सेप्टेम्बर ८ तारिख २०१६ बिहीबार । दिदीले बिहानै उठेर पहिले कफी खानुभयो । म पनि उठेर बिहानको आफ्नो नित्यकाम सकेर रातो चिया आफैँ बनाएर खाएँ । दिदीले भोलि बिहेका लागि चाहिने सरसामान मिलाउन थाल्नुभयो । म पनि सघाउन भनी दिदीकै कोठामा गएँ । खाना खाएर भास्कर आफ्नो साथीलाई भेट्न गए । दिदी र म बेलुका पख बिहेमा चाहिने सानातिना सरसामान किन्न मलतिर गयौँ । दिदीकै घरछेउको ट्राम स्टेसन आउगाछीबाट चढेर सात-आठवटा परतिरको स्टेसनमा ओर्लियौँ । ठाउँको नाम मनमा राख्न सकिनँ । दुई-तीन घण्टा बजारमा अलमलिएर हामी घर फर्कियौँ । बाटाघाटा फराकिला, लेनमा बाँडिएका, सुग्घर सफा, सिनिक्क, खुल्ला नाला कतै देखिनँ र दुर्गन्ध कतै थाहा पाइनँ । नालाहरू सबै बाटामुनि हुँदा रहेछन् । फोहोर मैला र पानी जमेको कतै देखिनँ । हाम्रो यताको जस्तो बिजुली र टेलिफोन आदिका तारहरू गुजुल्टो पारिएको माखे साङ्लाको सौन्दर्यले भरिएका लेम्पपोस्ट पनि कतै देखिनँ । ठाउँ-ठाउँमा डस्टबिन राखिदिएको । त्यहाँको एउटा कुराचाहिँ मलाई मन परेन । त्यहाँका मानिसहरू चुरोट धेर खाने ।

मुक्तिप्रसाद उपाध्याय (सिलगढी)

बुढाबुढी, युवकयुवती सबै निर्धक्क चुरोट तानिरहेका हुन्छन् जताततै तर बाहिर सडकमा, भित्र होइन । हरेक मोडमा र मलहरूका बाहिर चुरोट खाइसकेर फ्याँक्ने चुरोटकै डस्टबिन अलग्गै राखिएका हुँदा रहेछन् तर पनि फुटपाथभरि चुरोटका ठुटाहरू देखेँ । जति नै सभ्य भए तापनि मानिस भन्ने प्राणीमा लुकेर बसेको विशेष गुण होला त्यो । सिर्कनो लाएर तह पार्नु जस्तो । कट्टुजस्तो छोट्टो हाफपेन्ट, पुच्छरैसम्म नितम्ब देखिने गरी अनि माथिको भोटो पनि उस्तै लाएर धेरै जसो तरुणीहरूको चुरोटसहितको निस्फिक्री विचरण गजब लाग्यो । के भन्नु र ? होस् नभनौँ होला । बुझ्नेलाई आँ गर्दा अलङ्कार भइगयो नि । अनि अर्को खास विशेषता के देखेँ भने, तन्नेरी युवा युवती बाटाघाटामा होस, ट्राम वा मेट्रो आदिमा होस् कसैको परवाह नगरी, लाजसरम केही पनि नमानी अँगालो हालेर एक अर्काका ओठ चुसिरहेका हुन्छन् । नहेरूँ भन्दा पनि आफ्ना आँखा त्यतै गइहाल्थे । दिदीसित हिँड़्दा मचाहिँ लाजले भुतुक्कै । पछि-पछि त म पनि बानी पर्दै गएँ । त्यस्ता कुरालाई ख्यालै गर्न छोडेँ । हामी त यता बाटाघाटामा खानु हुँदैन, खाँदा बोल्नु हुँदैन, हिँड्दै पनि खानु हुँदैन भनेर सुनेका थियौँ तर त्यहाँ हाम्रो सोचाइको विपरीत पाएँ । बस, मेट्रो, ट्राम, प्लेटफर्म, बाटाघाटा आदितिर खाँदै हिँडिरहेका मानिस देखेँ । काममा वा कतै जाने हतारमा घरमा खान नभ्याएर पो हो कि ? त्यतातिरका मानिसले खाना पकाउनधेरै समय खर्च गर्दैनन् । खाना पकाउन लाग्ने समय कुनै सृजनात्मक वा पैसो कमाउने काममा व्यतित गर्न रुचाउँछन् भनेको कुरा मैले कतै सुनेको थिएँ । हुन पनि हो, यसो सोचेर ल्याउँदा खाना पकाउँदा थोरै समय नष्ट हुँदैन त । फेरि क्यान बियर हात हातमा लिएर खाँदै हिँडेको हुन्छन् तर कोही मातेर हल्लखल्ल वा अलिक चर्को बोलेको भने कतै पाइएन । साधारण अन्य मानिस पनि चर्को बोलेको सुनिनँ । खाइसकेर कागज, बियरका क्यान आदि जताततै कसैले फ्यात्त फ्याँकेको देखिनँ । ठाउँ ठाउँमा राखिएका डस्टबिनको प्रयोग राम्ररी गर्न जानेका र सफा सुग्गर राख्न चाहने साधारण मानिसको भावना अति राम्रो देखेँ ।

आफूले देखेका सुनेका कुरा नै भन्नुपर्छ । धेरैपल्ट जान जुरेको महानगर विशेष गरी कलकत्ताको कुरा गरौँ । सबैले देखेकै छन् त्यहाँको फुटपाथको सौन्दर्य । जसै तसै एक जना मान्छे मात्रै छिर्न सक्ने ठाउँ राखेर प्लास्टिक, त्रिपाल आदिले जम्मै फुटपाथ ढाकेर विभिन्न प्रकारका पसलहरूको पसाराले महानगरको रमणीयतामा थप सौन्दर्य प्रदान गरेको कुरा उल्लेख गरिरहनु नपर्ला । हाम्रो यताको जस्तो गाईगोरु र कुकुरहरूको आपात्कालीन सभा बाटाघाटामा बसेको कतै देखिनँ । बनारसको विश्वनाथ बाबाको मन्दिर दर्शन गर्न जाने गल्ली प्रायः सबैले देखेकै छन् । त्यस साँघुरो गल्लीमा पस्नासाथ भक्तजनहरूको स्वागतका लागि गाईगोरुहरू तैनाथ बसिरहेका हुन्छन् साथमा उनीहरूले बाटामा ओछ्याइदिएका हुन्छन् गोबरका गलैँचाहरू । कुनै गलैँचाको थुप्राबाट त पतपत धुवाँ पनि आइरहेको देखिन्छ । मैले त्यही गल्लीका एक जना पसलेलाई सोधेँ – “यस गल्लीमा गाईगोरु पस्न नदिएर यस तीर्थस्थललाई स्वच्छ राख्दा राम्रो हुने थिएन र ? पसलेले हाँस्दै भन्यो – “विश्वनाथ बाबालाई दर्शन गर्न जाने यस गल्लीको ऐतिहासिक महत्त्व नै त यहाँका गाईगोरु र गोबरमा लुकेको छ । यस गल्लीको विशेष चिह्नारी पनि यही हो । तपाईँका मनमा पनि त कहिले नबिर्सने गरी यसले एउटा अमिट छाप छोड्ने छ । म बोलिनँ । मैले के भन्ने ? म हाँस्दै अघि बढेँ ।

फुटपाथ त्यही प्रकारले उकालिएका वा ओह्रालिएका हुन्छन् जसले गर्दा अपाङ्गहरूका ट्रली, नानीहरू बोकेका ट्रली, हिँड्न नसक्ने बुढाबुढीका ट्रली आदि सजिलै गुडाएर ट्राममा चढाउन सकिने व्यवस्था सराहनीय लाग्यो । त्यहाँका ट्रली घिसार्नुपर्ने, ठेल्नुपर्ने वा पेडेल हान्नुपर्ने देखिनँ । आमाबाउले नानीहरूका गुडाउने ट्रलीबाहेक अपाङ्ग र बुढाबुढीका ट्रलीहरू सबै नै मसिन युक्त स्वचालित नै देखेँ । त्यहाँ त्यस्ता ट्रलीको प्रयोग धेरै रहेछ । मैले सोचेर ल्याउँदा त्यसको मुख्य कारण एकल परिवारको चलन धेर भएर होला जस्तो लाग्यो । हाम्रो जस्तो आमाबाउ, दाजुभाउजु, देवरदेउरानी, भाइबहिनीहरू सँगै बसेको संयुक्त परिवारको कल्पना त्यहाँ नगरे हुन्छ । छोरा वा छोरी बालिग भएपछि आमाबाउसित अलग भएर आफ्नो बयफ्रेन्ड वा गर्लफ्रेन्डसित बस्छन् । बिहे नगरे तापनि पाँच वर्ष सँगै बसेपछि पतिपत्नीको मर्यादा पाइने चलन त्यहाँ रहेको जानकारी पाएँ । त्यसरी बिहे नगरी सँगै बसेर छोराछोरी पनि जन्माएका छन् । शिला दिदीका कान्छा छोरा दिवाकरले भन्थे – “यत्रो लाखौँ रुपया खर्च गरेर मेरो र मेलीको विवाह गर्ने कुरै आउँदैन । कोर्टमा विवाह दर्ता गराउँदा भइहाल्छ । किन यत्रो स्वाङ्ग पारिरहनु ? कमाउन कति गाह्रौ छ । बरू बिहे गर्ने खर्चले त संसार घुम्नुपर्छ । दिवाकरको जस्तै विचार अरूको पनि होला । त्यहाँ युवा युवती सँगै बस्नु र छोड्नु साधारण कुरा हो । फेरि कोही त्यसरी नै सँगै बसेर सम्पूर्ण जिन्दगी बिताएका पनि छन् ।

जे होस्, एकल परिवारमा बसेर नानी छोराछोरी भएपछि जीवन धान्नैपऱ्यो, बजार जानैपऱ्यो, खाने वा लाउने सामान ल्याउनैपऱ्यो तथा औषधि उपचार पनि गर्नैपऱ्यो । त्यसो हुँदा घरबाट बाहिर निस्किनुपर्छ नै । संयुक्त परिवार भए पो कसैसित नानीलाई छोडेर जान सकिन्छ तर एकल परिवारमा कसलाई छोड़्नेड्ने ? नानीलाई आफैँसित लानुपऱ्यो, त्यसो हुँदा नानीको ट्रली अनिवार्य चाहियो । नानी बोकेर कहाँसम्म लाने ? बजारतिर पनि नानीलाई ट्रलीमा हालेर बजार गरिरहेका आमाबाउ एकैसाथ, कि त आमा एक्लै वा बाउ एक्लै देखिन्छन् । बाउ काममा गएको छ भने आमा एक्लै अनि आमा काममा गएकी छ भने बाउ एक्लैले नानीलाई ट्रलीमा गुडाएर बजार गरिरहेका हुन्छन् । प्रायः सबैका घरमा बुढाबुढी एक्लै । अनि फेरि बुढो छैन भने बुढी एक्लै, बुढी छैन भने बुढो एक्लै । एक्लै बस्नुपर्दा बुढाबुढीहरूलाई पनि दिक्क लाग्दो रहेनछ । सायद बाध्यताले होला । यसो बजार गएर केही ल्याइदिनू भनेर अह्राउने पनि कोही हुँदैन । असक्त वा बुढाबुढी पनि स्वयम् बाहिर निस्किनुपर्ने बाध्यता हुन्छ । पुस्तौँदेखि त्यस्तै चलन चलिआएपछि उपाय पनि के छ ?

हिँड्न नसक्ने बुढाबुढी, असक्तहरू, गर्भवती महिला र नानीहरूका ट्रली गुडाउनेहरूका लागि अलग्गै सिट लगायत ट्रलीहरू राख्ने स्थान ट्राम, मेट्रो, बस आदिमा सुरक्षित राखिएको हुन्छ । हात खुट्टा दह्रा हुन्जेल त ल ठिकै छ । ओछ्यान लाग्नुपऱ्यो भने गाह्रो नहुने कुरै छैन । दिदी बसेकै घरको पल्लोपट्टि भएको घरमा एउटी बुढी एक्लै बस्थी अरे । दिदीको घरको झ्याल र त्यस बुढीको घरको झ्याल सोझै पर्थ्यो । म छँदाछँदै एकदिन बिहान बुढी घरभित्र मरिरहेकी रहिछ । गह्नाउन थालेपछि छिमेकीले थाहा पाएछन् र पुलिसलाई बोलाएछन् । पुलिसले ढोका भाँचेर त्यो लास लिएर गयो । दिदीले बुझ्दा बुढीका आफन्त कोही आएजस्तो लागेन भन्नुहुँदै थियो । विचार गरौँ, कस्तो दुर्गति, कस्तो मरण ? जे होस्, हाम्रातिर त्यति छुट्टी साह्रै त हुँदैन ।

त्यस दिन रातिको खाना खाने गरी दिदीले वेल्सबाट आएका भदा महेन्द्र र बुहारी सेरोललाई पनि घरमा बोलाउन भएको थियो । महेन्द्र दाजुले मलाई गुवाहाटीतिरको खबरहरू सोध्नुभयो । चिनेजानेका मानिसहरूको नाम लिनुभयो । मैले पनि जानेजति भनेँ । निकै बेर गफ गरेपछि राति उनीहरू होटल फर्किए ।