लण्डनस्थित राजदुतावास परिसरमा सजाइएको नेपाली साहित्यकारहरूको तस्बिर

नेपाली साहित्य समाज क्यानडाको भर्चुअल कविता वाचनको सोह्रौं कार्यक्रम जुन २७ आइतबारका दिन सम्पन्न भएको छ।

युवा साहित्यकार, समालोचक, कवि तथा त्रिभुवन विश्वविद्यालयका सह-प्राध्यापक डा. नेत्र एटमको विशेष उपस्थितिमा क्यानडाका विभिन्न सहरबाट उपस्थित कविहरूले कार्यक्रममा कविता, गीत, गजल र मुक्तक वाचन गर्नुभयो ।

कार्यक्रममा अमेरिकाबाट कवि अनुजा घिमिरेको पनि उपस्थिति थियो भने उहाँले पनि कविता वाचन गर्नुभएको थियो ।

संस्थाका महासचिव मोहन खरेलले कार्यक्रमका विशिष्ट अतिथि डा. नेत्र एटमको संक्षिप्त परिचयबाट कार्यक्रम शुरु गर्नुभएको थियो । एडमन्टनका कवि डा. कुसुमाकर शर्माको “प्रश्न मानवलाई” शीर्षकको कविताबाट वाचन शुरू भएको थियो। भ्यानकुभरका कवि राजेन्द्र कार्कीको “पारुहाङ्ग बडा” शीर्षकको कविताले श्रोताहरूलाई पूर्वी पहाडतिरै पुर्याएको थियो भने क्यालगरीका कवि कुसुम ज्ञवालीको ‘हिउँले पुरिएको फोसिल” कविताले अमेरिकामा हत्या गरिएका अश्वेत नागरिक जर्ज फ्लोएडको दर्दनाक हत्याको दुःखद् घटनाको स्मरण गराएको थियो।

गीतकार तथा गजलकार रविन्द्र लम्सालको “कसैको खास बन्न सकिएन” शीर्षकको गजलले कार्यक्रमलाई अझ मनोरञ्जनात्मक बनाएको थियो। मन्ट्रियलका कवि तथा गजलकार युवराज भण्डारीले “जूनकीरीहरू” शीर्षकको कविता मार्फत कोभिड महामारीको यो कठिन समयमा पनि सेवा प्रदान गर्दै आएका नर्श र डा. हरुलाई अँध्यारोमा प्रकाश छर्ने जूनकीरीहरूसँग तुलना गर्नुभयो।

सुरेन्द्र राजभण्डारीले भुटानी नेपाली शरणार्थी बाको सुन्दर कविता पस्किनुभयो भने कवि पारु पाण्डेले “सपनाका च्यादरहरुमा” इन्द्रेनीको आठौं रङ्ग खोज्नुभयो। संस्थाका पूर्व अध्यक्ष रविन थपलियाले समाजमा व्याप्त दोहोरो चरित्रका बारेमा “द्वैध चरित” मार्फत शार्दूलविक्रीडित छन्दमा कडा व्यंग्य गर्नुभयो भने वर्तमान अध्यक्ष खेम गुरागाईले “सपनाको कारखाना” मा सुन्दर सपनाहरू फलाउनुभयो । मुक्ति गौतमले “देश बाहिरको देश”बाट भावनामा फैलिरहेको नेपालको कुरा सुनाउनुभयो।

कवि राधिका कुसुमले “युद्ध र फूल” मा नकारात्मक सोचसँगको युद्धमा सकारात्मक सोचको प्रभावको मीठो बयान गर्नुभयो भने कवि अनुजा घिमिरेले “शब्द सैनिक” मा अहिलेको कुरूप समय र यो सँगको शब्दको लडाइलाई व्यंग्यसहितको प्रस्तुति दिनुभयो । कवि मोहन खरेलले अनुष्टुप् छन्दको “प्रार्थना” शीर्षकको कवितामा लोकको हितको लागि प्रार्थना गर्नुभयो र अन्त्यमा कवि शशी तिमिल्सिनाले तीन वटा छोटा र चोटिला कविता सुनाउनुभएको थियो ।

अन्त्यमा विशेष अतिथि डा. नेत्र एटमले वाचन गरिएका कविताहरूमा आफ्नो मन्तव्य र संक्षिप्त समीक्षासहित “फेरि भेटौंला कुनै दिन” शीर्षकको मीठो कविता वाचन गर्नुभयो । उहाँले कवितामा सौन्दर्य चेतना, सांस्कृतिक चेत, बिम्ब, काव्यिक समयको महत्व, प्रवासमा भइरहेका लेखन तथा लेखनका महत्त्वपूर्ण विषयमा आफ्ना धारणाहरू राख्नुभयो । लेखक आफ्नो श्रृजनाको स्वयं पाठक र समालोचक पनि भएकाले आफू सर्वप्रथम आफ्नो लेखनबाट सन्तुष्ट हुनुपर्ने कुरा औँल्याउँदै लेखनको स्तर कसरी बढाउने भन्ने बारेमा चर्चा गर्नुभएको थियो ।

संस्थाका महासचिव मोहन खरेलले जुलाई १३ मा भानु जयन्ती मनाउने र साहित्य समाजले नियमित रूपमा ई- बुलेटिन निकाल्ने जानकारी गराएपछि संस्थाका अध्यक्ष तथा कार्यक्रमका सभापति खेम गुरागाईले विशिष्ट अतिथि लगायत सम्पूर्ण सहभागीहरूलाई धन्यवाद दिँदै कार्यक्रमको समापन गर्नुभयो ।