अनेसास कोरिया च्याप्टरको आयोजनामा हाइकु विशेष अन्तरक्रिया कार्यक्रम जुमबाट सम्पन्न भएको छ ।
नेपाली हाइकु साहित्यका वरिष्ठ साहित्यकारद्वय रामकुमार पाँडे, पुष्कर लोहनीलगायत अन्य अतिथि साहित्यकारहरू पुरू सुवेदी, कृष्ण बजगाईं, प्रकाश पौडेल माइलाको आतिथ्यमा सम्पन्न भएको हो।
नेपाली साहित्यमा हाइकु: सम्भावना र भविष्य विषयक सो अन्तर्क्रिया कार्यक्रममा अतिथि स्रष्टाहरूले नेपाली लेखक र पाठकमा हाइकुले गहिरो छाप बनाउँदै गएको र सैद्धान्तिक बहस पनि बाक्लिदै गएको तथा पुस्तकहरू पनि प्रकाशित हुँदै गएको जनाए ।
कार्यक्रममा वरिष्ठ साहित्यकार रामकुमार पाँडेले नेपाली साहित्यमा हाइकु लेखनको सान्दर्भिकता र इतिहासबारे स्पष्ट पार्नुभयो भने अर्का वरिष्ठ साहित्यकार पुष्कर लोहनीले नेपाली हाइकुको इतिहास केलाउँदै विगतमा आफूले नियमित हाइकु वाचन कार्यक्रम गर्दै गराउँदै आएको स्मरण गर्नुभयो ।
कार्यक्रममा साहित्यकार कृष्ण बजगाईंले हाइकुको सैद्धान्तिक पक्षलाई बिर्सन नहुने जनाउनुभयो भने हाइकु प्रशिक्षण गर्दै आएका अर्का साहित्यकार पुरू सुवेदीले प्रविधिको माध्यमबाट भविष्यमा हाइकुको विकास र विस्तारमा पहल गर्न सकिने जनाउनुभयो ।
वर्ल्ड हाइकु एसोसियन (World Haiku Association )का सदस्यसमेत रहनुभएका अनेसासका केन्द्रीय अध्यक्ष प्रकाश पौडेल माइलाले हाइकुको सैद्धान्तिक पक्ष केलाउँदै पछिल्लो समय हाइकुले फड्को मार्दै गएको र डायस्पोरामा रहेका नेपालीहरूमाझ पनि लोकप्रिय हुँदै गएकामा खुसी व्यक्त गर्नुभयो ।
यस अवसरमा नेपाली हाइकुको इतिहासमा लामो समयदेखि हाइकु लेखन, प्रशिक्षण, अनुसन्धानलगायतका माध्यमबाट योगदान गर्नुहुने पाँच स्रष्टाहरूलाई कोरिया च्याप्टरले सम्मान गरेको थियो।
च्याप्टरले यसअघि गजल विशेष अन्तर्क्रिया र बालसाहित्य विशेष अन्तर्क्रिया सम्पन्न गरिसकेको छ भने कविता विशेष र साहित्यिक पत्रकारिता विशेष अन्तर्क्रियाको तयारीमा रहेको जनाएको छ।
अन्तर्क्रिया कोरिया च्याप्टरका अध्यक्ष एवम् कार्यक्रम संयोजक प्रमोद सारंगको सभापतित्वमा सम्पन्न भएको थियो। च्याप्टरका वरिष्ठ उपाध्यक्ष डीआर न्यौपाने ‘सूर्य’ले कार्यक्रम सञ्चालन गर्नुभएको थियो भने महासचिव ह्यारी बोण्डले स्वागत मन्तव्य राख्नुभएको थियो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।