कविको परिचय भनेको नै उनीद्वारा सिर्जना गरिएको कविता हो भन्ने पत्रलाई मान्दामान्दै पनि अझ कविको व्यक्ति परिचयसम्म पुग्दा अर्को सन्तुष्टि मनमा छाउँदो रहेछ । कवि मणि खवास उनको समाजदेखि बाहिर चिनिने र जानिने नाम हो । पुटुङ माध्यमिक विद्यालयका विद्यार्थी र अभिभावकले सर भनेर चिन्लान् । पुटुङवासीले पनि मणि सर भनेर चिनिराखेका छन् । पुटुङ उच्च माध्यमिक विद्यालयका शिक्षक, शिक्षिका एवं कर्मचारीका निम्ति, वरिवरि अन्य स्कुलका निम्ति उनी हेडसर भनेर चिन्लान् तर हामी उनको पेसादारी जीवनको जडनदेखि उठेर उनमा रहेको महान् व्यक्तित्व कवि भनेर जानिराखेका छौँ । उनका कविताहरूबाट बुझिरहेका छौँ । यस्ता प्रतिभाशाली, विज्ञ, विद्वान्, शिक्षाप्रेमी मणि खवास भारतीय नेपाली साहित्यका एक जना रत्न हुन् । यस्ता रत्नको व्यक्तिगत विवरण हेर्दा उनी मञ्जु चियाकमान (मिरिर नजिक) मा १८ मई १९६० मा जन्मिएका हुन् । उनको शिक्षा एम.ए. बि.एड. । पुटुङ उच्च माध्यमिक विद्यालय बेलगाछीको प्रधानाध्यापक । उनी विद्यार्थी कालदेखि नै साहित्यमा चासो राखी अगाडि बढेको देखिन्छ । सन् १९७८ मा शृङ्गार– पत्रिकामा प्रकाशित आह्वान– रचना उनको पहिलो प्रकाशित रचना रहेको पाइन्छ । उनी सफल सम्पादक हुन् भनी प्रमाण गर्नका निम्ति उनीद्वारा सम्पादित तीनवटा साहित्यिक पत्रिकाहरू क्रमैले तृष्णा (सामसायिक साहित्यिक सङ्कलन १९८०), र जनआवाज ( मासिक समाचारपत्र, १९८३) र पाइन्स एन्ड क्यामिलियाज १९८४ । उसरी नै मणि खवासको पहिलो प्रकाशित साहित्यिक कृति उन्मुक्त अभिव्यक्तिहरू (मुक्तकसङ्ग्रह, १९८९) लाई मान्न सकिन्छ ।

मणि खवास (दार्जीलिङ)

मैले रोजेको कवितासङ्ग्रह –

श्याम प्रकाशन, दार्जीलिङद्वारा सेप्टेम्बर २००३ मा प्रकाशित कवितासङ्ग्रह खवासको दोस्रो काव्यकृति हो । यस कवितासङ्ग्रहभित्र २७ वटा, फुटकर कविताहरू समावेश गरिएको छ । ती २७ वटा फुटकर कवितामा २ वटा बालकविता, एउटा सवाई कविताका साथसाथै बाँकी गद्य कविताहरू समावेश भएको पाइन्छ । गद्यशैलीमा भए पनि हेरक कविता लयात्मक ढाँचामा प्रस्तुत गर्ने प्रयासहरू देखिन्छ । हाटकभरमा रहेको यस काव्यकृतिमा ५२ पृष्ठको आयाम रहेको देखिन्छ ।

मैले रोजेको बाटो –

खवासको यो काव्यकृतिको नाम- मैले रोजेको बाटो– २७ वटा कविताहरूभित्रबाटै २२ औँ कविताको शीर्ष लाइनलाई नै सम्पूर्ण कवितासङ्ग्रहको नाम दिएका छन् । कविले मैले रोजेको बाटो किताबको नाम राख्नुमा आफ्नो अडान यसरी राखेका छन्– “यी कविताहरू मभित्रका अनुभूतिहरू हुन् र मैले भोगेको तीता सत्यहरू हुन् । त्यसैले मेरा यी कविताहरूमा शैलीको शिल्पभन्दा अधिक दुखाइका पीडाहरू होलान्, मेरा विविध परिस्थितका सान्दर्भिक आवाजहरू बनेका होलान् । अतः मलाई उपयुक्त नलागेका  कतिपय कविताहरू यसबाट हट्न गए भने त्यसपछि लेखिएका नयाँ कविताहरू यस सङ्ग्रहमा समावेश हुन गए । फलस्वरूप पुस्तकको नामसमेत नयाँ – मैले रोजेको बाटो– हुन गयो ।” कवि मुक्तिको गीत गाउन चाहन्छन् ती शोषित र पीडित मनोभाव भएका समाजदेखि । स्वार्थी, हिंस्रक र अवसरवादी मानिसहरूले गरेका अमानवीय कर्मको विरोध गर्न बाटो रोजेका छन् । मतभेदका विचारमा सही निर्णय गर्ने दलगत बल होइन आफ्नै सही विचारलाई अघि बढाउन कविले आफ्नो बाटो रोजेका छन् ।

भाइचाराको त्यो बाटामा

तिमीले आफ्नो हकडक कायम राख्न

वैज्ञानिक सूत्र समेत विकृत तुल्यायौ

तर जब मैले त्यसो होइन यसो हो भन्न खोजेँ

तिमीलाई त्यो मन परेन

यसैले मेरो मार्ग बन्ने मेरो साथी

उन्मुक्तिको यो लडाइँमा

अब मैले आफ्नै मार्ग रोज्नु छ । (मैले रोजेको साथी, ४५-४६)

उन्मुक्तिको यो लडाइँमा निःस्वार्थ भावले खट्ने, भाइचाराको बाटोलाई भत्काउने, दलबलको बलबुतामा हिंसा, द्वन्द्व गर्ने मनोवृतिको विरोधमा अमानवीय वातावरण सिर्जना गर्ने हैकमवाद जमाउने प्रवृत्तिको विरोधमा कविले आफ्नै बाटो रोजेको पाइन्छ । यसै सन्दर्भलाई जोडेर भूमिकामा डा. मोहनप्रसाद दाहालले लेखेका छन्– “कविले रोजेको बाटो युटोपिया होइन, मुत्याम्या पनि होइन, युगान्ताकारी युगबोध हो, इतिहास-संशोधनको ईप्सा हो, क्रान्तिकारी चेतको चीत्कार हो । यसै कवि खवासले रोजेको बाटो चेतका चीत्कार हुन् भन्ने पक्षलाई उनका कविता सिर्जनालाई अवलोकन गर्न सकिन्छ ।”

कविले सिर्जना गरेका कविताहरूमा उसैको जीवन-भोगाइ, पीडा, असन्तुष्टिका कुबेलाहरू, समाजमा व्याप्त कुरीति, विसङ्गति, सामाजिक एक राजनीतिक समस्यासँग खवासका कविताहरू सम्बन्धित छन् । त्यस बेला कविको समय त्रासदी, विकृति, अमानवीयता, द्वन्द्व र षडयन्त्र चारैतिर छाएको अप्ठ्यारो समय थियो । परिवेशमा राम्रा विचारधाराका मान्छेप्रति विरोधका भाव राख्नेको भिड थिए । कागले कान लग्यो भन्दा कानै नछामी कागको पछाडि कुद्नेहरूको जमातमा आखाँ थिए, कान थिए, मस्तिष्क ठप्प थिए । आगो मात्र देख्ने, द्वन्द्व र हिंसामा रमाउथ्ये । सोझा निमुखा जनतामाथि अन्याय र अत्याचार जस्तो जन्जिर र नेलले उनीहरूका हात खुट्टालाई बाँधिदिएको परिस्थिति थियो । यस्ता अवस्थामा विरोध गर्न कविभित्रको छोरा उठी आक्रोश पोखेका छन् –

सुकराज दियाली (दार्जीलिङ)

छात्तीभरि हिम्मत छ यो तिम्रो छोराको

नाकमा रगत छ यो तिम्रो छोराको

हेर्नलाई आँखा र हिँड्नलाई

खुट्टा पनि छन् तिम्रो छोराको

मात्र तिमी रोई-रोई नहिँड्नू

केवल तिमी पर्खिरहनू ! तिमी मलाई पर्खिरहनू ।( पुत्रको पत्र पितालाई, १७)

ग्रामीण मानव समाजमा रहेका पुराना रूढीवादी विचारधारा र अन्धविश्वासको कविले विरोध गरेका छन् । यस्ता विचारधाराले समाजलाई प्रदूषित परिवेशतिर धकेलिरहेको हुन्छ भनी सचेत भावहरू जगाउने प्रयासमा उनका कविताहरू अघि आएका छन्-

मेरी छोरी ! मेरी नानी !!

तिमी जन्मँदा मैले तिरस्कृत बन्नुपरेको थियो

छरछिमेकीहरूबाट निन्दा सहनुपरेको थियो

भोजभतेर खानुको सट्टा

नुनपानी खानुपरेको थियो।

त्यसैले मेरी छोरी

तिमीले छोराकै मुटु लिएर हिँड्नू

छोराजस्तै तिमी निर्भय बन्नू । (छोरीलाई अर्ती, ३३)

आफ्नो जन्मथलो, माटासित आमा जत्तिकै गहन सम्बन्ध रहेको हुन्छ । स्नेहका रागहरू हृदयमा रहेका हुन्छन् । कविले यसै विषयलाई सम्झिएर असीमित श्रद्धा र प्रेमभाव पोखेका छन् । उनले आफ्नो जन्मथलादेखि टाढा रहँदा जन्मिएको ठाउँलाई सम्झिएको पाइन्छ । मनस्थिति गाउँसित जोडिएको तरङ्ग हो । सच्चा छोरा, गाउँकै पानी पिएका, मातापितासित सम्मान गाँसिएको मानिसको खुट्टा (जरा ) सधैँ गाउँमै गाडिएको हुन्छ । गाउँको मायाँ र छाया व्यक्तिको आन्तरिक भावना हो भन्ने पक्षलाई मेरो गाउँ भन्ने कवितामा दर्साएको पाइन्छ –

दश महिना मलाई पेटमा बोकी

मेरी आमाले उकाली-ओराली गरेको त्यो ठाउँ

मैले मेरी आमाको गर्भबाट

प्रथमचोटि विश्वलाई चियाएको त्यो ठाउँ

रोदन र मुस्कानसँगै आमा भन्न सिकेको त्यो ठाउँ

बामे सर्दै लरखराउँदै हिँड्न सिकेको त्यो गाउँ

मेरो प्यारो मञ्जु चियाबारी

त्यही गाउँ हो मेरो जन्म ठाउँ । ( मेरो गाउँ, २४)

यसैले जिउँछु, जिउन चाहन्छु जति जति

मार्न चाहन्छन् तर मेरा इच्छाहरूलाई

हिँड्छु हिँड्न चाहन्छु जति-जति

रोक्तछन् तर मेरा हरपाइलाहरूलाई

बोल्छु, बोल्न चाहन्छु जति-जति

औंला ठड्याउँछन् तर मलाई…….। ( रहर, ३१)

सांसारिक भौतिक दुःखपीडा देखेर तथा मानवजगत्‌मा छाएको अन्याय, अत्याचार, हिंसा र द्वन्द्व जस्ता अमानवीय कार्यहरू कविले भोग्न परेपछि अन्तमा ईश्वरीय आस्थाका समीप हुन पुग्दछन् ।

लेख्दा-लेख्दा अब त हातै थाकिसक्यो

त्यसैले खै अब त कति भनूँ

केवल ॐ शान्तिः !  शान्तिः !! शान्तिः !!!

ॐ शान्तिः ! शान्तिः !! शान्तिः !!!

कवि मणि खवासका कवितामा उनकै समाजमा देखिएका सामाजिक असमानता, अन्याय अत्यचार एवं आर्थिक चपेटाहरूको दयनीय अवस्था पाइन्छ । समाजमा छाएको सन्त्रासदेखि मुक्ति जीवनको चाहनाहरू उनले रोजेको बाटामा रहोस् भन्ने कामना गरेका छन् । मानवमूल्यमा जीवनका पलहरू बितून् र न्यायपूर्ण समाजको निर्माणमा लागिपरौँ भन्ने आह्वान उनले रोजेको बाटोको चेतनाहरू हुन् । कुरीति, विकृति विसङ्गति जस्ता असभ्य समाजको धारदेखि जोगिएर जातीय उन्नति, समाजको उन्नति शान्ति बनाइराख्ने चेतनालाई जगाउन खोजेका छन् । कवि मणि खवासलाई कवितासङ्ग्रह – मैले रोजेको बाटो – ले खाँटी कविको रूपमा भारतीय नेपाली साहित्यमा स्थापित गरेको पाइन्छ ।