पल्लव साहित्य प्रतिष्ठानको ७३औँ कृतिका रूपमा प्रकाशित प्रिय रश्मि बहिनीको छन्दोबद्ध कवितासङ्ग्रह “पातालको गर्त” हात पर्‍यो l आफ्नो कृति पठाइदिएर पढ्ने सौभाग्य प्रदान गर्नुहुने प्रिय रश्मि बहिनीप्रति कोटि-कोटि आभार व्यक्त गर्दछु l

निक जोशीको उत्कृष्ट आवरण तथा पल्लव प्रतिष्ठानको उत्कृष्ट प्रकाशनबाट तयार भएको १४४ पृष्ठको प्रस्तुत कृति निकै आकर्षक र स्तरीय छ l

पल्लव प्रतिष्ठानका अध्यक्ष आदरणीय गोर्खे साइँलोको भूमिका रहेको प्रस्तुत कृतिमा आदरणीय कविवर रमेश खकुरेल तथा कोषराज न्यौपाने सँगै मलाई पनि शुभकामनाका केही शब्द व्यक्त गर्न पाउने अवसर प्रदान गर्नुमा प्रिय रश्मि बहिनीको मप्रतिको अपार स्नेह र सद्भावना उजागर भएको छ l यो सम्मानलाई सदा स्मरण गर्दै नतमस्तक रहनेछु l

(भूलबस होला मेरो नामको अगाडि डा. लेखिएकोमा म आफू डा. नभएको कुरा यसैबाट जानकारी गराउँदै अर्को संस्करणमा सच्याइदिन आग्रह गर्दछु ।)

वास्तवमा छन्दोबद्ध कविताहरू रचना गर्नु चानचुन कुरा होइन l गति,यति र गणका साथै वर्णविन्यासमा समुचित ध्यान पुर्‍याउनुपर्ने यो कठिन कार्यमा सफल छन्द कवयित्री रश्मि भट्टमा साधुवादसहित हार्दिक बधाई व्यक्त गर्दछु l

प्रवासी भूमिमा रहँदा अनवरतका व्यस्तता, व्यग्रता,अनेकौँ उत्पीडनहरू तथा निरन्तरका बाधा र व्यथाहरूका बाबजुद पनि आफ्ना बचेखुचेका समय दिएर कृतिको जन्म दिन सक्नु भनेको निकै तारिफयोग्य कुरा हो र एउटा कुशल तथा सुयोग्य स्रष्टाको परिचायक पनि हो l

म स्वयं पनि प्रवासी कथा व्यथासँग चिरपरिचित व्यक्ति भएका कारण प्रस्तुत कृतिलाई “पातालको गर्त” नामकरण गर्ने बहिनीलाई पुनः धन्यवाद नदिइरहन सक्तिनँ किनकि यो नामकरण अत्यन्तै मिल्दोजुल्दो र सुहाउँदो छ l प्रवास आखिर त्यो गर्त हो जहाँ खसेपछि उत्रिन असम्भव प्रायः देखिन्छ l

प्रस्तुत कृति “पातालको गर्त”मा शार्दूलविक्रीडित २६, मन्दाक्रान्ता ५, इन्द्रवज्रा १२, भुजङ्गप्रयात१०,पञ्चचामर ५, झ्याउरे ५ तथा  मालती, शालिनी, हिन्दू, विशालान्तिक, तोटक, मखमली, अरुणिमा, अभया, विधाता, हिमानी, वंशस्थ, सुलेखा, जानकी, सत्यवती, अभिसारिका, द्रुतविलम्वित, मधुरसा, मदलेखा, रारा,इन्दिरा, ऐँसेलु, अनुष्टुप्, वसन्ततिलका, उपजाति, शिखरिणी, स्रग्धरामा १/१ गरी जम्मा ८९ वटा कविताहरू रहेका छन् l

पिङ्गल छन्दबाहेक विभिन्न विद्वान्‌हरूद्वारा निर्माण गरिएका विभिन्न छन्दहरूमा समेत आफ्नो कलम चलाउन सक्ने खुबी भएकी रश्मि बहिनीलाई एउटा अत्यन्तै कुशल प्रतिभाको रूपमा लिएको छु l

मानव जीवनका उकाली-ओरालीहरू,जीवन र जगत्‌का तादम्यहरू, प्रवासी जीवनका उत्पीडनहरू, देशप्रेमको प्रखर प्रवाहहरू उहाँका कवितामा प्रशस्त रूपमा  मुखरित भएका देखिन्छन् l उहाँका कवितामा प्रशस्त मात्रामा स्वदेशी माटाको महक भेट्टाएँ मैले l

“गुरुहरूमा नमन ‘ भन्ने कविताबाट थालनी भएका कविताहरू “कलङ्कित नबनौँ”  मा पुगेर टुङ्गिन्छन् ।

“गुरुहरूमा नमन” मा कवयित्री भन्नुहुन्छ :-

मेरो ज्ञान कला छ आज जति जे बाँच्ने त आधार छ

लेखेँ काव्य सुधा समस्त गुरुमा कोटी नमस्कार छ ll

“स्व. बुबाप्रति” भन्ने कवितामा आफ्ना मर्मस्पर्शी भाव यसरी व्यक्त गर्नुहुन्छ :-

वर्षौँवर्ष बिते बुबा हजुरको वात्सल्य मायाबिना

आत्मा दुख्छ सदा बनेर टुहुरी त्यो दिव्य छायाबिना

“जिन्दगी” कवितामा उहाँका देशप्रेमी भावनाहरू यसरी मुखरित भएका छन्:-

हाम्रै देश अहो पवित्र धरती रारा र त्यो गण्डकी

लेखे हुन् सबले अवश्य कविता के हो त यो जिन्दगी ll

नारी स्वतन्त्रताकी हिमायती कवयित्री आफ्नो कविता “आस्था र विश्वास हुन्”मा यसो भन्नुहुन्छ :-

कस्तै दम्भ गरोस् यहाँ पुरुषले नारीबिना के छ र l

“सन्देश राम्रो छरौँ” कवितामा साहित्यमा कलम चलाउनेहरूप्रति मननयोग्य सन्देश प्रवाह गर्नुभएको छ :-

डोरी हुन्न कसै किमार्थ सिपले बाट्दै नबाटीकन

सच्चा काव्य पनि हुँदैन सहजै राम्रो नलेखीकन

छाप्ने मात्र सधैँ हतार नगरौँ लेखेर साफी  गरौँ

साँच्चै काव्यकला बुझेर युगको सन्मार्ग मीठो छरौँ  ll

“पातालको गर्त” कवितामा आफू पाताल भासिँदाका व्यथाहरू यसरी प्रस्तुत भएका छन् :-

फिर्ने चाह थियो भएर पनि खै कौडीबिना के फिरूँ

सारा खेत सबै छ बन्धक जहाँ कैले म फिर्ता गरूँ ll

साँच्चै भासिन चैँ नपार भगवान् पातालको गर्तमा

उहाँका विभिन्न कविताहरूमा देशप्रेमका भावनाहरू यसरी मुखरित भएका छन् :-

राम्रा छन् अति नै पहाड घर ती बिर्सेर बिर्सिन्छ र

पाएँ जन्म जहाँ सुरम्य दिन ती मेटेर मेटिन्छ र ll

म जन्मभूमि बिर्सिँदै कसोरि बाँच्न सक्छु र

छ स्वर्गझैँ हराभरा सदैव देख्छु सुन्दर ll

माली धेरै नियत घटिया शून्य सारा बगैँचा

वैलाएका कुसुम घरमा किम्मती छन् गलैँचा

हाम्रो भन्ने छ र अब कहाँ दिव्य अधार सार

स्वाहा पारे हरतरहले चित्त कालो अँगार ll

म सौर्य तेजझैँ बनी भरेर जोस होसमा

म धीर वीर शान्त भै गरूँ सुकार्य देशमा

छोटो छ चोला क्षणमै सकिन्छ

के के छ इच्छा अधुरै रहन्छ

सोचेर हामी नगरौँ अबेर

जे गर्न सक्नेछ परोपकार ll

“विदेशी कमारोमा” यसो भन्नुहुन्छ :-

सधैँ जिन्दगीमा हतारै हतारो

बिहानी दिवामा चटारै चटारो

अंशबन्डामा यसो भन्नुहुन्छ  :-

नमिलेपछि भो सँगमा नबसौँ

दिलमा कटुता र छुरा नधसौँ ll

“कृपा गर प्रभु” मा भन्नुहुन्छ  :-

नगर तिमी अपमान भक्तको

हर ल दु:ख सबै मनुष्यको ll

झ्याउरेमा आफ्नो भावना यसरी पोख्नुहुन्छ  :-

नमीठो खाउँ नराम्रो लाऊँ कसैले भन्दैनन्

रवाफ धाक सबको ठूलो पटक्कै गन्दैनन्

संसारिक चक्रमा यसो भन्नुहुन्छ :-

दिन छ रात छ जीवनचक्र छ

मन छ आस छ हर्षउमङ्ग छ ll

जे जे मिल्छ मा आफ्नो भावना यसरी पोख्नुहुन्छ :-

मन छ दु:खमा शान्ति मिल्छ र

तन छ लोभमा हर्ष बढ्छ र ll

त्यसो त कवयित्री रश्मि बहिनीका सबै कविताहरू जीवन र जगत्‌सँग सम्बन्धित समसामयिक,यथार्थ, युगानुकूल, मर्मस्पर्शी तथा सन्देशमूलक नै छन् l मानव जीवनका सेरोफेरोमा आधारित सबै कविताहरू पठनीय छन् l यसबाहेक पनि निम्न कविताहरू अझ परिष्कृत र अविस्मरणीय ठानेको छु l

आमा,

प्रेमधारा छरियोस्,

आशाको दियो,

कविता तिमी,

बन्छ कि औषधि,

मिल्छ कि मणि ,

स्वर्ग र नर्क

तथा हामी अझै जागौँ l

आफ्नो सम्पूर्ण समय प्रवासका पीडाहरूमा बिताइरहेको व्यक्तिलाई आफ्ना कृति प्रकाशित गर्न त्यति सजिलो कहाँ छ र ? समय,परिस्थिति सबै कुराहरू एकैसाथ अनुकूल हुँदैन बल्ल-बल्ल अलिकति समय निकालेर हतार-हतार कृति प्रकाशनतिर लाग्दा यताउता केही कमी कमजोरीहरू हुन पुग्नु अस्वाभाविक होइन l त्यस्ता किसिमका नगण्य त्रुटिहरू यस कृतिभित्र पनि नदेखिएका होइनन् l यस्ता कुराहरू आगामी दिनमा पक्कै परिष्कृत भएर जानेछन् l

अनवरत लगनशील भएर छन्दोबद्ध रचना तयार गर्नु प्रमुख कुरा हो l कृति निकाल्न सफल हुनुभएकोमा कवयित्री रश्मि भट्टलाई मुक्तकण्ठले प्रशंसा गर्दै हार्दिक बधाई ज्ञापन गर्दछु । नेपाली साहित्य साधनामा उहाँको अतुलनीय योगदान रहने कुरामा विश्वस्त हुँदै उत्तरोत्तर प्रगतिको कामना गर्दछु l

तिम्रो काव्य मिजासिलो महकिलो सानन्दको सागर

आद्योपान्त पढेँ मिल्यो मधुरता सद्भावना सादर

रच्दै रोज रमेर रश्मि रसले मुस्काउनू हर्दम

आशीर्वाद सधैँ सफा हृदयको साफल्य होस् जीवन ll