गैरआवाशीय नेपाली सङ्घ भाषा साहित्य समितिले नीलम कार्की निहारिकाको नवीनतम उपन्यास द्रौपदी अवशेषमाथि परिचर्चा कार्यकर्म भर्चुअल रूपमा सम्पन्न गरेको छ । प्रवासी प्रवाहको ५८ औँ शृङ्खला अन्तर्गत निहारिकाको नवीनतम उपन्यासमाथि वरिष्ठ समालोचक तथा पत्रकार राजकुमार बानियाँको उपस्थितिमा चर्चा गरिएको हो ।

“मैले उहाँको सबै उपन्यास पढेको छु । दुई उपन्यास बारे लेखेको पनि थिएँ । महाभारतका पात्रमाथि उहाँलाई दिलचस्पी छ । यसमाथि लेखेर धेरै लेखकले मदन पुरस्कार पाउनु भएको छ । तर त्यो मदन पुरस्कार पाउनका लागि लेख्नुभएको भन्ने भ्रमबाट अब मुक्त भएँ ।” कार्यकर्मका प्रमुख वक्ता वरिष्ठ पत्रकार तथा समालोचक बानियाँले पुस्तकबारे आफ्नो धारणा व्यक्त गर्दै भन्नुभयो, “नेपालमा मदन पुस्करलाई मिनी नोबल पुरस्कार भन्छन् । त्यो पाएपछि लेखकमा सारा उर्जा समाप्त हुने गर्छ । मलाई द्रौपदी अवशेष पढेपछि लाग्यो, निहारिकालाई योगमायाका लागि होइन द्रौपदी अवशेषका लागि मदन पुरस्कार दिएको भए अझ न्याय हुन्थ्यो ।”

समोलाच बानियाँले निहारिकाको मुक्तकण्ठले प्रसंसा गर्दै थप्नुभयो, “खोज अनुसन्धान गरेर निहारिकाजीले निर्भयपूर्वक एक हिमाली संस्कृतिमा थि बेजोड उपन्यास लेख्नु भएको छ । म खुलेर उहाँको प्रशंसा गर्न चाहन्छु ।”

त्यस्तै, भाषा साहित्य समितिका अध्यक्ष हिक्मत थापाले भन्नुभयो, “बहुपति प्रथा कसरी सुरु भयो र विकास कसरी भयो ? निहारिकाजीले यस प्रश्नको उत्तर दिनुभएको छ पुस्तकमार्फत् । म त्यही भेगमा हुर्किएको हुँदा पढ्ने हुटहुटी थियो । उपन्यासमा उहाँले बहुपति प्रथाका बारेमात्र होइन, दुर्गम तथा पछाडि परेको कर्णाली छेत्रको रहनसहन पनि उजागर गर्नुभएको छ । व्यक्तिगत रूपमा भन्नुपर्दा मलाई उहाँका अघिल्ला पुस्तकभन्दा पनि यो पुस्तक मन पर्यो । मैले पढेका राम्रा पुस्तकमध्ये द्रौपदी अवशेष पनि एक हो ।”

उपन्यास लेखनलाई लिएर कार्यकमको अन्तिमतिर बोल्नुभएकी लेखक निहारिकाले प्रतिकूल समयमा पनि विज्ञानका कारण उपन्यासका लागि आवश्यक खोज तथा अनुसन्धान सहज भएको बताउनु भयो । उहाँले भन्नुभयो, “नेपाली संस्कृति र इतिहासप्रति राज्यले उति चासो दिएको देखिदैन । यसको संरक्षण र हस्तान्तरणका लागि लेखक तथा साहित्यकारले व्यक्तिगत तवरबाट भए पनि प्रयास गर्नुपर्ने मेरो मान्यता रहँदै आएको छ ।”

उहाँले कार्णालीका दुख शब्दमा मात्र व्यक्त हुन् नसक्ने बताउँदै सिंहदरवारले कर्णालीतर्फ ध्यान नदिएको गुनासो गर्नुभयो ।

एक घण्टासम्म चलेको कार्यक्रमको सञ्चालन भगवती बस्नेतले गर्नुभएको थियो ।