विषय प्रवेश-

नेपाली साहित्यमा नरबहादुर दाहाल एक आदरणीय नाम हो। उनी साहित्यका एक सफल पाठक लेखक र अध्येता हुन्। उनी पचासको दशकदेखि दार्जिलिङ जिल्ला, असम र नेपालको साहित्यिक गतिविधिका साक्षी हुन्। प्राय: प्रत्येक साहित्यिक चर्या, गोष्ठी, प्रकाशनसित परिचित छन्। उनी जिउँदो जाग्दो साहित्यिक व्यक्तित्व हुन्। चालिसको दशकदेखि हालसम्मकै नयाँ र पुराना साहित्यिक, सामाजिक र राजनैतिक गतिविधिका साक्षी हुन्। उनी पुरानो र नयाँ पुस्ताका जोड्ने सेतु हुन्। उनी नेपाली साहित्यका विभिन्न धारा उपधारा, मोड उपमोड आदि देख्दै आएका छन्। उनले पचासको दशकदेखि अहिलेसम्म नेपाल र भारत दुवैतर्फका नेपाली साहित्यको क्रमिक विकासको अवलोकन गर्दै आइरहेको छन्।

नरबहादुर दाहालको जन्म पिता स्व. जीतबहादुर दाहाल र माता स्व. मनमाया दाहालका जेष्ठ पुत्ररत्नका रूपमा ५ सेप्टेम्बर १९३७ मा १० माइल, कालेबुङमा भएको हो। दाहालका प्रकाशित कृतिहरू उन्माद (कविता, १९५८), वरपीपल (कथा, १९६०), मध्यरातको तारा (उपन्यास, १९६४), तिम्रो प्रीत नै मेरो गीत  (कविता, १९७०), नरेन्द्रप्रसाद कुमाइँ  (जीवनी, २०००), गङ्गाप्रसाद प्रधान (जीवनी, २०११) र गोर्खा महानायक डम्बरसिंह गुरूङ (जीवनी, २०१५) रहेका छन्। दाहालद्वारा सम्पादित कृति अमर कथा (कथा, १९६२), सिक्किम प्रसङ्ग (लेख, १९६८), सेलको माला (हास्य व्यङ्ग्य कविता, १९६६) र अजम्बरी गङ्गाप्रसाद प्रधान (लेख, २०१५) रहेका छन् भने पत्रपत्रिकामा अरूणोदय (१९४९), उद्गम (१९५०), सधैँ गौरव राख्ने छौँ गोरखाको (१९६०), गोर्खा (१९६२), सङ्गम (१९६८), प्रतिनिधि (१९७५) लगायतका रहेका छन्। उनका अप्रकाशित रहेका अनेक संस्मरण, समीक्षा, पुस्तकीय भूमिका, व्यक्तित्व परिचय आदि पत्रिकामा छरिएर रहेका छन्।

नरबहादुर दाहाल

व्यक्तित्व

हेर्दै व्यक्तित्वशाली हुन् नरबहादुर दाहाल। छ फिटभन्दा अग्ला, डालिला, परैबाट हेर्दै हुलदेखि अलग्गै देखिने दाहाल व्यक्तित्वका धनी हुन्। उनी एक रसिला फर्साइला व्यक्तित्व हुन्। अहिलेसम्म पनि उनी सुकुना र सिलगडीका प्रायः सबै साहित्यिक कार्यक्रम आदिमा सभापति, मुख्य अतिथि, विशेष अतिथि, वार्ताकार, अभिनन्दित व्यक्तित्व आदिका रूपमा सक्रिय सहभागी देखिन्छन्। उनी जिउँदा जाग्दा अनुभवका भण्डार र तीक्ष्ण स्मरण शक्ति भएका लेखक हुन्। उनी आफ्नो जीवनकालमा कालिम्पोङ र आसाममा अधिक समय बताएका हुनाले यी दुवै ठाउँमा साहित्यिक गतिविधिहरूमा सक्रिय रूपमा भाग लिएका हुन्थे। उनी पुरानो पिँढी र नयाँ पिँढीका सेतू र सम्बन्ध सूत्र हुन्। पुराना पिँढीका प्रतिनिधि साहित्यकार हुन्। उनले दार्जिलिङ-कालिम्पोङका राजनैतिक आँधी बेहरी बेहोराका हुन्। उनकै आँखाअघि ठाउँ फेरिए, मान्छे फेरिए, समाज फेरियो र सबैभन्दा बढी मानसिकता फेरियो। उनको जीवन अनुभवबाट नै कथा कविता निबन्धका लेखन स्रोत र सामग्री बनिएका हुन्।

दाहालको जीवनमा धेरै उतार चढाउ आका हुन्। सन् १९५५/६० तिर कालेबुङमा सम्पन्न भए जति पनि साहित्यिक र सांस्कृतिक कार्यक्रमहरू हुन्थे। यस्ता कार्यक्रमा उनी मुख्य आयोजक बन्थे। महेन्र राजाको गाउँ फर्क अभियानअन्तर्गत नेपालका रेडियो कलाकार तारादेवी, नातिकाजी, शिवशङ्कर, पुष्प नेपाली इत्यादि घुम्दै कालेबुङ आएका थिए। उनीहरूले एउटा कार्यक्रमका निम्ति उनलाई अनुरोध गरेका र उनकोमा नेतृत्व कालिम्पोङमा भव्य रूपमा कार्यक्रम सम्पन्न गरेका थिए। योबाहेक पारिजात र मञ्जुलको राल्फा, गणेश रसिक र हिरण्य भोजपुरेको लेकाली इत्यादि कार्यक्रमको अभिभारा लिएका थिए। त्यसकालमा नेपाली सङ्गीत कला निकेतन नामक संस्थाको उनी १२ वर्ष अध्यक्ष रहेका थिए। यस संस्थाले कालेबुङमा प्रतिवर्ष सङ्गीत प्रतियोगिता आयोजन गर्थ्यो। योबाहेक अम्बर गुरूङ नाइट जस्ता कार्यक्रमहरू पनि हुन्थे। साहित्यिक कार्यक्रमहरूमा सिद्धिचरण, भवानी भिक्षु, केदारमान ‘व्यथित’ इत्यादिको सम्मान कार्यक्रमहरू आयोजन गरियो। (नरहादुर दाहालसित दीपक सुवेदीले लिएको अन्तर्वार्ताका अनुसार)

नवीन पौड्याल (कालिम्पोङ)

राजनितीज्ञ – नरबहादुर दाहालले आफ्नो जीवनको अघिल्लो भाग अखिल भारतीय गोर्खा लिगका परम अनुयायी रहेका थिए। गोर्खा लीगका एक अनुशासित सिपाही भएर काम गरेका थिए। कालिम्पोङको गोर्खा लीग अफिसमा विभिन्न राजनैतिक काम गर्नु, चिन्तन गर्नु, विभिन्न पदमा रही सेवा गर्नु, कालिम्पोङमा राजनैतिक समस्या भए त्यसबारे बहस गर्नु, यसको मुख पत्र गोर्खाको सम्पादन कार्यमा सहयोग आदि कार्य गर्दथे। उनी दलको कार्यालयमा दैनिक रूपमा गएर त्यहाँको राजनैतिक कार्यकलापमा प्रत्यक्ष परोक्ष रूपमा सक्रिय हुन्थे। उनले आफ्नो स्वजातिको स्वार्थका निम्ति राजनिती गरेका हुन्। वावब डम्बरसिंह गुरूङ उनका आदर्श राजनेता र अखिल भारतीय गोर्खालीग उनको आदर्श दल। रणधीर सुब्बा, रामकृष्ण शर्मा, टिकाराम शर्मा, शिवकुमार राई आदि उनका राजनैतिक मान्यवर थिए भने अगमसिंह गिरी, महानन्द पौड्याल, वीरविक्रम गुरूङ आदि उनका राजनैतिक दँहलेहरू थिए।

कवि – नरबहादुर दाहाल एक कवि हुन्। उनका कविताहरू विभिन्न पत्रिकाहरूमा छरिएका छन्।  उनी साठीको दशकदेखि नै कविता लेख्दै आएका हुन्। हामीले तेस्रो श्रेणी पढ्दा उनको इन्द्रेणी भन्ने कविता उनका एउटा बालकविता पाठ्यक्रममा राखिएको थियो। त्यसले हाम्रा बालमस्तिष्कमा राम्रा प्रभाव पारेको थियो। त्यस कवितमा पाइने बालकमा सिर्जनात्मक कल्पनाको राम्रो उदाहरण लिएको छ। अहिले पनि इन्द्रेणी लाग्दा उनको कविताको सम्झना आउने गर्छ। उनको पतझड़ कविता पनि एक उत्कष्ठ मानिन्छ। यस कवितामा पनि जीवनको यथार्थलाई प्राकृतिक विम्बद्वारा कलात्क ढङ्गमा प्रस्तुत गरिएको छ।

उपन्यासकार – नरबहादुर दाहाल एक सफल उपन्यासकार हुन्। उनको एउटै प्रकाशित उपन्यास मध्यरातको तारा (१९६४) प्रकाशित देखिन्छ। यस उपन्यास अध्ययन गर्न नपाएको हुनाले यसबारे केही समीक्षात्मक अध्ययन गर्न सकिएन तर यस उपन्यासबारे डा मोहन पी दाहालले केही अध्ययन गरेका छन्। डा दाहालका अनुसार मध्यरातको तारा उपन्यासमा जम्मा सोह्रवटा अध्याय रहेका छन्। यसको कथानकीय पृष्ठभूमि दार्जिलिङ र कलकत्ताको छ भने यसको मूल कथावस्तु प्रेम प्रीतिमलक सामजिक विषयवस्तु रहेको छ। यसमा प्रेमको विछोडको कथा भएकाले यसमा कारूणिक भाव प्रबल छ। यसकारण यो विययोगप्रधान उपन्यास हो।

कथाकारका रूपमा- नरबहादुर दाहाल एक कुल कथाकार हुन्। उनको एउटा कथासङ्रग्रह वर-पीपल प्रकाशित छ। यस कथासङ्ग्रह अप्राप्त हुनाले यसबारे समीक्षात्मक मन्तव्य प्रकट गर्न सकिएन। वरपिपल कथासङ्ग्रहका बारा उनी आफैं भन्छन्- “मेरो सन् १९६० मा छापिएको कथासङ्ग्रह धरानका स्कुलहरूमा त्यसबेला पाठ्यपुस्तकमा राखिएको रहेछ। जसलाई आजका विद्वानहरू डा. टङ्क न्यौपाने, दधिराम सुवेदी इत्यादिले पढेर एस.एल.सी. पास गरेको कुरा उहाँहरूले उल्लेख गर्नुभएको हो। मेरा कुनै कृति साधारण पाठकहरूले पनि चाख लिएर पढेको थाह नलागेको जमानामा धरानमा एस.एल. सी. मा मेरो कथासङ्ग्रह वरपिपल पाठ्यपुस्तकमा रहनु मेरा लागि खुसी तथा गर्वको विषय थियो”। आफ्नो कथालेखन र कथाको स्रोत बारेमा बताउँदै उनी भन्छन्-“मैले जीवनलाई धेरै नजिकबाट देखेँ। राजनैतिक, सामाजिक अनेक घटनाहरू मेरा जीवनमा घटे। अनेक प्रकारका मानिसहरूसित मेरो भेट भयो। उनीहरूबाट पनि उनीहरूका जीवनका रोचक घटना सुनेँ। यी सबै संरक्षणका निम्ति कथामात्र एउटा माध्यम हुन सक्थ्यो। मैले मेरा कथाहरूमा पनि यिनै र यस्तै पात्रहरूलाई हालेको छु। मेरा कतिपय कथाहरूमा दार्जीलिङका मानिसहरूले बिर्सन लागेका कतिपय राजनैतिक घटनाहरू पनि छन्”। (नरहादुर दाहालसित दीपक सुवेदीले लिएको अन्तर्वार्ताका अनुसार)

निबन्धकार – नरबहादुर दाहाल मूल रूपमा एक निबन्धकार हुन्। उनको निबन्धको विषयवस्तु संस्मरण, जीवनी, प्रमुख घटना आदि हुन्। यिनका निबन्धहरू उदय, शारदा, प्रभात, धरती, गोर्खा, अग्रदूत, हिमालचुली, सुनचरी, आजभोलि, हिमालय दर्पण आदिजस्ता दैनिक पत्रिकामा उनका निबन्धहरू धेरै मात्रामा प्रकाशित भएका पाइन्छन्। तिनलाई सङ्कलन गरे मात्र पनि दुई चार पुस्तकका रूपमा प्रकाशित हुन सक्छ। दाहालको निबन्ध लेखनलाई जीवनी र संस्मरण गरी मूल स्थूल वर्गीकरण गर्न सकिन्छ। उनको जीवनी लेखनबारे छुट्टै अध्ययन गरिएको छ। संस्रणमा पनि आफ्नो पहिलेको अनुभव, अन्य साहित्यिक असाहित्यिक सबै खाले व्यक्तिहरूको व्यक्तित्व संस्मरण र चर्चा, यात्रा संस्मरण, साहित्य क्षेत्रमा सम्पन्न भएका सङ्गोष्ठी, सभा आदिको संस्मरण आदिबारे लेखिरहेका छन्। उनले आफु बाल्यकाल हुँदादेखि अहिलेसम्मका प्रमुख साहित्यिक गतिविधिमाथि लेखेका छन्। उनले उनी आफै सहभागी भएर विभिन्न ठाउँतिर साहित्यिक समारोहतिर देखेका-सुनेका कुरालाई पनि लेखेका छन्।

समालोचक-  यिनी नेपाली साहित्यका एक कुशल समालोचक पनि हुन्। हालसम्म उनका ‘नरेन्द्रप्रसाद कुमाई’ (२००२, साहित्य अकादमीको भारतीय साहित्य निर्माता शृङ्खलाबाट प्रकाशित), ‘गङ्गाप्रसाद प्रधान’ (जीवनी) प्रकाशित भएको पाइन्छ। यस पुस्तकमा कवि नरेन्द्रप्रसाद कुमाइको जीवनी, व्यक्ति, कृतित्व, उनका कवितामा स्वच्छन्दतावाद, खण्डकाव्य रोदन, शोककाव्य परम्परामा सेनानीको मृत्युशोकमा, उनका केही फूटकर कविता, उनको गद्यलेखन, पत्रकारिता आदिको विश्लेषण र मूल्याङ्कन गरेका छन्। यसमा दाहालले आफ्नो समालोचकीय सीपलाई प्रज्ज्वलित गरेका छन्। यसबाहेक यिनका अनेकौं समालोचनापरक लेखहरू दैनिक र सामयिक पत्रिका, पुस्तकादिमा छरिएका छन्। यिनको समीक्षामा कृतिकार परिचयन र मूल्याङ्कन, विश्लेषणात्मकता, इतिहास सापेक्षता, प्रभाववादिता आदि प्रवृत्ति पाइन्छन्।

जीवनीकार- नरबहादुर दाहाल एक सिद्धहस्त जीवनीकार हुन। उनले धेरैजना साहित्यकार, सामाजिक, राजनैतिक व्यक्तित्वका बारेमा जीवनीमूलक लेख लेका पाउँछौं। चालिसको दशकदेखि लिएर वर्तमान समयसम्मका कवि लेखकहरू वा अन्य उल्लेखीय व्यक्तित्वहरूका बारेमा लेख्दै आएका छन्। उनको कलमबाट धेरै व्यक्तित्व आलोकित भएका छन्। प्रकाशनका पक्षमा भने हालसम्म उनका ‘गोर्खा महानायक डम्बरसिंह गुरूङ’, ‘नरेन्द्रप्रसाद कुमाइ;, ‘पादरी गङ्प्रसाद प्रधान हुन्। डम्बरसिंह गुरूङको राजनैतिक कृतित्व र व्यक्तित्वमाथि लेखिएको जीवनीमूलक पुस्तक भारतीय नेपाली समाजका निम्ति महत्वपूर्ण पुस्तक हो। यसमा डम्बरसिंह गुरूङको जन्म, बाल्यवस्थादेखि लिएर उनको राजनैतिक गतिविधि, घटनाक्रम, सिद्धान्त आदिलाई अध्ययन, विश्लेषण र मूल्याङ्कन गरिएको छ। यस पुस्तकलाई पाँच अध्यायमा विभाजन गरिएको छ। यसमा बाबु डम्बरसिंह गुरूङका जीवनका विभिन्न पक्ष, घटना, पारिवारिक पृष्ठभूमि, राजनैतिक गतिविधि, उपलब्धि आदिलाई विश्लेषण र मूल्याङ्कन गरेका छन्। यसका साथै उनको साहित्य अकादमी नयाँ दिल्लीको भारतीय साहित्य निर्माता शृङ्खलामा नरेन्द्रप्रसाद कुमाइँ पुस्तक प्रकाशित छ। यसमा नरेन्द्रप्रसाद कुमाइको व्यक्तित्व र कृतित्वको सम्यक् चर्चा र मूल्याङ्कन गरेका छन्। यसमा कुमाइँको जीवनीमाथि केही तथ्य प्रकाश पारेका छन्। कुमाइको छोटो जीवनको चर्चा गर्दै उनको कृतित्वमाथि मूल्याङकन गरेका छन्। यसैगरी पादरी गङ्गाप्रसाद प्रधानको जीवनका विभिनन पक्षमाथि दाहालले गहन अध्ययन र अनुसन्धानबाट पुस्तक तयार गरेका छन्।

कृतित्व

नरबहादुर दाहाल एक सच्चा साहित्यकार हुन्। उनी साहित्यिक अध्येता, चिन्तक र लेखक हुन्। उनी एक कवि, कथाकार, निबन्धकार, समीक्षक हुन्। निबन्धका क्षेत्रमा उनी एक कुशल संस्मरणकार हुन्। उनले दैनिक समाचार पत्रमा आफु बाल्य अवस्थादेखिका संस्मरणलाई पाठकलाई पस्किने काम गरेका छन्। उनका प्रत्येक लेखहरू पाठकका निम्ति रूचिकर हुन्छन्। उनी साहित्यिक रूचि र मन भएका हुनाले उनी साहित्यकै चिन्तन, मनन, सङ्गत र सिर्जनामा रहेका हुन्छन्। नरबहादुर दाहाल अनुभवले खारिएको हुँदा साहित्य लेखनमा पनि सिद्धान्तभन्दा व्यवाहरिक पक्ष देखिन्छ। उनका एउटा कथासङ्ग्रह, एउटा उपन्यास, तीनवटा जीवनी, दुईवटा कवितासङ्ग्रह उनका कृतित्व हुन्। यीनै कृतिहरूका आधरमा पनि उनको कृतित्वको मूल्याङ्कन गर्न सकिन्छ। उनका जुनै पनि कृति लेखन सरल, सर्वग्राह्य, सहज बोध, सुललित, सुगम्य किसिमका हुन्छन्। कल्पनाको प्राचुर्य, स्वच्छन्दता, आशावादी चिन्तन, मानवीय संवेदनाको प्रकाशन आदि जस्ता उनका कृतिगत प्रवृत्ति हुन्। उनको कृतित्वबारे गहन अध्ययन, मनन, मूल्याङ्कन र विश्लेषणको आवश्यकता छ। भविष्यका अध्येताले उनको कृतित्वबारे धेरै काम गर्ने सम्भावना छ।

नरबहादुर दाहालको कृतित्वको मूल्याङ्कन र उपसंहार

नेपाली साहित्यमा नरबहादुर दाहाल एउटा छुटाउन नहुने नाम हो। उनी नेपाली साहित्यमा विभिन्न  विधामा देखा परिरेका छन्। उनको गफ सुने मात्र पनि साहित्यसम्बन्धित नयाँ ज्ञान, तथ्य, रोचक संस्मरण आदि कुरा पाइन्छ। उनी एक कवि, कथाकार, उपन्यासकार, निबन्धकार, जीवनीकार हुन्। उनका प्रत्येक लेखहरूमा सूचना, अनुभव र अनुभूति रहेको पाइन्छन्। उनका धेरै लेखहरू दैनिक समाचार पत्रहरूमा छरिएर रहेका छन्। उनका प्रत्येक लेखहरू पाठकहरूले खोजी खोजी पढ्ने गरेको पाइन्छ। सबैभन्दा उनी एक सच्चा साहित्यकार हुन्। नेपाली सहित्यकाशमा नरबहादुर दाहाल एक उज्ज्वल नक्षत्रका रूपमा रहन्छन्। उनी भारत र नेपालका, पुराना र नयाँ पुस्ताबिचका, स्वच्छन्दतावाद र आधुनिकताका आदि पक्षमा साहित्यिक सम्बन्ध सेतु हुन्। पुरानाका प्रतिनिधि हुन् भने नयाँका निम्ति प्रेरणा स्रोत हुन्। उनीभित्रै पुराना र दुवै प्रवृत्ति र चिन्तन पाइन्छन्। उनको सुस्वस्थ्य र दीर्घायुको कामना गर्दछु।