कवितालाई मनुष्य जातिको विकाशशील प्रक्रियामा जीवनको पहिलो काव्य मानिन्छ किनभने सभ्यताको प्रारम्भिक कालमा मान्छेको मुखबाट पानी, आगो, हावा, नदी एवं प्रकृतिजन्य केही आवाजहरू प्रादुर्भाव भएको मानिन्छ । त्यहीँबाट काव्यको सिर्जना भएको  इतिहासवेत्ताहरूले आविष्कार गरेका छन् ।  त्यो समय, काल, परिस्थितिमा मान्छेले निकै सङ्घर्षपछि शब्दको अनुसन्धान गर्‍यो अनि त्यही सङ्घर्षबाट काव्य उत्पन्न भएको ठहर गरियो । यस हिसाबमा कविता त्यो कालमा जीवनक्रमलाई अघि बढाउने सशक्त माध्यम थियो, कविता मान्छेको सङ्घर्षको आवाज थियो अनि कविता सभ्यताको प्रारम्भिक स्रोत पनि थियो ।  यसरी कमाएको गरिमालाई मान्छेको सुविधावादी सोचले कविताको पृष्ठभूमिलाई भत्काउँदै गएको आज महसुस गरिँदैछ तर भत्किने प्रक्रिया स्वतः विकसित भएन ।

पुँजीले जहिल्यै आफ्नो नाफाको पृष्ठभूमि तयार पार्दै लाने हुनाले जब कविताले मानव समाजलाई अझ सशक्त बनाउँदै लान्छ भन्ने भान हुन थाल्यो, कविताले जब आन्दोलनको आधारभूमि विकसित पार्दै लान्छ भन्ने कुरा ठहर हुन थाल्यो तब उसलाई डरले सताउन थाल्यो, उसलाई आफ्नो सत्ता कायम हुन सक्दैन भन्ने थाहा भएपछि नै काव्यको सिर्जना रोक्ने, यसमा ताला लगाउने, काव्य साधकहरूलाई आफ्नो पक्षमा उभिन बाध्य पार्ने जस्ता कुत्सित विचारहरू उब्जिन थालेका हुन् । मान्छेले आफ्नो लामो सङ्घर्षको कालक्रममा काव्यको सिर्जना गर्न थालेको हो भलै त्यसले शब्दको रूप पाउन सकेन होला तर गीतको रूपमा, झरना, नदी, पहाड, पर्वतको सङ्गीतबद्ध आवाजका रूपमा यसले एउटा ठाउँ पाउँदै गयो अनि अन्त्यमा मान्छेको आवाज रामायण, उपनिषद्, महाभारत आदिको रूपमा स्थापित बन्न गएको मान्न सकिन्छ । कविता सिर्जनाको गाथा निकै लामो र सङ्घर्षयुक्त छ । ती कुराहरूलाई यहाँ विस्तृत स्वरूप दिन सकिन्न । यो एक अलग शोधको विषय बन्न सक्छ।

यति विशाल र प्रारञ्जल काव्यले आज आफ्नो स्पेश कसरी हराउँदै गइरहेको छ, यो निकै ठूलो विषय हो । पुँजीको सुविधासम्पन्न सोचले यसलाई धराशायी बनाउने प्रक्रिया थालेको निकै समय बित्यो । जब कविले धरातलमा उभिएर वर्गसङ्घर्षको बिगुल बजाउन थाल्यो, मान्छेका आँगन वरिपरिका अन्तर्द्वन्द्वहरूलाई टिपेर आम आवाजहरूलाई जनता स्वयंको हतियार बनाउन थाल्यो, तब सत्ता (पुँजी) हतासिन थालेको हो अनि त्यही समयदेखि कविताको धरातल भत्काउने तयारीमा लागेको हो, त्यसैबेलादेखि उसले आफ्नो पुँजीको प्रभावमा ल्याएर केही भारादारहरूलाई सत्ता हिमायती बनाउन थाल्यो अनि काव्यको असीमित अन्तरिक्षमा प्वाल बनाउने कार्यको थालनी गरेको हो । उसको षड्यन्त्र नबुझेर धेरै कविहरू पुँजीको प्रभावमा झुम्मिन थाले ।  अब भने काव्यलाई तहसनहस पार्ने अनि काव्यलाई जनताको आवाजको रूपमा उभ्याउने प्रक्रिया जोडतोडका साथ सुरु भएको हो । पुँजीपरस्तहरूले काव्यलाई सोखको विषय ठान्न थाले अनि जनताका हिमायतीहरूले यसलाई जनताको हतियारको रूपमा रोप्न थाले। तबदेखि नै काउचमा बसेर कविता कोर्ने र जनताको झोपडीमै गएर अनि आफ्नै परिश्रम गालेर कविता कोर्नेहरूको लहर बढ्न थालेको हो ।

काव्य सिर्जनाको सन्दर्भमा यतिको भूमिका किन बाँध्नुपर्‍यो भने आजभोलि कविता कोर्ने फेसन खुब हावी देखिन्छ । कविता लेख्नु कुनै ठूलो कुरा होइन भन्ने ठानिन्छ, गोष्ठीहरूमा कविता सुनाउनका निम्ति तँछाड-मछाडको स्थिति देखिन्छ । साँच्चैको कविता कोर्नेहरू किनारीकृत हुँदैछन् भने पुँजीको जालमा परेर  (पुरस्कार, अभिनन्दन, अभ्यर्थना) शब्दको थाक जमाउनेहरू पहिलो पङ्क्तिको कविको रूपमा उभिएका छन् । वास्तवमा कविताको परिभाषा के हो, कविता कसका निम्ति र कुन उद्देश्यका निम्ति लेखिनुपर्ने भन्ने सोच क्रमशः विस्थापित बन्दै गएको समयमा नेपाली साहित्यमा दह्रो छाप छोड्न सफल असम साहित्य सभाका महासचिव रुद्र बरालको तेस्रो आँखो कवितासङ्ग्रहको अध्ययनपछि काव्यलाई धेरैले जसरी सस्तो रूपमा हेर्ने दृष्टिकोण बनाएका छन् । तिनका निम्ति वास्तविक कुरा राख्नैपर्छ भन्ने सोच उब्जिएको हो ।

अर्जुन पीयूष (सिक्किम)

रुद्र बराल मेरा व्यक्तिगत दृष्टिमा जुनै रूपमा उभिएका हुन् तर उनी काव्य सिर्जनामा कुन स्तरमा स्थापित बन्न सफल बने त्यो महत्त्वको कुरा बन्न जान्छ । व्यक्तिगत चिनजान र काव्यिक चेतनाका रूपमा चिनिएका व्यक्तिलाई अलग रूपमा पहिचान दिन जरुरी हुन्छ। यसका साथसाथै कवि रुद्र बराल कुन कित्तामा उभिएका छन्, त्यो पनि प्रस्फुटन हुनुपर्छ भन्ने मेरो निजी मान्यता हो । अहिलेसम्म साहित्यमा दुई धारा तगडा रूपमा देखिएका छन्, अनि ती हुन्-वामपन्थी धारा र दक्षिणपन्थी धारा । साहित्यमा दुई ध्रुवीय धाराले आफ्नो धरातल निर्माण गर्छ । साहित्यमा कुन पक्ष सबल छ, जनपक्षीय वा जनप्रतिपक्ष? यो ठूलो प्रश्न हो । हाम्रा कविहरू  कुन कित्तामा उभिनुपर्ने त्यसको स्पष्ट परिभाषा रुद्र बरालले दिने प्रयास गरेका छन् आफ्ना रचनाहरूका माध्यमबाट । हिन्दी साहित्यका वरिष्ठ आलोचक एवं समालोचक म्यानेजर पाण्डेयले आज का  समय और कविता का सङ्कट शीर्षक लेखमा एक ठाउँ यसो भनेका छन्- ‘…कविता स्वभाव से चाक्षुष कला नहीं। वह शब्दों की साधना है और शब्द सगुण-साकार होते हैं बोलने के समय, केवल पढ्ने पर नहीं ।’ ‘… कविता केवल विशेषज्ञों के लिए न हो, व्यापक समाज के लिए भी हो । यी वाक्यले के पुष्टि गर्छन् भने कविता केवल मनोरञ्जनका निम्ति लेखिने शब्दमात्र होइन । यसलाई दायित्वबोधको रूपमा लिनुपर्छ । रुद्र बराल तेस्रो आँखो-को पहिलो कविता भोटको बजारमा आजको समाजको सशक्त यथार्थलाई गुन्द्रीमा बिस्कुन सुकाएझैँ छर्लङ्ग सुकाउँछन् यसरी- घामले डाँडा नकाटी/ गुँड पर्छन् बिचाराहरू/ आज यो आकाश उनीहरूको होइन/गुँडबाट हेर्छन्/ वायुयानका नान्दनिक जुलुसहरू आवेगको लेबल लगाएर/हट केकझैँ थोकमा बेचिन्छ/जात-जाति/ धर्म र आदर्शका सामग्रीहरू/भोटको बजारमा। 

कविताको व्यापकता यसरी मापन गर्न सकिन्छ । भोट आजको सन्दर्भमा समग्र मानव समुदाय जोडिने कडी बनेको छ । यही भोटलाई हतियार बनाउँदै पुँजीले दुईचार व्यक्तिलाई अघिल्लो पङ्क्तिमा उभ्याएर राज गरिरहेको अनि आम मानिसहरू केवल आफ्नो छोटो लोभका कारण भड्खालामा होमिएको कुरालाई फगत एक गान्धी’-ले/ निको पार्न सक्छ/ पाँ-पाँच वर्षदेखि पाकेको/ कैँटे घाउ भन्दै सहज ढङ्गमा कवि रुद्र बरालले उल्लेख गरेका छन् । सपना कवितामा कवि स्वयंले दायित्व लिँदै आम मानिसहरूलाई समेत भोटको पुँजीवादी बजारमा आफू समाविष्ट नहुने आह्वान गरेको पाइन्छ । कविताको अन्त्यमा धेरै आँखा एकैसाथ उघ्रिनु नै बिहान हुनु होइन र ? भन्दै आम मानिसहरूलाई एकसाथ उठ्ने र आवाज बुलन्द गर्ने उनको अपील छ । यसरी नै इतिहास शीर्षक कवितामा मेरो कुपोषणको उपचार गर्ने/ इतिहास अत्याधुनिक चिकित्सा व्यवस्था हो? भन्ने प्रश्नको उठान गर्दै कविले वर्तमान परिस्थितिमा उब्जेको कोरोना भाइरसको चिकित्सासम्बन्धी सरकारसँग सोधनी पनि गरेको पाइन्छ । यसैगरी अर्को म नजन्माऊ तिमी शीर्षक कवितामा केही हरफहरू प्रगतिशील सोचका पाइन्छन् । कवि बराल भन्छन्- म बाँच्नकै लागि बाँचिदिन सक्दिनँ/ म हाँस्नकै लागि पनि बाँच्न सक्दिनँ। व्यक्तिगत स्तरमा कोही पनि बाँच्न सक्छ तर समूहको विकास र हितका निम्ति बाँच्न आवश्यक रहेको उनका कविताका हरफहरूले बताउँछन् । प्रगतिशील विचार भनेको केवल प्लेकार्ड लिएर जुलुस निकाल्नु मात्र होइन, केवल नाराहरूका स्लोगान लिएर मात्र अघि बढ्नु होइन ।

प्रगतिवादी सोच भनेको आम जनताका मनोदशाहरूलाई समातेर त्यसको निराकरणका निम्ति एउटा ठूलो समूहलाई नेतृत्व दिनु हो । त्यसैकारण कवि पुँजीवादी व्यवस्थाको प्रतिवादमा यसरी फलाक्छन्-चितुवा आफैँ हिँड्दैनन् चिथोर्न/ स्याललाई पठाउँछन् पुँजीले कसरी मान्छेलाई वर्ण र जात-जातमा विभाजन गराउँछ त्यसको हेक्का कविलाई राम्ररी छ, त्यसैकारण कविता फुर्छ यसरी-जात जन्माउँछन्/ धर्म जन्माउँछन्/…निधारमा दोस्रो दर्जाको नागरिकको अमेट ट्याटू लगाइदिन्छन् ।  कवि बरालको यस कवितामा कता-कता पारिजातको कविता आन्दोलन-को भाव देखिन्छ । कविता केवल नारा हो भन्नेहरूका निम्ति नारामा पनि यदि स्वबोध झल्किन्छ भने त्यो काव्यभित्र पर्नुपर्छ । बुख्याचा कवितामा कविको प्रगतिशील विचार स्पष्ट झल्किन्छ । प्रगतिशील सोचमा ढल्केको छ कविको बुख्याचा । म एकछिन कल्पनाको उडान उड्छु/ ज्यालाहीन पृथ्वीको कल्पना गर्छु/ज्यालाहीन खेतालाको कल्पना गर्छु/ मेरा खेत, बारी र उद्योगहरूमा। कविताका प्रत्येक हरफहरू यथार्थपरक, चिन्तनयुक्त एवं वर्तमान राजनीतिका पहरेदार तथा धर्मका ठेकेदारहरूप्रति भरपुर कटाक्ष छन्। कवितामा पूर्णतः प्रगतिशील विचार पाउनका साथै प्रत्येक पङ्क्तिहरूले माथिल्लो तह छोएका छन्।

मेरी बहिनी र म कवितामा नारी-पुरुषमाझ समानताको कुरा उठाइएको छ भने नारी सन्दर्भका कतिपय प्रश्नहरू पनि समयसापेक्ष पाइन्छन् । उनीहरूलाई आजको व्यवस्थाले कसरी दासी बनाउँदै छ, स्पष्ट झल्को पाइन्छ कवितामा-ऊ फेरि प्रश्न थप्छे-मन्दिरको देवी र घर सडकका देवीहरू/ छाला र मासुका देवीहरू एकै हुन् दाइ?’

अर्को एक सन्ताक्लज कवितामा पुँजीको जाल बुनेर माथिल्लो तह कब्जा गर्नेहरूले कसरी आम मानिसहरूलाई उल्लु बनाएर आफ्नो कुर्सीको सुरक्षा गरिरहेका छन् त्यसको एक सबल रूपरेखा देखिन्छ । कवि बरालको यो कविताले झमक घिमिरेको देश, म र आकाङ्क्षा कविताको सम्झना गराउँछ । बजार कविताले त झन् बढ्दो पुँजीको क्रूरतालाई स्पष्ट झलक दिएको पाइन्छ । कवि भन्छन्-आँसु पनि यहाँ सापटमा पाइँदैन/ हाँसो पनि मफतमा पाइँदैन । हरफहरू पढ्दा मलाई कता-कता देशका नामी इलेक्ट्रोनिक मिडियाहरूले आफ्नो टिआरपी बढाउनका निम्ति अनाहकमा समाचारलाई सनसनी बनाउँदै विज्ञापन दिँदै ‘विज्ञापन के बिना हम कुछ नहीं कर सकते’ भनेको सम्झना आउँछ ।

तेस्रो आँखो कवितामाथि नै यो सिङ्गो कवितासङ्ग्रह अडिएको पाइन्छ । तेस्रो आँखो कविताको पुस्तकको नाम पनि हो । एउटा जिज्ञासा छँदै थियो कि कविता कस्तो छ भन्ने । कविताको दोस्रो अनुच्छेदले नै कविता दमदार छ भन्ने प्रमाण दिन्छ । पिठ्युँमा पुस्तकको भारी थिएन उसको/ झोलाभरि हाम्रा मृत्युका वारेन्टहरू थिए । समय समयमा आततायीहरूले मानिस जब धेरै कुरा बुझ्ने हुन्छ, जान्ने हुन्छ तब उसमा आतङ्क रोप्न विभिन्न भाइरसहरूको उब्जनी गर्छन् भन्ने कुराहरूलाई उजागार गरेका छन् । यसका साथै एउटा निश्चित समयभरि भाइरस उब्जनी गर्नेहरूको बिगबिगी रहे पनि मान्छे कतिसम्म बुद्धिमानी छ, समस्या समाधानको आविष्कार कसरी गर्छ त्यो पक्ष पनि उजागार गरेको पाइन्छ भने पुँजीवादी व्यवस्थाले मान्छेको मन मस्तिष्कलाई विध्वंश पार्ने नीति जति नै अवलम्बन गरोस् तर अन्त्यमा त्यो जालबाट मान्छे निस्केरै छाड्छ भन्ने कविताले प्रमाणित गरेको छ । मान्छे विरुद्ध उभ्याइएको हतियारको प्रतिवाद गर्न मान्छे अब कसरी उभिनुपर्ने सूत्र यसरी पाउन सकिन्छ- ‘मानिस शिक्षित बन्यो-सभ्य बनेन/ मानिस शक्तिशाली बन्यो-सहनशील बनेन/ मानिसले आफूलाई ठूलो देख्यो-अरूलाई देखेन/ मानिसले आफ्नो दोष देखेन/ अरूको गुण देखेन/ मानिस कहिल्यै कमिलो बन्न सकेन/ बरु सजिलै भेडा बन्यो/ छेपारो बन्यो ।

शब्दको पनि प्राण हुन्छ कविता एक सशक्त काव्य हो भनी मान्न सकिन्छ । यस कवितामा विम्बको भरमारले कवितालाई अझ बलशाली बनाइदिएको छ अनि कविता जे पनि लेख्दा हुन्छ भन्नेहरूका लागि कविता कस्तो हुनुपर्छ त्यसको प्रमाण हो रुद्र बरालको यो कविता । अक्षर अक्षरको सहवासले शब्द जन्माउँछ/ शब्दहरूको गाउँ बसाएर वाक्य बन्छ । कविताको यस्तो बनौटले नै काव्यलाई एउटा ठूलो आकाश दिएको भान हुन्छ । कविता कतिसम्म सुन्दर हुन्छ, कवि रुद्र बरालका यी कविताका हरफलाई लिन सकिन्छ- ब्रह्माण्ड सुन्दरीभन्दा सुन्दर बनाउन सकिन्छ शब्दको अनुहार । यहाँ एउटा कुरा भन्नैपर्ने हुन्छ कि बरालका कविताहरू पढ्दा उनी देशपरदेश वा क्षेत्र वा आञ्चलिक सर्जकका कृतिहरू कतिको पढ्छन् भन्ने तथ्य पनि दर्सिन्छ । नव्य कविहरूका निम्ति यो कविता बलियो छाता हो, दह्रिलो नौका हो जसमा ओत लाग्न वा पार पाउन सकिन्छ । जस्तै- शब्दको खेतीमाथि प्रतिबन्ध लगाइन्छ/रोकिन्छ शब्दको आयात-निर्यात/ शब्दको आगमन हुने सबै नाकाहरू बन्द गराइन्छ/त्यसपछि शब्दको बगाललाई खोला पुर्‍याइन्छ/ दनदनी बालेर अट्टहास गरिन्छ/ विजय नाच नाचिन्छ । यसरी परिभषित गरेका छन् कवितालाई रुद्र बरालले । यस कवितालाई जति नै परिभाषित गरे पनि कम हुन जान्छ किनभने यो कविताको संरचना नै त्यस्तै बनिएको छ । शब्दकै खेलमा क्रूरता, शब्दकै भरमा अन्तरिक्ष विजय, शब्दलाई कहिल्यै खटन गर्न नसकिने, शब्द नै जीवन र मृत्यु मान्छेको तर शब्द अजय, अमर र तीन त्रिलोकको सर्जकको रूपमा प्रस्तुत भएको छ यो कविता ।

आजको समयमा एकाध सर्जकहरू मात्र यस्ता होलान् जसले सम्पत्तिको नाममा आफ्नो आउँदो पुस्तालाई पैसा वा जमिनको सट्टा काव्य, नयाँ सिर्जना (पुस्तक), आफ्नो नाम दिन्छन् । त्यो सर्जकले एक इमानदार बाउ, प्रतिबद्ध कवि, लेखक, कलाकार, कथाकार दिन सक्छ भन्ने कुरा एउटा अभागी बाबुको इच्छापत्र कवितामा पाउन सकिन्छ । अर्को कविता छ-हम सब एक हैं । कवितामा कवि बराल निकै भावुक देखिनका साथै कहीँ कहीँ क्रुद्ध पनि बनेका छन् । विश्वका धेरै युद्ध जित्नेहरू आज जातथरमा विभाजित भएर आआफैँ लडिरहेको देखेर कवि उदास छन् । ब्रह्मपुत्र र टिस्टाको इतिहासलाई उठाउने कोसिस गर्दै उनी भन्छन्-माटको युद्धभन्दा घाटाको युद्ध सजिलो हुन्छ/भाषाको युद्धभन्दा आशाको युद्ध सजिलो हुन्छ, बर्सौँ मलजल गरेर हुर्काएका रहरका फूलबारीहरू मासिन्छन्/ माया साट्न एउटा मुटुबाट अर्को मुटु पुग्ने साँगुहरू तोडिन्छन् ।

कुम्भकर्ण कवितामा देशको संविधान मान्छेले लेख्यो तर आफ्नो कलाद्वारा मान्छेको भाग्यरेखा चम्काउने अनि परिश्रमको बुट्टाद्वारा देशको भाग्य सपार्नेहरू कुम्भकर्ण कि उनीहरूको कदर नगर्ने, कलाको मोलभाव नबुझ्नेहरू कुम्भकर्ण? भन्दै कविले असङ्ख्यौँ प्रश्न तेर्साएका छन् । यसै कविताको एउटा हरफ हेरौँ-उसका पाइलाले विश्राम लिए/ प्रगतिको पाङ्ग्रो घुम्दैन ।

राँको कवितामा कवि बरालले सापटी मस्तिष्क बोकेर हिँड्नेहरूको मन सङ्लो पार्न आवश्यक रहेको कुरा बताउने कोसिस गरेका छन् भने राँको बलेन भने डाँकाहरू रगरगी घुम्छन्, त्यसकारण बाटामा राँका बल्नैपर्छ तबमात्र घर, माटो, मानो सुरक्षित रहन सक्ने सन्देश दिन खोज्छन् कवि ।

प्रहेलिका कवितासम्म आइपुग्दा कवि मान्छेमाथि शासन गर्न आफूले कल्पना गर्दै उभ्याइएका विभिन्न मूर्तिहरूको आलोचना गर्न पछि सर्दैनन् । उनी स्पष्ट रूपमा प्रश्न गर्छन्-“त्यो ईश्वर कहाँ बस्छ जसले पृथ्वीमा घटित वीभत्स घटनाहरू पनि देख्दैन ? त्यो कल्पित चित्रगुप्तले पाण्डुलिपि मान्छेसामु पछारेर मान्छेमाथि नै शासन गर्ने दुष्टहरूमाथि उनी निकै बम्किएका छन् ।”

समग्रमा भन्नुपर्दा रुद्र बरालको यो तेस्रो आँखो कविताले प्रगतिशील साहित्यमा एउटा नयाँ वर्षा ल्याउने प्रयास गरेको छ । यसो किन पनि भन्न सकिन्छ भने कवि बरालकै कविताको प्रभावमा पर्दै उत्तर-पूर्वाञ्चल क्षेत्रबाट हिजोआज निकै कवयित्रीहरूको जन्म हुनथालेको पाउन सकिन्छ । वर्तमान परिप्रेक्ष्यमा नामै लिएर भन्नुपर्दा अनुपमा कट्टेल, नयना अधिकारी, पूजा आचार्य आदि आदि कवयित्रीहरू फुर्न थालेका छन् । नयाँ पुस्ताका यस्ता उम्दा कविहरूको जन्मले साहित्यको बगैँचा वासनामय बन्न सक्छ भन्ने कुरामा आशावादी बनौँ । कविताको उर्बर भूमिको रूपमा आसामका केही भाग देखा पर्न थालेको समाचार सर्जकहरूका निम्ति हर्षको घटना हो । त्यसैगरी दार्जीलिङ, सिक्किम, डुवर्स आदि स्थानतिरबाट पनि नव्य सर्जकहरूको उत्पत्ति हुन थालेको कुरालाई नकार्न सकिँदैन । यसमा पनि अझ प्रगतिशील सोच र विचारलाई आत्मसात् गर्दै अनि आत्मस्लाघाबाट पन्छिँदै कविता कोर्नेहरूको हाँच बढ्नु भनेको निकै राम्रो लक्षण पनि हो । अनि, अन्त्यमा म के पनि भन्न चाहन्छु भने कवि रुद्र बरालले आफ्नो तर्फबाट जतिको दह्रिलो काव्यशास्त्र नेपाली समाजलाई दिएका छन् यो क्रम नटुटोस् तथा नयाँहरूलाई साथ र काँध लिएर हिँड्ने उनको यो सङ्कल्प कहिल्यै नतोडियोस् । कवि बरालले साहित्यको सही धारा प्रगतिवादी सोच हो भन्ने कुरा बुझेका छन् अनि यही सोचलाई आत्मसात् गर्दै आज बरालले आफ्नो निश्चित आसन पनि बनाइसकेका छन् भन्ने कुरा कुनै समालोचकले भन्नुभन्दा उनका कविताहरूले नै कहन्छन् ।

कवि बरालका कवितामा देखिएका शिल्प, कला सौन्दर्य, कुराहरूको रखरखाउ, विम्ब प्रस्तुति आदि विषयबारे यहाँ कुनै उठान किन गरिएन भने यस सम्बन्धमा कवि वीरू बाङ्देल, इन्दुप्रभा देवी, विनोद रसाइलीहरूले यी पक्षहरूबारे कुरा राखिसकेका छन् । यसका साथै यसै कवितासङ्ग्रहको भूमिकामा डा. कविता लामालेसमेत बरालका काव्य सन्दर्भमा धेरै कुरा भनिसकेकी हुनाले अरू केही भन्न आवश्यक छ जस्तो लाग्दैन । त्यसैकारण सोझै कविताका विषय-वस्तुतर्फ लागिएको हो भन्ने कुरा यहाँ जनाउन चाहन्छु । समग्रमा विशेष गरेर आजको पिँढीले यो कवितासङ्ग्रह तेस्रो आँखो पढ्नैपर्ने कृति हो । यसले बाटोको भ्रम भएकाहरूलाई वा बाटो बिर्सिएकाहरूलाई एउटा निश्चित मार्ग देखाउनेछ भन्ने मेरो विश्वास हो । कविताकृति पहिलो होस् वा दोस्रो-तेस्रो कुनै पनि होस् त्यो विषय प्रमुख होइन तर कविता कस्तो छ अनि कसका लागि र कुन उद्देश्यमा वशीभूत भएर सिर्जना गरिएको छ, त्यसले मान्यता पाउनुपर्छ । विषय प्रमुखतामा कवि अब्बल छन् अनि यो क्रम नतोडिने कुरामा पनि म त्यत्तिकै सन्तुष्ट छ । कवि बरालज्यूलाई यति राम्रो, सबल अनि दह्रिलो कवितासङ्ग्रह नेपाली समाजलाई दिएकोमा हार्दिक हार्दिक शुभेच्छा दिँदै आफ्नो कलमलाई यहीँ विश्रान्ति दिन चाहन्छु ।