दिलमान राई ‘चोट’ भारतीय नेपाली साहित्यमा, सुनिरहेको नाम हो । कवितामा, गीतमा पढिरहनु पर्ने, खोजी-खोजी पढ्नु पर्ने नामहरूमा दिलमान राई ‘चोट’ पनि एक जना हुनुहुन्छ । भारत सरकारको केन्द्रीय जल आयोगमा नियुक्ति पाई जन्मथालोदेखि टाढा रहेर बाध्यतासित बाँच्न पर्ने समय छ । जन्मथलोलाई माया गरेर कविता र गीत सृजना गर्नु हुन्छ । फेसबुकमा मिठा-मिठा कविताहरू, गीतहरू पढ्न पाइरहेछौँ । केन्द्रीय जल आयोग, भारत सरकार, पोचमपाद, (निजामाबाद आन्ध्र प्रदेश) मा रहँदा प्रकाशित कवितासङ्ग्रह यतिबेला हातमा परेको छ ।

कविता सृजना गर्ने कवि व्यक्तित्वलाई मलजल थपिदिने वरिष्ठ साहित्यकार पदम छेत्री, हेम जोशी, केदार गुरुङ, सुवास दीपक, दिलबहादुर नेवार, बैरागी साइँला/माइला, जीवन राणा, अनि दुर्गाप्रसाद श्रेष्टलाई आत्मीय अग्रज मान्छन् । उहाँको कविता सृजनालाई पत्रपत्रिकामा प्रकाशित गरी प्रेरणा र हौसला दिनुहुने ती साहित्यकारहरू दिलमान राई ‘चोट’को साहित्यिक उत्प्रेरक हुन् । जसको प्रतिक्रियामा उत्पादन भएको ‘कसैको प्रतीक्षामा’लाई लिन सकिन्छ ।

सहकारी समीक्षा, स्रष्टा, हाम्रो ध्वनि, बिन्दु, मधुपर्क, डुवर्स सम्वाद, हिमगिरि, शिखर,त्रिवेणी, दियालो, सञ्जीवनी,क्षितिज, हिमालचुली, सयपत्री थुँगा आदि पत्रपत्रिकामा निरन्तर कविता प्रकाशित भइरहेका छन् । दैनिक समाचार पत्र, साहित्यिक तथा ई-पत्रिकातिर आज पनि कविता र गीतहरू प्रकाशित छन् ।

‘बेला-बेलामा बटुलिएका शब्दहरू कविता भएका छन् ।’ हुन त शब्दले नै कविता बनिए तापनि शब्द-शब्दमा कविताको उपस्थित पाउनु भनेकै सफल कविताको लक्षण हो । ‘कविता’ सर्जकले शब्द खेलाउँछन्, शब्दलाई नचाउँछन्, शब्दलाई बोल्न लगाउँछन् साथै शब्दलाई नै आफ्नो अनुभूति बोल्न लगाउँछन् । यस्तै शब्दमा कविता शब्दलाई कवितै-कविता बनाउने कवि हुन् दिलमान राई ‘चोट’ ।

कवि दिलमान राई ‘चोट’को पहिलो कविता कृति “कसैको प्रतीक्षामा” नै हो ।जसलाई विकल राई, गीतान्जलि प्रकाशनद्वारा प्रकाशित गर्नुभएको छ । सन् २००४ मा प्रकाशित भएको डा. जीवन नामदुङ्गले ‘उभेर कसैको प्रतीक्षामा’ दिलमान राई ‘चोट’काे शीर्षक कविता कृतिमाथि गहन छोटो र मोटो भूमिकाले कवितासङ्ग्रहभित्रका कवितालाई ग्रहण गर्न सहज बनाएको छ । ‘कसैको प्रतीक्षामा’लाई बुझ्न यस कृतिको साङ्गोपाङ्गो हेर्न सजिलो चश्माको काम डा. जीवन नामदुङ्गको भूमिकाबाट हामीलाई प्राप्त छ ।

भूमिकामा डा. जीवन नामदुङ्ग लेख्छन्, “कञ्चनजङ्गाको दृष्यावलोकन गर्दै दार्जीलिङ्गीय चियाको चुस्की लिँदै आँगनमा बिहानीको घाम तापेर कविता गर्ने एकथरीका भाग्यमानी कविहरू हमीसित छन्, उनीहरूका सुन्दर कवितासङ्ग्रहका पुस्तकहरू पनि हाम्रा अध्ययन कक्षमा शोभा भएका छन् । यस्ता कविहरूको जीवन नै कवितामय छन्, यस्ताहरूले कवितै नलेखे पनि ती कविता बन्न सक्लान् अथवा कविताको नजिक नजिक आउन सक्लान् । कल्चूँडाको प्रभाती गीतले ब्यूँझने कवि र गाडीको हर्न, रेलको सिटीले ब्यूँझन पर्ने कवि समूहअन्तर्गत दोस्रो समूहका कवि हुन् दिलमान राई ‘चोट’ ।”

समसामयिक भारतीय नेपाली कवितामा देखा परेको धारा प्रवृति र शैलीलाई आफ्ना कतिपय कविताहरूमा प्रतिबिम्बित गर्न कवि चुकेका छैनन् ।

यस सङ्ग्रहभित्र लामा छोटा गरी ४५ वटा कविताहरू समावेश छन् । यी कविताहरू सन् १९८० देखि ९० कै दशकभित्र  लेखिएका रहेछन् । ‘सहकारी समीक्षा – शिलाङ, हाम्रो ध्वनि- असम, बिन्दु- असम, मधुपर्क- काठमाडाैँ, डुवर्स संवाद, – जलपाईगुड़ी, शिखर – गान्तोक, स्रष्टा – गेजिङ, दियालो – दार्जीलिङ, विचार- गान्तोक, उदय – काशी, सारङ्गी- मिजोरम, सुमन- असम, हिमगिरि – गान्तोक, हाम्रो ध्वनि- शिलाङ, त्रिवेणी-डुवर्स, दलसिंहपाडा आदि साहित्यिक पत्र-पत्रिकामा अगावै प्रकाशित कविताहरूलाई सङ्ग्रह गरी ‘कसैको प्रतीक्षामा’ एउटा सिङ्गो कृति हुन गएको छ ।

सुकराज दियाली (दार्जीलिङ)

‘कसैको प्रतीक्षामा’भित्रको कविताहरूमा कविको जीवन बँचाइमा भोगेका, स्मृतिपटमा सजीव चित्रहरू उतारेका छन् । मनमा लागेको/मनमा छाएको मूर्त अमूर्त खण्ड अखण्ड समयहरू जसले नजिकबाट कविलाई छोएका छन् । त्यस्ता भाव कविताको केन्द्रीय स्वर हुन् । कोमलताको राश छ । भावितमा उर्वरता रहेको पाइन्छ ।

समाजले दैनिकरूपमा भोगेका विभिन्न अनुहारहरू कवितामा देखिन्छ । कवितामा हिमालको सुगन्ध छ । माटोको बासना र राप छ ।

समाजको जीवनशैली सर्वसमको रूपमा उभिएको हुनुपर्छ । आदर्शभावले तथा मिलनसारको धागोमा बाँधिएर मालारूपी जीवनको ताँत हुनुपर्छ । सबैले जीवनमूल्य बँचाइको अंशबण्डा पाउनु पर्छ । गाउँघरमा घाम लागेको हुनुपर्छ । यस्तै यस्तै सोच-विचारले भिजेका कविताहरू ‘कसैको प्रतीक्षामा’ पाइन्छ ।

भनिन्छ, कविले जुन परिवेशमा, जसरी जीवन बाँच्छ, जीवन भोगाइको अनुभूतिहरू सर्जकको सिर्जनामा पाउनु भनेको उत्तर आधुनिकको एउटा खेस्रा हो भनेर साहित्यविद्ले स्वीकारेका छन् । यसर्थ हेर्नु पर्दा कवि दिलमान राई ‘चोट’को केही कविताहरूमा उत्तर-आधुनिकका झलकहरू पाइन्छन् ।

‘कसैको प्रतीक्षामा’ र मानववाद

आजको युगमा स्वार्थको भीडमा मानव मूल्यहीनता सङ्कोचित भाव लिएर व्यक्तिगत बचाइमा व्यस्त जीवनले उत्पादन गरेको हिंसा/शोषण, हत्याले पीडित यो मानव समाजदेखि कवि विचलित छन् । मानिस लोभ-लालची, रिस-आरिस, डाह-अहम्  जस्ता  तत्त्वले ग्रसित समाजले अमानवीय क्रियाकलापमा ज्यादात्तर झुकाव रहेको दुःखान्त पक्षलाई  कविताले मूलस्वर बनाई पाठक समक्ष पुर्याउन खोजेका छन् । एक-अर्काको खिचतानीमा लडिरह्यौँ भने हामी र हाम्रो बचाइमा एक्लो-एक्लो हुन्छौँ भन्ने डरकाे आभास कविले आफ्नो कवितामा उतारेका छन् ।

समवेदनाको आँगनमा

बिरुवाहरू फूलका

कतै सर्छन् कि ?

(बिरुवा)

 

ठूले त आमाको लाम्टोदेखि

शोषण पिउँदै आएको हुनाले

मोटो र अग्लो छ

बरा ! साने त अनिच्छामा

जन्म्यो मात्र

हुर्क्यो त आफ्नै औँला चुसेर

त्यसैले

यति दुब्लो र होचो छ ।

(हाम्रा ठुले-साने)

भोक र शोकको लहरमा, मान्छे-मान्छेको स्वार्थको भीडमा नाङ्गिनु पर्ने एउटा भोगाइबाट आजसम्म मान्छे टाढा रहन सकेको छैन । नाङ्गो केटो अमानवताको प्रतीकमा कविले लिएका छन् ।

अँध्यारोमा नदेखिने

तन्नेरी कालो तर नाङ्गो  केटो

भोकले र रोगले रुँदै थियो

हो, त्यस दिन जुन दिन 

युवावर्ष घोषित भएथ्यो ।

(केटो र नीमपत्ति:जिन्दगीको चौरस्तामा)

 

हतियारको होड़मा

विनासकारी लीला होइन

मानवताको सुरक्षा दिनु

(अपील)

जीवन सम्झौताको कसीमा कविले आफ्नो भाव यसरी पोख्छन्-

रित्तो झोलीमा

पोहोर दुखेको

दर्दका घाउहरू

पीप झैँ बग्नु बाँकी नै छ ।

जीवन भोग्य वस्तु भएपछि

भोग्नै पर्ला

सुखदुखको कसौटीमा

(वर)

 

बाहिर मन्दिरको होइन

दम्कलको  घण्टा बज्दैछ

मभित्र कोही

खित्का छोडी-छोडी हाँस्दै छ ।

                                     (कोही हाँस्दैछ)

जति गहन र विशाल हुन्छ उति नै शान्त र सद्भावनाले भरिएको हुन्छ । विशाल हृदयका सद्भावना  र आदर्शले भरिएका मानिस अहम् र रिस-रागदेखि टाढा रहेको हुन्छ । महासागरजस्तै शान्त प्रवृतिले पोतिएको हुन्छ भनी कविले आफ्नो कवितामा ‘प्रशान्त महासागर ‘को प्रतीकद्वारा आफ्नो भाव पोखेका छन्।

प्रशान्त महासागर

क्रान्तिको निम्ति कहिले नउर्लोस्

विश्वको महामस्तिष्क

शान्तिको निम्ति सधैँ कुर्लोस् ।    

(शान्तिको उपयोग होइन, पूजा होस्)

केही कविताहरूमा समाजमा आर्थिक शोषणमा पीडित, सामाजिक बचाइमा छेपाइमा पीडित, देशको विभिन्न राजनैतिक व्यवस्थामा चेप्टिएर, देश या राष्ट्रकाे व्यवस्थामा हेलिएर बाँच्नुपरेको जीवनहरूलाई देखेर कविको मनमा विद्रोहको लहर उठ्छ । कवितामा क्रान्तिको चर्को स्वरमा उठान गर्छन्, विरोध गर्छन्।

सानो स्वरमा अभाव नबोलौँ

डाकाहरू हाकाहाकी लुटछन् भने

शोषकहरू तनतनी चुस्छन् भने

आफ्नो जन्मसिद्ध अधिकार

बाघ झैँ गर्जेर लिन सिकौँ ।

(त्यो दिनको कामना)

 

बेवास्ता बारीबाट उठाएर

हत्केलाको तातोमा गुमस्याएर

अपनत्वको धागो बाँधी उडाइदिन्छु

तङ्ग्रिएको  चङ्गा चरी ।    

(मनको एकान्त)

कविमा आफ्नो जीवनका अमूल्य उमेरहरूको मोहप्रति आफ्नो भाव कवितामा व्यक्त गरेका छन् ।

फाल हनेछ फुत्त

चालै नपाई उमेरले यसरी

कठै ! मेरो उमेर।

(उमेर)

 

उमेरको अबीर खेल्न

विविध रङमा फुल्न

 

हिँडदा हिँडदै

जब छाती

च्वास्स चस्किन्छ।

                   (आशङ्का)

‘कसैको प्रतीक्षामा’भित्रका कविताहरूमा तिखर व्यङ्ग्य भेटिन्छ । आजको युगमा देखापरेको सामाजिक विसङ्गतिप्रति, शासनव्यवस्थामाथि शिक्षित युवा-युवतीमा बेरोजगारीले पिरोलिनु परेको अवस्थालाई, स्थितिसित अनुकूलित भई बाँच्न नपाएको तत्त्वप्रति व्यङ्गात्मक अभिव्यक्ति पाइन्छ।

भारतीय नेपाली कविता साहित्यमा ‘कसैको प्रतीक्षामा’ थप कृति हुन्। र कवि दिलमान राई ‘चोट’भित्र कवित्व प्रतिभासँगै गीतकार प्रतिभा पनि रहेको केही गीति कविताले झल्काउँछ।