तारापति उपाध्यायले असमियामा लेख्नुभएको ‘असम तथा भारत र नेपाली जाति : एक आलोकपात’ नामक ग्रन्थको नेपाली भाषामा लक्ष्मण अधिकारीद्वारा ‘भारतीय नेपाली जाति : एक अवलोकन’ नामले अनुवाद भएको छ ।

भारतमा नेपालीभाषीको क्रमविकास र आगमनदेखि वर्तमानसम्मको स्थिति, असम र भारतका विभिन्न प्रान्तबाट भारतीय स्वाधीनता आन्दोलनमा सहभागिता, नेपाली जातिको ऐतिहासिक स्थिति अवलोकन आदि विषयमा अति गहन र अध्ययनपुष्ट लेखहरू यो पुस्तकमा समावेश छन् ।

तारापति उपाध्यायले आजसम्ममा २२ वटा पुस्तक प्रकाशन गरेको देखिन्छ भने उहाँको अभिनन्दन ग्रन्थ र चारवटा कृति प्रकाशोन्मुख छन् । आज ९० वर्षको उमेरमा पनि उहाँको कलम चलिरहेको छ । उहाँसँग वार्द्धक्यले हार मानेको छ । उहाँका पुस्तकहरूको मुख्य विषयमा पनि विविधता छ जस्तै – भारतीय दर्शन, सनातनी परम्परा, नेपाली जातिको ऐतिहासिकता, साहित्यको क्रम विकास र उत्थान, विश्व साहित्यको आभास र भारतीय आदि दुई महाकाव्य रामायण तथा महाभारतको सम्यक् विश्लेषण र तिनको आदर्शसमेत पाठकसामु अति सहज र सरल भाषामा लेखेको पाइन्छ । उपाध्यायको लेखन समाजका लागि छ, उनका ऐतिहासिक उद्धृतिसम्पन्न लेखहरूले भारतमा नेपालीहरूको ऐतिहासिक दस्ताबेजहरूका विषयमा जान्ने ठुलो मौका मिल्छ, उहाँको साहित्य अध्ययनले ।

कल्पनादेवी आत्रेय (असम)

प्रस्तुत लेखमा तारापति उपाध्यायको असमियामा रहेको ‘भारत तथा असमर नेपाली जाति : एक आलोकपात’ जो लक्ष्मण अधिकारीद्वारा ‘भारतीय नेपाली जाति : एक अवलोकन’ नामले नेपालीमा अनुवाद भएको छ, त्यसको सम्यक् विश्लेषण गर्नु नै यो लेखको मुख्य उद्देश्य रहेको छ । पुस्तकले भारतमा नेपालीहरूको अवस्थिति र पछि भारतीय स्वाधीनता आन्दोलनमा नेपालीहरूको भूमिकाको परिचय दिन्छ ।

असममा नेपाली जातिको ऐतिहासिक पृष्ठभूमि केलाउँदै देहरादुन, दार्जीलिङ र असमका नेपाली जनताले स्वाधीनता आन्दोलनमा देखाएको अहोपुरुषार्थ, सुभाषचन्द्र बसु र आजाद हिन्द फौजमा नेपालीहरूको भूमिका, दुर्गा मल्ल, रामसिंह ठकुरी, इन्द्राणी र सावित्री (बाल सेना), रतनलाल ब्राह्मण, छविलाल उपाध्याय, विष्णुलाल उपाध्याय आदिले विदेशी विताडनमा देशका लागि स्वीकार गरेको त्याग, देशभक्ति र गोरा प्रशासकको कोपभाजन हुन परेको आदि विषयहरूको सम्यक् समायोजनले पुस्तक पठनीय मात्र नभएर ऐतिहासिक दस्ताबेजसमेत हुन पुगेको छ ।

‘भारतीय नेपाली जाति : एक अवलोकन’ पुस्तकको पहिलो लेख छ- ‘असमको नेपाली जाति : एक अवलोकन’ । यो शीर्षकमा नेपाली जातिलाई आर्य-मङ्गोल जातिसमूहको मिश्रण नै आजको बृहद् नेपाली जाति हो भनिएको छ । महाजाति नेपालीभित्र रहेका विभिन्न उपजातिहरूको तर्कमा तारापति उपाध्याय युक्ति अघि सार्नुहुन्छ -‘यो जातिको अधिकांश भागलाई आर्य जातिकै विशाल वटवृक्ष ‘खस’ प्राकृतभाषीहरूको परिवर्तित अङ्ग वा रूप मानेका छन् विद्वान्‌हरूले ।’

१९७४ मा मङ्गलदैमा बसेको ‘असम साहित्य सभा’को एकचालीसौँ अधिवेशनमा डा. महेश्वर नेओगको सभापतिको अभिभाषणमा आएको नेपाली सम्बन्धित ऐतिहासिक बुँदाहरूको विश्लेषण गरिएको छ । यसपछि ‘भारतीय नेपालीहरूको ऐतिहासिक वृत्तान्तको श्रीगणेश’ नामक लेखले पनि भारतमा नेपाली जातिको स्थिति, भूमिका अनि देशको उन्नयनमा रहेको योगदानको ऐतिहासिक विश्लेषण गरेको छ । सुगौली र सिन्चुला सन्धि (१८१६ र १८१७) अनुसार भारत, नेपाल र सिक्किम बीच भएको भूमिसम्बन्धित सट्टापट्टा अनि धेरै वर्षपछि १९५० को भारत-नेपाल मैत्री सन्धिअनुसार भारत-नेपाल बीच बिनाबाधा भएको आवागमन, भ्रमण र व्यापार आदि कारणले भारतका नेपालमा र नेपालमा भारतीयहरूको अवस्थिति सहजतासँग भएको कुरा उल्लेख छ तर यो सुविधा पाकिस्तानका नागरिकलाई उपलब्ध छैन, किताब भन्छ ।

अर्को अति गुरुत्वपूर्ण लेख छ, ‘भारतको स्वाधीनता सङ्ग्राम र नेपाली जाति’ । दार्जीलिङका दलबहादुर गिरी १९१८ देखि नै भारतबाट विदेशी विताडनमा अग्रणी भूमिका लिएका थिए । यसरी भारतीय नेपालीहरूको भूमिकाको सम्यक् विश्लेषण सुरुबाट अन्तसम्म पाइन्छ । दार्जीलिङका अर्का सिंहपुरुष जसले संसद्‌मा नेपाली भाषामा शपथ ग्रहण गरेर खलबली मच्चाउने स्वाधीनता सङ्ग्रामी रतनलाल ब्राह्मणको भूमिका र उनका साम्यवादी कार्यकलापबारे किताब धेरै बोलेको छ । उसैगरी असममा छविलाल उपाध्यायको स्वाधीनता सङ्ग्राममा देखिएको भूमिका र उनको सम्पूर्ण जीवनी पुस्तकमा समावेश छ ।

मात्र ३६ वर्षको उमेरमा अङ्ग्रेजको यातना भोग्दै क्षयरोगले मृत्युमुखमा परेका दार्जीलिङका दलबहादुर गिरीका दुई पुत्र सन्तान र पत्नीलाई महात्मा गान्धीले सावरमती आश्रम बोलाएर लालनपालन गरेका थिए । गिरीका ती दुई पुत्र वीर योद्धा महावीर गिरी र धर्मकुमार गिरी गान्धीसँग दाण्डियात्रामा ७८ जनाको टोलीमा थिए, किताब भन्छ ।

यो पुस्तकका प्रत्येक हरफमै ऐतिहासिक तथ्यहरू छन् । एउटा उल्लेख गरे अर्को रहन्छ, अर्को उल्लेख गरे अर्को रहन्छ र पनि पाठकले जान्नैपर्ने कुराहरू के छन् भने, महाभारतकालदेखि नै नेपाली (खस) जातिको अवस्थिति केलाइएको छ । विभिन्न इतिहासविद्ले गरेका मन्तव्यहरूको ठाउँ विशेषमा उल्लेख गरिएको छ, अनि भारत स्वाधीनता आदोलनमा भूमिका, तेल र कोइला खानीमा तिनीहरूले गरेको अहोपुरुषार्थ, अनकन्टार ठाउँहरूमा गोपालन गरेर दुग्ध विप्लव गरेका कुराहरू, विद्यालय, महाविद्यालयहरूको स्थापनमा नेपालीहरूको योगदान र सीता जखला दुग्ध उत्पादन केन्द्र, तेजपुर ग्रेजियर्स डायरी र अनेक सङ्घ-संस्थाहरूको स्थिति र योगदानका कुराहरू उल्लेख छन् ।

भारत स्वाधीनता सङ्ग्राममा छविलाल उपाध्यायको प्रवेश चन्द्र शर्मा नामका एक जना वकिलले गराएका थिए । काजिरङ्गाबाट गाई-भैँसीको गोठ अङ्ग्रेज शासकले उच्छेद गरेपछि छविलाल उपाध्याय मुद्दा हाल्न तेजपुर जाँदा वकिल चन्द्र शर्मासँग भेट हुन्छ । चन्द्र शर्मा छविलालको बोली, साहस र कदले प्रभावित हुन्छन् र देशको स्वाधीनता आन्दोलनमा सहयोग गर्ने आह्वान गर्छन् । ‘असम प्रदेश कङ्ग्रेस’को ऐतिहासिक सभाको सभापतित्व छविलाल उपाध्यायले गरेका थिए । छविलाल उपाध्याय, हरिप्रसाद उपाध्याय, दलवीरसिंह लोहार, देउचरण उपाध्याय, भक्तबहादुर प्रधान, कुमुचन्द्र शर्मा, पद्मप्रसाद ढुङ्गेल, बलभद्र छेत्री, प्रजापति रिजाल आदिको देशभक्ति र स्वाधीनता आन्दोलनमा रहेको भूमिका पुस्तकमा राम्ररी लेखिएको छ ।

भारत स्वाधीनता आन्दोलनको सङ्ग्राम सुभाषचन्द्र बसुको नेतृत्वमा गठन भएको ‘आजाद हिन्द फौज’ले अझ चर्काएको थियो । आजाद हिन्द फौजको विभिन्न पदमा नेपालीहरू थिए । मेजर दुर्गा मल्ल, कप्तान दलबहादुर थापालाई एक वर्षको अघिपछिमा क्रूर अङ्ग्रेज शासकले लाल किल्लामा फाँसी दिएको थियो । सुभाषचन्द्र बसुको दलमा पनि त्यति नै नेपालीहरू थिए जति महात्मा गान्धीको अहिंसा आन्दोलनमा थिए । रङ्गुनमा लक्ष्मी नामकी नेपाली महिलाले आफ्नो छोरो सुभाषचन्द्र बसुलाई दान गरेकी थिइन् । सावित्री र इन्द्राणी बसुकै बालसेना दलमा थिए, सहिद भए । बसुकै दलमा रहेका कप्तान रामसिंह ठकुरीले राष्ट्रगीतमा धुन भरेका हुन् ।

यसरी यो पुस्तकले भारत स्वाधीनता आन्दोलनमा नेपालीहरूको भूमिका दुवैपट्टि देखाएको छ । साथै पुस्तकमा भारतवर्षका शैक्षिक क्षेत्रमा नेपालीहरूले दिएको योगदानको पनि चर्चा गर्न भुलेको छैन ।

सुभाष घिसिङको नेतृत्वमा चलेको गोर्खालेन्ड माग आन्दोलन, उनले आफूलाई गोर्खा भन्दै दिएको परिचयादि विषयमा पुस्तक बोलेको छ । पुस्तकमा विष्णुलाल उपाध्याय, छविलाल उपाध्याय, रामसिंह ठकुरीको जीवनी विस्तृत रूपमा दिइएको छ ।

१ जनवरी, १९४७ सन्मा ‘असम प्रान्तीय गोर्खा लीग’ले असमलाई पूर्व पाकिस्तानसँग गाभ्न गरिएको प्रयासको घोर विरोध गर्दै चाहिएको खण्डमा गोर्खालीका ३० लाख खुकुरी समरमा उत्रिने छन् भन्ने प्रस्ताव लिएको थियो ।

भाषा मान्यता आन्दोलनमा असम लगायत भारतका नेपालीहरूले रूपायण गरेका कार्यसूचीहरू, दिल्ली जाऊँ, धर्ना, संविधानको आठौँ अनुसूचीमा नेपाली भाषाको स्वीकृति योभन्दा अघि नै भारतका केही विश्वविद्यालयहरूले नेपाली भाषालाई दिएको स्वीकृति आदिको चर्चा पनि ठाउँ र प्रसङ्गवश भएकै छ । असमको नेपाली समाज, गोर्खा लिगको तेजपुरको अधिवेशन र छविलाल उपाध्यायले गोरा सरकारको प्रलोभनलाई अस्वीकार गरेको रोचक र तथ्यसमृद्ध लेख पुस्तकमा समावेश छन् ।

पुस्तकको अन्तमा, असमका नेपालीहरूको मूल समस्या, नेपाली जनजीवनको सामाजिक जीवन आदि माथि पनि चर्चा गरिएको छ ।

समग्रमा पुस्तक पठनीय छ । यो भारतीय नेपालीहरूको एउटा दस्ताबेजको रूपमा स्वीकार गर्न योग्य छ । यो पुस्तक प्रत्येक नेपालीले पढ्न आवश्यक रहेको अनुभव गरेकी छु । तारापति उपाध्यायद्वारा मूल असमियामा लेखिएको यो पुस्तक नेपालीमा अनुवाद गर्ने लक्ष्मण अधिकारी धन्यवादका पात्र हुन् ।