जीवनको प्रत्येक क्षेत्रमा इतिहासको महत्त्व धेरै रहन्छ। प्राचीन भारतको इतिहास मौलिक तत्त्व एवम् सिद्धान्तहरूको इतिहास हो, न कि भौतिक घटनाहरूको । भारतीय इतिहासको खोज गरी पुस्तकहरू लेख्ने युरोपीय विदेशी यात्रीहरूको बारेमा हामी अवश्यै जान्दछौ। तर भारतको खोज गरी हिँड्नेको आडमा उनीहरूले हाम्रा गौरवमय इतिहासलाई दकियानुसी तथा रुढीवादी भन्दै विकृतरुपमा उपस्थापन गरे । सर्वश्रेष्ठ शाश्वत् सनातनी तत्त्वज्ञान दर्शन परम्पराका महानतम् अस्तित्वको सर्वबृहद् इतिहासलाई तथाकथित यी व्यापारी इतिहासकारहरूले सत्य तथा निरपेक्ष ढङ्गले नराखेर प्रारम्भदेखि नै हाम्रो सांस्कृतिक ऐतिहासिक इतिहासको उपस्थापन विकृत तरिकाले फैलाए। उनीहरूले मन मर्जीले खुब चखिलो कहानी बनाएर अनि पछि यो जम्मै हामीमाथि नै थोपे। तर सत्यको सधै जय हुन्छ। अक्षर अक्षर अमिट सनातनी ज्ञान-विज्ञानको छाप छोड्ने भारतीय इतिहास केवल सत्यमाथि नै आधारित हुने अब समय हाम्राअघि आइपुगेको छ। इतिहास अतीतका घटनाहरूको क्रमबद्ध अध्ययन हो, जसले व्यक्तिलाई अतीतबाट लिएर वर्तमानसम्मका घटना तथा सत्यको खोजी गर्न प्रेरित गर्दछ । इतिहास लेखन एउटा कला पनि हो, जसले अतीतबाट वर्तमानसम्म भएको विकास दर्शाउँछ। यो एउटा विज्ञान पनि हो । अतीतका तथ्यहरूलाई हाम्रा सम्मुखमा राख्दछन् र ती तथ्यहरूमाथि चिन्तन गर्ने बल दिन्छ। प्राचीन भारतको इतिहासको आधारभूत सिद्धान्तहरूको अध्ययनका लागि पर्याप्त सामग्री छन्, जस्तै- वैदिक साहित्य, महाकाव्य, पुराण, प्रकाशित अथवा अप्रकाशित ग्रन्थ, अभिलेख, मुद्रा इत्यादि। यसले स्पष्ट हुन्छ कि हाम्रा पूर्वजहरू इतिहासप्रति उदासीन थिएनन्।
प्राचीन भारतीय इतिहास लेखनका मूल परम्पराको बारे केही जानकारी-
वंश परम्परा : वंश परम्पराको भारतीय इतिहास लेखन परम्परामा एउटा विशिष्ट स्थान छ। पुराणमा प्राचीन वंशहरूको ठुलो संग्रह पाइन्छ। वेदमा पनि आचार्यहरूको वंशको सूची प्राप्त छ। वराह पुराणमा मनुको वंशावली उल्लेख छ भने त्यहीँ नै भरतको वंशावली पनि छ। भरतको नामबाट नै यो यसको नाम भारतवर्ष भएको हो। भरतको वंश परम्परामा सुमति, तेज, सत्सुत, इन्द्रद्युम्न, परमेष्ठी, प्रतिहर्ता, निखाल, उन्नेता, अभाव, उध्दाता, प्रस्तोतो, विभु, पृथु, अनन्त, गय, नय, विराट, महावीर्य, सुधिमान आदि क्रमश: भए। यी सन्तानहरूबाट नै यो सम्पूर्ण वर्ष परिपूर्ण छ।
श्री ब्रह्माण्ड पुराणमा पुरूरवा, ऐल, ययाति, अनिमित्र आदि चक्रवर्ती राजाहरूको वंशावली प्राप्त छ। सूर्यवंशको अन्तर्गत पुरूवंशको वंशावली मत्स्य पुराणमा पाइन्छ। महाभारतकालका शासकहरूको वंशावली, मौर्य शासकहरूको, शुंग शासकहरूको वंशावली पनि मत्स्य पुराणमा प्राप्त हुन्छ। महापुराणबाट मरीचि, अत्रि, अंगिरा, पुलस्त्य, पुलह, ऋतु एवम् वशिष्ठ आचार्यहरूको वंशावलीको विषयमा उल्लेख छ। मार्कण्डेय पुराणमा अजि, वशिष्ठ, कश्यप, गौतम, भारद्वाज, कुशिक, सुत -विश्वामित्र आदिको वंशको जानकारी प्राप्त हुन्छ । ब्रह्म पुराणमा आचार्य अरिष्टनेमी, महर्षि कश्यपको पनि वंशावली पाइन्छ।
उता ब्रह्मवैवर्त पुराणको ब्रह्मखण्डले गोत्र सम्बन्धि जानकारी उपलब्ध गराउँछ। गोत्र परम्पराको माध्यमबाट नै वंशावली सजिएको हो र आज पनि भारतीय समाजमा गोत्र परम्पराको एउटा विशिष्ट स्थान छ।
ऐतिहासिक रचनाहरू जो कि छरपट्ट भएर यता उता भएका थिए, तिनीहरूलाई संग्रहीत गरेर व्यवस्थित रूपमा राखेर “वशंनुचरित” रूपमा विकसित गराएको हो। यसप्रकार वंश परम्परामा इतिहास लेखन वेद , पुराण एवम् प्राचीन लेखहरूमा गरेको थियो। यसै गरी बौद्ध साहित्य एवम् जैन साहित्यको लेखनमा पनि वंश परम्परा पाइन्छ। हरिवंश पुराण रचनाको आधार पनि यही हो। समयको साथै वंश परम्पराको लेखन दरवारमा सुरु हुन थाल्छ। बिस्तारै बिस्तारै राजकीय दरवारमा कार्यालय तथा सचिवालयहरूको विकास हुन्छ। राजकीय अभिलेखागारहरूको स्थापना हुन्छन्, जस्को स्थापना सम्भवतः मौर्य काल नै मानिएको छ। कौटिल्यले आफ्नो ग्रन्थ अर्थशास्त्रको दस अध्यायमा यसरी लेखेका छन् –
जाति कुलं स्थानवय: श्रुतानि
कर्म द्विषीलान्यथ देश कालो ।
यौनानुबंधं च समीक्ष्य कार्ये
लेखक विदध्यात्पुरूषानुरूपम् ।।
अर्थात् प्रत्येक राजकार्य सम्बन्धि लेखपत्रमा जाति, कुल, स्थान (अधिकार स्थान) आयु, विद्वत्ता (शास्त्र ज्ञान) कार्य, धर्म, सम्पत्ति, सदाचार, देश (निवास स्थान), काल, विवाह, सम्बन्ध (विवाह आदि सम्बन्ध कुन वंशसँग हुनुपर्छ इत्यादि) आदि कुराहरू अवश्यै राम्रोरि सोचेर लेख्नु पर्छ।
समयको साथ अभिलेखालयका दस्तावेजहरू मास्सिए (ध्वंस) भए, परन्तु पत्थर एवम् ताम्रपत्रमा लेखिएका संस्करण आज पनि मौजुद छन्, जस्ले समसामयिक लेखनको पुष्टि गर्दछ।
सूत परम्परा : मनुस्मृतिको अनुसार सूत क्षत्रीय पिता र ब्राह्मण माताबाट उत्पन्न सन्तान थिए। पुराणमा सूतको व्याख्या विद्वानको रूपमा छ। सूत जातिबोधक शब्द हो। यिनी सुतहरूले राजा, ऋषि तथा पुरोहितहरूको वंशावली रचना गरेका थिए। जुन कार्य आचार्यहरूले प्रारम्भ गरेका थिए त्यस्लाई सूतहरूले अघि बढाए अनि आफू इतिहास लेखनसँग जोडिँदै गए। परन्तु समय बित्तै गएपछि वंशावली निर्माणजस्तो महत्त्वपूर्ण कार्यका लागि राजदरबारमा एक अलग्गै विभागको स्थापन हुन्छ, त्यसपछि सूतहरूले इतिहास निर्माण कार्य छोड्नु पर्ने अवस्था हुन्छ जसले गर्दा क्रमशः यिनीहरूको महत्त्व ऐतिहासिक रूपमा घट्न थाल्छ।
पौराणिक परम्परा : भारतमा इतिहास लेखनको परम्परा प्रत्येक युगदेखि नै चलिआएको छ। ऋग्वेदमा इतिहासको उल्लेख गरिएको छ। महर्षि यास्कका अनुसार वेदमा भारतीय इतिहासको तत्त्व अन्तर्निहित छ। उनले आफ्नो निरूक्तमा वेद मन्त्रको विशदीकरणका लागि ब्राह्मणग्रन्थ तथा प्राचीन आचार्यहरूको कथालाई ‘इतिहास समाचक्षते’ भनेर उद्धृत गरेका छन्। भारतीय साहित्यमा पुराण र इतिहासलाई वेदको समानान्तर मानिन्छ। यास्कको भनाइमा ऋक् संहितामा इतिहास – निरूपक तथ्य युक्तमन्त्र उपलब्ध छ। जस्तै –
त्रितंकूपेSवहितमेतत् सूक्त प्रतिबभौ।।
तत्र ब्रह्मोतिहास — मिश्रम्।
ऋSमिश्रं, गाथामिश्रं भवति।
( निरुक्त 4/1/6)
वेदलाई इतिहास भनेर निरूक्तकारहरूले मान्ने आग्रह निराधार छैन। निरूक्तकारहरूको आग्रहलाई अझै स्पष्ट पार्दै अर्वाचीन विद्वानहरूले लेखेका छन् कि वैदिक साहित्यमा जुन सिद्धान्तहरूको वर्णन छ, त्यसैको व्यवहारिक रूप रामायण तथा महाभारतमा पाइन्छ। वैदिक धर्मको अनेकौँ अज्ञात तथ्यहरू जान्नका निम्ति रामायण तथा महाभारतले हाम्रा लागि प्रकाशस्तम्भको जस्तो भूमिका पालन गरिरहेको छ। यी दुइटा हाम्रा ऐतिहासिक ग्रन्थ हुन्।
अर्को एउटा महत्त्वपूर्ण ग्रन्थ छ पुराण। यसमा पाँचवटा कुरालाई विचार गरेर स्वीकार गरिएको छ, जस्तै– सर्ग, प्रतिसर्ग, वंश, मन्वन्त राशि एवम् वंशानुचरित पुराण मनुष्यका इतिहासलाई सार्वभौमिक इतिहासको सन्दर्भमा राख्दछन् र मान्दछन्। पुराणलाई त भारतीय संस्कृतिको मेरुदण्डको रूपमा मानिएको छ। ऋग्वेदमा पुराण शब्दको धेरै ठाउँमा उल्लेख छ। यास्कले पुराणलाई ‘पुरानवं भवति’ अर्थात् जो प्राचीन भएर पनि नयाँ हो भनेका छन्। इतिहास र पुराण एउटा अर्काको पर्यायवाची मानिएको देखिएको छ। परन्तु प्राय आफ्नो देशका तथाकथित दिग्गज विद्वानहरूले पुराणको अर्थ अंग्रेजीको माइथोलाजी (Mythology) हो भनेर स्वीकार गरेको पाइन्छ। ‘माइथोलाजी’ शब्द ‘मिथ’ बाट आएको र ‘मिथ’ को अर्थ ‘मिथ्या’, अर्थात् जस्को केही अस्तित्व छैन। यस प्रकार समस्त पौराणिक साहित्यलाई ‘माइथोलाजी’ अर्थात् ‘मिथ्या’ अर्थात् काल्पनिक भनेर घोषणा गरेर प्राचीन इतिहासलाई हावामा उडाए जसरी उडाइदिए। परन्तु हाम्रो मान्यता अनुसार पुराण हाम्रो इतिहास हो। यो कुरो सत्य हो कि यो काव्य पनि हो। काव्यमा कल्पनाको समावेश अवश्य हुन्छ, परन्तु हाम्रो पौराणिक काव्य इतिहासाश्रित हो, यसमा काव्यात्मक कल्पनाको मिश्रण भएको छैन। पौराणिक साहित्यमा ठाउँ ठाउँमा इतिहासलाई पुराणसँग सम्बद्ध गरिएको छ —
इतिहासपुरार्णस्तु निश्चोयोऽयंकृत: पुरा।
इतिहासपुराणानि श्रुत्वा भक्त्या द्विजोत्तमा: ।
इतिहासपुराणाभ्यां न त्वन्यत् पावनं नृणाम्।
इतिहासपुराणानि श्रुत्वा भक्त्या विशेषत:।
इतिहासपुराणानि पंचमं वेदमीश्वर:।
केवल पुराणमा मात्रै होइन अपितु वेद, ब्राह्मण, उपनिषद्, दर्शन र महाभारतमा पनि इतिहासलाई पुराण तथा पुराणलाई इतिहास भनिएको छ। यति मात्रै होइन, भविष्य पुराणको एक ठाउँमा त अष्टादश महापुराण इतिहास हो भनेको छ — ‘ अष्टादश पुराणानि सेतिहासानि भारत ‘।
चरित परम्परा : चरित लेखन परम्पराबाट हामीलाई धेरै ऐतिहासिक तथ्यहरूबारे जानकारी प्राप्त हुन्छ। इतिहास लेखनमा चरित परम्परा पुरातन हो, यसको धेरै उदाहरण छन्– रामचरित मानस, वाल्मीकि रामायण, बुद्ध चरित, महावीर चरित, हर्षचरित, वाक्पतिको “गौडवाहो” विल्हणको विक्रमाङ्क देव चरित इत्यादि। वाल्मीकि रामायणमा रामको सन्दर्भमा लेखिएको छ —
धर्मवान् सत्यसंघश्र शीलवाननसूयक:।
क्षान्त: शान्त्वयिता श्लक्ष्ण: कृतजो निजितेन्द्रिय:।।
मृदुश्रव स्थिरचित्तश्रव सदा भत्योऽनसूयक:।
प्रियवादी च भूतानां सत्यवादी च राघव:।।
श्रीराम धर्मज्ञ, सत्यप्रिय, शीलवान्, अदोषदर्शी (अरूको दोष नदेख्ने), शान्त, दीन – दुखीलाई सान्त्वना प्रदान गर्ने, मृदुभाषी, कृतज्ञ, जितेन्द्रिय, कोमल स्वभावका, स्थिर बुद्धि सदाकल्याणकारी, असूयारहित, समस्त प्राणीसँग मिठो वचन बोल्ने सत्यवादी हुन्।
रामचरित मानसमा गोस्वामी तुलसीदासजी ले प्रभु श्रीरामका पिता महाराज दशरथको उदान्त चरित्रको वर्णन गरेका छन्। अनेकौँ चरित ग्रन्थहरूमा चरित शब्द प्रयुक्त छैन , तिनीहरूलाई परम्पराको अन्तगर्त राखेका छन्। जस्तै — मालविकाग्निमित्रम, भासका स्वप्नवासवदत्तम् इत्यादि ।
बौद्ध एवम् जैन परम्परा: बौद्ध धर्मका त्रिपिटक सुत्तपिटक , विनयपिटक , अभिधम्मपिटकहरूले बौद्ध धर्मको सङ्घ सिद्धान्त, सङ्गठन तथा जीवनको बारे जानकारी प्रदान गर्दछ । यो जनभाषामा छ। यसलाई पूर्ण रूपमा ऐतिहासिक ग्रन्थ त भन्न सकिँदैन तर इतिहासको विभिन्न पक्षको जानकारी यो बाट अवश्यै प्राप्त छ। यसको अलावा महावंश , दीपवंशलाई राम्रो ऐतिहासिक लेख माना जान्छ। बौद्ध ग्रन्थहरूमा मगध, अवन्ती, वत्सआदि राज्यहरूको जानकारी पाइन्छ। बुद्धका वचनको वर्गीकरण विभिन्न अङ्गमा गरेको छ। यिनीहरूलाई सुत अथवा बुद्धको उपदेश भनेर जानिन्छ। बुद्धको उपदेशको साथै समकालीन (छठौँ, पाँचौँ शती ई.पू.) समाज, अर्थ कला, विज्ञान तथा लोक जीवनलाई विभिन्न सूतमा व्यक्त गरेका छन्। बौद्ध परम्परामा पालिको वंश साहित्यले पनि पुराणको समान बिशेषगरी राजाहरूको वंशावलीको वर्णन गरेको छ। यिनी पालिवंश ग्रन्थमा बौद्ध धर्मको इतिहास बारे वर्णन छ। विद्वानहरूले पालिवंश साहित्यका मुख्य वंशग्रन्थका सङ्ख्या १५ औटा मानेका छन् । यथा — दीपवंश, महावंश, चूलवंश, बुद्धघोष पति, सदधम्म सङ्ग्रह, महाबोधि वंश, धूपवंश , अनन्त गलु विहार वंश, डाठा वंश, छंकेस धातु वंश, नल्लाठ धातु वंश, सेदह कथा, ग्रन्थ वंश, शासन वंश तथा सङ्गीति वंश। यिनीहरूमा दीपवंश र महावंश ऐतिहासिक दृष्टिकोणबढ विशेष रूपले उल्लेखनीय हुन्। संस्कृत भाषामा लेखिएको बौद्ध साहित्यले पनि आफ्नो गर्भमा धेरै जसो ऐतिहासिक तथ्यहरू समेटेर राखेको छ, जस्ले गर्दा बौद्ध इतिहास लेखनको प्रवृत्तिलाई चिन्न सकिन्छ। प्रथम र तृतीय शती ई. सम्मको अवधिमा संस्कृतमा लेखिएका बौद्ध साहित्य यस प्रकार छन् — अवदान शतक , करूणा पुण्डरीक, दिव्यावदान, बुद्धचरित, महावस्तु, ललित विस्तर, वज्रसूची, वज्रच्छेदिका, वज्रसूची उपनिषद्, सन्दर्भ पुण्डरी, सुखावती व्यूह , सौनदरानन्द इत्यादि। यी बौद्ध ग्रन्थहरूले प्राचीन भारतको सामाजिक, राजनैतिक, आर्थिक, धार्मिक एवम् सांस्कृतिक स्वरुपलाई निक्कै प्रकाशमा ल्याउछन्। महावस्तु तथा दिव्यावदानमा इतिहासलाई पाँच नम्बरको वेद भनिएको छ।
इतिहास लेखनको दृष्टिबढ हेर्दा जैन इतिहास लेखन बौद्धहरूको पछि सुरु हुन्छ। अर्धमागधी जैन आगम — आचराङ्ग, सूत कृताङ्ग, स्थर नाग, समवायाग, भगवती व्याख्या प्रज्ञप्ति, ज्ञात धर्म कथा, उपासका अध्ययन, अन्तकृत दशा आदिमा अनेक ऐतिहासिक तथ्य पाइन्छन्। जैन उपाङ्गका सङ्ख्या १२ मानिएको छ। यसमा राजा, रानी, नगरहरूको बारेमा उल्लेख छ। दोस्रो उपाङ्गमा कौशलको प्रसेनजित, आठौँ उपाङ्गमा कुणिक, अजातशत्रु , विम्बसारको बन्दीगृहमा हालेको तथा कुणिक तथा वैशालीको चेटकसँग युद्ध आदिको वर्णन पाइन्छ। यिनी वर्णनहरूबाट मगधको प्राचीन इतिहासमाथि निक्कै जानकारी प्राप्त हुन्छ। चूलिका सूत्रमा महावीर वा अनको सङ्घवर्ती भ्रमणका कुराहरूको उल्लेख पाइन्छ। ब्राह्मण धर्मी १८ पुराणको जस्तै जैन धर्ममा २४ वटा पुराण पाइन्छन्। संस्कृत भाषामा लेखिएको जैन पुराणका आधार ब्राह्मण पुराणको इतिहास पुराणका आख्यान र वाल्मीकि रामायण हो। यसमा महावीर चरित पुरानो हो जो आचरण र काव्यसूत्रमा पाइन्छ। हेमचन्द्रले लेखेका कुमार पाल चरितले ऐतिहासिक घटनाहरूलाई उजागर गरेको छ। त्यसरी नै भद्रबाहु चरितबाट चन्द्रगुप्त मौर्यको राजत्व कालका घटनाहरूका बारेमा उल्लेख पाइन्छ ।
पुरातात्वबाट जानकारी पाइएको अनुसार विभिन्न पुरास्थलहरूको उत्खनन पछि प्राप्त भएका मृदभाङ्ग (माटाका भाँडाकुडा, pottery) ‘कालविशेष’ माथि जानकारी पाइन्छ । जस्तो- मोहनजोदडो, हडप्पा, कालीबंगा , रोपड आदि अनेकानेक स्थानमा प्राप्त भएका मृदभाङ्गले प्रागैतिहासिक युगको समाज, धर्म तथा कला पक्षलाई उद्घाटित गर्दछ। यसप्रकार सारनाथ, नालंदा, राजगृह, कौशाम्बी, हस्तिनापुर, अहिच्छेत्र आदि स्थानहरुमा उत्खनन ‘मृदभाङ्ग’ ले विभिन्न ऐतिहासिक युगको गतिविधिलाई प्रकाशित गर्दछ। दक्षिण भारतको कतिपय उत्खनित पुरास्थल जस्तै अरिकामेडु , ब्रह्मगिरि, मास्को, पिकलीहल आदिबढ पनि नवपाषाणिक संस्कृतिबारे जान्न पाइन्छ ।
यसै क्रममा प्राचीन इतिहास लेखनका कतिपय प्रमुख इतिहासकारहरूको बारेमा उल्लेख गर्नु खोज्दछु। श्रीधरणको मूल ग्रन्थ र सलुजा मनजीतले अनुवाद गरेका (पृ. २८८ ) एस्तो इतिहास लेख जो प्रथम भारतीय कृति हो जस्लाई ऐतिहासिक भनेर मान्न सकिन्छ भन्दछन्। सप्तम शताब्दीमा लेखिएको यो कृति थानेश्वर तथा कनौजका शासक हर्षवर्धनको बाणभट्टद्वारा लेखिएको अधुरो जीवनी हो। यो आठ अध्यायमा बाँटिएको छ। प्रथमतः परिवार, द्वितीयमा हर्ष, तृतीयमा थानेश्वर, अरू पाँच अध्यायमा परिवार तथा राज्यको महत्त्वपूर्ण घटनाक्रमको वर्णन गरेको छ । त्यसरी नै वाकपतिको गौड़वहो कृतिको रचना आठौँ शताब्दीको द्वितीय चतुर्थांशमा गरेको थियो। यो रचना लेखकका संरक्षक कन्नौजका राजा यशोवर्मन द्वारा गौड़ राज्यको एकजना शासकमाथि विजय तथा त्यस्को हत्याको विषयमाथि केन्द्रित छ।
विल्हनको विक्रमांक देव चरित नामक ऐतिहासिक महाकाव्यको रचना अठारौँ सर्गमा( भाग) मा छन् ।
जयानकद्वारा लेखिएको पृथ्वीराज विजय नामक ऐतिहासिक काव्यग्रन्थमा तराइनको प्रथम युद्धमा मुहम्मद घोरीमाथि पृथ्वी राज चौहानको विजयको (११९१ ई.) वर्णन छ। द्वितीय युद्धमा (११९२ ई.) पृथ्वीराजको भयंकर पराजय भएको थियो। पृथ्वीराजको वंशावलीको वर्णनपनि यस ग्रन्थमा पाइन्छ। चरित्रनायक पृथ्वीराजको सूर्यवंशी रामसँग सम्बन्ध भएको एउटा अवधारणा यो ग्रन्थबाट पाइन्छ ।
कल्हनको राजतरङ्गिणी ( राजाहरूका नदी) अथवा अंग्रेजीमा (रिवर आफ किंग्स) आठ हजार छन्दबद्धको एउटा लामो वृतांत हो, जो आठ सर्गमा (तरङ्गमा) विभक्त छ। राजतंरङ्गिणीलाई साधारणत: तीन अध्यायमा विभाजन गरेको छ। तृतीय भागमा कल्हनले कश्मीरका राजाहरूको सम्बन्धी विवरण अधिक तथ्यपूर्ण एवम् प्रमाणिक तरिकाले गरेका छन्। यो पुस्तकको अनुसार कश्मीरको नाम ‘कश्यपमेरु’ थियो जो ब्रह्माका पुत्र ऋषि मरिचिका पुत्र थिएँ। कल्हनको राजतरङ्गिणीमा कश्मीरको इतिहासबारे वर्णन छ जो कि महाभारतको समय देखि सुरु हुन्छ। कल्हनको यो रचना अनुमानिक ११४८-११५० को मध्येको हो भन्ने अनुमान छ। राजतरङ्गिणी अहिलेसम्म उपलब्ध भएको एउटा यस्तो संस्कृतको रचना हो, जस्लाई इतिहास मान्न सकिन्छ। यसका लेखक कल्हन, कश्मीरका राजा हर्ष ( १०८९ – ११०१) का मन्त्री चम्पकका छोरा थिए।
यसप्रकार यदि हामीले क्रमबद्ध तथा सूक्ष्म तरिकाले विभिन्न समयमा प्राप्त भएका अभिलेख, पुस्तक, पुराण, उपनिषद्, ग्रन्थ, साहित्य तथा सिक्काहरूको अध्ययन गर्छौँ, त्यसोभए निश्चय नै हामी इतिहासको गहिराई तथा यससँग जोडिएका प्रचुर ज्ञानात्मक कुराहरू राम्रोसँग बुझ्न सक्षम हुन्छौँ ।
सन्दर्भ ग्रन्थ
१ . प्राचीन भारत का राजनीतिक एवं सास्कृतिक इतिहास: राधाकृष्ण चौधरी, तारा प्रेस, प्रथम संस्करण 1967 . पृ0 11
२. इतिहास लेखन की अवधारणा एवं आधुनिक विचारधारायें : माधुर एवं त्रिपाठी, पृ0 114
३. श्री मद् वाल्मीकीय रामायणे , अयोध्या कान्डे द्वितीय सर्ग।
४. ई श्री धरण, इतिहास लेख ।
५. ई श्री धरण, अनुवाद सलुजा मनजीत, इतिहास लेख : पृष्ठ 228 .
६.राजतरंगिणी और काश्मीर नरेश प्रस्तावना ; डा° उमेश कुमार मिश्र; पब्लिसर – हिदुंस्थानी अकादमी इलाहाबाद ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।