ध्रुव चौहान भारतीय नेपाली साहित्यमा एक राम्रा कथाकार हुन् । उनी कथाजस्तै मिठा मिठा कविताहरू पनि लेख्छन् । उनी गीतकार पनि हुन् । उनले राम्रा राम्रा नाटकहरू पनि लेखेका छन् । उनको साहित्यको लेखनको स्रोतमा पुग्दा हामी ८० को दशकतिर पुग्छौँ । उनको गद्यलेखनको थालनी सन् १९९० को पूर्वार्द्धतिर ‘नर्थ पोइन्टर’ नामक कलेजको पत्रिकामा व्यङ्ग्यकथा ‘थिङ्किङ् : डाक्टरसित गुनासो’ बाट गरेका हुन भन्ने जानकारी साहित्यकार पवन नामदुङबाट प्राप्त गर्न सकिन्छ ।
उनको द्रष्टा व्यक्तित्व पनि उत्तिकै प्रभावशाली रहेको कुरा उनीद्वारा सम्पादित साहित्यिक पत्रपत्रिकाबाट सहज प्रमाणित हुन्छ । ‘चुल्हो’ (साहित्यिक सामयिक पत्रिका – सन् १९९०) र नर्थ पोइन्टर (कलेज पत्रिका – सन् १९९०) – लाई लिन सकिन्छ । त्यसबाहेक आकाशवाणी खरसाङका एक अनुमोदित गीतकार, साहित्य एकेडेमीद्वारा आयोजित राष्ट्रिय स्तरको कविगोष्ठीमा विभिन्न ठाउँमा सहभागिता जनाइसकेका छन् । उनी भारतीय नेपाली साहित्यमा राम्रा व्यङ्ग्य लेखक हुन् भन्ने प्रमाण विभिन्न पत्रपत्रिकामा प्रकाशित हास्य व्यङ्ग्य तथा व्यङ्ग्यात्मक कथा, कविता एवम् लेखहरूले साक्ष्य दिन्छन् ।
‘झन्डामन्तिर’को परिचय
ध्रुव चौहानको प्रकाशित हिसाबले छैटौँ साहित्यिक कृति “झन्डामन्तिर” (व्यङ्ग्यकथा सङ्कलन) हो । उक्त कृति बोधिचित्र प्रकाशन, धजे दार्जीलिङको पक्षमा कथाकारद्वारा सन् २०१८ मा प्रकाशित भएको पाइन्छ जसको आवरण ठेन्डुप लेप्चा र अक्षर टङ्कन तपन सुब्बा साथै आवरण सज्जा एवम् ले-आउट पवन राई नामदुङद्वारा गरिएको यो व्यङ्ग्यकथा सङ्कलन सिलगढीको स्टार ग्राफिक्समा मुद्रण भएको पाइन्छ । १३ वटा व्यङ्ग्यात्यक शैलीमा रहेका कथाहरू ‘झन्डामन्तिर’ भित्र समावेश रहेका छन् । ७६ पेजको पुस्तक छोटो र सुन्दर आवरणमा सजिएको पाइन्छ ।
‘झन्डामन्तिर’ को सिर्जनाको उत्प्ररेक तत्त्व
कथाकारले भोगेको जीवन र उनका परिवेशमा रहेका व्यतित जीवन भोगाइलाई नजिकबाट हेरेका छन् । चियाबारीका श्रमिकहरूले भोग्नुपरेका अपुग र अभावलाई कथाकारले नियालेका छन् । चिया कमानका जीवनशैलीसित सामानान्तर बाँचेका समयलाई, चिया कमानका गाउँबस्तीमा चलिरहेको जीवनपद्धतिमा चिया कमानका मालिक, राजनीतिक व्यवस्था, आर्थिक, शैक्षिक, सामाजिक परम्परामाथि अवलोकन गरी ती घटना, उपघटनाले छोएको पक्षलाई कथामा उतारेका छन् । प्रकृतिको सौन्दर्यलाई कथाले अति नै सुन्दर तरिकामा प्रस्तुत गरी सिपालु फोटोग्राफरले झैँ टिपेका छन् । समाजको यथार्थ अनुहारलाई देखाउने प्रयासमा जुटेका छन् । सिधै भन्नुपर्दा ध्रुव चौहान न्यायाधीश बनेर पीडित समाजका निर्दोष प्राणीलाई न्याय दिलाउन खोजेका छन् ।
आधुनिक भारतीय नेपाली कथाका सशक्त कथाकार चौहान युगीन परिवेश, प्रकृति, जिजीविषा, विम्बवादी हास्य-व्यङ्ग्यात्मक कथाकारको रूपमा देखिन्छन् । आधुनिक भारतीय नेपाली कथालाई चौहानको व्यङ्ग्यात्मक कथा सिर्जनधर्मिताले समृद्ध तुल्याएको छ । कथा लेखनको परिवेश विघटन, सन्त्रास, कुण्ठा, अनास्था, मोहभङ्ग र पुँजीवादद्वारा प्रेरित समस्याको परिवेश तथा चियाकमानको अभावग्रस्त जीवन, मद-मदिराले भत्किएको जीवन आदि जस्ता जीवन र परिवेशलाई टिपेका छन् । यस्ता परिवेशबाट व्यक्ति आफ्नो अस्मितालाई बचाउन छटपटिएको र प्रताडित बनेको समयलाई नजिकबाट नियाल्ने प्रयास गरेका छन् । चौहानले समाजको परिवेश मात्र होइन, ती समाजका वरिपरि छाएका मानिसको आत्मनिर्वासनको पीडालाई र यस्ता दलदलबाट मुक्त हुन दिशारत बनेका पक्षहरू कथामा उतारेका छन् । जीवनभर समस्यै समस्या भोगेर बाँच्न बाध्य रहनुपरेको युगीन विवशताको वास्तविकताको उद्घाटनमा ‘झन्डामन्तिर’ कथासङ्ग्रहको कथा सिर्जन निर्भर रहेको छ । चौहान आफ्नो विषादपूर्ण जीवन जुन धैर्य र साहसपूर्ण स्थितिमा बाँचे, त्यही धैर्य अनि साहसपूर्ण स्थिति र परिस्थिति नै कथालेखनको उत्प्ररेक तत्त्व रहेको देखिन्छ ।
‘झन्डामन्तिर’ कथासङ्ग्रहका कथाहरू
भारतीय नेपाली व्यङ्ग्यकथाको परिपृष्ठमा उल्लेखनीय कथाहरू ‘झन्डामन्तिर’ भित्र समेटिएका देखिन्छन् । ‘झन्डामन्तिर’ व्यङ्ग्यकथा सङ्कलनभित्र मोठ १३ वटा व्यङ्ग्यात्माक यथार्थ कथाहरू छन् । ग्यास पीडा, साहेपको मान्छे, मर्निङ वाक, सत्ता लहर, एड्जस्टमेन्ट, म बुढो हुँदैछु, एजेन्ट रक धमाका, गोर्खाल्यान्ड लभ, छोरीको अनसन, सपना कनेक्सन, दिदी र एक कि दुई जस्ता कथाहरूले वर्तमानमा रहेको चौहानको समाजको अनुहारलाई छर्लङ्गै देखाउने प्रयास गरेका छन् ।
चिया कमानको अभाव र अपुगको यथार्थ स्थितिको चित्रणलाई बडो सुन्दर अनि व्यङ्ग्यात्मक शैलीमा प्रस्तुत गरेका छन् । मानव जीवनको आधारभूत आवश्यकता हो बिहान र बेलुकीको चुल्हो । ग्यास सकिएको स्थितिले चुल्हो अवस्थालाई सङ्केत दिइरहेका पाइन्छ । “जिन्दगीको अन्तिम सास फेरिसकेको ग्यास सिलिन्डर । किचनको एक कुनामा निष्प्राण लडिरहेको देख्छु ।” (पेज नं. ०१)
समाजमा गण्यमान्य हुनुको पीडा आर्थिक विपन्नताको अवस्थालाई बडो सुन्दर रूपमा व्यङ्ग्य कसेका छन् । ‘सोच्छु, निर्मलज्यूले सोचेको जस्तो ग्याँसले चुल्हा बाल्न सके आज म आफैँ सिलिन्डर भएर घर पुग्ने थिएँ होला । टेन्सनै खलास् ।’ (पेज.नं. ५) । घरमा ग्याँस सकिएको विरक्तलाग्दो अवस्थामा विमोचन कार्यक्रममा अतिथिको आसनमा बसिरहँदा गोजीमा मोबाइलको भाइब्रेसनले फिला नै भत्काउला जस्तो गर्दा लेखकको अनुहार कुचुक्क पर्छ । लेखकले गाउँले जनमानसको जीवनशैली प्रतिनिधित्व गरेका छन् । माथिको वाक्यांशमा मिठो व्यङ्ग्यले कथा प्रस्तुत गर्दा ‘ग्याँसपीडा’ व्यङ्ग्यकथाको लहरमा उत्कृष्ट बनेको छ ।
गाउँमा मानिसहरू आधारभूत अवश्यकतामा कति तड्पिएर बाँचेका छन् । गाउँले सधैँ अभाव र अपुरालाई कसरी झेलिरहेको हुन्छ भन्ने वस्तुपरक रूपमा कथाले व्यङ्ग्य कसेको पाइन्छ ।
चियाकमानमा विशेषरूपले रहेको तथा देखिने चरित्र ‘साहेपको मान्छे’-कथामा सन्तेले उदाङ्गो पारेका छन् । सन्ते जस्ता सोझा निमुखा अर्को आडमा तथा सानो खुसीलाई जीवनको ठूलो उपलब्धि ठान्ने । सरहरूसित हात मिलाउँदा उसको इज्जत बढेको ठान्ने सन्तेमा अल्पशिक्षाको व्यवहार देखाएको चरित्रचित्रणले गाउँबस्तीको साधारण जीवनमा भइरहने घटनालाई कथाकारले सुन्दर प्रकारले प्रस्तुत गरेका छन् । समाजको विभिन्न वर्ग ठूलाबडा भनाउँदाहरूको विश्वासमा बाँचेका छन् । जीवन सहज बनाउने सोचभन्दा पनि मदमदिरामा लट्ठ परेर अर्धचेतनामा बाँची आफूलाई आफैँले सर्काएर इज्जत खोज्ने इज्जतको भोकमरी बनेर आफैँलाई तल्लो स्तरको बचाइमा ‘सन्ते’-को चरित्रले स्पष्ट पारेको पाइन्छ ।
‘कामदारी भएको पहिलो दिन एउटा सानो नोटबुक र पेन गोजीमा बोकेर डेकमा पुग्दा उसले आफैँलाई साहेपभन्दा कम सोचेको थिएन । जिन्दगीमा शतप्रतिशत रमाएको क्षण नै त्यही दिन थियो उसको ।’ कमानका कर्मचारीहरूमा रहेको यस्तो प्रवृत्तिलाई कथाकारले सुन्दर तरिकामा यस कथामा प्रस्तुत गरेका छन् ।
ध्रुव चौहानको ‘झन्डामन्तिर’ कथासङ्ग्रहमा विशेषगरी चियाकमानका चरित्रलाई, गाउँघरका खटिखाने श्रमिकहरूका विभिन्न प्रकारका चरित्रको रङ्गलाई सिपालु भाषाशैलीमा टिपेर व्यङ्ग्य कसेका छन् । ‘साहेपको मान्छे’, ‘एडजस्टमेन्ट’, ‘एजेन्ट’, ‘रक धमाका’ कथाहरूमा गाउँले जीवनका घटिरहने घटनाहरूलाई टिपेका छन् ।
‘मर्निङ वाक’- मा गाउँ-घरमा जाँडरक्सीले पुऱ्याएको तथा खाने लतका मान्छेलाई जसैगरी पनि नसक्दो रहेछ भन्ने पक्षमा व्यङ्ग्य कसेका छन् । ‘मर्निङ वाक’-मा कथाकारले ‘मर्निङ वाक’ पक्षमा लेख्छन्-
“अहिले गाउँ भुँडेहरूले भरिएको छ । गाउँ धनी भएको छ । अहिले यही भुँडेहरू बिहानबिहानै बरालिने यो चलन मर्निङ वाक । सम्पन्नताको ट्याग लागेको यो घैँटे भुँडी तर अचेल रोगको रूपमा ख्याति आर्जन गर्दै छ । बिहानै हिँडियो भने यो पेट घट्ने सोँच राख्नेहरू आजभोलि ‘मर्निङ वाक’ गर्दैछन् ।
सतालहर एजेन्ट, गोर्खाल्यान्ड लभ, सपना कनेक्सन, कथामा लोग्ने स्वास्नीको झगडा, द्वन्द्व, लोग्ने पराया आइमाईसित लागेर घरझगडा भएको, लोग्नेस्वास्नीको घरझगडामा राजनीतीकरण भएको पक्षलाई कथाकारले बडो सुन्दर रूपमा व्यङ्ग्य कसेका छन् । ‘गोर्खाल्यान्ड लभ’-मा दैनिक जुलूसमा अर्काका बुढाहरूसित अर्काकी बुढी सल्किएको, जाति र माटोको आन्दोलन त्यस्तै अर्थमा कार्यरूपमा अघि बढिरहेको अर्थलाई अभिव्यक्त गर्दै व्यङ्ग्यात्मक शैली प्रस्तुत गरेका छन् । ‘एजेन्ट’ कथामा प्रस्तुत व्यङ्ग्यात्मक पक्षलाई यहाँ राख्नु उचित ठानेँ- ‘आफ्नै बुढालाई बेँगालको एजेन्ट बनाएर यसरी कुटाउनु तिमीलाई लाज लाग्दैन? मरेको भए के गर्थ्यौ? भूल तिम्रो छ ।’ बुढीको हप्काइमा ऊ लुरूक्क परी । ‘तिमीहरू जस्तो मान्छेको बुद्धिको कारणले गोर्खाल्यान्डको मर्यादामा धक्का पुग्छ । यसलाई आफ्नो स्वार्थको भाँडो बनाउनु हुँदैन, बुझ्यौ? ’ –बुढीले फेरि थपी । मेरो मनको नै कुरा थियो त्यो (एजेन्ट, पेज नं. ४१) ।
गोर्खाल्यान्ड! गोर्खाल्यान्ड! भन्दै हातमा झन्डा लिई निदाइरहेका हामी जस्तै आन्दोलनकारीहरूको बीस-पच्चीस वर्षपछिको एउटा दर्दनाक दृश्य पनि देखिपठाउँछु । (गोर्खाल्यान्ड लभ, पृ. ५२)
‘छोरीको अनशन’, ‘दिदी’ कथामा दार्जीलिङे चियाकमान र बस्तीको मध्यवर्गीय जनमानसले भोग्नुपरेको आर्थिक सङ्कटलाई उदाङ्गो पारेर व्यङ्ग्य कसेका छन् । ‘एक कि दुई’ -कथामा वर्तमान दार्जीलिङको स्वार्थवादी राजनीतिलाई वस्तुपरक रूपमा प्रस्तुत गरेका छन् ।
‘झन्डामन्तिर’-का कथाहरू जति पढे पनि धित नमर्ने खालका कथाहरू । कथाहरूले हाम्रै गाउँघरको जीवनलाई बोकेको हुनाले कथाका पात्रपात्राहरू चिनेको/जानेको जस्तो लाग्नु स्वाभाविक नै लाग्छ । कथाले बोकेको वातावरण हाम्रो मनमस्तिष्कमा छाउँछ । झट्टै कथा पढिसक्दा सत्य घटना जस्तो लाग्नु कथाहरूको सफलता मानिरहँदा फरक नपर्ला । मान्छेका लागि उसको आफ्नै जीवन र जीवनका घटना तथा परिस्थिति, प्रकृति स्वयम् पनि व्यङ्ग्य बन्न सक्छन् (जोशी, २०५४; १२५) । ‘झन्डामन्तिर’-का कथाहरू पढिसक्दा पाठकले बोध गर्न सक्छन् । ‘झन्डामन्तिर’-का कथाहरूले प्रस्तुत गर्न खोजेको अर्थभित्र पनि अर्को एउटा अर्थ व्यञ्जनाशक्तिद्वारा बोध हुन्छ । यी कथाहरू पढ्दै जाँदा जति मज्जा आउँछ उति नै घोच्छ पनि । आफूभित्र चाल नपाईकन दुःखात्मक पक्षले चेतनाको आगो सल्काउन थाल्छ । फलस्वरूप स्वास्थ्य सुधारक मानव हितकारी समाज निर्माणमा स्वार्थीवादी, अवसरवादीको मन फर्किन्छ । यस्ता कथाहरू समाज परिमयकरणमा उत्प्ररेक तत्त्व बन्न सक्छन् भनी ढुक्कले भन्न सकिन्छ ।
‘झन्डामन्तिर’ कथासङ्ग्रहले धुव्र चौहानलाई भारतीय नेपाली साहित्यमा सफल र उत्कृष्ट व्यङ्ग्यकथाकारको रूपमा स्थापित गरेको देखिन्छ । उनीभित्र कवि, गीत, गजलको व्यक्तिव्य जति उच्च व्यङ्ग्यकथाकारको व्यक्तित्व पनि त्यति नै उच्च रहेको पाइन्छ । भारतीय नेपाली साहित्यमा व्यङ्ग्यकथाको क्रममा डेसल राईको ‘म परदेश जान्नँ’ (२००३) पछि अर्को सफल र उच्च कोटिको कथासङ्ग्रह ध्रुव चौहानको ‘झन्डामन्तिर’-लाई मानिरहँदा दुईमत नहोला । ‘झन्डामन्तिर’-का कथाहरूले अवश्यै भारतीय नेपाली कथा साहित्यमा छुट्टै स्थान ओगट्ने कुरामा विश्वस्त हुन सकिन्छ ।
व्यङ्ग्यकथा
व्यङ्ग्य भन्नाले साहित्यमा ध्वनि बुझिन्छ । व्यङ्ग्यमा घोचपेच तथा घुमाएर सभ्य भाषामा छड्के हानेको बुझिन्छ । सुन्दा वा पढ्दा मज्जा लागे पनि त्यसले मस्तिष्कमा घोचिरहेको हुन्छ । चेतनाको उज्यालो हृदयमा छाउँछ । व्यङ्ग्यचाहिँ वास्तवमा केही शब्द वा वाक्य प्रयोग गरेर तिनको वाच्यार्थ र लक्ष्यार्थभन्दा भिन्नै खालको अर्थात् व्यञ्जनाशक्तिद्वारा बोध हुने अर्थ हो (जोशी, २०५४;१२५) । हास्यमा भन्दा व्यङ्ग्यमा शब्द अर्थको चमत्कारलाई विशेष प्रयोग गरिएको पाइन्छ । शब्दार्थमा रहेको व्यञ्जनालाई व्यङ्ग्यले विशेष महत्त्व राख्दछन् । व्यङ्ग्य साहित्यले स्वस्थ समाजका निम्ति तथा मानवतावाद सिर्जना गर्न तरल ऊर्जाका रूपमा प्रस्तुत हुन्छ । भारतीय नेपाली साहित्य हास्य व्यङ्ग्यात्मक लेखक सूची तयार गर्दा सिरानमा अच्छा राई ‘रसिक’- लाई पाउँछौँ । व्यङ्ग्य साहित्यमा ज्ञानदिल दासलाई पनि उसरी प्राप्त गर्न सक्छौँ । यसरी हेर्दा राङभाङ भेल्लीबाट पहिलो प्रकाशित व्यङ्ग्यकथास्रङ्ग्रह ध्रुव चौहानको ‘झन्डामन्तिर’ पाइन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।