विवाहको मिति घोषणा भयो । दुलहा दुलही दुवै पक्षले कोभिड-१९ का नियमहरू पालन गर्दै विवाह गर्ने निर्णय गरे । सामाजिक दूरीमा रहेर  मास्क परिधान गरेका बेहुला बेहुलीलाई गुरुजीले विधिपूर्वक विवाह सम्पन्न गराउनुभयो । सेनिटाइजर, मास्क, सामाजिक दूरी, उपयोगिता शीर्षकमा लेखिएका ब्यानरहरू भित्ता-भित्तामा टाँसिएका थिए । जन्तीहरूले पनि सामाजिक दूरीलाई पालन गरेका थिए ।

बूढी हजुरआमाहरू कुरा गर्न लागे, “हन कस्ता दिन आए, कसैलाई छुन नहुने । कसैको घरमा जानै नहुने, कतै खानै नहुने । कति ओडारमा बस्ने !”

अर्काले कुरा थपे, “घोर कलियुग हो । सबै मासिने पऱ्यो । नातिनीको बिहेमा नजानोस् भन्छन् ! मरे मर्छु, गोडा चैँ धुने हो भनेर आएकी ।”

अर्काले थपे, “मलाई त भित्रै बस्नू भन्छन् । हात खुट्टा कुँज्जिएर कस्तो हुन्छ । छोराबुहारी अफिस जानेबित्तिकै गाउँतिर लागिहाल्छु ।”

अर्को कुनामा तन्नेरीहरूको समूह थियो । जो शिक्षित समाजका पथप्रदर्शक थिए । सँगसँगै बसेर सामाजिक दूरीका ठूला ठूला गफ हाँक्दै थिए  ।

फेरि एकछिनमा उनीहरू नै मास्कविहीन लालीओठको फोटो खिच्नमा व्यस्त थिए ।