साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

मुक्तकमणिको सम्मानमा प्रेमीहरूको प्रेमग्रन्थ

साहित्यिक मनहरूले नै उहाँलाई साहित्यिक जमातबाट मुक्तकमणिको प्रिय र हार्दिक सम्मान दिए । उहाँ मुक्तकका मणि नै हुनुहुन्छ । उहाँ र उहाँको व्यक्तित्व तथा कृतिमिठासमा माथि पछि फेरि कुनै बेला अलग्गै केही लेखुँला ।

मुक्तकमणि तीर्थराज अधिकारीज्यूको साधनाको पचास वर्ष पुगेको अवसरमा उहाँको व्यक्तित्व र कृतित्वमाथि विभिन्न साहित्यकारहरूबाट लेखिएका लेख, संस्मरण आदि समेटेर अन्तर्राष्ट्रिय नेपाली साहित्यसमाजले प्रकाशन गरेको कृति ‘साधनाको स्वर्ण वर्ष मुक्तकमणि तीर्थराज अधिकारी’ नामक एक परिचयग्रन्थ मेरो चिठी बाकसमा आज प्राप्त भयो ।

एक दशकपछि यति ठूलो साहित्यिक ग्रन्थ (अन्तर्राष्ट्रिय नेपाली साहित्यसमाजको इतिहासबाहेक) हातमा परेपछि सरसरती नहेरी राख्न सकिनँ । सम्पादकीय भूमिका, प्रकाशकीय, विषय सूची, मूल पाठका पृष्ठहरू, मुक्तकमणिको जीवन र उहाँका सफलताका प्रमाणपत्रहरू तथा १३३ वटा उहाँको जीवन र पारिवारिक सम्बन्ध दर्साउने रंगीन तस्वीरहरूसमेत समेटिएको यो ग्रन्थ ४८० पृष्ठको छ ।

असफल गौतम र कल्याण पन्तले सम्पादन गरेको यस ग्रन्थको प्रकाशन सहयोग सीतादेवी अधिकारीले गर्नुभएको छ । यसै वर्ष अर्थात् सन् २०२१ (वि.सं. २०७८) मा पहिलो संस्करणका रुपमा प्रकाशित यो ग्रन्थ ११११ प्रति नेपालको पोखरामा छापिएर अमेरिकाका विभिन्न राज्यका साहित्यकारका हातमा आइपुगेको छ । यसको मुद्रण हार्ड कभर र सादा कभरमा गरिएको छ । सादा कभरको नेपाली मूल्य ५५० रुपैयाँ छ भने हार्ड कभरको मूल्य ११०० रुपैयाँ छ । विदेशमा हार्ड कभरको मूल्य अमेरिकी डलर २५ बराबर रहेको छ ।

समालोचना विधाअन्तर्गत वर्गीकरण भएको यस ग्रन्थमा सम्पादकीय र अनेसासका वर्तमान अध्यक्षले लेख्नुभएको प्रकाशकीय पनि छ । प्रकाशकीयमा केन्द्रीय अध्यक्ष पौडेलले यस ग्रन्थको प्रकाशनलाई अनेसासको गौरव भनेर शीर्षक दिनुभएको छ । यो ग्रन्थ सात खण्डमा विभाजित छ । पहिलो खण्डमा ३८ पृष्ठभित्र शोध अनुसन्धान शीर्षक दिएर ग्रन्थनायक तीर्थराज अधिकारीको व्यक्तित्वमाथि सुरेश बरालले समालोचना गर्नुभएको छ । दोस्रो खण्ड जीवनी र व्यक्तित्व शीर्षकमा छ । यस खण्डमा सातजना लेखकहरूले ३२ पृष्ठभरिमा ग्रन्थनायकको जीवनका विविध आयामहरूको वर्णन गर्नुभएको छ । सातजना लेखकहर अनन्तराज लम्साल, अशोक चौहान, कल्याण पन्त, किस्मत भण्डारी, माधव शरण उपाध्याय, रघुनाथ अधिकारी र राजेन्द्रप्रसाद अर्याल हुनुहुन्छ ।

तेस्रो खण्डलाई कृति विवेचना र प्रवृत्ति शीर्षक दिइएको छ । यो खण्ड कूल १०६ पृष्ठमा समेटिएको छ । यसभित्र रहेको कृति विवेचना र प्रवृत्तिअन्तर्गत आफ्ना अनुभव र अनुभूति प्रकट गर्नुहुने १७ जना समीक्षक तथा समालोचकहरू असफल गौतम, प्रा.डा. कुसुमाकर न्यौपाने, डा. कृष्ण भण्डारी मुमुक्षु, प्रा.डा. कृष्णचन्द्र शर्मा, चन्द्र खड्का, डा. जगन्नाथ रेग्मी, डा. दामोदर पुडासैनी ‘किशोर’, प्रा.डा. पशुपति तिमल्सेना, बालकृष्ण भट्टराई भोजराज न्यौपाने, प्रा. मोहन सिटौला, प्रा.डा. यमवहादुर पौडेल क्षेत्री, प्रा.डा. लक्ष्मणप्रसाद गौतम, विजय सागर, शरद निरौला, सूर्य खड्का बिखर्ची र होमनाथ सुवेदी हुनुहुन्छ । यस खण्डमा उहाँहरूले मुक्तकमणिका व्यक्तित्व र कृतित्वका विविध आयामहरूमाथि विवेचना प्रस्तुत गर्नुभएकाे छ । यस खण्डले जम्मा १०६ पृष्ठ लिएको छ ।

चौथो खण्डमा उहाँसित विभिन्न साहित्यिक जीवनका व्यक्तिहरूले समेट्नुभएका संस्मरण र अनुभूतिलाई समेटिएकाे छ । यस खण्डमा कृति नायकसितका अन्तरंग सम्बन्ध र उहाँका कृतिगत प्रवृत्तिमाथि ६० जना व्यक्तिहरूले आफ्ना अनुभवहरू लेख्नुभएको छ । थुप्रै वरिष्ट लेखक, कवि, कथाकार, समालोचकदेखि मसम्मका चानचुनेले पनि उहाँसितको सम्पर्क र उहाँका स्वभावबारे अनुभव लेख्ने अवसर पाएका छौँ । मेरै कुरा गर्दा कुनै बेला मैले लेखेर केही दिएको कुरा मैले बिर्सिसकेको रहेछु । हिजो तीर्थ सरले मेरो किताब पठाएको छु पाउनुभयो भन्नुभयो । मैले उहाँको किताब तीनचारमहिना अघि नै पाएको हुँ सर तर नभ्याएर केही लेख्न सकेको छैनँ भनेर असमर्थता प्रकट गरेँ । उहाँले त्यो किताब नभएर अर्को किताबको कुरा गर्नुभएको रहेछ । आज चिठी बाकसमा हेरेपछि किताब पाएँ । आएर सरसरती पल्टाउने क्रममा लेखकहरूको सूचीमा तल मेरो नाम पनि रहेछ । अनि बल्ल मैले सम्झेँ । त्यो लेख लेखेपछि मैले राम लामाजीलाई पनि सेयर गरेको थिएँ पढ्नका लागि । मैले लेख तीर्थ सरलाई पठाएको केही दिनपछि रामजीले पनि लेखेर मलाई बाँड्नुभयो । हामी दुवैले त्यो पढेपछि मैले रामजीलाई त्यो पठाउन भनेँ । आज उहाँ र मेरो नाम रहेछ । यसरी मलाई पनि उहाँका विषयमा केही लेख्न अवसर मिलेकामा उहाँलाई हार्दिक आभार व्यक्त गर्दछु ।

शिव लामिछाने

यस खण्डमा अनु बराल, एल बी क्षत्री, कृष्णप्रसाद पौडेल, प्रा.डा. खेमराज शर्मा आचार्य, गणेश घिमिरे, गीता खत्री, गोविन्द गिरी प्रेरणा, डा. गोविन्दसिंह रावत, गङ्गाप्रसाद खनियाँ, डा. घनश्याम न्यौपाने परिश्रमी, चन्द्रकला अधिकारी भुसाल, डा. चिरञ्जीवी भट्टराई, चेतन कार्की, टीकाप्रसाद भण्डारी, टेकबहादुर जिरेल, डिल्लीराज अधिकारी, तारानाथ रानाभाट, तारा पाखे, तीर्थ श्रेष्ठ, तुलसी दिवस, डा. त्रिभुवन शर्मा, दुर्गाबहादुर शाह ‘बाबा’, ध्रुब के.सी., डा. नम्रता पाण्डे, नवीन पोखरेल, नृपराज अधिकारी, पद्मराज ढकाल, प्रकाश पौडेल ‘माइला’, डा. भीष्म अधिकारी, मातृका ढुङ्गाना, मीरा कोइराला, यादव भट्टराई, युवरा घिमिरे, डा. रमेशचन्द्र खनाल, रविकिरण अधिकारी, रश्मि भट्ट, डा. राजकुमार राई, राधेश्याम लेकाली, रामबाबु नेपाल, राम लामा अविनाशी, डा. रुपक श्रेष्ठ, रोहितचन्द्र भण्डारी, बद्रीविनोद प्रतीक, विजयराज न्यौपाने, विजयराज भट्टराई, विजयराज भट्टराई, विनोदप्रसाद बसौला, विश्वराज अधिकारी, वेदकुमार श्रेष्ठ, शिव लामिछाने, ई. सञ्जीव पौडेल, सरला न्यौपाने, सरुभक्त, सीताराम थापा, सुमलकुमार गुरुङ, सुरेशकुमार भट्ट, सूर्यभक्त खनाल, हरि अधिकारी, हरिदेवी कोइराला, डा. हरिराज भट्टराई हुनुहुन्छ । याे खण्ड पृष्ठ १८८ देखि ३७५ सम्म फैलिएकाे छ ।

पाँचौँ खण्डमा संवाद राखिएको छ । यस खण्डले १० पृष्ठ लिएको छ । यसमा डीसी नेपालका लागि कृष्णराज खनाल र विश्वदर्पणका लागि विश्वराज अधिकारीसित भएका कुराकानीलाई राखिएको छ ।

छैठौँ खण्डमा अंग्रेजी साधना भनेर शीर्षक दिइएको छ । यसमा अनेसासका ट्रस्टी स्व. डा. दुर्गा दाहाल, अनेसास पुरस्कार समिति अध्यक्ष प्रा डा. गोपी उप्रेती, प्रो. केशव भट्टराई, क्षितिज खनाल, लक्ष्मी पराजुली, डा. नवराज न्यौपाने, प्रवीणराज अधिकारी, अनेसास बोर्ड अफ ट्रस्टीका पूर्व अध्यक्ष डा. श्याम कार्कीका विचारहरू राखिएका छन् ।

सातौँ अर्थात् अन्तिम (खण्डका हिसाबले छैठौँ तथा अन्तिम) खण्डमा परिशिष्ट राखिएको छ । यसमा ग्रन्थनायकको कुण्डली, पारिवारिक नाताको चित्र तथा उहाँका सम्मान र प्रमाणपत्रहरूलाई राखिएको छ । यसैमा उहाँसँग सम्बन्धित १३३ वटा रंगीन तस्वीरहरू पनि छन् ।

कार्तिक ३०, वि.सं. २००३ मा तीर्थराज अधिकारी लमजुङको चन्द्रेश्वर ७ दुराडाँडामा जन्मनु भएको हो । उहाँले नेपालको सरकारी सेवामा संलग्न भएर सेवा निवृत्त भएपछि विश्वका थुप्रै देशमा प्रवासी नेपालीको आमन्त्रण र नेपालीहरूले आयोजना गर्ने गरेका साहित्यिक कार्यव्रmम र उत्सवहरूमा सहभागी भएर रोचक अनि घोचक मुक्तकको स्वाद बाँड्ने अभियान सुरु गर्नुभयो ।

साहित्यिक मनहरूले नै उहाँलाई साहित्यिक जमातबाट मुक्तकमणिको प्रिय र हार्दिक सम्मान दिए । उहाँ मुक्तकका मणि नै हुनुहुन्छ । उहाँ र उहाँको व्यक्तित्व तथा कृतिमिठासमा माथि पछि फेरि कुनै बेला अलग्गै केही लेखुँला । अहिलेलाई यति नै ।

प्रतिक्रिया
Loading...