१. विषय प्रवेश

नेपाली साहित्यका लेखकहरू विभिन्न व्यवसाय र सेवामा आवद्ध रहेका छन्। आफ्नो आफ्नो सेवाका काम गर्दै भए पनि साहित्य सिर्जनामा आवद्ध छन्। कोही इन्जिनियर, कोही डाक्टर, कोही प्राध्यापक, कोही पुलिस, कोही ठेकादार,कोही सरकारी अधिकारी रहेका छन्। हाम्रो साहित्यमा साहित्यिक लेखकहरू लेखनलाई नै पूर्णकालीन पेशाका रूपमा अपनाउने थोरै छन्। नेपाली साहित्यमा केही साहित्यकार सर्जक पुलिसको नोकरी गरेका छन्। असम सरकारका पुलिस अधिकारी रही सेवानिवृत्त हुने अर्का कथाकार हुन् जनार्दन उपाध्याय थिए। हालसम्म उनको पुलिसको डायरी भाग-१ र भाग २ गरी दुईवटा पुस्तक प्रकाशित देखिन्छन्। उनी साहित्यकार होइनन् तर पनि साहित्यमा केही चढाउँछु भन्ने ध्यावन्त थियो। उनले आफ्नो पुलिस विभागमा अधिकारी भएर काम गर्दाका विचित्र र रोमाञ्चक घटनालाई यसरी साहित्यमा उतार्नु उनको इमानदारिता र कर्तव्यनिष्ठता हो। दुईवटा कथासङ्ग्रहका रूपमा भए पनि नेपाली पाठकले जासुसी कथा पठन गर्ने अवसर पाएको छ। उनीबाट यस्तो किसिमको साहित्यको भण्डारमा दुईवटा कृति थपिएका छन्।

२. जासुसी साहित्य-

समाजमा आपराधिक घटना घटिरहन्छन् अनि पुलिसले त्यसको अनुसन्धान गरेर आपराधिक कार्यमा लिप्त व्यक्तिलाई पक्रने कोसिस गर्दछ। त्यो अपराधीले अपराध गरेर समाजबाट जोगिनका निम्ति विभिन्न युक्ति लगाउँदछ। पुलिसले तिनको गहिरो खोजबीन गरेर अपराधी पत्तो लाउने गर्दछ। आममानिसका निम्ति रहस्य र रोमाञ्चक कथा रूचिकर लाग्छ। यस्ता किसिमको जासुसी साहित्यको आफ्नै संरचना, बुनोट बनोट र तात्त्विक व्यवस्था हुन्छ। आफ्नै किसिमको कथागत विशेषता रहेको हुन्छ। यसको कथावस्तु कल्पनाभन्दा वास्तविकता, सामान्यभन्दा रोचकता, सरलभन्दा संश्लिष्टता, प्रयोगशीलता, निष्कर्षगत एकोन्मुखता, रहस्यात्मकता आदि विशेषता रहेका हुन्छन्। अपराधी खोजी गर्ने नयाँ नयाँ तरीकाको प्रयोग गरिएको हुन्छ। जासुसीमूलक आख्यान कृति पढ्दा पाठकलाई कथानकीय रहस्यसूत्रले तानिरहेको हुन्छ। यस्ता साहित्यका आफ्नै समाजशास्त्र, कथन पद्धति, भाषिक व्यवस्था, पात्रविधान, परिवेश, कथाविन्यास हुन्छन्। जासुसी साहित्यका पाठक जो सुकैपनि हुन सक्छन्।हार्दिकताभन्दा बौद्धिक, सामान्यभन्दा रहस्यता, कुतूहलता आदि जस्ता विशेषता प्रवृत्ति पाइन्छ।  यसका कथावस्तु रैखिक ढाँचाको नभएर वृत्ताकारिक किसिमको हुन्छ। घटना भइसकेर कथा बुनिन्छ।

नवीन पौड्याल (कालिम्पोङ)

हाम्रो समाजमा तहकीकात, व्योमकेस बक्सी, सिआइडी, क्राइम पेट्रोल आदि जस्ता धारावाहिकहरूले टेलिभिजनमा धेरै लोकप्रियता हासिल गरेका छन्। त्यस्ता धारावाहिकहरूमा अपराधी पत्तो लाउन प्रयोग गरेर विभिन्न युक्तिहरू आम दर्शकका निम्ति निकै मनोरञ्जन हासिल हुँदछ। सरकारी र कतिपय निजी गुप्तचर संस्थाहरूले शहरका हत्या र अन्य अपराधका खोजबीनलाई रोचक ढङ्गमा प्रस्तुत गरेका हुन्छन्। समाजभित्रका अपराधीको पत्तो लाउन अनेक युक्ति लगाएको हुन्छ। पुलिसका अनेक उपायहरूलाई आफ्नो साहित्य उतारेका हुन्छन्। तिनलाई साहित्यिक रूप दिन लेखकहरू उद्यत हु्न्छन्।

हिन्दी साहित्यमा कर्नल रञ्जीतका जासुसी उपन्यासहरू निकै लोकप्रिय थिए। लाखौं पाठकहरूले उनका जासुसी उपन्यासहरू हारालुछ गरेर किन्थे। नेपालीमा पनि दीर्घबाहुका जासुसी उपन्यासहरू प्रकाशित छन्। दार्जिलिङको पहिलो उपन्यास नै महाकाल जासुस भन्ने उल्लेख पाइन्छ तर हालसम्म त्यो पुस्तक उपलब्ध छैन। व्यथित सिपाहीको म विवश छु, गुप्तचर भन्ने उपन्यास पनि जासुसी उपन्यासका रूपमा प्रकाशित छन्।

३. जासुस साहित्यको आधार-

जासुसी विषयलाई साहित्यिक आख्यानका रूपमा उतार्दा लेखकले मूलतः दुईवटा स्रोत पाउँदछन् – लेखक स्वयम् जासुस भएर अनि कल्पना गरेर। आफू नै पुलिस अधिकारी वा जासुसी सेवामा आबद्ध हुँदा देखेका भोगेका सुनेका कुरालाई लिपिबद्ध गरेका हुन्छन्। लेखक आफु नै अपराधीको खोजी-पत्तो लाएर त्यसलाई लिखित रूपमा उतारिएको पाइन्छ। अर्को किसिमको जासुसी आख्यानमा आख्यानकारले कल्पनाको भरमा प्रस्तुत गरेका हुन्छन्। पछिल्लाको तुलनामा अघिल्लो बढी वास्तविकता हुन्छ भने अघिल्लाको तुलनामा पछिल्लोमा केही कलात्मकता हुन्छ। अघिल्लामा आख्यानकार कुशल लेखक नभएर एक प्रत्यक्षदर्शी, अनुभवी र सहभागी भएको हुन्छ। उसले आफ्नो लेखनमा केही प्रसङ्ग र पात्रको नाम बदलिन सक्छ तर मूल घटना भने यथावत् राखेको हुन्छ। मानिसभित्रको रहस्य रोमान्स, जिज्ञासालाई यस्ता साहित्यले सम्बोधन गर्नसक्छ। यसै गरी मानिसभित्रका आदर्शस्वको परिपूर्ति हुनाले मानिसले यस्ता साहित्य पढ्ने गर्छन्।

४. मूल सन्दर्भ –

जनार्दन उपाध्यायका दुईवटा पुलिस डायरीमा जम्मा त्रिचालिसवटा कथा रहेका छन्। ती प्रत्येक कथा सत्य घटनामा आधारित छन्। उनी आफु असम सरकारको पुलिसको अधिकारी भएर अपराधिक घटनामा लिप्त अपराधीहरूलाई पक्रन प्रयोग गरिएका विभिन्न युक्तिहरूको रोचक घटनावली वर्णन गरिएको छ। सबैभन्दा बढी हत्याकाण्डमा लिप्त अपराधीको खोजी-कार्यले बढी प्रथमिकता पाएको छ।

पुलिसको आफ्नै व्यवस्था हुन्छ। सुराकी र मुखबीरले गाउँमा भएको घटना वा अपराधी बारेमा पुलिसलाई खबर दिन्छन्। अपराधी कहाँ छ, के गर्दैछ आदिबारे पुलिसलाई गोप्य रूपमा खबर दिन्छन्। कथाहरूमा ती सुराकी मान्छेको खोजी गर्नु, तिनले अपराधीको अवस्थान बताइदिनु एउटा उपलब्धि मानिन्छ। प्रस्तुत कथाहरूमा हत्याराहरूलाई विभिन्न युक्ति लगाएर पक्रने काम भएको देखाइएको छ।

 ५. पुलिसको डायरी : कथासङ्ग्रह कि घटनाको वर्णन पुस्तक ?

जनार्दन उपाध्यायको पुलिसको डायरी पढ्दा पाठकलाई कथासङ्ग्रह नभएर घटनाको विवरण मात्र लाग्न सक्दछ। यसमा रहेका घटनाक्रम पढ्दा कलापक्ष कम र घटनापक्ष बढी पाइन्छ। कथामा कथावस्तुको प्रस्तुतिमा रोचकता भने पाइन्छ। यसलाई पूर्णरूपमा कथासङ्ग्रह मानिहाल्न सकिन्न। कथामा हुनुपर्ने रागात्मकता, कल्पनात्मकता, कलात्मकता आदि जस्ता गुण यसमा पाइन्न। यहाँ त घटनाको सपाट वर्णन पाइन्छ। यद्यपि कता कता परिहासपूर्ण प्रसङ्ग, उखान तुक्का आदिले यसलाई सपाट हुनबाट जोगाउने र साहित्यिकता बनाउने प्रयत्न गरेका छन्। यसमा साहित्यिकता याउनका निम्ति उखान तुक्का, वाक्याङ्श, अनुकरण शब्द, परिहास, संवेदना आदिलाई समेटिएको पाइन्छ। यसमा औपचारिक रूपमा कथाका तत्वहरू जस्तै कथावस्तु, पात्रविधान, परिवेश, दृष्टिविन्दु आदि यी कथाहरूमा सचेत रूपमा हालिएको छैन।

६. पुलिसको डायरीमा प्रयुक्त आख्यानगत अध्ययन-

प्रस्तुत कथासङ्ग्रह नेपाली साहित्यका निम्ति एक भिन्नै किसिमको, भिन्नै प्रस्तुतिको भन्न सकिन्छ। यसमा रहेका कथाहरूलाई पनि अन्य सामान्य कथाहरूकै तत्त्वहरूका आधारमा समीक्षा गर्न सकिन्छ। यसमा पनि कथावस्तु, चरित्राङ्कन, परिवेश विधान, भाषिक विधान आदिका आधारमा यसको पनि समीक्षा गर्न सकिन्छ।

६.१. जासुसी कथावस्तुको स्रोत-

पुलिसको डायरीका लेखक आफैं पुलिस अधिकारी भएर अपराध अनुसन्धानको अनुभवबाट सिर्जेको हो। अतः यसको कथावस्तुको स्रोत काल्पनिक नभएर वास्तविक घटनावली हुन्। यी दुई खण्डका जम्मै कथावस्तुको स्रोत समाजमा घटित विभिन्न आपराधिक घटना र तिनको मूल कारण हुन्। गरीबी, अधिक धनको लोभ, क्रोध, व्यक्तिगत रिस-इबी आदिका कारण हत्या हुने गर्छ। यी कथाहरूमा यी कुररा प्रकट गरिएको छ। कहिलेकाँही गाउँ-घरमा हुने हत्या हिंसाको काण्डलाई यसको मुख्य स्रोतका रूपमा लिइएको छ।

६.२. जासुसी कथावस्तु

यस कथा सङ्ग्रहको मूल कथावस्तु अपराध जगतबाट टिपिएको हुनाले अपराधीको खोजी रहेको छ। अधिकांश कथामा हत्या प्रसङ्ग छ। पुलिस अधिकारीको कार्यालयमा लिखित सूचना र गुहार आउँदा त्यसको पुर्पक्ष छिन्न अधिकारी त्यस घटनास्थलमा जानुपर्ने र त्यहाँ गएर अपराधी पत्तो लाउने काम देखाइएको छ। लेखक आफ्नो कामबाट सरूवा हुँदा ठाउँ ठाउँमा पुगेर त्यहाँका नयाँ नयाँ मान्छेसित परिचय बढाँदै जाँदा त्यहाँका अपराधी चिन्नु पनि मुख्य उद्देश्य देखिन्छ। ठाउँमा मुखबीर राखेर त्यहाँको अपराधी खोजी पत्तो लाएर उसलाई पक्रनु कर्तव्य देखिन्छ।

६.३. वास्तविक चरित्राङ्कन

प्रस्तुत कथासङ्ग्रहको पात्रहरू केलाउँदा विभिन्न धर्मावलम्बी, सम्प्रदाय, भाषाभाषी आदिको उपस्थिति पाइन्छ। यसमा रहेका त्रिचालीसवटा कथाका पात्रहरू सबै वास्तविक छन्। यसमा रहेका पात्रहरूलाई पीडक र पीडित गरी दुई स्थूल वर्गीकरण गर्न सकिन्छ। पीडकले कि हत्या गरेको छ कि अन्य किसिमबाट यातना दिएको छ भने पीडित कि मृत्यु भएको छ कि यातना पाएको छ। यसमा नारी पुरूष सबै खाले पात्रा-पात्रा उपस्थित छन्। अपराधीहरू पुरूष मात्र छन्। नारीहरू पीडक नभएर पीडित छन् भने पुरूषहरू पनि पीडित छन्।

६.४. परिवेश सिर्जना –

यस कथासङ्ग्रहको परिवेश आसामका अधिकांश गाउँको पाइन्छ। अपराधी अनुसन्धान गर्ने जाँदा भित्री दुर्गम गाउँ, त्यहाँ सम्म जानुपर्दाका कठिनाई आदिको वर्णन पाइन्छ। अभेग गाउँको बिजुली, पानी आदिको अभाव आदिको वर्णन गरिएको पाइन्छ। असमका विभिन्न प्रान्त, पूर्वदेखि पश्चिमसम्मका शहर र गाउँ अझ भित्री गाउँसम्मको स्थान वर्णन र उल्लेख पाइन्छ। यहाँका धेरै गाउँ अविकसित, दुर्गम, पछौटे देखिन्छन्। भित्री गाउँमा आपराधिक गतिविधि भए त्यसलाई सम्बोधन गर्ने पुलिस चौकी हुँदैनन। त्यस्ता गाउँमा पुलिस भएर जानका समस्या छन्। कुनै गाउँमा जान नदीको गाडी जाने अवस्था नभएर डुङ्गामा चडेर जलमार्ग भएर वा कति माइलको बाटो हिँडेर पुग्नेपर्ने अवस्था देखिन्छ।

६.५. कथामा सुराकीको सङ्केत-

पुलिसको डायरीका प्रत्येक कथामा नै सुराकी को प्रसङ्ग पाइन्छ। सुराकीले अपराधीको खोजी पत्तो लाउन ठुलो सहायक सिद्ध हुन्छ। पुलिस अधिकारीले गोप्य रूपमा केही पैसा दिने गरेको सङ्केत पाइन्छ। त्यस्ता सुराकीले गाउँघरमा घटेका घटना, अपराधी र उ लुकेको ठाउँको पत्तो लाउन सहयोग गर्दछ। लेखक स्वयम् नै पलिस अधिकारी हुनाले उनी जहाँ जहाँ पुलिसको ड्युटी गर्न पुग्छन्, त्यहाँ त्यहाँ त्यस्ता सुराकी खोजेका छन् र त्यस्ताबाट आफ्नो काम भएको उल्लेख गरेका छन्।

६.६. पुलिसको व्यक्तिगत जीवनको सङ्केत –

पुलिसको डायरीका दुवै खण्डमा पुलिस अधिकारीको व्यक्तिगत पक्षको पनि सङ्केत पाइन्छ। पुलिसको व्यक्तिगत जीवन भने अत्यन्त व्यस्तता, व्यक्तिगत काम गर्ने समय र अवकाश हुँदैन। परिवारसित समय बिताउन थोरै मिल्ने, चाड़ पर्व, उत्सव आदिमा उत्ति सहभागी हुन पाइन्न। दिनरात अपराधीसित भिड्दा र सङ्गत गर्दा र आपराधिक घटनाको छानबीन गर्दा गर्दा पुलिस अधिकारीमा पनि विरक्तिको भाव उब्जने गर्दछ।

७. भाषा –

वास्तविक रूपमा भन्नुपर्दा जनार्दन उपाध्याय कुनै लेखक साहित्यकार होइनन्। उनी त पुलिस विभागबाट अधिकारी भएर सेवानिवृत्त भएका व्यक्ति थिए। उनी सेवाबाट निस्केपछि मात्र आफुले अनुभव गरेका वा आफुले काम गरका कुरा वा आफुसित सम्बन्धित घटनाहरूलाई संस्मरणका रूपमा पाठकसामु उतारेका हुन्। यस हिसाबले उनको भाषा कमजोर देखिन्छ। यसमा रहेका धेरै अँग्रजी शब्द, अरबी शबद जस्ताको तस्तै छ। भाषाको प्रयोग पनि कमजोर देखिन्छ। तिनी घटनालाई दक्ष लेखकले लेख्नु हो भने कति सजीव रूपमा उतार्न सक्थे होलान्। जनार्दनको भाषिक र शैलीगत प्रस्तुति कमजोर भएका पनि रोचक घटनाहरूका कारणले पाठकलाई सजीव रूपमा प्रस्तुत गर्न सकेका छन्। कतिपय ठाउँमा वाक्य मिलेको छैन, कतिपय ठाउँमा प्रसङ्ग मिलेको छैन, कतिपय ठाउँमा फ्यातुलो भाषा पाइन्छ। यद्यपि भाषा कमजोर भए तापनि यसभित्र कथागत रोचकता भने निकै रोचक छन्।

पुलिसको आफ्नै किसिमको भाषिक व्यवस्था हुन्छ। यसको प्रणालीअन्तर्गत आफ्नै किसिमका शब्द, शब्दावली, अर्थसापेक्षता हुन्छ। आम समाजमा नचल्ने खालका कतिपय शब्दहरू यस प्रणालीमा प्रयुक्त हुन्छ। यसमा चल्ने अधिक मात्राका शब्दहरू अरबी फारसीमूल, अङ्ग्रेजीमूल र संस्कृत तत्सममूल शब्द प्रयुक्त हुन्छन्। केही अरबी-फारसी मूलका शब्दहरू जस्तै मुखबीर, सुराकी, गवाही, उकिल, अदालत, डायरी, उजुरी, गिरफ्तार, इस्तिहार, मुचुल्का, दफा, आदि जस्ता शब्द रहेका हुन्छन्। संस्कृत तत्सम मूल शब्दहरू दण्ड संहिता, अधिनियम, धारा १२०। आदिजस्ता शब्दहरू पनि पाइन्छन्। यसमा अँग्रेजीमूलका धेरै शब्दहरू प्रयुक्त छन्।

८. उपसंहार-   

नेपाली साहित्यमा विभिन्न स्वाद, रस र विषयवस्तुका कृतिहरू पाइन्छन्। यसै क्रममा असम तेजपुरका जनार्दन उपाध्यायको कृति पुलिसको डायरी भाग एक र दुई प्रकाशित गरेका छन्। यसमा भिन्नै किसिमको स्वाद र रूचिकर पाइन्छ। यसमा रहेका जम्मा त्रिचालिसवटा जासुसी कथाहरूमा कथावस्तु, चरित्र, परिवेश आदिको प्रयोगले पाठकलाई रोचकता पाइन्छ। लेखक एकजना पुलिस अधिकारी भएका लेखकले जतिसक्दो इमान्दार भएर आफ्नो संस्मरणलाई पाठकसामु पस्किदिएका छन्। यसमा जासुसी आख्यानमा पाइने खालको कथावस्तुको रहेको छ। यसमा रहेका वास्तविक पात्रहरूको उपस्थिति पाइन्छ। यसमा समका विभिनन जिल्लाका प्रान्तहरूका गाउँ र शहरहरूको परिवेश पाइन्छ। गाउँ घरमा हुने गरेका आपराधिक काणडहरूको छानबीन गरेर अपराधी पत्तो लाउने काम नै यस कृतिको मुख्य लक्ष्य देखिन्छ। साहित्यिक तत्व र कलात्मकताका दृष्टिले यो पुस्तक उत्ति सफल भने भएको छैन। कतिपय प्रसङ्गमा कथाको सपाट वर्णन् पाइन्छ। यद्यपि यसमा पनि केही साहित्यिक गुण पनि नपाइने होइन।