू नभएका होइनन्, तर अबदेखि हुने प्रतियोगितालाई व्यवस्थित र दीर्घकालीन बनाउने हाम्रो उद्देश्य रहेको छ । जहाँ राष्ट्रकवि प्रति सच्चा सम्मान पनि प्रकट हुनेछ,” भन्नुभयो ।

त्यस्तै, बोर्ड अफ ट्रस्ट्रीकी अध्यक्ष गीता खत्रीले अनेसासको यस किसिमको नयाँ कार्यको प्रशंसा गर्दै भन्नुभयो, “संसारभर छरिएर रहेका स्रष्टाहरूलाई गोलबद्ध गर्दै लैजान महोत्सवले थप बल पुर्याउने छ । केन्द्रीय समितिको यो निर्णयले पक्कै दीर्घकालिन प्राभाव छोड्नेछ ।”

प्रतियोगिता सम्पन्न गर्न वरिष्ठ उपाध्यक्ष गोवर्द्धन पूजाको संयोजकत्वमा कविता महोत्सव आयोजक समिति गठन गरिएको छ । समितिमा अनेसासका महासचिव सर्वज्ञ वाग्ले र सदस्यहरू डा. रेणुका सोलु, प्रमोद सारङ्ग र महेश्वर शर्मा रहनु भएको छ ।

सन् १९९१ मा स्थापना भएको अनेसासको अहिले विश्वभरि पाँच दर्जन च्याप्टरहरू सक्रिय छन् । त्यस्तै, दुई हजार दुई सयभन्दा धेरै आजीवन सदस्यहरू हुनुहुन्छ ।

महोत्सव राष्ट्रकवि माधवप्रसाद घिमिरे जन्मजयन्तीको अवसर पारेर आयोजना गरिने छ । उक्त महोत्सवमा विश्वभरि फैलेर रहेका नेपाली भाषीले सेप्टेम्बर ६ तारिक भित्र inls.poemcontest@gmail.com मा कविता पठाइ सहभागिता जनाउन सकिने अनेसासद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।