डा. चिन्तामणि शर्मा (असम)

दिक्क पर्छु म,

कति सुनौं तिम्रै ठाउँको व्यथा

अचेल चुप्प बसेकोछु

मेरै ठाउँको वातावरणले

चुर्मुरिएकोछु ।

आफ्नै घरको ढोकामा

ताल्चा ठोकी बसेकोछु

भित्रै बस्न कसलाई पो मन लाग्छ

तर के गरुँ (?),  म विवश छु ।

 

यता पनि लटरम्म फलेका गोलभेडा, बैगुन

खेतैमा कुहिएका छन्

जीवन संग्राममा खोत्तिने कृषक

आफ्नै भाग्यलाई फलाक्दै छन्

महिनौ हलोकोदालो गरी

केही पाउने आश लागेका बेला

धुरुधुरु रूनु पर्दा कस्तो लाग्छ ?

सफलताको चरमचुलीमा पुग्ने प्रतिस्पर्धाले

मलाई मात्र होइन, सबैलाई कम्पित पारेकोछ ।

निरन्तर चलिरहेछ परिक्षण

हिरोसिमामा लिटल ब्वाइ

नागासाकीमा फ्याट मेन

विस्फोट गर्ने शक्तिशाली राष्ट्र

आज चुप्प लागि घुँडा टेकेको छ

एटमी क्षेप्यास्त्रभन्दा पनि

अहिले त जीवाणु शक्तिशाली बनेको छ

म निसास्सिएको छु कोठाभित्र

विकल्पको खोजीमा छु

तर तिमीलाई थाहा छ

म ताल्चा खोल्न सक्दिनँ

बाहिर निस्कन खोज्छ यो मन

साथै बसेर व्यथा साट्न

चाहन्छ यो मन

तर म विवश छु

बाहिर निस्कने घोषणाको

प्रतीक्षामा छु

म घरैमा छु बाँच्ने रहरमा ।