हिजोआज विज्ञान र प्रविधिको युग भन्छन् । त्यसैले होला सायद धेरै कुरामा विज्ञान र प्रविधिले मानिसलाई सजिलो बनाइदिएको छ । घरमा बसीबसी संसारको खबर थाहा पाउन सकिन्छ । पढनेलाई खोजी खोजी अनेक कुरा पढ्न सकिने । मायाँ गाँस्ने अनि मायाँ गराउनेलाई त झन् सजिलो । यसकै माध्यमबाट बढाबुढी लडाउने, आमाबाबालाई रुवाउने आदि कार्य भएको प्रत्यक्ष र अप्रत्यक्ष रूपमा भएको देख्न र सुन्न पाउने गर्छौँ । त्यसैले हिजोआज केही मानिसका लागि मोबाइल अत्यावश्यक भए तापनि केहीका लागि फेसन नै बनेको छ ।
चार वर्षअघिको कुरा हो । नौ कक्षा पढ्दा मोबाइलबाट नै जयदीप र जयाको मायाँ गाँसिएको थियो ।
जयालाई जयदीपबिना केही राम्रो लाग्दैन थियो । उनीलाई एकअर्काबिना जीवन नै अधुरो होला भन्ने लाग्न थालेको थियो ।
पढाइ सकेर सँगै जिन्दगी बिताउने वाचा पनि नगरेको दिन हुँदैन थियो । दिनहुँ विद्यालयबाट आउनासाथ कोठा बन्द गरी घण्टौँ बात गर्ने गर्थे ।
घरका सदस्य भने छोरीको पढाइमा ध्यान देखेर ढुक्क पर्ने गर्थे तर जयाको जिन्दगी भुमरीभित्र पसिसकेको कसैलाई थाहा छैन ।
एकदिन जया विद्यालयबाट आएर लुगा फेर्दै हुन्छिन् । जयदीपको फोन आउँछ ।
जया ।
“अँ, भन….न…।”
“के गर्दै छौ, मेरी स्विट हार्ट ॽ”
“म लुगा फेर्दै छु ।”
“आहा ! एकपल्ट भिडियो कल गरेर देखाऊ न ।”
“धत् ! मलाई लाज लाग्दैन कि क्या हो ॽ”
“यतिका दिन भयो हाम्रो पिरती गाँसिएको । ममाथि विश्वास छैन ॽ”
“जयदीप, आज किन यस्तो प्रश्न गरेको ॽ विश्वास अनि मायाँ थिएन भने रातभरि लुकीलु की कुरा गर्छु त ।”
“मलाई विश्वास गर्छ्यौ भने आज साबित गरेर देखाऊ न त ।”
“कसरी देखाऊँ ॽ हनुमान्ले जस्तै छाती चिरेर देखाऊँ कि ॽ विष खाएर देखाऊँ ॽ तिमीबिना त म बाँच्न सक्छु जस्तो पटक्कै लाग्दैन ।”
“कहाँ पुग्यौ तिमी ॽ त्यो सब आजै होइन ल ।”
“त्यति मायाँ अनि विश्वास छ भने बिनालुगाको एउटा फोटो खिचेर पठाऊ न त है ।”
“उफ् ! मबाट हुन सक्दैन । मलाई लाज लाग्छ ।”
“सबै त मेरो हो । अब मसित के को लाज ॽ थपक्क खिचेर पठाऊ, ल प्लिज ।”
“ओहो ! मबाट हुनु सक्दैन भनेको हौ । कसो गरौँ ।”
“म केही जान्दिनँ । थपक्क खिचेर पठाऊ । मलाई त तिमीसित ….।”
“कस्तो हेर्न मन लागेको तिमीलाई । हेर्ने बितिकै डिलिट गर्नू ल । कसैले देखे राम्रो हुन्न ।”
“ओके । गुडगर्ल ।” भन्दै जयदीपले फोन राखे ।
पन्ध्र दिन पछि फोनमा अचम्मको बात सुनेर जयालाई आफैँलाई विश्वास भएन । डरले शरीर काम्न थालेको थियो । रिङ्गाटा चलेर लड्छु जस्तो भयो ।
“म कसरी होटलमा त्यसरी आउन सक्छु ॽ” सम्हालिएर भनिन् ।
“जसरी तिमी सधैँ क्याम्पस जान्छ्यौ, त्यसैगरी आऊ । आधा घण्टापछि गइहाल न त ।”
“म आउन सक्दिनँ कसैले देखे या घरमा थाहा पाए कस्तो हालत हुन्छ, तिमीलाई थाहा छ ॽ”
“जया के हुन्छ र ॽ आउने वर्षमा त हामी बिहे गरिहाल्ने हो । मन मिलेकै छ । आइनौ भने तिम्रो मायाँ झुटो ठान्छु म ।”
“यो सबै बिहे पछि मात्र राम्रो हुन्छ जयदीप । एक वर्ष त छ । प्रतीक्षाको फल मिठो हुन्छ पर्ख न ल ।”
“तिम्रो गनगनले म वाक्क भएँ । आइनौ भने अस्ती तिमीले पठाएको फोटोहरू तिम्रा साथी र घरमा पठाइदिन्छु । आफ्नो इज्जतको ख्याल राख्छौ भने थपक्कै आइहाल नत्र भने ।”
जयाले धेरैपटक फोन लगाइन् तर उठेन । आखिरमा हारिनन् ।
आफ्नै गल्तीलाई छुपाउन डराउँदै जया होटल पुगिन् । जयदीप भने होटेल बुक गरी जयालाई पर्खिएर बसेका थिए ।
“किन ढिलो गरेकी ॽ” जयदीपले भने ।
जयाले जयदीपलाई हेरिन् मात्र, केही भनिनन् । जयदीपको अनुहार सधैँको जस्तो थिएन । जयाले जयदीपमा भयानक राक्षसको जस्तै रूप देख्दै थिइन् ।
“जयदीप, यो के गर्न आँटेको ॽ मलाई राम्रो लाग्दैन के ।”
“जयदीप, बिहेअघि यसो गर्नु ठीक होइन ।”
“मेरो बिन्ती छ । जयदीप छोड ।
“हुन्न जयदीप हुन्न, यो सब पाप हो ।”
जयदीपले कुनै कुरा सुनेनन् । जयाको आँखामा बादल लागेर आयो । मुटु चर्किएको ऐनाजस्तै भयो । हिमनदी जस्तै भइन् जया, जयदीप खहरे खोला ।
जयदीपको बानी बिस्तारै बिग्रिन थाल्यो । कहिले एकान्त ठाउँमा त कहिले होटेलमा बोलाउन थाले ।
जयाले आफ्नो इज्जत बचाउने अरू उपाए देखिनन् । झन् शारीरिक र मानसिक रूपमा आफू बरबाद हुँदै गएको महसुस गरिन् ।
दुई महिनापछि
“जयदीप तिमीसित जरुरी कुरा गर्नु छ ।”
“के छ त्यस्तो भन न जया ।”
“तिमीले तिम्रो बुबालाई कन्यार्थ पठाउँछौँ कि ॽ”
“के को हतार छ अहिले ॽ”
“होइन जरुरी भयो । म भारी ज्यानकी भएकी छु । के गर्नु हतार नगरी । घरमा थाहा पाए भने राम्रो हुन्न होला ।”
“भरे दुई बजे क्याम्पसको पछाडिको जङ्गलमा आऊ । त्यही बसेर सल्लाह गरौँला ।”
“जया यो बच्चा गिराऊ ।”
“यति पाप भइसक्यो । अझै अब अर्को बच्चा गिराएर ॽ नाइँ यसमा म सहमत छुइनँ । बुबालाई कन्यार्थ पठाऊ, नत्र भागेर बिहे गरौँ ।”
धेरै बहस भएपछि जयदीपलाई रिस उठ्यो । मार्ने विचारले घाँटी निचोर्न थाल्यो जयाको । धेरैबेरसम्म दुई जनाको लडाइँ चल्यो । कसोकसो गरी चिच्याएर गुहार भन्न पाइन् जयाले ।
अलिक पर खेतमा धान काट्दै गरेका खेतालाहरूले सुनेछन् । खेतालाहरू दगुर्दै आएको देखेर जयदीप त्यहाँबाट भाग्न सफल भए ।
खेतालाहरू आएर हेरे । जयाको अचेत अवस्था देखे । अस्पताल पुऱ्याए ।
तर डाक्टरहरूको प्रश्नले उनीहरू डराएर । उनीहरूले जयालाई कुन हालतमा भेट्टाएर ल्याएको भन्ने वृतान्त बताए डाक्टरलाई ।
“मेलो छोडेर आएका हौँ हामी । हाम्रो मेलो रहन्छ । हामी जान्छौ ।” डाक्टरलाई भने ।
“दुई जना जति बस्नुहोस् । यो प्रहरी केस नगरी हुन्न । प्रहरी आएपछि जानुहोला ।” डाक्टरले भने ।
एक घण्टापछि जयाले आँखा खोलिन् । आँखा उघार्दा आफ्नो सामु आमा, बाबा, डाक्टर, र केही प्रहरीदेखेर छक्क परेर हेरिरहिन् । जयाको घाँटी समस्या भएर बोल्न गाह्रो भइरहेको थियो । प्रहरीले अनेक प्रश्न गरे जयासित । पाँच वर्षदेखिको वृतान्त सबै सुनेपछि जयदीपको खोजीमा प्रहरीहरू निस्के ।
जयदीपलाई प्रहरीले समाएर थाना ल्याए । उसका आमाबुबा जयालाई भेट्न अस्पताल गए ।
“नानी हामीलाई तिम्रो विषयमा केही थाहा थिएन । हामीसँग सल्लाह गरेको भए मागेर नै बिहे गरिदिने थियौँ । अब जे भयो दुःख नमान । बिसेक भएपछि बिहे गर्नुपर्छ ।” जयालाई सम्झाउँदै भने ।
“म अब खराब भावना भएको जयदीपसित बिहे गर्न सक्दिनँ । उनको असली रूप मैले देखेँ । यो गर्भमा भएको नानीलाई म जन्माउँछु, पढाउँछु र बढाउँछु अनि यसका निम्ति म सङ्घर्ष गर्छु । जयदीपलाई रेप र एटेम्प्ट टु मर्डर केसमा जेल भए छ भने पनि मलाई केस फिर्ता गर्नू भनेर जोड नदिनुहोस् । यो एक वर्षमा मेरो हजारपटक मृत्यु भयो । म कहिल्यै भुल्न सक्दिनँ, सम्झिँदा मुटु निचोरिएर आउँछ । चर्किएको ऐनामा हेर्न हुन्न । आजबाट यस्तो पापी व्यक्तिलाई म फेरि दिलमा सजाउन सक्दिनँ ।”
“खै भीडभाड नगरौँ यहाँ । अहिले उहाँलाई आरामको जरुरी छ । सिस्टर… सिस्टर..।”
डाक्टरले भीडलाई कराएको आवाज आयो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।